Archive for April, 2009

बेलायती संसद गोर्खाको पक्षमा

एचकेनेपाल डट कम संवाददाता-
भूतपूर्व गोर्खा सैनिकलाई बेलायतमा बसोबास गर्ने अधिकार समान रूपमा दिइनु पर्छ वा पर्दैन भन्ने विषयमाथि भएको मतदानमा अधिकांश सांसदहरूले गोर्खाको पक्षमा मतदान गरेपछि बेलायती प्रधानमन्त्री गोर्डन ब्राउनको नीति असफल भएको छ।

बेलायती संसदमा भएको मतदानमा गोर्खाको पक्षमा २६७ र विपक्षमा २४६ मत परेका थिए। यहाँसम्म कि प्रधानमन्त्री ब्राउनका आफ्नै दलका २७ सांसदले समेत गोर्खाको पक्षमा मतदान गरेका थिए।

लण्डनको उच्च अदालतले सेप्टेम्बर ३० तारिख सबै गोर्खालाई आवासीय भिसा उपलब्ध गराउन आदेश दिएको भए पनि बेलायत सरकारले अप्रिल २४ तारिख अदालतको आदेशविपरित नयाँ नीति घोषणा गरेको थियो। जुन नीतिले गोर्खालाई मार परेको भन्दै भूपू गोर्खा सैनिकहरुले विरोध गर्दै आइरहेका थिएभने बेलायती संसदमा विपक्षी दलहरुले समेत साथ दिएका थिए।

Recent Videos:

Popularity: 11%

5 comments April 30th, 2009

एनआरएनए एनसिसि यूएईको अधिवेशन जुन ५ मा हुने

खेमनाथ पौड्याल, यूएई / एचकेनेपाल डट कम -
एनआरएनए एनसिसि यूएई निर्वाचन समन्वय समितिले एक सूचना प्रकाशन गरी गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएइको निर्वाचन जुन ५ २००९ का दिन हुने बताएको छ। मे १४, २००९ सम्म यूएइका गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली संघ यूएईको सदस्यता लिन उक्त सूचनामा जनाएको छ।

दर्ता हुन आएका सम्पूर्ण सदस्यहरुको अन्तिम नामावली मे १६ का दिन प्रकाशन गर्ने, मे १६ देखि मे १८ सम्म मतदाता नामावलीमाथि दावी बिरोध गर्ने, अन्तिम मतदाता नामावली प्रकाशन मे १८, उम्मेदवारी दर्ता १९ देखी २१ राति १० बजेसम्म, उम्मेदवारी नामावली प्रकाशन मे २२, उम्मेदावरीको दावि विरोध मे २२ देखि मे २५ १० बजेसम्म, उम्मेदवारी फिर्ता मे २६ देखि २९ सम्म गर्ने, मे ३० मा अन्तिम उम्मेदवारी नामावली प्रकाशन गर्ने जुन ५ तारिखका दिन निर्वाचन गराउने गरी उक्त सूचनामा निर्वाचन कार्यतालिकाको पनि जानकारी गराइएको छ।

निर्वाचन आचार संहिता तथा निर्देशिका साथै उम्मेदावारी दर्ताको निम्ति लाग्ने शुल्क आदिको सम्बन्धमा निर्वाचन समितिले अर्को सूचना मार्फत जानकारी गराउने साथै स्थान र समय मतदाताको संख्याको आधारमा पछि तोकिने उक्त सूचनामा जनाईएको छ।

सदस्यता लिनकोलागि अबुधावी, अलेन, मुसाफा र साहामाको लागि भुवन राई (०५० ५२६२८२०), दुवईको लागि निमेष गिरी (०५० ८७४६३३४), शारजाह, अजमान, रासलखेमा, फुजेरा, अमलक्वेन राजेन्द्र देवकोटा (०५० ३४९८०२४) लाई सम्पर्क गर्नको लागि पनि निर्वाचन समन्वय समितिले अनुरोध गरेको छ।

निवार्चन सम्बन्धि कुनै जानकारी लिन वा सल्लाह सुझावको दिनको निम्ति nrnanccuae_ec@yahoo.com मा इमेल गर्नु हुन साथै यूएईमा कार्यरत सम्पूर्ण नेपाली जनसमुदाय एंव संघ सस्थाहरुलाई एनआरएनए, एनसिसि यूएईको सदस्यता (सदस्यता शुल्क दिह्मास ५०) लिनको लागि अनुरोध गरिएको निर्वाचन समवन्य समितिका प्रवक्ता बालचन्द्र पोख्रेले बताए।

स्मरण रहोस् मे २९ मा गर्ने भनिएको निर्वाचन उक्त दिन नेपाली दूतावास यूएईले पर्यटन सम्वन्धी कार्यक्रम गर्ने भएको हुंदा निर्वाचनपछि सारिएको बताईएको छ।

Recent Videos:

Popularity: 11%

Add comment April 30th, 2009

नेपाली कलाकारहरुको टोली मलेसियामा

सुनिल चालिसे, मलेसिया / एचकेनेपाल डट कम -
मजदुर दिवस तथा नेपाली नयाँ वर्ष २०६६ सालको अवसर पारेर नेपाली कलाकारहरुको एक टोली मलेसिया आइपुगेका छन्।

मलेसिया आइपुगेका नेपाली कलाकारहरुमा प्रथम नेपाली तारा दिपक लिम्बू, गायिका अन्जु पन्त, देविका केसी, हास्यकलाकार दमन रुपाखेती, शेखर खनाल, नृत्याङ्गाना सम्झना बुढाथोकी छन्।

