Archive for February 10th, 2009

पोखरामा ठूलो धनराशिको टेनिस प्रतियोगिता हुने

धन बस्नेत, पोखरा / एचकेनेपाल डट कम -
कास्की जिल्ला टेनिस संघले सर्वाधिक पुरस्कार राशिको खुल्ला टेनिस प्रतियोगिता गर्ने भएको छ। नेपाल इन्भेष्टमेन्ट बैंकको मुख्य प्रायोजनमा आउँदो फागुन ७ गतेदेखि विभिन्न इभेण्टमा खुल्ला प्रतिस्पर्धा गराइने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।


तस्वीरः सुदर्शन रञ्जित, पोखरा / एचकेनेपाल डट कम

सर्वाधिक पुरस्कार राशिको टेनिस प्रतियोगिता पोखरामा पहिलो पटक हुने लागेको हो। पत्रकार सम्मेलनमा संघका अध्यक्ष विनोद कायस्थका अनुसार पुरुष एकल, पुरुष डबल्स, महिला एकल, महिला डबल्स, मिक्स डबल्स र भेट्रान्स तर्फ ३५, ४५, ५५ र ६५ वर्षमाथि तथा भेट्रान्स ३५ डबल्समा प्रतिस्पर्धा गराइने छ।

प्रतियोगितामा १ सय १० जनाले सहभागिता जनाउने पत्रकार सम्मेलनमा कायस्थले बताए। चार दिनसम्म हुने प्रतिस्पर्धा पोखराको सातवटै टेनिस कोर्टमा सञ्चालन गरिने छ। कायस्थका अनुसार सात वटा कोर्टमा इभेण्ट अनुसार प्रतिस्पर्धा गराइने छ। बैंकको मुख्य प्रायोजनामा सञ्चालित ९ औं नेपाल खुल्ला टेनिसमा भने जुनियर तर्फको कुनै पनि प्रतिस्पर्धा राखिएको छैन। आठौं संस्करणसम्म पनि जुनियर उमेर समूहको प्रतिस्पर्धा समावेश गरिएको थिएन।

बेष्ट अफ थ्रीको आधारमा खेलाइने प्रतिस्पर्धामा कुमार अधिकारी, जितेन्द्र परियार, रमेश कार्की, श्रीराम रानामगरसहित महिलातर्फ प्रिती रिजाल र मालिका राणाको समेत सहभागिता रहने छ। पोखरामा पाँच महिना लगातार रुपमा भएको टेनिस प्रतियोगिता यो पाँचौ हो।

पुरुष एकल र महिला एकल विजेतालाई ४० हजार रुपियाँ नगद प्रदान गरिने छ भने उपविजेतालाई २० हजार र तृतीय हुनेलाई ५/५ हजार रुपियाँ नगदबाट पुरस्कृत गरिने छ। त्यस्तै पुरुष डबल्स र महिला डबल्सलाई १५/१५ हजार उपविजेतालाई ७/७ हजार रुपियाँ प्रदान गरिने छ। मिक्स डबल्स तर्फको विजेता र उपविजेतालाई १५ र ७ हजार रुपियाँ प्रदान गरिने संघले जनाएको छ। भेट्रान्स विजयीलाई भने ट्रफी दिइने छ। प्रतियोगिताको लागि ४ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ। २ लाख रुपियाँ बैंकले प्रायोजन गरेको छ।

पोखराबाट धन बस्नेत माघ २८ गते

Popularity: 8%

Add comment February 10th, 2009

विद्यार्थीद्वारा मिडियामाथि आक्रमण

एस, बुटवल / एचकेनेपाल डट कम-
ग्लोरियस कलेज बुटवलका विद्यार्थीले समाचारको विषयलाई मंगलवार बुटवलका दुई मिडियामाथि आक्रमण गरेका छन् भने उनीहरूले सो क्षेत्रको यातायातमा समेत अवरोध सृजना गरेका थिए।

