Archive for April 9th, 2009

यति एशोसियशनका पदाधिकारीलाई खुलापत्र

यति एशोसियशनका पदाधिकारीलाई खुलापत्र
श्रीराम कायस्थ, मेनचेस्टार युके
गत अप्रिल २००९ मा विभिन्न अनलाइन सञ्चार माध्यमहरुमा सम्प्रेषित भ्रामक एवं निर्लज्ज समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ।

सम्प्रेषित समाचारमा भनिएको छ यति एशोसियसनक वर्तमान विवादास्पद अध्यक्ष र सचिवले संयुक्त रुपमा दिनुभएको विज्ञप्ति अनुसार यति एशोसियसनका नाममा आउदो १२ अप्रिलमा गर्न लाग्नुभएको कार्यक्रम उमेश मोक्तान समूहले कार्यक्रम असफल गराउनका लागि सम्भाब्य सहभागीहरुलाई डर, धाक, धम्की र त्रास देखार्य बेलायतजस्तो प्रजातान्त्रिक मुलुकमा अप्रजातान्त्रिक रबैया अपनाएको आरोप लगाइएको छ।

स्मरणीय छ, संयुक्त अधिराज्य बेलायतमा ‘यति एशोसियशन’ नेपालीहरुको सबैभन्दा पूरानो सामाजिक संस्था हुनुका साथै इतिहासको लामो समयसम्म एक सम्मानित प्रतिनिधिमूलक संस्थाको रुपमा नेपाली समुदायबीच उच्च गौरवमय गाथा र इतिहाससहित उच्चादरित मानिन्थ्यो। यसका विगतका क्रियाकलापहरु सामाजिक जीवनका मूलभूत र नैसर्गिक सिद्धान्तका विषयलाई लिएर संवेदनशील बहसको दोसाधमा कहिल्यै पनि आएनन्।

एक निश्चल र पवित्र विगतका गाथा-कथाहरु हाम्रा सामु जीवन्त भएपनि गत सेप्टेम्बर २००८ मा भएको यसको निर्वाचनले चुनावी प्रक्रियाको परम्परा र यति स्वंयमको अस्तित्वमाथि अत्यन्त दुर्गन्धित र अपवित्र कालो धब्बा छोडेको महसुस सर्वत्रबाट गरिएको पाइन्छ। तथाकथित अध्यक्ष पदका स्वघोषित अध्यक्ष चिरञ्जीवी ढकाल र निर्वाचन प्रमुख कृष्ण भट्टका बिच भएको अपवित्र मिलिमतो र जसरी भएपनि चुनाव जित्नुपर्छ भन्ने अराजनीतिक, असामाजिक, अनैतिक र निर्लज्ज नग्न नृत्य र पदीय मोहबंश देवरबाबुका रुपमा मात्र देखिएको धाँधलीपूर्ण चुनावले यति कै इतिहासमा सबैभन्दा दुर्गन्धित र कलंकित छाप छोडेको कटु सत्यतामा कसैको दुइमत नहोला।

विज्ञप्तिमा उहाँहरुले प्रजातन्त्र, बेलायत, नैतिकता आदि जस्ता शब्दहरु जोडेर हाँसो मजाकको दुनियाँमा एक नयाँ आयाम थपेजस्तो मलाई लाग्यो। किनकि, बेइमानी, दुराचार र दुर्गन्धित परम्पराको सिर्जना गर्न रुचाउनेका लागि नैतिकता सम्बन्धि कुराहरु सिर्फ एका देशका कथाजस्ता मात्र हुन। तर, जे होस पुनः एकपटक नैतिक रुपले कुरुप अनुहार नेपाली समुदायबिच देखाइदिनु भएकोमा कोटी-कोटी धन्यवाद।

