Archive for February 17th, 2009

टाउको काटिएको शव फेला भेटियो

एचकेनेपाल डट कम सम्वाददाता -
नवलपरासीको गैडाकोटमा मंगलबार बिहान टाउको काटेर हत्या गरिएको वेफारिसे शव फेला परेको छ। गैडाकोट-७ गैरीगाउँस्थित नारायणी नदी किनारको खेतमा करीव २२/२३ वर्षको पुरुषको शव भेटिएको हो।

टाउको र शरीर छुट्टाछुट्टै भएको अवस्थामा फेला परेको शवको सनाखत हुन नसकेको गैंडाकोट प्रहरीले जनाएको छ।

स्थानीयले विहान करीव साढे नौ बजेतिर शव देखेर खवरपछि प्रहरी घटनास्थल पुगेका थिए। युवकको टाउको काटेर गएराति हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। पोष्टमार्टमको लागि शव भरतपुर अस्पताल लगेको छ।

Popularity: 8%

Add comment February 17th, 2009

पत्रकार धमला थप पाँच दिन हिरासतमा

एचकेनेपाल डट कम संवाददाता -
जिल्ला प्रशासन कार्यालय काठमाडौंले पत्रकार ऋषि धमलालाई थप पाँच दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ।

करीव दुई सातादेखि प्रहरी हिरासतमा रहेका धमलालाई अनुसन्धानका लागि समय अपुग भएको भन्दै प्रहरीले समय माग गरेपछि थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो।

रणवीर सेनासंगको मिलोमतोमा फिरौति असुली गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले रिपोटर्स क्लवका अध्यक्ष धमलालाई हिरासतमा राखी अनुसन्धान गर्दैछ।

Recent Videos:

Popularity: 8%

4 comments February 17th, 2009

गोली हानी दुईको हत्या

एचकेनेपाल डट कम संवाददाता-
अज्ञात हतियारधारी समूहले सोमबार राति गोली हानी दुई जनाको हत्या गरेका छन्। गोली प्रहारबाट मृत्यु हुनेहरूमा कैलालीको श्रीपुर गाविस-४ निवासी ६० वर्षीय गम्भीर साउद र जनकपुर चुरोट कारखानाका सुपरभाइजर पदमा कार्यरत नरेन्द्र खाँती रहेका छन्।

राति करीव १२ बजे हतियारीधारी समूहले साउदको घरैमा गएर उनको हत्या गरेका हुन्। घटनामा उनका २७ वर्षीय छोरा प्रेम साउदसमेत घाइते भएका छन्। टाउकोमा गोली लागेका उनलाई उपचारको लागि नेपालगञ्ज लगिएको छ।

त्यसै गरी, जनकपुरमा नरेन्द्र खाँतीलाई राति अज्ञात समूहले हत्या गरेको छ। करीव ८ बजे राति बजार घुम्दै गर्दा उनीमाथि गोली प्रहार भएको थियो। ढाडमा गोली लागेका घाइते खातीलाई अस्पताल लादै गर्दा बाटोमा मृत्यु भएको हो।

खाँतीको हत्या विरोधमा जनकपुर चुरोट कारखानाका कर्मचारीहरुले मंगलवार कामकाज ठप्प गरी जिल्ला प्रशासन कार्यालय धनुषामा मृतकको शवसहित धर्नामा बसेका छन्।

खाँतीको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले जनकपुरबाट जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला सिंह समूहका जनकपुर नगर ईन्चार्ज बिजुली सिंह भनिने राकेश पाण्डेसहित पाँच जनालाई पक्राउ गरेको छ।

Popularity: 8%

Add comment February 17th, 2009

बर्डफ्लु भित्रिन नदिन उच्च सतर्कता

एचकेनेपाल डट कम संवाददाता-
बाहिरबाट अवैधरूपमा पक्षीजन्य पदार्थ भित्रिन नदिन सुदूरपश्चिमका सीमा नाकामा सुरक्षा जाँचमा कडाइ गर्न थालिएको छ । सुदूरपश्चिम क्षेत्रीय पशु सेवा निर्देशनालयले दिएको तथ्याङ्कअनुसार एक महिनाको अवधिमा भारतीय नाका भएर भित्रिन लागेका एक हजार २०० कुखुरा मारिएका छन् ।

