Archive for April 12th, 2009

सगरमाथामा क्रिकेट खेल्न गएका क्रिकेटरहरूलाई अवरोध

एचकेनेपाल डट कम संवाददाता-
विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित पाँच हजार १६५ मिटर अग्लो गोरकशेपमा हुन लागेको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुन त्यस क्षेत्रमा गएका बेलायती क्रिकेटर टोलीलाई सगरमाथा राष्ट्रिय निकुञ्जले भित्र पस्न दिएन।

निकुञ्जका वार्डेन रामचन्द्र कडेँलले अनुमति पत्र नभएको र जनताको दबाब आएको भन्दै उनीहरुलाई रोकेका हुन्। प्रतियोगिताका लागि त्यहाँ पुगेका सो टोली निकुञ्जको प्रवेशस्थल भञ्जो जोरसल्लेमा रोकिएका छन्।

वैशाख ८ गतेदेखि सुरू हुने क्रिकेट प्रतियोगितामा बेलायत, अस्ट्रेलिया र न्युजिल्याण्डका ४३ जना खेलाडी सहभागी हुदैछन्।

विश्वकै सबभन्दा अग्लो स्थानमा आयोजना हुन लागेको क्रिकेट प्रतियोतिगाले विश्व रेकर्ड कायम गर्नुका साथै नेपाललाई साहसिक खेल पर्यटनको उत्कृष्ट गन्तव्यस्थलका रूपमा परिचित गराउनेछ।

बेलायतको हिमालय ट्रष्टको सहयोगमा आयोजना गर्न लागिएको सो प्रतियोतिगामा बेलायतका क्रिकेटरहरू जेम्स कर्टली, कार्डिक, डेभिडलगायतका प्रख्यात खेलाडीहरूको सहभागिता रहने र सो खेलका लागि शनिबार नै खेलाडीहरू सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका थिए।

यसअघि शनिवार पत्रकार सम्मेलनमा बोल्दै क्रिकेट टोली नेता रिचार्ड क्रिस्लेले सगरमाथाको काखमा प्रतियोगिता आयोजना गर्नु जोखिमपूर्ण रहेपनि साहसिक र रोमाञ्चकारी हुने भएकाले खेलाडीहरू मानसिक र भौतिकरूपमा तयार रहेको बताएका थिए। उनले यस खेलको सफलतापछि सगरमाथाको महत्व विश्वमा अझ उजागर हुनुका साथै नेपालमा खेल पर्यटनको विकासमा सघाउ पुग्ने विश्वास पनि व्यक्त गरेका थिए।

Recent Videos:

Popularity: 9%

Add comment April 12th, 2009

धमला रिहा भए

एचकेनेपाल डट कम संवाददाता-
हातहतियार तथा खरखजाना सम्बन्धी अभियोगमा प्रहरी हिरासतमा रहेका रिपोटर्स क्वलका अध्यक्ष तथा पत्रकार ऋषि धमला आइतवार रिहा भएका छन्। पुनरावेदन अदालत पाटनले धमलालाई साधारण तारेखमा रिहा गर्न शुक्रवार आदेश दिएको थियो।

धमलालाई थुनामा राख्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेश कानुनबमोजिम नमिलेको ठहर गर्दै न्यायाधीशहरु मोहन घिमिरे र डा. आनन्द मोहन भट्टराईको संयुक्त इजलासले धमलालाई शुक्रवार थुनामुक्त गर्न आदेश दिएको थियो। धमलालाई तारेखमा राखेर अनुसन्धान गर्न पुनरावेदनले आदेश दिएको छ। उनीसँगै पक्राउ परेका रामशुभक महतो, वीरेन्द्र केएमलाई भने थुनामा राखेर अनुसन्धान गर्न आदेश दिइएको छ।

Recent Videos:

Popularity: 9%

1 comment April 12th, 2009

प्रधानमन्त्री हदै लचिलो हुन तयार

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवरुद्ध संसद सुचारु गराउन आफू हदैसम्म लचिलो हुन तयार रहेको बताउनुभएको छ। उहाँले संसद सुचारु र समयमा नै संविधान लेख्न आफू दृढ रहेको पनि बताउनुभयो।

नारायणी भूतपूर्व विद्यार्थी शिवनगर चितवनले आयोजना गरेको नयाँ वर्ष २०६६ सालको शुभकामना आदानप्रदान कार्यक्रम प्रधानमन्त्रीले उहाँले अहिले राष्ट्रसामु विभिन्न चुनौती रहेकाले मिलेर अघि बढ्न तथा यो अभियानमा आफूलाई सहयोग गर्न सबैलाई आह्वान गर्नुभयो।

अस्थिर शान्तिलाई दिगो शान्तिमा स्थापित गर्ने लक्ष्यका साथ आफू लागिपरेको समेत उहाँले बताउनुभयो। प्रधानमन्त्रीले आफूले पढेको शिवनगर स्कुललाई सुविधासम्पन्न बनाउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Popularity: 9%

Add comment April 12th, 2009

न्यायालय पनि जनताको हातमा हुनुपर्छः भट्टराई

एचकेनेपाल डट कम संवाददाता-
अर्थमन्त्री डा. बाबुराम भट्टराईले जसरी कार्यपालिका र व्यवस्थापिका जनताको हातमा हुन्छ, त्यसरी नै न्यायालय पनि जनताको हातमा हुनुपर्ने बताउनु भएको छ। गोरखा निर्वाचन क्षेत्र नं २ मा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले सार्वजनिक ठाउँमा जन भावनालाई कदर गर्ने प्रण गर्दा अदालतको मानहानि भयो भनेर कारबाही गर्न खोज्नु उचित नहुने धारणा व्यक्त गर्नुभयो।

बेपत्ता आयोग निर्माण गर्नमा समेत न्यायालयले बखेडा झिकी सरकारलाई भाँजो हालेको उहाँले आरोप लगाउनुभयो।

सरकार त्रि-खुट्टे दौडमा रहेकाले जनताले सोचेअनुसारको काम देशमा नभएको अर्थमन्त्रीले बताउनुभयो।

‘दसवर्षे जनयुद्ध लडेर गणतन्त्र ल्यायौँ, २४० वर्षे निरङ्कुश राजतन्त्रलाई ढाली छाडयौँ, अझ त्यही राजतन्त्रलाई ब्यूँत्याउने नाउँमा दिल्ली दौडाहा भयो, त्यो राजतन्त्र ब्यूँत्याउन सम्भव नभएपछि देश र जनताका विरुद्ध अर्को षडयन्त्र गर्न थालिएको छ ‘ उहाँले उल्लेख गर्नुभयो।

आफ्नो बच्चाको माया उसको आमालाई हुन्छ, सुँडेनीलाई होइन, गणतन्त्र जन्माएको माओवादी यसलाई हुर्काएर अगाडि बढाउन कुनै कसर बाँकी राख्ने छैन भन्दै गरिब, निमुखा, महिला, आदिवासी, जनजाति, मधेसी, उत्पीडित सम्पूर्ण समुदायको र नेपाली राष्ट्रियताको लागि एकीकृत नेकपा माओवादी जुनसुकै मूल्य चुकाउन तयार रहेको उहाँले बताउनुभयो।

डा. भट्टराईले भन्नुभयो- “हामीले हिम्मत हारेका छैनौँ। हामी अगाडि बढिरहने छौँ। अगाडि बढ्ने म्यान्डेट हामीलाई नेपाली जनताले दिएका छन्।”

Popularity: 9%

1 comment April 12th, 2009

संविधानमा सरकारको स्वरुपमा बढी विवाद

एचकेनेपाल डट कम संवाददाता-
संवैधानिक समितिका सभापति माधव नेपालले नयाँ संविधान लेखनमा बढी विवादास्पद विषयका रुपमा रहन सक्ने सरकारको स्वरुपसम्बन्धी विषयमा देशव्यापी छलफल हुनुपर्ने बताउनुभएको छ।

