रघु त्रिपाठी, दक्षिण कोरिया / एचकेनेपाल डट कम -
दक्षिण कोरियाको जन्जु शहरस्थित छोन्बुक राष्ट्रिय विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुले आइतवार नेपाली क्लवको स्थापना गरेका छन्।
क्लवको उद्धघाटन सोही विश्वविद्यालयका वरिष्ठ विद्यार्थी माधवप्रसाद वजगाईले गरेका थिए। नेपाली विद्यार्थीको भेलाले एक आपसमा आइपर्ने समस्याहरुलाई समाधान गर्ने र आफ्नो देशको परिचयसमेत झल्काउने गरी विभिन्न कार्यक्रमहरु सम्पन्न गर्ने निर्णयहरु गरेको छ।
छोन्बुक राष्ट्रिय विश्वविद्यालयमा अध्ययनरत करीव ३३ जना विद्यार्थीहरु कार्यक्रममा सहभागी थिए। विद्यार्थीहरुले नेपाली कला, सँस्कृति तथा बिभिन्न मनोरञ्जनात्मक गतिबिधिको माध्यमबाट नेपालको परिचय अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउने जनाएका छन्।
कार्यक्रममा गत सेमेस्टरमा ग्र्याजुयशन गरेका ५ विद्यार्थीहरुलाई सम्मान र नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरी उपहार प्रदान गरिएको थियो। कार्यक्रममा विश्वविद्यालयमा कार्यरत डा. विदुर चौलागाईलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रम संयोजक किशोर कोइरालाद्वारा सञ्चालित कार्यक्रममा माधव न्यौपाने र विश्वप्रकाश अधिकारीले मन्तब्य व्यक्त गरेका थिए। सोनसिकका उपाध्यक्ष शिवराज पोखरेलले क्लव तथा विद्यार्थीहरुको छाता संस्था सोनसिकबारे थप जानकारी दिएका थिए।
एम.बि.साँवा, दोहा, कतार / एचकेनेपाल डट कम -
आगामी अप्रिल महिनामा विश्वको उच्च शिखर सगरमाथा आरोहणका लागि तयारी गरेरहेकी महिला आरोही जुनिता सम्वाहाम्फेलाई किरात याक्थुङ चुम्लुङ कतारले आर्थिक सहयोग गरेको छ।
तेह्रथुम जिल्ला आम्बुङ्ग - ९ निवासी २२ वर्षीया जुनिता सम्बाहाम्फे मिश्रित जातिका महिलाहरुको सगरमाथा आरोहण टिममा सहभागी हुदै महान ऐतिहासिक कार्यमा जुटेको खबरले कि.या.चु. कतार उनीप्रति गौरवान्वित भएको जनाएको छ।
जुन महान उद्धेश्यका साथ लागि परेकी छिन् उनको त्यो उद्धेश्य तागेरा निवा फुमाङ्गले अवश्य पूरा गर्नेछ भन्ने प्रार्थना गर्दै अग्रिम बधाईका साथ किरात याक्थुङ चुम्लुङ कतारले मार्च २८ तारिखका दिन किरात याक्थुङ चुम्लुङ केन्द्रीय समिति नेपालका अध्यक्ष अर्जुन लिम्बूको नाममा सगरमाथा आरोहणको निम्ति सहयोग स्वरुप कतारी रियाल २५२५/- (५६ हजार ५५ नेरु) पठाई अध्यक्षले जुनिता सम्बाहाङफेलाई उक्त रकम हस्तान्तरण गरेको छ।
नेपाली महिलाको सगरमाथा आरोहण इतिहासमा अर्को एउटा आयाम थप्ने साहासको उच्च कदर गर्दै उनको सगरमाथाको शिखरलाई चुम्ने र नेपाली झण्डा फहराउने अभिलाषा पुरा होस् भन्ने कामना रहेको चुम्लुङका अध्यक्ष ललित माबोहाङले बताएका छन्।
एचकेनेपाल डट कम संवाददाता-
बेलायतका अन्तरराष्ट्रिय विकास मन्त्री माइक फोस्टर तीन दिने नेपाल भ्रमणका सिलसिलामा मंगलबार काठमाडौँ आउनु भयो। आफ्नो भ्रमणका क्रममा मन्त्री फोस्टरले नेपालमा आगामी तीन वर्षका लागि बेलायती सहयोगको घोषणा गर्नुहुने कार्यक्रम छ।
उहाँले पश्चिम नेपालको भ्रमणका साथै माओवादी जनसेना शिविरको पनि भ्रमण गर्नुहुने छ।
मन्त्री फोस्टरले उपप्रधानमन्त्री एवम् गृहमन्त्री, अर्थमन्त्री र विज्ञान तथा वातावरण मन्त्रीसँग भेट गर्नुहुनेछ।
साथै उहाँले नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र नेकपा एमालेका अध्यक्ष झलनाथ खनालसँग पनि भेटघाट गर्नुहुने कार्यक्रम छ।
