Archive for February 11th, 2009

गोली हानेर एघार लाख लुट

एस, काठमाडौं / एचकेनेपाल डट कम -
अज्ञात लुटेराले गोली प्रहार गरी राजधानीको कपुरधारामा बुधवार दिउंसो करीव साढे चारबजे ११ लाख रुपैंया लुटेको छ।

सुन्धाराबाट नयाँबजारस्थित घर जाँदै गरेका थेन्जी लामामाथि लुटेराले गोली प्रहार गरी साथमा रहेको ११ लाख रूपैयाँ लुटेको छ। सापटी पैसा लिएर घरतर्फ जाँदै गरेका लामामाथि दिउंसो करीव साढे चारबजे गोली प्रहार गरेका थिए। ओम अस्पतालमा उपचारको लागि भर्ना गरिएका लामाको मुखमा गोली लागेको छ। उनको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले बताएको छ।

Recent Videos:

Popularity: 8%

Add comment February 11th, 2009

प्रहरी महानिरीक्षकमा रमेश चन्द, तीन देशमा नयाँ राजदूत

एस, काठमाडौं / एचकेनेपाल डट कम -
मन्त्रीपरिषदको बुधवार बसेको बैठकले प्रहरी महानिरीक्षकमा रमेश चन्द ठकुरीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

प्रहरी महानिरीक्षक हेमबहादुर गुरुङको सेवा अवधि नथप्ने भएपछि अतिरिक्त महानिरीक्षक ठकुरीलाई महानिरीक्षक पदमा नियुक्त गर्ने मन्त्रीपरिषदको बैठकले निर्णय गरेको हो। गुरूङको सेवा अवधि फागुन ५ गते सकिदै छ भने ठकुरीले फागुन ६ गतेदेखि महानिरीक्षकको कार्यभार सम्हाल्ने छन्। ठकुरी २०३९ सालमा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका हुन्।

त्यसैगरी बैठकले तीन देशमा नयाँ राजदूत नियुक्त गर्ने निर्णय गरेको छ। अमेरिकामा सुकदेव शाह, बेलायतमा रामशरद राय र जर्मनमा सुरेशप्रसाद प्रधानलाई राजदूत नियुक्त गर्ने निर्णय गरेको छ। शाह माओवादी र राय मधेसी जनअधिकार फोरमको सिफारिसमा राजदूतमा नियुक्त भएका हुन्। प्रधान परराष्ट्र सेवामा सहसचिव थिए भने अन्य दुई जना प्राध्यापन क्षेत्रबाट आएका हुन्।

Popularity: 8%

Add comment February 11th, 2009

मातृका यादवद्वारा एकीकृत माओवादी पार्टी परित्याग (News update)

एस, काठमाडौं / एचकेनेपाल डट कम -
एकीकृत माओवादी नेता मातृका यादवले बुधवार एकीकृत माओवादी पार्टी त्याग गरेको घोषणा गरेका छन्।

राजधानीमा बुधवार पत्रकार सम्मेलन गरी नेता यादवले उनले पार्टी एकता हुनु पूर्वको नेकपा माओवादीकै केन्द्रीय सदस्य रहेको बताउंदै आफू एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य नभएको घोषणा गरेका छन्।

पछिल्लोपटक पार्टीको नेतृत्वसँग असहमति जनाउँदै आएका यादवले आफ्नो पार्टीको नाम नेकपा माओवादी राख्ने बताए। उनले नयाँ पार्टी खोल्ने नभई नेकपा माओवादीको पुनर्गठन गर्न लागेको जानकारी दिए।

अध्यक्ष प्रचण्डलगायत अन्य नेताहरुले पार्टी छाडेकाले छिट्टै क्रान्तिकारी नेताहरुलाई समेटेर पार्टी पुर्नगठन गर्ने बताए। निकट भविष्यमै पार्टीको विस्तार हुने बताउंदै नयाँ ढंगले पुर्नगठन गर्ने पार्टीमा सबै वर्ग जातिलाई समावेश गर्ने यादवले बताए।