विद्यार्थीले मेचीकाली दैनिकको कार्यालयमा पसेर कर्मचारीमाथि दुर्व्यवहार गर्नुका साथै सोमबारको अंक जलाएका छन्। त्यसैगरी, स्थानीय तिनाउ एफएमको कार्यालयमा पसी तोडफोडका प्रयास गरेका छन्। बिद्यार्थीलाई प्रहरीले सार्वजनिक मुद्दा लगाएको समाचार प्रकाशन तथा प्रसारण गरेको भन्दै उनीहरूले ती मिडीयामाथि आक्रमण गरेका हुन्। ती मिडीयाहरूले गत पुस २२ गते बुटवलको संगम मोबाइल सेन्टरमा तोडफोड र आक्रमण गरेको अभियोगमा प्रहरीले ग्लोरियस कलेजका बिद्यार्थीलाई पक्राउ गरी सार्वजनिक मुद्दा लगाएको समाचार प्रकाशन तथा प्रसारण गरेका थिए। आक्रमण प्रयासपछि प्रहरीले ती कार्यालयहरूमा सुरक्षा प्रदान गरेको छ।

पाँच दिनदेखि प्रहरी हिरासतमा रहेका सो कलेजका विद्यार्थी रवि पुनलागयत ७ जनालाई प्रहरीले साधारण तारेखमा छाड्ने बताएपछि विद्यार्थीले आह्वान गरेको यातायात बन्द कार्यक्रम फिर्ता लिएका छन्।

Recent Videos:

Popularity: 8%

Add comment February 10th, 2009

तमु झण्डा फहराउन सगरमाथा आरोहण

एचकेनेपाल डट कम संवाददाता-
विश्वको सर्वोच्च शिखर सगरमाथामा गुरुङ (तमु) राष्ट्रिय परिषद्को झण्डा फहराइने भएको छ। टीकाराम गुरुङले गुरुङ जातिको हितका निमित्त सगरमाथा आरोहण गरी झण्डा फहराउने दृढता व्यक्त गर्नुभयो।

गुरुङ (तमु) राष्ट्रिय परिषद्का सदस्य तथा सङ्खुवासभा तमु समाज सेवाका अध्यक्षसमेत रहनुभएका गुरुङले विसं. २०५१ देखि विभिन्न समयमा विभिन्न मुलुकमा पर्वतारोहण र आरोहण तालिम लिइसक्नुभएको छ।

उहाँले हालसम्म १९ पटक पर्वतारोहण गरिसक्नुभएको छ। छ हजार १६९ मिटरदेखि विश्वकै दोस्रो स्थानमा रहेको पर्वत के-२ (८,६११ मिटर) को शिखरसमेत आरोहण गर्नुभएको थियो।

आरोही गुरुङले आगामी वैशाखाको पहिलो सातादेखि सगरमाथा आरोहण प्रारम्भ गर्ने जानकारी पनि दिनुभयो। सो शिखर आरोहणका लागि रु.२० लाख १५ हजार खर्च लाग्ने बताइएको छ।

गुरुङ (तमु) राष्ट्रिय परिषद्का अध्यक्ष डा.गणेशमान गुरुङले आरोही गुरुङलाई बधाई तथा शुभकामना दिनुभएको थियो। सगरमाथा आरोहणका लागि विभिन्न २४ सङ्घसंस्थाको सहयोग प्राप्त हुने कार्यक्रममा बताइयो।

Popularity: 8%

7 comments February 10th, 2009

विरोधमा उल्टो जुलुस

एचकेनेपाल डट कम संवाददाता-
महोत्तरीको उत्तरवर्ती क्षेत्रको प्रमुख व्यापारिक केन्द्र बर्दिवासमा प्रशासनिक सेवा केन्द्र स्थापनाको माग गर्दै आठ दिनदेखि बन्द र हड्ताल जारी राखेका जिल्लाका उत्तरवर्ती क्षेत्रका बासिन्दाले उल्टो जुलुस प्रदर्शन गरेका छन्।

बर्दिवास संयुक्त सङ्घर्ष समितिको आह्वानमा जिल्लाका उत्तरवर्ती क्षेत्रका १५ भन्दा बढी गाविसका हजारौँ बासिन्दा उल्टो जुलुसमा सहभागी भएका थिए।

हिमाल, पहाड, तराई कोही छैन पराइ, जनताले सहज प्रशासनिक सेवा पाउने स्थितिको ग्यारेन्टी गर, बर्दिवासमा प्रशासनिक सेवा केन्द्र अविलम्ब स्थापना गर भन्नेजस्ता नारा लगाउँदै उल्टो हिँडेर गरिएको जुलुस प्रदर्शनपछिको सभामा वक्ताहरूले बर्दिवासमा सो केन्द्र छिटो खोल्नुपर्ने माग गरे।