एचकेनेपाल डट कम संवाददाता-
नेपाल सदभावना पार्टी (आ) का राष्ट्रिय अध्यक्ष श्यामसुन्दर गुप्ताले सबै राजनैतिक पार्टीलाई मिलाएर राष्ट्रिय सरकार नबनाएसम्म संविधानलेखन पूर्ण नहुने दावी गर्नुभएको छ।
कार्यकर्ता मेलमिलाप भेलालाई सम्बोधन गर्दै उहाँले नेपाली सेना राष्ट्र एवं जनताको सेना भएकाले त्यसमा कुनै पार्टीविशेषको लडाकुलाई समायोजन होइन कि तिनीहरुमा भएको सीप र दक्षताका आधारमा व्यवस्थापन गर्नुपर्छ भन्नुभयो।
सो पार्टीका महामन्त्री देवेन्द्र मिश्रले पार्टीलाई मर्यादित र विवादरहित ढङ्गले अगाडि बढाउन सबैलाई आग्रह गर्नुभयो।
एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकारले शान्ति प्रक्रिया चार/पाँच महिनाभित्र अन्त्य गर्ने उद्देश्य राखेको बताउनुभएको छ। नर्वेको दुईदिने भ्रमणका क्रममा राजधानी ओस्लोमा भएको पत्रकारसम्मेलनमा प्रधानमन्त्री दाहालले नेपालको शान्तिप्रक्रिया दक्षिण एसियामै शान्तिको नमुना हुनेगरी तार्किक निष्कर्षमा पुर्याइने दृढता व्यक्त गर्नुभयो।
उहाँले नेपालको संविधानसभा धेरै समावेशी भएको पनि बताउनुभयो।
उहाँले भन्नुभयो- संविधानसभामा सङ्घीयता एउटा महत्वपूर्ण विषय हुनेछ, जुन हामी छलफल गर्नेछौँ।
प्रधानमन्त्रीले भन्नुभयो- नेपालमा जलशक्तिको ठूलो सम्भावना छ, हामी नर्वेबाट जलस्रोत क्षेत्रमा सिक्न र सहयोगको स्तर बढाउन चाहन्छौँ।
सोही अवसरमा नर्वेका विकास तथा वातावरणमन्त्री एरिक सोल्हेमले नेपालको शान्ति प्रक्रिया अधिकांश सफल भएको र यो आफ्नै देशमा नेपालका दलहरुले नै गरेको बताउनुभयो।
उहाँले शान्तिलाई सुनिश्चित गर्ने नेपालको प्रयासमा नर्वेले सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नर्वेका राजा हुराल पञ्चनसित सोमबार ओस्लोमा भेटघाट गरे। भेटका क्रममा उहाँहरूबीच नेपालको शान्ति प्रक्रिया र नयाँ संविधान निर्माणलगायतका विषयमा कुराकानी भएको थियो।
त्यस अवसरमा प्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रक्रियामा नर्वेली सरकारले गरेको सहयोगको सराहना गर्नुभयो।
त्यस्तै प्रधानमन्त्री दाहाल र त्यहाँको संसदका उपाध्यक्षबीच पनि आजै भेटघाट सम्पन्न भयो।
भेटका क्रममा प्रधानमन्त्री दाहालले नेपालको संविधानसभामा ३३ प्रतिशत महिला र आदिवासी/जनजातिलाई समावेश गराइएको जानकारी गराउनुभएको प्रधानमन्त्रीका सल्लाहकार ओम शर्माले बताउनुभयो।
प्रधानमन्त्री दाहालले जनताको ठूलो त्याग र बलिदानबाट नेपालमा संविधानसभा स्थापना भएको बताउँदै आफूहरूले नेपालको शान्ति प्रक्रियालाई विश्वमै उदाहरणीय बनाउन चाहेको उल्लेख गर्नुभएको थियो।
एचकेनेपाल डट कम संवाददाता-
सोमबार मतदान भएको राजधानीका दुई प्रमुख क्याम्पसको नतिजा सार्वजनिक भएको छ। नेपाल मानविकी (आरआर) क्याम्पसमा राजकुमार राईको नेतृत्वको अखिलको पूरै प्यानल विजयी भएको छ।
उनका प्रमुख प्रतिद्वन्द्वी क्रान्तिकारीका सुरेन्द्र बस्नेत थिए भने तेस्रो स्थान नेवि संघको रह्यो।
त्यसैगरी महिला मात्र पढ्ने पद्यकन्या क्याम्पसमा नेविसंघ विजयी भएको छ। त्यहाँको निर्वाचन अखिल संयुक्तले बहिस्कार गरेको थियो।
पोखराको पिएन क्याम्पसमा अखिल विजयी
एचकेनेपाल डट कम संवाददाता-
पोखराको पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी भएको छ।