संवैधानिक कानुन व्यवसायी मञ्चद्वारा आयोजित ‘भावी संविधानमा सरकारको स्वरुप’ विषयक अन्तरक्रियामा उहाँले नयाँ नेपाल निर्माणका लागि लागिपरेका देशका सबै दल एवं प्रजातान्त्रिक शक्ति, सरकारको स्वरुप र सङ्घीयताजस्ता विषयमा गम्भीर हुनुपर्ने धारणा राख्नुभयो।

राष्ट्रपतीय एवं संसदीय कुन शासन प्रणालीको अवलम्बन गर्ने भन्ने विषय अझै पनि निश्चित भइनसकेको तर संसारमा प्रचलनमा रहेको कुनै पनि प्रणाली आफैमा पूर्ण नरहेकाले नेपालको आवश्यकता र भावनाअनुरुपको शासन प्रणाली अपनाउन सकिने उहाँले बताउनुभयो।

Popularity: 9%

Add comment April 12th, 2009

सरकारविरुद्ध लाग्नेसित लड्न तयारः अर्थमन्त्री

एचकेनेपाल डट कम संवाददाता-
अर्थमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारले अहिलेसम्मकै ठूलो र प्रभावकारी जनमुखी कार्यक्रम ल्याएको चर्चा गर्दै यसबाट अत्तालिएर केही राजनीतिक दल सरकारको खिलाफमा लागेको दाबी गर्नुभयो।

उहाँले भन्नुभयो- “सरकारको विरुद्ध लाग्ने जो कोहीसँग पनि लड्न हामी तयार छौं।”

सरकारलाई असफल बनाउन स्वयं सरकारमा सामेल दलहरू नै क्रियाशील रहेको भन्दै उहाँले सरकारमा बसेर पनि सदन अवरुद्ध गरी एमालेले अन्तरघात गरेको बताउनुभयो।

एमालेले अहिले धुन्धकारी चरित्र देखाएको भन्दै उहाँले एमालेलाई आफ्नो चरित्र सुधार्न सुझाव दिनुभयो।

नेपाली जनताले रगत बगाएर ल्याएको लोकतन्त्र र गणतन्त्र अझै सुरक्षित नभएको भन्दै उहाँले यसप्रति सजग हुन आग्रह गर्नुभयो।विकासको फल ग्रामीण क्षेत्रसम्म पुर्याउन सरकार कटिबद्ध रहेको बताउनुभएको छ।

Popularity: 9%

1 comment April 12th, 2009

माल्दिभ्समा नेपाली नयाँ वर्ष हर्सोल्लासका साथ मनाइयो (+Photo)

नेत्रप्रसाद शर्मा, माल्दिभ्स / एचकेनेपाल डट कम -
नेपाली नव वर्ष २०६६ सालको उपलक्ष्यमा नेपाल-माल्दिभ्स मैत्री समाजले एक भब्य पिकनिक कार्यक्रमको आयोजना गरी नयाँ वर्ष मनाएको छ।


माल्दिभ्सको राजधानी मालेबाट झन्डै साढे १ घण्टाको दूरीमा अबस्थित बडोहुरा नामको टापुमा कार्यक्रम सम्पन्न भएको थियो। माल्दिभ्समा कार्यरत जेष्ठ नागरिक भूवन गुरुङको अध्यक्ष्यता सम्पन्न कार्यक्रमको सञ्चालन समाजका सचिब रघुनाथ भट्टराईले गरेका थिए। पिकनिक कार्यक्रमको लागि आवश्यक स्थान, म्युजिक सिस्टम तथा अन्य आवश्यक सर-सामानको ब्यबस्था फोर-सिजन रिसोर्टमा कार्यरत नेपालीले गरेका थिए। यातायातको बन्दोबस्ती समाजका सल्लाहकार चित्रराज पौडेलले गरेका थिए। कार्यक्रमलाई रोचक बनाउन त्रराज पौडेल र एपि शेर्पाको संयोजनमा तथा टिकाराम रेग्मीको सहयोगमा भलिबल प्रतियोगिता र कुमारी जिसिको संयोजनमा घैटो पुटाउने प्रतियोगित सम्पन्न भएका थिए।

