Archive for February 9th, 2009

प्रधानमन्त्रीका स्वकीय सचिवमाथि गोली प्रहार (Breaking News)

एस, काठमाडौं / एचकेनेपाल डट कम -
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का स्वकीय सचिव शक्तिबहादुर बस्नेतमाथि सोमबार साँझ कोटेश्वरमा अज्ञात समूहले गोली प्रहार गरेको छ।

गोलीबाट घाइते बस्नेतको उपचारको लागि बीएण्डबी अस्पताल लगिएको छ। अस्पताल स्रोतका अनुसार उनको तिघ्रामा गोली लागेको छ। एउटा गोलीले तिघ्राको हड्डी भाँचेको र अर्कोले छालामा मात्र छोएको छ।

कार्यालयबाट फर्केर कोटेश्वरको निखिलेश्वर मन्दिरनजिक निवासमा गाडीबाट ओर्लनासाथ उनीमाथि अज्ञात हतियारधारीले अन्धाधुन्ध गोली प्रहार गरेका थिए। करीव साँढे सात बजे कालो ज्याकेट र मास्क लगाएका दुई जनाको समूहले अर्को घरको कौसीबाट बस्नेतमाथि ५/६ राउन्ड गोली प्रहार गरेर मनोहर खोलातर्फ भागेको प्रत्यक्षदर्शीले बताए। पहिलो गेटबाट भित्र पसिसकेको हुनाले शरीरको माथिल्लो भागमा गोली लाग्नबाट उनी बचेका थिए। घटनापछि उनकै गाडीमा बस्नेतलाई अस्पताल पुर्‍याइएका थिए।

प्रहरीले केही सन्दिग्ध व्यक्तिहरू प्रकाउ गरेको दावी गरेको छ।

एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्यसमेत रहेका बस्नेतको पार्टीको नाम सुरेश सिंह हो। उनी दिउंसो मात्र प्रधानमन्त्री प्रचण्डसित पाँचथर पुगेर राजधानी फर्केका थिए।

घटनापछि पर्यटनमन्त्री हिसिला यमी घाइते बस्नेतको अवस्थाबारे बुझ्न अस्पताल पुगेकी थिइन्। अस्पताल पुगेका प्रधानमन्त्री प्रचण्डले बस्नेतको अवस्थाबारे चिकित्सकबाट जानकारी लिएका छन्। उनले प्रहरी अधिकारीहरूलाई तत्काल आक्रमणकारीको खोजी कार्य तीब्र पार्न निर्देशन दिएका छन्।

Popularity: 8%

Add comment February 9th, 2009

जनजातिका चलचित्र (+Photo)

शिव मुखिया, काठमाडौं / एचकेनेपाल डट कम -
‘डालो थुम्चे वुन्नेहरु’ सुनुवार जातिलाई होच्याएर वोलिने वाक्य हो यो। तर, आफ्नो क्यारियर उचाइमा पुर्याउन काठमाडौं वौद्धकी लक्ष्मी सुनुवारले चाहि यहि विषय रोजिन्। डालो थुम्चे वुन्न निपूर्ण सुनुवार जातिहरु कसरी आफ्नो पूख्र्यौली पेशावाट विमूख हुदैछ भन्ने विषयमा उनले छोटो चलचित्र निर्माण गरिन्। एक महिनाको खोज अनुसन्धानलाई उनले ११ मिनेटको चलचित्रमा उतारिन्। ‘ग्रापलागे’ शीर्षकको यो छोटो चलचित्र नै अन्ततः उनको क्यारियर निर्माणको वाटो वन्यो। ‘अर्को चलचित्र वनाउने तयारीमा छु’ उनले हौसिदै भनिन्-’त्यो पनि जातिय विषयवस्तुमाथि नै केन्द्रित हुनेछ।’ (more…)

