Archive for April 8th, 2009

मास्कोमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना हुने

प्रवीण गौचन, मस्को, रुस महासंघ / एचकेनेपाल डट कम -
नेपाली नयाँ वर्ष २०६६ को अवसरमा नेपाली छात्र संघ (रसियाली जनमैत्री विश्वविद्यालय) ले अप्रिल १९ तारिख आइतवारका दिन भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ।

रसियाली जनमैत्री विश्वविद्यालय (मस्को) का साथै रुसका अन्य उच्च शिक्षण संस्थानहरुमा अध्ययनरत नेपाली छात्रछात्राहरुको सहभागितामा सम्पन्न हुने सांस्कृतिक कार्यक्रमका लागि पप गायक राजु लामा र हास्यव्यंग्य कलाकार मनोज गजुरेललाई निम्त्याएको छ। कलाकारद्वय लामा र गजुरेल अप्रिल १७ तारिख मस्को आइपुग्ने छन्।

नयाँ वर्ष मनाउने क्रममा आयोजना गरिने यस कार्यक्रमका लागि फुटबल फैन क्लब रुसले आर्थिक भार व्यहोर्ने भएको छ।

Recent Videos:

Popularity: 9%

Add comment April 8th, 2009

सुजित विक पार्टीबाट निष्काशित

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा माओवादीले बुटवलका युथफोर्स सदस्य एवं एमाले कार्यकर्ता प्रचण्ड थैवको हत्याका आरोपित रुपन्देही वाईसीएल इन्चार्ज सुजित विकलाई पार्टीबाट निष्काशन गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको पार्टी सचिवालय बैठकले विकलाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्दै साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको जनाएको छ। राष्ट्रिय मानव अधिकार आयोगमा बुझाउन लाने क्रममा विक भागेकोले पार्टीले कारवाही गरिएको बताएको छ। उनलाई कानुनको दायराभित्र ल्याउने समेत सो पार्टीका प्रवक्ता दीनानाथ शर्माले जनाएको छ।

एमालेका प्रमुख सचेतक भिम आचार्य र काँग्रेसका प्रमुख सचेतक लक्ष्मण घिमिरेले माओवादीले विक पक्राउ परेको र उनी भागेको नाटक रचेको आरोप लगाउंदै विकलाई पक्राउ गरी कारवाही नगरेसम्म सदन सुचारू हुन नदिने जनाएका छन्।

Recent Videos:

Popularity: 8%

1 comment April 8th, 2009

हुरीबतासले छाना उडाएपछि आठसय विद्यार्थी प्रभावित

एचकेनेपाल डट कम संवाददाता-
तनहुँमा गत शुक्रबारको हुरीबतास र असिना पानीले दुई विद्यालयका छाना उडाएपछि पठनपाठन कार्य प्रभावित भएको छ। घाँसीकुवा गाविसको सिद्धेश्वरी मावि र व्यास नगरपालिका-६ मिन्टुटारको शुक्र प्राविका छाना हावाले उडाएपछि विद्यार्थीहरू प्रभावित भएका हुन्।

हुरीबतासबाट सिद्धेश्वरी माविको एउटा भवनको पुरै छाना उडाएको र अर्को भवनमा पनि क्षति पुगेको प्रधानाध्यापक राजेन्द्र सिग्देलले बताउनुभयो।

यस्तै शुक्र प्राविको भवनको आधा छाना उडाएपछि पठनपाठन कार्य प्रभावित भएको स्थानीय गोपाल क्षत्रीले बताउनुभयो।

सिद्धेश्वरी माविका ५०० र शुक्र प्राविका तीनसय विद्यार्थी प्रभावित भएको बताइएको छ।

शुक्रबारकै हुरीबतास र असिनापानीले घाँसीकुवामा एक दर्जन, व्यास नगरपालिका-३ मा दुई दर्जन र व्यास-६ मिन्टुटारमा करिब सात दर्जन घरका छाना उडाउँदा घरका सदस्यहरू बिचल्लीमा परेको बताइएको छ।

