Archive for April 2nd, 2009

नेपाली चेली कोरियाको प्रहरी हिरासतमा

डम्बर सुब्बा, दक्षिण कोरिया / एचकेनेपाल डट कम-
नक्कली विवाह गरी दक्षिण कोरिया आएकी लमजुङ निवासी टीएम गुरुङ हिजो बेलुकीदेखि छल्लानामदो, मोक्फोको प्रहरी हिरासतमा रहेकी छिन्।

करीब १ वर्षअघि दक्षिण कोरिया आएकी गुरुङ प्रहरी हिरासतमा रहेको नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष डेबिट राईले जानकारी दिए। अध्यक्ष राईका अनुसार नक्कली विवाह गरी दक्षिण कोरिया आएकी गुरुङको १ बर्षे भिसा सकिन लाग्दा नक्कली सिम बम छल नामक श्रीमानले पुनः भिसा लगाई दिने भन्दै कोरियन वन २५ लाख (युएस १८४०) लिई गुरुङलाई निजको राहदानी र कोरियन आईडीसहित मोक्फो प्रहरी हिरासतमा बुझाई दिएका थिए।

दक्षिण कोरियाको अध्यगमन विभागको डाटा अनुसार हाल कोरियामा कोरियन नागरिकहरुसंग विवाह गर्नेहरुको संख्या ५ सयको हाराहरी रहेका छन्। त्यस मध्ये सक्कली विवाह गर्ने ५० प्रतिशत मात्र रहेको दावी गर्दछ।

नक्कली विवाह गरी केही पैसा कमाईएला भनि ठूलो सपना बोकेर दक्षिण कोरिया आएका नेपाली चेलीहरुले विभिन्न किसिमका दुःख कष्टहरुको सामाना गर्दे आई रहेका छन्। नेपालबाट नक्कली विवाह गरी कोरिया आउदा कम्तीमा १० देखि १२ लाख रुपैयाँसम्म दलाललाई बुझाएको एक नेपाली चेली एम मगर बताउछिन्। मगर भन्छिन् - १० देखि १२ लाख तिरेपछि दलालहरुले २ बर्षसम्म कुनै किसिमको चिन्ता लिनु पर्देन भनेर हामी जस्ता गांउका सोझा साझालाई ठगी गर्दै आएका छन्। समय समयमा पैसा मागि रहन्छ दिन्न भन्यो भने पुलिसलाई रिपोर्ट गरि दिने,नेपाल फर्काइ दिने धम्की दिन्छन्। दिनमा १२ देखि १६ घण्टासम्म काम गर्नु पर्छ त्यो पैसा सबै नक्कली श्रीमानलाई बुझाउदै ठिक्क हुन्छ। मगर भन्छिन् - वाक्क लागि सक्यो, ऋण लिएर आएको अझसम्म एक पैसा कमाउन सकिएको छैन।

दक्षिण कोरियाको नियममा नक्कली विवाह भएको ठहर भएमा विदेशी नागरिकलाई स्वदेश फर्काइ दिने र कोरियन नागरिकलाई कम जरिवाना मात्र तिराएर छाडिने गरिन्छ। विदेशी नागरिकले कोरियन नागरिकलाई बुझाएको मोटो रकमको कुनै लेखाजोखा गरिदैन। गरिब राष्ट्रका नागरिकहरुप्रति गरिएको मानव अधिकारको ठाडो उल्लंघन हो। यस सम्बन्धमा सम्बन्धित निकायको ध्यानाकर्षण हुन अति जरुरी देखिन्छ।

Recent Videos:

Popularity: 9%

2 comments April 2nd, 2009

नेपाल सरकारको पहलमा मृतकको शव नेपाल पठाइने

डम्बर सुब्बा, दक्षिण कोरिया / एचकेनेपाल डट कम-
कोरियामा मृत्यु भएका नेपाली युवक शक्ति तामाङको शव शुक्रवार बिहान नेपाल पठाइने भएको छ।

तामाङको गत मार्च २२ तारिख आईतबारको दिन आकस्मत हार्टअट्याक भई मृत्यु भएको थियो। लमजुङ वाग्लिङपानी - १ का तामाङको शव नेपाल सरकारको पहलमा शुक्रवार विहान ९ बजे कोरियन एयरलाईन्सबाट नेपाल पठाइने नेपाली दूतावासका नायबसुब्बा हाकिम भण्डारीले बताए।