Popularity: 8%

Add comment February 10th, 2009

मनपराएको केटासित बिहे गर्न नपाएपछि आत्महत्या

एचकेनेपाल डट कम संवाददाता-
आफूले मनपराएको युवकसँग विवाह गर्न नपाएपछि कञ्चनपुर जिल्ला रैकवारबिचवा गाविस-२ रतासीकी १७ वर्षीया युवतीले आत्महत्या गरेकी छिन्।

गोठाला जान्छु भनेर घरबाट हिँडेकी अमृता सावदले रुखमा झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय, गुलरियाका प्रहरी नायब निरीक्षक गणेशनाथले बताउनुभयो।

स्थानीय गोठालाले अमृतालाई रुखमा झुण्डिएको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।

Popularity: 8%

Add comment February 10th, 2009

कुखुराको मासु खाँदा सात बिरामी

एचकेनेपाल डट कम संवाददाता-
छोरीको विवाहका लागि गाउँकै कुखुरा फार्मबाट ल्याइएका कुखुराको मासु खाँदा कञ्चनपुर जिल्ला देखतभूली-३ चानदेउका सात जना बिरामी परेका छन्।

कुखुराको मासु खाएका व्यक्तिमा टाउको दुख्ने, पखाला लाग्ने, बेहोस हुने, बोल्न नसक्ने, ज्वरो आउने र वान्ता हुने लक्षण देखापरेको छ।

चानदेउका छेदु राना, कडेरा रानाकी बुहारी र नाति, बलराम राना, शङ्कर राना, रामअवतार राना र रामबक्स रानालाई सो रोगको लक्षण देखापरेपछि स्थानीय बासिन्दाले बेलौरी प्राथमिक उपचार केन्द्रमा ल्याई भर्ना गराएका थिए।

उपचारपछि छ जना घर फर्केका छन् भने छुदु रानाको अवस्था चिन्ताजनक भएकाले थप उपचारका लागि उनलाई आज भारतको खटिमातर्फ लगिएको पाहुना लाग्न चानदेउ पुगेका दैजीका नरेश रानाले बताए।

बर्डफ्लुको हल्ला चलिरहेका बेला कुखुराको मासु खाएका व्यक्तिहरू धमाधम बिरामी पर्न थालेपछि त्यहाँको जनजीवनसमेत त्रसित बन्न पुगेको छ।

Popularity: 8%

Add comment February 10th, 2009

नेपाली कामदार कोरिया प्रस्थान

एचकेनेपाल डट कम संवाददाता-
रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत हिजो थप ८३ जना नेपाली कामदार कोरिया प्रस्थान गरेका छन्।
कोरिया सरकारले रोजगार अनुमति प्रणाली (इपिएस)अर्न्तर्गत माग गरिएका वैदेशिक कामदार लिने प्रक्रिया केही समयका लागि स्थगन गरेको बताए पनि सो प्रणालीअन्तर्गत नेपाली कामदार रोजगारका लागि कोरिया जाने क्रम भने रोकिएको छैन।

विश्वमा देखिएको आर्थिक मन्दीसँगै कोरियाले वैदेशिक कामदार नलिने समाचार पत्रपत्रिकामा प्रकाशित भएपछि निराश बनेका इपिएसअर्न्तर्गत रोजगारीका लागि कोरिया जान अन्तिम तयारीमा रहेका युवा अहिले केही आशावादी देखिएका छन्।

कोरियाली भाषा परीक्षामा उत्तीर्ण भएका र इपिएस शाखामा आवेदन दिएका छ हजार ५८६ आवेदकको रोस्टर -व्यक्तिगत विवरण, स्वास्थ्यपरीक्षण विवरणलगायतका कागजपत्र कोरिया पठाइएको र दैनिक औसत २५ जनाको छनोट हुने गरेको जानकारी ललितपुरको ग्वार्कोस्थित श्रम तथा रोजगार प्रवर्द्धन विभागअन्तर्गत रहेको जानकारी इपिएस शाखाका प्रमुख लक्ष्मीशरण उपाध्यायले दिनुभयो।