त्यस्तै गरी, साहित्यप्रेमीहरुको लागि साहित्य-श्रीजना तथा शुभ-कामना कार्यक्रम नेत्रप्रसाद शर्माको संयोजनमा सम्पन्न भएको थियो। शर्माले सम्पूर्ण नेपालीमा नयाँ वर्षको शुभकामना साथै एक ब्यङ्यात्मक तथा चेतनामूलक कबिता बाचन गरे। कार्यक्रममा सल्लाहकार यलिना लोहारले नयाँ वर्षको शुभकामना मन्तव्य व्यक्त गरे। कार्यक्रममा बोल्दै झुमा घलेले सम्पूर्ण नारीहरुलाई सचेत हुन सलाह दिए। सचिब रघुनाथ भट्टराई र कार्यक्रमका अध्यक्ष भूवन गुरुङले सहयोगको लागि सबैलाई धन्यवाद तथा शुभकामना दिदै आगामी दिनहरुमा पनि सबैको सहयोगको अपेक्षा गरेका थिए।


Popularity: 9%

1 comment April 12th, 2009

सुडान लैजाने भन्दै मानव तस्करी (+Photo)

दीपक पौडेल, दोहा, कतार / एचकेनेपाल डट कम -
बैदेशिक रोजगारीका लागि नेपालीलाई सुडान पठाउन नेपाल सरकारले निषेध गरेको हुँदाहुँदै पनि मानव तस्करी गर्नेहरूले सुडान पठाइदिने प्रलोभन देखाउन शुरु गरेका छन्। यसअघि पनि बैदेशिक रोजगारीमा नेपाली सुडान गएको कुनै उदाहरणसमेत नभएको अवस्थामा सुडान पठाउने प्रलोभन देखाई केहि नेपाली युवाहरूलाई कतारमा ल्याई अलपत्र पारिएको छ।


सुडान पठाउने आश्वासनमा मोटो रकम कुम्ल्याउने गिरोह सक्रिय रहेको खुलासा भएको छ। सुडान जाने भनेर दलाललाई १ लाख ८० हजार रुपैया तिरेर दुई साताअघि कतार आएका गुल्मी भुतुङ- २ भीरवासका १८ वर्षीय शेरबहादर क्षेत्रीले नेपाली दूतावासमा सो गिरोहवारे जानकारी गराएका छन्। दोहामा अलपत्र बनेपछि सहायता खोज्दै दूतावास आएका क्षेत्रीले नेपालमा दुर्गा सिंह क्षेत्री र सविन लामाले सुडान पठाउने आश्वासन दिई कतार पठाएको बताए। उनीहरूका कतारस्थित एजेन्ट अर्जुन बम नामका ब्यक्तिले ‘सुडान जानका लागि चाहिने थप रकम भुक्तान गर्नु अनि पठाइदिन्छु’ भन्ने आश्वासन दिएर कतार आइसकेपछिसम्म पनि ठग्ने प्रयास गरिरहेको दुखेसो उनले दूतावासलाई सुनाएका छन्। पैसा फिर्ता एवं आफूलाई सकुशल मुलुक पठाउन निवेदनसहित तस्करीमा संलग्न गिरोहलाई कारवाहीका लागि उनले दूतावासलाई आग्रह गरेका छन्। आफूसंगै अन्य ४ जना युवाहरू अलपत्र अवस्थामा रहेको पनि उनले बताए।