मृतक तामाङ ७ महिनाअघि इपीएसमार्फत दक्षिण कोरिया आई छुन्छन बुक्दोको ससान शहरस्थित हुण्र्डाई मेटल कम्पनीमा कार्यरत थिए।

दूतावासका नायबसुब्बा भण्डारीका अनुसार मृतक तामाङको शव नेपाल पठाउने लाग्ने खर्च श्रम मन्त्रालयले बेहोर्ने छ। शव नेपाल पठाउन ५० लाख कोरियन वन (युएस ३६८०) लाग्छ। तामाङ कार्यरत कम्पनीले अस्पतालमा शव राख्दा लागेको खर्च भुक्तानी गरेको भण्डारीले जनाए।

दक्षिण कोरियामा हालसम्म ८० जना भन्दा बढी नेपालीको मृत्यु भई सकेको छ। नेपाल सरकारले जिम्मा लिएर नेपालीको शव नेपाल पठाउन लागेको यो पहिलो पल्ट हो।

Recent Videos:

Popularity: 9%

Add comment April 2nd, 2009

पीएन क्याम्पसमा तालाबन्दी

एचकेनेपाल डट कम संवाददाता-
स्ववियु निर्वाचनको मतगणनामा धाँधली गरी एकपक्षीय रूपमा अनेरास्ववियुलाई जिताएको भन्दै माओबादी निकट अनेरास्ववियु क्रान्तिकारीले विहीवार निमित्त क्याम्पस प्रमुखसमक्ष बिरोधपत्र बुझाउनुका साथै आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेको छ।

अखिल क्रान्तिकारीले बहिष्कार गरेको मतगणना एकपक्षीय रुपमा गरिएको भन्दै परिणाम मान्य नहुने बताएको छ। धाँधलीपूर्ण र एकपक्षीय रुपबाट निर्वाचित स्ववियुलाई कुनै पनि काम गर्न नदिन र नयाँ पदाधिकारीलाई सपथ नगराउन क्याम्पस प्रशासनसमक्ष आग्रह गरेकोछ।

उनीहरूले यस बर्षदेखि त्रिभुवन विश्वविधालयले प्रमाणपत्र दोस्रो बर्ष र स्नातक तेस्रो बर्षमा क्याम्पसले लिन लागेको परीक्षा शुल्कको खारेज हुनुपर्ने माग राख्दै क्याम्पसको आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेको हो।

Popularity: 9%

Add comment April 2nd, 2009

विद्यार्थी हत्यापछि विराटनगरमा तनाव

एचकेनेपाल डट कम संवाददाता-
विद्यार्थी हत्यापछि विहीवार विराटनगर तनावग्रष्त बनेको छ। अज्ञात समूहको छुरा प्रहारबाट विहीवार विहान १७ वर्षीय अनुज थापाको मृत्यु भएको हो।

गोग्राहा उच्च माध्यामिक विद्यालय विराटनगर पोखरीया कक्षा सातमा अध्ययनरत थापाको वाइसीएलका कार्यकर्ताले हत्या गरेको भन्दै एमालेसम्वद्ध युथफोर्सले विराटनगरमा प्रदर्शन गरेको छ। प्रदर्शनका कारण विराटनगर तनावग्रष्त बनेको छ।

वाईसीएल कार्यालयबाट सुरज र खगेन्द्र कार्कीले थापालाई खेद्दै लगेर बिहान ८ बजे छुरा हानेको प्रहरीले जनाएको छ। थापाको उपचारको क्रममा कोशी अञ्चल अस्पतालमा मृत्यु भएको थियो।

Popularity: 9%

Add comment April 2nd, 2009

यौन शोषण अन्त्यको लागि आन्दोलनमा उत्रने चेतावनी

एचकेनेपाल डट कम संवाददाता-
जीविकोपार्जनका लागि यौन पेसा अँगाल्न बाध्य वादी महिलाहरूले आफूहरूका माग एक हप्ताभित्र सुनुवाइ नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

