Archive for April 26th, 2009

कोरियामा माइग्रेण्ट वर्कस टेलिभिजनद्वारा रेडियो संचालन

मञ्जु थापा, दक्षिण कोरिया / एचकेनेपाल डट कम -
एमडब्लु टि.भि को चौथो वार्षिक उत्सव शनिवार नामयोङमा विभिन्न कार्यक्रमसहित भव्यताका साथ सम्पन्न भयो।


वार्षिक उत्सवको अवसरमा प्रवासी श्रमिकहरुको टेलिभिजनले एमडब्लु रेडियो प्रसारणको समेत शुरुवात गरेको छ। एमडब्लु टिभीले विगत ४ वर्षदेखि निरन्तर रुपमा कोरियामा काम गर्दै आइरहेका विभिन्न देशका प्रवासी श्रमिकहरुको बहूभाषिक समाचारलाई कोरियाका टेलिभिजन र इन्टरनेटमार्फत जानकारी दिदै आइरहेको छ।

कोरियामा रहेका प्रवासी श्रमिकहरुले संचालन गरेको यो एक मात्र पहिलो टेलिभिजन हो। सन् २००३, अगस्टमा कोरियामा काम गर्दै आएका प्रवासी मजदुरहरुमाथि भएको धड्पकड, दमन, प्रवासी श्रमिकहरुको शोषणलाई बन्द गर्न र गैरकानूनी रुपमा काम गर्दै आएका प्रवासी मजदुरहरुलाई कानूनी रुपमा स्वीकार गर्न माग गर्दै विभिन्न देशका सयौं मजदुरहरुले सउलको मोङ्गदोङमा लगातार ३८६ दिनसम्म हडताल गरेका थिए। त्यस समयमा प्रवासी श्रमिकहरुको समस्या, मजदुर हक, अधिकार र आवाजलाई कुनै पनि मिडियाले सहि ढंगले प्रचार गर्न सकेन। त्यसको फलस्वरुप कोरियामा काम गर्दै आइरहेका विभिन्न देशहरू जस्तै नेपाल, बर्मा, बंगलादेश, श्रीलंका, इन्डोनेशिया र फिलिपिन्सलगायतका प्रवासी श्रमिकहरुले आफ्नो छुट्टै टेलिभिजन हुनु पर्ने महसुस गरेर सन् २००४ मा MWTV को स्थापना भएको थियो।

आज एमडब्लु टिभी ४ वर्षको अन्तरालमा फेरि प्रवासी श्रमिकहरुको आवाजलाई MW Radio इन्टरनेट रेडियोमार्फत प्रसारण गरिने छ। जसको माध्यमबाट सम्पूर्ण प्रवासी श्रमिकहरुलाई समेटेर विभिन्न १० वटा देशका भाषामा रेडियो कार्यक्रमहरू सञ्चालन हुनेछन्। MW Radio लाई www.mwtv.kr मा सुन्न सकिने छ।


Popularity: 9%

Add comment April 26th, 2009

अनेसास इजरायलको साहित्य सम्मलेन सम्पन्न

कृष्ण थापा, तेल अभिभ, इजरायल / एचकेनेपाल डट कम -
नेपाली भाषा साहित्य र संगीतप्रति समर्पित संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायलको आयोजनामा शनिबार इजरायलको तेल अभिभमा प्रथम साहित्य सम्मेलन सफलतापूर्वक सम्पन्न भयो। नेपाली राजदूतावास इजरायलका उपप्रमुख मुक्तिनाथ भट्टले ३ हरफे कविता “हाइकु” वाचन गरेर सो सम्मेलनको समुदघाटन गर्नुभएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य राखने क्रममा अनेसास इजरायलका सदस्य शंकर पौडेलले यो सम्मलेनबाट इजरायलमा रहेका नयाँ प्रतिभाहरुको पहिचान गर्न र संगठन बिस्तार गरी आगामी दिनहरुमा अन्य गतिबिधिहरु सञ्चालन गर्न बाटो खुलेको छ भन्दै आमंत्रित अतिथि सहभागी तथा उपस्थित साहित्यप्रेमी सबैलाई स्वागत र धन्यवाद व्यक्त गर्नु भयो। साथै उहाँले भविष्यमा अनेसासको सबै प्रयत्न र कोशिसहरुले यसरी नै सबैको माया र सदभाव पाउने अपेक्षा पनि गर्नु भयो।

