Archive for April 10th, 2009

धमलालाई थुनामुक्त गर्न आदेश

एचकेनेपाल डट कम संवाददाता-
हातहतियार तथा खरखजाना सम्बन्धी अभियोगमा प्रहरी हिरासतमा रहेका रिपोटर्स क्वलका अध्यक्ष तथा पत्रकार ऋषि धमलालाई पुनरावेदन अदालत पाटनले साधारण तारेखमा रिहा गर्न शुक्रवार आदेश दिएको छ।

धमलालाई थुनामा राख्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेश कानुनबमोजिम नमिलेको ठहर गर्दै न्यायाधीशहरु मोहन घिमिरे र डा. आनन्द मोहन भट्टराईको संयुक्त इजलासले धमलालाई थुनामुक्त गर्न आदेश दिएको हो। धमलालाई तारेखमा राखेर अनुसन्धान गर्न पुनरावेदनले आदेश दिएको छ। उनीसँगै पक्राउ परेका रामशुभक महतो, वीरेन्द्र केएमलाई भने थुनामा राखेर अनुसन्धान गर्न आदेश दिइएको छ।

दुई महिनादेखि हातहतियार तथा खरखजानासम्बन्धी ऐन अन्तर्गत मुद्दामा थुनामा रहेका धमला अस्वस्थका कारण अदालतमा उपस्थित थिएनन्। छाति सम्बन्धी विमारले उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भैरहेको छ।

Recent Videos:

Popularity: 9%

1 comment April 10th, 2009

कोरियामा विदेशीमाथि अमानविय धडपकड

कोरियामा विदेशीमाथि अमानविय धडपकड
मानवअधिकारवादीहरुको ध्यानाकर्षण

डम्बर सुब्बा, दक्षिण कोरिया/ एचकेनेपाल डट कम -
दक्षिण कोरियाको थेजन शहरस्थित एक रेष्टुरेन्टमा कार्यरत दुई चिनीयाँ महिलामाथि कानून मन्त्रालय अन्तर्गतको अध्यागमन विभागका कर्मचारीले विहीवार अमानविय तरिकाले गरिएको धडपकडले मानवअधिकारीवादीहरुको ध्यानाकर्षण गराएको थेजन शहरबाट प्रकाशित हुने समाचारपत्र थेजनईल्बोले जनाएको छ।

समाचार पत्रले अध्यागमन विभागका कर्मचारीले धडपकडको क्रममा ती दुई महिलालाई जीवजन्तुलाई जस्तो व्यवहार मात्र नभएर कुटपिट समेत गरेको छ।
भिडीयो हेर्नुहोस्

यस सम्बन्धमा थेजनस्थित प्रवासी मजदुर मानवअधिकार सेन्टर प्रमुख समिन सिकले कानून मन्त्रालय अन्तर्गतका अध्यागमन विभागका कर्मचारीले विदेशी महिलामाथि गरेको हातपात सोझै गैरकानुनी बताउंदै त्यस सम्बन्धमा प्रहरीमा अनुसन्धानको लागि रिट दायर गरेका छौ भन्नुभयो।

धडपकड गर्ने अध्यागमन विभागका कर्मचारी भन्छन्- धडपकड गर्ने क्रममा साधारण झडप मात्र भएको हो। भाग्ने सम्भावना भएकोले साधारण त्रास देखाएको मात्र हो। त्यसलाई कुटपिट भन्न मिल्दैन। जे गर्नु छ गर्नु होस।

दक्षिण कोरियामा अध्यागमन विभागका कर्मचारीहरुको ज्यादत्तीले सिमा नाघेको छ। न्याय र कानुनको परिचालन गर्ने कानुन मन्त्रालयले कानुन विपरित कार्य गरी रहेको छ। गैरकानुनी विदेशी मजदुरहरुलाई बाटोमा हिडिरहेको अवस्थामा होस या कुनै कम्पनीमा पसेर धडपकड गर्दा अदालतको स्वीकृति पत्र भए मात्र धडपकड गर्ने नियम छ। साथै धडपकडको क्रममा हातपात, गालीगलैज जस्ता मानवअधिकारको हनन हुने किसिमको कार्य गर्ने मनाही छ। तर सो नियमको एक पल्ट पनि पालना गरेको पाईदैन।

