Archive for April 16th, 2009

मोरङमा दिउंसै बैंकमा लुटपाट

एचकेनेपाल डट कम संवाददाता-
अज्ञात हतियारधारी समूहले मोरङ पथरी १ स्थित पाथिभरा विकास बैँक र आईएमई मनी ट्रान्सफरबाट विहीवार बिहान करीव १३ लाख रूपैयाँ लुटेका छन्।

पिस्तोल र खुकुरीसहित आएका चार जनाले बिहान करीव ११ बजे १३ लाख रूपैयाँ लुट्नुका साथै एक प्रहरी हवल्दार र एक स्थानीयलाई गोली हानेका छन्। लुटेरा समूहले पथरीको पाथिभरा विकास बैँकवाट दुई लाख ३८ हजार एक सय र सोही बैँक भएको भवनमा रहेको आईएमई मनी ट्रान्सफरबाट दश लाख रुपैयाँ लुटेर लगेका छन्।

लुटेराहरूसंग प्रतिकार गर्दा प्रहरी हवल्दार जंगबहादुर राउत घाइते भएका छन्। उनको पाखुरामा गोली लागेको छ। त्यसैगरी, रुपैयाँ झिक्न आएका कृतिपुरका कीर्ती लिम्बूको टाउकोमा गोली लागेको छ। लिम्बूको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रहरी हवल्दार राउतको पथरीमै उपचार भइरहेको जनाएको छ।

लुटेरामध्ये एक जनालाई स्थानीयबासीले नियन्त्रण लिइ कुटपिट गरेर प्रहरीलाई बुझाएका छन्। उनको साथमा नेपाली सेनाको परिचयपत्र भेटिएको छ। परिचयपत्रमा भोजपुर केउली १ बताउने नेपाली सेना विष्णुदल गणका रहेका छन्।

स्थानीयवासीको भीडका कारण प्रहरीले गोली प्रहार गर्न नपाउंदा लुटेराहरू उम्केर चारकोसे जंगलतर्फ भागेको प्रहरीले जनाएको छ। अहिले लुटेराहरको खोजीका लागि उर्लावारी, पथरी र वेलबारीबाट प्रहरीहरु त्यसतर्फ गएका छन्।

Recent Videos:

Popularity: 8%

1 comment April 16th, 2009

भिनाजुद्वारा मृगको सट्टा सालोको शिकार

एचकेनेपाल डट कम संवाददाता-
मृगलाई ताकेर हानिएको गोली लागी हिजो दिउँसो इलाममा एकजनाको ज्यान गएको छ। मृगलाई हानिएको गोली लागेर चमैता-१ मैदानेका १८ वर्षीय युवराज राईको ज्यान गएको हो। उनको छातीमा गोली लागेको थियो।

मृग मार्न ५/७ जनाको समूहमा शिकार खेल्न स्थानीय होङ्ग्रे सामुदायिक वन पुगेका राईलाई उनकै भिनाजु रत्‍नबहादुर राईले हानेको गोली लागेको प्रहरीले जनाएको छ।

मृतक राईको लाश हिजै जिल्ला अस्पताल इलाममा पोस्टमार्टमपछि घरतर्फ लगिएको प्रहरी निरीक्षक खड्गप्रसाद पौडेलले बताउनुभयो।

गोली हान्ने रत्‍नबहादुरको खोजी भइरहेको जानकारी पनि उहाँले दिनुभयो।

Recent Videos:

Popularity: 8%

1 comment April 16th, 2009

सैनिक जवानको अभद्र व्यवहारविरुद्ध नारा-जुलुस

एचकेनेपाल डट कम संवाददाता-
जुम्लास्थित २४ नं. बाहिनीका सैनिक जवानहरूको एक समूहले स्थानीय युवालाई कुटपिट तथा महिलामाथि गरेको अभद्र व्यवहारका विरुद्ध चन्दननाथ गाविस-३ अन्डारीबाडाका बासिन्दाले नारा-जुलुससहित बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय, जुम्लासमक्ष ज्ञापनपत्र बुझाएका छन्।