Popularity: 8%

Add comment February 9th, 2009

दोहोरो भिडन्तमा एकको मृत्यु, तीन पक्राउ

एस, काठमाडौं / एचकेनेपाल डट कम -
सप्तरीको कमलपुरमा सोमबार बिहान अखिल तराई मुक्ति मोर्चाका कार्यकर्ताहरू र सशस्त्र प्रहरीबीच भएको दोहोरो भिडन्तमा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोर्चाका पूर्वी सैन्य कमाण्डर बिक्रान्त भनिने ललन यादव रहेको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको हो।

सशस्त्र प्रहरी टोलीले मोर्चाका तीन कार्यकर्ता हतियारसहित पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा मोर्चाका राजकुमार यादव, बिकास बिश्वकर्मा र मुकुन्द स्वर्णकार रहेका छन्। उनीहरूबाट तीन थान कटुवा पेस्तोल र तीन राउण्ड गोली बरामद गरेको प्रहरीले जनाएको छ।

उनीहरूबीच आधा घन्टा दोहोरो गोली हानाहान भएका थिए। घटनापछि सो क्षेत्रमा सर्च अभियान थालेको छ।

Recent Videos:

Popularity: 8%

Add comment February 9th, 2009

काङ्ग्रेसलाई शत्रु ठान्ने जुनसुकै शक्ति पनि समाप्त हुन्छन्

एचकेनेपाल डट कम संवाददाता-
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काङ्ग्रेसलाई शत्रु ठान्ने जुनसुकै शक्ति पनि समाप्त हुने चेतावनी दिनुभएको छ।

नेपाल प्रेस युनियन कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले विगतमा काङ्ग्रेसलाई शत्रु ठान्ने राजामहाराजासबैको अस्तित्व समाप्त भइसकेको उदाहरणदिँदै काङ्ग्रेस नेता देउवाले माओवादीले काङ्ग्रेसलाई शत्रु ठाने उनीहरूको अवस्था पनि त्यस्तै हुने बताउनुभयो।

तर काङ्ग्रेसका लागि प्रजातन्त्रविरोधी शक्तिमात्रै शत्रु हुने बताउनुभयो।

काङ्ग्रेसका नौ बुँदै माग पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका प्रतिवद्धता तुरुन्त कार्यान्वयन गर्नुपर्ने बताउँदै उहाँले फेरि पनि प्रधानमन्त्रीले प्रतिवद्धता कार्यान्वयन नगरे काङ्ग्रेसले आन्दोलन गर्ने सङ्केत दिनुभयो।

नेपाली जनताले माओवादीलाई सरकार सञ्चालनको जिम्मेवारी दिइसकेपछि पनि शान्तिपूर्ण बाँच्न नपाएको उल्लेखगर्दै उहाँले अझै पनि माओवादीका कारण नै नपाली जनताले अशान्ति भोग्नु परेको बताउनुभयो।

उहाँले सरकार सञ्चालनका लागि सरकारले जारी गरेको अध्यायदेशप्रति आपत्ति जनाउँदै सरकारले मनोमानी ढङ्गबाट अध्यायदेश जारी गर्न नमिल्ने बताउनुभयो।

Popularity: 8%

1 comment February 9th, 2009

राष्ट्रिय मानवअधिकार अध्यादेशप्रति असन्तुष्ट

एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रिय मानवअधिकार आयोगले सरकारद्वारा हालै बेपत्ता नागरिक छानबिन आयोग गठनका लागि ल्याउन लागेको अध्यादेशप्रति असन्तुष्टि जनाएको छ ।

मानवअधिकारसम्बन्धी कुनैपनि नीतिगत निर्णय गर्नुपर्दा सरकारले अनिवार्य रूपमा आयोगको पूर्वस्वीकृति लिनुपर्ने संवैधानिक व्यवस्थाको अवज्ञा गरेर सरकारले अध्यादेश ल्याएको भन्दै आयोगले असन्तुष्टि जनाएको हो।

आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले सरकारले आयोगसँग परामर्श गरेर अध्यादेश ल्याएको भनिरहेको मैले पनि सुनेको छु। तर हामीले बेपत्तासम्बन्धी आयोग गठनका लागि विधेयकमा समेट्नुपर्ने विषयवस्तुका बारेमा सुझाव दिएका हौं भन्नुभयो ।