हालसम्म दुई हजारभन्दा बढी नेपाली कामदार कोरिया पुगिसकेका छन्।

Popularity: 8%

Add comment February 10th, 2009

फोरमद्वारा अध्यादेशको स्वागत

एचकेनेपाल डट कम संवाददाता-
मधेसी जनअधिकार फोरमले शिक्षा छात्रवृत्तिमा आरक्षणको निर्णय सार्वजनिक सेवा, नेपाली सेनालगायत राज्यका सम्पूर्ण अङ्ग र निकायमा मधेसीसमेतलाई हालको निम्ति तोकिएकै प्रतिशतमा भएपनि आरक्षणको व्यवस्थानिम्ति अध्यादेशको निर्णय हुनु सकारात्मक रहेको बताएको छ।

फोरमको केन्द्रीय समितिको यहाँ सम्पन्न दुई दिने प्रथम बैठकले मधेसी जनताका पक्षमा फोरमले सरकारमा सहभागी भएर महत्वपूर्ण उपलव्धि हासिल गरेको ठहर समेत गरेको छ।

पार्टीद्वारा जारी विज्ञप्तिमा सरकारमा सहभागी भएपछि मधेस आन्दोलनका सबै मृतकलाई सहिद घोषणा गराउन सकिएको र निजामती सेवामा समेत आरक्षणको व्यवस्था हुनुलाई फोरमले सकारात्मक रुपमा लिएको उल्लेख छ।

बैठकले मधेसका मुद्दालाई प्रभावकारी रुपमा समाधान गर्न मधेसमा क्रियाशील सशस्त्र समूहलाई तत्काल हिंसात्मक बाटो परित्याग गर्न आग्रह गर्दै शान्तिपूर्ण आन्दोलनमा सहयोगी र पूरकको भूमिका खेल्नेतर्फ ध्यान दिन पनि आग्रह गरेको छ।

साथै बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा १० सदस्यीय राजनीतिक समिति गठन गरेको छ। समितिमा अध्यक्ष यादवसहित जयप्रकाश गुप्ता, विजयकुमार गच्छदार, रामसहाय यादव, रेणुकुमारी यादव, जीतेन्द्रनारायण देव, शरद्सिंह भण्डारी, उपेन्द्र झा, रामेश्वर राय यादव र रत्नेश्वर गोइत हुनुहुन्छ।

Popularity: 8%

Add comment February 10th, 2009

एकता दिवसका सम्बन्धमा सरकारको लिखित जवाफ

एचकेनेपाल डट कम संवाददाता-
मुलुकको पहिचानका लागि ऐतिहासिक धरोहरको संरक्षणका लागि आफू प्रतिबद्ध रहेको नेपाल सरकारले जनाएको छ। सङ्क्रमणकालीन अवस्थामा मुलुकको परम्परागत संरचना परिवर्तन गर्दै जानुपर्ने भएकाले यस्ता विषय न्याययोग्य हुन नसक्ने पनि जनाइएको छ।

प्रत्येक वर्ष पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस नमनाउने निर्णय र पृथ्वीनारायण शाहसँग सम्बन्धित पुरातात्विक सम्पदा मास्न लागेको आरोपसहित हालै दायर रिटमा सरकारका तर्फबाट पेस गरेको लिखित जवाफमा सो कुरा जनाउँदै रिट निवेदन खारेज गर्न माग गरिएको छ।

अधिवक्ताद्वय सन्तोष बस्नेत र कमलेश दुवेदीलगायतले दायर गर्नु भएको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तर्फबाट सचिव डा. कुलरत्‍न भुर्तेलले महान्यायाधिवक्ताको कार्यालयमार्फत् सर्वोच्च अदालतमा लिखित जवाफ पठाउनुभएको थियो।

Popularity: 8%

Add comment February 10th, 2009

४३ वटा बम निस्कृय

एचकेनेपाल डट कम संवाददाता-
द्वन्द्वका समयमा जिल्ला प्रहरी कार्यालय खोटाङको आसपासको क्षेत्रमा बिछ्याइएका ४३ वटा बम निस्क्रिय पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

निस्क्रिय पारिएका बममध्ये २१ वटा पड्काएर र बाँकी खोलेर निस्क्रिय पारिएको प्रहरी कार्यालयका प्रहरी निरीक्षक शम्भु बरामले बताए।

नेपाली सेनाको माइन विशेषज्ञ टोलीले बम निस्क्रिय पारेको थियो। बम स्थानीय देवीथानको पाखामा लगेर निस्क्रिय पारिएको थियो।