उहाँहरुले प्रजातन्त्र नैतिकता र प्रजातन्त्र अनि बेलायत आदिको प्रयोग गरेको पाए। त्यसैले यिनै शब्दहरुको नियतपूर्ण साँघुरो घेरामा रहेर केही प्रश्नहरु गर्न चाहन्छु।
१. निष्पक्ष एवं धाँधलीरहित चुनाव सम्पन्न गर्ने जिम्मेवारी दिइएका निर्वाचन प्रमुख कृष्ण भट्टसंग साँठगाँग गरी बिसौ मुठ्ठाका मुठ्ठाका फर्जी मत प्रयोग गर्नुका साथै मतदान गरिएका मतपत्रहरु मध्येबाटै १४५ वटा मतहरु गायब गरी चुनाव जितिएको घोषणा गर्नु कहाँको प्रजातान्त्रिक एवं नैतिक आचरण हो ? तपाईहरुले बेलायतमा बसेर सिकेको यही हो।
२. ‘यति’ को सदस्यता लिएका मतदाता तर आफूलाई मतदान नगर्ने आशंका भएका केही मतदाताहरुलाई मतदाता सूचीमा निर्वाचन प्रमुख कृष्ण भट्टको बदनीयतपूर्ण एवं पक्षपातीपूर्ण क्रियाकलापका कारण समावेश गरिएन। यतिमात्र होइन आफूलाई मतदान गर्ने शर्तमा १८ बर्ष नपुगेकालाई पनि सदस्यता वितरण गरी निर्वाचन जित्ने लज्जास्पद र हास्यास्पद कार्य गर्न नहिच्किचाउने तपाई चीरन्जीवी ढकाल ….. अब भन्नुहोस त्यो कुन र कस्तो नैतिक चरित्र हो?
३. निर्वाचनका समय बाहिर टाँसिएको मतदाता नामावली र निर्वाचन कक्षमा राखिएको मतदाता नामावली बिच मेल नखानुको कारण सयौं मतदाता मतदान गर्नबाट बञ्चित भए। जसरी भएपनि चिरञ्जीबी ढकाल समूहलाई विजयी गराई छाड्ने सपथ खाएका चरित्रहीन निर्वाचन प्रमुख कृष्ण भट्टको प्रमुख सक्रियतामा यसो गरिएको थियो।
निर्वाचनको हार र जीतको सामान्य परिणामसंग डराएर कायरतापूर्वक निर्वाचन प्रक्रियाका चक्रब्यूह के प्रजातान्त्रिक हो। तपाईहरुले बेलायतमा सिकेको पाठ यही हो।
५. निर्वाचन प्रमुखले निष्पक्ष, धाधलीरहित निर्वाचन सम्पन्न गराउनुपर्नेमा स्वयमको सक्रियतामा गलत र अनैतिक संस्कारको प्रवेश गराई विजयी घोषित हुनु कुन नैतिक चरित्र हो। तपाईहरुले सिक्नुहोस कि चुनाव गणीतीय जोड घटाउ मात्र होइन।
५. निर्वाचनमा पक्षपातपूर्ण धाँधलीका अनगिन्ती प्रमाणका श्रृखलाहरु प्रमाणित भइसकेपछि सो को छानविनका लागि गठित छानविन समितिले तपाई चिरञ्जिवी ढकाल लगायतको समूहलाई छलफल र समस्या निराकरण हेतु यति लामो समयसम्म कार्य गर्नु भएका सम्मानित अग्रज दाजुहरुको अगुवाई एवं आग्रहका बाबजुद तपाईहरु उपस्थित हुन त कता हो कता अझ उल्टै काग कराउदै गर्छ पिना सुक्दै गर्छु भन्ने सारा नेपाली समुदायलाई अत्यन्त निचतापूर्ण नैतिक बलात्कार गर्न कोशिस गर्नुभयो । यही हो तपाईहरुको बेलायतमा सिकेको नैतिकता … पाठ?
६.बेलायतमा नेपाली समुदायको संख्या अत्यन्त न्यून छ। यद्यपि यही न्यून संख्याका बिचप पारस्पिरिक प्रेमपूर्ण मित्रता, सौहार्दता र आपसी सहयोग र भावी पिढीलाई चरित्र, त्याग र समर्पणको उपहार स्वरुप छोड्ने बिराट नैतिक अभिभारा बोकेको नेपालीयात्रा सबैभन्दा जेठो संस्था यति आज तपाईहरुको अनैतिक निर्लज्ज, अप्रजातान्त्रिक एवं कायरतापूर्ण ब्यवहारका कारण कहिले नमेटिने चुनावी कालो धब्बा छाड्न पुगेको छ। यही हो हामीले भावी पिढीलाई दिने उपहार ?
यदि हामी यथार्थमै सच्चा समाजसेवी हौ भने नेपाली समुदायको उन्नति, समुन्ननिप्रति साच्ची कटिबद्ध छौ भने, पदीय लालसा र दुर्गन्धित चुनावी तिलकमलाई सामाजिक जीवनको अभिन्न अंग बनाउन कदापी हुदैन।