बेपत्ता नागरिक छानबिन आयोग गठनजस्तो संवेदनशील एवम् गम्भीर विषयलाई सरकारले हलुका रूपमा लिएको भन्दै आफूले अध्यादेश हेर्न नपाएकाले यस विषयमा केही बोल्न नसक्ने अध्यक्ष उपाध्यायले बताउनुभयो।

हामीले दिएका सुझाव कति समेटिएको छ त्यो त पनि थाहा छैन, त्यसैले म यो विषयमा थप केही कुरा गर्न सक्दिन, उहाँले भन्नुभयो- अध्यादेशमार्फत् आयोग गठन गर्नु त्रुटिपूर्ण हुनेछ।

यसैबीच आयोगले अध्यादेशमार्फत् बेपत्ता नागरिक छानबिन आयोग गठन गर्ने सरकारको निर्णयका सम्बन्धमा नागरिक समाजका अगुवा तथा मानवअधिकारकर्मीसँग परामर्श थालेको छ।

Popularity: 8%

Add comment February 9th, 2009

निर्माण व्यवसायी महासङ्घ आन्दोलनमा उत्रने

एचकेनेपाल डट कम संवाददाता-
नेपाल निर्माण व्यवसायी महासङ्घले रू. ६० लाखसम्मका विकास निर्माण कार्य उपभोक्ता समितिमार्फत् गर्ने निर्णय सच्याई पुरानै रू. ३५ लाखको व्यवस्था कायम गर्न सरकारसँग आग्रह गरेको छ।

महासङ्घले हालको व्यवस्थाबाट मुलुकमा क्रियाशील करिब १३ हजार निर्माण व्यवसायी प्रत्यक्ष रूपमा प्रभावित हुने बताउँदै आर्थिक, भौतिक तथा दक्ष जनशक्तिका हिसाबले सक्षम नभइसकेका उपभोक्ता समितिलाई अहिले नै रू. ६० लाखको योजना सञ्चालनको जिम्मा नलगाउन अनुरोध गरेको छ।

सो अवसरमा महासङ्घका अध्यक्ष यक्षध्वज कार्कीले निर्माण व्यवसायसँग सम्बद्ध आफूहरूसँग कुनै पनि छलफल र सम्पर्क नै नगरी ल्याइएको सो निर्णय संशोधन नभए योजना सञ्चालनमा असहयोग गर्दै चरणबद्धरूपमा विरोध कार्यक्रम गरिने बताउनुभयो।

Popularity: 8%

Add comment February 9th, 2009

पार्टी हितविपरीत काम गर्नेको सफाया

एचकेनेपाल डट कम संवाददाता-
पार्टी हितविपरीत काम गरेको भन्दै मधेस राष्ट्र जनतान्त्रिक मोर्चा (क्रान्तिकारी) सिरहा जिल्ला इन्चार्ज महान सिंहलाई सो पार्टीले हत्या गरेको छ। मोर्चाका सङ्गठन विभाग प्रमुख चन्द्र शेखरले जिल्ला इन्चार्ज महान सिंहलाई पार्टीको हितविपरीत काम गरेकाले कारवाहीस्वरूप सफाया गरिएको बताएका छन्।

सिंहको लाश प्रहरीले सप्तरी जिल्लाको हनुमान नगर गाविस वडा नं. ३ भारतीय सीमा क्षेत्र नजिक कोसी नदी छेउमा फेला पारेको र उनको शरीरमा गोलीको निसाना रहेको बताएका छन्।

सो पार्टीले केही दिनअघि सिरहाको सुखीपुरमा पार्टीहितविपरीत काम गरेको भन्दै आफ्ना दुइजना कार्यकर्ताको हत्या गरिसकेको बताइएको छ।

Popularity: 8%

Add comment February 9th, 2009

चौकी हान्ने आक्रमणकारीको सर्च जारी

एचकेनेपाल डट कम संवाददाता-
शुक्रबार राति प्युठान जिल्लाको स्याउलीवाङ प्रहरीचौकीमा आक्रमण गर्ने अज्ञात समूहको खोजी कार्य आज तेस्रो दिन पनि तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय प्युठानले जनाएको छ।

