Archive for April 21st, 2009

अमेरिकाको कोलोराडोमा ‘नेपाल डे परेड’

राजेन्द्र राई, कोलोराडो / एचकेनेपाल डट कम -
सबै भन्दाअघि ‘ सिलेब्रेटिङ नेपाल डे, नयाँ बर्षको मंगलमय शुभकामना’ भन्ने व्यानर अनि त्यसपछि हातहातमा नेपाली र अमेरिकन झण्डा र प्लेकार्ड लिएर हिंड्ने सयौं नेपालीहरुको लस्कर - कोही आफ्नै नेपाली पोसाकमा (दौरा सुरुवाल, सारी चोला), धेरै जसो चाँही सामान्य पोसाकमा नै। नेपाली त हुने भइहाले, अमेरिकनहरुको पनि सहभागिता। साथमा थपडि र मादलको तालमा गीत गाउदै नाच्दै हिंड्ने अल्लारे समूह। परेडलाई साथ दिन अमेरिकाका लागि नेपाली कार्यवाहक राजदूत कालीप्रसाद पोख्रेल वासिङ्टन डिसीबाट आइपुगेका थिए।

तस्वीरः राजेन्द्र राई, कोलोराडो / एचकेनेपाल डट कम

यस पटकको नेपाल डे परेड को दृश्य यिनै थिए। परेड जब बोल्डर सिटीको मुख्य बजार पर्ल स्ट्रीट मल’ पुग्यो, मानिसहरुले बडो उत्सुकतापूर्ण बनेर नेपाली परेड हेरे। कसैले ताली पिटेर स्वागत गरे, कोही अचम्म मानेर रमिता हेरे, कोही फोटो खिचिरहे, कतिले चाँही ह्यापी न्यू इयर भनेर अभिबवादन गरे।

परेडको अर्को बिशेष आकर्षण थियो नेपालीहरुका लागि जापानी ढोल बादकहरुको प्रस्तुती। बोल्डेर कोर्ट्यार्डमा चार जना ढोल बादकहरुले बडो रोचक ढंगले ढोल बजाएर मनोरञ्जन दिलाएका थिए। नेपालको खुलामञ्च जस्तै लाग्ने ठाउँ ब्यान्ड सेलबाट सुरु भएको सो परेड पुन ब्यान्ड सेल मै पुगेर समाप्त भएको थियो।

अन्य ठाउंहरुमा नेपाली नयाँ बर्ष जे जसरी मनाए पनि कोलोराडोमा भने ‘नेपाल डे’ भनेर यसरी बिशेष ढंगले मनाउने परम्परा बसेको छ। र यो नै अमेरिकाको एक मात्र स्थान हो जहाँ “नेपाल डे” मनाउनको लागि स्थानीय प्रशासन, बोल्डर सिटी एण्ड काउन्टीले स्वीकृती दिएको छ। यहाँ हरेक बर्ष अप्रिल महिनाको तेस्रो आईतवारलाई “नेपाल डे” को रुपमा मनाउने गरिन्छ र यसको परम्परा हेल्पिङ हेन्ड्स नेपालका अध्यक्ष नारायण श्रेष्ठको बिशेष पहलमा सन २००४ (२०६२ विसं.) मा सुरु भएको हो।

नेपाल डे मा नै हो नेपालीहरुले आफ्नो नेपाली पोसाकमा हिंड्ने। यसले गर्दा कतिलाई अर्को पाली चाँही नेपाल गएको बेला दौरा सुरुवाल सिलाएर ल्याउने रहर जगाएको छ। भएको दौरा सुरुवाल लाउन लाज लाग्नेहरु पनि प्रसस्तै छन तर परेडमा आएपछि त्यो लाज हराएको अनुभव गर्छन्।

नेपाली नयाँ बर्ष मनाउने पनि, साथै आफ्नो देश नेपालको झण्डा बोकेर अमेरिकी समाजलाई सानदार परिचय दिने यो राम्रो अवसरको दिन हो। यसलाई अझै नेपालीहरुको सहभागीता बढाएर अघि बढाउनु पर्ने सुझाव सहभागीहरु दिन्छन्।

