Archive for April 25th, 2009

गेसोद्वारा बेलायत सरकारको नयाँ नीति अस्वीकार

एचकेनेपाल डट कम संवाददाता-
गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले बेलायत सरकारले शुक्रवार सार्वजनिक गरेको गोरखा भूतपूर्व सैनिकहरुलाई बेलायतमा आवासीय अधिकार दिनेसम्बन्धी नयाँ अध्यागमन नीति अस्वीकार गरेको छ। गोरखा भूतपूर्व सैनिकहरुको छाता संस्था गेसोले बेलायत सरकारले घोषणा गरेको अध्यागमन नीति गोरखा भूतपूर्व सैनिकहरुलाई मान्य नहुने प्रतिक्रिया व्यक्त गरेको छ।

बेलायती संसदमा बेलायतका अध्यागमन मन्त्री फिल उल्सले गरेको घोषणामा निम्न मापदण्डभित्र परेका गोरखाहरुले बेलायतको आवासीय भिसा पाउनसक्ने छन्।

- सेवा अघि वा पछि कम्तीमा तीनवर्ष निरन्तररुपमा बेलायतमा कानुनीरुपमा बसोवास गरेको,
- नजिकका आफन्तजनहरु बेलायतमा बसोवास गरिरहेको (जोसँग युरोपियन कन्भेन्सन अन ह्युमन राइट (इसीएचआर) को अनुच्छेद ८ ले अर्थ्याए अनुरुप पारिवारक सुख उपभोग गर्न सकिन्छ),
- बेलायती सेनामा रहँदा भिक्टोरिया क्रस, डिएसओ/डिसिएम, डिएसओ/डिसिएम बार, आईडिएसएम, मिलिटरी क्रस, मिलिटरी क्रस बार मिलिटरी मेडल, मिलिटरी मेडल बार, जंगी इनाम पाएको,
- बेलायती सेनामा २० वर्ष वा सोभन्दा बढी समय सेवा पूरा गरेको,
- बेलायती सेनामा काम गरेका कारण दीर्घकालीन स्वास्थ्य समस्या नाजुक भएको,

त्यस्तै तल उल्लिखितमध्ये कुनै दुई मापदण्ड पूरा गरेका गोरखाहरुले पनि आवासीय अधिकार पाउन सक्नेछन्
-बेलायतको रक्षा मन्त्रालयबाट अपाङ्ग पेन्सन प्राप्त गरिरहेको तर बेलायती सेनामा काम गरेको कारण दीर्घकालिन रोग नभएको,
-बेलायती सेनामा काम गरेवापत तह ४ को पुरस्कार प्राप्त गरेको,
-बेलायती सेनामा १० वर्ष सेवा गरेको वा १० वर्षभन्दा कम सेवा गरेपनि युद्धमा पुरस्कृत भएको

बेलायत सरकारले घोषणा गरेको नयाँ अध्यागमन नीतिलाई गोरखा भूतपूर्व सैनिकहरुले अस्विकार गर्ने बताएका छन्। बेलायती संसदमा नयाँ अध्यागमन नीति सुनेपछि गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति पदमबहादुर गुरुङले भन्नुभयो- बेलायती सरकारले आज घोषणा गरेको अध्यागमन नीति गत सेप्टेम्बर ३०, २००८ को बेलायती उच्च अदालतको फैसला विपरीत छ। नयाँ नीतिले उच्च अदालतको फैसलाको अपहेलना, अपमान गरेको र धज्जी उडाएको छ। बेलायती अदालतले गोरखाहरुलाई बेलायतको आवासीय अधिकार नदिने बेलायतको तत्कालीन अध्यागमन नीति नै खारेज गरिदिएको थियो तर अहिले बेलायतले पहिलेको अध्यागमन नीतिभन्दा पनि गोरखाहरुप्रति अनुदार नीति घोषणा गरेको छ।

बेलायतले घोषणा गरेको नयाँ अध्यागमन नीतिविरुद्ध अब गेसो र गोरखा भूतपूर्व सैनिकहरुले फेरि बेलायती उच्च अदालतमा चुनौती दिनेछन्। अध्यागमन नीतिका विरुद्ध अब बेलायत र नेपालमा सडक आन्दोलनमा उत्रनेछौँ। बेलायती जनतासमक्ष बेलायतको सेवा गरेका गोरखा सैनिकहरुमाथि बेलायत सरकारले गरेको अत्याचारको भण्डाफोर गर्ने छौँ।