प्युठान जिल्लाको कोठेभिर जङ्गल, रोल्पा जिल्लाको गाम र बाग्लुङ जिल्लाको नजिकै रहेको जङ्गलमा सर्च अभियानलाई तीव्र पारिको बताइएको छ ।

आज पनि सम्भावित क्षेत्रमा हवाइ गस्ती भइरहेको प्युठानका प्रमुख जिल्ला अधिकारी कृष्णश्याम बुढाथोकीले जानकारी दिनुभयो ।

रोल्पा, प्युठान र बागलुङ जिल्लाका सीमा क्षेत्रमा नाकाबन्दी गरिएको सुरक्षा प्रमुखहरूले जनाउनुभएको छ ।

आक्रमणकारीको खोजी गर्न रोल्पा, प्युठान, दाङ तथा अन्य जिल्लाका प्रहरीलाई पनि त्यहाँ परिचालन गरिएको छ।

Popularity: 8%

Add comment February 9th, 2009

कोरियाका नेपालीहरुबीच छलफल गरी विवादको अन्त्य

रघु त्रिपाठी, दक्षिण कोरिया/ एचकेनेपाल डट कम -
कोरियाको राजधानी सउलको सदेमुनस्थित एमटियूको कार्यलयमा आइतवार नेपाल कोरिया साँस्कृतिक मञ्चको आयोजनामा नेपाल पत्रकार महाँसंघ सम्पर्क शाखा दक्षिण कोरियामा आवद्ध पत्रकार तथा केही नेपाली संघ सस्थाका प्रतिनिधिबीच छलफल गरी विवादको अन्त्य गरेको छ।

छलफलमा कोरियाबाट प्रकाशन हुने केही अनलाइन पत्रिकाहरुमार्फत एनकेसीएफलाई लक्षित गरी प्रकाशन गराइएका खुल्ला पत्र तथा केही संघ सस्थाद्वारा मञ्चको गतिविधीमाथि ब्यक्त गरिएका असन्तुष्टिको बारेमा पत्रकार सम्मेलन गरी मञ्चले असन्तुष्ट पक्षसंग छलफल गर्‍यो।

पत्रकार सम्मेलनमा बोल्दै मञ्चका अध्यक्ष प्रेम गुरुङले नेपाली प्रगतिशिल मोर्चाका अध्यक्ष सुमन राईले नेपाल कोरिया साँस्कृतिक मञ्चको कार्य शैलिमाथि असन्तुष्टि ब्यक्त गर्दै लेखिएको खुल्ला पत्रको बारेमा आफ्नो सफाई दिदै मञ्चको बारेका उठेका सवालहरुलाई प्रस्ट पारेका थिए। त्यस्तै नेपाली कोरिया डट कममा स्रोत नखुलेको खुल्ला पत्र मञ्चलाई लक्षित गरी प्रकाशन गरिएको र पत्रकार तथा नेपाली कोरिया डट कमका सञ्चालक डम्मर सुब्बाले टेलिफोनमार्फत खुल्ला पत्रको बारेमा जानकारी गराएपछि उक्त डट कम कोरिया आएको अठार वर्षपछि आफूले हेरेको खुलासा गर्दै त्यस्तो स्रोत नखुलेको समाचार जानकारी नै नभएको अनलाइन पत्रिकामा प्रकाशन गराई मञ्चलाई बदनाम गर्न खोजिएको भन्दै आक्रोश ब्यक्त गरेका थिए। मन्तब्यकै क्रममा अध्यक्ष गुरुङले आपतकालीन नेपाली सेवा समितिको संगीतिक समूह दि गोर्खाज ब्याण्डले मञ्चले आयोजना गरेको संगीत सरगम तीन नामक तेस्रो वार्षिकी कार्यक्रममा अभद्र व्यवहार गरेको भन्दै प्रस्तुती राम्रो भएपनि ब्याण्डका कलाकारहरुमा अनुशासनको कमी भएको गुनासो ब्यक्त गरेका थिए।