विवाहिता महिलाले नयाँ वर्षलाई तागे सङ्क्रान्तिका रूपमा रङ्गीन धागोबाट बनाइएको तागालाई स्थानीय देउडा खेल्दै मनाउने प्रचलन छ। सोही प्रचलनअनुसार महिलाहरू भेला भई देउडा खेलिरहेको स्थानमा सैनिक जवान पदम परियारलगायत १२/१५ जवानले मादकपदार्थ सेवनगरी अश्लील शब्द बोल्दै अभद्र व्यवहार गरेका थिए।

स्थानीय युवाले सोको प्रतिवाद गर्दै सम्झाउन खोज्दा सैनिक समूहले साइकलको चेन, लाठ्ठी, बेल्ट प्रयोग गरी निर्घात कुटपिट गरेका थिए। सैनिक जवानहरूको आक्रमणबाट घाइते गोर्खबहादुर भण्डारी, बलबहादुर भण्डारी र तिलक भण्डारीको जिल्ला अस्पताल, जुम्लामा उपचार भइरहेको छ।

ज्ञापनपत्रमा दोषीमाथि कारबाही हुनुपर्ने, दोषीले सार्वजनिकरूपमा माफी माग्नुपर्ने, घाइतेको उपचार गरिनुपर्ने र अबआयन्दा यस्ता घटना घट्न नदिने प्रतिबद्धता जनाउनुपर्ने माग गरिएका छन्।

यसै सन्दर्भमा बिदामा क्याम्प बाहिर निस्केका सैनिक जवानहरूले हिजो अन्य ठाउँमा गरेका कुटपिटका घटना तथा यसअघि सेनाका जवानद्वारा जुम्ला बजारमा स्थानीय युवामाथि छुरा प्रहार गरेको तथा महिलामाथि भएको अभद्र व्यवहारको घटनाले निम्त्याएको परिस्थितिलाई ध्यानमा राखी जिल्ला सुरक्षा निकायको बैठक बसिरहेको छ।

Popularity: 8%

Add comment April 16th, 2009

नयाँ वर्षको कार्यक्रममा मारामार, एक ठहरै

एचकेनेपाल डट कम संवाददाता-
स्याङजाको ओरस्टे गाविस वडा नं. १ मा नयाँ वर्षका अवसरमा भएको साँस्कृतिक कार्यक्रममा युवाबीच एकापसमा झडप हुँदा एकजनाको ज्यान गएको छ।

ज्यान जानेमा कोल्मा गाविस-७ का २२ वर्षीय सुरज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय, स्याङजाले जनाएको छ।

सख्त घाइते भएका गुरुङको उपचारका लागि अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्युभएको हो। उनको छातीमा खुकुरीको गहिरो चोट लागेको थियो। युवाबीच खुकुरी हानाहान भएको थियो।

सो घटनामा परी घाइते हुनेमा ओरस्टे-२ का सुमित गुरुङ, वचत गुरुङ, लोकबहादुर गुरुङ, राजु गुरुङ र कोल्मा-७ का अनिल श्रेष्ठ छन्। घाइते हुनेहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचार भइरहेको बताइएको छ।

ओरस्टे गाविस-१ मच्थिनाका युवाले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा सहभागी हुन कोल्मा-५ बाट गएका युवा र आयोजकहरूबीच राति झगडा भएको थियो

Popularity: 8%

3 comments April 16th, 2009

संघीयतामा जाँदा देश टुक्रन्छ भन्नु हास्यास्पदः प्रम

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउन र संविधान निर्माणकार्यलाई अगाडि बढाउन आफू सधैँ प्रतिबद्ध रहेको बताउनुभएको छ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले मुलुकको शान्तिसुरक्षाको स्थितिमा अब छिट्टै नै सकारात्मक परिवर्तन र गुणात्मक सुधार आउँदैंछ भन्नुभयो।