गोरखा भूतपूर्व सैनिकहरुको मुद्दा लडिरहेको बेलायतस्थित हो एण्ड कम्पनीका वकिल डेभिड इनराइटले नयाँ नीतिको घोषणापछि भन्नुभयो- नयाँ नीतिमा कायम गरिएको मापदण्ड पूरा गर्नै नसकिने किसिमको छ। बेलायती सेनामा २० वर्ष काम गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ तर सिंपाहीहरुलाई १५ वर्ष मात्र सेवा गर्न दिइन्छ। यो अपमान र बेइज्जति हो। नयाँ नीतिले पहिलेको नीतिभन्दा पनि धेरै गोरखाहरुलाई बेलायतमा बसोबास गर्न रोकेको छ।

गत सेप्टेम्बर ३०, २००८ मा बेलायती उच्च अदालतले सबै गोरखा भूतपूर्व सैनिकहरुलाई बेलायतको आवासीय भिसा दिने अध्यागमन नीति ल्याउन बेलायती सरकारलाई आदेश दिएको थियो। तर बेलायती सरकारले अध्यागमन नीति ल्याउन आनाकानी गरेपछि गोरखा भूतपूर्व सैनिकहरुले मार्च २६, २००८ मा पुन उच्चअदालतको ढोका ढक्ढक्याएका थिए। त्यसपछि अदालतसमक्ष बेलायती सरकारले अप्रिल २४, २००९ मा नयाँ अध्यागमन नीति ल्याउने कबूल गरेको थियो।

Popularity: 9%

13 comments April 25th, 2009

आगो निभाउने क्रममा फेरि पाँचको मृत्यु (Breaking News)

एचकेनेपाल डट कम संवाददाता-
रामेछापमा आगलागी नियन्त्रण गर्ने क्रममा १३ सैनिकको दुखद निधन भएको घटना सेलाउन नपाउंदै गुल्मीको हस्तिचौरमा पाँच जनाको डढेलो निभाउने क्रममा शनिवार अपरान्ह जलेर मृत्यु भएको छ। हस्तिचौर सामुदायिक बनमा लागेको डढेलो निभाउने क्रममा पाँच जना स्थानीयबासीको मृत्यु भएको छ भने अन्य केही घाइते भएको बताइएको छ। मृत्यु हुनेमा दुई पुरुष र तीन महिला छन्।

शव डढेका कारण पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजेन्द्रकुमार पालिखेले बताए। चारैतिरबाट फैलिएको आगोको घेराभित्र परेर उनीहरूको मृत्यु भएको जनाएको छ। विहान करीव ११ बजे सुरू भएको आगलागी नियन्त्रणको प्रयाश गर्दा उनीहरूको मृत्यु भएको हो। आगलागीका कारण तीन गाउंहरूसमेत जोखिममा परेका छन्।

आगलागी नियन्त्रण र उद्धारका लागि सुरक्षाटोली त्यसतर्फ लागेका छन्। स्थानीयबासीका अनुसार आगोले थप उग्र रूप लिदै गएको छ।

Popularity: 9%

2 comments April 25th, 2009

कोरियामा नेपाली खेलाडीहरूको सहभागिता रहने

रघु त्रिपाठी, दक्षिण कोरिया / एचकेनेपाल डट कम -
कोरियास्थित आन्सान माइग्रट सेन्टर तथा आन्सान नगरपालिकाको संयुक्त आयोजनामा दानमा अर्को साताबाट वर्ल्ड कप रंगशाला आन्सानमा सुरु हुन गैरहेको अन्तरदेशिय खेलकुद तथा फुटवल प्रतियोगितामा नेपालले पनि सहभागिता जनाउने भएको छ।

आन्सान नगरपालिकाको आयोजनामा गत वर्षदेखि सञ्चालन भएको उक्त खेलकुद प्रतियोगिता बिभिन्न मुलुकबाट कोरिया आई बिभिन्न पेशामा आबद्ध रहेका आप्रवासीहरुका लागि लक्षित गरी आयोजना गरिएको बताइन्छ।