Popularity: 9%

6 comments April 10th, 2009

ताम्सालिङ संघर्ष समितिलाई पूर्ण समर्थन

नेपाल प्रवासी तामाङ समाज कतार - प्रेस विज्ञप्ति
तामाङ जाति नेपालको सवै भन्दा पुरानो आदिवासी जनजाति अर्न्तर्गत पर्दछ भन्ने कुरा सवैलाई सर्वविधितै छ। तामाङ जातिको बसोवास नेपाल अधिराज्य भर छरिएर रहेता पनि विषेश गरि काठमाडौ उपत्यका वरिपरिका जिल्लाहरुः नुवकोट, धादिङ, रसुवा, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, रामेछाप र दोल्खामा केन्द्रित छन। साथै काठमाडौ, ललितपुर र भक्तपुर जिल्लाका अधिकांश गा.वि.स. हरुमा पनि तामाङहरुको बाहुल्यता रहेको छ। २०५८ सालको जनगणना अनुसार तामाङहरुको जनसंख्या १२,८२,३०४ रहेका छ, जुन कुल जनसंख्याको ५.५४ प्रतिशत ओगटेको छ। यसरी नेपालमा भाषिक र जातिय रुपमा तामाङहरुले पाँचौ स्थान ओगटेको छ।

नेपालमा शाहवंश र राणाकालीन तानाशाही शासनको दमन र शोषनका कारण तामाङ जातिको धार्मिक, सांस्कृतिक, नैतिक, भौतिक, आर्थिक र शैक्षीक विकाशमा बाधा र ओझेलमा पारिएको थियो। २०४६ साल पछिको बहुदलिय प्रजातन्त्रपछि पनि ठूला दलहरुले ताम्सालिङ क्षेत्रलाई भोटको खानीको रुपमा मात्र प्रयोग गरेर जातिय हकहित र आरक्षणमा कुनै पहल नदेखाएपछि हाल तामाङहरुले आत्मनिर्णयको अधिकारसहित जाति, भाषा र क्षेत्रको आधारमा संघीय राज्यको स्थापना गर्नु पर्ने मागसहित ताम्सालिङ प्राप्तिको लागि देशभरमा संर्घष गरि रहेका छन। यस अवस्थामा नेपाल प्रवासी तामाङ समाज कतार पनि आफ्नो जातिय हक हित र अधिकारको लागि ताम्सालिङ संर्घष समितिलाई पूर्ण रुपमा समर्थन जनाउदै प्रवासमा रहेर पनि यस संघर्ष समितिलाई गर्नु पर्ने नैतिक र भौतिक सहयोग गर्न सदैव तत्पर रहने अवगत गराउन चाहन्छौ। जवसम्म हाम्रो माग पूरा हुदैन, तवसम्म तामाङ जातिको विकास, धर्म, भाषा लिपी र राजनीति सबै कुराको विकास हुन सक्दैन। यसको लागि सबै तामाङहरू एक जुट हुनुपर्छ र आफ्नो अधिकार प्राप्तिको लडाईंमा अझ डटेर लाग्नुपर्छ । यस घडिमा हामी तामाङ समुदायहरु एक जुट भएर लागेन भने हामी माथिको जातिय दमन कहिल्यै पनि अन्त हुदैन र ताम्सालिङ स्वायत्त प्रदेश प्राप्ति पनि संभव छैन। त्यसैले राष्ट्रको संविधान जस्तो महत्वपूर्ण अंग निर्माणाधिन रहेको अवस्थामा संविधान निर्माणका लागि निर्वाचित सभासदहरु, तामाङ विद्वान र बुद्धिजिवी वर्गहरु, तामाङ पत्रकारहरु, तामाङ उद्योगपति तथा व्यावसायीहरु, राष्ट्रिय र अन्तर्राष्ट्रिय तामाङ संघ संस्थाहरु तथा तामाङ विद्यार्थीहरु सवै सचेत भएर एकजुट भई संघर्ष जारी राख्न पनि हामी अपिल गर्दछौ।