कलाकारहरुले सँधैभरी मलेसिया आइरहन सक्ने किसिमिको पर्फेन्स गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। नेपाल तारा हुनसाथ मलेसिया घुम्न आएका दिपक लिम्बूले मलेसिया भ्रमण दोश्रो भएको बताउँदै आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्ने जानकारी थिए। त्यसैगरी दोश्रो चोटी नै मलेसिया आएका दमन रुपाखेतीले दमन दोहोरी प्रस्तुत गर्ने बताएका थिए। मलेसिया पहिलो पटक आएका अन्जु पन्त, देविका केसी, शेखर खनाल, सम्झना बुढाथोकीले पनि मलेसियाका दर्शकहरुलाई भरपूर मनोरन्जन दिने कुरा बताउंदै मलेसिया आउन पाउँदा धेरै खुशी रहेको पनि बताए।

कार्यक्रम मे १ मा क्वालालम्पूर, ३ मा पोर्टकेलाङ, ९ मा सिमोनिया, १० मा मलक्कामा हुनेभएको छ भने विचमा अन्य ठाउँमा पनि हुने जानकारीमा आएको छ।

कलाकारहरुलाई स्वागत गर्न आयोजक टोलीका विश्व राई, दीपक बोगटी र अफिसियल मिडिया नेपाल पृष्ठभूमि एयरपोर्ट पुगेका थिए। आमन्त्रित नेपाली कलाकारका साथमा मलेसिया स्थानीय नेपाली कलाकारहरु सन्तोष लामा, अमृत सुनुवार, काजल गुरुङ र श्याम लामाले पनि आफ्ना प्रतिभा प्रस्तुत गर्नेछन्।

कार्यक्रमलाई थ्रिस्टार रेमिट, हर्वो केयर एसडीएन विएचडी, हाई माउन्टेन भ्यू ट्राभल र डिजी टेलिकम्यूनिकेशनले प्रायोजन गरेको छ । त्यसैगरी धौलागिरी सर्म्पर्क मन्च, सुदूरपश्चिम सेवा समाज, प्रवासी नेपाली हातेमाले सामुदायिक समाज, धौलागिरी पसल, रेष्टुरेन्ट द खुकुरी, रेष्टुरेन्ट जीरे खुर्सानी, आइक्रो हाइट परिवार रहेको छ भने द पृष्ठभूमि साप्ताहिक अफिसियल मिडिया रहेको छ।

Popularity: 10%

1 comment April 30th, 2009

शिक्षकको गोली हानी हत्या

एचकेनेपाल डट कम संवाददाता-
अज्ञात समूहले बिहीबार अपरान्ह एक शिक्षकको गोली प्रहार गरी हत्या गरेको छ। मृत्यु हुनेमा बाराको कलैया नगरपालिका वडा नं १० का ४५ बर्षीय प्रदिप तिमल्सिना रहेका छन्।

विद्यालयबाट फर्कदै गर्दा मोटरसाइकलमा आएका तीन जनाको समूहले तिमल्सिनामाथि गोली प्रहार गरेका थिए। उनी स्थानीय नेपाल राष्ट्रिय प्राथामिक विद्यालयका शिक्षक थिए।

Popularity: 10%

Add comment April 30th, 2009

दुई ठाउँबाट हारेकालाई ल्याउँदा कहाँ गयो नागरिक सर्वोच्चता ?

एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष गोरेबहादुर खपाङ्गीले दुई दुई निर्वाचन क्षेत्रबाट जनताले हराएका व्यक्तिलाई संविधान निर्माण समितिको अध्यक्ष बनाउने सरकारले अहिले नागरिक सर्वोच्चताको कुरा गर्न नमिल्ने बताउनुभएको छ।

राष्ट्रिय युवा मोर्चा मकवानपुरद्वारा हेटौडामा आयोजित जानकारीसभालाई सम्बोधन गर्दै अध्यक्ष खपाङ्गीले जनताले नपत्याएर हराएका व्यक्तिलाई उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारी दिएर सरकारले नागरिक सर्वोच्चताको उपहास गरेको बताउँदै त्यस्ता व्यक्तिहरुबाट संविधान निर्माण हुनु जनता प्रतिको अवहेलना हो स्पष्ट पार्नुभयो।

नेपालको इतिहासमा राष्ट्रघाती काम परापूर्वदेखि नै भएको उल्लेख गर्दै खपाङ्गीले नेपालको अपार जलस्रोतमाथि भारतको गिद्धेदृष्टि परेको बताउँदै नेपालको पानीको अधिकार भारतलाई सुम्पिने सरकारको खोजी भारतले गरिनै रहने र उसलाई सत्तामा टिकाउने भरमग्दुर प्रयास गर्ने गरेको आरोप लगाउनुभयो।

खपाङ्गीले हाम्रा नेताहरुको भारत परस्त नीतिका कारण भारतीय राजदूतले समेत प्रधानमन्त्रीलाई दबाब दिन सकेको उल्लेख गर्नुभयो।