प्रधानमन्त्री दाहालले ऐतिहासिक जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा तथा राजनीतिक स्थायित्वका लागि राजनीतिक दलहरूबीच सहमति, सहकार्य र एकता आवश्यक रहेको र यसका लागि आफू दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्दै संविधानसभा उपनिर्वाचनको परिणामले समेत मुलुकलाई राजनीतिक सहमति र सहकार्यबाट नै अगाडी बढाउनसकिने सन्देश प्रवाह गरेको उल्लेख गर्नुभयो।

मुलुकलाई सङ्घीयतामा लैजाँदा मुलुक टुक्रिन्छ भन्ने जनमोर्चाको भनाइप्रति इङ्गति गर्दै उहाँले भन्नुभयो-पुरै देश सङ्घीयतामा जाने भनिसकेपछि यस्तो कुरा गर्नु हास्यास्पद एवम् आम नेपाली जनताका भावना र इच्छामाथि कुठाराघात गर्नु हो।

प्रधानमन्त्री दाहालले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी अघि बढ्नुपर्ने बेलामा जनताका इच्छा र आकांक्षाविपरीत कुरा गरेर ती दलले उल्टो गङ्गा बगाउने कोसिस गर्दैछ भन्दै सरकारले अपेक्षाकृत सफलता हासिल गर्ननसकेको भए पनि केही सकारात्मक प्रयास भएको र सरकार विस्तारै चमत्करिक दिशातर्फ जान लागेको बताउनुभयो।

Popularity: 8%

Add comment April 16th, 2009

अपहरणपश्चात् हत्या

एचकेनेपाल डट कम संवाददाता-
अज्ञात समूहको अपहरणमा परेका सर्लाही, चन्द्रनगर-३ का एक किशोरलाई मृत अवस्थामा फेला पारिएको छ।

सोह्र वर्षीय विद्यार्थी सुशील महतोलाई अज्ञात समूहले दुई साताअघि घरबाटै अपहरण गरेका थिए।

अपहरणपश्चात् अपहरणकारीले फिरौतीका लागि २० लाख रूपैयाँ माग गरेका र नदिए भौतिक कारबाहीका साथै आफन्तको हत्या गर्ने धम्की फोनबाट दिएको मृतकका बाबु राषविहारी महतोले बताए।

स्थानीय नाढीवन तालको उत्तरपूर्वी कुनामा भेटिएको मृतकका टाउको, डाढ र कोखामा गोली लागेको पाइएको प्रहरी उपरीक्षक शरद वलीले बताए।

Popularity: 8%

1 comment April 16th, 2009

खानेपानीको समस्याले टोलनै विस्थापित

एचकेनेपाल डट कम संवाददाता-
धनकुटा जिल्लाको फाक्सिव गाविसको वडा नं. ३ मा खानेपानीको अभावले अहिले एउटा टोलनै विस्थापित भएको छ।

सुख्खा तथा खडेरीका कारण खानेपानीको मुहानहरु सुक्दै गएकाले उक्त टोलका ३३ घर परिवार विस्थापित भएको स्थानीयबासिन्दाले बताएका छन्।

खानेपानीको समस्या समाधान हुननसक्दा वर्षेनी एक घर दुई घर हुँदै बसाई सर्ने क्रममा हालसम्म पूरै टोल विस्थापित भएको स्थानीयबासिन्दा पृथ्वीबहादुर लिम्बुले बताउनुभएको छ।

विस्थापितहरू मध्ये केही अन्य वडामा गएका छन् भने केही भेडेटार, बुढिमोरङ तर्फ गएका छन्।

Popularity: 8%

Add comment April 16th, 2009

यती चुनाव नैतिकता र नेतृत्व असफलता - ई. राजकुमार त्रिपाठी

ई. राजकुमार त्रिपाठी, बेलायत / एचकेनेपाल डट कम -
सामाजिक रुपान्तरणको लागि अभियानका साथ अघि बढिरहेको नेपाली नागरिकहरुको बेलायतमा रहेको एकमात्र पूरानो यति एशोसियशन यूकेको विगत चुनाव निर्णय प्रक्रिया नराम्रोसंग विवादमा रुमल्लिएको छ। यही विवाद बढ्दै जाँदा सामाजिक सद्भाव खल्बलिएको जस्तो लाग्दछ।

