Archive for February 20th, 2009

परराष्ट्रमन्त्री यादवलाई कालो झण्डा

एचकेनेपाल डट कम संवाददाता -
परराष्ट्रमन्त्री एबं मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलाई शुक्रबार प्रेस युनियनसँग सम्बद्ध पत्रकारहरूले कंचनपुरमा कालो झण्डा देखाएका छन्।

केही दिनअघि मन्त्री परिषदको बैठकले २० महिनादेखि बेपत्ता कंचनपुरका पत्रकार प्रकाश ठकुरीबारे अदालतमा बिचाराधीन मुद्धा फिर्ता लिएको निर्णयको विरूद्घ पत्रकारहरूले कालो झण्डा देखाएका हुन्।

उनीहरूले पत्रकार ठकुरीको अवस्था सार्बजनिक नभएसम्म जिल्लामा प्रवेश गर्ने सबै मन्त्रीविरूद्घ कालो झण्डा देखाउने जनाएका छन्।

परराष्ट्रमन्त्री यादव कंचनपुर उद्योग वाणिज्य संघको सभाकक्षमा पार्टी कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका थिए।

Recent Videos:

Popularity: 8%

Add comment February 20th, 2009

नेपाली सेनाका पूर्व सुवेदारमाथि प्रहरीद्वारा गोली प्रहार

एचकेनेपाल डट कम संवाददाता -
मानसिक सन्तुलन ठीक नभएका काभ्रे गाविसका भरतजंग बस्नेतलाई नियन्त्रणमा लिन प्रहरीले शुक्रवार बिहान गोली प्रहार गरेको छ।

गोली लागेर गम्भीर रूपमा घाइते भएका नेपाली सेनाका पूर्व सुवेदार बस्नेतको चरिकोटस्थित दोलखा जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि राजधानीको वीरेन्द्र सैनिक अस्पतालमा पठाइएको छ।

दुईचार दिनदेखि गाउंघर जलाइदिन्छु भनि उपद्रो मच्चाउदै आएका बस्नेतलाई नियन्त्रणमा लिन नसकेपछि गाउंलेले प्रहरीलाई खबर गरेका थिए। त्यहाँ पुगेका इलाका प्रहरी कार्यालय मैनापोखरीका प्रहरी टोलीमाथि खुकुरी लिएर प्रहरीको राइफल खोस्ने प्रयाश गर्दा प्रहरीले वाध्य भएर नियन्त्रणमा लिन घुंडामुनि गोली प्रहार गरेको बताएको छ।

केही समयअघि बैदेशिक रोजगारका लागि कतार जाने प्रयाश गरिरहेका बस्नेतको पैसा दलालले खाइ दिएपछि उनको मानशिक सन्तुलन गुमेको स्थानीय बासिन्दाले बताएका छन्।

Popularity: 8%

2 comments February 20th, 2009

झापामा फेरि बर्डफ्लु देखियो

एचकेनेपाल डट कम संवाददाता -
एक महिनाअघि कुखुरामा देखिएको बर्डफ्लु नियन्त्रणमा आएको केही साता नबित्दै झापामा फेरि बर्डफ्लु देखिएको छ।

यसअघि मेचीनगर नगरपालिका-१० मा बर्डफ्लु देखिएको थियो। यस पटक झापाको शरणामती गाउँमा कुखुरामा बर्डफ्लु देखिएको छ। शरणामती गाउँ भारतीय सीमासंग जोडिएको मध्यवर्ती गाउं हो। भारतबाट ल्याइएका कुखुरामा बर्डफ्लुको जीवाणु भेटिएको कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डा.हरि दाहालले जनाएका छन्।

दुई दिनमा झण्डै डेढ सय कुखुरा मरेपछि प्रयोगशाला परीक्षणका लागि लण्डन पठाइएकोमा शुक्रबार रिपोर्ट आएपछि यो थाहा भएको हो। यसबारे विस्तृत जानकारी दिन आज अपरान्ह साढे ३ वजे कृषि मन्त्रालयले पत्रकार सम्मेलन गर्दै छ।

Popularity: 8%

1 comment February 20th, 2009

सुरक्षाका लागि स्थानीयबासी आफैँ गस्तीमा

एचकेनेपाल डट कम संवाददाता-
नजिकै प्रहरी चौकी भएर पनि सुरक्षा व्यवस्था कडा नभएको भन्दै दोलखाको काब्रे गाविसका बासिन्दाले रातिको समयमा गस्ति सुरु गरेका छन् ।