माथि उल्लेख गरिएका यथार्थका ऋंखलाहरुको आधारमा तपाई चिरन्जिवी ढकाल एवं अन्य पदाधिकारीहरु कूनैपनि हालतमा नैतिकता र वैधानिकताको कसीमा वैधानि हुनुहुन्न।

संसारमा कुनैपनि धाधलीपूर्ण निर्वाचन प्रक्रियाबाट आएको ब्यक्ति वैधानिक र टिकाउ भएको छैन। त्यही धाधली र पक्षपातको आधारशीलामा स्थापित यस विवादास्पद कमिटिलाई यतिको रक्षाकवच ओढेर यतिको नाममा कार्य संचालन गर्ने अधिकार कसैलाई पनि छैन। तपाईहरु ब्यक्तिगत नाम राखेर कार्यक्रम संचालन गर्नुहोस त्यसमा कसैको पनि आपत्ति रहन्न।

हालै उमेश मोक्तान समूहले धाधलीपूर्ण, पक्षपती, दुराचार र नैतिकहीन कार्यका विरुद्ध उठाएका मुद्धाहरुले सम्पूर्ण नेपालीको हृद्धयबाट निस्केका विद्रोहको प्रतिनिधितव गर्दछ। र यसमा म र मेरो सम्पूर्ण साथीहरुको नैतिक एवं सक्रिय सहयोग रहने यथार्थ यसैसाथ निवेदन गर्न चाहन्छु।

यो अभियान हो असत्यताका विरुद्ध, सिद्धान्तहीन काम कारबाहीका विरुद्ध, खराब प्रक्रियाका विरुद्ध र संस्थालाई प्लेटर्फम बनाई मागी खाने भाडो बनाउने र नेताको चाकरी गर्ने कुसंस्कारका विरुद्ध।

त्यसकारण धाधली, अनियमितता र सिद्धान्तहीन काम कारबाहीका विरुद्ध ऐक्यबद्धता जनाउनु हामी सबैको कर्तब्य हो। यस्तो सामाजिक हैजालाई समयमै निराकरण गर्नु र भविष्यमा यस्तो घीनलाग्दो, बेइमानी एवं कायरतापूर्ण परम्परालाई दुरुत्साहित गर्नु हरेक तप्कामा छरिएर रहेका हामी सम्पूर्ण नेपालीहरुको साझा कर्तब्य हो।

त्यसैले आउंदो अप्रिल १२ तारिख २००९ मा Alporton मा भेला भई यिनै विकृति र विसंगतीका विरुद्ध एकजुट भई विद्रोहको आवाज बुलन्द पारिदिनु हुन सम्पूर्ण न्यायप्रेमी नेपाली दाजुभाईमा हार्दिक निवेदन गर्न चाहन्छु।
Rajesh Kumar Bhaidya
And Friends from UK

Recent Videos:

Popularity: 9%

1 comment April 9th, 2009

करिष्मालाई १२ स्वर्ण पदक

एचकेनेपाल डट कम सम्वाददाता -
पौडीबाज करिष्मा कार्कीले राष्ट्रिय खेलकुदमा सर्वाधिक १२ वटा स्वर्ण पदक जितेर कीर्तिमान कायम गरेकी छिन्।

१७ वर्षीया ख्वप कलेज भक्तपुरकी छात्रा कार्कीले पौडीमा प्रतिस्पर्धा गरेका सबै १२ वटै इभेन्टमा स्वर्ण पदक जितेकी हुन्।

