Archive for April 17th, 2009

पाहुनासहित एकै घरमा तीन जनाको हत्या

एचकेनेपाल डट कम संवाददाता-
उत्तरी इलामको मावु ७ मा बस्ने मोतीलाल गुरूङको घरमा तीन जनाको हत्या भएको छ।

मृत्यु हुनेहरूमा घरधनी ८३ वर्षीय मोतीलाल गुरूङ, उनको घरमा पाहुना आएका मावु ६ का ७२ वर्षीय गुञ्जबहादुर गुरुङ र घरधनीकी साली ४२ वर्षीय पूर्णकुमारी गुरुङ रहेका छन्। टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शुक्रबार विहान प्रहरीले उनीहरूको शव फेला पारेको हो।

प्रहरीले उनीहरूको हत्या बैशाख २ गते नै भएको हुन सक्ने बताएका छन्। घरमा अन्य कुनै सदस्य नभएकाले हत्याबारे ढिलो जानकारी प्राप्त भएको थियो। गाईवस्तु भोकले कराउन थालेपछि गाउलेले खोजतलाश गर्दा उनीहरू घरभित्र मृत अवस्थामा भेटिएका हुन्। प्रहरीले घटनासम्बन्धी अनुसन्धान सुरू गरेको जनाएको छ।

Popularity: 8%

1 comment April 17th, 2009

दैनिकी डट कम बन्द

एचकेनेपाल डट कम संवाददाता-
यसअघि धुम्बाराही मिडियाले प्रकाशन गर्दै आएको नेपाली समाचार साइट दैनिकी डट कम गएरातिदेखि बन्द भएको छ।

धुम्बाराही मिडिया एक महिनाअघि नै नेपाल रिपब्लिक मिडियामा गाभिइसकेको छ। एकीकृत समूहले नागरिक दैनिक र अंग्रेजीमा रिपब्लिका दैनिक यही वैशाख ११ गतेदेखि प्रकाशन गर्ने घोषणा गरिसकेको छ। सोही अनुरुप तुरुन्तै नागरिकन्युज डट कम पनि सञ्चालनमा ल्याइन लागेको स्रोतले बताएको छ।

दैनिकी डट कममा आज बिहानैदेखि कुनै पनि समाचार अपडेट भएका छैनन्। स्रोतका अनुसार आज साँझबाट नै नयाँ साइट सञ्चालनमा आउन सक्छ।

धुम्बाराही मिडियाका अध्यक्ष हरिकुमार श्रेष्ठलाई उनले गरेको लगानी क्षतिपूर्तिसहित दिने सहमति हिजो राति अबेर भएपछि पत्रिका वैशाख ११ गते नै निस्कने टुंगो लागेको हो।

दैनिकी डटकमको परीक्षण संस्करण मंसिर २३, २०६५ बाट सुरु भएको थियो।

Recent Videos:

Popularity: 8%

Add comment April 17th, 2009

पाटन औद्योगिक क्षेत्रको समस्या समाधान

एचकेनेपाल डट कम संवाददाता-
पाटन औद्योगिक क्षेत्रमा गत चैत ३१ गतेदेखि भएको तालाबन्दी हटी आजबाट काम सुचारु हुने भएको छ ।

ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेशकुमार श्रेष्ठको अध्यक्षतामा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष प्रदीपजङ्ग पाण्डे र अखिल नेपाल ट्रेड युनियन महासङ्घका उपाध्यक्ष बाबुराम गौतमको उपस्थितिमा पाटन औद्योगिक क्षेत्र कल्याण तथा सुरक्षा समितिका अध्यक्ष उर्गेन सेर्पा, अखिल नेपाल औद्योगिक मजदुर सङ्घ १ नंं. इलाका समितिका अध्यक्ष विष्णु आलेमगरबीच न्यूनतम वेतन र श्रम ऐन लागु गर्ने समझदारीमा हस्ताक्षर भई हिजैदेखि ताला खोली काम पुनःचालु गर्ने सहमति भएको छ।

Popularity: 8%

Add comment April 17th, 2009

राष्ट्रपतिको निर्वाचन क्षेत्रमा मुद्दा

एचकेनेपाल डट कम संवाददाता-
संविधानसभासदस्यको उपनिर्वाचन धनुषा क्षेत्र नं.५ को केही मतदान केन्द्रको निर्वाचन परिणाम बदर गरी पुनः निर्वाचन गराई पाऊँ भनी संविधानसभा अदालतमा मुद्दा दर्ता गराइएको छ ।