कार्यक्रममा नेपाली कोरिया डट कमका सञ्चालक अनुपस्थिति रहेपछि केही वक्ताहरुले उक्त डट कमको खुलेर आलोचना गरेका थिए। तर नेपाल कोरिया साँस्कृतिक मञ्चको ब्यवहार तथा गतिबिधीसंग गाँसिएको बिषय बस्तुमा असन्तुष्ट रहेका प्रगतिशिल मोर्चाका अध्यक्ष तथा पत्रकार सुमन राई र मञ्चका पदाधिकारीहरु बिच लगभग एक घण्टा जस्तो जुहारी चलेपछि अन्तत दुवै पक्षले आ-आफ्नो गल्तिलाई आत्मालोचना गर्दै आउने दिनहरुमा मनमा तिक्तता नराखी हातेमालो गर्दै अगाडि बढ्ने बचनबद्धताका साथ एक अर्कासंग माफी माग्दै बिवादलाई अन्त्य गरेका थिए।

त्यस्तै मञ्चले आयोजना गरेको संगीत सरगम कार्यक्रममा गोर्खाज ब्याण्डलाई निमन्त्रणा गरेर अपमान गरेको भन्दै बिज्ञप्ति प्रकाशित गरि असन्तुष्टी ब्यक्त गरेको बिषयमा उठेका सवालहरु र ब्याण्डका कलाकारहरुले अभद्र ब्यहवार गरेको अध्यक्ष गुरुङको आरोपलाई खण्डन गर्दै आपतकालीन नेपाली सेवा समितिका अध्यक्षले ब्याण्डका कलाकारहरु कार्यक्रममा अपमानित भएर पनि अनुशासित र सैयम भएर फर्किएका तर कार्यक्रम हेर्न आएका दर्शकहरुले कार्यक्रममा भएको भद्रगोल अब्यवस्थित शैलीको बिरोध स्वरुप आक्रोश ब्यक्त गरेको खुलासा गरेका थिए। नेपाल सम्पर्क समितिका अध्यक्ष डेबिड राईले पत्रकारहरुलाई समाचार लेख्दा वास्तवकिता बुझेर मात्र लेख्न जोड दिँदै एनसिसीको बारेमा लेखिएको समाचारको खण्डन गरेका थिए। त्यस्तै नेपाल पत्रकार महाँसघ दक्षिण कोरिया शाखाका सल्लाहकार सामराज्य बिक्रम पाण्डेले संगीत सरगम तीन कार्यक्रम समयमा मञ्चका कलाकारहरुले अनावश्यक समय लियर कार्यक्रम भद्रगोल पारेको आरोप लगाउँदै त्यस्ता कार्यक्रमहरु आउँदा दिनहरुमा नगर्न सुझाब दिदै पत्रकारहरुलाई पनि एक तर्फीरुपमा समाचार सम्प्रेषण नगरी सबै पक्षलाई समेट्न आग्रह गरेका थिए।

कार्यक्रमको अन्ततिर आइपुगेका एनआरएन कोरियाका अध्यक्ष गंगा राईले मञ्चको स्थापना र गतिबिधीमाथि प्रकाश पार्दै पत्रकारहरुलाई हौसलावद्ध सल्लाह सुझाव दिएका थिए। थकाली परिवारका अध्यक्ष भक्त शेरचनले मञ्चको राष्ट्रिय गान आफूलाई साह्रै मन परेको बताउदै उक्त राष्ट्रिय गानमा कलाकारहरुले धेरै जातिहरुको भेषभूषा समेटेकोले थकाली भेषभूषालाई पनि समावेश गर्न अनुरोध गरेका थिए। कार्यक्रममा उपस्थित सबै वक्ताहरुले आ-आफ्नो तर्फबाट सल्लाह सुझाब दिदै नेपालीहरु फुटेर होईन जुटेर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए। कार्यक्रम मञ्चका सचिव रोशन भट्रटराईले सञ्चालन गरेका थिए। मञ्चका अध्यक्ष प्रेम गुरुङले उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए।
रघु त्रिपाठी, दक्षिण कोरिया

