Archive for April 23rd, 2009

राष्ट्रपति डा. यादवसँग नेकपा (संयुक्त मार्क्सवादी)को बिचार बिमर्श

राष्ट्रपति डा. यादवसँग नेकपा (संयुक्त मार्क्सवादी)को बिचार बिमर्श
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त मार्क्सवादी)को एक प्रतिनिधि मण्डलले आज महामहीम राष्ट्रपति डा. रामबरण यादवलाई भेटेर उहासमक्ष देशको बिग्रदो राजनीतिक स्थिति र त्यसबाट मुक्त हुनुपर्ने आवश्यकता सम्बन्धमा छलफल गर्नुका साथै पार्टीको तर्फबाट नयाँ संविधान निर्माण गर्दा राखिनुपर्ने आधारभूत प्रावधानहरुको रुपरेखा प्रस्तुत गर्‍यो।

दिनको १३० बजे राष्ट्रपति भवन शितल निवासमा पार्टी अध्यक्ष क. हेमन्तबहादुर बीसी, महासचिव क. लोकनारायण सुवेदी, पोलिट ब्यूरो सदस्य क. शरणबिक्रम मल्ल र केन्द्रिय सदस्य क. कैलाश यदुवंशीसमेतको ४ सदस्यीय प्रतिनिधि मण्डलसँग राष्ट्रपति डा. यादवलले आधा घण्टासम्म राष्ट्रिय राजनीतिमा अहिले उठिरहेका महत्वपूर्ण बिषयहरुमा बिचार बिमर्श गर्नु भएको थियो।

त्यस अबसरमा राष्ट्रपति डा. यादवले अहिले सरकार र सेना बीच उत्पन्न समस्यालाई राष्ट्रिय राजनीतिक समझदारीका आधारमा समाधान गरिनु पर्ने कुरामा जोड दिनुहुदै जन आन्दोलनको मर्म र भावना, अन्तरिम संविधानको दिशा निर्देश तथा संविधान सभा निर्वाचनको जनादेश अनुसार चल्नुबाहेक अरु कुनै बिकल्प गणतन्त्रात्मक लोकतन्त्रबादी जन आन्दोलनकारी दलहरुका अगाडि छैन भन्नु भयो। उहाँले जन आन्दोलनका उपलब्धीहरुलाई जोगाउन र तिनलाई संस्थागत गर्न सबैले संकीर्ण स्वार्थलाई त्यागेर सुझबुझ, धैर्य र इमानदारीकासाथ चल्ने हो भने अग्रगामी दिशामा जान सकिन्छ र उग्र जातिय तथा क्षेत्रीय भावना भड्काउने प्रबृत्तिलाई पनि परास्त गर्दै देशलाई समुन्नत दिशामा लैजान सकिन्छ भन्नु भयो।

पार्टी अध्यक्ष क. हेमन्त बीसीले लोकतान्त्रिक मूल्य, मान्यता र परम्परालाई दृढताकासाथ नपक्रनाले र जन आन्दोलनकारी शक्तिहरुलाई उपेक्षा गर्नाले ठूलो राजनीतिक परिवर्तनपछि पनि आज देशमा बिभिन्न समस्या उत्पन्न हुदै आएको र स्थिति झनपछिझन् जटील र गम्भीर बन्दै गएको औल्याउनु हुँदै ती गम्भीर गल्ती कमजोरीहरुलाई हटाएर सम्पूर्ण बाम-लोकतान्त्रिक शक्ति एकजुट भएर अधि बढ्नु बाहेक अरु कुनै निरापद बाटो छैन भन्ने कुरा प्रष्ट पार्नु भएको थियो।