उनले २०० मिटर इन्डिभिजुयल मेडली, १०० मिटर ब्याकस्ट्रोक, १०० मिटर ब्रेस्ट स्ट्रोक, ५० मिटर फ्रिस्टाइल, २०० मिटर फ्रिस्टाइल, २०० मिटर ब्याकस्ट्रोक, ५० मिटर बटरफ्लाइ र महिला रिलेलगायत इभेन्टमा स्वर्ण पदक जितेकी हुन्।

उनका पिता ईश्वर कार्की पौडीका प्रशिक्षक हुन्।

२०५५ सालमा नेपालगञ्जमा सम्पन्न चौथो राष्ट्रिय खेलकुदको पौडीमा नयना शाक्यले ९ स्वर्ण पदक जितेर रेकर्ड कायम गरेकी थिइन्।

Recent Videos:

Popularity: 8%

Add comment April 9th, 2009

टेलिभिजनमा आन्दोलन

सुनिल गाउंले, वीरगञ्ज / एचकेनेपाल डट कम -
तराई टेलिभीजनमा कार्यरत श्रमजिवी पत्रकार तथा कर्मचारीहरुको आज सम्पन्न बैठकले रामनारायण कुर्मीको संयोजकत्वमा २५ सदस्यीय संर्घष समिति गठन गरी टेलिभिजन ब्यवस्थापन समक्ष ७ सुत्रिय माग अघि सारेको छ।

कर्मचारीमाथि षडयन्त्रपूर्वक जारी गरिएको सूचना खारेज गरिनुपर्ने, पेशागत सुरक्षाका लागि ४ दिनभित्र सम्पूर्ण कर्मचारीहरुलाई नियुक्तीपत्र दिनुपर्ने, टेलिभिजनको काठमाडौं शाखाबाट निष्कासन गरिएका सम्पूर्ण कर्मचारीलाई अबिलम्ब पुनर्बहाली गर्नुपर्ने, त्यस्तै शान्ति सुरक्षा प्रदान गरी संस्थामा बाहिरी हस्तक्षेप बन्द गरिनुपर्ने, तथा षडयन्त्रकारी कर्मचारीलाई निष्कासन गर्नुपर्ने लगायतका माग कर्मचारीहरुले अघि सारेका छन्।

संर्घष समितिका संयोजक रामनारायण कुर्मीले आजै एक प्रेस बिज्ञप्ति जारी गरी निर्धारित समयमा कर्मचारीको माग पूरा नगरे कडा संर्घषमा उत्रने चेतावनी दिनु भएको छ। टेलिभिजन ब्यवस्थापनको एक पक्षले समाचार तथा समाचारमूलक प्रस्तुती बन्द गरि त्यससंग सम्बन्धित सम्पूर्ण कर्मचारी निष्कासन गर्ने षडयन्त्र गरेपछि कर्मचारीहरु हिजोबाट आन्दोलित भएका हुन्।

टेलिभिजन परिसरमा नाराबाजी गर्दै ब्यवस्थापन बिरुद्ध धर्नामा बसेका कर्मचारी र टेलिभीजन ब्यवस्थापनको एक समूहसंग हिजो भएको प्रारम्भिक छलफलमा समाचार र समाचारमूलक प्रस्तुतीलाई निरन्तरता दिने र आन्दोलित कर्मचारीको माग पूरा गर्ने सहमति भएको थियो। प्रारम्भिक छलफलका क्रममा ब्यस्थापन पक्षका नरेन्द्र केडिया, रन्जीब पराजुली, त्यस्तै नेपाल पत्रकार महासंघ पर्सा सभापति शत्रुधन नेपाल, प्रेस युनियनका केन्द्रीय सदस्य दिपेन्द्र चौहान लगायतको उपस्थिति रहेको थियो। सहमतिपछि हिजो दिउंसो एक बजेबाट बन्द समाचार र समाचारमूलक प्रस्तुती सांझ सात बजेबाट सुचारु भएको हो।

सांझ सात बजेबाट धर्ना स्थगित गरी काममा फर्किएका पत्रकार तथा कर्मचारीहरुले आफ्नो शान्तिपूर्ण आन्दोलनलाई भने जारी राखेका छन्।