इलाका प्रहरी चौकी मैनापोखरी नजिकै रहेर पनि दिनहुँजसो लुटपाटका घटना एकाएक बढ्न थालेपछि सुरक्षाका लागि स्थानीय बासिन्दाले गस्ती गर्न सुरु गरेका हुन् ।

स्थानीय शिक्षक मोहनकृष्ण शर्माका अनुसार अज्ञात हतियारधारी व्यक्तिको समूहले पुरै घर कब्जामा लिएर धमाधम लुटपाट गर्न थालेपछि स्थानीयवासीले नै आफ्नो सुरक्षा गर्नुपरेको हो । आफू र आफ्ना घर लुटिनबाट बच्नका लागि आफूहरुले गस्ती सुरु गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

अज्ञात हतियारधारी समूहले मैनापोखरी बजारनजिकै दुईवटा घरबाट गरगहना, नगद, मोबाइललगायतका सामान लुटेर लगेपछि स्थानीय बासिन्दा आतङ्कित भएका छन् ।

आफूहरु लुटिने डरले घरमा पुरुष नभएका घरका महिला छिमेकीका घरमा बसेर रात बिताउन बाध्य भएको स्थानीयबासी राजन दाहालले जानकारी दिनुभयो ।

लुटेरा समूहले स्थानीयबासीबाट लुटेर लगेको मोबाइल नम्बरबाट नै फोन गरी स्थानीय केही व्यक्तिलाई ‘अव तेरो पालो’ भनी धम्क्याएपछि अहिले सो क्षेत्रमा झनै आतङ्क फैलिएको छ।

Popularity: 8%

1 comment February 20th, 2009

सरुवा सच्याउन माग

एचकेनेपाल डट कम संवाददाता-
नेपाली काङ्ग्रेसले विधिको शासन स्थापित गराउँदै प्रशासनिक मूल्यमान्यता कायम गर्न गराउन, “आस्थाका आधारमा दुःख दिने मनसायबाट गरिएका” सम्पूर्ण सरुवा तत्काल सच्याउन माग गरेको छ।

कार्यवाहक सभापति सुशील कोइरालाले प्रेस विज्ञप्ति जारी गरी निजामती प्रशासन राज्य सञ्चालनको स्थायी संयन्त्र भएकाले यसको परिचालन विधिसम्मत् ढङ्गबाट भएमात्र सेवा प्रवाहमा निष्पक्षता र प्रभावकारिता कायम भई सुशासनको अनुभूति हुने बताउनुभएको छ।

Popularity: 8%

Add comment February 20th, 2009

कमल थापा सरकारको विकल्प खोज्न नहुने बताउँदै

एचकेनेपाल डट कम संवाददाता-
राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले नै सरकारको विकल्प खोज्न नहुने बताउनुभएको छ। वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले अहिलेको प्राथमिकता सत्ता परिवर्तनभन्दा स्थायी शान्ति भएकाले विकल्पको खोजीमा नलाग्न ठूला दललाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो- ‘अहिले नै माओवादीलाई सत्ताबाट हटाउनु उचित हुँदैन, एक किसिमले ऊ जनमत पाएर सरकारको नेतृत्व गरिरहेको छ ।’

नयाँ संविधान निर्माणपश्चात् हुने निर्वाचनले माओवादीलाई आफैँ सत्ताबाट हटाउने भविष्यवाणीसमेत थापाले गर्नुभयो । उहाँले भन्नुभयो- ‘माओवादी जनतालाई जेजस्ता प्रतिबद्धता व्यक्त गरेर युद्धमा होमेको थियो, ती सबै हावामा उडेपछि अब जनताले कसरी विश्वास गर्छन् -’

अर्को एक प्रसङ्गमा अध्यक्ष थापाले माओवादीको उग्रवामपन्थी विचारलाई परास्त गर्नका लागि नेपालमा वैकल्पिक विचार जन्मिने बताउनुभयो । त्यस्तो विचारको नेतृत्व काङ्ग्रेसले गर्नुपर्ने आफ्नो पार्टीको धारणा रहेकोसमेत उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष थापाले नेपालका ठूला राजनीतिक दलहरु एकता र मेलमिलापमा भन्दा सत्ताकेन्द्रित राजनीतिमा लागेको आरोप लगाउनुभयो ।

