Archive for April 6th, 2009

धमलाको फैसला मङ्गलबार हुने

एचकेनेपाल डट कम संवाददाता-
रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाको रिटमाथिको फैसला मङ्गलबार हुने भएको छ।

पुनरावेदन अदालत, पाटनमा धमलाको रिटमाथि आइतबार फैसला हुने भनिएकामा वरिष्ठ अधिवक्ता मुकुन्द रेग्मीको निधनका कारण स्थगित भएको हो।

हतियार तथा खरखजानासम्बन्धी अभियोगमा पुर्पक्षका लागि थुनामा राख्‍नुनपर्ने भन्दै रिट दायर भएको छ।

धमलाको रिटमाथि चैत २० गते न्यायाधीश वैद्यनाथ उपाध्याय र आनन्दमोहन भट्टराईको इजलासमा बहस भएको थियो।

Recent Videos:

Popularity: 9%

Add comment April 6th, 2009

अतिक्रमित भूमिमा राष्ट्रिय झण्डा

एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रिय जागरण अभियानअन्तर्गत एकीकृत नेकपा माओवादीले चितवनमा थालेको दुईदिने साइकलयात्रा माडीको सोमेश्वर डाँडामा राष्ट्रिय झण्डा फहराएर फर्किएको छ।

शनिवार भरतपुरबाट हिंडेको हजारौंसंलग्न साइकल र्यालीले माडीको बरुवा हुँदै सोमेश्वर डाँडामा रहेको ४६ नम्बरको सीमास्तम्भभन्दा डेढ किलोमिटर परको भूभागमा पुगी बिहान ८ बजे चन्द्रसूर्य अङ्कित नेपाली झण्डा गाडेको हो।

भारतद्वारा अतिक्रमित भूमि फिर्ता गराउन भन्दै सो यात्राको आयोजना गरिएको हो।

झण्डा गाडेर फर्किएको सो समूहले माडीको वसन्तपुरमा जनसभाको आयोजना
गर्यो। एकीकृत माओवादीका सचिवालय सदस्य अमिक सेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा माओवादी नेता अग्नि सापकोटालगायतका केन्द्रीय नेताले सम्बोधन गर्नुभयो।

‘माडी-ठोरीको अतिक्रमित भूमि फिर्ता गर’ भन्ने मूल नाराका साथ गरिएको साइकल यात्राको नेतृत्व माओवादी सचिवालय सदस्य सेरचनले गर्नुभएको थियो।

टोलीमा माओवादीका केन्द्रीय नेताहरु सापकोटा, हितबहादुर तामाङलगायत सभासद्, स्थानीय कार्यकर्ता तथा पत्रकारको सहभागिता थियो।

Recent Videos:

Popularity: 8%

Add comment April 6th, 2009

गेसोको महाधिवेशन सुरु

एचकेनेपाल डट कम संवाददाता-
गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो) को दोस्रो राष्ट्रिय महाधिवेशन आइतबारदेखि काठमाडौँमा सुरु भएको छ। नेकपा (एमाले) का अध्यक्ष झलनाल खनाललेमहाधिवेशनको उदघाटन गर्दै सन् १९४७ मा नेपाल-भारत र बेलायतबीच सम्पन्न त्रिपक्षीय सन्धि खारेज गर्नुपर्ने बताउनुभयो।

उहाँले गोरखा भर्तीको वैधानिकता अपूर्ण रहेको बताउँदै यसलाई समायानुसार बदल्न जरुरी रहेको धारणा राख्नुभयो।

अध्यक्ष खनालले ठोस योजना बनाएर थप उपलब्धिका लागि लाग्न भूपू गोरखा सैनिकलाई सुझाव दिनुभयो।

महाधिवेशनमा भाग लिन ५२ जिल्लाबाट तीनसय प्रतिनिधि आएको गेसोका अध्यक्ष पदमबहादुर गुरुङले जानकारी दिनुभयो।