कञ्चनपुरको दोधारा चाँदनी बाटो भएर भित्रिन लागेका कुखुरा नष्ट पारिएको सुदूरपश्चिम पशु स्वास्थ्य निर्देशक डा. कर्णबहादुर बोगटीले बताउनुभयो ।

सीमामा प्रहरी क्वारेन्टाइनका कर्मचारी सशस्त्र प्रहरीलगायतको टोलीले दैनिक जसो जाँच गरिरहेको छ । अहिले कञ्चनपुरको बेलौरी, गड्डाचौकी र धनगढीमा क्वारेन्टाइन कार्यालय छन् भने डडेलधुरा, बैतडी, दार्चुला जिल्लाका नाकाबाट समेत बर्ड फ्लु भित्रनसक्ने खतरा रहेको पनि बताएको छ ।

रोग भित्रनसक्ने भएकाले उच्च र्सतकता अपनाउन सुदूरपश्चिम क्षेत्रीय प्रशासक हरिप्रसाद नेपालको अध्यक्षतामा क्षेत्रीय प्राविधिक समिति गठन गरी एक जिल्लाबाट अर्को जिल्लामा लैजाँदा समेत जाँच गरिन थालिएको छ ।

भारतीय बजारमा कुखुराको मूल्य घटेको र नेपालमा बिक्री गरी राम्रो कमाइ हुने लोभमा व्यापारीले नेपालमा अवैधरूपमा कुखुरा भित्र्याउने खतरा देखिएको क्षेत्रीय प्रशासक हरिप्रसाद नेपालले बताउनुभयो ।

सुदूरपश्चिमका नौ जिल्लामध्ये कैलाली र कञ्चनपुरलाई उच्च जोखिममा राखिएको छ । त्यसैगरी डडेलधुरा, बैतडी र दार्चुला मध्य जोखिममा तथा डोटी, बझाङ, अछाम र बाजुरा न्यून जोखिममा छन् ।

Popularity: 8%

Add comment February 17th, 2009

थप कामदार कोरियातर्फ

एचकेनेपाल डट कम संवाददाता-
सरकारले दक्षिण कोरिया कामदारका लागि छनोट भएका ३४ जना नेपाली कामदारलाई हिजो त्यसतर्फ पठाएको छ।

यसअघि विभिन्न २६ चरण गरेर दुई हजार २५२ जना नेपाली कामदारलाई कोरिया पठाइसकेको रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले जनाएको छ।

त्यसैगरी सो शाखाले छनोट तयारी पुरा भएका ५२ जना नेपाली कामदारलाई आगामी साता कोरिया पठाउने तयारी गरिरहेको छ।

Popularity: 8%

Add comment February 17th, 2009

मालपोत कार्यालयमा कम्प्युटरमार्फत् सेवा

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौँ उपत्यकास्थित पाँच वटा मालपोत कार्यालयका साथै कास्की, कैलाली, टीकापुर, विराटनगर, बेलबारी र मकवानपुर गरी ११ वटा कार्यालयबाट कम्प्युटरमार्फत् सेवा उपलब्ध गराउन थालिएको छ ।

सूचना तथा सञ्चारमन्त्रालयद्वारा आयोजित साप्ताहिक प्रवक्ता पत्रकार भेटघाट कार्यक्रममा भूमिसुधार तथा व्यवस्था मन्त्रालयका प्रवक्ता कृष्णराज अधिकारीले यस आर्थिक वर्षा १२ हजार ३३८ मुक्तकमैया परिवारलाई जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउने लक्ष रहेकोमा हालसम्म ७६२ मुक्तकमैया परिवारलाई जग्गाधनी प्रमाणपत्र पूर्जा वितरण गरिसकिएको बताउनुभयो ।