Popularity: 10%

10 comments April 30th, 2009

क्रान्तिकारीको हड्तालले पठनपाठन ठप्प

एचकेनेपाल डट कम संवाददाता-
त्रिभुवन विश्वविद्यालयले गरेको शुल्क वृद्धिको विरोध र गत वैशाख ९ गते पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै अनेरास्ववियु (क्रान्तिकारी)ले वैशाख १५ गतेदेखि १८ गतेसम्म गरेको शैक्षिक संस्था बन्दको कार्यक्रमका कारण विश्वविद्यालय क्याम्पसको पठनपाठन र सम्पूर्ण प्रशासनिक कार्य पूर्णरुपमा ठप्प भएको छ।

विद्यार्थीहरूको ढाडै सेक्ने गरी गरिएको शुल्क वृद्धि र आफ्ना सङ्गठनका कार्यकर्ताको गिरˆतारीका विरुद्धमा शैक्षिक संस्था बन्दको घोषणा गरिएको भन्दै सङ्गठनद्वारा जारी विज्ञप्तिमा शुल्क वृद्धिको निर्णय तुरुन्त खारेज गरिनुपर्ने र गिरˆतार गरिएका कार्यकर्तालाई विना सर्त रिहा गरिनुपर्ने माग राख्दै सङ्गठनले उठाएका माग प्रति बेवास्ता गरिएमा कडाभन्दा कडा सङ्घर्षका कार्यक्रम ल्याउन बाध्य हुने जनाइएको छ।

बन्दका कारण त्रिवि केन्द्रीय पुस्तकालय बाहेक विश्वविद्यालय क्याम्पसका सम्पूर्ण केन्द्रीय विभागहरु पूर्णरुपमा बन्द भएका छन्।

Popularity: 10%

Add comment April 30th, 2009

संविधान निर्माण कार्यतालिकामा फेरबदल

एचकेनेपाल डट कम संवाददाता-
संविधानसभाको बैठकले संविधान निर्माणको अन्तिम समयसीमालाई यथावत राखी कार्यतालिकामा चौथो पटक परिवर्तन गरेको छ। संविधानसभाले २०६७ साल जेठ १५ गतेभित्र संविधान निर्माण गरिसक्नुपर्ने बाध्यात्मक व्यवस्था छ।

संशोधित कार्यतालिकाअनुसार अवधारणापत्रका आधारमा विषयगत समितिहरूले संविधानको प्रारम्भिक मस्यौदा तयार गर्ने यसअघि यही वैशाख १० गतेभित्र तयार गर्ने भनिएकोमा अब त्यसको समयसीमा बढाएर जेठ ८ गतेसम्म पु¬र्‍याइएको छ। व्यवस्थापिका-संसदको पाँचौं अधिवेशनसमेत यसै अवधिमा आह्वान गरिनेछ।

यसैगरी विषयगत समितिहरूले तयार पारेको अवधारणापत्र र प्रारम्भिक मस्यौदा संविधानसभामा पेस गरी वैशाख ११ देखि जेठ महिनाभर छलफल गरिने निर्धारित भएपनि अब त्यस विषयमा जेठ ९ गतेदेखि असार महिनाभर छलफल हुनेछ। व्यवस्थापिका-संसदको छैटौं अधिवेशनसमेत यसै अवधिमा आह्वान गरिनेछ।

संवैधानिक समितिले सभाले दिएको सुझाव र विषयगत समितिबाट पेस भएका मस्यौदालाई एकीतृत गरी नयाँ संविधानको पहिलो मस्यौदामा साउन २५ गतेसम्ममा तयार गर्नेगरी तोकिएकोमा अब त्यस्तो मस्यौदा भदौ २५ गतेसम्ममा तयार गरिनेछ।

संवैधानिक समितिले तयार गरेको संविधानको पहिलो मस्यौदा पूर्ण बैठकमा पेस गर्ने र छलफल गर्ने पुरानो कार्यतालिकालाई परिवर्तन गरी असोज २५ गतेसम्म पुर्याइएको छ। त्यस्तै, संविधानको पहिलो मस्यौदालाई अन्तिम रुप दिई जनताका राय-प्रतिक्रियाका लागि नेपाल राजपत्रमा असोज मसान्तसम्ममा प्रकाशन गरिनेछ।

संशोधित कार्यतालिकाअनुसार असोज १ बाट सुरु हुने भनिएको संविधानको पहिलो मस्यौदामाथि व्यापक सुनुवाई, गोष्ठी, अन्तरक्रिया गराउने समयलाई परिवर्तन गरी कात्तिकदेखि मङ्सीर २५ गतेसम्म बढाइएको छ।

Popularity: 10%

Add comment April 30th, 2009

छोरी मारेको अभियोगमा आमासहित दुई पक्राउ

एचकेनेपाल डट कम संवाददाता-
आफ्नै पाँच वर्षिया छोरीलाई मारेको आरोपमा प्रहरीले सुनसरीको भोक्राहा-६बाट मृतककी आमा २७ वर्षीया फुलोदेवी खत्वे र उनका एक छिमेकीलाई पक्राउ गरेको छ।

प्लास्टिकको झोलामा हालेर घर नजिकै पुरिएको अवस्थामा फुलोदेवीकी पाँच वर्षीया छोरी सुशीला खत्वेको लाश फेला परेपछि प्रहरीले स्थानीय सहदेव खत्वेलाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरी इनरुवाले जनाएको छ।

बिहान फेला परेको सो लाश प्रहरीले उत्खनन् गरी जिल्ला अस्पताल सुनसरीमा पोस्टमार्टमका लागि बुझाएको छ।