उनीहरूले पत्रकार सम्मेलनमा गएको पुस महिनामा वादी महिलाको पुनःस्थापनासहित यौन शोषणको अन्त्यको घोषणा मन्त्रिपरिषद्को बैठकले गरेको भए पनि अहिलेसम्म कार्यान्वयन नभएको भन्दै आन्दोलनको चेतावनी दिएका हुन्।

वादी महिला उमादेवी वादीले यौन पेसा अगाल्न बाध्य महिलालाई योग्यता र क्षमताअनुसार रोजगारको व्यवस्था गरी पुनःस्थापना गर्न माग गरिन्।

पत्रकार सम्मेलनमा उपस्थित वादीहरूले आफूहरूलाई पुनःस्थापना नगरेसम्म यौन व्यवसाय गर्न दिनुपर्ने बताएका छन्।

उनीहरूले जिल्ला प्रशासन कैलालीमार्फत प्रधानमन्त्रीलाई एक ज्ञापनपत्र समेत बुझाइसकेका छन्। ज्ञापनपत्रमा रोजगारको व्यवस्था, यौन व्यवसाय गर्न बाध्य परिवारलाई प्रतिपरिवार तीन विघा जग्गाको व्यवस्था, वैकल्पिक पेसा अगाल्न सहुलियत व्याजदरमा ऋणको व्यवस्था, यौन पेसा अगाल्दा जन्मिएका सन्तानलाई रोजगार, निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था हुनुपर्ने माग गरिएको छ।

मध्यपश्चिम र सुदूरपश्चिमका बाँके, बर्दिया, कैलाली, दाङ, सल्यान, सुर्खेतलगायतका जिल्लामा १८५ वादी महिलाले यौन व्यवसाय गरिरहेको जानकारी सो अवसरमा गराइयो।

Popularity: 9%

Add comment April 2nd, 2009

वैदेशिक रोजगारबाट फर्किएकालाई सहयोग

एचकेनेपाल डट कम संवाददाता-
वैदेशिक रोजगारका निम्ति विदेश गएका तर आर्थिक मन्दीका कारण स्वदेश फर्किएका ८७ जनालाई वैदेशिक रोजगार प्रवर्द्धन बोर्डद्वारा फागुन मसान्तसम्मा रु. तीन लाख ८५ हजार ३००।- आर्थिक सहायता प्रदान गरेको छ।

श्रम तथा यातायात व्यवस्था मन्त्रालयका प्रवक्ता हरिदत्त पाण्डेका अनुसार त्यसरी फर्किएका मध्ये मलेसियाबाट ८६ जना र कतारबाट एक जना गरी ८७ जना रहेका छन्।

आर्थिक मन्दीका कारण छ महिना समय भुक्तान नहुँदै फर्किएका कामदारहरुलाई वैदेशिक रोजगार प्रवर्धन बोर्डको निर्णय अनुसार कुल खर्चको ४० प्रतिशत तथा छ महिनादेखि एक वर्ष नपुग्दै फर्किएकाको हकमा २५ प्रतिशत आर्थिक सहायता दिने नीतिगत व्यवस्था गरिएको छ भने एक वर्ष भन्दाबढी समय भुक्तान भएकाको हकमा यो सुविधा लागू हुनेछैन।

प्रवक्ता पाण्डेका अनुसार आर्थिक सहायताको रकम वैदेशिक रोजगार कल्याणकारी कोष र कामदार पठाउने सम्बन्धित व्यवसायीले आधा आधा बेहोर्नुपर्ने व्यवस्था मिलाइएको छ।

आर्थिक मन्दीका कारण अत्यधिक प्रभाव पर्नसक्ने देखिएका र वैदेशिक रोजगार सम्बन्धी व्यवस्थापन राम्रो ठानिएका मुलुकहरुमा कुटनीतिक पहल एवम् उच्चस्तरीय भ्रमणको व्यवस्था मिलाइएको सो मन्त्रालयले जनाएको छ।

Popularity: 9%

Add comment April 2nd, 2009

रुपन्देही बन्द फिर्ता

एचकेनेपाल डट कम संवाददाता-
नेकपा (एमाले) रुपन्देहीले आजदेखि लागु हुने गरी रुपन्देही बन्दको कार्यक्रम फिर्ता लिएको छ। नेकपा (एमाले) रुपन्देहीको हिजो बसेको बैठकले आन्दोलनका सबै कार्यक्रमहरु यथावत राख्दै बन्द फिर्ता लिएको हो।