कोरियन तथा बहुराष्ट्रका नागरिकहरु बीच भाइचारा बढाउने उद्धेश्यले सम्पन्न हुन लागेको उक्त प्रतियोगिताको बिभिन्न बिधामा ठूलो धनराशीको नगद पुरस्कार तथा पदकहरु रहेका छन्। सो खेलमा गत बर्षपनि सहभागिता जनाइसकेको नेपाली खेलाडीहरुले रिले दौड प्रतियोगितामा सफलता प्राप्त गरे पनि अन्य बिधाहरु फुटवल तथा साँस्कृतिक प्रतियोगितामा असफलता बेहोर्नु परेको थियो।

यस पटकको सो प्रतियोगिताका नेपालको तर्फबाट आपतकालिन नेपाली सेवा समितिको संयोजकत्वमा कोरियामा रहेका उत्कृष्ट तथा सक्रिय खेलाडीहरुलाई समावेश गराई सफलता प्राप्त गर्ने बताउँछन् प्रतियोगिताको नेतृत्व गरिरहेका नेपाली फुटबल टिमका कप्तान जीवन थापा। १७ राष्ट्रका खेलाडीहरुले भाग लिने फुटवल खेलमा केही नयाँ खेलाडीहरुसहित गत वर्षझैँ यस पटक पनि खेलकुद तथा संस्कृत समिति, मासाँङ्ग फुटवल टिमहरुले संयुक्तरुपमा सहभागिता जनाउँने छन् भने साँस्कृतिक प्रतियोगितामा आपतकालिन नेपाली सेवा समितिको दी गोर्खाज ब्याण्डले सहभागिता जनाउँने छ।

Recent Videos:

Popularity: 9%

Add comment April 25th, 2009

प्रधानमन्त्रीको चीन भ्रमण स्थगित

एचकेनेपाल डट कम संवाददाता-
मुलुकमा अहिले देखिएको राजनीतिक अस्थिरताका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले यही बैशाख १९ गतेबाट हुने भनिएको आसन्न चीन भ्रमण स्थगित गरेको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार ओम शर्माले सेनापतिको स्पष्टिकरण प्रकरणले गर्दा मु्लुकमा देखिएको अस्थिर राजनीतिले गर्दा भ्रमण स्थगित गर्नुपरेको जनाएको छ।

प्रधानमन्त्रीको चीन भ्रमणका बेला नेपालले तीन वटा जलविद्युत् परियोजना निर्माण, कृषि विश्व विद्यालय स्थापना, पूर्व पश्चिम पहाडी मार्ग, तीन वटा उत्तर दक्षिण करिडोर, विना भन्सार नेपाली सामान चीनमा प्रवेश र अस्पताल बनाई दिन आग्रह गर्ने तयारी भएको थियो। भ्रमणका बेला नयाँ मैत्री सन्धि र सुपुर्दर्गी सन्धिमा पनि हस्ताक्षर हुने बताइएको थियो।

प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयले शनिबार मध्याह्न चिनिया राजदूतलाई भ्रमण स्थगित भएकोबारे जानकारी गराइसकेको छ।

Popularity: 9%

2 comments April 25th, 2009

बेल्जियममा गणतन्त्र दिवस र नयाँ वर्ष

पुरुशोत्तम सुबेदी, बेल्जियम / एचकेनेपाल डट कम -
नेपाली दूतावास बेल्जियमले शुक्रवार नयाँ बर्ष २०६६ को शुभकामना आदान प्रदानका साथै गणतन्त्र दिवस तथा भेटघाट कार्यक्रम सम्पन्न गर्‍यो।

दूतावास प्रमुख प्रमेश हमालले हामीहरुबीच राजनैतिक विभिन्नता भएपनि राष्ट्र विकासको लागि यस घडीमा बिवेकपूर्ण तरिकाले संबिधान लेखनतर्फ लाग्नु पर्ने बताउदै नेपालमा छिट्टै नै संबिधान निर्माण हुनेमा विश्वास ब्यक्त गरे। दस बर्ष जनयुद्धमा संलग्न बिद्रोही माओवादी अहिले सत्ताको साझेदार अवस्थाको उपस्थितिले देशले क्रान्तिबाट शान्तिको पथतर्फ उन्मुख भएको दाबी गर्दै छिट्टै नै नेपाललाई एक कानुनी राज्य स्थापना गर्नु पर्नेमा जोड दिए। हमालले सबै देशबासी तथा प्रवासी नेपालीहरुलाई नयाँ बर्ष २०६६ तथा गणतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गरे।