उहाँले बेलायती सेनासरह गोरखा सेनाले पेन्सन, तलबलगायतका सुविधा नपाउँदासम्म गेसोको आन्दोलन जारी रहने बताउनुभयो।

यही चैत २५ गतेसम्म चल्ने महाधिवेशनले पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ।

महाधिवेशनको कार्यतालिका अनुसार चैत २४ र २५ गते सङ्घको बन्दसत्र चल्ने छ।

गेसोले आफ्नो आन्दोलनलाई सहयोग पुर्याएको भन्दै डा. सुरेन्द्र केसी, विष्णु गुरुङ, नवराज राई र कानसिंह थापालाई सम्मान पनि गरेको छ।

Popularity: 9%

1 comment April 6th, 2009

माओवादी गृहयुद्ध निम्त्याउँदैछ-कोइराला

एचकेनेपाल डट कम संवाददाता-
नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले माओवादीले संविधान निर्माणलाई प्राथमिकता नदिएर न्यायालय, सेना, कर्मचारी, शिक्षालगायतका क्षेत्रमा आक्रमण गरेको आरोप लगाउनुभएको छ।

नेपाल प्रेस युनियन कास्कीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता कोइरालाले पशुपतिमा भएको हस्तक्षेप, कर्मचारीमा गरिएको अराजकता, अदालत र प्रेसमाथिको आक्रमण र लोकतान्त्रिक आचरणविरोधी आतङ्कपूर्ण क्रियाकलापले माओवादीले देशमा गृहयुद्ध निम्त्याउने काम गरिरहेको छ भन्नुभयो।

माओवादीले १२ बुँदेदेखि हालसम्म भएका प्रतिबद्धता, सम्झौता कुनै पनि कार्यान्वयन नगरेकाले माओवादीलाई विश्वास गर्ने वातावरण बनेको छैन भन्दै कोइरालाले यस्तो अवस्थामा काङ्ग्रेस सरकारमा नजाने बताउनुभयो।

Popularity: 8%

1 comment April 6th, 2009

पाँचौ राष्ट्रिय खेलकूद प्रतियोगिता आजदेखि

एचकेनेपाल डट कम संवाददाता-
पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिता-२०६५ आजदेखि चैत ३० गतेसम्म राजधानीका विभिन्न खेलस्थानमा सञ्चालन हुँदैछ।प्रतियोगितामा माओवादी जनसेनाको सहभागिता हुने नहुने अन्यौल कायम छ। जनसेनाले आफूलाई सहभागी नबनाए प्रतियोगिता भाँड्ने चेतावनी दिएको छ।

प्रतियोगिताको उदघाटन आज अपराह्न पाँच बजे राष्ट्रपति डा रामवरण यादवले गर्नुहुनेछ।

प्रतियोगिताअन्तर्गत पहिलो चरणमा ७५ वटा जिल्ला खेलाडी छनोट दोस्रो चरणमा क्षेत्रीय प्रतियोगिता सकिनुका साथै क्षेत्रीय टोलीको छनोट एवं बन्द प्रशिक्षण भएको थियो।

प्रतियोगिता सफलताका लागि खेलाडीका लागि असहज वातावरण सिर्जना नगर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव तथा प्रतियोगिता कार्यकारी समितिका अध्यक्ष जीवनराम श्रेष्ठले सबैलाई अपिल गर्नुभएको छ।

एघार वर्षपछि सुरु हुन लागेको पाँचौ राष्ट्रिय प्रतियोगिता कुनै दलगत स्वार्थको लागि मात्र नभएर देशको हितका लागि आयोजना गरिएको हो-श्रेष्ठले भन्नुभयो।

Popularity: 8%

Add comment April 6th, 2009

कारागारमा झडप, कैदी घाइते

एचकेनेपाल डट कम संवाददाता-
नेपालगन्जस्थित कारागारमा हिजो साँझ कैदीकैदीबीच एकआपसमा झडप हुँदा छजना घाइते भएका छन्। कारागारमा रहेका कैदीबीच सामान्य भनाभन हुँदा झडप भएको बताइएको छ।

