Archive for February 12th, 2009

गैंडाको आक्रमणले दुईको ज्यान गयो

एस, काठमाडौं / एचकेनेपाल डट कम -
चितवनमा गैंडाले आक्रमण गर्दा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेघौली-५ का ३५ वर्षिय सेना महतो र माडी बनकट्टाका ५९ वर्षिय माघे बोटे रहेका छन्।

गैंडाले महतोलाई विहान दाउरा टिप्न बेतरी खोलामा गएको बेला आक्रमण गरेको थियो। उनको घटनास्थलमै मृत्यु भएको समाचार स्रोतले जनाएको छ। त्यसै गरी, बुधवार राति गैंडाको आक्रमणमा परी घाइते भएका बोटेको भरतपुर अस्पतालमा ल्याउंदै गर्दा बाटोमा मृत्यु भएको छ। उनलाई राति बाली कुर्न गएको बेला पाण्डव नगरमा गैडाले आक्रमण गरेको थियो।

Popularity: 8%

2 comments February 12th, 2009

यु-१७ इलाइट कप उपाधि नेपाललाई

एस, काठमाडौं / एचकेनेपाल डट कम -
नेपालले मलेसियालाई १० विकेटले पराजित गर्दै विहीवार कीर्तिपुरस्थित त्रिवि मैदानमा सम्पन्न एसीसी यु-१७ इलाइट कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

ओपनिङ ब्याट्सम्यान सागर पुन र आकाशसिंह परियारले नेपालको जीतलाई सहज बनाएका थिए। सागरले ६५ र आकाशले ५३ रन बनाएका थिए। नेपालका लागि कप्तान पृथु बाँस्कोटाले ३ विकेट लिएका थिए। उनले त्यसका लागि ८ ओभरमा २ मेडन राख्दै १६ रन खर्चेका थिए। रोचक भट्टले २ विकेट लिए। उनले ६ ओभरमा १५ रन खर्चिए। भुवन कार्की, प्रदीप ऐरी र अविनाश कर्णले १-१ विकेट लिएका थिए।

मलेसियाका लागि जुबेर असरफले ३१ र कितान गुनासागरनले २८ रन बनाएका थिए। टस जितेर ब्याटिङ गरेको मलेसिया ३७ दशमलब १ ओभरमा अलआउट भएको थियो।

Popularity: 8%

Add comment February 12th, 2009

‘जनमुक्ति सेना’ को आठौं वर्षगाँठ मनाइदै

एस, काठमाडौं / एचकेनेपाल डट कम -
१४औं जनयुद्ध दिवसको अवसर पारेर जनमुक्ति सेनाले विहीवारदेखि एक सातासम्म नवलपरासीको कावासोतीस्थित चौथो डिभिजनअन्तर्गत परिवर्तन स्मृति बिग्रेडमा ‘जनमुक्ति सेना’ को आठौं वर्षगाँठ मनाइदै छ।

माओवादी सेनाले आफ्नो स्थापना दिवस यसअगाडि मंसिर ८ लाई मान्दै आएका थिए। यसपटक सशस्त्र विद्रोह आरम्भ गरेको दिन फागुन १ लाई सेनाको समेत स्थापना दिवस मानेको हो। साताव्यापीरुपमा मनाउन लागिएको दिवसमा फुटबल, भलिबल, ब्याडमिन्टन र १० हजारदेखि सय मिटरका विभिन्न दूरीका एथ्लेटिक्सका खेल सञ्चालन हुँदैछन्।

‘जनमुक्ति सेना’ को आठौं वर्षगाँठ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल, माओवादी नेता एवं रक्षामन्त्री रामबहादुर थापा, शान्तिमन्त्री तथा जनसेनाका पूर्व डेपुटी कमाण्डर जनार्दन शर्मा र पर्यटन मन्त्री हिसिला यमी कावासोती पुगेका छन्।

राष्ट्रपति रामवरण यादवको प्रमुख आतिथ्य रहने भनिएपनि सो कार्यक्रममा सरीक हुन यादवले इन्कार गरेका थिए। यादवले सरकार र राष्ट्रिय सेनाको नेतृत्व गरिरहेका प्रधानमन्त्री दाहाल र रक्षा मन्त्री थापालाई एउटा पार्टी विशेषको सेनाको कार्यक्रममा नजान सल्लाह दिएका थिए।

कार्यक्रममा राजनीतिक दलका नेता, विभिन्न देशका राजदूत, नेपाली सेना र प्रहरीका उच्च अधिकारी, संयुक्त राष्ट्रसंघीय नियोगका प्रतिनिधिलगायतलाई आमन्त्रण गरिएको छ।