परेडपछि नजिकै रहेको यूनिटी अफ बोलडर चर्चमा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा बोल्डर सिटीका मेयर म्याथ्यु एपल्बमले जारी गरेको ‘नेपाल डे घोषणापत्र’ पढेर सुनाए भने कार्यवाहक राजदूत कालीप्रसाद पोख्रेलले नेपाल डे परेड बाट आफू अत्यन्त प्रभावित भएको बताए। सोही अवसरमा हेल्पिङ हेन्ड्स नेपालका अध्यक्ष नारायण श्रेष्ठ, असोसिएसन अफ नेपालीज इन अमेरिका एएनएका अध्यक्ष नबिन दत्त, नेपालीज अमेरिका काउन्सिल, साउथ वेष्ट रिजनका उपाध्यक्ष विजयराज शर्मा, अन्तर्रास्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष ज्ञानेन्द्र गदाल साथै हेल्पिङ हेन्ड्सका निर्देशक डा. बिजय थापाले नेपाल डेको महत्वमाथि प्रकाश प्रकाश पारेका थिए।

कार्यक्रममा स्‍मृति मास्के, नदिर श्रेष्ठ, सौगातकुमार थापा, निकुन्ज श्रेष्ठ, नेपाली स्टुडेन्ट असोसिएसन, युनिभर्सिटी अफ कोलोरडो बोल्डर र कोलोराडोमा भएका भुटानी शरणार्थीहरुको समूहले बिभिन्न नाँच र गीत प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन राजश्री श्रेष्ठ र सन्जु थापाले गरेका थिए।

थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्

Recent Videos:

Popularity: 9%

Add comment April 21st, 2009

चित्तबुझ्दो जवाफ नआए कटवाल सेवामुक्त हुने-अर्थमन्त्री भट्टराई

एचनेकेपाल डट कम संवाददाता-
अर्थमन्त्री डा.बाबुराम भट्टराईले नागरिकको सर्वोच्चतालाई नेपाली सेनाले मान्नुपर्नेमा जोड दिनुभएको छ।

क्रान्तिकारी पत्रकार सङ्घ, बाँकेद्वारा राँझा विमानस्थलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अर्थमन्त्री डा. भट्टराईले सरकारको निर्णय र निर्देशन नमान्ने नेपाली सेनाका प्रधान सेनापतिलाई सरकारले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआए सेवामुक्त गरिने छ भन्नुभयो।

नेपाली जनताको बलिदान र संघर्षबाट प्राप्त शिशु गणतन्त्रलाई राष्ट्रिय जनगणतन्त्रको रूपमा हुर्काउनुपर्ने बताउँदै अर्थमन्त्री भट्टराईले शरीर गणतन्त्र भएको देखाउने तर आत्मा पुरातन तथा यथास्थितिवादी भएका एकाध शक्ति केन्द्रले माओवादी नेतृत्वको सरकारलाई घेराबन्दीमा पार्ने कुचेष्टा गरिरहेको विचार व्यक्त गर्नुभयो।

अर्थमन्त्री डा.भट्टराईले भन्नुभयो- निर्धारित समयमा संविधान निर्माण गर्ने, शान्ति प्रक्रियालाई तात्विक निष्कर्षमा पुर्‍याउने, माओवादी जनमुक्ति सेनाको समायोजन गर्ने र जनताका दैनिक जीवनका आवश्यकतालाई व्यवस्थित गर्ने दिशामा सरकार र आफ्नो दल दृढ सङ्कल्पित छ।

पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा माओवादीका वरिष्ठ नेता डा. भट्टराईको कथन थियो-’सङ्घीयताको विरोध गर्नु भनेको राजनीतिक ठट्यौलीमात्र हो।’

Recent Videos:

Popularity: 9%

1 comment April 21st, 2009

सरकारको नीति निर्देशन अवज्ञा गरेकोले स्पष्टीकरण

एचनेकेपाल डट कम संवाददाता-
सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले सरकारको नीति-निर्देशन अवज्ञा गरेका प्रधानसेनापतिका विषयमा स्पष्ट हुन २४ घण्टे पत्र काटिएको बताउनुभएको छ।

नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री महराले सेनाभर्ती, कर्णेल अवकास प्रकरण तथा राष्ट्रिय खेलकुद प्रतियोगितामा जनमुक्ति सेनाको सहभागितापछि नेपाली सेनाको व्यवहारलगायतका विषयमा धारणा बुझ्न पत्र काटिएको स्पष्ट गर्नुभयो।

जुम्ला जिल्ला सर्वदलीय प्रतिनिधिमण्डलद्वारा आयोजित ‘आफ्नो जिल्लाको विकास एवम् जागरण सन्दर्भमा काठमाडौँ भेला’लाई सम्बोधन गर्दै उहाँले सेना प्रमुखको स्पष्टिकरणका विषयमा आएका अनर्गल हल्लाको पछि नलागी वास्तविकता बुझ्न पनि सबैसाग आग्रह गर्नुभयो।