Popularity: 8%

Add comment April 8th, 2009

जनमुक्ति सेनाद्वारा चेतावनी

एचकेनेपाल डट कम संवाददाता-
जनमुक्ति सेना नेपालका सातवटै डिभिजनका कमान्डरले संयुक्त प्रेस विज्ञप्ति निकाली विभिन्न राजनीतिक दलका नेताले आफ्ना क्यान्टोन्मेन्टलाई अपराधीको आश्रयस्थल भनेकामा प्रतिवाद गर्दै सो आरोपलाई छिटोभन्दा छिटो प्रमाणित गर्न चुनौती दिएका छन्।

यस्तो आरोपप्रति सातवटा डिभिजनका २८ वटै क्यान्टोन्मेन्टको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तिमा भनिएको छ- हामी यो अपमान सहन तयार छैनौँ, ती नेता उल्टै न्यायको कठघरामा उभिन नपरोस्।

साथै क्यान्टोन्मेन्टभित्रबाट धैर्य र आक्रोशको बाँध फुटेर आन्दोलनको आँधीबेहरी सृष्टि भई शान्ति प्रक्रियामा कुनै बाधाअवरोध खडा भएमा यसको जिम्मेवार तथा जवाफदेही ती नेता नै हुनेछन् भन्ने पनि हामी बेलैमा जानकारी गराउन चाहन्छौं -विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा भनिएको छ -सङ्क्रमणकालको फाइदा उठाई विभिन्न समयमा हुने आपराधिक घटनात्रलाई लिएर आफ्नो तुच्छ राजनीतिक स्वार्थका कारण, कतिपय राजनीतिक नेताले शान्ति प्रक्रियाको संवेदनशीलतालाई कुल्ची, घटनालाई पुरै राजनीतीकरण गरी गत्यावरोध गर्ने र अपराधीलाई उम्कने वातावरण प्रदान गर्ने गैरजिम्मेवार आचरण र प्रवृत्तिले देश झन्झन् सङ्कटग्रस्त हुँदै गएको छ।

शान्ति प्रक्रियाप्रति प्रतिबद्ध भएर हरेक कठिनाइको सामना गर्दै जिम्मेवारी बोधका साथ राजनीतिक निकासका निम्ति धैर्यतापूर्वक क्यान्टोनमेन्टमा बसेको जनमुक्ति सेना र त्यसको संस्थालाई सुतेको सिंहलाई झैँ नजिस्क्याउन चेतावनी दिँदै विज्ञप्तिमा यसरी जिस्क्याउने नेतादेखि आम जनसमुदायलाई बेलैमा सजग र सर्तक हुन अनुरोध गरिएको छ।

विज्ञप्ति निकाल्नेमा प्रथम डिभिजन जनमुक्ति सेना नेपालका कमान्डर सन्तकुमार दरै ‘परवाना’, दोस्रो डिभिजनका धनबहादुर मास्के ‘राजेश’, तेस्रो डिभिजनका कार्यालय सचिव प्रकाश जि.एम. ‘अविरल’, चौथो डिभिजनका यमबहादुर अधिकारी ‘प्रतीक्षा’, पाँचाँै डिभिजनका सुकबहादुर रोका ‘शरद’, छैठौँ डिभिजिनका तेजबहादुर वली ‘प्रतीक’ र सातौँ डिभिजनका महेन्द्रबहादुर शाही ‘प्रज्वल’ हुनुहुन्छ।

Popularity: 8%

1 comment April 8th, 2009

तीन वर्षकी बालिकालाई जबर्जस्ती

एचकेनेपाल डट कम संवाददाता-
घरबेटीको तीन वर्षीया छोरीलाई जबर्जस्ती अनुचित कार्य गरेको अभियोगमा हेटौँडा नगरपालिका वडा नं.६ डेरा लिई बस्ने १७ वर्षीय रमेशकुमार लामालाई प्रहरीले हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ।

पीडित नाबालिकालाई आफ्नै अभिभावकले हेटौँडा अस्पतालमा ल्याई उपचार गराएको प्रहरीले जनाएको छ।

Popularity: 8%

Add comment April 8th, 2009

भारोत्तोलनमा राष्ट्रिय कीर्तिमान

एचकेनेपाल डट कम संवाददाता-
पाँचौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला भारोत्तोलनको ५३ केजी तौलसमूहमा नेपाल प्रहरीकी देवी चौधरीले मङ्गलबार राष्ट्रिय कीर्तिमान कायम गरेकी छन्।