Popularity: 8%

Add comment February 10th, 2009

भिडन्तमा मोर्चा कमान्डरको मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
सशस्त्र प्रहरीसँगको भिडन्तमा अखिल तराई मुक्ति मोर्चाका पूर्वी सैन्य कमान्डरको मृत्यु भएको छ।

सप्तरीको बमलपुर गाविसमा हिजो बिहान ३ बजे गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीमाथि फायरिङ्ग गर्दा जवाफी कारवाहीमा मोर्चाका सैन्य कमान्डर मारिएका हुन्।

मोर्चाका केन्द्रीय सदस्यसमेत रहेका पूर्वी सैन्य कमान्डर विक्रान्त भनिने ललन यादवको मृत्यु भएको सशस्त्र प्रहरी बल दन्तकाली गण बरमझियाले जनाएको छ।

Popularity: 8%

Add comment February 10th, 2009

संसद अधिवेशन अविलम्ब बोलाउन आग्रह

एचकेनेपाल डट कम संवाददाता-
सर्वदलीय बैठकले अध्यादेश नल्याई संसदीय प्रक्रियाबाटै विधेयक जारी गर्न प्रधानमन्त्रीलाई संसदको अधिवेशन अविलम्ब बोलाउन आग्रह गर्ने निर्णय गरेको छ।

सरकारले ल्याउन लागेको अध्यादेशको विरुद्धमा रणनीति तय गर्न नेपाली काङ्ग्रेसले आयोजना गरेको संसदमा प्रतिनिधित्व गर्ने १८ दलका प्रतिनिधिसम्मिलित बैठकले सो निर्णय गरेको हो।

बैठकले अध्यादेशमार्फत् राज्य सञ्चालन गर्ने शैली र प्रवृत्ति लोकतन्त्रलाई कमजोर बनाउने कार्य भएकाले सोप्रति आपत्ति प्रकट गर्दै सरकारको यस किसिमको क्रियाकलापको विरोध गरेको छ।

त्यस्तै देशमा सामाजिक सदभाव, विधिको शासनको प्रत्याभूति, गम्भीर असुरक्षा र दण्डहीनताको अन्त्य र संवैधानिक प्रक्रियाको पूर्ण क्रियाशीलताका लागि राजनैतिक सहमति, सहकार्य र एकताको आधारमा अगाडि बढ्नुपर्नेमा पनि बैठकमा सहमति भएको छ।

Popularity: 8%

Add comment February 10th, 2009

बेरोजगार युवालाई बिना धितो ऋण दिने

एस, काठमाडौं / एचकेनेपाल डट कम -
सरकारले बेरोजगार युवालाई व्यवसाय गर्न फागुनदेखि विना धितो ऋण दिने भएको छ। सरकारले युवा तथा साना व्यवसायी स्वरोजगार कार्यक्रम अन्तर्गत ऋण उपलव्ध गराउने जनाएको छ। यस कार्यक्रमका लागि सरकारले ५० करोड रुपैयाँ बजेट छुट्ट्याएको छ।

प्रकृया पुर्याएर निवेदन दिनेलाई सरकारले २ लाख रुपैयाँसम्म ऋण उपलव्ध गराउने छ। निवदेन उद्योग बाणिज्य महासंघ जिल्ला कार्यालयमा दिन सकिने छ। सरकारी रकम ऋण लिनेको व्यवसायको वीमा र असल ऋणको ५० प्रतिशत व्याज भुत्तानीमा खर्च गर्ने योजना छ। फागुन महिनाभित्र युवाहरूको आवेदन संकलन गरी चैतदेखि उनीहरूलाई ३ दिने अभिमुखीकरण तालिम दिइने छ।

१० हजारभन्दा बढी बरोजगारलाई तीन महिनाभित्र स्वरोजगार सृजना गर्न यो अभियान अघि सारिएको हो। यस कार्यक्रमका लागि अर्थमन्त्रालयमा सोमबार कोषको सचिवालय स्थापना गरिएको छ। कोषको अध्यक्षमा अर्थमन्त्री बाबुराम भट्टराई रहेका छन्।

Popularity: 8%

1 comment February 10th, 2009

सहारालाई बेलायतका नविनको सहयोग

सूर्यचन्द्र बस्नेत, पोखरा / एचकेनेपाल डट कम-
विदेशमा वस्दा पनि आफनै जन्मभूमिको मायाले कति पिरोल्दो रहेछ भन्ने उदाहरण वेलायतमा बस्ने नेपालीहरूले यहाँको एउटा क्लबलाई दिएको सहयोगले प्रमाणित गरेको छ।