पार्टी महासचिव क. लोकनारायण सुवेदीले राष्ट्रका संबेदनशील कुराहरुको आडमा संकीर्ण राजनीतिक स्वार्थको रोटी सेक्ने गलत प्रबृत्तिले गर्दा समस्या समाधान हुने भन्दा उल्टै अनिष्टकारी स्थिति बिकास हुन गएको र देशको राजनीतिक नेतृत्वप्रति नै प्रश्न चिन्ह खडा हुदै गएको तथा बाहृय चलखेल झन बढेकोले सम्पूण बामपन्थी तथा लोकतान्त्रिक शक्ति इमानदारीपूर्वक एकजुट भएर जनता र राष्ट्रको हितमा लाग्नु पर्ने कुरामा जोड दिनु भयो र राष्ट्रपतिले समस्या समाधान गर्न प्रभावकारीरुपमा समन्वयकारी भूमिका खेल्नुपर्ने कुरामा ध्यानाकर्षक गराउनु भयो।

पार्टीका पोलिट ब्यूरो सदस्य क. शरण बिक्रम मल्लले नेपालको अखण्डतालाई अक्षुण्ण राखेरसंघीयताको निर्माण गरिनु पर्ने र स्वशानको अधिकार दिनुपर्ने पार्टीको प्रष्ट धारणा रहेको दर्शाउनु भएको थियो।

२०६६ बैशाख १०
(लोकनारायण सुवेदी)
महासचिव
नेपाल कम्युनिष्ट पार्टी संयुक्त मार्क्सवादी)

Recent Videos:

Popularity: 9%

Add comment April 23rd, 2009

एनआरएनए कतारको अधिवेशन शुरु

दीपक पौडेल, दोहा / एचकेनेपाल डट कम -
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए- एनसिसी) दोहा, कतारको २ बर्षको कार्यकालका लागि शुक्रवार नयाँ नेतृत्व चयन हुँदैछ।

एनआरएनए- एनसिसीको २००९ देखि २०११ को पदावधिका लागि राष्ट्रिय परिषद सदस्यहरुको नामावाली यसअघि नै प्रकाशित भइसकेको छ। नयाँ कार्यकालका लागि ९ सय ४५ जना परिषद सदस्यहरु रहेका छन्। पाँचै विकास क्षेत्रलाई समेटिने गरी ६७ जिल्लाबाट आएर कतारमा कार्यरत परिषद् सदस्यहरु मध्ये स्याङजा जिल्लाका सबैभन्दा बढी ६५ जना रहेका छन् छन् भने बाजुरा, भोजपुर, दैलेख, रसुवा रौतहट, सल्यान र सुर्खेत जिल्लाबाट १/१ जनाको मात्र सहभागिता रहेको बताइएको छ। बिकास क्षेत्रको आधारमा पश्चिमाञ्चलबाट ३ सय ४३, मध्यमाञ्चलबाट २ सय ६७, पूर्वाञ्चलबाट २ सय ५९, सुदूर पश्चिमाञ्चलबाट ५२ तथा मध्यपश्चिअन्चलबाट २२ जनाको सहभागिता रहेको एनआरएनए एनसिसीले बताएको छ भने २ जनाको सदस्याको जिल्ला खुलाईएको छैन। परिषदको भेला २४ अप्रिलमा (शुक्रवार) नेपाली दूतावासको सभाकक्षमा आयोजना हुने उल्लेख गरिएको छ।

त्यसै गरी, निर्वाचन समितिले आगामी कार्यसमितिको निर्वाचन कार्यक्रम तालिका पनि सार्वजनिक गरेको छ। सो तालिका अनुसार अप्रिल १८ देखि २० उम्मेदवारी दर्ता तथा अप्रिल २० बेलुकी ८.३० बजे उम्मेदवारी नामावाली प्रकाशन रहेको छ भने दाबी बिरोधको लागि २१ अप्रिल र नाम फिर्ताको लागि २२ अप्रिलको मिति तोकिएको छ। सोही दिन उम्मेदवारहरुलाई अन्तिम नामावाली प्रकाशित गरिने जनाइएको छ। मतदान भने अप्रिल २४ तारिखका दिन नेपाली दूतावास भवनमा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म, ४.३० देखि मतगणना गरिने र सकिनासाथ नतिजा प्रकाशन गरिने कार्यक्रम रहेको छ।