चौधरीले क्लिन एन्ड जर्कमा ७५ र कुलमा एक सय ३० केजी तौल उचाल्दै राष्ट्रिय रेकर्ड राख्न सफल भएकी हुन।

चौधरीले स्न्याचतर्फ ५७ केजी तौल उठाएकी थिइन्। यसअघि क्लिन एन्ड जर्कमा ७२.५ र कुलमा एक सय ३० केजीको रेकड पर्साकी निती श्रेष्ठको नाममा थियो।

पर्साकी शान्ति चौधरी दोस्रो र कैलालीकी बेल्टी चौधरी तेस्रो भएका छन्।

महिलाको ४८ केजी तौल समूहमा नेपाल प्रहरीकी निता थापाले स्वर्ण पदक पाउन सफल भएकी छिन्। थापाले स्न्याचतर्फ ५० र क्लिन एन्ड जर्कमा ६० केजी गरी कुल एक सय १० केजी उचालेकी थिइन्।

Popularity: 8%

Add comment April 8th, 2009

बन्दूकको आधारमा मुलुक बदल्न सकिन्नः खनाल

एचकेनेपाल डट कम संवाददाता-
नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले हिंसात्मक र बन्दुकको आधारबाट मुलुक बदल्न नसकिने बताउनुभएको छ। नेकपा (एमाले) निर्वाचन प्रचारप्रसार समिति, कास्की क्षेत्र नं. १ द्वारा लेखनाथ नगरपालिकाको आवासनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले जनतालाई ब्युँत्याएर र जगाएर शान्तिपूर्ण ढङ्गबाट नै मुलुकको परिवर्तन गर्न सकिने विचार व्यक्त गर्नुभयो।

सरकारको नेतृत्व गरेको एकीकृत नेकपा (माओवादी) ले ठीक ढङ्गले लोकतान्त्रिक पद्धति नअपनाएको बताउँदै एमाले अध्यक्ष खनालले वाइसिएलले गुण्डागर्दी गर्दै अशान्ति मच्चाएको आरोप लगाउनुभयो।

माओवादीका भ्रातृ सङ्गठनले हत्या, हिंसा र अशान्ति मच्चाउँदै जाने हो भने एमालेले पनि हातमा दही जमाएर नबस्ने र उसको व्यवहारअनुसार कदम चाल्ने चेतावनी दिनुभयो।

उहाँले अघिल्लो निर्वाचनमा झैँ गुण्डागर्दी, धाँधली र हिंसात्मक गतिविधि हुन नदिन स्थानीय प्रशासनले कडाइ गर्नुपर्ने विचार व्यक्त गर्नुभयो।

बुटवलमा मारिएका प्रचण्ड थैवका हत्यारालाई आज न्यायको कठघरामा उभ्याइन लागेको जानकारी दिँदै अध्यक्ष खनालले अपराधीलाई समातेर कारवाही नगरिए एमाले चुप लागेर नबस्ने चेतावनी दिनुभयो।

Popularity: 8%

Add comment April 8th, 2009

ट्रकले भ्यानलाई ठक्कर दिंदा तीन प्रहरीको मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
मालवाहक ट्रकले सशस्त्रप्रहरी बलमालिका बनभेडाको प्रहरी भ्यानलाई कैलालीमा बुधवार विहान ठक्कर दिंदा तीन प्रहरीको मृत्यु भएको छ।

मृत्यु हुनेमा कंचनपुर भीमदत्त बस्ने शसस्त्र प्रहरी हवल्दार खडक रैकान, बाँके कम्दी ९ बस्ने शसस्त्र प्रहरी जवान लोक सार्की र अछाम मष्टामाण्डौ घर भएका अमृत बुढा रहेका छन्। रैकान र सार्कीको घटनास्थलमा र बुढाको उपचारको क्रममा सेती अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा १५ जना घाइते भएकामध्ये ४ जनाको अवस्था गम्भीर रहेको जनाएको छ।