अनेरास्ववियुका सभापति पदका उम्मेदवार रश्मी आचार्यले ३८१९ मत र उनका निकट प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका ओमराज आलेले २९२५ मत ल्याएका छन्। क्रान्तिकारीले मत गणनामा आफूहरुलाई सहभागी नगराइएको भन्दै परिणाम अस्वीकार गरेको घोषणा गरेको छ।
——————————————————————– पिएन क्याम्पस पोखरामा मतगणना सुरु, बन्द फिर्ता
एचकेनेपाल डट कम संवाददाता-
पोखरास्थित पृथ्वीनारायण क्याम्पस स्ववियु निर्वाचनको मतगणना सोमबार सुरु भएको छ। चैत्र ६ गते स्थगित भएको मतगणना कडा सुरक्षाबीच उद्योग वाणिज्य संघको हलमा सुरु भएको हो।
तस्वीरः सुदर्शन रञ्जित, पोखरा / एचकेनेपाल डट कम
मतगणना सुरू भएपछि अनेरास्ववियुले पोखरा बन्दको घोषणा फिर्ता लिएको छ। अनेरास्ववियुले मतगणना हुनु पर्ने माग राख्दै पोखरा बन्दको घोषणा गरेको थियो। स्वबियु निर्वाचनको मतगणना हुनु पर्ने माग गदै अनेरास्वबियुले आइतवार साँझ निकालेको राँके जुलुसमा प्रहरीले हस्तक्षेप गरेको भन्दै प्रदर्शनकारीले महेन्द्रपुल र न्युरोडमा सरकारी नम्बर प्लेटका गाडीहरुमा आगजनी गरेका थिए।
आगजनीमा परेका गाडीहरु सडक डिभिजन कार्यालय र जनस्वास्थाको रहेको प्रहरीले जनाएको छ। प्रहरीले स्वबियु सभापति पदका उम्मेदवार रश्मी आर्चयसहित ११ जनालाई प्रकाउ गरेको थियो।
डम्बर सुब्बा, दक्षिण कोरिया / एचकेनेपाल डट कम -
किरांत याक्थुड चुम्लुड दक्षिण कोरियाले महिला आरोही जुनिता सम्बाहाम्फेलाई आर्थिक सहयोग उपलव्ध गराएको छ।
आगामी अप्रिल महिनामा विश्वको उच्च शिखर सगरमाथाको आरोहण गर्ने तयारीमा रहेकी सम्वाहाम्फेलाई किराँत याक्थुङ चुम्लुङले ६६ हजार ३ सय रुपैयाँ आर्थिक सहयोग नेपाल पठाइएको चुम्लुङका सचिव हर्क लिम्बूले बताए।
तेह्रथुम, आडबोड गाविस कोबेक - ९ निवासी २२ बर्षीया सम्बाहाम्फे लिम्बू समुदाय तथा किराँती महिलाको तर्फबाट पहिलो महिलाका रुपमा सगरमाथा आरोहण गर्न लागेकी हुन्।
चुम्लुङले सगरमाथा आरोहणमा सफलताको शुभकामना सन्देशसमेत पठाएको छ।
एचकेनेपाल डट कम संवाददाता-
गत चैत्र ६ गते निर्वाचन हुन नसकेका र भएर पनि मतगणना हुन नसकेका क्याम्पसहरूबाट परिणाम आउन थालेका छन्। पछिल्लो परिणाम अनुसार नेपाल विद्यार्थी संघले थप तीन र अनेरास्ववियुले थप एक क्याम्पसमा स्ववियु चुनाव जितेको छ।
कैलालीमा आइतबार सम्पन्न तीन क्याम्पस ऐश्वर्य बहुमुखी क्याम्पस, वीरेन्द्र विद्या मन्दिर र टीकापुर बहुमखी क्याम्पसमा नेबि संघ विजयी भएको छ। त्यसैगरी डोल्पा बहुमुखी क्याम्पसमा अनेरास्ववियूले जितेको छ।
पृथ्वीनारायण क्याम्पस पोखरामा दिउंसोदेखि जारी मतगणनामा अनेरास्ववियू अगाडि रहेको छ। सोमवार निर्वाचन भएका राजधानीका तीन क्याम्पसहरू रत्नराज्यलक्ष्मी, पद्मकन्या र ल क्याम्पसमा साँझ ६ बजेदेखि मतगणना हुदैछ।
दधिराज घिमिरे / एचकेनेपाल डट कम -
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्व भरका लागि उदाहरण भएको बताउँदै शान्ति प्रक्रिया निश्कर्षमा पुगेर टुंगिने बताउनुभएको छ।
आइतवार नर्वेको राजधानी ओस्लो पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले नर्वेको पब्लिक ब्रोडकास्ट टेलिभिजनमा अन्तर्वार्ता दिँदै यस्तो बताउनुभएको हो।
प्रधानमन्त्री प्रचण्डले बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, पूर्ण प्रेस स्वतन्त्रता र विधिको शासनको पक्षमा एकीकृत नेकपा माओवादी प्रतिबद्ध रहेको समेत अन्तर्वार्ताका क्रममा स्पष्ट पार्नुभएको छ।