दैनिक जनजीवन कष्टकर हुँदै गएको र उद्योगी तथा व्यवसायीहरुले गरेको आग्रहलाई मध्यनजर गर्दै बन्द २५ गतेसम्मका लागि फिर्ता लिएको एमालेको लेखा परीक्षक आयोगका सदस्य विष्णु पन्थीले बताउनुभयो।

युथफोर्स रुपन्देहीका सदस्य तथा प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घका जिल्ला सदस्य प्रचण्ड थैवको गत बिहीबार भएको हत्यापछि शुक्रबारदेखि सातौँ दिनसम्म रुपन्देही बन्द भएको थियो।

Popularity: 8%

Add comment April 2nd, 2009

रुघाखोकीबाट ५ जनाको मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
हुम्ला जिल्लाको राया गाविसमा रुघाखोकीका कारण पाँचजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वडा नं.२ का एक नाबालक, बडा नं. ५ का रावल थरका एक व्यक्ति, सोही वडाकी ४७ वर्षीय इन्द्रसरा बुढा, वडा नं. ६ की चार वर्षीया बालिका हजारी जेठारा र वडा नं. ८ की ८० वर्षीया सतरुपा रावल छन्।

स्थानीय बासिन्दाका अनुसार केही दिनदेखि रुघाखोकी, ज्वरो आउने र घाँटी दुख्ने रोगबाट थलिएपछि उनीहरुको सोमबार र मङ्गलबार मृत्यु भएको थियो।

गाउँमा रहेको उपस्वास्थ्य चौकीमा २०६४ सालदेखि कुनै पनि स्वास्थ्यकर्मी नभएकाले विरामीले उपचार नपाएको एकीकृत नेकपा (माओवादी) का जिल्ला नेता पूर्णबहादुर रोकायाले बताउनुभयो।

उहाँका अनुसार अहिले गाउँमा ५० जनाभन्दा बढी जनता रुखाखोकी, ज्वरो आउने र घाँटी दुख्ने रोगबाट थलिएका छन्। उपचार नपाएपछि स्थानीय बासिन्दा स्वास्थ्यकर्मी र औषधीको माग गर्दै जिल्ला सदरमुकाम सिमीकोटमा धर्ना दिन आएका छन्।

Popularity: 8%

Add comment April 2nd, 2009

आगलागीबाट चार सय घर सखाप, २ करोड क्षति

एचकेनेपाल डट कम संवाददाता-
सप्तरीको टिकुलिया,विषहरिया गरि दुई छुट्टाछुट्टै ठाउँमा बुधबार दिउँसो आगलागी हुँदा ४ सय घर जलेर नष्ट हुनुका साथै २ करोड बराबरको क्षति भएको छ।

सप्तरीको टिकुलिया गाविस-३परमानपुर बस्ने प्रतापचन्द्र चौधरीको घरमा खाना पकाउँदै गर्दा भएको सो आगलागीबाट करिब ६० परिवारका दुई सय ५० घर आगलागीबाट खरानी भएको छ।

आगोले टिकुलिया वार्ड नम्बर ३ सँगै वार्ड नम्बर २ का गरी २ सय ५० भन्दा बढी घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आगलागीबाट दुईवटा बस्ती सखाप हुनुका साथै करिब एक हजार व्यक्ति विस्थापित भएका छन्।

आगलागी दिउँसै भएपनि हावाहुरी चलेका कारण र घरहरु एक अर्कासँग जोडिएकाले क्षति बढी भएको प्रहरीले जनाएको छ।

आगालागीसँगै हावाहुरी चलेका कारण कुनै पनि सरसमान बाहिर ल्याउन नसकेको स्थानीयबासी रामअवतार पासवानले बताएका छन्। उनले भने- गाउँका करिब आधा दर्जन बच्चाहरु सम्पर्क बाहिर छ।

Popularity: 8%

Add comment April 2nd, 2009

तमुहरूको ऐतिहासिक एकता महाधिवेशन सम्पन्न, डा.गणेशमान अध्यक्ष

भिम गुरुङ, नारायणढ, चितवन / एचकेनेपाल डट कम -
राष्ट्रिय स्तरका दुई तमु (गुरुङ) संस्थाहरुको ऐतिहासिक एकता महाधिवेशन चैत्र १५,१६,१७ र एक दिन थप १८ गते चितवनको नारायणगढमा सम्पन्न भएको छ।