समारोहको सुरुमा नेपाली दूतावासका काउन्सुलर दीपक धितालले कार्यक्रमको सञ्चालन गर्दै स्वागत मन्तव्यमा गणतन्त्र नेपाललाई सुनिश्चित गर्न सबै राजनीतिक पार्टीको सहकार्य आवश्यक रहेको बताए। नयाँ बर्ष २०६६ तथा गणतन्त्र दिवसको खुशियालीमा देश बिदेशमा छरिएर रहेका सबै नेपालीहरुलाई शुभकामना व्यक्त गरे।

कार्यक्रममा एनआरएन बेल्जियमका प्रमुख पदाधिकारीहरु, एनडिएफ बेल्जियमका प्रमुख पदाधिकारीहरु, लोकतान्त्रिक गणतान्त्रिक मोर्चाका प्रमुख जन संपर्क समितिका प्रमुखहरूलगायत तमु समाज, शेर्पा समाज, पासा पुच-चितवन क्याट-नेपाली ब्यावसायी संघ बेल्जियमका प्रमुख पदाधिकारीहरु, सनातन धर्मसेवा समितिका प्रमुख, एनआरएन युरोप संयोजक भूपू एनआरएन प्रमुख, सांग्रिला समाज संस्थापक प्रमुख, बेल्जियम साहित्य समाजका पदाधिकारी, जनप्रगतीशिल मंचका पदाधिकारीलगायत बेल्जियममा रहेका अन्य थुप्रै संघ संस्थाहरुका प्रतिनिध, बुद्धिजीवी, पत्रकार, समाज सेवीलगायत उपस्थित थिए।


Popularity: 9%

1 comment April 25th, 2009

नयाँ फैसलाप्रति गोर्खालीहरुमा व्यापक असन्तुष्टी

भूमिराज राई / एचकेनेपाल डट कम -
बेलायती सरकारले सबै गोर्खालीहरुलाई युकेमा बस्ने सुबिधा प्रदान गर्ने विषयमा सिमा-बन्धन तोकेपछि समानताको लडाईं लडिरहेका गोर्खाली र उनीहरूका समर्थकहरुमा व्यापक असन्तुष्टी बढेकोछ।

अदालतले सबै गोर्खालीहरुलाई आवासीय सुबिधा प्रदान गर्न दिएको आदेशको बेवास्ता गर्दै सिमित गोर्खालीहरु जो गम्भीर घाइते वा विमार, युद्धमा बहादुरीता कमाएका बहादुरहरुलाई मात्र आवासीय अधिकार दिने कुरा गृह प्रशासनले प्रकाशमा ल्याएको छ। गोर्खा समानता अभियानमा संलग्नहरुले यो सिमा परिधिभित्र छिर्न सक्नेहरुको संख्या एक सयको हाराहारी मात्रै रहेको बताएका छन्।

४० हजार जतिले आवासीय सुविधाको फाईदा लिने आशा गरिए पनि करीव ४ हजार ३ सय जतिले यो अधिकार पाउन सक्ने गृह प्रशासनले जनाएको छ।

गोर्खा मुद्दा अभियानकी एक सशक्त सदस्य नायिका जोअना लुम्ले (जसको पिता गोर्खालीहरुसंगको युद्ध मोर्चामा सहभागी भएर लडेका थिए) उनले यो घोषणालाई सरकारको ‘लज्जास्पद’ निर्णय भनेकी छन्। नायिका लुम्लेले यसलाई “गोर्खाहरुप्रतिको प्रत्यक्ष असमानताको प्रमाण” भनेकी छिन्।

गोर्खालीहरु बिगत दुईसय बर्षदेखि ब्रिटिश सेनाका अभिन्न भागका रुपमा रहदै आएका छन्। पहिलो र दोश्रो विश्वयुद्धमा झण्डै २ लाख गोर्खालीहरुले ब्रिटिश साम्राज्यका निम्ति लडेका थिए। युद्धका क्रममा ४५ हजारदेखि ६० हजार बढीले ज्यान गुमाएका थिए। १३ जनाले ब्रिटिश सेनाको सर्बोच्च सैनिक पदक भिक्टोरिया क्रस प्राप्त गरेका थिए।