प्रधानमन्त्रीको अन्तर्वार्ता प्रसारण भए लगत्तै नर्वेका विकास मन्त्री एरिक सोल्हेमले नेपाललाई नर्वेको सहयोग वृद्धि गर्ने विषयमा गृहकार्य भइरहेको जानकारी दिनुभएको छ।
प्रधानमन्त्रीले सोमवार नर्वेका प्रधानमन्त्रीसँग नेपालमा उर्जा संकट समाधानका लागि उच्चस्तरमा छलफल गर्ने कार्यक्रम रहेको छ।
स्थानीय समय अनुसार दिउँसो १२:३० मा ओस्लो विमानस्थलमा प्रधानमन्त्रीको भ्रमण टोली अवतरण गरेको भ्रमणमा रहनुभएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार ओम शर्माले जानकारी दिनुभएको छ। उहाँका अनुसार प्रधानमन्त्री ओस्लोको कन्टिनेन्टल होटलमा बस्नुभएको छ।
आचार्य प्रभा, बोल्डर कोलोराडो / एचकेनेपाल डट कम -
कोलोराडोबासी साहित्य प्रेमीहरुले नियमित कार्यक्रम अन्तर्गत कोठे साहित्यिक कार्यक्रमको तेश्रो ऋंखला शनिवार सम्पन्न गरेका छन्।
कवि भूपेन्द्र महतको निवासमा सम्पन्न कोठे साहित्यिक यात्राको तेश्रो ऋंखलामा कवि, कवयित्री तथा साहित्यप्रेमीहरू उपस्थित थिए।
कार्यक्रममा जगन्न्नाथ गौतम, ज्ञानेन्द्र गदाल, पारस लम्साल, केशब आचार्य, प्रमोद घिमिरे, भूपेन्द्र महत, झलक सोती र आचार्य प्रभाले रचनाहरू पाठ गरेका थिए। कार्यक्रममा ज्ञानेन्द्र गदाल र आचार्य प्रभाका केही गीतहरुका म्युजिक भिडियो प्रदर्शन गरेर कार्यक्रमलाई संगीतमय बनाएको थियो।
अप्रिल महिनाको कार्यक्रम दुईजना रमाकान्त अधिकारी र प्रमोद घिमिरेमध्ये एक जनाको निवासमा हुने निर्णय गरिएको छ।
एचकेनेपाल डट कम संवाददाता-
जिल्ला प्रशासन कार्यालय, रूपन्देहीले बुटवलमा पुनः केही समयका लागि कफर्यु हटाएको छ। दुई दिनदेखि बुटवल र आसपासका क्षेत्रमा लगाइएको कफर्यु आज बिहान ६ बजेदेखि १२ बजेसम्मका लागि हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
एसएलसी परीक्षालाई मध्यनजर गर्दै कफर्यु हटाइएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ध्रुवराज वाग्लेले बताउनुभयो।
हिजो पनि बुटवलमा केही समयका लागि कफर्यु हटाएर पुनः लगाइएको थियो। युथफोर्स, रूपन्देहीका जिल्ला सदस्य प्रचण्ड थैवको हत्यापछि भीड अनियन्त्रित भएकाले बुटवल र आसपासका क्षेत्रमा कˆर्यु आदेश जारी भएको थियो।
एचकेनेपाल डट कम संवाददाता-
खस क्षेत्रीलाई अलग जातीय समूहमा वैधानिक किटान गर्ने लगायतका पाँचवटा माग संविधान मस्यौदामा नपरेमा खस क्षेत्री एकता समाजले सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ।
उक्त समाजको केन्द्रीय समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा सो चेतावनी दिदैं खस क्षेत्री जातिलाई “अन्य'’ (क्षेत्री, वाहुन, सन्यासी, ठकुरी, चुरौटे) को सूचीबाट हटाई बेग्लै आदिवासी खस क्षेत्रीमा सूचीकृत गरिनुपर्ने जोडदार माग गरिएको छ।
वि. सं. २०५८ को जनगणना अनुसार सवैभन्दा वढी जनसंख्या ३५ लाख ९३ हजार ४९६ अर्थात् नेपालको कूल जनसंख्याको १५.८० प्रतिशत् खस क्षेत्री रहेको उल्लेख गर्दै समाजका केन्द्रीय उपाध्यक्ष योगेन्द्र थापाले तर आज राज्यको हरेक अङ्गमा खस क्षेत्रीको पहुँचलाई खुम्च्याउँदै लगेर सुविधा तथा अधिकारविहीन श्रेणीमा पुर्याउने षडयन्त्रहरू भइरहेको आरोप लगाउनुभयो।
राष्ट्र निर्माणमा अग्रस्थानमा रही खस क्षेत्रीले भूमिका निर्वाह गरेको इतिहास रहेको प्रसङ्ग उल्लेख गर्दै खस क्षेत्रीहरूको समानुपातिक प्रतिनिधित्व र पहुँचकालागि व्यक्ति विशेषको आवाजको कुनै अर्थ नहुने भएकाले सम्पूर्ण देशभरी स्थापना भएका खस क्षेत्रीका अन्य सङ्घ/संस्थाहरूसँग सहकार्य तथा कार्यगत एकता गर्दै अघि बढ्ने घोषित लक्ष अनुसार काठमाडौँको क्षेत्री समाज महासङ्घ र पोखराको क्षेत्री समाज नेपालसाग केन्द्रीय स्तरको खस क्षेत्री सांयुक्त राष्ट्रिय मोर्चा निर्माण भएको जानकारी दिइयो।