घाइते छजनाको भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचार भइरहेको बाँके प्रहरीले जनाएको छ।

घाइतेमध्ये कैदी बब्लु सिंहको अवस्था गम्भीर छ। प्रहरीले पाँचजना कैदीलाई नियन्त्रणमा लिएको छ। अहिले स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ। सो कारागारमा २२१ जना छन्। यसअघि पनि पटकपटक झडप हुने गरेको बताइएको छ।

Popularity: 8%

Add comment April 6th, 2009

शक्तिशाली बेपत्ता आयोग बन्छ-प्रधानमन्त्री

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब शक्तिशाली बेपत्ता आयोग बन्ने बताउनुभएको छ। गणतान्त्रिक मञ्च समन्वय समितिले बेपत्ता नागरिकको खोजीनीति र छानबिनका लागि आयोग बनाउन आग्रह गर्दै ज्ञापनपत्र बुझाउने क्रममा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो।

आयोग मात्र बन्नु ठूलो कुरा नभएको र आयोगमात्र बनाउँदा प्रभावकारी हुन नसक्ने बताउँदै प्रधानमन्त्रीले भन्नुभयो-’आयोग कानुनी प्रक्रिया पुरा गरी बनाउँदा राम्रो हुने रहेछ। त्यसैले अब पहिला संसदमा ऐनको प्रस्ताव लगी पारित गरेर बेपत्ता आयोग बनाइन्छ।’

समन्वय समितिले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन र अन्य न्यायिक संघर्षका योद्धाका हत्यारा र अपराधीलाई तत्काल कारवाही नगरिए आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ।

Popularity: 8%

Add comment April 6th, 2009

बेलायतमा पहिलो पटक पुर्खा दिवस (+Photo)

बेलायतमा पहिलो पटक पुर्खा दिवस
विश्वासदीप तिगेला, सर्नकिल्फ / एचकेनेपाल डट कम -
वेलायतको सर्नकिल्फस्थित प्रवासी नेपाली साहित्य समाज वेलायतको आयोजनामा अप्रिल ५ तारिखका दिन पहिलो पटक वेलायतमा पुर्खा दिवस कार्यक्रम सम्पन्न भएको छ।


तस्वीरः विश्वासदीप तिगेला, सर्नकिल्फ, बेलायत / एचकेनेपाल डट कम

पहिलो र दोस्रो विश्वयुद्ध लगायतका विभिन्न युद्धहरुमा वीरगति प्राप्त गरेका लाखौ गोर्खाहरूको सम्झना र सम्मानमा एक मिनेट मौन धारण गरी पहिलो विश्वयुद्धमा वीरगति प्राप्त गोर्खालीहरुको सामुहिक तस्वीरमा पुष्पगुच्छा चढाइएको थियो।

वेलायतको पहिलो नेपाली काउन्सिलर धन गुरुङको मुख्य आतिथ्यमा सम्पन्न कार्यक्रममा फक्स्टोन नेपाली कम्युनिटीका अध्यक्ष गोपाल गिरी, नेपाल आदीवासी जनजाति महासंघ वेलायतका उपाध्यक्ष श्रीप्रसाद लिम्बू, भूतपूर्व गोर्खामेजर देव पुन, डिल्लि राई, विजयहितान मगर, श्रीमति विमला लिम्बूलगायतले पुर्खा दिवसको बारेमा आ–आफ्नो मन्तब्य राखेका थिए।