Popularity: 8%

Add comment February 12th, 2009

नासामा नेपाली बैज्ञानिक

एचकेनेपाल डट कम संवाददाता-
कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका -४ का एक युवकले अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) मा वैज्ञानिक बन्ने सौभाग्य पाएका छन्।

अमेरिकाको भर्जिनिया राज्यको हृयाप्टोनमा रहेको नासाको एयर स्पेस सेन्टरको स्याटेलाईट क्याल्रि्रेसन साइन्टिस्ट पदमा ३० वर्षीय राजेन्द्र भट्ट हालै चयन भएका छन्।

अमेरिकाको साउथ डेकोटा राज्यको साउथ डेकोटा युनिर्भसिटीबाट मास्टर अफ इन्जिनियरिङ गर्न नेपालबाट छात्रवृत्तिमा छानिएका भट्ट सोही युनिभर्सिटीका प्राध्यापकहरुको सहयोगमा नासाको बैज्ञानिक पदमा छानिएका हुन्। उनले हालै नासामा काम प्रारम्भ गरेको कुरा फोन मार्फत आफ्ना दाजु भुवन भट्टलाई जानकारी दिएका थिए।

राजेन्द्रको महेन्द्रनगर स्थित घरमा बधाई दिने र खुसियाली बाड्नेको लहर नै चलेको छ। उनी नासामा काम गर्ने पहिलो नेपाली वैज्ञानिक हुन पुगेका छन्। काठमाडौको पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट छात्रबृत्तिमै इलेक्ट्रनिक्स एण्ड कम्युनिकेशनमा स्नातक गरेका राजेन्द्रले नेपाल छाड्नुअघि नेपाल वायुसेवा निगममा दुइवर्ष इन्जिनियरका रुपमा काम गरेका थिए।

नासाको सो पदका लागि राजेन्द्रले गत अक्टुवर महिनामा आवेदन गरेको बताइएको छ।

Popularity: 8%

1 comment February 12th, 2009

रुपन्देहीमा बन्द नगर्ने सहमति

एचकेनेपाल डट कम संवाददाता-
रुपन्देहीमा क्रियाशील राजनीतिक दलहरूले जिल्लामा बन्द, हडताल र चक्काजाम नगर्ने सहमति गरेका छन्। नेकपा (एमाले) को आसन्न आठौँ महाधिवेशनलाई लक्षित गरेर महाधिवेशनस्थल बुटवल मण्डपमा बसेको सर्वदलीय बैठकले सो सहमति गरेको हो।

दलहरू बाहेक कुनै पक्षले बन्द वा हडताल गरे संयुक्त रुपमा खुलाउन पहल गर्ने र महाधिवेशन अवधिभर बन्द वा हडताल जस्ता कार्यक्रम नगर्ने प्रतिवद्धता पनि उनीहरूले व्यक्त गरेका छन्।

एमाले रुपन्देहीका सचिव लिला गिरीको अध्यक्षतामा बसेको बैठकमा एकीकृत नेकपा (माओवादी) रुपन्देहीका इन्चार्ज वसन्त श्रेष्ठ, नेपाली काङ्ग्रेस, रुपन्देहीका सभापति रामचन्द्र ढकाललगायतका नेताहरूको सहभागिता थियो।

मधेसी जनअधिकार फोरम, तमलोपा र सदभावना (आनन्दीदेवी)ले पनि सो निर्णयप्रति समर्थन जनाएका छन्।

Popularity: 8%

Add comment February 12th, 2009

चैत महिना कायम गराउन आन्दोलन

एचकेनेपाल डट कम संवाददाता-
नेपाल सरकारले २०६६ सालको चैत महिना लोप गरी ११ महिनाको वर्ष कायम गर्ने र २०६७ सालको वैशाख महिनालाई २०६६ चैत महिनामा सारी २०६७ साल वैशाखको अधिक माससमेत हटाउने गरी गरिएको निर्णयले निस्कने गम्भीर दुष्परिणामको जिम्मा सरकार स्वयंले लिनुपर्ने ११ महिने वर्षको निर्णयविरुद्ध आन्दोलन गर्ने सङ्घर्ष समितिले जनाएको छ।

समितिद्वारा प्रकाशित प्रेस विज्ञप्ति अनुसार सरकारको उक्त निर्णयले नेपालमा ज्योतिषीय प्रभावमा विषमता, साँस्कृतिक, धार्मिक र सामाजिक संरचनामा अन्योल र नकारात्मक प्रभाव पर्ने निश्चित छ भन्दै के कुनै धर्म र संस्कृतिमा आघात र हानी पुर्याउने गरी राज्यले हस्तक्षेप गर्न मिल्छ भनी प्रश्न गर्दै सो निर्णय फिर्ता लिन माग गरेको छ।