एचकेनेपाल डट कम संवाददाता-
संविधानसभा उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। निर्वाचनका लागि सम्बन्धित क्षेत्रमा विद्युतीय उपकरण पठाउने काम मात्रै बाँकी रहेको बताउँदै निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले भन्नुभयो - तीन चार दिनभित्र मतदानका लागि आवश्यक विद्युतीय उपकरण सम्बन्धित क्षेत्रमा पुर्याइसकेपछि निर्वाचनको सम्पूर्ण तैयारी पूरा हुनेछ।
कास्की क्षेत्र नं १, मोरङ्ग क्षेत्र नं ५ र ७, कञ्चनपुरको क्षेत्र नं ४, रोल्पाको क्षेत्र नं २, धनुषाको क्षेत्र नं ५ मा चैत २८ गते उपनिर्वाचन हुँदैछ।
पाँच जिल्लाका छ निर्वाचनमा क्षेत्रमा करिव पाँच लाख मतदाता रहेका छन् भने एक सयभन्दा बढी उम्मेदवारले निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन्।
ती सबै निर्वाचन क्षेत्रमा विद्युतीय उपकरणबाट मतदान गरिदैछ।
यसैवीच निर्वाचन आयुक्त उप्रेतीले राज्यबाट प्राप्त सुविधाको दुरूपयोग गरी निर्वाचनको प्रचारमा निस्कने सरकारका मन्त्री तथा सभासद्हरूलाई कारवाही गरिने बताउनुभएको छ।
कसैले राज्यको सुविधा प्रयोग गरी चुनावी प्रचार गरेको पाइएमा निर्वाचन आयोगले कारवाही गर्ने उहाँको भनाई थियो।
एचकेनेपाल डट कम संवाददाता-
गोरखाको महालक्ष्मी उच्चमावि केन्द्रमा एसएलसीको परीक्षा सञ्चालनमा सुरक्षाकर्मीदेखि सबै कर्मचारीमा महिलामात्र संलग्न छन्।
सो केन्द्रमा मर्यादितरूपमा परीक्षा सञ्चालन भइरहेको छ। केन्द्रका केन्द्राध्यक्ष मालती भट्टका अनुसार सो केन्द्रमा रत्नराज्य मावि वीरेन्चोक र महालक्ष्मी उमाविका ९० जना विद्यार्थी सहभागी छन्।
ती परीक्षार्थीमा एक्जाम्टेडतर्फका दुई महिला र एक पुरुष तथा नियमिततर्फ ८७ जना छन्। परीक्षा केन्द्रमा केन्द्राध्यक्षको मागअनुसार सुरक्षाका कर्मचारी महिलामात्र खटाइएको गोरखाका प्रहरी नायबउपरीक्षक सुरेश बस्नेतले बताउनुभयो।
नेपाली लोकतान्त्रिक मञ्च, बेल्जियम - प्रेस वक्तव्य
एकीकृत नेकपा (माओवादी) का तथाकथित तालेवानी मिलेसिया अराजक वाइसिएलका आततायि जल्लादहरुबाट संगठित र नियोजितरुपमा प्ररायू, संघ रुपन्देहीका जिल्ला सदस्य प्रचण्ड थैवलाई कायरतापूर्ण हत्याको समाचारले हामी बेल्जियमबासी नेपालीहरु मर्माहत भएका छौं र सिंगो मुलुकलाई नै त्राहिमाम पार्न आफ्ना नन्दिभृङ्गीहरुलाई छाडा छोडि ताण्डव नृत्य देखाउने अत्ति नै गैह्रजिम्मेवार तथा नरहिंस्रक सामाजिक अपराधी सैन्य फासिबादी एकिकृत नेकपा (माओवादी) प्रति तीव्र घृणा र आक्रोश पोख्दै घोर निन्दा र भर्त्सना गर्दछौं।
बिवेक देवकोटा, बिकाश लम्साल, राजबहादुर मल्ल, गोपाल गुरागांइ, धर्म पौडेल,टिका चेम्जोङ्ग, राजेन्द्र राईलगायत दर्जनौ नेता तथा कार्यकर्ताहरु योजनाबद्ध एवं श्रृंखलाबद्धरुपमा आततायी माओबादीको सिकार बनिरहेको अबस्थामा र साथै नेपाली जनताको बिरुद्धमा सत्ताको आडमा राज्यको सबै निकायहरुमा श्वेत आतंक र सामाजिक तहमा लुट, डकैत, हत्या, हिंसाकै बलमा सामाजिक अपराधलाई चुल्याउदै देशलाई अराजकताको परकाष्ठामा पुर्याउने सैन्य सामाजिक फासिबादी एकीकृत नेकपा (माओवादी) को सत्ताको बैशाखी नबनिरहन र तत्कालै सरकारबाट फिर्ता आउन नेपाली जनताको गौरबशाली पार्टी नेकप (एमाले) लाई हामी जोडदार माग गर्दछौं।