अभियुक्त फुलोदेवीका श्रीमान् वैदेशिक रोजगारीका लागि गएको र घरमा ससुरा वसन्त खत्वेसँगै रहँदै आएकी उनले छोरीको ससुरासमेतको संलग्नतामा हत्या गरेको प्रहरीले दाबी गरेको छ।

ससुरा वसन्त फरार रहेको र अभियुक्त फुलोदेवीले आफ्नी छोरीको हत्या ससुराले गरेको वयान प्रहरीसमक्ष दिएकी छिन्।

Popularity: 10%

2 comments April 30th, 2009

शान्तिप्रक्रियाबाट मुन आशावादी

एचकेनेपाल डट कम संवाददाता-
संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले संविधान मस्यौदा गर्ने तथा दुई सेनाको भविष्यका सम्बन्धमा भएका छलफलजस्ता शान्ति प्रक्रियासँग सम्बन्धित मुख्य विषयमा हालैका दिनहरूमा भएको प्रगतिले आफूलाई केही आशावादी हुने आधार प्रदान गरेको बताउनु भएको छ।

महासचिव मुनले राष्ट्रसङ्घको सुरक्षा परिषद्मा प्रस्तुत गर्नुभएको पछिल्लो प्रतिवेदनमा योग्य नठहरिएका माओवादी सेनाका जवानको बिदाइ सम्बन्धी योजनाले शान्ति प्रक्रियामा र संयुक्त राष्ट्रसङ्घ समक्ष गरेका प्रतिबद्धताहरू ढिलै भएपनि पूरा हुने उल्लेख छ।

विशेष समितिको बैठक, त्यसको प्राविधिक समितिको गठन र ती दुबैमा प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसको प्रतिनिधित्व, माओवादी सेनाको समायोजन र पुनस्र्थापनाजस्ता जटिल विषयहरूलाई सम्बोधन गर्ने कुराले रचनात्मक रुपबाट अगाडि बढ्ने क्षमताको सङ्केत गर्छ, प्रतिवेदनमा भनिएको छ।

प्रतिवेदनमा मुनले भन्नुभएको छ, “ती सबै कदमहरूको म सराहाना गर्छु र सम्बन्धित सबैलाई अरू कुनै ढिलाइ बिना यो गतिशीलतालाई निरन्तरता दिन आग्रह गर्छु।”

समायोजन र पुनःस्थापनाको काम २०६६ असार ३१ भित्र नै सम्पन्न गर्ने प्रतिज्ञा सरकारले गरेको छ भन्दै महासचिव मुनले हालैका साताहरूमा सुरु भएका कामहरूबाट आफूलाई उत्साहित बनाएको र थप समय खेर नफाली ठोस प्रगति हासिल गर्ने कुरामा आफूलाई आशावादी बनाएको उल्लेख गर्नुभएको छ।

नेपालस्थित राष्ट्रसङ्घीय राजनीतिक मिसन -अन्मिन) का अनुसार महासचिव मुनले तीन महिनाभित्रै सम्पूर्ण काम सम्पन्न गर्ने अपेक्षा गर्नु यथार्थपरक नहुने बताउनु भएको छ।

विशेष समिति र प्राविधिक समितिमा अन्मिनको सहायताका लागि प्रधानमन्त्रीले आग्रह गर्नु भएको छ भन्दै महासचिव मुनले माओवादी सेनाका जवानहरूको समायोजन र पुनःस्थापनाको काम सम्पन्न नभएसम्म अन्मिनका हतियार अनुगमनकर्ताले अहिले निर्वाह गरिरहेको भूमिकाको निरन्तरताका लागि उनीहरूको आवश्यक परिरहने कुरातर्फ नेपाली पक्षहरूले बारम्बार राष्ट्रसङ्घलाई सङ्केत दिइरहेका उल्लेख गर्नुभएको छ।

भविष्यको स्थायित्वका लागि माओवादी सेनाका लडाकूको योजनावद्ध पुनस्र्थापनाका साथै समाजमा वा सुरक्षा बलमा समायोजन आवश्यक रहेको महासचिव मुनले बताउनु भएको छ।

Popularity: 9%

Add comment April 30th, 2009

थारु आन्दोलनकारीद्वारा आगजनी

एचकेनेपाल डट कम संवाददाता-
कैलाली जिल्लाका गाविसका कार्यालयहरुमा श्रृङ्खलाबद्धरुपमा भइरहेका आगजनीका घटना रोकिएका छैनन्।

जिल्लाको बौनिया, दुर्गौली, बसौटी, मसुरिया र गदरिया गाविस कार्यालयहरूमा पनि आगो लगाइएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार थारुहटका कार्यकर्ताले गरेको आगजनीबाट गाविसका कार्यालयका फर्निचर, महत्वपूर्ण कागजात जलेर नष्ट भएका छन्।

गाविस कार्यालयहरूमा गरिएको आगजनीका घटनाका कारण जन्म, मृत्यु, बसाइ-सराई, सिफारिसजस्ता काम हुन नसकी सेवाग्राहीहरु मर्कामा परेका छन्।

आगो लगाउने घटना निरन्तर भइरहेको भएपनि घटनामा संलग्न हुनेलाई अहिलेसम्म पक्राउ गर्न सकिएको छैन।

Popularity: 9%

Add comment April 30th, 2009

नेपाल एसीसी एलिट कपबाट बाहिर

एचकेनेपाल डट कम संवाददाता-
कुवेतमा जारी एसियाली क्रिकेट परिषद् (एसीसी) को १९ वर्षमुनिको प्रतियोगिताको सेमिफाइनलमा नेपालको टोली अफगानिस्तानसंग छ विकेटले पराजित भएको छ।