एक दशकदेखि फुटबल खेलको विकासमा सक्रिय पोखराको सहारा क्लबलाई वेलायतमा बस्दै आएका नविन गुरुङसहितका युवाहरूले २० लाख रूपैया नगद सहयोग गरिसकेका छन् भने थप ३५ लाख रूपैया दिने बचन दिएका छन्। खेलकुद सामाग्री पनि मनग्गे दिएका छन्।

सहारा क्लबका सल्लाहकार महेश गुरुङसँग १४ वर्षदेखि होटल व्यवसाय र एयरलाइन्समा काम गर्दै आइरहेका नविन गुरुङको वेलायतमा पाँच वर्षअघि भेट भएपछि सहारालाई सहयोग जुटाउने अभियान सुरु भएको हो।

बेलायतमा युके सहारा गठन गरी नगद सहयोगका साथै फुटबल प्रेमी नविनले बेलायती र त्यहाँका नेपाली जम्मा गरेर तीन वर्षदेखि पोखरामा जारी आहा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा लाखौ खर्चेर टिम नै सहभागी गराएर सहयोगको नौलो उदाहरण पनि देखाएका छन्।

‘कमाएर मात्र केही हुँदैन, हातका मैला हो, समाजलाई केही दिन सके नाम रहन्छ, कमाएर मात्र के गर्ने करोडपतिलाई पनि कसैले चिन्दैन,’ नविन भन्छन्।

अहिलेसम्म २० लाख दियौ,- नविन थप्छन अव यही वर्षभित्र च्यारिटी, साँस्कृतिक कार्यक्रम र फुटबल प्रतियोगिता गरेर ३५ लाख जति उठाउने लक्ष्य छ। उनीहरूले युके र नेपालमा कर्न्र्सटहरू, सेभेन ए साइड फुटबल प्रतियोगिता जस्ता ६ वटा च्यारिटी कार्यक्रम गर्दैछन्।

फुटबल खेल्दाखेल्दै एक दशकअघि गठित सहारा क्बलले क्याराभान र आहा गरी आठ वर्षदेखि मोफसलमा ठूलो पुरस्कार राशिको अन्तर्राष्ट्रिय गोल्ड कप फुटबल प्रतियोगिता गरिरहेको छ। चार वर्षदेखि २० अनाथ बालबालिकालाई शिक्षा र आवाससहित फुटबल प्रशिक्षण दिएर सहारा एकेडेमी पनि चलाउँदै आएको छ, जसको खर्च मासिक ७० हजार छ।

तस्वीरः सुदर्शन रञ्जित, पोखरा / एचकेनेपाल डट कम

Popularity: 8%

Add comment February 10th, 2009

एनआरएनए यूएई निर्वाचनको भत्सर्ना

बालचन्द्र पोखरेल, युएई -
फेब्रवुरी ६ २००९ तारिखका दिन दुबईको एभरेष्ट होटलमा एकलौटी तरिकाले सम्पन्न भएको एनआरएन ए यूएईको निर्वाचनमा एक तर्फे आफ्नो मनमानी तरिकाले गरिएको चुनावलाई मान्य हुदैन तथा यूएईमा रहेका नागरीक समाज, ब्यवसायी, बुद्धिजीबी बर्ग तथा सञ्चारकर्मीको बेवास्ता गरिएको निर्वाचन मान्य नहुने तर्क राख्दै निर्वाचनको नाटक गरिएको वास्तविक यर्थाथलाई मिडियामा ल्याउनको लागि शनिबार ६ जनवरी २००९ का दिन दुवईको अरब उडुपि रेष्टुरेन्टमा पत्रकार सम्मेलन गरियो।