Popularity: 8%

Add comment February 17th, 2009

प्रतिक्रान्तिकारी र प्रतिगामीको हस्तक्षेपबाट जोगिन प्रधानमन्त्रीको आग्रह

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिकारी र प्रतिगामी तत्वहरूको हस्तक्षेप र प्रयोग हुनबाट जोगिन नेकपा एमालेको नेतृत्वलाई चनाखो हुन आग्रह गर्नुभएको छ ।

नेकपा (एमाले)को आठौँ महाधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले वामपन्थीहरूमा बेलाबखत देखिने गरेको दायाँ र बायाँ विचलनका कारण महत्वपूर्ण राजनीतिक परिवर्तनका क्षणमा वामपन्थीहरू चुक्ने गरेको बताउनुभयो।

उहाँले नेकपा (एमाले)ले मुलुकको विषम परिस्थितिमा आफ्नो जिम्मेवारीलाई गहनरुपमा लिने विश्वास व्यक्त गर्दै यसतर्फ सचेत रहन एमालेका महाधिवेशन प्रतिनिधि र युवालाई आग्रह गर्नुभयो ।

मुलुकको शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन र संविधान लेखन कार्य पूरा गर्न सबै दलबीच सहमति र सहकार्य आवश्यक रहेको चर्चा गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो- “सहमतिका निम्ति एमाले महाधिवेशनमा नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासमेतका नेताहरूले व्यक्त गर्नुभएको धारणालाई म सम्मान गर्दछु ।”

उहाँले शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सेना समायोजन एक महत्वपूर्ण कार्य भएको बताउँदै यसमा राजनीतिक दलको सहमतिमा निर्माण भएको विशेष समितिले कार्य गरिरहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालले शिविरमा बसेका माओवादी योद्धालाई केही दिनअघि सम्बोधन गर्नेक्रममा आफूले उनीहरूलाई विशेष समितिको कमाण्डमा गएको माओवादीको कमाण्डमा नरहेको भनेर स्पष्ट निर्देशन दिएको पनि उल्लेख गर्नुभयो ।

संविधानसभाभित्र बनेका समितिहरू सहमतिकै आधारमा बनाइएको र ती समितिले गाउँ गाउँमा गएर सुझाव सङ्कलन गरिरहेकोसमेत उहाँले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले मुलुकलाई माया गर्ने, शान्तिप्रक्रियालाई निष्कर्षा पुर्याउने तथा सबै वर्ग, क्षेत्र, उत्पीडित समुदाय र पुरानो सत्ताद्वारा हेपिएकासमेतका सबै पक्षका भावनालाई समेटेर संविधान निर्माण गर्न नयाँ राजनीतिक सहमतिका निम्ति सबैसँग अपिल गर्नुभयो ।

नेकपा एमालेका नेता एवम् अन्य वक्ताद्वारा सहमतिका निम्ति माओवादी बढी जिम्मेवार हुनुपर्दछ भनेर औँल्याइएको विषयमा जवाफ दिँदै प्रधानमन्त्री दाहालले भन्नुभयो- ‘माओवादीका तर्फबाट हुनसक्ने कुनै पनि प्रकारका गैरकानुनी र अराजक गतिविधि भएमा त्यसलाई नियन्त्रण गर्न कठोर कदम चाल्न तयार छु ।’

उहाँले आफ्ना पार्टीका नेता तथा कार्यकर्ताबाट हुनसक्ने कुनै पनि प्रकारका गैरकानुनी काम भएमा त्यसलाई कडा कदम चालिने पनि स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री दाहालले अगाडि भन्नुभयो- ‘तर मेरो स्वकिय सचिवमाथि राजधानीमै गोली प्रहार हुँदा एमालेले केही नबोल्नु दुःखद् हो ।’

मुलुकको राष्ट्रिय स्वतन्त्रताका निम्ति बलिदान दिन तयार हुने हामीहरू एक हुनसके नयाँ नेपाल बनाउन सक्षम छौं भन्दै प्रधानमन्त्री दाहालले त्यसका निम्ति वामपन्थी दलहरूबीचको एकता अझ महत्वपूर्ण हुने बताउनुभयो।