पहिले टस जितेर ब्याटिङ रोजेको नेपालले ५० ओभर खेल्दै आठ विकेटको क्षतिमा १८६ रन बनाएको थियो। नेपालका निम्ति पृथु बास्कोटाले ८१, ज्ञानेन्द्र मल्लले ३१, रोम श्रेष्ठले २८ रन बनाएका थिए।

जवाफमा ब्याटिङ गरेको अफगानिस्तानले ४४.१ ओभर खेल्दै चार विकेटको क्षतिमा १९० रन बनाएको थियो। सो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।

Popularity: 9%

Add comment April 30th, 2009

एनडिएफ बेल्जियमको आन्ट्रोपेन क्षेत्रीय कमिटीको सूचना

एनडिएफ बेल्जियमको आन्ट्रोपेन क्षेत्रीय कमिटीले यही आउदो मे ३ तारिखका दिन नेपाली नयाँ बर्षको अबसर पारेर नयाँ बर्ष २०६६ को शुभ कामना आदान प्रदानको कार्यक्रम आयोजना गरेकोले बेल्जियमस्थित सम्पूर्ण नेपाली संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुलाई अथितिको रुपमा उपस्थिति भई दिनुहुन हार्दिक अनुरोध गर्दै बेल्जियमस्थित सम्पूर्ण नेकपा एमालेका समर्थक शुभचिन्तक तथा शुभेश्चुक मित्रहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछौ।

कार्यक्रमको रुपरेखा
स्थान : Langstraat 102 , 2140 Borgerhout Antwerpen
मिति : 3 may 2009 Sunday
समय : (Sharp) 13:00 O’clock

नोट: आइतबारको दिन हलको अगाडि मेन गेट बन्द हुने हुँदा Koxplein को १३ नम्बरको गेटको (हलको दोस्रो ढोका) बाट प्रबेश गर्नुहोला।

अध्यक्ष
अर्जुनकुमार गुरुङ
आन्ट्रोपेन क्षेत्रिय कमिटी
सचिब
बुद्वीबहादुर बराल
आन्ट्रोपेन क्षेत्रिय कमिटी

Popularity: 9%

Add comment April 30th, 2009

प्रधानन्यायाधीशमा रायमाझीको नाम सिफारिस

एचकेनेपाल डट कम संवाददाता-
संवैधानिक परिषद्को बुधवार बसेको बैठकले सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदका लागि मीनबहादुर रायमाझीको नाम सिफारिस गरेको छ।

सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशमध्येबाट सिफारिस गर्ने परम्पराअनुसार परिषदले रायमाझीलाई सिफारिस गरेको हो। संसदीय सुनुवाई बिशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधान न्यायाधीश नियुक्त गर्नेछन्।

Popularity: 9%

2 comments April 29th, 2009

‘हामी एक छौं’- सेनाका तीन उच्चपदाधिकारीहरू

एचकेनेपाल डट कम संवाददाता-
प्रधानसेनापति रुक्मांगत कटवालसहितका तीन उच्च पदाधिकारीले आफूहरु एक रहेको बताएका छन्। प्रधानसेनापति रुक्मांगत कटवाल, रथीहरु कुलबहादुर खड्का र छत्रमानसिंह गुरुङले बुधवार संयुक्त बिज्ञप्ति जारी गर्दै नेपाली सेना एक रहेको बताएका छन्।

विभिन्न सञ्चार माध्यमहरूमा सेनाभित्र विभाजन आएका कुराप्रति भ्रम नपर्न आग्रह गर्दै आफूहरुबीच मनमुटाव नरहेको उल्लेख गरेका छन्। तीन उच्च पदाधिकारीहरूले आफूहरू पहिलेजस्तै भूमिकामा अडिग रहने सामूहिक प्रतिबद्घतासमेत व्यक्त गरेका छन्।

Popularity: 9%

4 comments April 29th, 2009

प्रधानसेनापति प्रकरण, कुरो मिलेन

एचकेनेपाल डट कम संवाददाता-
नेकपा एमालेको आह्वानमा प्रधान सेनापति विवादको टुङ्गो लगाउन एकीकृत माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेबीच बुधबार बिहान बसेको संयुक्त बैठक विना निश्कर्ष टुङ्गिएको छ।

बैठकमा दलहरुले आ-आफ्नै अडान लिएका कारण बैठक विना निष्कर्ष टुङ्गिएको हो। एकीकृत माओवादीका अध्यक्ष पुष्मकमल दाहाल (प्रचण्ड)ले बुधवारसम्म प्रधानसेनापति रुक्माङ्गत कटवाललाई जसरी पनि वर्खास्त गर्ने उद्घोष गर्दै आएपछि नेपाली काँग्रेसले कटवाललाई वर्खास्त गर्न नहुने बताउंदै आएको छ। कटवाललाई वर्खास्त गरे सडक आन्दोलनमा उत्रने कांग्रेसले चेतावनी दिंदै आएको छ। सेनापति विवाद टुङ्ग्याउन एमालेले तीन दलबीच राखेको बैठकमा दलहरूले पूर्ववत आफ्ना अडान राखेको हुनाले बैठक बिना निश्कर्ष टुंगिएको छ।