निर्वाचन समितिले आफ्नो कार्य निष्ठतापूर्वक निभाएको भनिएता पनि एउटा अनौठो खालको हास्यास्पद निर्वाचन गराएका थिए। उक्त कार्यक्रममा कुनै पनि पत्रकारलाई प्रवेश गर्न दिईएको थिएन। त्यहाँभित्र समावेश भएका ब्यक्तिहरुका अनुसार एक पक्षले चुनाव बहिस्कार गरेपछि एक तर्फीहरुले मात्र मतदान गरेर एकलौटी चुनाव सम्मन्न गराइएको थियो। निर्वाचन कमिटिका एक सदस्यले कस्ले कस्लाई मत हाल्छ भनेर मुन्टो तन्का तन्काई अवलोकन गरेकोले केही मतदाताहरुले बिरोध गरेका थिए भने पर्यवेक्षणका लागि गैर आवासीय नेपाली संघ अर्न्तराष्ट्रिय समन्वय परिषदका सचिव सागर नेपाल, मध्यपूर्व संयोजक चन्द्रप्रकाश सापकोटा एक लौटी भएको चुनावमा मुकदर्शक भएर तमासा हेरी रहेका थिए। एनआरएन ए आईसीसीका मध्यपूर्व संयोजकले संयोजन गरिरहेको अवस्थामा आईसीसीका सचिव मध्ये पूर्व संयोजकलाई जानकारी समेत नदिइकन यूएईमा भएको निर्वाचनलाई हस्तक्षेप गर्न आएको भन्ने देखिएको थियो। यूएईमा पनि राष्ट्रिय समन्वय समितिको गठन भई दुइवटा ग्लोबल सम्मेलनमा भाग लिई अब आगामी अक्टोवरमा हुने बिश्व सम्मेलनको लागि राष्ट्रिय समन्वय समिति आगामी जुन जुलाई महिना भित्रमा एनआरएनए एन सिसि यूएईको चुनाव गराउने चुनावी समितिको ६ फेब्रुवरी २००९ मा भएको भनिएको चुनाव तथा त्यसको प्रक्रियामा र परिणामप्रति ब्यापक शंका उपशंका उत्पन्न भएको तथा एकलौटी ढंगले हूल हुज्जतका साथ पुरानो समितिका आजीवन तथा पंजीकृत सदस्यहरु र नागरिक समाज समेतलाई बेवास्ता गरिएकोले सो चुनावलाई चुनाव मान्न नसकिने ठहर गर्दै उक्त नाटकीय चुनावलाई निम्न कारणहरु दर्शाई बहिष्कार गरिएको छ।

उक्त सम्मेलनमा निर्वाचन बहिष्कार पक्षका ब्यक्तिहरुका साथै नागरिक समाजका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। सोही अवसरमा बक्ताहरुले भनिएको थियो यस्ता अवसरबादीहरुले आफ्नो हाली मुहाली गरेर धाँधलीरुपमा गरिएको निर्वाचन एक प्रेस विज्ञप्ति निकाली निम्न बुँदाहरुका आधारमा मान्य नहुने बताइएको छ।

नाटकीय निर्वाचनलाई बहिष्कार गर्नेका कारणहरु निम्न छन्:
- निर्वाचन स्च्वन्छ तरिकाले हुने संकेत नभएकोले
- यूएईमा रहेका सञ्चारकर्मीहरुलाई प्रवेश निषेध गरिएकोले
- एनआरएन एको बिधानलाई बेवास्ता गरी पञ्जिकृत (रजिस्टर) सदस्यहरुलाई मतदानबाट बञ्चित गरिएकोले
- नेपाल सरकारको प्रतिनिधित्व गर्ने नेपाली दूतावासको उपस्थिति नदेखिएकोले
- गुटबन्दीको हावी भएको तथा एकै परिवारका धेरै मतदाता भएकोले
- यूएईमा भएका १ लाख ५० हजार नेपालीको प्रतिनिधित्व गर्न नसक्ने र यो नेतृत्वले सारा नेपालीलाई सम्बोधन गर्न नसक्ने भएकोले
- सबै पेशागत, बुद्धिजीवी, ब्यवसायी तथा नागरिक समाजलाई समेट्न नसकेकोले
- नागरिक समाजले पटक पटक सहमति गराउने प्रयासलाई लत्याएकोले
- सुनियोजित तरीकाले भिड जम्मा गरी जबरजस्ती एक पक्षीय तरिकाले चुनावको नाटक गरिएकोले
- एनआरएन आइ सीसीका सचिव तथा मध्यपूर्व संयोजकज्यूहरु मुकदर्शक भएर बसेकोले
- गुट पक्षीय उमेदवारहरुले यदि हाम्रो पक्षको जित भएन भने यूएईस्थित रहेका नेपाली संघ सस्थाहरुलाई बन्द गराई दिन्छु तथा अन्य अभद्र किसिमका धम्कीहरु दिंदै हलभित्र अभद्र ब्यवहार गरेकोले
- भोट गरेर जितेका भनिएका उमेदवारहरुले पनि असन्तुष्टि व्यक्त गर्दै पत्रकार सम्मेलनबाटै पदत्याग गरेको जसमा लक्ष्मण सागर तथा अन्य केही
एनआरएन आइ सीसीको विषेशरुपमा भएको यस पहललाई फेरि एक पटक छानविन पछि दोहोर्याइ १५ दिनभित्रमा सर्वमान्य समितिको चयन गराउनको लागि हार्दिक अनुरोध गर्दछौं।
धन्यवाद ।।।