Popularity: 8%

Add comment February 20th, 2009

ग्लाइडर, विमान आयात गर्न रोक लगाउन अनुरोध

एचकेनेपाल डट कम संवाददाता-
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति नदिएको ग्लाइडर, बेलुनलगायतका वायुयान आयात गर्नमा रोक लगाउन अर्थ मन्त्रालयलाई अनुरोध गरेको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय कन्ट्रोल टावरको अनुमति तथा सम्पर्कबेगर धावनमार्गको उडान अवतरण अवरुद्ध हुने गरी गत पुस २४ मा प्याराग्लाइडिङ उडानको कारण उडान अवतरण अवरुद्ध भएको सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेस गर्न गठित छानबिन कमिटीको प्रतिवेदनसमेतको आधारमा मन्त्रालयले गृह मन्त्रालयलाई प्रस्तुत घटनामा संलग्न प्याराग्लाइडिङ पत्ता लगाई उड्डयन प्राधिकरणसमक्ष उपस्थित गराइदिन पनि अनुरोध गरेको छ ।

अनधिकृतरुपमा उडान सञ्चालन गर्ने व्यक्तिलाई तत्काल कारवाहीको दायरामा ल्याउन उड्डयन प्राधिकरणलाई गम्भीर ध्यानाकर्षा गराइएको, काठमाडौँ प्याराग्लाइडिङ एन्ड हृयान्ङग्लाइडिङ कम्पनीलाई सचेत गराइएको र प्याराग्लाइडिङ र हृयान्डग्लाइडिङ वा हट एयर बेलुन उडान गर्ने वा उडानमा सहयोग पुर्याउने कार्य दण्डनीय अपराध भएकाले त्यस्तो कार्य नगर्न वा नगराउन र्सार्वजनिक सूचना पनि जारी गरिएको छ।

Popularity: 8%

Add comment February 20th, 2009

पत्रकार धमलाको बन्दी प्रत्यक्षीकरण रिट खारेज

एचकेनेपाल डट कम संवाददाता-
सर्वोच्च अदालतले ऋषि धमलासहितका पत्रकारलाई गैरकानुनी तरिकाले थुनामा राखेको भनी रिहाइको माग गर्दै परेको दायर रिटलाई खारेज गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशत्रय मिनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र गौरी ढकालको विशेष इजलासले सो रिट खारेज गरेको हो ।

हातहतियार खरजानासम्बन्धी मुद्दा हेर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई भएको, कानुनबमोजिम नै अभियुक्तहरूलाई थुनुवा पुर्जी दिइएको, अनुसन्धानका क्रममा ऐनको दफा किटान गर्न सम्भव नभएको र मुद्दाको अनुसन्धानका कार्यअघि बढिसकेको अवस्थामा हस्तक्षेप गर्न पर्ने अवस्था नभएकाले रिट खारेज हुने कुरा अदालतले जनाएको छ ।

पत्रकार धमलासहित नेपाल-जापान डटकमका रामशुभक भनिने शुभक महतो र नेपाल वान टेलिभिजनका वीरेन्द्रकुमार मेहतालाई गैरकानुनी तरिकाले थुनामा राखिएको भनी गत माघ २२ गते फ्रीडम फोरमका तर्फबाट रिट परेको थियो ।

उक्त रिटमा गत फागुन १ गते न्यायाधीशद्वय अवधेशकुमार यादव र भरतराज उप्रेतीको संयुक्त इजलासले प्रारम्भिक सुनुवाईपछि संवैधानिक बहसको विषय भएको जनाउँदै विशेष इजलासमा सुनुवाईको लागि पठाएको थियो ।

Popularity: 8%

Add comment February 20th, 2009

अस्वीकृत विचार-साहित्य पुरस्कार भवानी क्षेत्रीलाई

नगेन्द्र शर्मा, काठमाडौँ / एचकेनेपाल डट कम -
अस्वीकृत विचार-साहित्य गुठीले साहित्यकार भवानी क्षेत्रीलाई ०६५ सालको अस्वीकृत विचार-साहित्य पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