उनले सभासदबाट पनि आजै राजिनामा दिएको बताए।

Popularity: 8%

Add comment February 11th, 2009

अर्थमन्त्रीलाई नेवा: जागरण मञ्च जापानको ज्ञापनपत्र

सागर कपाली, जापान / एचकेनेपाल डट कम -
जापानको सद्भाभावना भ्रमणका रहेका अर्थमन्त्री डा. बाबुराम भट्टराईलाई नेवा: जागरण मञ्च जापानले एक ज्ञापन पत्र बुझाएको छ।

जापान सरकारको निमन्त्रणामा चारदिने सद्भाभावना भ्रमणका क्रममा जापानमा आएका अर्थमन्त्री डा.भट्टराईलाई सोमबार साँझ टोक्योमा आयोजित अन्तर्क्रिया कार्यक्रममा मञ्चका अध्यक्ष सुनिलकुमार शाक्यले ज्ञापन पत्र हस्तान्तरण गरेका हुन्।

ज्ञापन पत्रमा जातिय थिचोमिचोको अन्त्य, नयाँ संबिधानमा जातिय आधारमा संघीयतामा जानुपर्ने, जनजातिहरुको वास्तविक चाहना, नेवारहरुको भूभाग काठमाडौं उपत्यकालगायत यससँग जोडिएका नेवार वस्ती र क्षेत्रलाई नेवा: स्वायत्त राज्य घोषणा गरिनु पर्ने र नेपाल सम्बतलाई छिटो भन्दा छिटो ब्यवहारमा लागु गर्नु पर्नेलगायतका मागहरू समावेश छन्।

ज्ञापनपत्रको एक एक प्रति जापानस्थित नेपाली राजदूत डा. गणेश योन्जन तामाङ, गैरआवासीय संगठन जापानका अध्यक्ष भबन भट्ट, बिभिन्न राजनैतिक दलका प्रतिनिधि र बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई बुझाएका छन्।

कार्यक्रममा बोल्दै डा. भट्टराईले माओवादी पार्टी जनजातिहरुले उठाइरहेका स्वायत्त राज्यको बारेमा सकारात्मक रहेको र अब बन्ने संबिधानमा यस बिषयमा ब्यापक छ्लफल र ध्यान पुर्याइने बताए।

Popularity: 8%

Add comment February 11th, 2009

प्रशिक्षक, प्रतियोगिता र पूर्वाधारको अभावमा टेनिस खेल

सूर्यचन्द्र बस्नेत, पोखरा/ एचकेनेपाल डट कम -
भौतिक पूर्वाधार, प्रतियोगिता, प्रशिक्षणको अभाव र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको लामो रिक्तता जस्ता कारण नेपालमा टेनिस खेलको चाहेजति विकास हुन सकेको छैन भने व्यवसायिकतामा पनि बाधा पुगेको छ।

टेनिस कोर्ट काठमाडौंमा केन्द्रित छन्। केही पोखरा र अन्यत्र फाट्टफुट्ट मात्र । भएका कोर्टमा अधिकांश माटाका “क्ले कोर्ट” र मुस्किलले देशभर एकदर्जन हार्ड कोर्ट छन्।

स्वदेशमा प्रतियोगिताको अभाव र लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा सामेल हुन नसक्दा टेनिस खेलको विकासले गुणात्मक फड्को मार्न नसकेको यसका खेलाडीहरु बताउँछन्।


तस्वीरः सुदर्शन रञ्जित, पोखरा / एचकेनेपाल डट कम।

“कोर्ट, प्रशिक्षण, प्रतियोगिता र आर्थिक अभावले टेनिसको विकास हुन सकेको छैन, सरकार र परिषद् नै समग्र खेलकुदको विकासको लागि उदासिन छ”- चर्चित टेनिस खेलाडी पूर्वमन्त्री कमल थापा भन्छन्। पाँच वर्षदेखि ५० वर्षबढी उमेरका विभिन्न प्रतिस्पर्धा हुने लन टेनिसको नेपालमा प्रशस्त सम्भावना भए पनि पूर्वाधार, प्रशिक्षण र प्रतियोगिता अभाव बाधक बन्दै गएको छ।