गैरआवासीय नेपाली अभियानका शुभेच्छुकहरु, यूएई
७ फेबुअरी २००९

Popularity: 8%

Add comment February 10th, 2009

कतारमा स्व.अर्जुन तमूको श्रद्धाञ्जलि

बिल गुरुङ, दोहा, कतार / एचकेनेपाल डट कम-
तमू बौद्ध सेवा समिति शाखा कतारले शुक्रवार स्वः अर्जुन तमूको श्रद्धाञ्जलि सभाको आयोजना गर्‍यो।

समितिका उपाध्यक्ष लक्ष्मीकुमार तमूको सभापतित्वमा आयोजित उक्त सभामा समितिका पदाधिकारी र सदस्यहरु तथा समितिको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवार र तमू खेलकुद समितिका पदाधिकारी तथा सदस्यहरुको उल्लेख्य उपस्तिथि थियो।

तमू सांस्कृतिक परिवार कतारका अध्यक्ष बिमल तमूले स्व.अर्जुन तमूको जीवनी वारे प्रकाश पार्नु भएको थियो। स्व. अर्जुन तमू ३० जनवरी १९८० मा दारेचोक गा.वि.स. वडा नं.४ चितवन जिल्लामा जन्मनु भएको हो। उहां तमू बौद्ध सेवा समिति शाखा कतारका सकृय सदस्य तथा समितिको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवारका सचिव तथा नृत्य निर्देशकको रुपमा कार्यरत हुनुहुन्थ्यो।

विगत साढे दुई वर्षदेखि कतारको प्रतिष्ठित कम्पनी कर्वा मवासलातमा चालक प्रशिक्षकको रुपमा कार्यरत रहनु भएका अर्जुन तमूको गत २६ जनवरी २००९ का दिन अल्पायुमा नै असामयिक निधन भएको थियो। स्व. अर्जुन तमूको आमा, एक भाई र एक बहिनी छन्।

सभामा अर्जुन तमूको निधनले समिति र तमू समुदायलाई अपूर्णीय क्षति भएको विचार व्यक्त गरियो। अर्जुन तमूको मृतात्माको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जलि सभाको आयोजना गरिएको थियो। यस दुःखको घडिमा धर्ैय धारण गर्ने शक्ति सबै आफन्तजनलाई प्रदान गर्न भगवानसंग प्रार्थना गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना व्यक्त गरिएको थियो। स्व. अर्जुन तमूको सम्झनामा एक मिनट मौन धारण गर्दै उहांको तस्वीरमा माल्यार्पण र धुप बालिएको थियो। साथै उपस्थित सबैले स्व.अर्जुन तमूको नाममा तमूहरुको परम्परा अनुसार १ सय ८ बत्ती वालिएको थियो।

नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष अमृत तमू, एनआरएनए-आईसीसी सदस्य टि.बि.कार्की, एनआरएनए-एनसीसी कतारका अध्यक्ष कमलमणी गुरागाई, प्रवासी नेपाली सम्पर्क मञ्च कतारका सचिव रामहरी गैरे, राजधानी अन्तर्राष्ट्रिय साप्ताहिकका कतार संयोजक दिपक पौडेल, समितिका निर्देशक सल्लाहकार बुधबल तमू, एनआरएनटिएलए कतारका अध्यक्ष घनश्याम पोखरेललगायतका व्यक्तित्वहरुले स्व.अर्जुन तमूप्रति श्रद्धासुमन व्यक्त गरेका थिए।

Popularity: 8%

1 comment February 10th, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2009
M T W T F S S
« Jan   Mar »
 1
2345678
9101112131415
16171819202122
232425262728  

Posts by Month

Posts by Category

More news....