आगमी नयाँ नेपालको संविधानमा राज्यको पुनः संघिय संरचना आत्मनिर्णयसहितको जाति, भाषा, क्षेत्रको आधारमा हुनु पर्ने र ताम्सालीङ स्वायत्त प्रदेश लगायतको विभिन्न जातिय भाषिक एवं क्षेत्रीय प्रदेशहरुको व्यवस्था गरिनु पर्ने साथै राज्यको सवै अंगमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था हुनु पर्ने आह्वानका साथ ताम्सालिङ संघर्ष समितिको माग पुरा नभएसम्म नेपाल प्रवासी तामाङ समाज कतार पनि ताम्सालिङ संघर्ष समितिले गरिरहेको आन्दोलनमा एक्येवद्धता रहेको यस प्रेस विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छौं।
शंखलाल तामाङ
का.वा. अध्यक्ष
इन्द्रबहादुर तामाङ
सचिव

Popularity: 9%

Add comment April 10th, 2009

कास्कीको मतदानमा भोटिङ मेसिन खराबी

एचकेनेपाल डट कम संवाददाता-
संविधानसभा उपनिर्वाचनअन्तर्गत कास्की क्षेत्र नं.१ मा आज बिहान ८ बजेदेखि मतदान सुरु भएको छ। बिहान ८ बजेदेखि मतदान सुरु भए पनि त्यसअघि नै मतदाताहरू लाइनमा बसेका थिए। यस क्षेत्रका मतदाताले पहिलो पटक विद्युतीय यन्त्रबाट मतदान गर्ने अवसर पाएकाले उनीहरू निकै उत्सुकतापूर्वक मतदानमा सहभागी भएको पाइएको छ।

तर कतिपय मतदान केन्द्रमा भोटिङ मेसिन चल्न सकेको छैन भने केही केन्द्रमा मेसिन ढिलो खुलेको पाइएको छ।

मिजुरे गाविसको वुथ ग मा ढिलासम्म भोटिङ मेसिन खुल्न नसकेकाले मतदाताहरू अन्यौलमा परेका थिए। यसबारे निर्वाचन कार्यालयलाई जानकारी गराइएपछि नयाँ मेसिनसहित हेलिकप्टर पठाइएको थियो। तर त्यो आइपुग्नुअघि नै मेसिन खुल्यो।

त्यस्तै कालिका ठुलाकोटस्थित जनज्योति मावि केन्द्रमा भोटिङ मेसिन आधा घण्टापछि खुलेको थियो।

निर्वाचनमा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको लेखनाथ नगरपालिका पचभैया मतदान केन्द्रमा पुगेका मतदाता हरि घिमिरेले बताए।

यस निर्वाचनका लागि कास्की क्षेत्र नं. १ मा ९२ हजार ५२८ मतदाता रहेका छन्। सो क्षेत्रका ४८ स्थानमा १०४ मतदान केन्द्र रहेको निर्वाचन कार्यालय, कास्कीका प्रमुख घनश्याम भण्डारीले जानकारी दिए।

निर्वाचनका लागि प्रशासनले सुरक्षा व्यवस्था कडा तुल्याएको छ। निर्वाचनमा सशस्त्र र जनपद गरी एक हजार ६०० सुरक्षाकर्मी परिचालन गरिएको छ।

कास्की क्षेत्र नं. १ मा लेखनाथ नगरपालिकाका १५ वडा र १५ वटा गाविस रहेका छन्। यस क्षेत्रमा चार स्वतन्त्रसहित १४ राजनीतिक पार्टीका १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

Popularity: 9%

Add comment April 10th, 2009

उपनिर्वाचनको परिणामले माओवादीको लोकप्रियता जाँचिने

एचकेनेपाल डट कम संवाददाता-
नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले संविधानसभा उपनिर्वाचनमा हुने हारजितको परिणामले एकीकृत नेकपा (माओवादी)को लोकप्रियता आँकलन हुने बताउनुभएको छ।

संविधानसभा उपनिर्वाचनअन्तर्गत मोरङ निर्वाचन क्षेत्र नं.७ विराटनगरस्थित आदर्श विद्यालयको मतदान केन्द्रमा आज बिहान मतदान गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले सो टिप्पणी गर्नुभएको हो।

