Archive for April 3rd, 2009

र्‍याफ्टिङ बोट दुर्घटना हुंदा दुई छात्राको मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
कर्णाली नदीमा विहीवार दिउंसो र्‍याफ्टिङ बोट दुर्घटना हुँदा दुई जना छात्राको मृत्यु भएको छ।

मृत्यु हुनेमा नेपालगंज मेडिकल कलेजमा एमबीबीएस अध्यनरत् मालाश्री काफ्ले र आकृति श्रेष्ठ रहेका छन्। श्रेष्ठको उपचारका क्रममा कोहलपुरमा तथा काफ्लेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक छात्राद्वय काठमाडौंबासी रहेको बताइन्छ।

कैलालीको चिसापानीस्थित कर्णाली नदीमा र्‍याफ्टिङ बोट दुर्घटना हुंदा दुबैको डुबेर मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।

Recent Videos:

Popularity: 9%

Add comment April 3rd, 2009

पूर्व राजदूत सुमनलाई कारबाही गर्न नपर्ने

एचकेनेपाल डट कम संवाददाता-
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कतारका लागि नेपालका तात्कालीन राजदूत श्यामानन्द सुमनले यहाँ स्थित नेपालीकामदारबाट नियम विपरीत अविलम्ब शुल्क लिएको भन्ने आरोपमा कारबाही गर्न नपर्ने निर्णय गरेको छ।

आयोगले जारी गरेको विज्ञप्तिमा पूर्व राजदूत सुमनलाई सोधिएको स्पष्टिकरण सन्तोषजनक नभएको हुँदा अनुचित कार्य गरेको ठहर गरेपनि निज हाल उक्तपदबाट अवकाश प्राप्त भइसकेकाले केही कारबाही गर्न नपर्ने जनाएको छ।

आयोगले उक्त दूतावासबाट उठाएका रकमको सदुपयोग गर्न, अन्य दूतावास वा नियोगबाट रोजगारीमा गएका व्यक्तिबाट रकम उठाउने कार्य बन्द गर्न, रोजगारीमा गएका व्यक्ति वा संस्थाबाट मानवीय सहयोगका लागि रकम उठाउनुपर्ने भए निर्देशिका बनाउन, यस्ता विषयमा अनुगमन गर्न, दूतावासका सम्बद्ध पदाधिकारीहरुका लागि आचारसंहिता लागु गराउन पनि परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको छ।

Recent Videos:

Popularity: 9%

1 comment April 3rd, 2009

धमलाको फैसला आइतबार

एचकेनेपाल डट कम संवाददाता-
रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमलाको रिटमाथिको फैसला आइतबार हुने भएको छ। पुनरावेदन अदालत, पाटनमा धमलाको रिटमाथि हिजो दिनभर बहस भएको थियो।

उहाँमाथि हतियार तथा खरखजानासम्बन्धी अभियोगमा पुर्पक्षका लागि थुनामा राख्नुनपर्ने भन्दै रिट दायर भएको छ।

न्यायाधीश वैद्यनाथ उपाध्याय र आनन्दमोहन भट्टराईको इजलासमा बहस भएको थियो।

बहसका क्रममा वरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीले हतियार तथा खरखजानामा धमलाको संलग्नताको प्रमाण नरहेकाले धमलालाई तारेखमा राखी अभियोगको सामना गर्न दिनुपर्ने धारणा राख्नुभयो।

अधिवक्ता शम्भु थापाले धमलाको हतियारसम्बन्धी गतिविधिमा संलग्नताको ठोस प्रमाण नभएकाले उहाँलाई तारेखमा रिहा गर्नुपर्ने बताउनुभयो।

त्यस्तै अधिवक्ता शेरबहादुर केसी र भीमार्जुन आचार्यले धमलाको हतियारसम्बन्धी गतिविधिमा संलग्न रहेको प्रमाण नभेटिएकाले तत्काल तारेखमा रिहा गर्नुपर्ने जिकिर गर्नुभयो।

Popularity: 9%

Add comment April 3rd, 2009

पेट्रोलियम वार्ता हुँदै

एचकेनेपाल डट कम संवाददाता-
वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई सुचारु तुल्याउन व्यवसायीले उठाएका मागका सम्बन्धमा छलफल एवम् वार्ताद्वारा निकास पहिल्याउन ती सङ्घसंस्थाका आधिकारिक प्रतिनिधिलाई वार्तामा बोलाउने निर्णय गरेको छ।

नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन, पेट्रोलियम ढुवानी व्यवसाय महासङ्घ र सम्बन्धित सङ्घसंस्थाबाट विभिन्न माग राखी पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण बन्द गरेकाले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई सुचारु तुल्याउन सो निर्णय गरिएको हो।

उक्त वार्ताका लागि मन्त्रालयका सहसचिव सूर्यप्रसाद सिलवाल संयोजक तथा सदस्यमा मन्त्रालयकै सहसचिव गणेशप्रसाद ढकाल, अर्थ र श्रम तथा यातायात व्यवस्था मन्त्रालयका प्रतिनिधि तथा सदस्यसचिवमा नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक रहनुभएको छ।

सो वार्ता यही चैत २१ गते बिहान वाणिज्य तथा आपूर्ति मन्त्रालयमा हुने बताइएको छ।

वार्ताद्वारा निकास पहिल्याउने प्रयास सुरु भएकाले बन्द, हडतालजस्ता कार्यक्रम तुरुन्त फिर्ता लिई आपूर्ति व्यवस्थालाई सुचारु राख्ने कार्यमा सहयोग पुर्याउनसमेत मन्त्रालयले सम्पूर्ण व्यवसायीमा आग्रह गरेको छ।