Popularity: 8%

Add comment April 9th, 2009

पाँच प्रस्तावित राजदूतको नाम अनुमोदन

एचकेनेपाल डट कम सम्वाददाता -
संसदीय विशेष सुनुवाई समितिको विहीवार सिंहदरवारमा बसेको बैठकले पाँचजना प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेको छ।

बैठकले बेलायतका लागि रामस्वार्थ राय, भारतका लागि चन्द्रकान्त पौडेल, जर्मनीका लागि सुरेस प्रधान, फ्रान्सका लागि सुरेन्द्रकुमार कार्की र अमेरिकाका लागि सुकदेव साहको नाम अनुमोदन गरेको छ।

मन्त्रिपरिषदद्वारा प्रस्तावित पाँच राजदूतको नाममा सर्वसम्मति हुन नसकेपछि संसदीय विशेष सुनुवाई समितिले पाँचजना प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको हो।

सुरेश प्रधान र सुकदेव साहका बिषयमा समिति सदस्यहरुको एक मत हुन सकेको थिएन। प्रधानले नेपाल-चिन मैत्री सन्धीको कागजात संचारमाध्यमलाई उपलब्ध गराएर राष्ट्रविरोधी काम गरेको र साहले अमेरिकाको ग्रीनकार्ड लिएका कारण उनलाई अनुमोदन गर्न नहुने माग अधिकांश सभासदले गरेका थिए। प्रधानको पक्षमा केही सभासद र साहको पक्षमा मधेशी जनअधिकार फोरमका सभासदले समर्थन गरेका कारण उनको नामसमेत अनुमोदन भएको थियो। समितिका एक सदस्यले मात्रै पनि प्रस्तावित नामको समर्थन गरे अनुमोदन हुने प्रावधान अनुसार विवादस्पद बनेका दुबैको नाम अनुमोदन भएको हो।

अनुमोदित नाम समितिले परराष्ट्र मन्त्रालयमा पठाएपछि एग्रीमोका लागि परराष्ट्रले सम्बन्धित मुलुकमा पठाउने व्यवस्था छ।

Popularity: 8%

Add comment April 9th, 2009

माले उम्मेदवार अपहरित

एचकेनेपाल डट कम सम्वाददाता -
संविधानसभा उपनिर्वाचनमा धनुषा क्षेत्र न. ५ मा मालेतर्फबाट उम्मेदवारी दिएका संतोष साह अपहरणमा परेका छन्।

साहसंगै उनका एक कार्यकर्ता बिहीबार बिहान करीव नौ बजे जनकपुर बसपार्क नजिक विन्धीबाट अपहरणमा परेका हुन्।

तराई राष्ट्रिय मुक्ति सेनाका सैन्य कमाण्डर आकाश त्यागीले अपहरणको जिम्मा लिएका छन्। उनले आफ्ना कार्यकर्ता अल्फाको कमाण्डमा अपहरण भएको संचारकर्मीलाई फोन गरेर अपहरणको जिम्मेवारी लिएका हुन्।

Popularity: 8%

Add comment April 9th, 2009

परराष्ट्रमन्त्री यादव हङकङ आउने

एस, हङकङ / एचकेनेपाल डट कम, अप्रिल ९ -
चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री उपेन्द्र यादव शुक्रवार साँझ हङकङ आउने भएका छन्। (more…)

Popularity: 8%

Add comment April 9th, 2009

देवकोटा महोत्सवका लागि एनआरएनबाट दस लाख रूपैयाँ सहयोग

एचकेनेपाल डट कम सम्वाददाता -
लक्ष्मीप्रसाद देवकोटा शतवार्षिकी समारोह समितिलाई रूसमा बस्ने नेपालीहरूका तर्फबाट गैरआवसीय नेपाली संघले दस लाख रूपैयाँ प्रदान गरेको छ।

त्रिमूर्ति निकेतनमा आयोजित एक समारोहका माझ संघका तर्फबाट जीवा लामिछानेले देवकोटा शताब्दी महोत्सवका अध्यक्ष डा.मोदनाथ प्रश्रितलाई सो रकम हस्तान्तरण गर्नुभयो।