दुवै विश्व युद्धमा एकै देशका नागरिक सबैभन्दा बढि मारिएको देश नेपाल भएको र नेपाली इतिहासले समेत गोर्खालीलाई न्याय गर्न नसकेको कुरा औल्याउदै नेपाली पाठ्यक्रममा अनिवार्य गोर्खालीको इतिहास राखिनुपर्ने धारणा अधिकास बक्ताहरुले राखे। आजसम्म कसैले पनि सम्झना र सम्मान गर्न नसकेका पूर्खाहरुलाई यसपटकबाट पुर्खा दिवस मनाई सम्झना गर्नु अत्यन्तै स्रहानीय र स्वागतयोग्य रहेको महासंघका उपाध्यक्ष लिम्बूले बताए। अर्का वक्ता गिरीले राम्रो कामको थालनी भएकोले आगामी बर्ष वेलायतका धेरै संघसंस्थाहरुको पनि पुर्खा दिवसमा सहभागिता रहने आशा व्यक्त गरे। पूर्व गोर्खामेजर पुनले बोर्नियो युद्धको अनुभव, डिल्ली राईले गोर्खालीहरुको प्रतिष्ठा बचाउन गाह्रो भएको चिन्ता ब्यक्त गरे। कवि विजय हितानले आगामी बर्ष पुर्खा विषयक कविता गोष्ठी गर्न सकिने सम्भावना रहेको कुरा बताए।

पाँच बर्षदेखि हङकङबाट मनाउन शुरु गरिएको पुर्खा दिवस यस बर्ष हङकङलगायत नेपालको धरान, काठमाडौं, मलेसिया, अष्ट्रेलिया, दक्षिण कोरिया र बेलायतमा मा एकैदिन मनाइएको थियो। गोर्खाजहरुको इतिहास सम्बर्द्धन र खोजअनुसन्धानको लागि गोर्खा सिमेन्ट्री ट्रष्टको पनि स्थापना भएको छ र उक्त ट्रष्टले काठमाडौमा गोर्खाजको मूर्ति स्थापना गर्ने योजना पनि सार्वजनिक गरेको छ।

दुई चरणमा संचालित कार्यक्रम अर्न्तगत दोस्रो चरणमा अन्तर्क्रिया कार्यक्रम रहेको थियो। पुर्खा दिवसको शुरुवात अत्यन्तै सुखद रहेको र पुर्खादिवस मनाउने मिति पहिलो विश्वयुद्धको शुरुवात दिन जुलाई २८ वा अगष्ट महिनाको पहिलो शनिवार कायम गर्न आग्रह गरे।

साहित्य समाजका अध्यक्ष सुरेन्द्र इङनामको सभापतित्वमा संचालित कार्यक्रममा जितेन्द्र चेम्जोङको स्वागत मन्तब्य र कार्यक्रम संचालन विश्वासदीप तिगेलाले गरेका थिए।

थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

यस वर्ष पुर्खा दिवस सम्पन्न भएका देश र ठाउँहरुः
हङकङ
धरान
काठमाडौं
मलेसिया
अष्ट्रेलिया
दक्षिण कोरिया
बेलायत

————————————————————————

बेलायतमा हुने पुर्खा दिवसमा हार्दिक निमन्त्रणा
पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धलगायतका अनेकौ युद्धमा विश्वका विभिन्न मुलुकमा पुगेर युद्धमोर्चामा वीरगति प्राप्त गर्नु भएका हाम्रा लाखौं गोर्खाज (पुर्खा) का सम्झना तथा सम्मानको कार्यक्रम पुर्खा दिवस निम्नअनुसार सम्पन्न हुने भएकोले इच्छुक सबैलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।

आयोजकः प्रवासी नेपाली साहित्य समाज (प्रभात) वेलायत
स्थानः सर्नकिल्फ कम्युनिटी सेन्टर, CT20 3LR, फक्स्टोन, वेलायत
समयः दिनको ठीक १ बजे
मितिः ५ अप्रिल ०९ आइतावार

शोधपुछ तथा सम्पर्कको लागि फोन न.: 07988889487 (सुरेन्द्र इङ्नाम), 07912973370 (जितेन्द्र चेम्जोङ), 07765166549 (नवराज राई)

यस वर्ष पुर्खा दिवस सम्पन्न हुने देश र ठाउँहरुः
हङकङ
धरान
काठमाडौं
मलेसिया
अष्ट्रेलिया
दक्षिण कोरिया
बेलायत