सात दोबाटो ललितपुरमा चार, खेलकुद परिषद्का चार, सहन्सा क्लबमा दुइ, फोहोरा दरबार अमेरिकन क्लबमा दुइ, धरान ब्रिटिस क्याम्पमा दुइ र नेपालगन्जमा एक हार्ड कोर्ट छन्।
उपत्यकाका तारे र अन्य होटल एवम् निजी गरी १६, पोखरामा सात, धनगढी एक, प्रहरी विद्यालय साँगा एक, लिटल एन्जेल्स स्कुलमा दुई गरी देशमा चालु अवस्थाका दुइ दर्जन बढी क्ले कोर्ट छन्।

तिनमध्ये प्यारापिट सातदोवाटो र परिषदमा मात्र छ । ” दुई लाइन मेच राखेर हेर्‍यो भने छेकिन्छ, कहिंका टेनिस कोर्टमा पनि प्यारापिट छैन, हेर्न असजिलो र नमज्जा हुन्छ,” टेनिस खेलका पोखरेली शुभेच्छुक सुदर्शन रञ्जित भन्छन्।

क्ले कोर्ट बनाउन औसत खर्च रु.६ लाख र हार्ड कोर्ट बनाउन रु.१५ लाख जति पर्छ। बनाउन सस्तो, खेल्दा बल बढी टिक्ने, घटना कम हुनाले क्ले कोर्ट नेपालमा बढी उपयुक्त रहेको अखिल नेपाल लन टेनिस सङ्घका अध्यक्ष मनोज राणाको भनाइ छ।

हाल नेपालमा वार्षिक जुनियर दुई, राष्ट्रिय, खुल्ला र भेट्रान एक एक गरी टेनिसका पाँच प्रतियोगिता हुन्छन्। अन्तर्राष्ट्रिय गेम गर्न न्यूनतम पूर्वाधार हुनुपर्छ। सङ्घ सात दोवाटोमा दुई वटा कोर्ट थप्ने सोचाइमा छ।

अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि स्तर नहुने हुँदा साना साना प्रतियोगिता गरेर नेपाली खेलाडीको अन्तर्राष्ट्रिय वरियतालाई आवश्यक अङ्क हाँसिल गर्दै देशमा पनि टेनिसको विकास गरी एसियन गेममा खेल्ने सोचमा छौँ”- सङ्घका अध्यक्ष मनोज राणा भन्छन्।

सङ्घले टेनिस एकेडेमीमा हप्ताको तीन दिन विद्यार्थीका लागि कक्षा चलाएको छ। एसियन टेनिस फेडरेशनले साफ क्षेत्रबाट दिएको अन्डर १६ साफ गेम यही वर्षो अन्ततिर नेपालमा हुँदैछ।
अर्कौ महिना कास्की टेनिस सङ्घको आयोजनामा पोखरामा दुई लाख धनराशिको खुल्ला महिला तथा पुरुष नेपाल इन्भेस्टमेन्ट बैङ्क टेनिस प्रतियोगिता हुँदैछ। सङ्घको क्लब लिग गर्नै सोच छ । काठमाण्डौमा एक दर्जन र पोखरामा चारवटा टेनिस क्लब छन् । मार्चमा पाँचौ राष्ट्रिय प्रतियोगिता हुँदैछ।

सङ्घले आइटिएफ प्रतियोगितामा भाग लिन सक्षम गराउने अभ्रि्रायले जुनियर टेनिस इनिसियटिभ चार वर्षको कार्यक्रमअर्न्तगत टेनिस र्‍याकेट, बल आदि सामग्री काठमाडाँै, धरान, नेपालगन्जका केही विद्यालयलाई उपलब्ध गराएको छ। धनगढीमा पनि कोर्ट निर्माण भएको छ।

