Archive for February 23rd, 2009

काँग्रेसलाई पनि तरुण दस्ता चाहियो

एचकेनेपाल डट कम संवाददाता-
सभासद् धनराज गुरुङ्ले काङ्ग्रेसलाई सिध्याउन देशी, विदेशी शक्तिहरु लागिपरेकाले आफ्नो ऐतिहासिक छवि बनाउन सफल नेपाली काङ्ग्रेसलाई जीवन्त दिलाउन तरुण दस्ता आवश्यक भएको बताउनुभएको छ।

तरुण दस्ता अराजक क्रियाकलाप बढाउन नभई सङ्क्रमणनकालीन अवस्थाको अन्त्य र आम नेपालीको स्वतन्त्रता कायम राख्नका लागि स्थापना गर्नुपर्ने धारणा राख्नुभयो।

संविधानसभाले बनाउने संविधानलाई प्रभावकारी बनाउने उद्देश्यले सुझाव सङ्कलनका लागि स्याङ्जाको मग्यामचिसापानी गाविसमा आज भएको सभालाई सम्बोधन गर्दै सभाद् गुरुङ्ले सो कुरा बताउनुभएको हो।

सभामा अन्य वक्ताहरुले अब बन्ने संविधान ग्रामीण जनताका दैनिक जीवनमा आइपर्ने समस्याको समाधान गर्नेगरी आउनुपर्नेमा जोड दिएका थिए।

Recent Videos:

Popularity: 10%

Add comment February 23rd, 2009

हिजो भारतविरुद्ध सुरुङ खन्नेहरु आज लुकीलुकी दूतावास

एचकेनेपाल डट कम संवाददाता-
राप्रपा नेपालका अध्यक्ष कमल थापाले तोकिएको समयमा नै संविधान निर्माण कार्य सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । राप्रपा नेपालको राप्ती अञ्चलस्तरीय अगुवा कार्यकर्ता भेलाको उदघाटन गर्दै उहाँले देशलाई सङ्घीयतामा लग्दा आर्थिक सम्भाव्यता र भौगोलिक आधारमा गर्नुपर्नेमा जोड दिनुभयो।

जातीय र धार्मिक आस्थाका आधारमा सङ्घीय राज्य निर्माण गरे देश टुक्रिन्छ-उहाँले चेतावनी दिनुभयो ।

कार्यक्रममा राप्रपा नेपालका महामन्त्री टङ्क ढकालले परिवर्तन भएको तीन वर्षपुगिसक्दा पनि नेपाली जनताले व्यावहारिकरुपमा परिवर्तनको अनुभूति गर्न नपाएको भन्दै उहाँले हिजो भारतका विरुद्ध सुरुङ खन्नेहरु आज लुकीलुकी भारतीय दूतावास जाने गरेको आरोप लगाउनुभयो।

Recent Videos:

Popularity: 10%

Add comment February 23rd, 2009

आइतबारसम्म सेना भर्ना प्रक्रिया रोक्न सर्वोच्चको आदेश

एचकेनेपाल डट कम संवाददाता-
नेपाली सेनामा नयाँ भर्ना रोक्न माग गर्दै दायर रिट निवेदनमा आउँदो आइतबारसम्म कुनै कारबाही नगर्न, नगराउन सर्वोच्च अदालतले हिजो विपक्षीहरूका नाममा अन्तरिम आदेश गरेको छ। यसैबीच आज सेना दिवसका अवसरमा बोल्दै प्रधानसेनापति रुक्माङ्गद कटवालले सरकारको कानुनसम्मत निर्देशन पालना गर्ने बताउनु भएको छ।

प्रारम्भिक सुनुवाईमा सर्वोच्च अदालतका न्यायाधीश अनुपराज शर्माको एकल इजलासले शान्ति सम्झौताको पृष्ठभूमि र अन्तरिम संविधानमा भएको व्यवस्थाअनुसार सेनामा भर्ना गर्न पउने वा नपाउने भन्ने सम्बन्धमा छलफल गर्न पनि आउँदो आइतबार उपस्थित हुन आदेश दिएको छ।

सो रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा मन्त्रालय, नेपाली सेनालगायतलाई विपक्षी बनाइएको छ।

नेपाली सेनाले करिब दुई हजार आठसय पदमा नयाँ भर्ना लिएपछि सो कार्य रोक्न गैरसरकारी संस्था इन्हुरेड इन्टरनेसनलका तर्फबाट यही फागुन ६ गते रिट दायर गरिएको थियो।

Popularity: 10%

Add comment February 23rd, 2009

बर्डफ्लु प्रभावित क्षेत्रमा पंक्षी मार्न सुरु

एचकेनेपाल डट कम संवाददाता-
सरकारद्वारा झापा जिल्लाको शरणामती गाविस-२ का रुइमारी गाउँको वरपरक्षेत्रलाई गत शुक्रबार बर्डफ्लु सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएपछि हिजोदेखि बर्डफ्लु कन्ट्रोल रुमद्वारा पक्षी तथा पक्षीजन्य पदार्थलाई नष्ट गर्ने कार्य सुरु गरिएको छ।