रोकेर राखेको ना १ ग ५६७ नम्बरको भ्यानलाई नेपालगन्जबाट धनगढी तर्फ गइरहेको ना २ ख ८२१४ नम्बरको मालबाहक ट्रकले बिहान साढे ३ बजे ठक्कर दिंदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Popularity: 8%

Add comment April 8th, 2009

पोर्चुगलमा आदिबासी जनजातिहरूको सामूहिक संस्था स्थापना

इन्दिरा चाम्लिङ, अल्गार्भ पोर्चुगल / एचकेनेपाल डट कम -
अल्गार्भ पोर्चुगलमा बेलाभिस्तास्थित भिल्ला ३३ काजा दी नेपालिजामा भएको बृहत भेलाले नेपालका आदिबासी जनजातिहरूको सामूहिक संस्था गठन गरेको छ।

यहाँ बसोबास गर्ने शत प्रतिशत जनजातिहरूको उपस्थितिमा बसेको भेलाले सम्बिधान निर्माणमा आफ्नो रायसहित अढाइ सय बर्षदेखिको एकात्मक राज्य संरचना र केन्द्रीकृत शासन प्रणालीका कारण के कस्ता समस्याहरु उव्जिए भन्ने कुरा सबैलाई छलर्ङ्ग भइ सकेको र स्वायत्त प्रदेशसहितको संघीय राज्य संरचनामा अव विवाद गर्ने ठाउं बाँकी नरहेको अबस्थामा मानुपातिकता बारे सम्बिधानमा प्रष्ट उल्लेख गरिनु बर्तमान समयको माग भएको भेलाले निष्कर्ष निकालेको छ।

उक्त भेलाले हरेक क्षेत्रमा जनजातिलाई समानुपातिक ढङ्गले समान सहभागिताका लागि किटान गरेर आगामी बन्ने संबिधानमा लेखिनु पर्ने माग गर्दै तमू समाजका अध्यक्ष एबम एनआरएनका पूर्व अध्यक्ष बेलकाजी गुरुङ अध्यक्ष रहेको आदिबासी जनजाति महासंघ पोर्चुगलको तदर्थ समिति गठन गरेको छ।

भेलाद्वारा सर्वसम्मत रूपमा पारित कार्यसमितिको प्रतिनिधि उपाध्यक्षहरूमा नरभूपाल राई किरात राई यायोक्खा, लालबहादुर वाईबा तामाङ तामाङ सालिङ, नरेन्द्र थोक्लिहाङ लिम्बू किरात याक्थुम चुम्लुङ, केवल राना नेपाल मगर संघ, सिमान्त मास्के नेवा समुदाय, निलबहादुर छन्त्याल नेपाल छन्त्याल संघ, नबिन शेरचन नेपाल थकाली समाज, रामशरण महतो थारू समुदाय, अर्जुन गुरुङ तमू धी रहेका छन्।

३७ सदस्यीय जनजाति महासंघ पोर्चुगलको सचिवमा बम शारू सह-सचिवमा, अनुप राई कोषाध्यक्षमा हितमान बुढाथोकी मगर, सह-कोषाध्यक्षमा कुमार गुरुङ( काले माईला) का साथै सदस्यहरूमा राम गुरुङ, चित्रबहादुर पुर्जा, उवाबहादुर चिडी, लालप्रसाद गुरुङ, थमन काउचा मगर, बलबहादुर राई, पेमा छोर्तेन गुरुङ, झमन चिडी, गणेश पुन, कृष्ण पुन, दिपक गुरुङ, सुबास राना, गुमान सिह घले, रेशम राना, सरोज पुन,गजेन्द्र गुरुङ, बिकाश गुरुङ, देउमाया पुर्जा, भजनराज गुरुङ रहनु भएको छ।

उक्त भेलाले खेम तमू, रामबहादुर पुन, लिलाराज काम्बाङ, केजिन राई रहेको सल्लाहकार समिति समेत गठन गरेको छ भने आमन्त्रित सल्लाहकारहरूमा जयराम लामा, पूर्व उपाध्यक्ष एनआरएन, सचिव लोकतान्त्रिक गणतान्त्रिक मोर्चा पोर्चुगल, रामबहादुर गौचन अध्यक्ष लोकतान्त्रिक गणतान्त्रिक मोर्चा पोर्चुगल, बिष्णु शेरचन पूर्व सचिव एनआरएन पोर्चुगल, बिबि सुब्बा अध्यक्ष किरात याक्थुङ चुम्लुङ, ज्योति छाया गुरुङ अध्यक्ष तमू समाज पोर्चुगल रहनु भएको छ।