Popularity: 8%

1 comment February 17th, 2009

कागहरू मरेपछि बर्डफ्लुको त्रास

एचकेनेपाल डट कम संवाददाता-
बाग्लुङ जिल्लाको नारायणस्थान गाविसमा अज्ञात रोगका कारण एकै पटक आधा दर्जन भन्दा बढी काग मरेपछि त्यहाँ बर्डफ्लुको आशंकामा स्थानीय बासिन्दा त्रसित भएका छन्।

नारायणस्थान गाविस वडा नम्बर ७ सङ्गमचोकमा अस्ति साँझ रुखमा बसेका ६/७ वटा काग एकै चोटी खसेर मरेका थिए।

रुखमा बसेका काग एकै पटक भुइमा खसेपछि हेर्न जादा कागहरू मरेको र बर्डफ्लुको कारण काग मरेको शङ्कामा वरिपरिका वासिन्दा आतङ्कित भएको पौडेलले बताउनुभयो।

काग मर्ने बेलामा रातो रगतसहितको पातलो दिशा गर्ने, पखेटा लुलो पार्ने खुट्टा दह्रो गरी तानेर मर्ने गरेको लक्षण देखिएको थियो।

मरेका कागलाई जिल्ला पशु सेवा कार्यालय बाग्लुङमा जानकारी दिइएको पौडेलले बताउनुभयो।

सो सम्बन्धमा जिल्ला पशुसेवा कार्यालयले कागको मृत्यु वर्डफ्लुका कारण नभई अन्य विषाक्त आहार हुन सक्ने जनाएको छ।

Popularity: 8%

Add comment February 17th, 2009

प्रतिक्रान्तिको षड्यन्त्र भइरहेको आरोप

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा माओवादीका पोलिटव्यूरो सदस्य एवम् शान्ति तथा पुनःनिर्माणमन्त्री जनार्दन शर्माले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई समाप्त पार्न अहिले प्रतिकान्तिका लागि षड्यन्त्र भइरहेको बताउनुभयो ।

धनकुटामा आज आयोजित माओवादी कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै मन्त्री शर्माले अहिले भइरहेको प्रतिकान्तिको षडयन्त्रलाई रोक्न सबै गणतन्त्रवादी र लोकतन्त्रवादी एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

जनयुद्ध र जनआन्दोलनका घाइतेहरूलाई क्षतिपूर्ति तथा उपचार र सहिद परिवारहरूलाई राहत कार्यक्रम वर्तमान सरकारले सञ्चालन गरिरहेकोमा जोड दिंदै मन्त्री शर्माले सरकार सहिदहरूले देखाएको बाटो र जनताको भावनाअनुरुप चल्ने बताउनुभयो ।

स्थायी शान्ति ल्याउन संविधान निर्माण हुनुपर्ने बताउँदै उहाँले सरकारले संविधान निर्माणलाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।

Popularity: 8%

Add comment February 17th, 2009

व्याण्ड प्रतियोगितामा पेपरेज उत्कृष्ट

नविन पोखरेल, लण्डन / एचकेनेपाल डट कम -
भ्यालेन्टाइन डेका दिन आयाम साउण्ड एण्ड भिजनद्वारा आयोजित ‘दोश्रो नेपलिज लाइभ व्याण्ड प्रतियोगिता’ मा केन्टस्थित पेपरेज व्याण्डले ‘व्याण्ड अफ दि इअर २००९’ उपाधि जितेको छ। उपाधिसंगै व्याण्डले प्रथम पुरस्कार वापत नेरु एक लाख, ट्रफी, सर्टिफिकेट, एउटा गीत रेकर्डिङ्ग तथा मिलन चाम्लिङको निर्देशनमा ‘भिजुअल’ को अवसर प्राप्त गरेको छ।