साथै जनअपराधीहरुको आश्रयस्थल माओबादीका क्याण्टोनमेण्टरुपी नरभक्षी गुफाहरुमा लुकेर बसेका नेपाली जनताका हत्याराहरुलाई बेनकाव बाहिर ल्याएर कानूनी उपचार गर्न र कानूनी राज र विधिको साशनको पूर्णरूपमा ग्यारेण्टी गर्न नेपाली जनताको तहबाट आबश्यक कदम अबिलम्व चाल्न हामी नेकपा (एमाले)को नेतृत्वलाई जोडदार अनुरोध गर्दछौं।
अन्तमा अधिनायकबादी सामाजिक फासिबादी एकिकृत नेकपा(माओवादी)का जनबिरोधी काला कर्तुतहरुलाई अन्तर्राष्ट्रियकरण गरी उसको असली अनुहारलाई विश्व सामु छर्लङ्ग पार्न आ-आफ्नो ठाउंबाट एथेष्ट भूमिका निर्वाहा गर्न सम्पूर्ण लोकतन्त्रबादी नेपाली संघ संगठनहरुलाई बिशेष अनुरोध समेत गर्दछौं।
तुलसीनाथ सुबेदी
अध्यक्ष
नेपाली लोकतान्त्रिक मंच, बेल्जियम
रघु त्रिपाठी, दक्षिण कोरिया / एचकेनेपाल डट कम -
कोरियाको ख्यङसाङनाम्दो राज्य परिषद समितिमा पहिलो पटक विदेशी नागरिकहरुका तर्फबाट एक जना नेपाली नागरिक यज्ञराज सुवेदी नियुक्त हुनुभएकोमा कोरियामा रहेका बिभिन्न संघ सस्थाहरूले सुवेदीलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गरेका छन्।
झापा निवासी ३७ वर्षीय सुवेदी सन् १९९६ मा प्रशिक्षार्थी भिषामा कोरिया प्रवेश गर्नु भएको थियो भने १९९८ मा स्वदेश फर्किनुभै पुनः १९९९ मा अध्ययनका लागि कोरिया प्रवेश गर्नुभएको थियो। श्रीमती अञ्जना अर्याल तथा छोराछोरीसहित कोरियामा रहनु भएका र बिगत दश वर्ष लामो कोरिया वसाँइको क्रममा उहाँले श्रमिकहरुका माझमा रहेर उनीहरुले भोग्नु परेका यावत समस्याहरुमा सहयोग पुर्याउदै आउनुभएका सुवेदी किम्हेस्थित किम्हे फरेन मिसन चर्चका सिनियर पाश्चर समेत हुनुहुन्छ।
राज्य परिषद समितिको सभासद सरहको पदमा रहेर आम बिदेशीहरुका समस्याहरुलाई कानुन, नीति निर्माण तथा कार्यान्वयन तहमै पुगेर सहयोग गर्ने हेतुले विदेशी नागरिकहरुलाई मनोनित गर्नु आफैमा महत्वपूर्ण उपलब्धि हो। अन्य देशका तुलनामा संख्यात्मक हिसाबले नेपालीको सख्या न्यून् रहेता पनि नेपाली समुदायबाटै उक्त महत्वपूर्ण समितिमा प्रतिनिधित्व पाउनु नेपालीहरुका लागि गौरवको कुरा हो। उल्लेख्य संख्यामा रहेका आप्रवासीहरुका हक, हितका लागि नीति निर्माण गर्ने जिम्मेवारी महत्वपूर्ण तथा चुनौतिपूर्ण पनि भएकोले उहाँले पाउनुभएको पदिय दायित्वलाई सफल तथा ससक्त ढंगबाट सम्पन्न गर्न उहाँलाई सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरिएका छन्।
विशुद्ध समाजिक सेवाका दृष्टिले विदेशी भूमिमा आप्रवासीहरुका लागि कल्याणकारी नीति निर्माण गर्ने अत्यन्त महत्वपूर्ण जिम्मेवारी पाउनुभएका सुवेदीलाई कोरियास्थित आपतकालिन नेपाली सेवा समिति, नेपाल पत्रकार संघ दक्षिण कोरिया तथा अन्य नेपाली समुदायहरुले शुभकामना ब्यक्त गरेका छन्।
त्यसै गरी, कोरियामा अध्ययनरत विद्यार्थीहरुले पनि हार्दिक बधाइ ज्ञापन गर्दै आगामी दिनहरुमा सदा सर्वदा दायित्व निर्वाह गर्ने उत्प्रेरणा र कार्य सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरेको छ।
एचकेनेपाल डट कम संवाददाता-
जाजरकोटको जगतिपुर परीक्षा केन्द्रमा एक्जेम्टेड समूहबाट ४२ वर्षीया आमा र नियमित समूहबाट १७ वर्षीया छोरीले सँगसँगै एसएलसी परीक्षा दिएका छन्। पुन्मा गाविस-५ भेरेँकी शान्ता पुन विसं. २०४२ देखि लक्ष्मी निम्न माध्यमिक विद्यालय, भैरोमा शिक्षण पेसामा क्रियाशील रहँदै आएकी छिन्।