सोअनुसार, शरणामती गाविस-२ को रुइमारी र पचपाडा गाउँको भारतीय सिमानासँग जोडिएका क्षेत्रका पक्षी तथा पक्षीन्जय पदार्थलाई नष्ट गरिएको छ।

एक सय १६ घरपरिवारका ८६५ कुखुरा, १४४ अण्डा, छवटा हाँस र एक परेवा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख दिलीप सापकोटाले जानकारी गराउनुभयो।

पक्षी तथा पक्षीजन्य पदार्थलाई नष्ट गर्न पाँचवटा रेपिड रेस्पोन्स टिम प्रभावित क्षेत्रमा कार्यरत छन् । भोलि पनि पक्षी नष्ट गर्ने कार्यलाई निरन्तरता दिइनेछ।

Popularity: 10%

Add comment February 23rd, 2009

काँग्रेस प्रधानमन्त्रीय पद्धतिको पक्षमा

एचकेनेपाल डट कम संवाददाता-
नेपाली काङ्ग्रेसले नयाँ संविधान निर्माण गर्दा बहुदलीय प्रतिस्पर्धात्मक मान्यताअन्तर्गत संसदीय शासन प्रणाली र यसका आधारभूत सिद्धान्तलाई आधार बनाएर प्रधानमन्त्रीय निर्वाचन प्रक्रिया अपनाउन प्रस्ताव गरेको छ ।

पार्टी केन्द्रीय कार्यलय सानेपामा दुई दिनसम्म चलेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार केन्द्रमा कार्यपालिका प्रमुख प्रधानमन्त्री हुने र प्रधानमत्री संसदप्रति उत्तरदायी हुने संवैधानिक प्रबन्ध गर्ने अभिमत काङ्ग्रेसले प्रकट गरेको छ।

काङ्ग्रेसले संविधान मस्यौदा सुझाव सङ्कलनका लागि सभासद् जिल्ला-जिल्ला जान लागेकाले संविधान निर्माणमा पार्टीको सैद्धान्तिक अवधारणालाई सहयोग पुर्‍याउन र आफ्ना जिल्लालगायत सबै तह एकाइमार्फत् पार्टीको धारणाअनुरुप सुझाव तथा विचारसहित सक्रियतापूर्वक सहयोग पुर्‍याउन आह्वान गरेको छ ।

राज्यको पुनसंरचना गर्दा नेपालको सार्वभौमसत्ता, राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई ध्यानमा राखी देशभरि तराई, पहाड र हिमालका विभिन्न क्षेत्रमा बस्ने मधेसी, आदिवासी, जनजाति, दलित, महिला तथा अन्य विभिन्न अल्पसङ्ख्यक समूहसमेतको विशिष्टता, पहिचान र स्वामित्व सुनिश्चित हुनुपर्ने र उनीहरुको भावनालाई सम्मान गर्दै स्वायत्त र समावेशी स्वरुपको सङ्घीय संरचना निर्माण गर्नुपर्नेमा काङ्ग्रेस एकमत भएको छ ।

त्यस्तै काङ्ग्रेसले स्थानीय निकाय गठन गर्दा प्रजातान्त्रिक परम्परा र मर्यादाअनुरुप निर्वाचनको माध्यमबाट नै स्थानीय निकायको गठन उपयुक्त हुने ठहर गर्दै निर्वाचन सम्पन्न नहुँदासम्म अहिले चलिरहेको र्सवदलीय संयन्त्रलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्ने धारणा अघि सारेको छ ।

Popularity: 9%

Add comment February 23rd, 2009

प्रधानमन्त्रीद्वारा शिवरात्रीको शुभकामना सन्देश

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिन्दूको महान् पर्व महाशिवरात्रिको अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ।

हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक विशेषताको अनुपम सङ्गम हो, यिनै विविधताबीचको राष्ट्रिय एकता र स्वाभिमानका राष्ट्रिय पहिचानभित्र हरेक जातजाति र धर्मावलम्बीको विशिष्ट एवम् मौलिक परम्परा गाँसिएको छ भन्दै सन्देशमा उहाँले सर्वमान्य, सर्वज्ञ, सर्वोपरी, सर्वोच्च र अनन्त परमज्योतिर्मय हिन्दूका आराध्यदेव भगवान शिवका सत्चरित्रमय प्रेरणा सबैलाई मिलोस् भन्ने कामना गर्नुभएको छ।