उक्त केन्द्रहरूमा नेकपा (एमाले) का उम्मेदवार रघुवीर महासेठ र युथफोर्सका कार्यकर्ताले मतदान अधिकृत, सहायक मतदान अधिकृत, सुरक्षाकर्मी, प्रशासनसाग मिलीमतो गरी मतदातालाई डर, धाक, त्रास, धम्कीका साथै लाठीचार्ज गरी आफ्नो पक्षमा मतदान गराएको आरोप लगाउँदै मुद्दा दर्ता गरिएको हो।

मुद्दा दर्ता गर्नेहरूमा उम्मेदवारहरू तमलोपाका श्रीकृष्ण यादव, एकीकृत नेकपा (माओवादी)का महादेव यादव, मधेसी जनअधिकार फोरमका सियाराम राय, नेसपा (आनन्दीदेवी) का रामगोविन्द यादव, नेकपा (माओवादी) मातृका समूहका उम्मेदवार नन्दकिशोर यादव रहनुभएको छ।

सो क्षेत्रमा यसअघि राष्ट्रपति रामवरण यादव निर्वाचित हुनुभएको थियो। उहाँले राजीनामा दिएपछि रिक्त रहन गएको क्षेत्रमा गत चैत २८ गते भएको निर्वाचनमा एमाले उम्मेदवार रघुवीर महासेठ विजयी भएका थिए। उहाँले हिजै शपथ ग्रहण गरिसक्नुभएको छ।

Popularity: 8%

Add comment April 17th, 2009

ज्वाला सिंहको इन्चार्जद्वारा आत्मसमर्पण

एचकेनेपाल डट कम संवाददाता-
तराईका सशस्त्र सङ्घर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वालासिंह) समूहका सप्तरी एरिया नं. १ का इन्चार्ज पारस भनिने रामनारायण महेताले स्थानीय प्रशासन समक्ष आत्मसमर्पण गरेका छन् ।

सप्तरीको लोहजकरा गाविस-१ निवासी ३५ वर्षीय मेहताले जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारी रामविलाश रायसमक्ष आत्मसमर्पण गरेको हो ।

गत दुई वर्षअघिदेखि मोर्चामा लागेका मेहताले आत्मसमर्पण पश्चात् सञ्चारकर्मीसाग कुरागर्दै मोर्चाले लिएको रणनीति अनुसार मधेसको मुक्ति नदेखिएकाले आफू स्वतन्त्र जीवनयापन गर्न आत्मसमर्पण गरेको बताएका छन्।

Popularity: 8%

Add comment April 17th, 2009

काँग्रेस सरकारमा जानु मृत्युपत्रमा हस्ताक्षर गर्नु सरह

एचकेनेपाल डट कम संवाददाता-
नेपाली काङ्ग्रेसका प्रवक्ता अर्जुननरसिंह केसीले आफ्नो पार्टी सरकारमा जानु भनेको आफ्नो मृत्युपत्रमा आफैँले हस्ताक्षर गर्नुसरह भएको बताउनुभएको छ।

क्षात्कार कार्यक्रममा प्रवक्ता केसीले आफ्नो पार्टी प्रमुख प्रतिपक्षमा बसेर गर्नुपर्ने काम, कर्तव्य गर्न तयार रहेपनि वर्तमान परिस्थितिमा सरकारमा नजाने स्पष्ट पार्नुभयो।

कार्यक्रममा नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले बाध्यात्मक परिस्थितिमा एमाले सरकारमा जानु परेकाले एमालेको कर्तव्यबोधलाई कमजोरी नठान्न अनुरोध गर्नुभयो।

उहाँले सरकारमा रहेको एकीकृत नेकपा (माओवादी) पार्टीको हैसियतले पनि सबैभन्दा ठूलो जिम्मेवारी लिनुपर्नेमा झन सो पार्टी नै सिन्की बाँडेजस्तो बिना कुनै अध्ययन माओवादी सभासद्हरूको सिफारिसमा गाउँगाउँमा बजेट निकासा गरिनुले सरकारको गैरजिम्मेवार कार्यकलापलाई प्रष्ट पारेको र यसले देशलाई धरापमा पार्नसक्ने आशङ्का व्यक्त गर्नुभयो।