केन्द्रबाट शासित हुने सामन्तवादी सोचबाट मुक्त भई स्थानीय स्रोत-साधनको अधिकतम उपयोग गरी विकास निर्माणसहित जनताका जीवनस्तर सुधारका पक्षमा एक भई अघि बढ्न मन्त्री महराले प्रतिनिधिमण्डलसँग अनुरोध गर्नुभयो।

मन्त्री महराले भौगोलिक दृष्टिले पछि परेका जुम्लालगायतका अति दुर्गम क्षेत्रको विकास निर्माणकार्यमा सरकार सहयोगी हुने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

नेपाली काङ्ग्रेस, जुम्लाका सभापति मानव सेजुवालको सभापतित्वमा सम्पन्न सर्वदलीय भेलाले आगामी बजेटमा जुम्लालाई विशेषरूपमा सम्बोधन गर्न, शिक्षा, स्वास्थ्य, रोजगार, सडकलगायतका क्षेत्रलाई उच्च प्राथमिकता दिन र भोकमरीको चपेटामा परेका जनतालाई खाद्यान्नको व्यवस्था गर्न माग गर्‍यो।

भेलामा जुम्ला जिल्लाबाट प्रतिनिधित्व गर्ने सभासद् तथा जिल्लास्तरीय प्रमुख राजनीतिक पार्टीका नेता एवम् समाजसेवीको सहभागिता थियो।

Popularity: 9%

Add comment April 21st, 2009

राष्ट्रपति-प्रम भेट

एचनेकेपाल डट कम संवाददाता-
राष्ट्रपति डा. रामवरण यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानसेनापति रुक्माङ्गद कटवालसँग रक्षामन्त्रालयले सोधेको स्पष्टिकरणका बारेमा जानकारी गराउनुभएको छ।

प्रधानमन्त्री दाहालले सोमबार अपराह्न राष्ट्रपति डा.यादवलाई शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा भेट्नु भई नेपाल सरकारले नेपाली सेनालाई दिएका पटक-पटकका निर्णयको अवज्ञा गरी सरकारलाई असहयोग गरेकाले प्रधानसेनापति कटवाललाई सरकारले स्पष्टिकरण सोधेकोबारे जानकारी दिनुभएको थियो।

सरकार र नेपाली सेनाका बीचमा विगत केही समयदेखि असमझदारी देखिँदै आएकोमा सरकारको निर्देशन सेनाले पालना नगरेका कारण यस्तो अवस्था सिर्जना भएको भन्दै रक्षामन्त्रालयले प्रधानसेनापति कटवाललाई चौबीसघण्टे स्पष्टिकरण सोधेको थियो।

प्रधानसेनापति कटवालको चित्तबुझ्दो जवाफ नआएमा उहाँलाई सरकारले सेवाबाटै बर्खास्त गर्नसक्ने सरकारले जनाएको छ।

राष्ट्रपतिसँगको करिब एक घण्टा लामो भेटमा प्रधानमन्त्री दाहालले समसामयिक पछिल्लो राजनीतिक विषयवस्तुका बारेमा पनि परामर्श गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।

सो अवसरमा राष्ट्रपति डा.यादवले सबै राजनीतिक दलसँगको छलफल एवम् परामर्शपछि राष्ट्रिय सहमतिका आधारमा काम गर्न सुझाव दिनुभएको थियो।

Popularity: 9%

1 comment April 21st, 2009

निजामती सेवाको सट्टा नागरिक सेवा हुनुपर्ने

एचनेकेपाल डट कम संवाददाता-
निजामती कर्मचारीहरूले नयाँ बन्ने संविधानमा नेपालमा विद्यमान निजामती सेवाको सट्टा नागरिक सेवा नामाकरण गरिनुपर्नेमा जोड दिएका छन्।

नेपाल निजामती कर्मचारी सङ्गठनले आफ्नो २०औं स्थापना दिवसका अवसरमा आयोजना गरेको नयाँ बन्ने संविधानमा निजामती कर्मचारीहरूको एजेण्डा विषयक अन्तरक्रियामा उनीहरूले सो कुरामा जोड दिएका हुन्।

कर्मचारीहरूले नयाँ संविधानमा निजामती कर्मचारीलाई राजनीतिक अधिकारसहितको युनियन अधिकार, जीवननिर्वाह गर्न पुग्ने तलब-सुविधा, काम गर्ने उचित वातावरण, युवा वर्गको प्रवेशलाई आकर्षणयुक्त बनाइनुपर्ने विषय उल्लेख गरिनुपर्ने आवाज उठाए।