भात पाकेको छ, छैन त्यसको आकलन एक सिताबाट थाहा हुन्छ भने झैँ माओवादीको अवस्था पनि यस निर्वाचनबाट थाहा हुन्छ,’ उहाँले भन्नुभयो।

निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न हुन्छ भन्नेमा आफू विश्वस्त रहेको पनि उहाँले बताउनुभयो।

Popularity: 9%

Add comment April 10th, 2009

आज उपनिर्वाचन, मोरङमा पहिलो मतदाता कोइराला

एचकेनेपाल डट कम संवाददाता-
संविधानसभा उपनिर्वाचनअन्तर्गत मोरङको दुई निर्वाचन क्षेत्रमा आज बिहान ८ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान कार्य सुरु भएको छ।

सिम¬सिम पानी परिरहे पनि मोरङ क्षेत्र नं. ५ र क्षेत्र नं. ७ अन्तर्गतका मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताहरू लाम लागेका छन्।

क्षेत्र नं. ५ का २३ स्थानमा ७० मतदान केन्द्र र क्षेत्र नं. ७ को २४ स्थानमा ७५ मतदान केन्द्र छन्। यी दुवै क्षेत्रमा विद्युतीय उपकरणबाट पहिलो पल्ट मतदान भइरहेको छ।

नेकपा माओवादी (मातृका समूह) र एकीकृत नेकपा (माओवादी) बीच बुधबार राति भएको भिडन्तका कारण मतदान केन्द्रहरूमा विशेष सुरक्षा सतर्कता अपनाइएको छ।

निर्वाचन कै विषयलाई लिएर उक्त समूहबीच भिडन्त हुँदा दुई प्रहरीसहित दुवै समूहका २० जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए।

यसैबीच, पूर्व प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले संविधानसभा उपनिर्वाचनअन्तर्गत मोरङ क्षेत्र नं. ७ को विराटनगर उपमहानगरपालिका वडा नं. ९ स्थित आदर्श विद्यालय मतदान केन्द्रमा मतदान गर्नुभयो।

सभापति कोइराला उक्त मतदान केन्द्रमा मतदान गर्ने पहिलो व्यक्ति हुनुहुन्थ्यो।

Popularity: 9%

Add comment April 10th, 2009

आफ्नै श्रीमतिको हत्या प्रयास

एचकेनेपाल डट कम संवाददाता-
गोरखा जिल्ला गाइखुर गाउँ विकास समिति कालामाटा निवासी भावेस भट्टले आफ्नै २८ वर्षीया श्रीमती बसन्ती भट्टको हत्याको प्रयास गरेका छन्।

सामान्य घरायसी विवाद मै ३० वर्षीय भट्टले श्रीमतीलाई खुर्पा प्रहार गरी हत्या गर्ने प्रयास गरेका हुन्। बसन्तीको टाउकोमा गम्भीर चोट लागेको र हाल उनको स्थानीय सामुदायिक अस्पाताल तुरुतुरेमा उपचार भइरहेको छ।

स्थानीय छिमेकीको सहयोगमा हत्या प्रयास असफल भएपछि भट्ट भागेका छन्। इलाका प्रहरी कार्यालय, ठाँटीपोखरीले खोजी कार्य अगाडि बढाएको छ।

एक हप्ताअघि सोही क्षेत्रको मिरकोट गाउँ विकास समितिमा एक श्रीमानले आफ्नी श्रीमतीको घाँटी रेटेर हत्या गरेका थिए।

गोरखामा यस्ता आपराधिक घटनाहरूमा वृद्धि हुँदै गइरहे पनि यसको रोकथामका लागि कुनै पहल सुरु भएको छैन। धेरैजसो घटना गरिबीका कारण हुने गरेको पाइएको छ।

Popularity: 9%

Add comment April 10th, 2009

सहरका महाफटाहा सुध्रिएनन्:अर्थमन्त्री

एचकेनेपाल डट कम संवाददाता-
अर्थमन्त्री डा.बाबुराम भट्टराईले माओवादीको १० वर्षे जनयुद्धको समयमा गाउँका जाली फटाहा रूपान्तरित भए पनि सहरका जाली फटाहा नसुध्रिएको बताउनुभएको छ।