Popularity: 9%

Add comment February 23rd, 2009

एनअनरएन मलेसियाको बृहत भेला सम्पन्न

रूसाहाङ चेम्जोङ, क्वालालम्पुरमलेसिया / एचकेनेपाल डट कम -
गैरआवासीय नेपाली संघ (एनआरएन) मलेसिया शाखाले क्वालालम्पुरस्थित द फेडेरल होटलमा भव्य समारोहबीच मलेसियामा स्थापित संघ-संस्था, व्यवसायी, बिद्यार्थी, मलेसियन नेपाली तथा पत्रकारको भेला गरी एनआरएनबारे वृहत जानकारी गराए।

मलेसिया शाखाका अध्यक्ष शंकरबहादुर पौड्यालले सभापतित्व, प्रमुख अतिथि मलेसियास्थित नेपाली राजदूत डा. ऋषिराज अधिकारी, विशिष्ट अतिथिहरु एनआरएन केन्द्रीय उपाध्यक्ष देवमान हिराचन (जापान) एसिया प्यासिफिक संयोजक गणेशकुमार इजम (हङकङ) आइसिसि सदस्य रमेश श्रेष्ठ (थाइल्याण्ड) अजम्बर बस्नेत (सिङगापुर) गोर्खा फाउण्डेसन मलेसिया संस्थापक गणेश बहादुर राना, डा. हेम नाथ घिमिरे, डा. जनेन्द्र पन्त, व्यासायी संग मलेसियाका अध्यक्ष कर्म गुरुङ रहेका थिए।

प्रमुख अतिथि डा. अधिकारी र केन्द्रीय उपाध्यक्ष हिराचनले भेलाको संयुक्त रुपमा पानसमा बत्ति बाली उद्धघाटन गरेका थिए।

प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै राजदूत डा. अधिकारीले बल्ल सोचे जस्तो एनआरएन बन्ने भयो, सबैको छाता संगठनको रुपमा लैजानु पर्छ। देश विकासको काममा लगानी गराई व्यवसाय, उद्योग संचालन गर्न एनआरएन को महत्वपूर्ण भूमिका रहन्छ। उनले भने यसको लागि आफूले सक्दो सहयोग गर्ने समेत बताए। हाल आर्थिक मन्दीका कारण मलेसियामा रहेका मजदुरहरुको समस्यामा राजदूतावास संवेदनाशिल रहेको र सबै पक्षबाट सहयोग गर्न पनि अपिल गरे। सम्बोधन गर्ने क्रममा केन्द्रीय उपाध्यक्ष देवमान हिराचनले एनआरएनको गतिविधि र यसले गरेका समाजिक काम कारवाहीको जानकारी गराउदै विश्वमा जहाँ रहे पनि नेपाली एनआरएन सदस्य रहने बताए। अर्का वक्ता एसिया प्यासिफिक संयोजक गणेशकुमार इजमले दोहोरो नागरिकता, विभिन्न संघसंस्थाका बारेमा बिचार व्यक्त गर्दै हालै कोशी बाढी पीडितहरुका लागि एनआरएनले महत्वपूर्ण सहयोग पुर्‍याएको बताए। एनआरएन आइसिसि सदस्य रमेश श्रेष्ठ, गोर्खा एसोसियसनका गणेश बहादुर राना, अनन्त गैरेलगायतले भेलामा सम्बोधन गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य जीवन देवनले र मलेसियाको गतिविधीबारे एनआरएन मलेसियाका सचिव भिम शेरचनले जानकारी गराएका थिए।

कार्यक्रमको अन्तमा मलेसिया घोषणा पत्र जारी गरिएको थियो। विश्व राईको कार्यक्रम संचालन रहेको सो कार्यक्रमको बीच बीचमा नृत्य तथा गीतहरू प्रस्तुत गरिएका थिए।


Popularity: 9%

Add comment February 23rd, 2009

कुमार र प्रितिलाई टेनिस एकल उपाधि (+News update)

कुमार र प्रितिलाई टेनिस एकल उपाधि
धन बस्नेत, पोखरा / एचकेनेपाल डट कम, फेब्रुवरी २२ -
डिफेन्डिङ च्याम्पियन कुमार अधिकारीले नवौं इन्भेष्टमेन्ट बैंक खुल्ला टेनिस प्रतियोगिताको उपाधि रक्षा गरेका छन्।


कुमार अधिकारी, सबै तस्वीरः सुदर्शन रञ्जित, पोखरा / एचकेनेपाल डट कम।

पर्स्याङ टेनिस कोर्टमा शनिबार सम्पन्न फाइनल प्रतिस्पर्धामा रमेश कार्कीलाई पन्छाउन अधिकारीले झण्डै दुइ घण्टा सामना गर्नुपरेको थियो। पहिलो सेट गुमाएका अधिकारीले दोस्रो र तेस्रो सेटमा खेलमा फर्कदैं उपाधि रक्षा गर्न सफल भएका हुन्।

भर्खरै १७ वर्षको उमेरमा पाइला चालेका रमेश कार्कीले शीर्ष बरियताका कुमार अधिकारीलाई ६-४ ले पहिलो सेटमा निराश बनाउँदा दोस्रो र तेस्रो सेटमा भने पुरानो लयलाई कायम राख्न नसक्दा पराजय सहनुपरेको थियो।