निजामती कर्मचारीहरूले नयाँ संविधानमा ट्रेड युनियनको अधिकारलाई मौलिक अधिकारका रूपमा स्पष्टताका साथ उल्लेख गरिनुपर्नेमा बताउदै कर्मचारीका सामाजिक सुरक्षा र वृत्ति विकासमा सरकारले ध्यान दिनुपर्ने बताए।

उनीहरूले निजामती प्रशासनलाई दक्ष, निष्पक्ष र प्रतिस्पर्धी बनाउन सरकार लाग्नुपर्ने बताउँदै नागरिक प्रशासनमा जवाफदेहिता र उत्तरदायित्व सेवाप्रदायकका आधारभूत विषयवस्तु हुनुपर्ने मागसमेत राखे।

सङ्घीयतामा केन्द्र तथा राज्य प्रदेशमा लोकसेवा आयोगको व्यवस्था हुनुपर्ने, राज्य र केन्द्रीय निकायमा कर्मचारीका सेवा-सुविधासम्बन्धमा एकरूपता रहने, नरहने विषय स्पष्ट हुनुपर्ने माग पनि कार्यक्रममा राखियो।

Popularity: 9%

Add comment April 21st, 2009

पूर्व प्रधानमन्त्री भट्टराई अस्वस्थ्य

एचनेकेपाल डट कम संवाददाता-
नेपाली काङ्ग्रेसका संस्थापक नेता एवम् पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई छातीसम्बन्धी समस्याबाट असुविधा महसुस भएकाले उपचारार्थ सोमबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ।

अहिले उहाँलाई अस्पतालको सिसियुमा राखिएको नेपाली काङ्ग्रेसले जनाएको छ।

नेपाली काङ्ग्रेसले एक विज्ञप्ति प्रकाशित गरी संस्थापक नेता एवम् पूर्व प्रधानमन्त्री भट्टराईको शीघ्र स्वास्थ्यलाभ एवम् दीर्घायुको कामना गरेको छ।

Popularity: 9%

1 comment April 21st, 2009

नेपाली बेरोजगार रहेसम्म विदेशी कामदार राख्‍न नपाइने

एचनेकेपाल डट कम संवाददाता-
जनमोर्चा नेपालले नेपाली बेरोजगार रहादासम्म विदेशी कामदार राख्न नपाइने अभियान चलाउने निर्णय गरेको छ।

जनमोर्चाको केन्द्रीय समितिको हालै सम्पन्न बैठकले रोजगारीका क्षेत्रमा नेपाली नागरिकको पहिलो अधिकारका लागि सङ्घर्ष गर्नेसमेत निर्णय गरेको केन्द्रीय उपाध्यक्ष भरत दाहालले बताउनुभयो।

यसैगरी नेपाली भूमिभित्र कायम रहेका भारतीय पेन्सन क्याम्प, कालापानीजस्ता स्थानमा रहेका सैनिक हटाउन पहल गर्ने दाहालले जानकारी दिनुभयो।

उपाध्यक्ष दाहालले भारतबाट अतिक्रमण भएका नेपाली सीमा बचाउन पार्टीले सरकारमाथि दवाव दिने र विरोध जारी राख्ने बताउनुभयो।

Popularity: 9%

2 comments April 21st, 2009

माओवादी नेता वैद्य अस्वस्थ

एचनेकेपाल डट कम संवाददाता-
एकीकृत नेकपा माओवादीका सङ्गठन विभाग प्रमुख मोहन वैद्य तीन दिनदेखि बिरामी भई नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ। उहाँलाई ज्वरो आउनुका साथै दम भई श्वासप्रश्वासमा समस्या आएको उहाँको पारिवारिकस्रोतले जनाएको छ।

नेता वैद्यलाई ज्वरो आउनुको कारण अहिलेसम्म नखुलेको र यसबारे अनुसन्धान भइरहेको उहाँको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

भोलि बेलुकासम्म रगतको रिपोर्ट आएपछि ज्वरो आउनाको वास्तविक कारण थाहा हुने बुझिएको छ। उहाँको अवस्था अहिले सामान्य छ र स्वास्थ्यमा क्रमिक सुधार आएको छ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार दिउँसो नर्भिक अस्पताल गई नेता वैद्यको स्वास्थ्य स्थितिबारे जानकारी लिनुभयो।