नेपाल इन्जिनियरिङ पूर्वाधार विकास समाजले आयोजना गरेको ‘राज्य पुनर्संरचना र इन्जिनियरिङ दृष्टिकोण’ विषयक कार्यशाला गोष्ठीमा डा भट्टराईले अझै पनि फटाहाहरू नसुध्रिनु चिन्ताको विषय भएको बताउनुभयो।

‘सहरका महाफटाहाहरू अझै सुध्रिएका छैनन्’ डा. भट्टराईले भन्नुभयो, ‘त्यसैले सामन्तवादको जराको जरा उखेल्ने काम अझै पूरा भएको छैन।’

उहाँले श्रीपेच वा टोपी लगाएको कुनै पनि राजा अब नफर्किने ठोकुवा गर्दै भन्नुभयो, ‘अब नेपालमा कुनै पनि प्रकारको राजतन्त्र फर्कंदैन।’

माओवादी वरिष्ठ नेता डा भट्टराईले सङ्घीयतालाई जातिवादी अवधारणामा मात्र व्याख्या गरिँदा देश सङ्कटमा पर्ने बताउनुभयो। उहाँले संघीयतालाई वस्तुवादी ढङ्गले व्याख्या गर्नुपर्ने पनि बताउनुभयो।

‘जातिवादी अवधारणामा मात्र व्याख्या गरिँदा विखण्डनका कुरा पनि उठाउन थालिएको छ।’ उहाँले भन्नुभयो, ‘त्यसैले भूगोल र आर्थिक समानतालाई आधार मान्नु पनि आधार मान्न आवश्यक छ।’

Popularity: 9%

Add comment April 10th, 2009

परीक्षा नियन्त्रण कार्यालय र रजिष्ट्रारको कार्यालयमा तालाबन्दी

एचकेनेपाल डट कम संवाददाता-
अनेरास्ववियु (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा शुल्कलगायतमा हालै गरेको शुल्क वृद्धिका विरुद्धमा परीक्षा नियन्त्रण कार्यालय, बल्खु र रजिष्ट्रारको कार्यालयमा हिजोदेखि अनिश्चितकालीन तालाबन्दी गरेको छ।

विद्यार्थी सङ्गठनहरूबीच कुनै छलफल नै नगरी एकाएक गरिएको शुल्क वृद्धिले विद्यार्थी वर्गमा थप समस्या उत्पन्न गरेको भन्दै उक्त विद्यार्थी सङ्गठनले शुल्क वृद्धिको निर्णय तुरुन्त फिर्ता लिनुपर्ने माग राख्दै तालाबन्दी गरेको हो।

यसैबीच त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा.माधव शर्माले विश्वविद्यालयले परीक्षालगायतका शीर्षकमा शुल्क वृद्धि गर्नु विश्वविद्यालयको बाध्यता भएको बताउनुभयो।

उपकुलपति शर्माले १३-१४ वर्षअघि निर्धारण गरिएको शुल्कले वर्तमान अवस्थामा कुनै पनि हालतमा धान्न नसक्ने भएका कारण शुल्क वृद्धि गर्नु विश्वविद्यालयका लागि बाध्यता भएको दोहोर्‍याउनुभयो।

Popularity: 9%

Add comment April 10th, 2009

सञ्चार प्रतिष्ठानमा न्यूनतम पारिश्रमिक वैशाखदेखि लागू

एचकेनेपाल डट कम संवाददाता-
सरकारले श्रमजीवी पत्रकार ऐन र नियमावलीबमोजिम पारिश्रमिक निर्धारण समितिले गरेको न्यूनतम पारिश्रमिकसम्बन्धी व्यवस्था आगामी २०६६ साल वैशाख १ गतेदेखि कार्यान्वयनमा ल्याउन सबै सञ्चार प्रतिष्ठानलाई सूचित गरेको छ।

सूचना तथा सञ्चार मन्त्रालयद्वारा जारी विज्ञप्तिमा श्रमजीवी पत्रकार ऐन र नियमावलीका अधिकांश प्रावधान सरकारको मातहतमा सञ्चालित गोरखापत्र, नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समिति र रेडियो नेपालमा लागू भइसकेको उल्लेख छ।

पारिश्रमिक निर्धारण समितिले सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकारहरूका लागि रु.पाँच हजार २०० र कामदार एवम् कर्मचारीका लागि रु. चार हजार ६०० निर्धारण गरेको छ।