उनी स्थायी शिक्षिका भएको २२ वर्ष पुगे पनि अहिलेसम्म एसएलसी उत्तीर्ण हुनसकेकी छैनन्।
शिक्षिका शान्ता भन्नुहुन्छ-’१० कक्षा उत्तीर्ण गर्नेबित्तिकै पढाउन लागियो, त्यसबेला सरकारले पनि आवश्यक कागज प्रमाणको केरकार गरेन, तर अहिले आएर छानबिन हुने र बढुवाका लागि पनि प्रमाणपत्र चाहिने भएकाले यसपालि एसएलसी दिएकी हुँ।’
उनकी जेठी छोरी जानुका पुनले पनि यसै साल नियमिततर्फ एसएलसी परीक्षा दिएकी हुन्।
एचकेनेपाल डट कम संवाददाता-
विश्व हिन्दू महासङ्घले नयाँ बनिने संविधानका लागि सुझाव लिने क्रममा वितरित सुझावपत्रमा धर्मबारे जनताबाट सुझाव माग्ने कुरा उल्लेख नगरेकामा खेद प्रकट गरेको छ।
महासङ्घद्वारा संविधानसभा अध्यक्षलगायतलाई दिइएको सुझावपत्रमा उक्त खेद प्रकट गरिएको हो।
सुझावपत्रमा ८४ प्रतिशत हिन्दू र ९४ प्रतिशत ओमकार परिवार रहेको नेपाललाई धर्मनिरपेक्ष घोषणा गरिनु कतिको जायज हो भन्ने प्रश्न गर्दै नयाँ बनिने संविधानका लागि नौबुँदे सुझाव दिएको छ।
सुझावमा भनिएको छ-धर्मनिरपेक्ष शब्दको स्थानमा “भेदभावरहित धर्म स्वतन्त्र नेपाल राष्ट्र रहने छ” उल्लेख हुनुपर्छ।
सबै धर्म वा सम्प्रदायको प्रतिनिधित्व हुने गरी एक उच्चस्तरीय सुविधा एवं अधिकारसम्पन्न राष्ट्रिय धार्मिक समस्याको निदान एवं निरुपण गरी राष्ट्रलाई धार्मिक समस्याबाट विशुद्ध राखिनुपर्ने, गाईलाई राष्ट्रिय जनावरका रुपमा राखी संरक्षण गरिनुपर्ने सुझाव रहेको छ।
यसैगरी महासङ्घले संविधानमा संसारमा प्रचलित बहुदलीयताको आधारमा प्रतिस्पर्धात्मक बालिग मताधिकारका निर्वाचन प्रणालीद्वारा चुनिएको संसदले चुनेको प्रधानमन्त्री राष्ट्रको कार्यकारी प्रमुख हुने व्यवस्था हुनुपर्ने र राष्ट्रपति अलङ्कारिक मात्र हुनुपर्ने लगायतका सुझाव दिएको महासङ्घ राष्ट्रिय समितिका अध्यक्ष दामोदर गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ।
एचकेनेपाल डट कम संवाददाता-
अखिल क्रान्तिकारी पद्मकन्या बहुमुखी क्याम्पस एकाइले अनिश्चितकालका लागि क्याम्पस बन्द गर्ने घोषणा गरेको छ। सो सङ्गठनले प्रज्ञा छात्रावासमा भएको कुटपिट, चोरी र गुन्डागर्दी रोक्न माग गर्दै क्याम्पस प्रमुखलाई ज्ञापनपत्र दिएकामा त्यसको कार्यान्वयन नगरेको जनाउँदै बन्दको घोषणा गरेको जनाएको छ।
सो सङ्गठनले स्ववियु निर्वाचनका लागि नक्कली परिचयपत्र बनाइएकामा विरोध जनाउँदै छात्रावास प्रमुखले पदीय जिम्मेवारी पुरा नगरेकाले हटाउनसमेत माग गरेकामा हालसम्म त्यसको सुनुवाइ नभएकाले त्यसको कार्यान्वयन नभएसम्म निर्वाचनमा भाग नलिने पनि जनाएको छ।
एचकेनेपाल डट कम संवाददाता-
नेकपा (एमाले)ले माओवादीका गलत क्रियाकलाप नरोकिने र माओवादीले विगतका सहमति पालना नगर्ने हो भने नेकपा (एमाले) सरकारमा रहनेबारेमा पुनर्विचार गर्न बाध्य हुने व्यहोराको ज्ञापनपत्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको छ।
पार्टी अध्यक्ष झलनाथ खनालले ज्ञापनपत्र बुझाउँदै मुलुकको गम्भीर परिस्थितिलाई ध्यानमा राखी आफ्ना गलत नीति र व्यवहारमा प्रभावकारी सुधार ल्याउन प्रधानमन्त्री र एकीकृत नेकपा माओवादीको ध्यानाकर्षण गराउनुभएको छ।