Popularity: 8%

Add comment April 8th, 2009

नेपाल पत्रकार महासंघ, मलेसियाको २५ तारिख अधिवेशन हुने

रुसाहाङ, क्वालालम्पुर / एचकेनेपाल डट कम -
नेपाल पत्रकार महासंघ प्रवास शाखा, मलेसिया तर्दथ समितिको लागि बिचारी चाम्लिङको अध्यक्षतामा मंगलवार बसेको अधिवेशन तयारी समितिको बैठकले तर्दथ समिति गठन गरेको छ।

यस भन्दा अगाडि गठन भई पत्रकार मासंघ केन्द्रलाई जानकारी गराएको तर्दथ समिति मलेसिया शाखालाई यसै बैठकले भंग गर्दै सर्वसम्मत विपीन राईको अध्यक्षतामा २१ सदस्य तर्दथ समिति गठन गरेको छ। भारतपछि सबै भन्दा बढी पत्रपत्रिका प्रकाशित हुने ठाउं मलेसिया रहेको र लामो समय सम्म महासंघको सदस्यता नपाउदा यहांका पत्रकार मारमा परेका थिए। आन्तरिक विवादका कारण महासंघ गठन हुन नसकेको र हाल यहांबाट प्रकाशित सबै प्रिन्ट मिडिया, अनलाईन मिडियाको एकताले महासंघको अन्तिम निर्णयमा पुगेको हो। यहांबाट साप्ताहिक रुपमा महिमा साप्ताहिक, नेपाल सन्देश साप्ताहिक, हाम्रो आवाज साप्ताहिक, श्रम साप्ताहिक, नेपाल पृष्ठभूमि, श्रीअभिलेख निरन्तर प्रकाशित हुने गरेका छन् भने नेपाल मलाया खबर डट कम दैनिक रुपमा अपडेड हुने गरेको छ। प्रकाशन सुरु भएर पनि विविध कारणले बन्द भएका साप्ताहिक पत्रिकाहरुमा जनजाति आवाज साप्ताहिक, नव कान्तिपुर साप्ताहिक, नादा टाइम्स्, राज्यसत्ता साप्ताहिक, सगरमाथा साप्ताहिक र नवदित साप्ताहिक पर्दछन्।

यही अप्रिल २५ तारिख अधिवेशन गर्ने निर्णय गरेको तर्दथ समितिले अधिवेशनमा नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष समेत प्रमुख अतिथिमा निमन्त्रणा गर्ने निर्णय गरेको छ। जेहोस, लामो विवादलाई अन्त्य गर्दै मलेसियामा रहेका श्रमजीवी पत्रकारहरु एक हुनु एउटा गौरवको कुरा हो। नव गठित तर्दथ समितिमा सबै पत्रिकाबाट तीन-तीन जनाको प्रतिनिधित्व हुने गरी समिति तयार गरिएको छ। उक्त नव गठित समिति यस प्रकार रहेको छ। संरक्षक सल्लाहकार बिचारी चाम्लिङ, सल्लाहकार रमेश तिवारी, अध्यक्ष विपीन राई, प्रथम उपाध्यक्ष नेत्रविक्रम विमली, द्वितीय उपाध्यक्ष विनो लामा, महासचिव रामचन्द्र गिरी, सचिव अर्जुन शर्मा, कोषाध्यक्ष रुसाहाङ चेम्जोङ, सदस्यहरु मौसम लिम्बू, विवश चौलागाई, धनबहादुर खडका, देबेन्द्र खापुङ, सुनिल चालिसे, सुन्दर आले, मान छन्त्याल, श्रीधर सुवेदी, विजय गौतम, विष्णु राई, सुमन के.सी., राजु क्षेत्री, रबिन्द्र राई, नेत्र पौडेल, नरकुमार लिम्बू रहेका छन्।

Popularity: 8%

Add comment April 8th, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2009
M T W T F S S
« Mar   May »
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Posts by Month

Posts by Category

More news....