इतिहासमा यस्तो सद्भाव खल्बलिने काम कहिल्यै भएको थिएन। सदभाव भड्कदै जाँदा नेपाली समाजलाई असर पर्ने कुरामा यतिको नेतृत्व सचेत देखिएन बरु नेतृत्वले जुहारी मात्र खेल्न लागेको देखियो। जुन आगामी दिनहरुमा निकै प्रत्युपादक हुने संकेत देखा परेको छ।

बेलायतमा निकै सामाजिक संघ संस्थाहरु छन् र संस्थाको निर्वाचन सबै संघ संस्थामा प्रजातान्त्रिक, पारदर्शी तरिकाले भई कार्य समिति चयन भएको देखिन्छ। तर इतिहासमै पहिलोपटक यसरी निर्वाचनको प्रक्रियामा अपारदर्शिता देखिनु, धाधलीपूर्ण भएको संकेत देखा परी स्वतन्त्र निर्वाचन छानविन आयेग गठन हुनु, छानविन आयोगको यतिमा रही सामाजिक कार्यमा लामो समय खर्चेका अभिभावक सदस्यहरु र मानवअधिकारवादीहरुले चुनाव धाँधलीपूर्ण भएको स्वच्छन्दता र पारदर्शिता नअनाइएको, फर्जी मत पेटिका भेटिएको चुनावी अंक र कुल मतपत्र नमिलेको, साथै सदस्यहरुको अन्तिम अवस्थामा सदस्यता रद्ध भएको साधारण सभा बोलाई समस्याको समाधान खोज्नुपर्ने निष्कर्ष मानेमा समाजमा हाम्रो भूमिका न्यून हुन जान्छ भनी निष्कर्षका साथ नेतृत्वले साधारण सभा बोलाउन … गर्दै आयो। जब यति १४१ जना सदस्यहरुले आफ्नो प्रजातान्त्रिक विशेष अधिकार प्रयोगगरी साधारणसभा बोलाउन माग गरे र नबोलाएमा आफूहरुले नै आफूहरुले नै साधारणसभा मार्फत नयाँ कार्यसमिति बनाउने घोषणा गरे ततपश्चात मात्र यतिको साधारण सभा नजिकिदै जाँदा साधारणसभा डाकिएको सर्वविदितै छ। यतिको बिशेष साधारणसभा नजिकिदै जादा इमेल, बेवपेज र पत्रपत्रिकाहरुमा यतिको नेतृत्वले डर, धाक, धम्की र त्रासको अमानवीय ब्यवहार गरेको कुरा नेतृत्व पक्षले बक्तब्य मार्फत जारी गर्‍यो। जुन नव वर्षको शुभकामना कार्यक्रममा साधारण सदस्यहरुले ब्यानर, प्लेकार्ड र बुलेटीनसहित गरेको शान्तिपूर्ण विरोध प्रदर्शनले मात्र माथि लगाइएको कपोकल्पित लाञ्छनालाई समेत असफल तुल्याइदिएको छ।

समाज र नागरिकको भूमिका गहिराईपूर्वक नियाल्ने हो भने समाजभित्र रहने सदस्यहरु दुई तरिकाबाट आफूहरुलाई मुल्यांकन गर्ने गरेको देखिन्छ। पहिलो पक्ष भनेको नागरिकको हैसियतमा अर्थ आर्जन गरियो। बसोबास मिलाइयो। अब समाजमा आफू स्थापित हुन हरतरहले समाजमा स्थापित संस्थामा आफ्नो नेतृत्व हरतरहले हुनैपर्ने र नेतृत्वमा पुग्दा पैसाको भरमा मात्र आफूलाई समाजले नमान्ने मनोबलबाट प्रेरित भई संस्था छाड्न मान्दैनन। दोश्रो पक्ष भनेको नेतृत्वमा रहनेहरु सदैव संस्था र नेपाली आवाजलाई कदर गर्दै आफूलाई एकेडेमीक रुपले प्रस्तुत गर्ने प्रयास गर्दछन्। अरुको आवाजलाई मोटीभेटको रुपमा लिन्छन। संस्था छाडन पर्दा पनि पीर मान्दैनन् । नैतिकतामा सचेतता देखाउंदछन् । समाजलाई सुझावका साथ अघि हिडाउछन् अनि आफूहरु पछाडि हिड्छन्। विरोध आउदैमा तर्सदैनन्। अरुलाई गाली पनि गर्दैनन्। सबैलाई समेटछन् । प्रजातान्त्रिक, पारदर्शि निर्णय सदस्यहरूमा निर्णय गर्न जिम्मा दिन्छन् । जुन नेपालमा स्वर्गीय विपी कोइराला र गणेशमान सिंहहरुले गरे । भारतमा गान्धी, नेहरु र लालबहादुर शास्त्रीहरुले गरे। हाल यतिमा देखिएको विवादमाथिको पहिलो पक्षबाट प्रेरित देखिन्छ।