सेनापति प्रकरणमा विवादित कटवाल, रक्षामन्त्री र सेनामा दोस्रो वरियता क्रममा रहेका कुलबहादुर क्षेत्रीलाई हटाएर तेस्रो वरियताका छत्रमान गुरुङलाई प्रधानसेनापति बनाउन राखेको एमालेको प्रस्तावमाथि माओवादी र कांग्रेसले असहमति जनाएका छन्। यसबारेमा अझै ठोस निष्कर्षमा पुग्न दलहरुबीच छुट्टाछुट्टै आन्तरिक छलफल र द्विपक्षीय छलफल हुने र पछि तीन दलको संयुक्त बैठक बस्ने बताइएको छ।

बैठकमा माओवादीबाट प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री बाबुराम भट्टराई, मोहन वैद्य, एमालेबाट अध्यक्ष झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल, का‌ग्रेसबाट अर्जुननरसि‌ह केसी, रामचन्द्र पौडेल, विमलेन्द्र निधिलगायत सहभागी थिए।

Popularity: 9%

Add comment April 29th, 2009

पूर्वप्रधानमन्त्री भट्टराई घर फर्किए

एचकेनेपाल डट कम संवाददाता-
पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई उपचारपछि बुधवार घर फर्किएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई एक साताअघि नर्भिक अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो।

भट्टराईको उपचारमा वरिष्ठ मुटु रोग विशेषज्ञ भरत रावल र छाति विशेषज्ञ रमेश चोखनी संलग्न थिए। स्वास्थ्यमा अपेक्षित सुधार देखिएपछि उनी बुधवार डिस्चार्ज भएका हुन्।

Popularity: 9%

Add comment April 29th, 2009

थरुहट कार्यकर्ताद्वारा बसमा आगजनी

एचकेनेपाल डट कम संवाददाता-
थरुहट संघर्ष समितिका कार्यकर्ताहरूले बन्द अवज्ञा गरेको भन्दै बुधबार बिहान सप्तरीको विष्णुपुरमा यात्रुवाहक बसमा आगजनी गरेका छन्।

उनीहरूले राजबिराजबाट काठमाडौंतर्फ जाँदै गरेको ना ३ ख ८३६२ नम्बरको जय मातादी ट्राभल्स बसमा आगजनी गरेका छन्।

थरुहट संघर्ष समितिका कार्यकर्ताहरूले बसका यात्रूलाई बाहिर निकाली बसमा आगजनी गर्नुका साथै बस चालक दीपक चौधरीलाई कुटपिट समेत गरेको जनाइएको छ।

Popularity: 9%

Add comment April 29th, 2009

बेल्जियममा मनमोहन दसौं स्‍मृति दिवस सम्पन्न

पुरुशोत्तम सुबेदी, बेल्जियम / एचकेनेपाल डट कम -
बेल्जियमस्थित एनडिएफ समर्थक बेल्जियम महिला कमिटिको आयोजनामा आइतवार एन्टवेर्पेन शहरमा दसौं मनमोहन स्‍मृति दिवस सम्पन्न भएको छ।

एनडिएफ महिला कमिटीका अध्यक्ष ईशा गुरुङको संयोजकत्वमा आयोजना गरिएको उक्त मनमोहन दसौ स्‍मृति दिवसमा एनडिएफ बेल्जियमका अध्यक्ष तुलसीनाथ सुबेदीको प्रमुख आतिथ्य रहेको थियो। एकीकृत मार्क्सबादी लेनिनबादी तथा नेपाली कम्युनिस्ट पार्टिका प्रथम प्रधानमन्त्री तथा तत्कालिन पार्टी अध्यक्ष नेता स्वर्गिय मनमोहन अधिकारिको दसौं स्‍मृति दिवसमा उपस्थित सबैले एक मिनेट मौनधारण गरी कार्यक्रम सञ्चालन गरिएको थियो।

कार्यक्रममा बेल्जियम एनडिएफ महिला कमिटीका उपाध्यक्ष कल्पना घिमिरे, सदस्यहरुमा जुनु निरौला, कमला गुरुङ, मुना ताम्राकार, साहरा अर्याल (शारदा), दुर्गा गुरुङ (तमु समाज-उपाध्यक्ष), ज्योति गुरुङ, मुना केसी, एनडिएफ केन्द्रीय कमिटिका सदस्य किसन केसीलगायत अन्य थुप्रै एनडिएफ सदस्यहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा उपस्थित महिलाहरुले बर्तमान नेपालको समसामयिक राजनीति विषयमाथि छलफलसमेत गरे। साथै आगामी मे ३ तारिखका दिन बेल्जियममा हुन गैरहेको एनडिएफको नयाँ बर्ष शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रममा महिलाहरुको अधिक सहभागिता र सहयोग हुने कमिटिका अध्यक्ष इशा गुरुङले जानकारी दिए।

Popularity: 9%

Add comment April 29th, 2009

आगलागीमा कम्तीमा ४१ घर जलेर नष्ट

एचकेनेपाल डट कम संवाददाता-
सप्तरीको लोहाजारामा मंगलबार विहान भएको भिषण आगालागीबाट कम्तीमा ४१ वटा घर जलेर नष्ट भएका छन्।

लोहजाराको पलाई साहको घरवाट विहान करीव ४ वजेतिर आगालागी भै गाउंमा फैलिंदा कम्तीमा ४१ घर जलेर नष्ट भएका हुन्। आगालागीबाट करीव १ करोड बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले प्रारम्भिक अनुमान गरेको छ। स्थानीयबासी, दमकल र प्रहरीको सहयोगमा करीव ४ घण्टापछि आगालागी नियन्त्रणमा आएको जनाएको छ।