सन् १९९७ अघि अवकास पाएका गोर्खालीहरुलाई आवासीय सुविधा नदिने निर्णयपछि एकै खाले गोर्खालीहरुलाई छुट्टा छुट्टै सुविधा दिएर भेदभाव गरेको भन्दै कानुनी उपाचारको निम्ति अदालतको ढोका ढक्ढकाउदै गोर्खालीहरु न्यायको निम्ति समान अधिकारको अर्को चरणको संघर्षमा उत्रिएका थिए।

हाइ कोर्टले मुद्दाको फैसला गर्दै १९९७ अघि सेवा निवृत्त गोर्खालीहरुमाथि अन्याय भएको ठहर गर्दै सो निर्णयलाई तुरुन्त बदल्न र समान अधिकार प्रदान गर्न आदेश दिएपछि गोर्खालीहरु माझ खुशीको लहर छाएको थियो। सरकारले कस्तो निर्णय गर्ने हो भन्ने कुराको ब्यग्र प्रतिक्षा गरिरहेका गोर्खाली र उनीहरुका परिवारहरुमा बेलायती सरकारको यो निर्णयले निराशा बनाईदिएको छ।

काइ कोर्टको फैसलापछि समान अधिकारका लागि लडिरहेका गोर्खा अभियानका योद्धाहरुले समानताका लागि अझै लडिरहने प्रतिबद्धता जाहेर गरेका छन्।

Popularity: 9%

4 comments April 25th, 2009

नेपाली सेनाद्वारा कूसम्बन्धी समाचारको खण्डन

एचकेनेपाल डट कम संवाददाता-
नेपाली सेनाले कान्तिपुर र द काठमाडौँ पोस्ट दैनिक पत्रिकाको प्रकाशित के-के भयो र ह्वाट पुट माओइस्ट अन ब्याकफुट शीर्षक समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सैनिक जनसम्पर्क निर्देशनालयले एक विज्ञप्ति प्रकाशित गरी कपोलकल्पित ढङ्गले सम्प्रेषण गरिएको ती समाचारहरु झुट्ठा तथा भ्रामक भएको जनाउँदै त्यसको खण्डन गरिएको छ ।

मातृभूमिको स्वतन्त्रता सार्वभौमिकता भौगोलिक अखण्डता एवम् राष्ट्रिय एकताको रक्षार्थ अनवरतरुपमा सेवारत नेपाली सेना प्रजातान्त्रिक पद्धतिप्रति सदाझैँ कटिवद्ध रहेको प्रतिबद्धता प्रकट गर्दै नेपाल सरकार र नेपाली सेनाबीच फाटो ल्याउने सुनियोजित षडयन्त्र गर्ने दुरासायले प्रकाशित सो समाचारमाथि रतिभर पनि विश्वास नगर्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय जनसमुदायमा नेपाली सेनाले विज्ञप्तिमार्फत अपिलसमेत गरेको छ।

Popularity: 9%

2 comments April 25th, 2009

आज आमाको मुख हेर्ने दिन

एचकेनेपाल डट कम संवाददाता-
शास्त्रमा उपाध्यायपण्डित आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा भक्ति सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रुपमा आज वैशाखकृष्णपक्ष औँसीका दिन नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसी मनाउँदैछन्।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा-तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ।

आमा नभएकाहरु भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् र कष्टकर काम सम्झने गर्छन्। शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ।

आजको दिन दिवङ्गत आमाको सम्झनामा यहाँस्थित थानकोट मातातीर्थमा प्रसिद्ध मेला लाग्छ। आमा नहुने नरनारी आज बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर विष्णु र शिवको दर्शन र पूजा गर्छन्। सो तीर्थको परिसरमा मूर्तिकार रामकृष्ण भण्डारीद्वारा निर्मित सबैकी आमाको प्रतीक ‘साझा आमा’को मूर्ति पनि स्थापना गरिएको छ।

मातातीर्थको उत्पत्तिका सम्बन्धमा प्रचलित कथाअनुसार धेरै वर्षपहिले त्यस ठाउँमा गाईवस्तु चराउने चौर थियो। एकदिन एउटा गोठालाले सो चौरमा फ्याँकेको रोटीको टुक्रा हरायो। उसले अचम्म मानी रोटीको अर्का टुक्रा पनि फ्याँक्यो त्यो पनि हरायो। अरु गोठालाले पनि रोटीका टुक्रा फ्याँके तिनमध्ये आमा जीवित हुनॆले फ्याँकेका रोटी त्यहीँ रहे आमा नहुनेले फ्याँकेका रोटीमात्र अलप भए।