०१७ सालमा भोजपुर टक्सारमा जन्मनु भई हाल विर्तामोड झापामा स्थापित साहित्यकार भवानीका सुनामी कविता संग्रह (०५६) र उजेलीहरु कथा संग्रह (०६०) का साथै विभिन्न पत्रपत्रिकाहरुमा धेरै फुटकर निवन्धहरु समेत प्रकाशित छन्। पूर्वाञ्चलका साहित्यिक गतिविधिमा सक्रिय नारीहस्ति भवानी क्षेत्री हाल नेपाली साहित्य विकास समिति झापा र नेपाली पत्रकार समिति मेची अंचलका कार्यसमितिमा आवद्ध हुनुहुन्छ। साथै उहाँ प्रगतिशील लेखक संघ झापाका पूर्वअध्यक्ष समेत हुनुहुन्छ।

विज्ञानसम्मत सिर्जनात्मक र जीवनवादी मौलिक साहित्य श्रृजना गर्ने क्रममा तत्कालिन स्थापित मूल्य र मान्यताहरुका कसीमा स्वीकृत नभई उपेक्षित वा बिर्सिएका वा ओझेलमा परेका गतिबादी साहित्यकारहरुका अभिष्टमा टेवा पुर् याउने उद्देश्यले ०५४ सालमा स्थापित यस गुठीले नयाँ आयामको खोजी गर्ने प्रगतिउन्मूख विचारहरुलाई प्रतिपादन गर्ने वा त्यस्ता बिचारहरुको सृजनात्मक प्रयोग गर्ने साहित्यिकारहरु मध्ये एकजनालाई हरेक बर्ष सम्मान ताम्रपत्र समेत रु. १२ हजारको पुरस्कार प्रदान गर्दै आएको छ। ०२६ सालदेखि आन्दोलित अस्वीकृत जमातका अस्वीकृत साहित्य आन्दोलनको नाममा नामाकरण गरिएको यस पुरस्कारको स्थापना त्यसै आन्दोलनका प्रणेता डा. कविताराम श्रेष्ठले आफूले आर्जन गरेका लेखकीय पारश्रमिक र पुरस्कारका रकमबाट अक्षयकोष खडा गरी गर्नु भएको हो।

यसअघि ०५४ साल देखि ०६४ सालसम्म क्रमशः कवि पूर्ण विराम सुर्खेत, साहित्यकार नन्दराम लम्साल नेपालगंज, कवयित्री झमक घिमिरे धनकुटा र साहित्यकार देवी सुवेदी लमजुङ, नेपाल भाषा कवि पूर्ण वैद्य काठमाडौँ, मैथली भाषा कवि चन्द्रशेखरलाल शेखर लाहान, साहित्यकार कृष्णप्रसाद श्रेष्ठ बिए धरान, साहित्यकार रविकिरण निर्जीव चितौन, साहित्यिक पत्रकार तथा अनुसन्धाता शिव रेग्मी काठमाडौँ, कवि नरेश शाक्य धरान, कवि बसन्त श्रेष्ठ संयुक्त राज्य अमेरिका गरी जम्मा ११ जना साहित्यकारहरु यो पुरस्कारबाट सम्मानित भइसकेका छन्।

गुठीका संस्थापक प्रवन्ध समितिमा अध्यक्ष कृष्णचन्द्र सिंह प्रधान, सदस्य सचिब नगेन्द्रराज शर्मा, कोषाध्यक्ष बालकुमारी श्रेष्ठ र सदस्यहरुमा गोविन्द भट्ट, डा. अभि सुवेदी, नारायण ढकाल, सोमनाथ घिमिरे र अमरकुमार प्रधान हुनुहुन्छ।

Popularity: 8%

Add comment February 20th, 2009

जनसम्पर्क समिति अमेरिकाको कनेटिकट च्याप्टर गठन

एस, कनेटिकट / जनसम्पर्क समिति अमेरिका-
नेपाली कांग्रेसको सिद्धान्त प्रजातन्त्र समाजवाद र राष्ट्रियताप्रति पूर्ण प्रतिवद्ध, नेपाली कांग्रेसप्रति आस्थावानहरुको एक भेलाले नेपाली जन सम्पर्क समिति अमेरीकाको कनेटिकट च्याप्टरको गठन गरेका छन्।

कनेटिकटमा सम्पन्न भेलाले पिताम्बर अधिकारीको अध्यक्षतामा सर्वसम्मत रुपमा कार्य समितिको चयन गरेको छ। कार्य समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा अच्यूत आचार्य, महासचिवमा विजय अधिकारी, सचिवमा गोपाल अधिकारी, कोषाध्यक्षमा कृष्ण थापा र सदस्यहरुमा डवल व वम, कृष्णहरी थापा, तेजेशविक्रम मल्ल, हुमप्रसाद न्यौपाने र भुपेन्द्र कंडेल रहेका छन्।