निर्वाचन समिति संयोजक कुमार कार्कीले एक विज्ञप्ति जारी गर्दै कतारस्थित सम्पूर्ण नेपाली संघ संस्थाहरु, नागरिक समाज, पत्रकार तथा सम्पूर्ण परिषद सदस्यहरुसमक्ष ऐक्यवद्धताका लागि अपिल गरेका छन्। गैरआवासीय नेपाली संघ कतारको २४ अप्रिल २००९ का दिन हुन गईरहेको तेश्रो राष्ट्रिय महाधिवेशनलाई सम्पन्न गर्नकालागि निर्वाचन प्रकृया शुरु भईसकेको उनले अवगत गराएका छन्।

‘सम्पूर्ण प्रवासी नेपालीहरुको गरिमामय साझा संस्था गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको यो राष्ट्रिय महाधिवेशन सफल पार्नु हामी सवैको कर्तव्य हो’ कार्कीले लेखेका छन्- ‘स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन मार्फत नयाँ कार्यसमितिको निर्माण गर्नु हामी सवैको कर्तव्य हो त्यसका लागि यस निर्वाचन समितिलाई दिएको जिम्मेवारी पूरा गर्न निर्वाचन प्रकृयामा सहयोग गरि ऐक्यवद्धता जनाइ दिनहुनको लागि कतारमा कार्यरत सम्पूर्ण संघ संस्था, नागरिक समाज, पत्रकार तथा राष्ट्रिय परिषद सदस्यहरुलाई हार्दिक अनुरोध गर्दछौं। ‘ संयोजक कार्कीले महाधिवेशनमा उम्मेदवारी दिन चाहने परिषद सदस्यहरुले पूरा गर्नुपर्ने सर्तहरु र पालना गर्नुपर्ने नियमहरुवारे पनि अवगत गराएका छन्।

महाधिवेशनबाट आईसीसी सदस्य, अध्यक्ष, २ जना उपाध्यक्षहरु, महासचिव, सचिव, कोषाध्यक्ष र ५ स्वतन्त्र सदस्य गरी १२ जनाको चयन सम्पूर्ण राष्ट्रिय पारिषद सदस्यहरुको मतदानबाट हुनेछ। ५ सदस्यहरु नेपालका ५ विकास क्षेत्रहरुको प्रतिनिधित्व गर्ने परिषद् सदस्यहरुमध्येबाट एक/एक जनाका दरले क्षेत्रगत रुपमा निर्बाचित हुनेछन् भने सम्बन्धित विकास क्षेत्रका परिषद सदस्यहरुले मात्र उम्मेदवारी दिन र मतदान गर्न पाउने छन्। अन्य थप ५ सदस्यहरुमध्ये महिलाबाट १ जना, आदिवासी जनजातिबाट २ जना र दलितबाट २ जनालाई समेट्ने गरी सम्बन्धित समुदायका राष्ट्रिय पारिषद सदस्यहरुमध्येबाट निर्बाचित हुनेछन्।

निर्वाचन कमिटिका अनुसार अध्यक्ष पदमा नरेन्द्र भाट र होमनाथ शर्मा पौडेलको उम्मेदवारी परेको छ भने प्रथम उपाध्यक्षमा अजिजुर रहमान शेख र पदमनारायण शाह उम्मेदवार रहेका छन्। द्वितीय उपाध्यक्षका लागि छत्रबहादुर घले निर्विरोध भए भने महासचिवमा विलबहादुर गुरुङ र विनेश तामाङविच प्रतिस्पर्धा हुनेछ। सचिवका लागि क्रान्ति सिंह र राममणीप्रसाद मण्डल तथा कोषाध्यक्षमा पूर्ण के.सी र मोहरम नदाफको उम्मेदवारी रहेको छ।

खुल्ला सदस्यमा उमेश अधिकारी, हरिप्रसाद लामिछाने, लालबहादुर बेगा, सुनिल मण्डल, शिबशरण यादव, कमलप्रसाद शर्मा खरेल, करिम बक्स मियाँ, महेन्द्र अदृश्य राई, बालकृष्ण पौडेल, सन्तोष थापा, गणपति शाह, मोहमद उमर आलम, जलिल खान र गुरु नारायण रानाभाटले उम्मेदवारी दिएका छन्। पूर्वाञ्चल सदस्यमा चुडामणी कार्की निर्विरोध भए भने मध्यमाञ्चल सदस्यमा विभशराज अर्याल र कमल किशोर चौधरी, पश्चिमाञ्चल सदस्यमा केशव भूसाल र श्री कृष्ण भट्टराई प्रतिस्पर्धा गर्नेछन्।

निर्वाचन कमिटिले पठाएको सूची अनुसार मध्यपश्चिमाञ्चल सदस्यका लागि महेशप्रसाद पोखरेल, सुदूर पश्चिमाञ्चल सदस्यका लागि दमनविक्रम शाह र महिला सदस्यका लागि सरिता भाटको मात्रै उम्मेदवारी परेको छ। जनजाति सदस्यमा दिलीपकुमार चौधरी, लोकेन्द्रकुमार तुमरोक, रकमध्वज राई र नरेशकुमार राईको उम्मेदवारी रहेको छ भने दलित सदस्यमा पदमबहादुर बि.क, बिनबहादुर विश्वकर्मा, कमल दानकुटी, प्रेम बि.क. र शिल्टु महरा उम्मेदवार रहेका छन्। आईसीसी सदस्यका लागि भने टेकबहादुर कार्की, प्रज्ञान उदास र मोहमद साकिर अलिविच प्रतिस्पर्धा हुनेछ।

Recent Videos:

Popularity: 9%

Add comment April 23rd, 2009

बी.एफ.बी.बी.एस.को वार्षिक बैठक सम्पन्न

योगराज राई, बेलायत / एचकेनेपाल डट कम -
प्रत्येक वर्ष हुने बी.एफ.बी.एस. गोर्खा रेडियो युकेको बैठक यो वर्ष पनि अप्रिल १७ तारिखका दिन सोर्नल्किप केन्टस्थित टु आरजीआर, सेकेण्ड बटालियनको बैठक कक्षमा सम्पन्न भयो।

बैठकको प्रमुख उद्धेश्य सबै गोर्खाली पल्टनका प्रतिनिधिहरुलाई आमन्त्रण गरी उहाँहरुले आआफ्नो पल्टनबाट ल्याउनु भएको कार्यक्रम सम्बन्धी एजेण्डाहरुमाथि छलफल गर्नु रहेको थियो।

सहभागी सबै प्रतिनिधिहरुलाई बी.एफ.बी.एस. गोर्खा रेडियो युकेका महाप्रबन्धक श्री खेम गुरुङले स्वागत गर्नुहुँदै बी.एफ.बी.एस.प्रति सबै पल्टनले देखाएको माया, सद्भाव र प्रेरणाको प्रसंशा गर्नु भएको थियो।

बैठकमा बी.एफ.बी.एस. गोर्खा रेडियो युकेको नेर्टवर्क प्रोग्राम डाइरेक्टर विनोदध्वज खड्का, योगराज राई, सिरीश सुनुवार र आशा पुनको पनि सहभागिता रहेको थियो। त्यस्तै, क्युओजीएलआरबाट मेजर ज्ञानबहादुर लिम्बू एम्भीओ, गोर्खा कम्पनी सिताङबाट एक्टिङ मेजर टेकबहादुर घर्ति, टु आरजीआरबाट क्याप्टेन जोगेन्द्रसिङ्ग लिम्बू, हलाभिङटन क्युओजीएलआरबाट क्याप्टेन टीकाप्रसाद राई र ब्रिगेड ब्याण्डबाट भगीमान लिंदेनको उपस्थिति रहेको थियो।

सहभागी सबै प्रतिनिधिहरुले गोर्खा रेडियो युकेले पुर्याउदै आएको अतुलनिय योगदानको प्रसंशा गर्नुहुँदै सबै उमेर समूहका श्रोताहरुको चाहनालाई समेटेर कार्यक्रम सञ्चालन गर्दै गएमा अझ गोर्खा रेडियोको लोकप्रियता बढ्ने कुरामा आफूहरु विश्वस्त रहेका कुरा ब्यक्त गर्नुभएको थियो।

कार्यक्रमको अन्तमा बी.एफ.बी.एस. गोर्खा रेडियो युकेका महाप्रबन्धक श्री खेम गुरुङले सबै पल्टनका एजेण्डाहरुलाई हृदयंगम गरी कार्यक्रमलाई आउँदा दिनहरुमा अझ परिमार्जन र श्रोतामूखि बनाउँदै लैजाने धारणा ब्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो।

Popularity: 9%

Add comment April 23rd, 2009

आगलागीमा १३ सुरक्षाकर्मीको मृत्यु (Breaking News)

एचकेनेपाल डट कम संवाददाता-
रामेछाप जिल्ला अस्पताल नजिकको जंगलमा लागेको आगो निभाउन गएका कम्तीमा १३ जना सुरक्षाकर्मीको विहीवार मध्यान्ह जलेर मृत्यु भएको छ। अस्पताल नजिकको जंगलमा आगलागी भएपछि त्यहाँ खटिएका मन्थलीस्थित श्रीजंग गणका १३ जना सैनिकहरू आगो निभाउने क्रममा मृत्यु भएको पुष्टि भएको छ। अहिलेसम्म १३ सैनिकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। सोही घटनामा एक जना प्रहरीसमेत हराएको जनाएको छ।

आगलागीबाट मृत्यु हुनेहरूमा सेनाका हवल्दार क्षत्रबहादुर बस्नेत, अमलदार तोपबहादुर न्यौपाने, सिपाही युवराज गिरी, इन्द्रबहादुर, सन्तोष सुनुवार, पुकार बस्नेत, निरबहादुर खडका, सन्तोष महत, रामशरण कार्की, धनबहादुर बिष्ट र प्युठहरु प्रकाश अधिकारी, पूर्णबहादुर तामाङ र जयराज केसी रहेका छन्।

अस्पताल छेउको जंगलमा गएरातिदेखि फैलिएको आगो नियन्त्रण गर्न १ सय ३० जना सैनिकसहित प्रहरी र स्थानीयबासी गरी करीव ३ सयजना परिचालन गरिएको थियो। अस्पतालको नजिकको जंगलबाट फैलिएको आगोले विहान करीव ११ बजे उग्ररूप लिएको थियो। चारैतिरबाट फैलिएको आगोको घेरामा परेर सैनिकहरूको जलेर मृत्यु भएको जनाएको छ। मृतक सैनिकहरूको शव व्यारेकमा राखिएको छ।

सेनाको सक्रियताका कारण अपरान्ह ३ बजे आगो नियन्त्रणमा आएकाले अस्पतालमा कुनै क्षति हुन पाएन। आगो नियन्त्रणपछि केही सैनिकहरू सम्पर्कमा नआएकाले घटनामा १३ सैनिकहरू मृत्यु भएको थाहा भएको हो।

Popularity: 9%

Add comment April 23rd, 2009

गुरुङ भाषा पठनपाठन हुने पहिलो विद्यालयको डकुमेन्ट्री

गुरुङ भाषा पठनपाठन हुने पहिलो विद्यालयको डकुमेन्ट्री
खेब धीं को छायांकन सम्पन्न

भीम तमु / एचकेनेपाल डट कम-
अधिराज्य भर मै तमु (गुरुङ) भाषा पठनपाठन हुने पहिलो र सम्भवतः एकमात्र विद्यालय “देवदह मदर टङ्स एकेडेमी” को सम्पूर्ण गतिविधी लगायत तमु (गुरुङ) समाजसेवीहरुको धारणा सहितको डकुमेन्ट्रीको छायांकन सम्पन्न भएको छ।

खेब धीं नामाकरण गरिएको यस डकुमेन्ट्रीमा तमु (गुरुङ) भाषा पठन पाठन गरिएको दृश्य, विद्यालयमा तमु (गुरुङ) भाषा पढ्ने विद्यार्थीहरु एवम् शिक्षक शिक्षिकाहरुसंग गरिएको कुराकानी, विद्यालयले गरेको उपलब्धी तथा प्रशंसाहरु र सञ्चालनार्थ भएको कठिनाई समस्याहरुबारे विद्यालयका संस्थापक र प्रिन्सिपलसंगको कुराकानीसाथै विद्यालयलाई हेर्ने दृष्टिकोण बारेमा समाजका वरिष्ठ व्यक्तित्वहरुका विचारहरु र विद्यालयले आफ्नो दशौं वाषिर्क उत्सव मनाउदासम्म केही विशेष गतिविधीहरु समेत समेटिएका छन्।

“तमु भाषा र संस्कृतिले हामी तमुहरुलाई चिनाउँदछ” भन्ने मूल मान्यतालाई अँगाल्दै तमु भाषालाई बचाई भावी पिढीलाई हन्तान्तरण गर्न २०५५ सालमा स्थापित यस विद्यालय “देवदह मदर टङ्स एकेडेमी” ले गत २०६५ माघ २२ गते दशौं वाषिर्कोत्सव मनाएको र सोही अवसर पारेर सो डकुमेन्ट्री छायांकन गरिएको हो। तमु (गुरुङ) भाषा पढाउने पहिलो र एक मात्र (पाठ्यक्रम विकास केन्द्रका अनुसार पनि) विद्यालय र यसको अवस्थाको विषयमा धेरै तमु नामका मिडियाहरुमा आई सकेपछि स्वदेश तथा विदेशमा बस्नु हुने तमु (गुरुङ) बुद्धिजीवीहरु र शुभचिन्तकहरुबाट यस विद्यालयमा तमु (गुरुङ) भाषा पठनपाठन गरिएको दृश्य, विद्यालयले गरेको उपलब्धी तथा प्रशंसाहरु र सञ्चालनार्थ भएको कठिनाई समस्याहरु बारेमा भिजुवलमा हेर्ने इच्छाहरु व्यक्त भएपछि यो डकुमेन्ट्री बनाइएको हो। तमु (गुरुङ) भाषालाई संरक्षण र संबर्धन गर्न यस विद्यालयले ११ वर्षअघिदेखि बढाउदै आएको कदमहरुलाई आम तमु (गुरुङ) हरुबाट अझ बलियो तथा दरिलो बनाउन प्रोत्साहन, आवश्यक सल्लाह, सुझाव एवं सहयोग यो डकुमेन्ट्री हेरिसकेपछि पनि मिल्ने आशा गरिएको छ। हाम्रो पहिचानको रुपमा रहेको तमु (गुरुङ) भाषा दिन प्रतिदिन लोपोन्मुख हुदै गएको अवस्थामा, मातृभाषा भाषीलाई लोकतान्त्रिक सरकारले समेत हात्तिको देखाउने दाँतको व्यवहार गरि रहेको अवस्थामा, हाम्रो तमु (गुरुङ) समाजले आफ्नो अस्तित्व बोकेको भाषालाई जोगाउन ठोस कदम चाल्नुको सट्टा जुँगाको अस्तित्वलाई ठूलो बनाई रहेको अवस्थामा यस विद्यालयले लामो समय देखि तमु (गुरुङ) भाषाको संरक्षण तथा संवर्धनकालागि गरेको अथक प्रयास आम तमु (गुरुङ) हरुको लागि सराहनिय विषय ठहरिने छ। खेमा प्रोडक्सन प्रा.लि.को व्यानरमा निर्माण भएको डकुमेन्ट्री खेब धीं को छायांकन दिपक जोशी, सम्पादन छवि राना मगर, निर्देशन प्रितम गुरुङ र निर्माण देवदह मदर टङ्स एकेडेमीका संस्थापक तथा प्रवन्ध निर्देशक भिम गुरुङ रहेको छ।

Popularity: 9%

1 comment April 23rd, 2009

सेनाप्रति माथिको कारवाही सहमतिको आधारमा हुनेः प्रम

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक सहमतिका आधारमा प्रधानसेनापतिको स्पष्टीकरणपछिको कारबाही अगाडि बढाइने बताउनुभएको छ।

नेकपा (माओवादी) संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि पत्रकारहरुसँग प्रधानमन्त्री प्रचण्डले भन्नुभयो-”प्रधानसेनापतिउपर अब के कस्तो कारबाही हुने हो, जे गरे पनि सहमतिका साथ गर्नुपर्छ, अहिले राजनीतिक सहमतिको विकल्प छैन।”

प्रधानमन्त्रीले भन्नुभयो- प्रधानसेनापतिको स्पष्टीकरणको विषय तातो तातो छ। अब के हुन्छ ? भन्ने सबैको चासो छ। सर्वदलीय बैठकमा यसविषयमा गम्भीर छलफल भएको छ।

बैठकमा सहभागी प्रायः सबै दलले सरकारले प्रधानसेनापतिसाग संविधानको दायराभित्र रहेर स्पष्टीकरण सोध्न सक्ने भएतापनि अहिले स्पष्टीकरण सोध्ने आधार र विषयको गम्भीरता नभएको बताएका थिए।

प्रधानमन्त्री प्रचण्डले बैठकमा शान्तिप्रकिया, सेना समायोजनका विषयमा सरकारलाई सहयोग नगरेको र नागरिक सर्वोच्चतामा खलल पुर्याउने कार्य पटक पटक गरेकाले प्रधानसेनापतिलाई स्प्ष्टीकरण सोधिएको बताउनुभएको थियो।

बैठकमा माओवादीले सत्ता कब्जा गर्ने मनसायले प्रधानसेनापतिमाथिको कार्यवाही अगाडि बढाइएको हो भनी दलहरुले माओवादीलाई बदनाम गर्ने नियतले झुठो प्रचार गरिरहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको थियो।

नेपाली काग्रेसका उपसभापति विमेन्द्र निधिले नेपाली सेनाले नागरिक सर्वोच्चतालाई असर पार्ने कुनै काम नगरेको र शान्तिप्रक्रियाको एक अंग भएकोले प्रधानसेनापति उपर कारवाही गर्ने कुनै आधार नभएको बताउनुभयो।

एकीकृत नेकपा माओवादीका नेता दीनानाथ शर्माले बैठकमा प्रधानसेनापतिउपर कारवाही हुनुपर्छ र हुन्न भन्ने दुवै थरिका मत जायज भएपनि सहमतिकाआधारमा बीचको मार्ग पहिल्याएर अगाडि बढ्नु उपयुक्त हुने सबैको भनाई रहेको उल्लेख गर्नुभयो।

बैठकमा नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, दलित जनजाति र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाहेक बीस राजनीतिक दलको सहभागिता थियो।

Popularity: 9%

1 comment April 23rd, 2009

महिनौँ आन्दोलन गरेर भए पनि प्रधानसेनापतिलाई हटाउने चेतावनी

एचकेनेपाल डट कम संवाददाता-
प्रधानसेनापति रुक्माङ्गत कटवाललाई तत्काल कारबाहीको माग गर्दै एकीकृत नेकपा (माओवादी)का जनवर्गीय सङ्गठनहरुले राजधानी लगायत मुलुकका विभिन्न भागमा प्रदर्शन भएका समाचार प्राप्त भएका छन्।

कटवाललाई कारबाहीको माग गर्दै काठमाडौँस्थित शान्तिवाटिकाबाट निस्किएको जुलुस बागबजार, पुतलिसडक, प्रदर्शनीमार्ग, सहिदगेट, न्युरोड, असन, भोटाहिटी हुँदै पुनः शान्तिवाटिकामा आएर सभामा परिणत भएको थियो।

सभालाई सम्बोधन गर्दै अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष गुणराज लोहनीले प्रधानसेनापति कटवाल सामन्तवादको धरोहरको रुपमा रहेको बताउँदै उनलाई तुरुन्त कारबाहीको माग गर्नुभयो।

अनेरास्ववियु (क्रान्तिकारी)का उपाध्यक्ष युवराज चौलागाईँले नेपाली सेनालाई प्रधानसेनापति कटवालले अझै शाही सेना बनाउन खोजेको आरोप लगाउनुभयो।

उहाँले आफ्नो पार्टीले आदेश दिएमा आफूहरु जङ्गीअड्डा घेर्न तयार रहेको बताउनुभयो।

सभामा अखिल नेपाल ट्रेड युनियन महासङ्घका महासचिव गणेश रेग्मीले महिनौादिन आन्दोलन गरेर भएपनि प्रधानसेनापति कटवाललाई बर्खास्त गराइछाड्ने चेतावनी दिनुभयो।

Popularity: 9%

2 comments April 23rd, 2009

अपहरण गर्ने महिलालाई कुटेर मारियो

एचकेनेपाल डट कम संवाददाता-
बालक अपहरणको आरोपमा भएको कुटपिटबाट जनकपुरमा एक महिलाको मृत्युभएको छ। स्थानीय रामानन्द चोकमा गरिएको कुटपिटबाट भारतीय मूलकी ती महिलाको मृत्युभएको प्रहरीले जनाएको छ।

त्यस्तै कुम्हरोडामा स्थानीय बासिन्दाले अर्की एक महिलालाई पनि सोही आरोपमा कुटपिट गरेका छन्।

कुटपिटबाट सख्त घाइते ती महिलाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको बताइएको छ।

अस्पतालमा आरोपित त्यस्ता महिलाको उपचार गर्न पाइँदैन भन्दै स्थानीय बासिन्दाले विरोध गर्दा केहीबेर अस्पताल परिसर तनावग्रस्त बनेको थियो।

यसैबीच जनकपुर नगरपालिका-३ मा एक पुरुषलाई सोही आरोपमा कुटपिट गरी प्रहरीमा बुझाइएको छ।

Popularity: 9%

2 comments April 23rd, 2009

लोकतन्त्र दिवस मनाउन आग्रह

एचकेनेपाल डट कम संवाददाता-
लोकतन्त्र स्थापना भएको चौथो वाषिर्कोत्सवका अवसरमा भोलि वैशाख ११ गते विविध कार्यक्रमका साथ मुलुकभर लोकतन्त्र दिवस मनाइँदैछ।

विसं. २०६३ वैशाख ११ गते मुलुकमा लोकतन्त्रको स्थापना भएको हो।

लोकतन्त्र दिवस मूल समारोह समितिले उक्त दिन नेपाली सैनिक मञ्च, टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा उपस्थित हुन सर्वसाधारण सबैसँग आग्रह गरेको छ।

गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा सो दिन विविध कार्यक्रमका साथ आ-आफ्ना कार्यालय एवम् घरघरमा साँझ दीपावली गर्नसमेत अनुरोध गरिएको छ।

त्यस्तै उपत्यका बाहिरका जिल्ला सदरमुकामलगायत स्थानीयस्तरमा लोकतन्त्र दिवसको उपलक्ष्यमा आयोजना हुने विविध कार्यक्रममा सहभागी हुन पनि समाजका सबै वर्ग, व्यवसाय र क्षेत्रका मानिससँग अनुरोध गरिएको छ।

Popularity: 9%

1 comment April 23rd, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2009
M T W T F S S
« Mar   May »
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Posts by Month

Posts by Category

More news....