Popularity: 9%

Add comment April 28th, 2009

बृद्धा दम्पति हत्याको विरोध - प्रेस बिज्ञप्ति

बृद्धा दम्पती हत्याको विरोध - प्रेस बिज्ञप्ति
बैशाख १४ गते कान्तिपुर दैनिकमा प्रकाशन भएको अज्ञात समुहद्वारा बृद्धा दम्पतिको हत्या भएको खबरले हामी ज्यादै मर्माहत भएका छौ।

पाँचथर फलैचा - ७ निवासी ६० बर्षीय श्री प्रसाद बेघा र ४५ बर्षीया रमला बेघा यस किरात याक्थुङ चुम्लुङ कतारका केन्द्रीय कार्य समितीका सदस्य श्री चन्द्र इक्साहाङ्ग बेघाका माता पिता हुनुहुन्थ्यो। उहाँ बिगत केही वर्षदेखि दोहा, कतारमा रोजगारीको सिलसिलामा बस्दै आउनु भएको छ।

राति १० बजे ४/५ जनाको संख्यामा रहेका अज्ञात हतियारधारीहरुले बिभत्स रुपमा धारिलो हतियार प्रहार गरि हत्या गरिएको हुंदा किरात याक्थुङ चुम्लुङ कतार यस बिभत्स हत्याको घोर बिरोध गर्दै यथासिघ्र अपराधीको खोजी गरि सत्य तथ्य पत्ता लगाई कडा भन्दा कडा सजाय दिईयोस भनि माग गर्दछ। र यस दुखद भाव विव्हल घडिमा उहाँहरुका एकमात्र छोरा तथा हाम्रा सहृदयी मित्र चन्द्र इक्साहाङ्ग बेघालाई इश्वरले धैर्यधारण गर्ने ठूलो शक्ति प्रदान होस भन्दै हार्दिक समबेदना टक्र्याउन चाहन्छौ।

ललित माबोहाङ्ग
अध्यक्ष
किरात याक्थुङ चुम्लुङ
दोहा, कतार

Popularity: 9%

2 comments April 28th, 2009

विवाद टुंगिन अझै केही दिन लाग्ने

एचकेनेपाल डट कम संवाददाता-
प्रधानसेनापति विवाद अझै केही दिन लम्बिने संकेत देखापरेको छ। प्रमुख तीन दलले छुट्टाछुट्टै अडान राखेका कारण शीर्ष नेताहरुहको बैठकपछि मात्र यो समस्या समाधान हुनसक्ने देखिएको छ। माओवादी र काँग्रेस सभापति कोइरालाबीचको वार्तामा शीर्ष नेताको बैठकका लागि प्रस्ताव राखिसकिएको बुझिएको छ।

एमालेले विवादमा संलग्न मन्त्रीदेखि रथी र सेनापतिसम्म सबैलाई बर्खास्त गर्नुपर्ने गरी ल्याएको मध्यमार्गी प्रस्तावलाई काँग्रेस र माओवादीले अस्वीकार गरेको छ।

माओवादी रक्षामन्त्रीलाई बर्खास्त गर्न चाहँदैन भने काँग्रेस प्रधानसेनापतिलाई।

Popularity: 9%

1 comment April 28th, 2009

कटवाललाई कारवाही गर्न सरकार स्वतन्त्र

एचकेनेपाल डट कम संवाददाता-
नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले स्पष्टीकरण मागिएका प्रधानसेनापति रुक्माङ्गद कटवाललाई नागरिक सर्वोच्चता प्रतिबिम्बित गर्दै पदमुक्त गर्ने निर्णय गर्न सरकार स्वतन्त्र रहेको बताउनुभएको छ।

उहाँहरूद्वारा जारी अपिलमा जनआन्दोलनको दमनमा कुनै पनि भूमिका निर्वाह गर्ने कुनै व्यक्तिलाईर् भविष्यमा कुनै पदमा नियुक्ति नगर्न आग्रह गर्दै भनिएको छ- स्प्ँष्टीकरणका लागि जुन समय रोजियो त्यसमा विवाद हुनसक्छ।

तर रायमाझी आयोगद्वारा सप्रमाण दोषी ठहर्याइएका, जनादेशप्राप्त सरकारका आदेशको अवज्ञा गर्न उद्यत माओवादी लडाकुलाई नेपाली सेनामा समाहित गर्ने हुँदैन भनी सार्वजनिक वक्तव्य दिएर शान्ति-सम्झौताको मर्ममाथि प्रहार गर्ने र सरकारसाग प्रतिपक्षी राजनीतिक नेताको जस्तो व्यवहार गर्ने प्रधानसेनापति कटवालको स्पष्टीकरण माग्नु र स्पष्टीकरण चित्त नबुझे उनलाई सेवामुक्त गर्नु लोकतान्त्रिक र नागरिक सर्वोच्चताको सम्मान हो।

अपिलमा सरकारको नेतृत्व गर्ने दललाई विधि मिचेर निर्णय गर्ने कार्य बन्द गर्न र अग्रगमनको सर्तमा अहम् महत्वका विषयमा सहमतीय संस्कृतिको विकास गर्न, असहमतिका विषय सम्वादद्वारा हल गरी व्यवस्थापिका-संसद अवरुद्ध गर्ने कार्य बन्द गर्न र संविधान लेखन प्रक्रियामा सबै पक्षलाई केन्द्रित हुन पनि आग्रह गरिएको छ।