कथाअनुसार पहिलोचोटि रोटी फ्याँक्नेकी आमा पनि थिइनन्। त्यो दिन वैशाख कृष्णपक्षको औँसी थियो। दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन। सो कुरा चाल पाई गाउँलेले औँसीको दिन मृत आमाहरु त्यस ठाउँमा आई आफ्ना छोराछोरीले दिएका चिज खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाई त्यसको नाम मातातीर्थ राखे।

यसरी हरेक वर्ष आजकै दिन आमा नहुनेले त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृदिवस मनाउन थाले र मातातीर्थ मेला लाग्न थाल्यो।

आमाको महत्वलाई संस्कृतका विभिन्न श्लोकमा यसरी वर्णन गरिएको छ- ‘मातृदेवो भव पितृदेवो भव आचार्यदेवो भव। जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी। कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति।’

Popularity: 9%

1 comment April 25th, 2009

सामन्तवादी र साम्राज्यवादी हस्तक्षेप बढ्दैछ-मन्त्री महरा

एचकेनेपाल डट कम संवाददाता-
सूचना तथा साचारमन्त्री एवं सरकारका प्रवक्ता कृष्णबहादुर महराले नेपालमा सामन्तवादी र साम्राज्यवादीको हस्तक्षेप बढ्दै गएको बताउनुभएको छ।

एकीकृत नेकपा माओवादी सम्ब्द्ध नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठनको राजधानीमा सुरु भएको दुईदिने प्रथम केन्द्रीय महाधिवेशनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।

अहिले परिवर्तनकारी र यथास्थितिवादीबीच राजनीतिक लडाइँ सुरु भएको बताउँदै मन्त्री महराले भन्नुभयो- प्रधानसेनापति कटवालको स्पष्टीकरण प्रक्रिया यो राजनीतिक लडाइँको उदाहरण हो जुन लडाइँमा देशीय/विदेशी यथास्थितिवादीको समेत संलग्नता रहेको छ। कटवाल त पात्र मात्रै हुन् उनका पछाडि सामन्तवाद र साम्राज्यवादको समेत हात छ।

उहाँले कर्मचारीतन्त्रमा विद्यमान सामन्तवादी अंशलाई पूर्णरुपमा अन्त्य नगर्दासम्म राज्य पुनस्रंरचनाको मुद्दा अधुरै रहने टिप्पणी गर्दै भन्नुभयो -कर्मचारीतन्त्र अझै पनि पुरानो विचारबाट चलेको छ त्यसलाई यसबाट मुक्त गराउनुपर्छ।

Popularity: 9%

Add comment April 25th, 2009

प्रधानसेनापति कटवाल नागरिक सर्वोच्चताको सम्मान गर

एचकेनेपाल डट कम संवाददाता-
नेपाल सरकारको निर्देशनलाई पटक पटक लत्याउंदै नेपाली संघीय लोतान्त्रिक गणतन्त्रको मूल्य र मान्यतालाई चुनौति दिंदै आएका नेपाली सेनाका प्रधानसेनापति रुक्मागत कटुवालको जनविरोधी हर्कत र नेपाललाई फेरी द्वन्दमा लैजाने जमर्कोप्रति हामी युरोपस्थित प्रगतिशील संगठनहरुको गम्भीर ध्यानाकर्षण भएको छ।

नेपाल द्वन्दवाट शान्ति प्रकृयामा प्रवेश गरेपछि सम्पन्न बृहत शान्ति सम्झौता र संयुक्त राष्ट्रसंघको मान्यता विपरित र लोकतान्त्रिक प्रकृयावाट वनेको नेपाल सरकारको निर्देशन विपरित नेपाली सेनामा नयां भर्ति लिनु, रक्षा मन्त्रालयले नियमानुसार अवकास दिएका नेपाली सेनाका जर्नेलहरुलाई आफ्नो मनोमानी ढंगले पद वहाली गराउनु र नेपाली संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापना गराउन नेपाली सेना र जनसेनाको वीचमा भावनात्मक सम्वन्ध वढाउने हेतुले नेपाल सरकारले जनसेनालाई पाचौं राष्ट्रिय खेलकुदमा भाग लिने निर्णयलाई सहर्ष नस्वीकारी आफ्ना माताहतका खेलाडीलाई खेलनै वहिष्कार गर्न लगाएर कटुवालले नेपाली लोकतन्त्रलाई खिल्ली उडाएका छन्। यी घटना क्रमहरुले उनी नेपाली जनताको चाहना र लोकतान्त्रिक पद्धति अनुसार चल्ने भन्दा पनि सैन्य शाषन तर्फउन्मुख भएका छन भन्ने कुरा प्रमाणित भएका छन्।

यस्ता संवेदनशील विषयहरुमा नेपाल सरकारले कटुवालसंग स्पष्टिकरण लिएको विषयलाई स्वभाविक र लोकतान्त्रिक पद्धतिको रुपमा र उक्त विषयमा कटुवालले दिएको स्पष्टिकरण नागरिक सर्वोच्चताको विपरित भ्रामक, कपोलकल्पित र राष्ट्रहितमा नभै देशलाई गम्भीर द्वन्दमा लैजाने संकेतको रुपमा हामीले लिएका छौं।

यी विषयवस्तुहरु विल्कुल प्रशासनिक र रक्षा मन्त्रालयको अधिकार क्षेत्रमा हुंदाहुंदै पनि नेकपा माओवादीको नेतृत्वको सरकारले नेपाल सरकारको मन्त्रिपरिषद र सवै राजनैतिक दलहरु तथा आलंकारिक राष्ट्रपतिसंग समेत छलफल गरी स्पष्टिकरण लिएको विदितै हुदाहुदै पनि साम्राज्यवादी र विस्तारवादीको निर्देशनमा नेपाली जनताको आंखामा धुलो छ्याप्दै आफ्नो सत्ता जोगाउने वानी परेका नेपाली कांग्रेस, नेकपा एमालेका केपी ओली गुट जस्ता जनविरोधी तत्वहरु फेरी पनि कटुवाल जस्तो लोकतन्त्रको खिल्ली उडाउने पात्रको समर्थनमा सल्वलाएका छन्। यस्ता जनविरोधी कृयाकलाप र अनावश्यक राजनीतिकरणको हामी घोर भर्त्सना गर्दछौं।

नेपाल सरकारको कार्यकारी अधिकार प्राप्त प्रधानमन्त्री र मन्त्रिपरिषदको निर्णय अनुसार नेपाल सरकारले कटुवालसंग लिएको स्पष्टिकरणको विषयलाई लिएर आफ्नो दलको दवावमा परेर नेपालका आलंकारिक राष्ट्रपतिले प्रधानमन्त्रीलाई प्रधान सेनापतिको पक्षमा निर्देश गर्नुले नेपालका राष्ट्रपतिले पनि नेपाली संघीय लोकतान्त्रिक गणतन्त्र र नागरिक सर्वोच्चताका खिल्ली उडाएका छन् र उनी आम नेपाली जनताको नभै नेपाली कांग्रेसको मात्र राष्ट्रपति वन्न पुगेका छन्। हामी नेपालका राष्ट्रपतिलाई नेपाली जनताको राष्ट्रपतिको रुपमा प्रस्तुत हुन र नागरिक सर्वोच्चताको सम्मान गर्न आह्वान गर्दछौं।

नेपाली जनताका महान छोराछोरीको वलिदानीवाट प्राप्त नेपाली संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खेलवाड गर्ने नेपाली सेनाका सेनापतिमाथि तुरुन्त कारवाही गर्न हामी नेपाल सरकारसंग जोडदार माग गर्दछौं। यो विषय लोकतन्त्र र जनहितसंग प्रत्यक्ष सरोकारको विषय भएकोले कसैको दवावमा नपर्न र नेपाली जनताको पक्षमा दृढ रहन पनि नेपाल सरकारलाई हामी आग्रह गर्दछौं।

यस्ता प्रतिकृयावादी तथा जनविरोधी गतिविधीहरुको विरुद्ध नेपाली जनताले सचेत ढंगले आन्दोलन थालिसकेका छन् र यस्ता आन्दोलनहरुमा हाम्रो सदैव समर्थन र ऐकवद्धता रहने छ। यो प्रकृयालाई सरलीकृत गर्नका लागि यसका मूख्य पात्र कटुवाललाई यथासिघ्र आफ्नो पदवाट राजीनामा दिन हामी यसै वक्तव्य मार्फत आह्वान गर्दछौं। यदि यस प्रकृयालाई जटिल वनाउंदै लगेमा यसको समाधानको लागि नेपाली जनताले फेरी एकपटक आन्दोलनको आंधीवेहरी सृजना गर्न अपरिहार्य छ र त्यो आन्दोलनमा समर्थन र सहयोग गर्न तथा सहभागी हुन हामी सम्पूर्ण प्रवासी नेपालीहरुलाई यसै वक्तव्य मार्फत आह्वान गर्दछौं।

संयुक्त नेपाली मोर्चा, युरोप
अध्यक्ष नवीन सापकोटा
नेपाली जनजाति सरोकार मञ्च,युरोप
अध्यक्ष रामवहादुर गुरुङ
नेपाली जनप्रगतिशिल मंच, बेल्जियम
अध्यक्ष विष्णु भुजेल
नेपाली प्रगतिशील महिला मंच, वेल्जियम
अध्यक्ष कल्पना मगर
नेपाली जनजाति सरोकार मंच, वेल्जियम
अध्यक्ष गमवहादुर गुरुङ
नेपाली जनप्रगतिशिल मंच, फ्रान्स
अध्यक्ष अशोक घले,
अन्तराष्ट्रियतावादी नेपाली ऐक्यवद्धता मंच, जर्मनी
अध्यक्ष प्रभाकर शर्मा
नेपाली ऐक्यवद्धता मंच,स्वीट्जरल्याण्ड
अध्यक्ष अशोक चौलागाई
नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, पोर्चुगल
अध्यक्ष रामवहादुर गौचन
नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, नेदरल्याण्ड
संयोजक तुलसी अंगाई
नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, जर्मनी
अध्यक्ष गंगालाल श्रेष्ठ
नेपाली जनप्रगतिशिल शान्ति समाज, अष्ट्रिया
अध्यक्ष राजेस खतिवडा
नेपाली समाज युके, सम्मेलन आयोजक समिति
संयोजक सुरेश गौतम
नेपाली जनप्रगतिशिल मंच, स्पेन
अध्यक्ष इश्वर शर्मा
नेपाली समाज नर्वे
संयोजक डा. कृष्ण अर्याल
नेपाली जनप्रगतिशील मंच, डेनमार्क
संयोजक उदय राज गौतम
मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपाल इकाई समिति, वेल्जियम
संयोजक कुलवहादुर मगर
नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, बेल्जियम
अध्यक्ष कृष्ण तिवारी
मिति २४ अप्रिल २००९

Popularity: 9%

11 comments April 25th, 2009

सोसाइटीद्वारा विरामी गुरुङलाई हवाई टिकट सहयोग

देवेन्द्र सुर्केली, क्वालालम्पूर, मलेसिया / एचकेनेपाल डट कम -
द नेपाल विजनेश सोसाइटी अफ मलेसियाले लामो समयदेखि कारणवस मलेसियामा अवैधानिक रुपमा बस्न बाध्य हस्तबहादुर गुरुङलाई हाल विरामी भएको कारण नेपाल फर्कन हवाई टिकट उपलब्ध गराएको छ।

आजभन्दा २ वर्ष अगाडि भण्डारी ओभरसिजबाट जोहोरबारुस्थित कस्मेटिक कम्पनीमा आइ ३ महिना काम गरी त्यो कम्पनीबाट कमाई नहुने स्थिति बुझेपछि कम्पनी छोडेका थिए।

अवैधानिक रुपमा आसासस कम्पनीमा काम गरिहेका गुरुङलाई एक महिना अगाडिबाट खोकी चल्न थालेको र क्लिनिकमा गई जाँच गर्दा टिभी रोग भनी पहिचान गरेको कारण काम गरिरहेको कम्पनीलेसमेत सहयोग नगरेको दर्शाउँदै उनी सोसाइटीमा आइपुगेका थिए।

केही नेपालीहरुले दूतावासमा लाग्ने शुल्क र मलेसिया इमिग्रेसनमा लाग्ने खर्च जुटाइदिएको तर नेपालीहरुको निमित्त खटिएको नेपाली दूतावासले कुनैपनि सहयोग नगरेको गुनासो व्यक्त गरेका थिए। उनको २५ अप्रिलमा नेपाल उडान रहेको छ।

Popularity: 9%

Add comment April 25th, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2009
M T W T F S S
« Mar   May »
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Posts by Month

Posts by Category

More news....