४५ जिल्लामा जिल्ला संगठन समिति रहेको भनिएको तमु छोंज धि र ६३ वटा आवद्ध संस्था रहेको भनिएको गुरुङ राष्ट्रिय परिषद बिचमा विभिन्न चरणहरुमा भएको वार्ताहरुपश्चात सो एकता सम्भब भएको हो। देशको परिवर्तित माहौल, आम तमु (गुरुङ)हरुको एकताप्रति भएको चाहनाले गर्दा तमुहरुको संस्थागत एकता अनिवार्य भएको अवस्थामा यो एकताले एक नयाँ हौसला प्रदान गरेको छ आम तमु (गुरुङ)हरुमा।

यो एकताले स्वदेशमा रहेका सम्पूर्ण तमु (गुरुङ)हरुमा मात्र नभई विदेशमा कार्यरत तमु संघ संगठनहरुमा समेत ठूलो आशा पलाएको छ कि अब तमुहरु एकताबद्ध भएर हाम्रो जातिय उत्थानका निमित्त एकजुट भयौं। यो एकताको लागि विभिन्न क्षेत्रमा रहेका तमु वुद्धिजीवीहरु, तमु छोंज धि र गुरुङ राष्ट्रिय परिषदका सल्लाहकारहरु, दुवै तर्फबमट एकतावार्ता समितिहरुमा रहेका व्यक्तिहरुले ठूलो भूमिका निर्वाह गरेका थिए। माननिय कानुन तथा संविधान सभा मन्त्री देवप्रसाद गुरुङले उदघाटन गर्नु भएको उदघाटन शत्र आयोजक समितिका संयोजक डा. रेमबहादुर गुरुङको सभापतित्व, चितवन तमु छोंज धिंका अध्यक्ष पदम गुरुङले स्वागत र नेपाली काग्रेसका महामन्त्री के. वी गुरुङको विशेष आतिथ्य रहेको को कार्यक्रमलाई मुल आयोजक समितिका सचिव भिम तमुले सञ्चालन गरेका थिए।

दुवै संस्थाले यस पटकको ऐतिहासिक एकता महाधिवेशनमा पदिय जिम्मेवारी पनि सहमति कै आधारमा लैजाने निर्णय गरेकाले प्रमुख पदहरुमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष ख, उपमहासचिव र सहकोषाध्यक्ष गुरुङ राष्ट्रिय परिषदलाई र वरिष्ठ उपाध्यक्ष क, महासचिव र कोषाध्यक्ष तमु छोंज धिलाई परेको हो। सम्पूर्ण पदहरुमा निर्विरोधका साथ निवाचित केन्द्रीय समिति ५५ सदस्यीय र संरक्षक परिषद सात सदस्यीय रहेको छ।