नागरिक समाज अब सडक र देश दौडाहामा क्रियाशील रहने र आगामी जेठ १५ गते प्रथम गणतन्त्र दिवस सडकमा नै मनाउने जानकारी पनि दिइएको छ।

यसैबीच नागरिक आन्दोलनका अगुवाले राष्ट्रपति डा.रामवरण यादवलाई भेटी कुनै दलविशेषको स्वार्थका कारण राष्ट्रपतिको मर्यादा दुरूपयोग नगर्न सुझाव दिएका छन्।

भेटका क्रममा समसामयिक राजनीतिक विषयका सन्दर्भमा छलफल भएको र राष्ट्रपतिले आफू लोकतन्त्र र लोकतान्त्रिक पद्धतिप्रति प्रतिबद्ध रहेको बताउनुभएको नागरिक समाजका डा.देवेन्द्रराज पाण्डेले सञ्चारकर्मीलाई जानकारी दिनुभयो।

भेटमा नागरिक समाजका नेताहरू कृष्ण पहाडी, श्याम श्रेष्ठलगायत हुनुहुन्थ्यो।

Popularity: 9%

2 comments April 28th, 2009

चार महिनामा १९ प्रहरी कारवाहीमा

एचकेनेपाल डट कम संवाददाता-
महानगरीय प्रहरी परिसर हनुमानढोकाले गत पुस ९ गतेदेखि आजसम्म गैरकानुनी एवम् आचरणहीन क्रियाकलाप गर्ने काठमाडौँमा कार्यरत १९ प्रहरी कर्मचारीलाई कारवाही गरिएको जानकारी दिएको छ।

परिसरका प्रमुख एवम् प्रहरी उपरीक्षक नवराज सिलवालका अनुसार चारजना प्रहरी नायब निरीक्षक, आठजना प्रहरी सहायक निरीक्षक, तीनजना प्रहरी हवल्दार र छजना प्रहरी जवानलाई सो अवधिमा दर्जागत विभागीय कारवाही गरिएको छ।

सोअनुसार १० जना प्रहरीलाई नसिहत दिइएको, चारजनालाई सख्त चेतावनी दिइएको, चारजनालाई कारवाही भइरहेको र एकजनालाई तल्लो टाइम स्केलमा घटुवा गरिएको जानकारी पनि सिलवालले जानकारी दिनुभयो।

ती प्रहरीले आर्थिक रकम लिने प्रयास गरेको, सर्वसाधारणप्रति अनावश्यक हैरानी र अभद्र व्यवहार गरेकोजस्ता घटनामा बढी सङ्लग्न देखिएको सिलवालले जानकारी दिनुभयो।

परिसरले गत पुस ९ गतेदेखि सर्वसाधारणबाट आएको उजुरीका आधारमा उजुरीउपर कारवाही गर्न थालेपछि ती १९ जना प्रहरी दोषी देखिएका थिए।

Popularity: 9%

2 comments April 28th, 2009

सेनापति हटाए १७ दल आन्दोलनमा उत्रने-राणा

एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशशसेर जबराले एकीकृत नेकपा (माओवादी)ले प्रधानसेनापति रुक्माङ्गत् कटवाललाई पदबाट हटाएर नेपाली सेनाको आधारभूत शक्ति, राष्ट्रप्रेम र सेनाको पहिचानलाई खलल पार्न खोजको आरोप लगाउनुभएको छ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनको तेस्रो जिल्ला अधिवेशनको उदघाटन गर्दै उहाँले सेनापतिसँग स्पष्टीकरण मागे पनि वास्तवमा माओवादी लडाकुलाई सिधै नेपाली सेनामा समायोजन गर्नका लागि सेनापति हटाउन खोजिएको हो भन्नुभयो।

कार्यक्रममा राप्रपाका केन्द्रीय महामन्त्री परशुराम खापुङ्ग, केन्द्रीय सदस्य भुवन पाठकलगायतले मुलुकमा शासन गर्नेले नै राष्ट्रियतामाथि धावा बोल्न थालेकाले अब मुलुकलाई जोगाउन सबै राष्ट्रवादी शक्तिलाई बलिदान दिनका लागि तयार रहन आग्रह गर्नुभयो।

Popularity: 9%

2 comments April 28th, 2009

तीन जिल्लामा सञ्चार विच्छेद

एचकेनेपाल डट कम संवाददाता-
रोल्पाको रातामाटेमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा प्राविधिक गडबढी उत्पन्न भएपछि रूकुम, रोल्पा र जाजरकोट जिल्लाका टेलिफोन सेवा विगत केही दिनदेखि अवरूद्ध भएको छ।

थरुहट बन्दका कारण रिपिटर टावर मर्मत गर्न नसकिएको नेपाल टेलिकम मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, नेपालगञ्जले बताएको छ।

निर्देशनालयका निमित्त क्षेत्रीय निर्देशक नामाकर न्यौपानेका अनुसार बन्द खुलेपछि मात्र टावर मर्मत गर्न सकिने बताउनुहुन्छ।

रूकुम, रोल्पा र जाजरकोटमा सञ्चार सम्पर्क नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ।

Popularity: 9%

Add comment April 28th, 2009

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2009
M T W T F S S
« Mar   May »
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Posts by Month

Posts by Category

More news....