स्वर्गीय विपी कोइरालाले २०३६ सालमा निर्दल र बहुदलको चुनावमा निर्दलको पक्षको परिणाम स्वीकार गरे। तर स्वीकार गरेको भोलिपल्टदेखि जब शासकहरुबाट चुनाव धाँधली गरेको भन्ने सूचना प्राप्त भयो। त्यसदिनदेखि नै आन्दोलन घोषणा गरे। सत्याग्रह गरे आन्दोलनले नयाँ रुप लियो २०४६ सालमा बहुदल आयो। चुनाव स्वीकार गर्नु आफैमा प्रजातन्त्र भित्रको उच्च नैतिकता हो। स्वीकार गरेपश्चात धाँधलीको संकेत र सूचना प्राप्त भइसकेपछि अस्वीकार गरी आन्दोलन गर्नु, अभियान संचालन गर्नु, साधारण सदस्यहरुमा रहेको नैर्सर्गिक अधिकारलाई सुरक्षा गर्दै शान्तिपूर्ण प्रदर्शन गर्नु साथै सही सूचना सम्प्रेषित गराई गरिएका गल्ती कमी कमजोरीलाई सुधार गर्दै अगाडि बढ्नु अर्को महानैतिकता हुनु आउंछ।

नेतृत्वमा रहेका केही सदस्यहरुले बेलायतस्थित नेपाली जनसम्पर्क समितिको राजनैतिक र सामाजिक प्रभावमा नकारात्मक प्रभाव पार्ने गरी बेबपेज र इमेलहरुमा खराब सूचना सम्प्रेषण गरे। यस सन्दर्भमा म नेतृत्वलाई प्रश्न गर्न चाहन्छु। के तपाईहरु कुनै राजनैतिक संघ संस्थामा आवद्ध हुनु हुन्छ कि हुनु हुदैन ? हुनु हुन्छ भने तपाईको साधारण सदस्यको हैसियतमा जे लेख्न भन्न पनि पाउने अनि अरु सदस्यहरुले प्रश्न राख्दा नकारात्मक टिप्पणी गर्नुपर्ने ? त्यो अप्रजातान्त्रिक आचरण हो। जीवनभर सामाजिक रुपान्तरण गर्न सयम ब्यतित गराइयो । राजनैतिक जागरण गर्न कार्यक्रम र अभियानहरु संचालन गरियो, मानवअधिकार प्राप्ति र लोकतन्त्र नेपालमा बहाली गर्न अप्ठयारा दिनहरुमा नेपालमा र बेलायतमा जुझारु प्रदर्शन गराइयो। अझै पनि समाज रुपान्तरण गर्न एकरुपताको आवाज उठाइरहेको छौ। मेल, सद्भाव, छलफलले नेपाली समाज अगाडि बढ्न मद्धत पुग्दछ भन्दै सहभागितामूलक समाजको पक्षमा भएका मलगायत हामी निष्ठावान साथीहरुको गन्तब्यलाई तपाईहरुले छेकवार लाउन कोशिस गर्नुहोला। छेक्नुहोला सदस्यहरुलाई बन्देज पनि लाउनुहोला तर अन्ततः पारदर्शिताको जीत भएर नै छोड्छ। आज यतिभित्र शुरु भएको द्वन्द्वभित्र अवश्यपनि कांग्रेस कार्यकर्ता विपला देवान, शुभास पोखरेल, रामेश्वर ढुंगेल, विनोद मोक्तान, शिवजी श्रेष्ठ, राजेन्द्र सुवेदी, राजकुमार त्रिपाठी, विकास देवकोटा, नारायण दवाली, अजय राई, एकराज नेवाङ्ग, सुरेन्द्र श्रेष्ठलगायत २०० जना कार्यकर्ताहरु प्रत्येकका आवाज उठाएका छन् जुन राजनैतिक नभई यति भित्रको धाँधलीपूर्ण चुनाव र अपारदर्शिताको विरुद्ध हो न कि ब्यक्ति विरुद्धको। स्व. विपी कोइरालाले भन्नुहुन्थ्यो आफ्नो विवेक लाग्दासम्म प्रश्न राख्न नडराउनु, तपाईले गरेको अभियानले समाजमा पादर्शिता छोड्दछ भने भविष्यमा तपाईलाई विरोध कष्ट बाबजुद स्याबासी पनि प्रदान गर्नेछ र समाज सुधार हुनेछ। हाम्रो सामूहिक आवाज यही हो।