पार्टी कार्यकर्ता प्रचण्ड थैबको हत्याको विरोधमा पार्टी केन्द्रीय कमिटीको चालु बैठक स्थगन गरेर सिङ्गो नेकपा (एमाले) विरोधमा उत्रिएको जानकारी गराउँदै पार्टीले बुटवल नगरपालिका वार्ड नं. ९ निवासी पार्टीका कार्यकर्ता एवं प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ रुपन्देहीका सदस्य थैब र गतः फागुन २६ गते वाइसिएल कार्यकर्ता टाइगर भनिने पदमबहादुर रावत (कालिकोट) द्वारा मारिएका एमाले कार्यकर्ता एवं सुर्खेत जन उच्च मावि अनेरास्ववियु प्राक सहसचिव छात्र राजबहादुर मल्ललाई राज्यका तर्फबाट सहिद घोषणा गर्न, उहाँहरुको परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न र घटनामा संलग्न सुरजितलगायत विभिन्न घटनामा संलग्न अपराधीलाई तत्काल गिरफ्तार गरी कारवाही गर्न माग गरिएको छ।
पार्टी केन्द्रीय कमिटीको बैठकले अपराधीमाथि कारवाही नहुन्जेल पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले मन्त्रिपरिषद्को बैठकमा भाग नलिने निर्णय गरेको पनि प्रधानमन्त्रीलाई ज्ञापनपत्रमार्फत जानकारी गराइएको छ।
एचकेनेपाल डट कम संवाददाता-
अर्थमन्त्री डा बाबुराम भट्टराईले सरकारका केही निकायले आफूलाई लोकतन्त्रभन्दा माथि राख्न खोजेकाले गणतन्त्रको स्थापनापछि पनि अग्रगमन र प्रतिगमनबीचको लडाइँ जारी रहेको भन्दै घुमाउरो भाषामा सेनामाथि प्रहार गर्नुभएको छ ।
पोखरा विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै माओवादीका वरिष्ठ नेता डा. भट्टराईले भन्नुभयो- ‘परिवर्तन नचाहने र परिवर्तन खोज्ने शक्तिबीचको द्वन्द्व अहिले पनि जारी छ, लोकतन्त्र नचाहने केही सङ्घसंस्था बृहत् शान्ति सम्झौता र अन्तरिम संविधानभन्दा आफूलाई माथि देखाउन खोज्दैछन् ।
काङ्ग्रेसलाई सरकारमा ल्याउने पहल जारी रहेको पनि उहाँले जानकारी दिनुभयो ।
मापदण्ड पुरा गरेर स्वरोजगार फाराम भर्ने सबैलाई कर्जा दिइने पनि उहाँले बताउनुभयो ।
एचकेनेपाल डट कम संवाददाता-
अखिल तराई मुक्ति मोर्चाले युथफोर्सका रुपन्देही जिल्ला सदस्य प्रचण्ड थैवको हत्याको जिम्मेवारी लिएको छ।
अखिल तराई मुक्ति मोर्चाका राकेश बिद्रोहीले बुटवलका संचारकर्मीलाई टेलिफोन गरेर घटनाको जिम्मेवारी लिएका हुन्। उनी जयकृष्ण गोइतले नेतृत्व गरेको अखिल तराई मुक्ति मोर्चाका बुद्ध क्षेत्र इन्चार्ज हुन्।
उनले भारतीय मोवाइल नम्वर ००९१९७९४६१९४१४ बाट फोन गरेर थैवले मोर्चाको नाममा चन्दा आतंक मच्चाएकोले हत्या गरेको दावी गरेका छन्। थैवलाई गएराति गोली प्रहार गरी हत्या गरिएको थियो।
एचकेनेपाल डट कम संवाददाता-
नेकपा एमालेले भोलिदेखि माओवादीविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ।
एमालेले पार्टी मुख्यालय बल्खुमा जारी बैठकमा माओवादीविरुद्ध सडकदेखि सदनसम्म सशक्त रुपमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो।
माओवादी कार्यकर्ताले युथफोर्सका रुपन्देही जिल्ला सदस्य प्रचण्ड थैवको हत्या गरेको भन्दै नेकपा एमालले देशभर माओवादीविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो।
बैठकले युथफोर्सका रुपन्देही जिल्ला सदस्य प्रचण्ड थैवको हत्याप्रति दुःख ब्यक्त गर्दै एमालेमाथिको श्रृखलाबद्ध आक्रमण रोक्न माओवादीलाई आग्रह गरेको छ। एमालेले केही बेरपछि माओवादीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने घोषणा पत्रकार सम्मेलनमार्फत गर्दैछ।
युथफोर्सका रुपन्देही जिल्ला सदस्य प्रचण्ड थैवको हत्यापछि उत्पन्न तनावका कारण स्थानीय प्रशासनले बुटवलमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ।