Archive for April 22nd, 2009

त्रिविविका उपकूलपतिलाई कालोमोसो

एचकेनेपाल डट कम संवाददाता-
त्रिभूवन विश्वविद्यालयका उपकूलपति प्रा.डा. माधवप्रसाद शर्मा र रेक्टर प्रा.डा. सूर्यलाल अमात्यलाई अखिल क्रान्तिकारीका विद्यार्थीले बुधबार कालोमोसो दलेका छन्।

एकतर्फी रुपमा परीक्षा शुल्क बढाएको भन्दै त्यसको विरोधमा अखिल क्रान्तिकारीका विद्यार्थीले उपकूलपति प्रा.डा. शर्मा र रेक्टर प्रा.डा. अमात्यलाई कालोमोसो दलेका हुन्। त्रिविले परीक्षा शुल्क बढाउँदा आफूहरुसँग छलफल नगरेको भन्दै तीनदेखि क्रान्तिकारी विरोधमा उत्रेका थिए।

उपकूलपति प्रा.डा. शर्मा र रेक्टर प्रा.डा. अमात्यलाई कालोमोसो दल्ने कार्यमा संलग्न भएको अभियोगमा प्रहरीले २२ विद्यार्थीलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये त्रिभुवन विश्वविद्यालयका विद्यार्थी लोकेस विक प्रहरी भ्यानबाट खस्दा घाइते भएका छन्। उनको वीर अस्पतालमा उपचार भैरहेको जनाइएको छ।

नेपाल विद्यार्थी संघले बुधवारको कार्यक्रममा आफूहरुको संलग्नता र समर्थन नरहेको प्रष्ट पारेको छ।

Recent Videos:

Popularity: 10%

Add comment April 22nd, 2009

राष्ट्रका विविध क्षेत्रका पाँच जनालाई नइ खरा पुरस्कार

एचकेनेपाल डट कम संवाददाता-
नइ प्रकाशनले राष्ट्रमा विभिन्न क्षेत्रमा रहेर उल्लेखनीय कार्य गर्ने पाँच जनालाई २०६५ सालको नइ खरा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।

नइ प्रकाशनले नेपाली वाङ्मयको श्रीवृद्धिका लागि सात दशकदेखि समर्पित हुँदै सृजनात्मक रचना, अन्वेषण र सम्पादनकलाद्वारा देशदेशान्तरमा नेपालको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान दिनुहुने श्री सत्यमोहन जोशीलाई एक लाख रूपियाँ राशिको नइ खरा सुकीर्ति पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

त्यसैगरी आधा शताब्दीअघिदेखि नेपाली भाषासाहित्यको साधनामा समर्पित रहँदै लेखन, चित्रकला र समाजसेवामा महत्वपूर्ण योगदान दिनुहुने सुश्री भद्रकुमारी घलेलाई पचास हजार रूपियाँ राशिको नइ खरा प्रदीप्ति पुरस्कार प्रदान गर्ने निर्णय भएको छ।

साथै समाजसेवाको फाँटमा मन, वचन र कर्मले समर्पित हुँदै प्राकृतिक चिकित्साका क्षेत्रमा उल्लेखनीय र महिमाशाली योगदान दिनुहुने डा. हरिप्रसाद पोखरेललाई पच्चीस हजार रूपियाँ राशिको नइ खरा गौरव पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

नेपालजस्तो स्रोत र साधनको अभाव भएको मुलुकमा पनि युवाभावना, जोश र शक्तिलाई वैज्ञानिकीकरणमा केन्द्रित गर्दै पहिलोपल्ट डाँफे नामक विमानको निर्माण र उडानसमेत गरी देशदेशान्तरमा नेपालको इज्जत बढाएबापत डाँफे विमान निर्माण समूहका श्री गणेशराम सिन्केमन र श्री विकास पराजुलीलाई पन्ध्र हजार रूपियाँ राशिको नइ खरा पौरख पुरस्कार प्रदान गर्ने निर्णय भएको छ।

त्यसैगरी, खेलकुदका क्षेत्रमा समर्पित भई अन्तर्राष्ट्रिय स्तरमा समेत सहभागी भएर नेपालको प्रतिष्ठा बढाउनुका साथै पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पौडी खेलमा एक दर्जन स्वर्णपदक प्राप्त गरी प्रेरक उदाहरण प्रस्तुत गर्नुहुने सुश्री करिस्मा कार्कीलाई पन्ध्र हजार रूपियाँ राशिको नइ खरा पौरख पुरस्कार प्रदान गर्ने निर्णय भएको छ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा २०६६ वैशाख ८ गते बसेको नइ प्रकाशनको साधरणसभाले सो निर्णय गरेको हो।

नरेन्द्रराज प्रसाई

Recent Videos:

Popularity: 9%

Add comment April 22nd, 2009

सेना समायोजन भए अर्को सेना गठन गर्ने चेतावनी

एचकेनेपाल डट कम संवाददाता-
नेकपा (माओवादी)का नेता मातृका यादवले, नेपालमा क्रान्ति अझै नसकिएकाले सेना समायोजन गर्नु नहुने बताउनुभएको छ। नेता यादवले धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सेना समायोजन गरिए आफ्नो पार्टीले नयाँ सेना गठन गर्ने चेतावनी दिनुभयो।

एकीकृत नेकपा (माओवादी)तर्फ लक्षित गर्दै नेता यादवले एकीकृत नेकपा (माओवादी) जनताको पार्टी बन्न नसकेको दावी गर्नुभयो।

पत्रकारहरूको प्रश्नको जवाफमा उहाँले हिजोका क्रान्तिकारी नेताहरू अहिले सामन्ती बन्दै गएको आरोप लगाउनुभएको छ।

सामन्तवादको अन्त्य गर्न र विभिन्न खालका उत्पीडनबाट जनतालाई मुक्ति दिन आफ्नो पार्टी जस्तोसुकै सङ्घर्ष गर्न तयार रहेको नेता यादवले बताउनुभयो।

नेता यादव पार्टी कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा त्यहाँ आइपुनुभएको हो।

Popularity: 9%

2 comments April 22nd, 2009

आज एमालेको स्थापना दिवस

एचकेनेपाल डट कम संवाददाता-
नेकपा (एमाले) ले ६०औँ स्थापना दिवसका अवसरमा आफ्नो विरासतप्रति गौरवबोध गर्दै आगामी दिनमा पार्टीको प्रतिष्ठालाई उँचो बनाउने र पार्टी स्थापनादेखि नै पार्टीले राष्ट्र, जनता र क्रान्तिका पक्षमा लिँदै आएको अडान र खेल्दै आएको भूमिकालाई अझै समृद्ध बनाउने अठोट व्यक्त गरेको छ।

साठीऔँ नेकपा स्थापना दिवसका अवसरमा आज प्रेस विज्ञप्ति प्रकाशन गरी महासचिव ईश्वर पोखरेलले पार्टीको पाँचौ राष्ट्रिय महाधिवेशनमा जननेता मदन भण्डारीको नेतृत्वमा विकास भएको नेपाली क्रान्तिको मौलिक कार्यक्रम जनताको बहुदलीय जनवाद-जबज) पार्टीको आठौँ महाधिवेशनसम्म आइपुग्दा नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्तका रुपमा विकास भएको बताउनुभएको छ।

उहाँले जबजको मार्गदर्शनमा पार्टीको आठौँ महाधिवेशनमा अवलम्बन गरिएको उन्नतस्तरको लोकतान्त्रिक अभ्यास र त्यसले स्थापित गरेको विधि र प्रक्रियाका कारणले पार्टीको प्रतिष्ठा बढेर गएको र यसप्रति सिङ्गो पार्टीको गौरवबोध छ भन्दै यसलाई पार्टी निर्माणका क्षेत्रमा मात्र होइन नयाँ नेपालको निर्माणमा समेत प्रेरणाका लिएर अघि बढ्न सम्पूर्ण पार्टी पङ्क्तिलाई आहृवान गर्नुभएको छ।

पार्टी केन्द्रीय कमिटीले पार्टी स्थापना दिवसको विशेष अवसरमा विगतका अनुभवबाट शिक्षा र प्रेरणा लिंदै अझ ठूला उपलब्धि र विजय प्राप्तिका निम्ति आम जनता र सम्पूर्ण कम्युनिस्टलाई अझ घनिष्ठरुपले एकताबद्ध बनाउँदै जबजमार्फत समाजवादमा पुग्नका निम्ति अपूर्व आँट, हिम्मत, त्याग, बलिदान र पहलकदमीका साथ अघि बढ्ने प्रतिज्ञा गरेको छ।

आन्दोलनका उपलब्धिको संरक्षण गर्दै निर्धारित समयमा नयाँ संविधान निर्माण गर्न, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन र सामाजिक, आर्थिक रुपान्तरणका मुख्य कार्यभार पुरा गर्न पार्टीले आगामी दिनमा प्रभावकारी र अग्रणी भूमिका खेल्नेछ भन्दै पोखरेलले नेपालको कम्युनिस्ट आन्दोलन तथा लोकतान्त्रिक आन्दोलनमा पार्टीको भूमिकालाई स्थापित गर्ने कुरामा सहयोग पुर्याउने नेपाली जनता, पार्टीका नेता तथा कार्यकर्ता र स्वदेशी तथा विदेशी मित्रप्रति धन्यवाद ज्ञापन, शुभकामना र बधाई अर्पण गर्नुभएको छ।

Popularity: 9%

1 comment April 22nd, 2009

“आदेश गर प्रचण्ड, युद्ध लड्न तयार छौँ”

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी) निकट आठ जनवर्गीय सङ्गठनले सरकारले प्रधानसेनापतिसँग स्पष्टीकरण मागेकामा स्वागत गर्दै हिजो साँझ यस्तै चर्का नाराबाजीसहित राजधानीमा जुलुस प्रदर्शन गरे।

रत्नपार्कको शान्तिवाटिकाबाट निक्लिएको जुलुस बागबजार, पुतलीसडक, भृकृटीमण्डप हुँदै पुनः सहिदगेटमा आई कोणसभामा परिणत भएको थियो।

जुलुसमा सहभागी जनसमुदायले जननिर्वाचित सरकारको आदेश नमान्ने सैनिक अधिकारीलाई कार्वाही गर, शान्ति प्रक्रिया र संविधान निर्माण गर्ने कार्य अवरुद्ध गर्न पाइँदैन, जनआन्दोलन र जनयुद्धका अपराधीलाई कारवाही गरजस्ता नारा लगाएका थिए।

कोणसभामा अखिल (क्रान्तिकारी) का महासचिव हिमाल शर्माले नेपाली काङ्ग्रेस, नेकपा (एमाले) लगायतका दलले जनआन्दोलन र जनयुद्धका अपराधी प्रधानसेनापति रुक्माङ्गत कटवाललाई बचाउन लागेको आरोप लगाउँदै जनयुद्ध र जनआन्दोलनका अपराधीलाई कारवाही गर्नका लागि खुट्टा नकमाउन सरकारलाई आग्रह गर्नुभयो।

अखिल नेपाल ट्रेड युनियन महासङ्घका उपाध्यक्ष बाबुराम गौतमले कटवाललाई बोक्नेहरुको स्थिति ज्ञानेन्द्रको जस्तै हुने बताउँदै माओवादीलाई सर्वसत्तावादको आरोप लगाउनेहरु नै तानाशाह र सर्वसत्तावादी हुन् भन्नुभयो।

नेत्री बलावती शर्माले जनयुद्धका बेलामा महिलाको अस्मिता लुटाउने प्रधानसेनापतिले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने तर्क गर्नुभयो।

अनेरास्ववियु (क्रान्तिकारी), अखिल नेपाल महिला सङ्घ -क्रान्तिकारी), अखिल नेपाल शिक्षक सङ्घ, अखिल नेपाल ट्रेड युनियन महासङ्घलगायतका सङ्गठनले जुलुस प्रदर्शन गरेका थिए।

Popularity: 9%

6 comments April 22nd, 2009

प्रधानसेनापति तत्काल नहट्ने

एचकेनेपाल डट कम संवाददाता-
माओवादीले बुधबार कुनै न कुनै रुपमा प्रधानसेनापति रुक्माङ्गद कटवाललाई कारबाही गर्ने तयारी गरेको भए पनि बिहान बसेको मन्त्रिपरिषद्‍को बैठकले कुनै निर्णय गर्न सकेन। मन्त्रिपरिषद्‍को बैठकलाई मधेसी जनअधिकार फोरमले बहिस्कार गरेको थियो।

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादीको सचिवालय बैठकले प्रधानमन्त्रीलाई यो विषय संवेदनशील भएकोले हतारमा निर्णय नगर्न सुझाव दिएको थियो।

सचिवालय बैठकको त्यस्तो निर्णयसँग प्रधानसेनापतिलाई आज बर्खास्त नगरिने लगभग निश्चित भइसकेको थियो।

मन्त्रिपरिषद्‍को बैठकमा प्रधानसेनापतिले दिएको २१ पेज लामो स्पष्टीकरण अध्ययनका लागि सबै सदस्यलाई बाँडिएको थियो।

Popularity: 9%

1 comment April 22nd, 2009

नेपाली जनसंपर्क समितिद्वारा विद्यालयलाई सहयोग

गोकुल ढकाल, बोस्टन / एचकेनेपाल डट कम -
नेपाली जनसंपर्क समिति, अमेरिका, न्यू एङ्ल्यान्ड च्याप्टरले मातृभूमि नेपालको पर्बत जिल्ला देवीस्थान गाबिस - १ फलेबासस्थित श्री चन्दने प्राथमिक विद्यालयलाई रू. १ लाख सात हजार रुपैया सहयोग स्वरुप प्रदान गरेको छ।

नेपाली जनसंपर्क समिति, अमेरिका, न्यू एङ्ल्यान्ड च्याप्टरका पदाधिकारीलगायत न्यू एङ्ल्यान्ड क्षेत्र वरिपरी बसोबास गर्ने नेपालीहरुको सहयोगले संकलित उक्त रकम समितिका महासचिब महेश्वोर पन्तले गत हप्ता नेपाल गएको अवसर पारेर विद्यालयका प्रधानाध्यापक कुलप्रसाद श्रेष्ठ, संचालक समितिका सभापति सुश्री कमला शर्मा र जनसंपर्क समितिका नेपाल प्रतिनिधि शोभाभक्त पन्त र उपस्थित जनसमुदायबीच उक्त रकम हस्तान्तरण गर्नुभएको हो।

परदेशमा रहेर पसिनाले बचेका केही रुपैया स्वदेशमा निमुखाका सन्तानले शिक्षा आर्जन गर्न पाउन भन्ने पवित्र भावनाले न्यू एङ्ल्यान्ड च्याप्टरले प्रत्येक बर्ष स्वदेशको एउटा विद्यालयलाई आफू सक्दो सहयोग गर्ने अभिप्रायले यस बर्ष पर्बतको उक्त विद्यालयलाई सहयोग गरिएको र छिट्टै अर्को विद्यालयलाई सहयोग गरिन लागेको कुरा समितिका अध्यक्ष पेमा निमा शेर्पाले बताउनु भएको छ।

Popularity: 9%

Add comment April 22nd, 2009

तमुधीं दक्षिण कोरियाको पाँचौ साधारण सभा सम्पन्न

विजय गुरूङ, सउल, दक्षिण कोरिया / एचकेनेपाल डट कम -
‘प्ये म्हस्या छ्यां म्हमु, छ्या म्हस्या ल्हु म्हमु, ल्हु म्हस्या म्ही म्हमु’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै अगाडि बढी रहेको तमुधीं दक्षिण कोरियाको पाँचौ साधारण सभा दोङ्गुक देहाक्क्योको सेमिनर हलमा भब्य समरोहका बिच सम्पन्न भएको छ।


तस्वीरः विजय गुरूङ, सउल, दक्षिण कोरिया / एचकेनेपाल डट कम

तमुधींलाई कार्यालयको लागि घर उपलब्ध गराइरहेको संस्था छागन सोन किल साम्योङ दाङ जीबका प्रमुख किम क्वाङ हा प्रमुख अतिथि तथा जनजाति महासंघ द. कोरियाका अध्यक्ष चङ्गकुमार तमुलगायत बिभिन्न जातिय संस्थाका प्रतिनिधिहरुको आतिथ्यमा सम्पन्न पहिलो चरणको कार्यक्रमपछि सचिब एलबि तमू एवमं कोषाध्यक्ष सुरज तमूको प्रतिबेदन माथिको गहिरो छलफलपछि बिघठित कार्यसमितिको निर्मानार्थ ३ सदस्यीय मण्डलमा चङ्गकुमार तमू, भिम तमू र नरेन्द्र तमु रहेका थिए।

अध्यक्ष मण्डलले सहमतिको आधारमा पुरानो कार्यसमितिकै अध्यक्ष,सचिव एवमं कोषाध्यक्ष क्रमश: रामकाजी तमू, एलबि तमू, सुरज तमुलगायत र पछि १ सदस्य थप गर्ने गरी १० सदस्यीय कार्यसमितिको गठन गरेको छ। सदस्यहरुमा लीना तमू, केशु तमू, शंकर तमू, लोक तमू, लछु तमू रहेका छन् भने ईन्द्र तमू उपाध्यक्ष र यूबरज तमू सहसचिवमा रहेका छन्।

Popularity: 9%

Add comment April 22nd, 2009

रेमिटान्स सेवामा नौलो आयाम

क्रान्ति सिंह, दोहा कतार / एचकेनेपाल डट कम -
‘श्रमिकहरुद्वारा श्रमिकहरुमै समर्पित’ तथा ‘श्रमिक रेमिटः देश र देशवासीको लागि’ भन्ने महत्वाकाँक्षी नाराका साथ श्रमिक रेमिट कम्पनी प्रा.लि.ले शुक्रवार दोहास्थित एक स्थानीय होटलमा प्रवुद्ध महानुभावहरुको भव्य उपस्थितिमा कम्पनी दर्ताको औपचारिक घोषणा गरिएको छ।

विमल सुवेदीको अध्यक्षतामा संचालित औपचारिक भेलामा एनआरएनए आईसीसी. सचिव सागर नेपाललगायत अन्य माहानुभावहरुको उपस्थिति रहेको थियो। माधवप्रसाद भुसालको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमलाई संस्थाको बोर्ड अफ डाईरेक्टर्स कृष्ण घिमिरेले संचालन गरेका थिए। दुई चरणमा विभाजन गरिएको कार्यक्रमलाई विषय वस्तुतिर प्रवेश गराउँदै संस्थाका संस्थापक प्रेसिडेन्ट तारा मंगोलले प्रष्ट पारेका थिए। बढी भन्दा बढी नेपाली श्रमिकहरुलाई संस्थाको स्वामित्व दिलाई सेवाग्राही रुपमा बदलिदो समयको माग अनुरुप समुदायको हितका लागि रेमिटेन्स रकमलाई आर्थिक रुपान्तरणको एक सशक्त औजारको रुपमा प्रयोग हुने गरी सार्थक संजालको विकास गराई इन्भेष्टमेन्ट कम्पनी, बैंक, इन्सुरेन्स कम्पनी, फाईनान्स कम्पनी खोली श्रमिकहरुको सामुहिक स्वामित्वको महत्वाकाँक्षी कार्यक्रमद्वारा आम श्रमिकहरुलाई मुनाफा दिलाई श्रमिकहरुलाई नै मालिक बनाउने श्रमिक रेमिटको उद्धेश्य रहेको उनले प्रष्ट पारे। परम्परागत रेमिट उद्योगहरुद्वारा आर्जित मुनाफाबाट केबल ब्यक्त्ति धनी हुने र सो ब्यक्त्तिले आम श्रमिकहितको लागि केहि पनि नगर्ने परिपाटीको अन्त्य र श्रमिकहरुको जीवन परिवर्तन केवल श्रमिकहरुकै आपसी एकता र सामुहिक लगानीमा नै सम्भव हुने कुरा पनि प्रस्ट पारियो। आम श्रमिकहरु आ- आफ्ना परिवारको तथा आफ्नो देश नेपालको आर्थिक परिवर्तन गर्नका लागि एक ढिक्का भई श्रमिकहरुको सामुहिक लगानीको सिद्धान्तमा आधारित भई अगाडी बढेमा एक नौलो शुरुवात हुने र देश विकासको महान कार्यमा यो कदम कोसेढुंगा साबित हुने प्रेसिडेन्ट तारा मंगोलले प्रस्ट पारे। उपस्थित महानुभावहरुको सुझाव, सल्लाह तथा निर्देशनको अनुरोध गर्दै यस रेमिट कम्पनीमा आवद्ध हुन सम्पूर्ण श्रमिकबर्गहरुमा आह्वान गरिएको छ। कम्पनीद्वारा प्रस्तावित विधानलाई दिलैदेखि पढी दिन र यसको मर्म वुझिदिन सबैमा तारा मंगोलले अपिल गरेका थिए। श्रमिकहरुद्वारा हुदै आईरहेको अनुत्पादक तथा परम्परागत लगानी र खर्चलाई निरुत्साहित गरी उनीहरुको कमाई सामुहिक लगानीको सिद्धान्तमा आधारित भई उत्पादनशिल तथा प्रगतीशिल क्षेत्रमा लगानी गरी श्रमिकहरुकै जीवनमा आमूल परिवर्तन ल्याउने महान उद्धेश्यका साथ नौलो प्रकारको कम्पनीको परिकल्पना गरिएको कुरा तारा मंगोलले प्रस्ट पारेका थिए।

प्रमुख अतिथि तथा संस्थाका संस्थापक अध्यक्ष सागर नेपाल आफू श्रमिक हुंदा देखिनै आफ्नो मनमा यस्तो खाले योजना रहेको खुलासा गरेको थिए। म एक श्रमिकको रुपमा काम गर्दा अनेक आर्थिक समस्याहरु आई पर्ने गर्दथे तर त्यो समयमा यस्ताखाले योजनाहरु व्यवस्थापन गर्ने कुनै किसमिको वातावरण नै थिएन जव म १९ वर्षको हुँदा कतारमा आएको थिएं सोही समयको सिभिल स्यालरी यसको कारक भएकोले धेरै लामो समयको अध्ययन र टिम वर्कपश्चात कोही एक धनी व्यक्तिनै मालिक नभएर श्रमिकको छोरा नै मालिक बनाउने आफ्नो मिशन रहेको उनको सपष्टोक्ति थियो। श्रमिक रेमिटमा सक्दो भन्दा सक्दो धेरै श्रमिकहरुलाई स्वामित्व दिलाउने उद्धेश्य भएको हुँदा यसको यथार्थलाई राम्ररी अध्ययन गरेर मात्र यसको स्वामित्व लिएमा अत्यन्त लाभदायी हुने र भावि सन्ततीहरुले पनि आफ्नो अग्रजले केही गरेन भनेर प्रश्न उठाउन नसक्ने उनले थपे। हामी नेपालीहरुमा सबै कुरा हुँदाहुँदै पनि यस्ताखाले स्वतः मुनाफा हुने खालका योजनाहरुमार्फत विकासका कुराहरुमा अगाडि नवढ्नाले हामी नेपालीहरु अरु देशको अगाडि पुर्खौदेखि विचारा भएर चिनिनु पर्ने वाध्यता छ। तर अबको नयाँ पिढीले यस्ता किसिमका विल्ला हटाउनु पर्दछ, हाम्रो अगाडि सेतो कागज छ त्यहाँ केही कोरिनु पर्दछ ताकी इतिहासमा स्वतः यसको अमिट छाप रहनेछ उनले स्पष्ट पारे।

श्रमिक रेमिट एक सफल संस्था हो जसले आफ्नो महान लक्ष्य हासिल गर्नको लागि विश्वका विभिन्न देशहरुमा गठन भएको गैरआवासीय नेपाली संघलाई आफ्नो छाता संगठन मानी मौद्रिक काम कारवाही गर्ने छ उनले प्रष्ट्याए। कुनै पनि संस्था एकै पटक पूर्ण नहुने हुँदा यसमा पनि कतिपय कुराहरुको कमी कमजोरी रहेको हुन सक्दछ यदि त्यस्ताखाले सुझाव भएमा क्रियटिभ क्रिटिसाईज्ड हुनु आवश्यक रहेकोले यस्तोखाले सुझावको सधै स्वागत गर्ने धारणा व्यक्त गरे। यसरी आफू पहिलो पटक सामाजिक कार्यभन्दा केही वेग्लै प्रकारको संस्थामा आवद्ध हुनुकोकारण खुलाउँदै उनले थपे…एक, दुई जनाले लगानी गरेमा एक दुई जनामात्रै धनी हुने हुंदा यसप्रकारको लगानी भएको संस्थाबाट सवै स्वामित्व रहेका श्रमिकहरुलाई लाभान्भित गराउने आफ्नो भित्री चाहाना भएको धारणा राखे। करीव ३ लाख नेपाली जनसंख्या भएको यस कतारमा लगभग ३ सय एकेडेमीक क्वालिफाईडहरु रहेको र यहीबाटै सुभारम्भ गर्दे यसका माध्यमबाट हरेक श्रमिकको माझमा सजिलै यसले निरन्तरता पाई नेपालको ७५ वटै जिल्लाहरुमा श्रमिकहरुको आर्थिक तथा अन्य विकासका कार्यहरु नै यस संस्थाको अन्तिम लक्ष्य रहेको जानकारी दिए।

कार्यक्रमको दोस्रो चरण प्रश्नोत्तर कार्यक्रममा के.पुरी, इन्जिनियर रविकान्त लाल, इ.पदम नारायण साह, हिमालयन गिरीलगायत अन्य महानुभावहरुको जिज्ञासालाई प्रष्ट पार्दै उक्त संस्थाको २० प्रतिशत स्वामित्व नेपालमा रहेका श्रमिकहरुलाई पनि खुल्ला गरिएको र यसको संचालन छिटैनै बजारमा ल्याउने जानकारी संस्थापक अध्यक्ष सागर नेपालले दिए। प्रश्न उत्तर कार्यक्रममा बोल्दै इ. रविकान्त लाल तथा इ. पदमनारायण साह, किसन पुरी तथा हिमालयन गिरीले कम्पनीको अवधारणाको स्वागत गर्नुभएको थियो। उनीहरूले कम्पनीमा आवद्ध भई श्रमिकहरु तथा देशको आर्थिक विकाश र उन्नतिमा साथ दिने कुराको घोषणा गरे। उपस्थित महानुभावहरुद्वारा दिइएको सुझावहरुलाई आत्मसाथ गर्नेकुरा अध्यक्ष सागर नेपाल तथा प्रेसिडेन्ट तारा मंगोलद्वारा प्रष्ट पारिएको थियो।

Popularity: 9%

Add comment April 22nd, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2009
M T W T F S S
« Mar   May »
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Posts by Month

Posts by Category

More news....