यतिको समाधान के होला ?
कोही विकल्पको खोजिमा छन्। उमेश मोक्रान र चिरञ्जीवी ढकाल भेट भई पद साटासाट गर्दैमा यतिको पारदर्शिता माथिको प्रश्न टुङ्गने होइन। सबैले स्वीकार गरेको धाँधली भएको निर्वाचनलाई बिशेष साधारणसभाले कार्य समिति अमान्य गरी नयाँ विधान र नयाँ निर्वाचन समिति समेत खडा गरी स्वच्छ र प्रजातान्त्रिक पारदर्शि चुनाव गराउनुपर्दछ । साधारण सभामा सम्पूर्ण सदस्यहरुले यही प्रस्तावलाई स्वीकार गर्नेछन्। सामाजिक अभियानमा पद गौण हुन्छ। यदि कसैलाई कार्य समिति अमान्य गर्दा पद जान्छ र प्रतिष्ठा पनि गुम्छ जस्तो लाग्ला। त्यही सोचले विववाद पनि बढेको होला तर आज सबैले स्मरण गर्नुपर्ने बेला के छ भने महाभारतमा सान्तुनले राजगर्दी छोडे। प्रतिष्ठा कमाए, रामले अयोध्या छाडी बनबास गए भगवान भए। बुद्धले दरबार छाडि बुदत्व प्राप्त गरे गणेशमानजीले र गान्धीजीले प्रधानमन्त्री पद छाडे। वीर गणेशमान बने। त्यसैले ईर्ष्या र क्रोधको राजनीतिबाट माथि रही सबैले पद छोडि नयाँ निर्वाचन पश्चात नयाँ कार्य समिति पारदर्शी रुपबाट चयन गराउन आग्रह गर्दछौ। होला केही ब्यक्तिहरू समाजमा विद्यमान चाहन्छन र यतीको झगडा बढाउन चाहन्छन् तर हामीहरुले सामूहिक आन्दोलनलाई बेलायतभित्र बस्ने संघ संस्था, स्वतन्त्र नेपालीमूलका नागरिकहरुले साथ दिने नैछन्। त्यसैले सम्पूर्ण आम नेपाली नागरिकहरुमा विनम्र निवेदन साथ यती एशोसियशन उच्च गरिमा सदैव कायम गराउन र एकता कायम राखी अघि बढ्न हाम्रो सामूहिक अभियानलाई सबैबाट सहयोग प्राप्त हुने नै छ।
ई. राजकुमार त्रिपाठी
साधारण सदस्य

यति एशोसियशन यूके
The writer can be reached at pujapujan@hotmail.com

Popularity: 8%

Add comment April 16th, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2009
M T W T F S S
« Mar   May »
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Posts by Month

Posts by Category

More news....