प्रतियोगितामा लण्डनस्थित ‘डेइन्टि एरर’ दोश्रो विजेता व्याण्ड बनेको छ। उसले ट्रफी, सर्टिफिकेट तथा बास गिटार प्राप्त गर्‍यो। दोश्रो बिजेता ब्याण्डको गिटार पुरस्कार गत वर्षका विजेता ‘यु एण्ड अस’ ले प्रायोजन गरेको थियो। ‘आर्टिस्ट अफ अर्गनाइजर च्वाइस टाइटल’ आशा व्याण्डका समिर आलेले पाए। आलेले ट्रफी, सर्टिफिकेटसहित लण्डन दिल्लीको रिर्टन टिकट प्राप्त गरेका छन्। सो टिकट जेट एअरवेजले प्रायोजन गरेको हो।

त्यसैगरि, वेष्ट भोकलिष्ट हेडिज ब्याण्डका केवल, बेष्ट लिड गिटारिष्ट पेपरेज ब्याण्डका शेसन लिम्बू, बेष्ट बास गिटारिष्ट डेइन्टि एरर व्याण्डका दिवश राई, बेष्ट ड्रमर व्याण्डका सङ्गम, बेष्ट किबोर्ड प्लेयर डेइन्टि एरर ब्याण्डका अभिदान थापा तथा बेष्ट अदर इन्स्ट्रुमेन्टमा इनरसिया ब्याण्डका विशाल गुरुङले प्राप्त गरे। यि विजयी कलाकारले ट्रफी, सर्टिफिकेटसहित सम्मान प्राप्त गरे।

यसपटक प्रतियोगिताको निर्णायकमा काउन्सिलर धन गुरुङ, क्याप्टेन शेवन्त पुर्जा, श्रीमति निला अधिकारी र डम्बर सुब्बा थिए। बेलायतमा बस्ने नेपाली युवाको प्रतिभा प्रस्फुटनका लागि गरिएको सो कार्यक्रम प्रमुख अतिथि एनआरएन यूके अध्यक्ष मेजर रि. डमर घलेले पानसमा दीप प्रज्वलन गरि शुभारम्भ गरेका थिए। घलेले विजयीलाई पुरस्कार वितरण गर्दै युवा वर्गको हकहितका सवालमा केही गर्न एनआरएन युके सधै तयार रहेको बताए।

प्रतियोगितामा आयोजक आयाम ब्याण्ड तथा गत वर्षका विजेता यु एण्ड अस् (गेष्ट ब्याण्ड) सहित अन्य १४ ब्याण्डले भाग लिएका थिए। भाग लिनेमा जेपिटी सकर्ज, लास्ट मिनेट, हेडिज, सर्पेन्टाइन, इनरसिया, पेपरेज, आशा, फस्ट एटेम्ट, नो कोड, प्रतिविम्व, म्रो, गर्ल्स, डेइन्टी एरर र सेन्ट लुनाटिक व्याण्ड थिए।

कार्यक्रमस्थल १५ देखि वाइस बर्षउमेर समूहका युवा दर्शकले खचाखच थियो। प्रमोद शर्मा, रजुल प्रधान, सुमित बज्राचार्य, राजेन्द्र गुरुङ र संगीत कुशुको ‘लाइभ प्रोग्राम भिडियो प्रिजेन्टेशन’ पनि त्यसमा आकर्षक बन्यो।

कार्यक्रमलाई जेट एअरवेज, रेक्स एअर, कान्तिपुर सर्भिसेज, लज भेगास साउण्ड हाउज, विल पुर्जा, ए एम रेष्टुरेन्ट, चाम्स प्रोडक्सन, गोर्खा प्यालेस, सलाद मास्टर, ओरिअन्टल बफेट इलिङ्ग, गोर्खाज किचन, ओरिअन्टल बफेट फोक्स्टन, नर्थ वेष्ट कलेज लन्डन तथा गोर्खाज डिनरले प्रायोजन गरेका थिए। नेपाली टिभी युके, बिएफबिएस रेडियो, नेपालीपत्र साप्ताहिक तथा नेपालीसमाज युकेले अफिसियल मिडियाको भूमिका निर्वाह गरे। साउण्डमा भिम लिम्बु, प्रकाश थापा तथा लरेन्स एवं प्रचार प्रसारको जिम्मा नवीन पोखरेलले लिएका थिए।