Popularity: 8%

Add comment February 9th, 2009

महिला अधिकारबारे ५३ बुंदे घोषणा पत्र जारी

राजेश राई , धनकुटा / एचकेनेपाल डट कम -
महिला हक अधिकार सम्वन्धी ५३ बुंदे धनकुटा घोषणा पत्र जारी गर्दै जिल्लाका महिलाहरुको वृहत भेला आईतवार सदरमुकाममा सम्पन्न भएको छ।

महिला कानून र विकास मञ्च जिल्ला शाखाद्वारा आयोजित भावि संविधानमा सिमान्तकृत बर्गको अधिकार विषयक महिलाहरुको भेलाले उक्त घोषणा पत्र जारी गरेको हो।

५३ बुदे घोषणा पत्रमा महिलाहरुलाई पुरुष सरहको ज्याला दिईनु पर्ने, आमाको नामबाट नेपाली नागरिकता दिईनु पर्ने, राज्यको हरेक निकायहरुमा महिला सहभागी अनिवार्य गराउनु पर्ने, सञ्चारकर्मी महिलाहरुलाई रोजगारीको ग्यारेण्टी गर्नु पर्ने लगायतका मागहरु रहेका छन्।

महिला कानून र विकास मञ्चका अध्यक्ष हिमा भट्टराईको अध्यक्षतामा सम्पन्न भएको उक्त भेलामा मञ्चकी केन्द्रीय प्रतिनिधि वविता अधिकारी, राजनैतिक दलका प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधि ,सञ्चारकर्मीहरुले महिला हक अधिकारका लागि जोड दिएका थिए।

Popularity: 7%

Add comment February 9th, 2009

दश जिल्लाका युवालाई आधारभुत पत्रकारिता तालिम

राजेश राई , धनकुटा / एचकेनेपाल डट कम -
नेपाल प्रेस इन्स्टिच्यूट क्षेत्रीय श्रोत केन्द्र विराटनगरको प्रशिक्षक सहयोगमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाको आयोजनामा दश जिल्लाका युवाहरुलाई आधारभुत पत्रकारिता तालिम आईतवारदेखि सदरमुकाममा संचालन भएको छ।

तालिममा ६० जना सहभागीहरुले भाग लिईरहेका छन्। तालिममा पांचथर, तेह्रथुम, मोरङ्ग, संखुवासभा, भोजपुर, झापा, उदयपुर, खोटाङ्ग, धनकुटा र सुनसरीका प्रशिक्षार्थीहरु सहभागी छन्। तालिममा प्रशिक्षार्थीहरुलाई क्षेत्रीय संचार स्रोत केन्द्रका प्रशिक्षक बिजय मिश्र, प्रशिक्षकहरु सञ्जय सन्तोषी राई, रमेशचन्द्र अधिकारी, कुलप्रसाद राईलगायतले प्रशिक्षण दिएका छन्।

नेपाल पत्रकार महासंघ शाखाका अध्यक्ष विजय सन्तोषी राईले उद्घाटन कार्यक्रममा बोल्दै पत्रकारहरुको सुरक्षाका लागि राज्यले तत्काल ध्यान नदिए मुलुकमा सशक्त आन्दोलन हुने वताए। यसैगरी, प्राध्यापक गोपालप्रसाद अधिकारीले उद्घाटन गर्दै मुलुकमा व्यावसायिक र स्वतन्त्र पत्रकारिताको आवश्यकता रहेकोमा जोड दिए।

उद्घाटन कार्यक्रममा नेपाल प्रेस इन्स्टिच्यूट क्षेत्रीय श्रोत केन्द्र विराटनगरका प्रशिक्षक मिश्र, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सिद्धराज राई, रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र धनकुटाका सम्पादन अधिकृत तिलविक्रम चेम्जोङ्ग, पत्रकार टिएल राईलगायतले पत्रकारिताको महत्व र चुनौति बारेमा बोलेका थिए।

Popularity: 7%

Add comment February 9th, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2009
M T W T F S S
« Jan   Mar »
 1
2345678
9101112131415
16171819202122
232425262728  

Posts by Month

Posts by Category

More news....