त्यस अवसरमा देवकोटा शताब्दी महोत्सवका तर्फबाट सत्यमोहन जोशी, पं.श्यामदास वैष्णव, खनुप्रूदे रामबाबू, गोविन्द भट्ट, भद्रकुमारी घले, प्रा.डा.चूडामणि बन्धु, प्रा.राजेन्द्र सुवेदीले गैरआवासीय नेपाली सङ्घबाट नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि बराबर सहयोग भैरहेको बेहोरा उल्लेख गर्दै संघप्रति आभर प्रकट गर्नुभयो।

गैरआवसीय नेपाली संघबाट प्राप्त दस लाख रूपैयाँबाट महाकवि देवकोटा विषयक दसवटा कृति प्रकाशन गरिने देवकोटा शताब्दी महोत्सवका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभयो।

Popularity: 9%

Add comment April 9th, 2009

कुवेतमा फेरि अर्की नेपाली महिला ड्रगसहित पक्राउ

जय आले, कुवेत / एचकेनेपाल डट कम -
कुवेतको अपराध अनुसन्धान शाखाले लागु औषधसहित एक नेपाली महिलालाई पक्राउ गरेको छ। पक्राउ परेकी नेपाली महिलाको नाम किम कुमारी रहेको अरब टाइम्सले जनाएको छ।

पक्राउ परेकी किम कुमारीको थप विवरण भने सार्वजनिक गरिएको छैन। अरब टाइम्सले आँखामा कालो पट्टी बाँधी दुवै हातमा हत्कडी लगाइएको किम कुमारीको तस्वीर प्रकाशित गरेको छ। तस्वीरमा लागु औषधसहित केही सामाग्री देखाएको छ।

उनलाई साढे तीन किलोग्राम मरिजुआना नामक ड्रगका साथ तीन हजार सरकारी काम या प्रयोजनमा आउने टिकटहरु र कुवेतको स्वास्थ्य तथा श्रम मन्त्रालयसँग सम्बन्धित बिभिन्न किसिमका ८४ वटा छापसहित प्रकाउ गरेको जनाइएको छ।

किम कुमारीले प्रहरी बयानमा एक सहयात्री (बिजनेस पार्टनर) को नाम बताएकी छिन् र प्रहरीले उनकी सहयात्रीलाई खोजी गरिरहेको छ। प्रहरीको बयानमा उनकी सहयात्री महिला या पुरुष, नेपाली या बिदेशी हुन् भनेर केही खुलाइएको छैन।

अरब टाइम्समा उनी नेपालको कुन ठाँउकी हुन् भनेर थप विवरण दिएको छैन। कुवेतको कानुन अनुसार लागु औषध ओसारपसार र हत्या अपराधका दोषीहरुलाई मृत्‍यु दण्डको सजाय दिने प्रावधान् छ। अब हेरौं, किम कुमारीको भाग्यरेखाले के बताउने हो? सन् २००९ साल सुरु भए यता कुवेतमा नेपाली युवतीहरु ड्रगको धन्दामा पक्राउ परेको यो दोस्रो घटना हो। गत फेब्रुवरी १९ मा पनि यसरी नै एक नेपाली युवती आफ्नो बंगलादेशी प्रेमिका साथ ड्रग स्मग्लिङ गर्दा रंगे हात पक्राउ परेकी थिईन्।

कुवेतमा नेपालीहरुको यस्तै अपराधिक गतिविधिहरुले गर्दा र यस्तो किसिमको समस्याहरुलाई कानुनी तवरमा अगाडि बढाउन यहाँ नेपाल सरकारको तर्फबाट कुनै पनि सरकारी निकायहरु नभएको हुँदा २ नोभेम्वर २००७ देखि अधिकारिक रुपमा नेपालीलाई भिसा बन्द गरिएको छ। अब यहाँ पुनः भिसा खुल्ने र स्वाभिमानी नेपालीहरुलाई राम्रो दृष्‍टिले हेर्ने आशा न्युन भएको कुवेतवासी नेपालीहरुले बताएका छन्।

Popularity: 9%

8 comments April 9th, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2009
M T W T F S S
« Mar   May »
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Posts by Month

Posts by Category

More news....