Popularity: 9%

Add comment April 21st, 2009

नेकाको आपत्ति

एचनेकेपाल डट कम संवाददाता-
नेपाली काङ्ग्रेसले नेपाली सेनाको मनोबल कमजोर तुल्याउने र शृङ्खलाबद्धरूपमा सबै लोकतान्त्रिक संस्थाको तेजोबध गर्ने उद्देश्यले प्रधानसेनापतिलाई चौबीसघण्टे स्पष्टीकरणको सूचना माओवादी नेतृत्वको सरकारले जारी गरेको भन्दै आपत्ति प्रकट गरेको छ।

राजनीतिक उद्देश्यबाट प्रेरित भई नेपाली सेनाको संरचना र नेतृत्वमा हस्तक्षेप गर्ने कुनै पनि निर्णय नेपाली काङ्ग्रेसलाई मान्य नहुने कावा सभापति सुशील कोइरालाले प्रेस विज्ञप्ति जारी बताउनुभएको छ।

Popularity: 8%

Add comment April 21st, 2009

राजधानीमा वकिलको हत्या

एचनेकेपाल डट कम संवाददाता-
अधिवक्ता प्रमोद ढकालको शनिबार राति राजधानीमा हत्या भएको छ। सिन्धुली कमलामाई नगरपालिका घर भई काठमाडौँ नगरपालिका बत्तीसपुतली डेरा गरी बस्तैआएका ३२ वर्षीय अधिवक्ता ढकालको शव पशुपति मृगस्थली वनको विश्वरूप मन्दिरको पछाडि पट्टी इनारमा फेला परेको हो।

शव हात र खुट्टा भाँचिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटना स्थलवरपरको क्षेत्रबाट प्रहरीले मृतकले लगाएको ज्याकेट र जुत्ता फेला पारेको थियो।

प्रहरीका अनुसार अपराध गिरोहले कुटपिट गरी हत्या गरेपछि शव लुकाउने क्रममा इनारमा ल्याएर फालेको हुनसक्ने आशङ्का गरेको छ।

इनारवरिपरि रगतका टाटा धेरै रहेको तथा इनारमा हाल्ने क्रममा मृतकका झोलामा लागेको रगत इनारको डिलमा समेत लागेको प्रहरीको दावी छ।

Popularity: 8%

1 comment April 21st, 2009

युनिटी लाईफ जनजागृति टिम, कुवेत गठन

एचनेकेपाल डट कम संवाददाता-
“एकले थुकी सुकी, सयले थुकी नदी” भन्ने उक्तिलाई आत्मसात गर्दै देश–विदेशमा छरिएर रहेका नेपालीहरुलाई एउटै छत मुनि ल्याई देशको उन्नतीको बाटोमा आउने हरेक बाधा–व्यवधानहरुलाई सजिलै पार गर्ने महान उद्धेश्य बोकेको युनिटी लाईफ ईन्टरनेसनल लि. को देश – विदेशमा विभिन्न शाखा – उपशाखाहरु गठन भईरहेको बेलामा कुवेतमा पनि नेपाली व्यवसायी र जागरुक नेपाली युवाहरुको सक्रियतामा साना–साना काम पनि फरक दृष्टिकोणका साथ सम्पादन गरी जीवनमा आमुल परिवर्तन ल्याउनका लागि र नेपाललाई एक सक्षम र सवल नेपाल बनाउनका लागि युनिटी लाईफ जनजागृति टिम, कुवेत नामक एक समिति गठन गरिएको छ।

जसका कार्यसमितिका पदाधिकारीहरु यस प्रकार हुनुहुन्छ।
१) अध्यक्ष – दीपक क्षेत्री सम्पर्क – ९६५ – ९९३२८०६३
२) उपाध्यक्ष – ठाकुरप्रसाद पौडेल
३) सचिव – राजन रिमाल सम्पर्क – ९६५ – ६६७२४३४२
४) सह–सचिव – ईन्द्रप्रसाद भुषाल
५) कोषाध्याक्ष – छत्रबहादुर कार्की सम्पर्क – ९६५ – ९७३२८३२९
सदस्यहरु
क) बसन्त थापा मगर
ख) टीकाराम आचार्य
ग) बेलबहादुर मल्ल (सुबास)
घ) अमित शर्मा निरौला
ङ) कमलबहादुर लिम्बू
च) गंगा राई
छ) राजेन्द बस्नेत
ज) लालकाजी गुरुङ

– राजन रिमाल, कुवैत

Popularity: 8%

Add comment April 21st, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2009
M T W T F S S
« Mar   May »
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Posts by Month

Posts by Category

More news....