प्रमुख अतिथिको आसनबाट बोल्दै मुक्तिनाथ भट्टले नेपाली साहित्यको उत्त्थानका निमित्त इजरायलको नेपाली डायोस्पोरा संगठित भएकोमा खुसी व्यक्त गर्दै साहित्यिक गतिविधि अब क्रमिक रुपमा अघि बढ़ने कुरामा विश्वास व्यक्त गर्नु भयो। सो कार्यक्रममा उहाले प्रेम र शान्तिको सन्देश लिएर विभिन्न मुलुक भ्रमण गर्दै इजरायल आइपुग्नु भएका विश्व साइकल यात्री पुष्कर शाहलाई अनेसासको तर्फबाट प्रशंशा पत्र पनि प्रदान गर्नु भएको थियो। सोही अवसरमा साइकल यात्री शाहले आफ्नो कृति “एकादेशको एउटा मान्छेको कथा” बाट “प्यारी भान्जीलाई चिट्ठी ” शीर्षकको कविता वाचन गर्नु भएको थियो। १४२ राष्ट्र को भ्रमण गरिसक्नु भएका शाहले यात्राका अविस्मरणीय क्षणहरु सुनाउदै आफूपनि साहित्यप्रेमी भएको नाताले इजरायलको यो साहित्य सम्मेलनमा सहभागी हुँदा खुशी लागेको बताउनु भयो।

बिभिन्न संघ संस्थाहरुको उपस्थिति रहेको सो कार्यक्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद इजरायलका अध्यक्ष भुवनसिँह कुँवर, आदिवासी जनजाति महासंघ इजरायलका अध्यक्ष नयन्द्रकुमार चेम्जोङ, नेपाली कृषि कामदार सहयोगी समितिका अध्यक्ष खोजराज कटुवाल, राजदूतवासका थानप्रसाद शर्मा, झापाली एकता परिवारका केशवकुमार श्रेष्ठ, कानुनविद तथा अनेसास इजरायलका सलाहकार श्याम रोक्का, नेपाली समाज इजरायलका नबिन बस्नेतलगायतका वक्ताहरुले आ आफ्नो धारणा राख्दै नेपाली भाषा र साहित्यको लागि स्थापित यस्तो प्रकृतिको सम्मेलन इजरायल मै पहिलो पटक शुरुवात भएको भन्दै यस्को उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नुभएको थियो।

दुई चरणमा विभक्त सो कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुबेदीद्वारा अमेरिकाबाट प्राप्त कवितात्मक शुभकामना वाचन गरेर लेखरचना प्रस्तुतिको दोश्रो श्रृंखला प्रारम्भ गरिएको थियो।

बेन गुरियन विश्वविद्यालयका इजरायलका डा. बिष्णु चापागाइ, संयुक्त राष्ट्र संघका डा. ध्रुव कोइराला, साहित्यकार रमेश इखालु(कतार्), कृष्ण बजगाई (बेल्जियम्), रिचा शर्मा (नेपाल) विश्व्दिप तिगेला (यु के), धर्मेन्द्रविक्रम नेम्बाङ (नेपाल ) विश्व पौडेल (अमेरिका) लगायत ले शुभकामना दिनु भएको सो साहित्य सम्मलेन प्राप्त शुभ कामनासहित कार्यक्रमका संयोजक तथा आयोजक संस्था अनेसास इजरायलका महसचिव कृष्ण थापाले सञ्चालन गर्नु भएको थियो।

सम्मेलनमा इजरायलका कला राई, श्याम रोक्का, नयन्द्र कुमार चेम्जोङ्, शंकर पौडेल, टिका खरेल, बिजी श्रेष्ठ, आचार्य नवराज, टासी ग्यल्मो शेर्पा, बीआर लामा, संगिता घिमिरे, सरस्वती विष्ट, ऋतु गिरी, सुनिल सँगम तथा कृष्ण थापाले आ आफ्नो रचना वाचन गर्नु भएको थियो।

इजरायल बाहिर आचार्य प्रभा (अमेरिका), सविना सिन्धु (नेपाल), अनोज श्रेष्ठ (युएई), एन्टोनी क्लाउद (क्यानडा), प्रवेश पौडेल (नेपाल), रमेश गेलाल (कतार्), कृष्ण बजगाई (बेल्जियम्), प्रकाश पौडेल माईला (जापान्), धीरज साप्कोटा (चिन), केशव आचार्य(अमेरिका), होमनाथ सुबेदी (अमेरिका), भूपेन्द्र महत् (अमेरिका), ले लेख रचना पठाएर सम्मेलनमा सहभागीता जनाएका थिए।