सङ्घको पाँच लाख र बाँकी आइटिएफको सहयोगमा मलेसियामा एसियन जुनियर टेनिसको च्याम्पियनसीपको अन्डर १४ मा दुई केटा र तीन केटीले भाग लिएर फर्किएका छन्।
टेनिसका अन्तर्राष्ट्रिय प्रतियोगितामा १९९० मा एसियन गेम, १९९३ मा बङ्गलादेशमा र ९५ मा भारतको मद्रासमा साफ गेम खेलेको नेपाल लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट विमुख रहेको छ भन्दा अत्युक्ति हुँदैन।

नेपालले तीन वर्षअघि चाइना युनिभर्सिटी गेममा पनि भाग लिएको थियो। शरद लामा र एसके सिंहको जोडीले सन् १९८२ मा नयाँ दिल्लीमा सम्पन्न एसियन गेम्समा राम्रै चर्चा पाएको थियो भने सुजय लामा १९८४-८५ को विम्बल्डनको जुनियर स्पर्धामा छानिएका थिए।

गएको असोजमा भारतमा सम्पन्न आइटिएफ भेटरानमा ४५ वर्षमाथिको प्रतियोगितामा पूर्वमन्त्रीव्दय कमल थापा र मधुकर राणाको जोडीले सेमिफाइनलको यात्रा तय गरे। मधुकर राणाले ६५ वर्षमाथिको स्पर्धामा फाइनलसम्मको यात्रा गरे। “अन्तर्राष्ट्रिय प्रतियोगिता र सहभागिता नै छैन भन्दा हुन्छ, राष्ट्रिय पनि एकाध स्पर्धा हुन्छन् अनि कहाँ यसको विकास हुन्छ,” सेमीफाइनलसम्म पुग्दा भारतको टेनिस र्‍याङ्कीङमा २८ नम्बरमा परेको स्मरण गर्दै थापा भन्छन्। सङ्घका अध्यक्ष राणा आउँदो एसियन गेममा भने महिला तथा पुरुषले भाग लिने बताउँछन्।

पाँच वर्षदेखि पाका उमेरसम्मका लागि खेल्न सकिने भनिएपनि नेपालमा महँगो खेलको उपमा पाएको लनटेनिसलाई सौखिन खेल मानिदा व्यावसायिक गति लिन नसकेको बताइन्छ। अर्कातिर स्वदेशमा क्ले कोर्टमा र विदेशमा हार्ड कोर्ट र ग्रास कोर्टमा खेल्नु पर्दा पनि नेपाली खेलाडीहरुको खेलकौशलमा प्रभाव परेको बताइन्छ। सरकार र परिषद्को स्पष्ट नीति र प्राथमिकतामा नपरेपनि काठमाडौँमा केन्द्रित टेनिस खेल र प्रतियोगिता पोखराबाट अन्यत्र पनि फैलदैछ।

राजधानीपछि पोखरामा खेलाडी र प्रतियोगिता बढ्दैछन्। “हामीले सात वर्षदेखि भेट्रान्स खुल्ला प्रतियोगिता गरिराख्याछौँ, यसलाई निरन्तरता दिन्छौँ “तर पोखरामा खेलाडी र कोर्ट बढ्दै गए पनि प्रशिक्षकको अभाव छ”- कास्की टेनिस सङ्घका अध्यक्ष विनोद कायस्थ भन्छन्।

पोखराका सात क्ले कोर्टमा झन्डै डेढसय खेलाडी खेल्छन्। कोर्टहरुको क्रमशः विस्तार, विद्यार्थी र युवा पुस्तामा देखिएको आकर्षणले भने यो खेलको विकासले विस्तारै गति लिएको छ। ” नयाँ पुस्तामा खेलाडी थुप्रै छन तर राम्रालाई सुविधा दिएर विदेशमा तान्ने गर्छन् तर हामी आशावादी छौ,” सङ्घका अध्यक्ष राणा भन्छन्।