उक्त व्यवस्था निजी क्षेत्रमा सञ्चालित सबै सञ्चार प्रतिष्ठानले वैशाख १ गतेदेखि कार्यान्वयनमा ल्याउनुपर्ने विज्ञप्तिमा जनाइएको छ।

श्रमजीवी पत्रकार ऐनमा भएका अन्य प्रावधानहरूलाई सरकारको स्वामित्वमा रहेका सबै सञ्चार प्रतिष्ठान, सबै टेलिभिजन स्टेसन, नेटवर्कमा रहेका वा एकभन्दा बढी स्टेसन चलाएका सबै एफएम रेडियो तथा राष्ट्रिय ‘क’ वर्गमा परेका दैनिक, साप्ताहिक र पाक्षिक म्यागेजिनसमेतका पत्रपत्रिकाले आगामी आर्थिक वर्ष ०६६/६७ देखि लागू गर्ने गरी तयारी गर्नुपर्नेछ।

सञ्चार प्रतिष्ठानमा कार्यरत स्ट्रिङ्गरको पारिश्रमिकका हकमा पारिश्रमिक निर्धारण समितिले निर्धारण गरेभन्दा न्यूनतम पारिश्रमिक कम नगरी वैशाख १ गतदेखि नै लागू गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

Popularity: 9%

Add comment April 10th, 2009

करिश्माद्वारा राष्ट्रिय कीर्तिमान

एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रिय खेलकुद क्षेत्रमा सबैभन्दा बढी स्वर्ण पदक विजेता पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडी खेलमा सहभागी भएकी करिश्मा कार्की बन्न सफल भएकी छिन्। करिश्मा सो प्रतियोगितामा १२ वटा स्वर्ण जितेर राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएकी हुन्। मेहनत गरेअनुसार राम्रो परिणाम मिलेकोमा खुशी प्रकट गर्दै करिश्माले दक्षिण एसियाली खेलकुद प्रतियोगितामा कम्तीमा कास्य पदक हात पार्ने बताइन्।

उनले पौडीका १२ वटा इभेन्टमा भाग लिएकामा सबैमा स्वर्ण जित्‍न सफल भइन्।

हिजो भएको चार वटा इभेन्टमा चारवटै स्वर्ण जितेर उनले १२ वटा स्वर्ण पुर्‍याएकी हुन्। उनले हिजो भएको इन्डिभिजुएल मेडलीको २०० मिटर, व्याकस्ट्रोकमा १०० मिटर, ब्रेस्टस्ट्रोकमा १०० मिटर र फ्रिस्टाइलमा ५० मिटरमा स्वर्ण जितेकी हुन्।

यसअघि नेपालगन्जमा २०५५ सालमा सम्पन्न चौथो राष्ट्रिय खेलकुद प्रतियोगितामा नयना शाक्यले नौ वटा स्वर्ण पदक जितेकी थिइन्। पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगितामा भने नयनाको राष्ट्रिय कीर्तिमान तोड्न करिश्मा सफल भइन्।

Popularity: 9%

Add comment April 10th, 2009

काँग्रेसले संसद चल्न नदिनेः देउवा

एचकेनेपाल डट कम संवाददाता-
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी लडाकूको समायोजन नभएसम्म उनीहरूले औपचारिकरूपमा राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन नपाउने धारणा व्यक्त गर्नुभएको छ।

नेता देउवाले माओवादी लडाकूलाई राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी गराइएपछि नेपाली सेनाले आफ्ना खेलाडी फिर्ता बोलाउनु उचित भएको बताउनुभयो।

पत्रकारहरूको प्रश्नको जवाफमा उहाँले काङ्ग्रेसको नौ बूँदे सर्त कार्यान्वयन नभएसम्म संसद चल्न नदिने चेतावनी पनि दिनुभयो।

नेपाली काङ्ग्रेस अहिले सत्ता परिवर्तनको खेलमा नलागेको नेता देउवाले स्पष्ट गर्नुभयो।

Popularity: 9%

Add comment April 10th, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2009
M T W T F S S
« Mar   May »
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Posts by Month

Posts by Category

More news....