Popularity: 8%

Add comment April 3rd, 2009

ख्वपका चार सय विद्यार्थीले एकैसाथ कलेज छाड्ने

एचकेनेपाल डट कम संवाददाता-
स्थानीय निकायद्वारा सञ्चालित मुलुककै एकमात्र ख्वप इन्जिनियरिङ कलेजबाट एकैसाथ चार सय विद्यार्थीले सुरक्षा नभएको भन्दै कलेज छोड्ने चेतावनी दिएका छन्।

गत घोडेजात्राका दिन कलेज प्रशासनले कलेजका विद्यार्थीलाई बाहिरिया व्यक्तिको प्रयोग गरी विद्यार्थीमाथि आक्रमण गरेर घाइते बनाएको बताउँदै कलेज विद्यार्थी काउन्सिलका अध्यक्ष अजिव यादवले बताएका छन्।

हरेक सार्वजनिक बिदामा पढाइ सञ्चालन हुने सो कलेजमा नयाँ प्राचार्य आएलगत्तै घोडेजात्रामा बिनासूचना कलेज बन्द गरेपछि विद्यार्थीले पढाइको माग गरेपछि विवाद भएको र विद्यार्थीलाई आक्रमण गरेको बताइएको छ।

पूर्वाञ्चल विश्वविद्यालयद्वारा सम्बन्धनप्राप्त भक्तपुर नगरपालिकाद्वारा सञ्चालित सो कलेजका चार सय विद्यार्थीले दुई दिनदेखि पूर्वाञ्चल विश्वविद्यालय काठमाडौँ सम्पर्क कार्यालयमा धर्ना दिई आफूहरुलाई अन्यत्र कलेजमा सार्नुपर्ने माग गरेका छन्।

विद्यार्थीले सम्पर्क कार्यालयदेखि तीनकुनेसम्म र्यालीको आयोजना गरी कलेज व्यवस्थापनको विरोध गर्दै आन्दोलनरत विद्यार्थीलाई अन्य कलेजमा सार्न माग गरेका छन्।

पीडित विद्यार्थी राम भारतीले चार सय विद्यार्थीको भविष्य अन्योलग्रस्त भएको बताउँदै आक्रमणकारीलाई कारवाही गरी पढाइको जिम्मा पूर्वाञ्चल विश्वविद्यालयले लिनुपर्ने माग गरे।

कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका पूर्वप्रमुख प्रेम सुवालले विद्यार्थीलाई आक्रमण नगरिएको दावी गर्दै कलेजको नीतिनियमविपरीत राखिएका माग पुरा गर्न नसकिने जानकारी दिनुभयो।

कलेज छोड्न चाहने विद्यार्थीलाई अन्यत्र जान स्वीकृति दिइने बताउँदै उहाँले यसकै लागि एक साताका लागि आजदेखि कलेज बन्द गरिएको हो भन्नुभयो।

पूर्वाञ्चल विश्वविद्यालयका प्रतिनिधि विनय भट्टराईले भने पहिलो चरणमा कलेजसाग वार्ता गरिने अनिमात्र विद्यार्थीलाई अन्यत्र सार्नेबारे निर्णय गरिने बताउनुभयो।

Popularity: 8%

Add comment April 3rd, 2009

आज चैतेदसैँ र रामनवमी पर्व मनाइँदै

एचकेनेपाल डट कम संवाददाता-
आज चैत शुक्ल अष्टमीका दिन मनाइने चैतेदसैँ तथा नवमीका दिन मनाइने रामनवमी पर्व नेपालभर मनाइँदै छ। चैत शुक्ल अष्टमी तथा नवमी एकै दिन परेकाले नेपालीको एक महान् पर्व चैतेदसैँ दुर्गा भवानीको पूजाआराधना गरेर र चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजाआजा गरेर मनाइने गरिन्छ।

हिजो बिहान १० बजेर ५० मिनेटदेखि आज बिहान ७ बजेर ५० मिनेटसम्म अष्टमी तिथि लाग्ने र त्यसपछि नवमी तिथि लाग्ने भएकाले दुवै पर्व एकै दिन मनाइने र कालरात्रि भने हिजै राति मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा. माधव भट्टराईले बताउनुभयो।

दानवी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा शक्तिरुपा दुर्गा भवानीको उपासना गरी चैतेदसैँ मनाउने गरिन्छ।

आज बिहानदेखि उपत्यकाका शक्तिपीठ गुहृयेश्वरी, दक्षिणकाली, शोभाभगवती, रक्तकाली, नक्साल भगवती, कालिकास्थान, सङ्कटा र मैतीदेवी मन्दिरमा देवीभागवत्, कालिका पुराणलगायतका स्तोत्र पाठ गरिन्छ।

चैतेदसैँलाई महत्व दिने व्यक्तिहरूले आज भगवतीका मन्दिरमा पूजापाठका साथै पशुबलि पनि चढाउँछन्।

वर्षको दुईपटक चैत र आश्विनमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको शास्त्रमा वणिर्त छ। शक्तिस्वरुपा भगवतीको आराधनाको महत्व सप्तशती चण्डी, देवीभागवत्, कालिकापुराण आदिमा उल्लेख गरिएको छ।

आजको दिन अशोकको फूल खानाले रोग आदि नाश हुन्छ भन्ने पनि विभिन्न शास्त्रमा उल्लेख छ।

Popularity: 8%

Add comment April 3rd, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2009
M T W T F S S
« Mar   May »
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Posts by Month

Posts by Category

More news....