नव निर्वाचित समितिको अध्यक्षमा डा. गणेशमान गुरुङ, वरिष्ठ उपाध्यक्ष क मा कुम्भराज गुरुङ, वरिष्ठ उपाध्यक्ष ख मा डि.वी गुरुङ, वरिष्ठ उपाध्यक्ष ग मा विनोद गुरुङ, महासचिव रेशम गुरुङ, उपमहासचिव नरेन्द्रकुमार गुरुङ, कोषाध्यक्ष आनन्द घले, संगठन सचिव गमप्रसाद गुरुङ, प्रचार सचिव धनमान गुरुङ, सहकोषध्यक्ष गोलमान गुरुङ रहेका छन्। त्यस्तै गरि, पूर्वाञ्चल प्रमुख कृष्णराज गुरुङ सचिवमा डम्वर गुरुङ, मध्यमाञ्चल प्रमुख ललितमान गुरुङ सचिवमा ज्ञानबहादुर गुरुङ, पश्चिमाञ्चल प्रमुख ले यमबहादुर गुरुङ, सचिवमा माया गुरुङ, मध्यपश्चिमान्चल प्रमुख मानबहादुर गुरुङ, सचिवमा महादेव गुरुङ, सुदुर पश्चिमाञ्चल प्रमुखमा खडकबहादुर गुरुङ र क्षेत्रीय सचिवमा मनबहादुर गुरुङ र काठमाडौ उपत्यका प्रमुखमा क्या. गणेशवहादुर गुरुङ, सचिवमा पृथ्वीमान गुरुङ र पोखरा उपत्यका प्रमुखमा गणेशबहादुर गुरुङ निर्वाचित भएका छन्। केन्द्रिय सदस्यहरुमा कर्ण घले खोटाङ, कृष्णबहादुर गुरुङ नुवाकोट, चन्द्रकुमारी गुरुङ काठमाडौ, भलमाया गुरुङ काठमाडौ, भरत गुरुङ तेह्रथुम, हर्क गुरुङ पाँचथर, मीना गुरुङ ताप्लेजुङ, चन्द्रकला गुरुङ सुनसरी, भगवती गुरुङ गोरखा, खेमजङ गुरुङ लमजुङ, इन्द्रबहादुर गुरुङ तनहुं, जुमकाजी गुरुङ स्याङजा, मनोज गुरुङ कास्की, लेखप्रसाद गुरुङ रुपन्देही, तौबहादुर गुरुङ नवलपरासी, टकमाया गुरुङ लमजुङ, मनकुमारी गुरुङ गोरखा, नानीमाया गुरुङ महिला कोटा, टि.एस.गुरुङ प्यूंठान, कुलबहादुर गुरुङ सुर्खेत, चन्द्रकला गुरुङ काठमाडौ महिला कोटा, सन्तमाया गुरुङ महिला कोटा, दिलिपसिङ गुरुङ काठमाडौ, अरुणकुमार गुरुङ मकवानपुर, शारदा गुरुङ चितवन, पुरन गुरुङ प्युठान, भीमबहादुर गुरुङ काठमाडौ मनोनित, पदमबहादुर गुरुङ चितवन मनोनित र तमु धि कारुकी, तमु वौद्ध सेवा समिति काठमाडौ, तमु पे ल्हु संघ केन्द्रीय समिति, वौद्ध आर्र्घौ सदन कास्कीलाई एक एक केन्द्रीय सदस्य छुट्ट्याइएको छ।

वरिष्ठ संरक्षकमा शेरबहादुर गुरुङ, संरक्षक परिषदको अध्यक्षमा डा. रेमबहादुर गुरुङ सदस्यहरुमा खडगबहादुर गुरुङ, धनप्रसाद गुरुङ, नरबहादुर गुरुङलाई मनोनित गरेको छ। तमु एकतामा विशेष भूमिका निर्वाह गर्ने तथा संस्थामा विशेष पदमा रहि विशेष भूमिका निर्वाह गरेका केही व्यक्तित्वहरु यो नयां समितिमा रहेका छैनन् ति व्यक्तित्वहरुमा तमु छोंज धिबाट वार्ता टोलीका संयोजक तथा महासचिव खडगबहादुर गुरुङ, वरिष्ठ उपसभापति एकता वार्ता टोलीको सदस्य गुमानसिंह गुरुङ, उपसभापतिहरु क्या. एकबहादुर गुरुङ, टेकबहादुर गुरुङ, विद्यार्थीका संस्थापक अध्यक्ष, प्रथम एकता वार्ता टोलीको सदस्य एवम केन्दीय सचिव भिम तमु, कोषध्यक्ष दलमानसिंह गुरुङ आदि छन् भने गुरुङ राष्ट्रिय परिषदबाट उपाध्यक्ष देवीराज गुरुङ, वौद्ध आर्र्घौ सदन सहभागी नै भएनन्, तमु पे ल्हु संघका अध्यक्ष इन्द्रबहादुर गुरुङ, तमु वौद्ध सेवा समितीका अध्यक्ष चीजबहादुर गुरुङ उपस्थिति जनाएर अन्तसम्म बसेनन्। एकता वार्ता समितिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने टोली प्रमुख डेलमान गुरुङ, महासचिव प्रा.नारायण गुरुङ, वार्ता टोली सदस्य गर्जबहादुर गुरुङ, कौशिला गुरुङलगायत अन्य बुद्धिजीवी वर्गलाई यो समितिमा कुनै स्थानमा राखिएको छैन।

Popularity: 8%

1 comment April 2nd, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2009
M T W T F S S
« Mar   May »
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Posts by Month

Posts by Category

More news....