नेता ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को बोलीमा कुनै टुङ्गो नभएको बताउँदै भन्नुभयो-’सरकारको विश्वसनीयतामा कमी हुनु भनेको राज्य विस्तारै अराजकतातिर लम्कनु हो।’

Popularity: 8%

1 comment April 17th, 2009

गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित

एचकेनेपाल डट कम संवाददाता-
तीन दिनयता बाँके जिल्लामा बढेको गर्मी तथा तातो हावा (लू) ले दैनिक जनजीवन कष्टकर बन्दै गएको छ ।

विशेषतः दिउँसो १२ बजेपछि चल्ने तातो हावा र प्रचण्ड गर्मीका कारण नेपालगञ्ज बजारमा सर्वसाधारणको आवागमन पातलिँदै गएको देखिन्छ ।

गर्मीबाट राहत पाउन यहाँका बासिन्दाले चिसो पेय तथा खाद्यवस्तुको अधिकतम् प्रयोग गर्न थालेका छन् भने अति आवश्यक कार्यका लागि मात्र दिउँसोको समयमा घरबाहिर निस्कने गर्दछन् ।

मौसम विज्ञान विभागको नेपालगञ्ज राझास्थित कार्यालयका अनुसार हाल नेपालगञ्जको अधिकतम् तापक्रम ३७ डिग्री सेल्सियसभन्दा माथि छ ।

जिल्लामा प्रचण्ड गर्मी र तातो हावा चल्न थालेपछि घाउ, खटिरा, आउँ तथा सरुवा रोगका बिरामीको चाप स्थानीय अस्पतालहरूमा बढ्दै गएको बताइएको छ ।

भेरी अञ्चल अस्पतालका प्रमुख डा. श्यामसुन्दर यादवका अनुसार प्रत्येक दिन ६/७ जना ती रोगका बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन्।

यसैगरी प्रचण्ड घाम र तातो हावाका कारण बाँके जिल्लाको वर्षे तरकारी खेतीमा समेत प्रतिकुल प्रभाव पर्दै गएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।

Popularity: 8%

Add comment April 17th, 2009

भारतीय सुरक्षा बलले नेपाली कुटे

एचकेनेपाल डट कम संवाददाता-
भारतीय एसएसबी (सीमा सुरक्षा बल)का दुई जवानले मादकपदार्थ सेवन गरी नेपाली भूमि चोप्रहामा प्रवेश गरी स्थानीय एक दर्जनभन्दा बढीलाई कुटपिट गरी घाइते तुल्याएको इलाका प्रहरी कार्यालय, रङ्गेलीले जनाएको छ ।

भारतीय एसएसबीका जवानद्वारा गराइएको सो घटनामा उनीहरूले हवाइफायरसमेत गरेको बताइएको छ ।

घाइतेहरूको स्थानीय रङ्गेली तथा कोशी अञ्चल अस्पताल, विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

पीडित चोप्रहाबासीले दोषी एसएसबीका जवानहरूलाई झिकाई आवश्यक कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन्।

विराटनगरबाट २४ किलोमिटर टाढा रहेको चोप्रहाका बासिन्दाले सो घटनाबारे प्रहरीलाई खबर गरेको एक घण्टापछिमात्र प्रहरी घटनास्थल पुगेको तर कुनै कारबाही नगरेको गुनासो गरेका छन्।

Popularity: 8%

Add comment April 17th, 2009

चितवन कल्याण मंचको अधिवेशन अप्रिल २६ मा

एचकेनेपाल डट कम संवाददाता-
जापानमा विभिन्न पेशा र व्यवसाय गरी बसिरहेका चितवनवासीहरुद्धारा गत वर्षगठित चितवन कल्याण मंच जापानको पहिलो अधिवेशन आगामी अप्रिल २६ तारिखका दिन टोक्योमा हुने भएको छ।

तदर्थ समितिका अध्यक्ष लोकनाथ वस्ती तथा सचिव भूषण घिमिरेद्वारा प्रेसित विज्ञप्तिमा टोक्यो ओमोरी स्थित सेयु डिपार्टमेन्ट हलमा हुने अधिवेशनमा सहभागी हुन र आगामी दिनमा चितवन र चितवनवासीका लागि गर्न सकिने कल्याणकारी कामहरु अघि बढाउन जापानवासी सम्पूर्ण चितवनेहरुलाई आब्हान गर्नु भएको छ।