Popularity: 8%

Add comment February 11th, 2009

मातृका यादवले नयाँ पार्टीको घोषणा गर्ने

एस, काठमाडौं / एचकेनेपाल डट कम -
एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्यसमेत रहेका मातृका यादवले आज नयाँ पार्टीको घोषणा गर्ने भएका छन्।

पछिल्लोपटक पार्टीको नेतृत्वसँग असहमति जनाउँदै आएका यादवले आफ्नो पार्टीको नाम नेकपा माओवादी राख्ने बताएका छन्। उनले नयाँ पार्टी खोल्ने नभई नेकपा माओवादीको पुनर्गठन गर्न लागेको जानकारी दिएका छन्।

नेपाली कांग्रेसले नेतृत्व गरेको सरकारमा माओवादीका तर्फबाट उनी मन्त्रीसमेत थिए।

Popularity: 8%

Add comment February 11th, 2009

अमेरिकी सहायक विदेशमन्त्री नेपालमा

एस, काठमाडौं / एचकेनेपाल डट कम -
अमेरिकी सहायक विदेशमन्त्री रिचर्ड बौचर दुईदिने नेपाल भ्रमणका लागि बुधबार मध्याह्न राजधानी आइपुगेका छन्।

दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री बौचर माओवादीको नेतृत्वमा सरकार बनेपछि नेपाल भ्रमणमा आउने उनी सबभन्दा उच्च पदस्थ अमेरिकी अधिकारी हुन्। यसअघि मंसिर २५ गते उनी नेपाल भ्रमणमा आउने कार्यक्रम तय भएपनि पछि स्थगित भएको थियो।

बौचरको दुईदिने नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री रामबहादुर थापा, एमाले महासचिव झलनाथ खनाल र परराष्ट्रमन्त्री उपेन्द्र यादवसँग राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ। भेटमा द्विपक्षीय सम्बन्ध, नेपालमा अमेरिकी लगानी, शान्ति प्रक्रिया र पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ।

बिहीबार अपरान्ह ३ बजे महाराजगञ्जजस्थित अमेरिकी दूतावासमा भ्रमणबारे पत्रकार सम्मेलन गरेपछि स्वदेश प्रस्थान गर्ने बौचरको कार्यक्रम रहेको छ।

Popularity: 8%

Add comment February 11th, 2009

प्रचण्डले करोड मूल्य पर्ने गाडी नचढ्ने

एस, काठमाडौं / एचकेनेपाल डट कम -
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले जापानबाट प्रधानमन्त्रीको लागि ल्याउन लागिएको करीव १ करोड रूपैयाँ पर्ने गाडी चढ्न अस्वीकार गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले आफ्नो जानकारीबिना गाडी किन्ने प्रक्रिया अगाडि बढेको भन्दै सो गाडी अन्य कार्यालयमा पठाउन निर्देशन दिएका छन्। उक्त गाडी किन्न तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकै कार्यकालमा प्रक्रिया अगाडि बढाइएको बताइन्छ। महंगो गाडीमा प्रधानमन्त्री प्रचण्डले चढ्न अस्वीकार गरेको प्रधानमन्त्री प्रेस सल्लाहकार ओम शर्माले जानकारी दिएका छन्।

प्रधानमन्त्रीको लागि नयाँ गाडी किन्ने प्रक्रियाबारे आफूलाई जानकारी नभएको र सञ्चारमाध्यमहरूबाट पछि त्यो कुरा प्रचण्डले थाहा पाएको उनले बताए। उनले आफूलाई त्यत्रो महंगो गाडी चढ्न नसुहाउने बताउंदै चढ्न अस्वीकार गरेको शर्माले बताए।