कार्यक्रम सफल भएकामा आयोजक खुशी छन्। बेलायतस्थित दूतावास, संघ सस्था तथा प्रायोजकहरुले यसैगरी साथ दिदै गए आगामी वर्षहरुमा पनि लाइभ व्याण्ड कम्पिटिशनलाई निरन्तरता दिने सोच रहेको कार्यक्रम संयोजक रमेश सिहं सराङ्गकोटीले बताए।

Popularity: 8%

1 comment February 17th, 2009

अष्ट्रेलियाबाट पनि नेपालीपत्रको प्रकाशन शुरु

नविन पोखरेल, सिड्नी / एचकेनेपाल डट कम -
अष्ट्रेलियामै पहिलो पटक साप्ताहिक रुपमा नेपाली पत्रिका ‘अष्टेलियाको नेपालीपत्र’ प्रकाशन शुभारम्भ भएको छ।

युरोपमा निक्कै लोकप्रियता कमाएको युरोपको नेपालीपत्र साप्ताहिकले अष्ट्रेलियावाट पनि आफ्नो प्रकाशन शुरु गरेको हो। अष्ट्रेलियामा बसोवास गरिरहेका नेपालीहरुलाई नेपाललगायत विश्वका अनेकौं स्थानको समाचार, विचार र विश्लेषणहरुसहित एकमुष्ठ रुपमा एउटा पत्रिकावाटै उपलब्ध गराउने उद्धेश्यले ‘अष्ट्रेलियाको नेपालीपत्र’ साप्ताहिक प्रकाशन शुरु गरिएको पत्रिकाका प्रवन्ध निर्देशक राजेन कंडेलले बताउनुभयो।

१६ पृष्ठको रंगीन कलेवरमा प्रकाशन सुरु गरिएको पत्रिकाको गत शनिवार प्रणय दिवश (भ्यालेन्टाइन डे) का दिन सिड्नी र व्रिसवेनमा आयोजित छुट्टाछुट्टै भव्य औपचारिक समारोहबीच शुभारम्भ गरिएको छ। सिड्नीको युनिभर्सिटी अफ न्यू साउथ वेल्समा आयोजित एक विशेष कार्यक्रममा विशेष अतिथि नारायण प्रधान, पत्रिकाका प्रवन्ध निर्देशक राजन कंडेल र प्रकाशन समूहका तर्फाट एनआरएन अष्टेलियाका उपाध्यक्ष युवराज भट्टराई तथा दिपक खड्काले पत्रिकाको विमोचन गर्नुभएको हो भने व्रिसवेनमा पत्रिकाका कन्टी डाइरेक्टर दुईराज शर्माले भ्यालेन्टाइन नाइटमा आयोजित कार्यक्रममा पत्रिका विमोचन गर्नुभएको हो।

पत्रिका स्तरीय बनाउन नेपाल, अष्ट्रेलिया र बेलायतमा छुट्टाछुट्टै कार्यालय स्थापना गरि सकृय पत्रकारहरुको समूह निर्माण गरिएको जानकारी प्रवन्ध निर्देशक कंडेलले कार्यक्रममा बताउनुभयो।

पत्रिकालाई स्तरीय बनाउन कुनै राजनीतिक वाद र विचारभन्दा टाढा रहेर स्वतन्त्र पत्रकारिताको पक्षमा रहेर काम गर्ने जानकारी दिनुभयो। पत्रिकालाई सवै खाले विषयको मिश्रणवाट स्तरीय बनाउने सोच रहेको पनि कंडेलले बताउनुभयो। पत्रिकामा अंग्रेजी र नेपाली दुवै सामाग्री रहनेछ।

Popularity: 8%

Add comment February 17th, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2009
M T W T F S S
« Jan   Mar »
 1
2345678
9101112131415
16171819202122
232425262728  

Posts by Month

Posts by Category

More news....