Popularity: 8%

1 comment February 12th, 2009

स्वयम् कर घोषणाको म्याद बढ्यो

एचकेनेपाल डट कम संवाददाता-
सरकारले आयको स्वयम् कर घोषणा अवधि एक महिना थपेको छ। अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उद्योग व्यवसायीको आग्रहलाई ध्यानमा राखी फागुन मसान्तसम्मका लागि उक्त अवधि बढाएको बताइएको छ।

अर्थ सचिव कृष्णहरि बास्कोटाले नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल परिसङ्घ, नेपाल च्याम्वर अफ कमर्सलगायतका उद्योग व्यवसायसँग सम्वद्ध सङ्घ/संस्थाहरूसँगको छलफलपछि व्यापारीहरूको आग्रहमा एक महिना अवधि थप गरिएको स्पष्ट गर्नुभयो।

स्वयम् कर घोषणा अभियान उत्साहजनक रुपमा अघि बढिरहेको उल्लेख गर्दै उहाँले यसबीचमा करिब एक अर्व रुपैया सङ्कलन भएको जानकारी दिनुभयो।

मुलुकका २२ वटा आन्तरिक राजस्व कार्यालयबाट कर सङ्कलन गइरहेकाले स्पष्ट तथ्याङ्क अझै आइनसकेको मन्त्रालयले जनाएको छ।

सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत् स्वयम् कर घोषणा (भीडीएफ) कार्यक्रम सार्वजनिक गरेको थियो।

Popularity: 8%

Add comment February 12th, 2009

चुनावअघि विद्यार्थीहरुबीच झडप

एचकेनेपाल डट कम संवाददाता-
स्ववियु निर्वाचन नजिकिँदै गर्दा विद्यार्थीहरुबीच झडपका घटना बढ्न थालेका छन्। चितवनका दुई क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियुका विद्यार्थीबीच हिजो दिउँसो भएको झडपपछि आज पनि त्यहाँ तनाव कायमै छ। झडपमा परी एक पत्रकारसहित १६ जना घाइते भएका छन्।

उक्त घटनामा क्रान्तिकारीले आठ जना र अनेरास्ववियुले सात जना आ-आफ्ना विद्यार्थी घाइते भएको बताएको छ।

पहिले सप्तगण्डकी र त्यसको साँढे तीनघण्टा पछि वीरेन्द्र बहुमुखी क्याम्पसमा झडप भएको थियो।

घटनामा परी वीरेन्द्र बहुमुखी क्याम्पसमा समाचार सङ्कलन गर्न गएका एक पत्रकार समेत घाइते भएका थिए।

Popularity: 8%

Add comment February 12th, 2009

जर्मनीमा नेपाली विद्यार्थीबीच छलफल

होम केसी, बोखुम, जर्मनी/ एचकेनेपाल डट कम -
जर्मनीमा अध्ययनरत नेपाली विद्यार्थी र अन्य पेशामा आबद्ध स्थानीय नेपालीबीच बुधवार वर्तमान नेपालको राजनीतिक तथा समसामयिक बिषयमा अन्तर्कृया सम्पन्न भएको छ।

एन-आर-वेमा अध्ययनरत विद्यार्थी र नेपालीबीच भएको अन्तर्क्रिया कार्यक्रममा नेपालको वर्तमान राजनीतिक अवस्था, नेपालको भावी शान्ति प्रक्रिया र नयाँ संबिधान निर्माणका विषयमा छलफल भए। कार्यक्रममा दीपेन्द्र सुबेदी, प्रविन मानन्धर, बिजय लामा, शंकर धगी, नेपालमा लामो समयदेखि सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहेका रेइनहार्ड क्रेकेललगायतका अन्य ब्यक्तिहरु सहभागी थिए।

सोही कार्यक्रममा नेपालबाट आएका विद्यार्थी नेता बाबुराजा चित्रकारले नेपालको बर्तमान राजनीतिक अवस्थाबारे संक्षिप्त जानकारी दिए। कार्यक्रममा नयाँ नेपाल निर्माणका लागि विदेशमा रहेका नेपालीबाट हुन सक्ने सहयोग र योगदानबारे चर्चा भएका थिए।

Popularity: 8%

Add comment February 12th, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2009
M T W T F S S
« Jan   Mar »
 1
2345678
9101112131415
16171819202122
232425262728  

Posts by Month

Posts by Category

More news....