प्रधानमन्त्रीले सो गाडी राष्ट्रपति वा अन्य बिशिष्ट ब्यक्तिका लागि उपलब्ध गराउन निर्देशन दिएका छन्। अत्याधुनिक सुविधासम्पन्न ६ वटा ढोका भएको उक्त गाडीमा पाँचसय मिटर अगाडिसम्मको बाटो मनिटरमा हेर्न सकिने र सुरक्षाको दृष्टिले उपयुक्त हुने बताइएको छ। जापानको टोयटा कम्पनीमा निर्मित सो महंगो गाडी कोलकोत्ता आइपुगेको छ।

Popularity: 8%

3 comments February 11th, 2009

बुटवल-भैरहवा सडकखण्ड अवरुद्ध

एस, काठमाडौं / एचकेनेपाल डट कम -
नम्बर नखुलेको ट्रकको ठक्करबाट गएराति रूपन्देहीको ड्राइभर टोलमा एकजनाको मृत्यु भएपछि स्थानीवासी सो क्षेत्रमा यातायात अवरूद्घ पारेका छन्।

ट्रकको ठक्करबाट शंकरनगरका २५ वर्षीय मित्रेश केसीको मृत्यु भएको छ। स्थानीयबासीले ठक्कर दिने ट्रक चालकको खोजी गरी कारवाही गर्न र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै मंगलवार रातिदेखि सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल भैरहवा सडकखण्ड अवरुद्ध पारेका छन्।

सडक अवरूद्ध कारण यात्रुहरु बीच बाटोमा अलपत्र परेका छन्। केही शिक्षण संस्थाहरूसमेत प्रभावित भएका छन्।

प्रहरीले २ वटा शंकास्पद ट्रकलाई नियन्त्रणमा लिइ सोधपुछ गरेको छ।

Popularity: 8%

Add comment February 11th, 2009

तमु गुरुङ समाज बार्सिलोनाको सोह्रौं बैठक सम्पन्न

दीपु गुरूङ, बार्सिलोना स्पेन / एचकेनेपाल डट कम -
तमु गुरुङ समाज बार्सिलोना स्पेनको सोह्रौ बैठक समाजका अध्यक्ष बेनबहादुर गुरुङको अध्यक्षतामा हालै सम्पन्न भएको छ।

बैठकको प्रारम्भमा हालै गैरआवासीय नेपाली संघ (एनआरएन) मा निर्वाचित भएका समाजका सदस्यहरु तथा वर्तमान गैरआवासीय नेपाली संघका अध्यक्ष अनिल गुरुङ, उपाध्यक्ष मुक्त गुरुङ, महासचिव देउकाजी गुरुङ, कोषाध्यक्ष रोशन गुरुङ, सदस्यहरु राजु गुरुङ र युबराज गुरुङलाई समाजका अध्यक्षलगायत आमा समूहले खादा लगाई स्वागत अभिनन्दन गरे।

समाजका सचिव गौतम गुरुङले निर्वाचित सदस्यहरुको कार्यकालको पूर्ण सफलताको कामनासहित स्वागत मन्तब्य व्यक्त गरेका थिए।

समाजका महासचिव ओमार गुरुङको गत बर्ष २००८ को आय-ब्यय विवरण बैठकमा प्रस्तुत गरे। बैठकले जनवरीमा सम्पन्न लोछार कार्यक्रमको समीक्षा, आगामी बर्षहरुमा लोछार कार्यक्रमलाई अझ बढ़ी सुदृढ, अनुशासित र लोकप्रिय ढंगले प्रस्तुत गर्दै जानु पर्ने निर्णय गरेको छ। साथै उक्त लोछार कार्यक्रमको सीडी तयार गर्न समाजका सदस्यहरु गौतम गुरुङ, संजीव गुरुङ र दीपु गुरुङको “सीडी निर्माण समिति” गठन गरिएको छ।

Popularity: 8%

Add comment February 11th, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2009
M T W T F S S
« Jan   Mar »
 1
2345678
9101112131415
16171819202122
232425262728  

Posts by Month

Posts by Category

More news....