अधिकारीले दोस्रो सेट ६-३ ले जितेपछि निर्णायक सेटमा शीर्ष बरियाताका उनले ६-४ ले लिदैं ४० हजार राशीको इन्भेष्टमेन्ट बैंक टेनिसको नवौं संस्करणमाथि कब्जा जमाएका हुन्। पहिला सेट लिएका कार्कीले निर्णायक सेटसम्म आइपुग्दा चारपटक सर्भिस डबल फल गर्दै अकं गुमाउनु नै घातक सावित भएको थियो। कार्की रनर अफ बन्दै २० हजार रुपैयाँ नगद पाए।

आफना छोरा कुमार अधिकारीको खेल हेर्न पर्स्याङ टेनिस कोर्ट पुगेका अभिभावकहरु छोराको खेलप्रति निकै सन्तुष्ट बनेका छन्। पहिलो सेट गुमाउँदा बावु दुर्गा अधिकारीले कोर्ट नै छोडेर अन्यत्र गएका थिए भने आमा कोर्टको पछाडि बसेका थिए। दोस्रो सेटमा आफनो छोराले जितेपछि राहत महसुस गर्दै आमा बुवा पुन कोर्टमा आएका थिए। पछिल्लो सेट हेर्न आमा बुवाले पौने घण्टासम्म कुर्दै अन्तत छोराको जित हेर्दै रोमान्जित बनेका थिए।


प्रिति रिजाल

महिला तर्फका एकल प्रतिस्पर्धामा आफनो पुरानै प्रतिद्वन्द्धी मालिका रानालाई पन्छाउँदै प्रिति रिजालले उपाधि जितिन्। पौने घण्टासम्म चलेको प्रतिस्पर्धामा रिजालले रानालाई ६-२, ६-४ को सोझो सेटले हराउँदै ४० हजार रुपैयाँको महिला एकल उपाधि जित्दै शीर्ष बरियता कायम गरिन्।

पुरुष डबल तर्फ कुमार अधिकारी र जितेन्द्र परियारको जोडीले श्रीराम थापा र रमेश कार्कीको जोडीलाई ६-३, १-६ र ६-३ को सेटले हराउँदै १५ हजार राशीको प्रथम पुरस्कार जिते। त्यस्तै मिक्स डबलमा प्रिति रिजाल र हरि हायुको जोडीलाई मालिका राना र सानु गुरुङको जोडीले ६-१, ६-२ को सेटले पराजित गर्दै १५ हजार रुपियाँ नगदको प्रथम पुरस्कार हात पारे। पुरुष डबल र मिक्स डबल उपविजेताको नाममा भने ७ हजार रुपियाँ पर्‍यो।

यसैगरी भेट्रान्स तर्फ मनोज राणाले जितेको छन्। पोखरेली खेलाडी राजु श्रेष्ठको खुट्टामा समस्या देखा परेपछि राणालाई वाक ओभर दिएका थिए। चारदिनसम्म सञ्चालित प्रतियोगितामा विजेता खेलाडीहरुलाई इन्भेष्टमेन्ट बैंक सञ्चालक समितिका सदस्य सुरेन्द्र सिहं, नेपाल टेनिस संघका अध्यक्ष मनोज राणा लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो।
पोखराबाट धन बस्नेत
तस्वीरः सुदर्शन रञ्जित, पोखरा / एचकेनेपाल डट कम।

Popularity: 11%

Add comment February 23rd, 2009

कुवेतमा नेपाली घरेलु महिला कामदारहरुको अवस्था

कुवेतमा नेपाली घरेलु महिला कामदारहरुको अवस्था (रिपोर्ट):-
हरीकृष्ण न्यौपाने (घायल) / एचकेनेपाल डट कम -
कुवेतमा बिगत केही वर्षदेखि नै नेपालबाट महिला घरेलु कामदारहरुको प्रबेशमा नेपाल सरकारले रोक लगाएपनि भारत तथा अन्य राष्ट्रहरुलाई बिभिन्न एजेन्ट अनि माध्यमबाट ट्रान्जिट बनाएर कुवेतमा घरेलुकामदारको रुपमा नेपाली महिलाहरु भित्रिने क्रम बढिरहेका छन्।

कम पारिश्रमिक, धेरै घण्टाको काम त छदैँछ, यौन शोषण, कुटपिट तथा अन्य अमानवीय ब्यबहारबाट पीडित नेपाली घरेलु महिला कामदारहरुलाई न त उनीहरुको समस्या बताउने आट नैं छ, न त कहाँ, कसरी र कुन ठाउँमा जाँदा आफ्नो सबै समस्याको सुनुवाई हुन्छ केही अत्तो-पत्तो छैन। यति सम्म कि आफू कुवेतको कुन ठाउँमा काम गर्दैछु अनि कसको घरमा काम गर्दैछु केही थाहा हुन्न।

जब कुवेत एयरपोर्टबाट खतामा (महिला घरेलुकामदार) को अफिसमा लगेर कुवेतीको जिम्मा लगाइन्छ, तब उनीहरु अघोषित बन्दी जस्तै हुन्छन् र पिंजडामा थुनिएको चरी जस्तै घरबाट बाहिरसम्म जान पाउदैनन्। न भनेको चिज खान पाउने, न समयमा सुत्न पाउने सबै मालिक(बाबा-मामा)को हातमा!! आफ्नो नाम नखुलाउने शर्तमा बिगत ७ बर्षदेखि कुवेतको जाब्रियामा काम गरिरहेकी रसुवाकी मगर थरकी एक महिलाले बताइन्। कुवेतीको बच्चाहरुलाई खेलाउने र डुलाउने क्रममा एक बाल क्लबमा भएको भेटमा उनले रुदै भनिन्। यहाँ धेरै नेपाली दिदी-बहिनीहरुले चिडिया घरका जनावरलाई भन्दापनि घृणित ब्यबहार गरिन्छ, यो म शब्दमा बर्णन गर्न सकिरहेकी छैन।

यता ईलामकी देउमाया राईको धेरै पैसा कमाएर २ छोरी र १ छोरालाई राम्रो शिक्षा दिलाउने सपना चक्नाचुर भएको छ। ३ बर्षअघि घरेलु महिला कामदारको रुपमा काम गर्नको लागि झापाको राजकुमार गुरुङ मार्फत भारत हुँदै कुवेत आईपुगेकी देउमायालाई शुरुमा ३५ केडि पारिश्रमिकमा कुवेतको सबानासर भन्ने ठाउँमा एक घरमा काम मिल्यो। “शुरुका केही दिन ठीकै भएपनि ३ महिना पछि नै घरबेटी बाले हात-पात गर्यो, कुट्यो तै पनि कहाँ जाउं भनेर सहेरै बसेँ १० महिनापछि घरबेटी मामाले एउटा गिलास फुटेको निउमा जिउ भरि निल-डाम हुनेगरी निर्घात पिटेपछि सहन नसकेर राति नै घिस्रिदै-घिस्रिदै पासपोर्ट बिना नै खाली खुट्टा भागेँ। नेपाली खतामा अफिसमा रिता गुरुङसंग १० महिना अबैधानिक रुपमा बसेँ। त्यस समय रिता गुरुङ मार्फत एक अमेरिकन स्कूल हवालिमा काम गरेँ। २ महिना पहिले साउदी अरबबाट नेपाली दूताबासका अधिकारी कुवेत आँउदा माउन्टेन स्पोर्टस क्लब कुवेतको सहयोगमा पास्पोर्ट बनाएँ। भाडा धेरै नभएका कारण भारत हुँदै घर जाना ट्राभल डकुमेन्ट बनाएं तर हामीहरु अबैधानिक भएका कारण भारत हुदै जान पाएनौं। आखिर फेरि अर्को ईलिगल नखुलेसम्मको लागि फेरि कुवैतमै बस्नु पर्ने भयो। अब कहिले घर जान पाउने होला”उनले रुदै भनिन्। उनीसगै घर जाने क्रममा रहेकी खेमरानी लौती र धनबहादुर गिरी पनि अबैधानिक रुपमा भिसा बिनाको पासपोर्ट लिएर भागी-भागी काम गरेर ज्यान पाल्न संघर्ष गर्दैछन्। उनी चाडैं घर फर्कने ब्यबस्था मिलाई दिन अनुरोध गर्दैछन्।

यता सिन्धुपाल्चोक मेलम्चीकी कुमारी तामाङ (नाम परिबर्तन) भने घरमा काम गर्दा घरबेटी बाबा र उनका आफन्तले पटक-पटक यौन शोषण गर्ने प्रयास गरेको र अमानवीय ब्यबहार गरेकोले सहन नसकी घरबाट भागिन्। उनी केही नेपाली चेली कै सहयोगमा ब्युटिपार्लरमा बिना पासपोर्ट १२ घण्टा काम गरेर राम्रै आय-आर्जन गर्दै थिईन् तर कुवेती पुलिसले काम गर्ने ठाउमा छापा मार्दा पक्राउ परी जेलमा २ महिना बसेर नेपाल जानु पर्यो। उता मोरङ घर बताउने सरस्वती श्रेष्ठ भने ८-९ महिनासम्म काम गरेको तलब नपाएर तलबको खोजी गर्दा उल्टै जेलमा कोचिनु पर्यो।

यता माबुल्ला कम्प्लेक्सको छेउमा १ जना नेपाली चेलीको कथा अझै संबेदनाशील छ। काठमाण्डौं घर भएकी र ब्युटी तालिम लिएर कलेजसम्म अध्ययन गरेकी रक्षा (नामपरिबर्तन) लाई ब्युटिपार्लरमा काम लगाउने भनेर नेपाली महिला दलाल शेर्पानी दिदी (बिगत १० बर्षदेखि बौंद्धमा नेपाली चेलीलाई खाडी मुलुक पठाउने काममा गरिरहेकी)ले भारत हुदै ७ महिना पहिले कुवेत पठाईन्। उनलाई घरमा काम लगाइयो अनि पटक पटक यौन शोषण गर्ने प्रयास गरेको हुदाँ काम शुरु गरेको महिना दिनमै पासपोर्ट बिना घरमै ड्राईभरमा कार्यरत बंगालीको सहयोगमा राति भागिन्। तर सोही बंगाली ड्राईभरले घात गरेर उनलाई बंगालीहरु मिलेर सञ्चालित कोठीमा पुर्याएछ। उनले भावुक भएर बम्बैंको कोठीसंग मिल्दो उदाहरण अनि यौंन ब्यबसायमा बाध्य बनाएको कुरा बताईन। उनले बिगत ६ महिनादेखि आफू यस्तो काममा लाग्न बाध्य भएको सुनाइन्। उनले रुदै भनिन् अब नेपाल कुन मुख लिएर जाने?? पासपोर्ट पनि छैन अनि मलाई कुवेतको नेपाली समुदयसंग भेटने मौका मिलेको पनि छैन। उनले बताइन् अनिसार फर्मानिया, फाहिल तथा हसबियालगायतको ठाउमा यस्तै काम गराउने ठाउँहरु रहेका र केही नेपाली चेलीहरुलाई पनि यौन ब्यबसायमा लगाईरहेको कुरा उनले बताईन्।

केही समय आगाडि ईलिगल(अबैधानिक रुपमा कार्यरत कामदारले बिना सजाय आफ्नो मुलुक फर्कन पाउने) समयको उपयोग गर्दै एयर अरबियाको फ्लाईटमार्फत नेपाल फर्कदै गर्दा दुबईको सारजा एयरपोर्टमा १६ घण्टा ट्रान्जिटको क्रममा कुवेतमा लामो समयदेखि संघर्षरत नेपाली घरेलु महिला कामदारको अति नै नाजुक अबस्थामा स्वदेश फिर्ति र अनुहारमा निराशा अनि भनाईमा कुवेतलाई उनीहरुकै शब्दमा नरकको भोगाईले पनि कुवेतमा कार्यरत अधिकांश नेपाली घरेलु महिला कामदारको अबस्था अतिनै संबेदनाशील रहेको प्रष्ट हुन्छ।

हाल सुनुवाइकै क्रममा जन्मकैदको सजायमा रुपान्तरित नेपाली चेली डोल्मा शेर्पामात्र होईनन् धेरै नेपाली चेलीहरु कुवेतको जेलमा बिना कसुर छट्पटिन बाध्य छन। नेपालीहरुको कथा-ब्यथा सुन्ने र समस्या समाधानमा लागि पर्ने नेपाली दूतावास कुवेतमा नहुनुले नेपाली कामदारहरुले के र कस्तो अबस्थामा कस्तो काम गरिरहेका छन् भन्ने संख्या बताउन गार्हो छ। नेपाली दूताबासको स्थापनाको लागि कुवेतमा रहेका नेपाली समुदाय, संघ-संस्थाहरुले पटक-पटक पहल गरिरहेका छन्। केही आशा लाग्दा लक्षण देखिएको माउण्टेन स्पोर्टिन क्लब कुवेतका सह-सचिब राजन रिमालले बताए। करीब ३०-४० हजार नेपालीहरु कार्यरत कुवेतको यो मरुभूमिमा नेपालीहरुको पिर ब्यथा बुझ्ने र बुझाउने नेपाली दूतावासको स्थापना कहिले होला त?? अहिलेको गणतान्त्रिक सरकारसंग कुवेतमा रहेका सबै नेपालीहरुको एउटै माग र आशा रहेको छ।

हरीकृष्ण न्यौपाने (घायल)
harineupane_3@yahoo.com
कालिका १ सिन्धुपाल्चोक हाल कुवेतबाट

Popularity: 9%

Add comment February 23rd, 2009

महासंघ सभापति धर्मेन्द्र झा कतार आउने

कुमार कार्की, कतार / एचकेनेपाल डट कम -
नेपाल पत्रकार महासंघ तदर्थ सम्पर्क शाखा कतारको आगामी ६ मार्चमा आयोजना हुने दोश्रो साधारण सभामा सहभागी हुन नेपाल पत्रकार महासंघका केन्द्रीय सभापति धर्मेन्द्र झा कतार आउन लागेको कुरा सम्पर्क शाखा कतारले जनाएको छ।

कतारमा कार्यरत नेपाली पत्रकारहरुको संगठित संस्था नेपाल कतार पत्रकार संघको माग वमोजिम महासंघले तदर्थ सम्पर्क शाखाको मान्यता दिएपछि उक्त तदर्थ सम्पर्क शाखाद्धारा आयोजित कार्यक्रममा सहभागी हुन कतार आउन लागेका हुन्। तदर्थ सम्पर्क शाखा कतारद्धारा सार्वजनिक गरिएको कार्यक्रम तालिकामा उक्त कुरा जानकारी गराएका छन्।

कतारमा कार्यरत पत्रकारहरुको पहलमा गत २००६ मा नेपाल कतार पत्रकार संघको नाममा संस्था गठन गरी नेपाली पत्रकारहरु संगठित भएका थिए। उक्त संस्था गठन गरेपश्चात कतारमा कार्यरत नेपाली पत्रकारहरु संगठित हुन थालेका हुन। कतारका नेपाली पत्रकारिताको इतिहाससँगै स्थापना भएको यो महासंघले विभिन्न समयमा रचनात्मक कार्यक्रमहरु गर्दै कतारका कार्यरत नेपाली समाजमा परिचित संस्थाको रुपमा स्थापना भएको छ।

कार्यक्रमको तयारी भईरहेको कुरा महासंघका उपाध्यक्ष राई रमेश गाँउलेले जनाएका छन् भने नेपाल पत्रकार महासंघवाट मान्यता पाएपछि आयोजना गर्न लागिएको यो पहिलो कार्यक्रम भए पनि संघ स्थापना भएपछि आयोजना गर्न लागिएको दोश्रो साधारण सभा भएको जनाएका छन्।

Popularity: 9%

Add comment February 23rd, 2009

एनआरएनए एनसीसी कतारको परिषद भेला सम्पन्न

कुमार कार्की, कतार / एचकेनेपाल डट कम -
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको पाँचौ परिषद भेला शुक्रवार दोहामा सम्पन्न भएको छ।

आगामी २४ अप्रिलमा महाधिवेशन गर्ने निर्णय गर्दै सम्पन्न उक्त परिषद भेलाले परिषद सदस्य आहृवान तथा नविकरणका लागि आहृवान गरेको छ। राष्ट्रिय समन्वय परिषदका अध्यक्ष कमलमणि गुरागाईंको अध्यक्षता तथा गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सचिव सागर नेपालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय समन्वय परिषदका कतार प्रतिनिधि टिवि कार्की, सल्लाहकार प्रज्ञान उदास तथा परिषद सदस्यहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि नेपालले राष्ट्रिय समन्वय परिषद कतार अन्य देशको तुलनामा अघि रहेको र यसमा राजनितिक गन्ध आउन नहुने धारणा राखेका थिए। संघको आगामी महाधिवेशन सफलताका साथ सम्पन्न होस् भन्ने कामना गरेका थिए। अर्का वक्ता टिवि कार्कीले अन्तर्राष्ट्रिय समन्वय परिषदको म्याण्डेट अनुसार राष्ट्रिय समन्वय परिषद कतारले कार्य गर्नुपर्ने र सवैलाई समेट्दै अघि वढ्नुपर्ने कुरामा जोड दिएका थिए।

कार्यक्रममा परिषद सदस्यहरुवाट उठेका प्रश्नहरुको उत्तर संघका अध्यक्ष कमलमणि गुरागाईंले दिएका थिए भने मन्तव्यका क्रममा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आगामी कार्यक्रमले सवल नेतृत्वको चयन गर्ने विश्वास लिएका थिए। साथै अत्याधिक परिषद सदस्यहरु संघमा समाहित हुने कुरा व्यक्त गरेका थिए।

उक्त परिषद भेलाले आगामी २७ फरवरी देखि २७ मार्च सम्म सम्पूर्ण कतारमा कार्यरत रहि गैर आवासिय नेपाली संघको मापदण्ड पुगेका नेपालीहरुलाई परिषद सदस्य हुनका लागि आहृवान गरेको छ भने अप्रिल २४ मा आयोजना हुने राष्ट्रिय सम्मेलनका लागि कुमार कार्कीको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन कमिटीको गठन गरेको छ। समितिका सदस्यहरुमा भोजराज मिश्र, शेरवहादुर परिवार, नवराज श्रेष्ठ र हरिकुमार वस्नेत रहेका छन्।

Popularity: 9%

Add comment February 23rd, 2009

एनआरएन स्पेनको विवाद समाप्त

एनआरएन स्पेनको विवाद समाप्त
एनआरएन स्पेनको जनवरी २६ मा भएको प्रथम महाधिवेशन पश्चात देखा परेको विभिन्न बिबादस्पद कुराहरुलाई मध्यनजर राखि वर्तमान अध्यक्ष भिषमकुमार (अनील) गुरुङको संयोजकत्वमा गठीत समितिका सदस्यहरु मुक्तबहादुर गुरुङ (उपाध्यक्ष) बिनोद ढकाल (सचिब) नरायण प्रसांई (निवर्तमान उपाध्यक्ष)साथै निवर्तमान अध्यक्ष एबम आइसिसि मेम्बर गणेशमान तल्चाभडेलसहितका सदस्यहरु स्पेनका बिभिन्न क्षेत्रहरुमा पुगि त्यहाको बस्तुस्थितिलाई मध्यनजर राखि क्षेत्रीय कमिटी गठन गर्ने निर्णय गरियो।

यस सन्दर्भमा आइतबार फेब्रुअरी २१ मा आलीकान्तेमा भर्खरै गठित गम्भिर उपाध्यायको संयोजकत्वमा गठित एनआरएनलाई समायोजन गरि गम्भिर उपाध्यायलाई सल्लाहाकारमा समेटि अलीकान्ते बेनिड्रम् काल्पेबाट एक एक जना प्रतिनिधित्व हुने गरी उहाँहरुको सकृयतामा आइ-सि-सि मेम्बर तथा निवर्तमान अध्यक्ष गणेशमान ताल्चाभडेलको अतिथ्यमा क्षेत्रीय कमिटी गठन हुन गैरहेको छ। साथै २२ फेब्रुवरी सोमबार भ्यालेन्सियामा पनि आइ-सि-सि मेम्बर तथा निवर्तमान अध्यक्ष गणेशमान ताल्चाभडेलको अतिथ्यमा क्षेत्रीय कमिटी गठन हुन गैरहेको छ।

अब बांकी माड्रीड एबं ग्रान कानारियामा पनि यथासिघ्र क्षेत्रीय कमिटी गठन गर्ने निर्णय गरिएको छ। यस घडिमा साथ दिनुहुने सम्पूर्ण स्पेनबासी नेपाली दाजुभाई दिदिबहिनीहरुलाई एनअरस्पेन हार्दिक धन्यबादसहित अब आउने दिनहरुमा यहाँहरुको पूर्ण सहयोगको अपेक्षा राख्दै एनआरएन स्पेन यहाँहरुलाई हार्दिक स्वागत अभिबादन टक्र्याउन चाहन्छ।
महासचिबः
दिनेश (देउकाजी)गुरूङ
एनआरएन स्पेन

Popularity: 9%

Add comment February 23rd, 2009

नववर्ष कार्यक्रम स्वीट्जरल्याण्डको सूचना

हिरालाल श्रेष्ठ, बिराज शर्मा
समयको अविरल प्रर्वाहसँगै तितामिठा अनुभवहरु बटुल्दै सुटुक्क गुज्रिएको एउटा कालखण्डको सम्झना एवम् नौलो परिवेश, नयाँ जोस, जाँगर र ऊर्जासहित उदाउदै गरेको अर्को कालखण्डको शुभता र नविनताको आशा गर्दै नयाँवर्ष मनाउने गरिन्छ। यसैअनुरुप, सुनौलो प्रभातसहित हामीहरुमाझ उदय भएको नव वर्ष २०६६ सालको अवसरमा एकआपसमा भेटघाट गर्ने, शुभकामना आदानप्रदान गर्ने उद्देश्यले एक कार्यक्रमको आयोजना गर्न लागिएको छ।

आराऊ क्यानटोन निवासी नेपाली युवाहरुको आपसी सक्रियतामा आयोजना गर्न लागिएको यस नववर्ष कार्यक्रममा उपस्थितिका लागि ईच्छुक सम्पूर्ण स्वीट्जरल्याण्डवासी नेपाली एवं गैरनेपालीहरुलाई यसै सूचनाद्वारा हार्दिक निमन्त्रणा गर्दछौ।

कार्यक्रमहरु
लाइभ म्युजिक कन्सर्ट
लोक तथा आधुनिक नृत्य प्रर्दशन
अन्य विविध सांस्कृतिक कार्यक्रमहरु
साथमा स्वादिष्ट नेपाली भोजन

मिति – ‌ २००९ अप्रिल ११ तारिख
समय – दिनको २ बजेदेखि राति १२ बजेसम्म ।
स्थान – सभा भवन, भञ्याङ जाने बाटो ३१३, ८४०० अराऊ

थप जानकरीकोलागि सम्पर्कः

रामकृष्ण कार्की ०७६ ४३५ २० ८७
निरन्ञ्जन श्रेष्ठ ०७८ ६२५ १७ ४४
शुक्र श्रेष्ठ ०७९ ४०६ ५८ ६०
दिपक कार्की ०७६ ४२४ ६४ ३३
लक्ष्मी उप्रेदी ०७८ ८९१ २८ ८९
देवेन्द्र अर्याल ०६२ ८२७ ०३ ०६

हिरालाल श्रेष्ठ, बिराज शर्मा

Popularity: 9%

Add comment February 23rd, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2009
M T W T F S S
« Jan   Mar »
 1
2345678
9101112131415
16171819202122
232425262728  

Posts by Month

Posts by Category

More news....