सुडानमा संयुक्त राष्ट्रसंघको कार्यालयमा कार धुने काममा ६० हजार तलव हुन्छ भनी कतारको बाटो हुँदै पठाएको र यहाँ आएपछि सुडान पुग्नका लागि ५ सय डलर थप रकम मागेको उल्लेख गर्दै क्षेत्रीले भने- ‘उ कुरा फेरिरहन्छ। कहिले ५ सय डलर माग्छ त कहिले अव कतारमै काम गर भन्छ।’ क्षेत्री आफ्नै आफन्तबाट ठगिएका हुन्। सानीआमाको देवर रुपन्देहीका दर्गासिंह क्षेत्रीलाई रकम बझाएर कमलपोखरीस्थित सितारा ओभरसिज मेनपावर कम्पनीमार्फत कतार आएको उनले बताएका छन्। क्षेत्रीसँगै सुडान जानको लागि बराबर रकम बुझाएकामा गूल्मी हरेबाका डोलबहादुर कार्की, नुवाकोटका फुलबहादुर र धनकुटाका सन्तोष राईले सुडान जाने आशामा बमलाई थप ५० हजार रुपैयाँ पनि बुझाएको बताइएको छ। सुडान जाने आशामा थप १५ जना काठमाण्डौमा तयारी अवस्थामा रहेको पनि क्षेत्रीले बताए। मतार कदिममा राखिएका ती युवाहरूको भिसा भने कतारको रहेको बुझिएको छ। अलपत्र युवाहरूमध्ये क्षेत्री नेपाली दूतावासको आश्रयस्थलमा रहेका छन् भने उनीसँगै आएका अन्य युवा कोही एजेन्टसंग र कोही आफन्तसंग आश्रय लिएका छन्।

रातारात विराटनगरबाट काठमाडौं उडान भरेर कतारतर्फ क्षेत्रीसंगै आएका धरानका चित्र कार्कीले एकरात एजेन्ट बमसंग विताएपछि उसको ठगी चाल बुझेर नेपाल फर्कने मनसाय बनाएको बताए। ६० हजार तिरेर बाँकी रकम छिट्टै तिर्ने सर्तमा सुडानका लागि हिँडेका कार्कीले दोहामा अलपत्र परेपछि घरपरिवारलाई फोन गरेर बाँकी रकम रोक्का गराएका छन्। नेपालमा एजेन्टहरुले भनेको कुरा र बमको कुरा एक आपसमा नमिलेपछि सो ठगीवारे थाहा पाएको उनले उल्लेख गरे। नेपाली दूतावासको शरणमा आएका कार्कीले आफूलाई बमले बारम्बार धम्की दिइरहेको पनि बताएका छन्। क्षेत्री र कार्की टिकट र पासपोर्ट प्राप्त गरेको खण्डमा नेपाल फर्कने इच्छा ब्यक्त गरेका छन्।

पीडितहरूलाई न्याय दिलाउन नेपाली दूतावासले आवश्यक कारवाही चलाउने राजदूत डा. सूर्यनाथ मिश्रले बताए। कतारको एक स्थानीय कम्पनीको भिसामा उनीहरू आएकोले सम्बन्धित कम्पनी पत्ता लगाउने र उसले अघि सारेका सेवा र्सतमा चित्त बुझेको खण्डमा काम गर्न आग्रह गर्दै एजेन्टलाई बुझाएको ७० हजारभन्दा माथिको रकम फिर्ता तथा बैदेशिक रोजगारीमा ठगी गरेकोमा हदैसम्मको कारवाही सिफारिस गर्ने नेपाली दूतावासले जनाएको छ। पीडितहरूलाई यथासम्भव छिट्टो न्याय दिलाउन दूतावासले पहल गरिरहेको राजदूत डा. मिश्रले बताए।

Popularity: 9%

Add comment April 12th, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2009
M T W T F S S
« Mar   May »
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Posts by Month

Posts by Category

More news....