भेलालाई संवोधन गर्दै नेपाली जनसम्पर्क समिति अमेरीकाका अध्यक्ष आनन्द विष्टले भन्नुभयो बीपी कोइरालाको कल्पना अनुरुप स्थापना गरिएको जनसम्पर्क समिति अमेरीकाको कनेटिकटमा आज जनसम्पर्क समिति स्थापना गर्न पाउनु खुसिको कुरा हो भन्दै २००४ सालमा अमेरीकामा गठन भई नेपाली काँग्रेसको आदर्शलाई आत्म सात गरी अगाडि बढीरहेको यो संस्था आज अमेरिकाको हरेक राज्यमा विस्तारित हुने क्रम जारी रहेको छ। यही क्रममा आज यो च्याप्टर गठन हुनु हाम्रो लागि खुसिको कुरा हो। आज हामी संगठित भएका छौ र हाम्रो संगठन विस्तारको क्रम अब सारा अमेरीकाभरी हुनेछ भन्नुभयो।
त्यसैगरी, अध्यक्ष विष्टले भन्नुभयो अमेरिकाको यो ऐतिहासिक राज्य जसमा अमेरिकाको संविधान बनेको थियो। आज हामीले यो संगठन गठन गर्न आउदा खुसी लागेको छ। नेपाल नेपाली र नेपाली कांग्रेसलाई सहयोग गर्न, माया गर्न जसरी यो संगठन गर्नुभयो। यसले आफ्नो उद्धेश्य अनुरुप काम गरोस् मेरो शुभकामना छ। यस शाखाले उदाहरणीय रुपमा आफूलाई स्थापित गर्ने छ भन्ने विश्वास मैले लिएको छु। हामी नेपाली कांग्रेसलाई माया गर्ने मानिसहरु दुइ टुक्रा हुनुमा मलाई दुख लागेको छ। अमेरिकामा जनसम्पर्क टुक्रयाउनेहरुले निस्वार्थ भावनाले एक हुने भावना देखाएमा हामीहरु एकताका लागि तयार छौ यदी दुषित भावनाले संगठन कब्जा गर्ने दुर्भावना राखेमा हामी त्यसको सशक्त प्रतिकारमा उत्रने चेतावनीसमेत दिन चाहन्छौ।

कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका महासचिव वेदप्रसाद खरेलले संवोधन गर्दै भन्नुभयो, जुन राज्यमा देवकोटा समूहले तथाकथित महाधिवेशन गरेका थिए उक्त राज्यमा उनीहरुले शाखा सम्म खोल्न नसक्नुले उनीहरुको हैसियत प्रष्ट भएको छ। आज तपाइहरुले जुन उत्साहका साथ यो च्याप्टर गठन गर्न लाग्नु भएको छ त्यसले नेपालमा नेपाली कांग्रेस र यहा नेपाली कांग्रेस समर्थकहरुमा खुसी एवं उत्साह छाएको छ भन्दै केही फुट प्रस्त व्यक्तिहरुको कारणले आज अमेरिकामा जनसम्पर्क समितिमा विवाद सृजना गरिएको छ भन्दै ति व्यक्तिहरुलाई एकताका लागि आव्हान समेत गर्नुभयो।

त्यसैगरि भेलालाई जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य गणेश अर्यालले भन्नुभयो नेपालको सुन्दर भविष्यका लागि आज हामीले यो संस्थाको गठन गरेका हौ। हार्डफोर्डमा हामील देवकोटा समूहले गरेको महाधिवेशन भन्दा पनि विशाल अधिवेशन गरेर हामीले उनीहरु गरेको नाटकको समापन यही हाडफोडबाट गरि दिनेछौ।

नव गठित समितिका अध्यक्ष पिताम्बर अधिकारीले सगंठन मजवुत बनाउन आफू दिलो ज्यानले लाग्ने प्रण गर्नु भएको थियो। त्यसैगरि भेलालाई भूपेन्द्र आचार्य, कृष्ण थापा, हुमप्रसाद न्यौपानलगायतले संवोधन गर्दै संगठनलाई अझ मजबुत बनाएर अगाडि लैजाने प्रण गर्नुभएको थियो।

Popularity: 8%

Add comment February 20th, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2009
M T W T F S S
« Jan   Mar »
 1
2345678
9101112131415
16171819202122
232425262728  

Posts by Month

Posts by Category

More news....