अधिवेशन २६ तारिख दिउसो १ बजेबाट हुने कुरा जानकारी गराउदै विज्ञप्तिमा आफू जन्मे, हुर्के, पढे र बढेको ठाउंका लागि विदेशमा बस्नेहरुले थोरै भए पनि केही योगदान दिन सकिन्छ भने गरौं भन्ने भावना र उत्साहबाट शुरु भएको मंचले गरिब तथा पिछडिएका वर्ग र समुदायका बालबालिकाहरुलाई अध्ययनमा सघाउने, विद्यालयको भौतिक सुधारमा टेवा दिने लगायतका कार्यको थालनी गरेको र भविष्यमा थप क्षेत्रहरुको पहिचान गर्दै सक्रियता जनाउने बचनबद्धता व्यक्त गरिएको छ।

Popularity: 8%

Add comment April 17th, 2009

इटालीको मिलान शहरमा नेपाली नयाँ वर्ष

भवेश सिंह, इटाली / एचकेनेपाल डट कम -
नेपाली नयाँ वर्ष २०६६ को शुभकामना आदानप्रदान तथा बिदेशमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीबीच आपसी भाईचारा बढ़ाउन नेपाल मितेरी मञ्चको आयोजनामा कास्सिना स. रोमानोमा बनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा मिलानमा बसोबास गरिरहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको सहभागिताका साथसाथै इटालीका बिभिन्न शहरबाट आएका नेपाली तथा अन्य मुलुकका बिदेशी नागरिकहरुको सहभागिता रहेको थियो।

सोही अवसरमा नेपाल मितेरी मञ्च मिलनका नयाँ कार्यकारी चुनाव समितिका संयोजक तथा सल्लाहकार डा. भीमबहादुर बमले नयाँ कार्यकारी समितिलाई नयाँ वर्षको शुभकामना तथा बधाईका साथ कार्यभार सुम्पिएका थिए। उक्त अवसरमा मंचका सल्लाहकार कुमार राई, कृष्णप्रसाद न्यौपाने तथा बिशाल तामाङले उपस्थित सबै महानुभावहरुमा शुभकामना तथा स्वागत मन्तव्य ब्यक्त गरे। मञ्चका अध्यक्ष राजन खरेलले नेपाल र नेपालीको उत्तरोत्तर प्रगति र शांतिको बधाई सन्देश दिनुभयो।

नेपालीहरुका साथसाथै बिदेशी पाहुनाहरूले पनि नेपाली खानाको स्वाद लिदै नेपाली गीत संगीतमा रमेका थिए।

Popularity: 8%

Add comment April 17th, 2009

बहराइनमा फेरि अर्का एक नेपालीको हृदयघात मृत्यु

सन्तोष दाहाल, बहराइन, / एचकेनेपाल डट कम -
बहराइनमा बढी नेपालीहरुको मृत्यु हृदयघातबाट हुने गरेको छ। २० दिनअघि मात्र ताप्लेजुङ्गका पासाङलाके शेर्पाको सुतिरहेको अवस्थामा हृदयघात भई मृत्यु भएको थियो भने फेरि अप्रिल १५ तारिखका दिन एक नेपालीको हृदयघातबाट मृत्यु भएको छ।

मृत्यु हुनेमा चुलाचुली गा.वि.स. वडा नं. २, इलामका अर्जुन बेगा रहेका छन्। बेगा ७ महिनाअघि नेपालको जब प्लेसमेन्ट मेनपावर, डिल्लीबजार, काठमाडौबाट बहराइनस्थित सलमाबादको अलधाहरानी कन्ट्रक्टिङ्ग कम्पनीमा कामको सिलसिलामा आएका थिए।

बेलुका साथीभाईसंग खाना खाई सकेर सुतेका बेगा रातको २ बजे केही कराएर छटपटाएका थिए। सबै साथीहरुले हेर्दा उनको मृत्यु भई सकेको मृतकका साथी चन्द्र श्रेष्ठ र धर्मराज राई बताउछन्। मृतकको शव नेपाल लैजाने तयारी भई रहेको छ भने मृतकको श्रीमति र एक नावालक छोरी छन्।

Popularity: 8%

Add comment April 17th, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2009
M T W T F S S
« Mar   May »
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Posts by Month

Posts by Category

More news....