Popularity: 10%

2 comments April 6th, 2009

बेल्जियममा नृत्य प्रतियोगिताको भब्य तयारी

यशोदा सुवेदी, बेल्जियम / एचकेनेपाल डट कम-
नेपाली नयाँ बर्षको अवसर पारेर मोना बेल्जियमले बेल्जियमको अन्त्वेर्पेन शहरमा गर्न लागि रहेको अन्तरसंस्था नृत्य प्रतियोगिताको तयारी भब्य रुपमा भइ रहेको छ।

मोना बेल्जियमले संस्थाको तेस्रो वार्षिक उत्सब तथा नेपाली नयाँ बर्षको अवसरमा १८ अप्रिल २००९ मा आयोजना गरेको उक्त कार्यक्रम बेल्जियममा नै पहिलो र नयाँ कार्यक्रम भएकोले बेल्जियममा रहेका सम्पूर्ण संघ संस्था, ब्याबसायी र अन्य सम्पूर्ण माहानुभावहरुले उक्त कार्यक्रमलाई सफल बनाउन बिभिन्न कोणबाट सहयोग गरिरेको जानकारी आयोजकहरुले दिएका छन्।

कार्यक्रमको तयारीको सम्बन्धमा हामीले मोना बेल्जियमका अध्यक्षसंग संपर्क गर्दा कार्यक्रमको तयारी अब लगभग अन्तिम चरणमा पुगेको, तयारीको लागि निर्माण गरेका उपसमितिहरुले दिनो रात खटेर तयारी गरी रहेको जानकारी दिए।

नृत्य प्रतियोगितामा सहभागीको लागि अहिलेसम्म ८ संस्थाबाट नाम दर्ता भैसकेको र अन्य धेरै संस्थाबाट प्रतियोगितामा सहभागीको लागि नृत्यको अभ्यास भै रहेको जानकारी प्राप्त भएको छ। प्रतियोगितामा जुरीको लागि नेपालमा संस्कृतिक र सांगीतिक र फिल्मी क्षेत्रमा काम गरेर अनुभब बटुलेका कलाकारहरुले सहयोग गर्ने जनाएको छ।

सहकार्य, सहयोग र आफ्नो ब्यापार ब्यवसायको बिज्ञापनको लागि मोना बेल्जियमले गरेको अनुरोधको आधारमा बेल्जियममा रहेका नेपाली ब्याबसायी, समाजसेवी तथा संघ संस्थाहरुले कार्यक्रमको बिभिन्न शिर्षकहरु जस्तो - पुरस्कार, खाना, पेय पदार्थ, प्रमाणपत्रलगायतका शिर्षकहरुमा प्रायोजन गरेका छन्। त्यस्तै बेल्जियमका स्थानीय निकाय, नगरपालिकाले हल लगायतका अन्य आर्थिक सहयोग उपलब्ध गराउने जानकारी प्राप्त भएको छ।

बेल्जियम रहेका सबै नेपाली संघसंस्थाहरुको सम्बन्धलाई अझ गाढा बनाउदै केही बर्ष यता बेल्जियममा आफ्नो परिवारसंग आउने क्रममा भित्रिएका धेरै नेपाली कलाकारहरुलाई आफ्नो प्रतिभा देखाउने प्लेट फर्म उपलब्ध गराउनको लागि आयोजना गर्न लागिएको उक्त कार्यक्रममा सहभागीका लागि बेल्जियमका मात्र संघसंस्था नभएर बेल्जियमका छिमेकी मुलुकहरु जस्तो जर्मन, फ्रान्स, पोर्चुगल र इङ्ल्यान्डबाट पनि प्रतिनिधि उपस्थित हुने जानकारीसमेत प्राप्त भएको छ।

Popularity: 8%

Add comment April 6th, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2009
M T W T F S S
« Mar   May »
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Posts by Month

Posts by Category

More news....