अनेसास इजरायल च्याप्टरका अध्यक्ष सुनिल संगमको सभापतित्वामा संपन्न भएको सो कार्यक्रमको समापन क्रममा उहाले अनेसासको परिचय दिदै यो नेपाली भाषा साहित्य र संगीतप्रेमी नेपालीहरुको अन्तर्राष्ट्रिय साहित्यिक मंच भएको बताउनु भयो। यसको उद्धेश्य साहित्यको माध्यमबाट प्रवासमा रहेका नेपालीहरुबिच भावनात्मक संजाल निर्माण गरि नेपाली साहित्यलाई विश्वस्तरमा पुर्याउन मद्दत गर्ने रहेको कुरा प्रष्ट्याउनु भयो। उहाँ अनेसासद्वारा प्रकाशन हुने साहित्यिक पत्रिका अन्तर्दृष्टिका अंतर्राष्ट्रिय संपादक पनि हुनुहुन्छ।

Recent Videos:

Popularity: 9%

Add comment April 26th, 2009

प्रधानसेनापति कटुवाललाई कारवाहीको माग गर्दै जेनेभामा ज्ञापन पत्र

बेर्न स्विट्जरल्यान्ड एचकेनेपाल डट कम संवाददाता-
स्विट्जरल्यान्डमा रहेका नेपालीहरुको ह्क हितको लागि र नेपालमा सामन्तबाद, बिस्तारबाद र साम्राज्यबादको बिरुद्ध लामो समयदेखि निरन्तर संघर्ष गर्दै आई रहेको संगठन नेपाली एक्यबद्धता मंच (नेसोफ स्विस) स्विट्जरल्यान्डले शुक्रबारका दिन जेनेभास्थित नेपाली दूताबासमा प्रधानसेनापती रुक्माङगत कटुवाललाई बर्खास्त गरी कारबाहीको माग गर्दै ज्ञापन पत्र बुझाएको छ। बिरोध कार्यक्रमको आयोजना गरी नेपाली दूताबासका राजदूत डा. दिनेश भट्टराईसमक्ष नेपाल सरकारका प्रधानमन्त्रीलाई सम्बोधन गरेको एक ज्ञापन पत्र बुझाएको छ।

ज्ञापन पत्रमा भनिएको छ जन निर्वाचित सरकारको आदेश पटक पटक लत्याउने मात्रै नभै चुनौती पनि दिदै नेपाली सेनाका सेनापती रुक्माङगत कटुवालले सेनालाई सरकारको मातहतमा होइन समान्तर शक्ती केन्द्रको रुपमा प्रस्तुत गर्न खोजेको, सैनिक अधिनायक लाद्न कुण्ठित मनसायले समयमै संबिधान बन्न नदिने चाहे त्यो सरकारको निर्देशन बिपरित सेनामा नयाँ भर्ती लिनु, आठ जना जर्नेलहरुको अवकास होस चाहे स्पष्टिकरण सोधिएको होस वा जनमुक्ती सेना सम्मिलित खेलबाट नेपाली सेना फिर्ता बोलाउने साथै नागरिक सर्बोच्चताको अपमान गर्दै नेपाल सरकारको आदेश पालना नगर्ने प्रधान सेनापती रुक्माङत कटुवाललाई छिटो भन्दा छिटो पदबाट बर्खस्त गरी कार्वाही गर्नको लागि नेपाल सरकारको सम्मानित प्रधानमन्त्री समक्ष अनुरोध गर्दछौ।

बिरोध कार्यक्रमको नेत्रित्व नेपालबाट युएनको कार्यक्रममा भाग लिन आउनु भएका एकीकृत नेकपा माओवादीका सभासद बिनोद पहाडीले गर्नु भएको थियो। उक्त ज्ञापन पत्रलाई संगठनका महासचिव कमल केसीले पढेर सुनाउनु भएको थियो भने ज्ञापन पत्र संगठनका अध्यक्ष अशोक चौलागाइले राजदूत डा. दिनेस भट्टराईलाई हस्तान्तरण गर्नु भयको थियो।

ज्ञापन पत्रलाई तुरुन्तै फ्याक्समार्फत सम्मानानीय प्रधानमन्त्रीलाई पठाउने र सक्कल प्रति जतिसक्दो छिटो सम्बन्धित ठांउमा पठाउने प्रतिबद्धता राजदूत भट्टाईले ब्यक्त गर्नु भयो। सरकारले प्रतिबद्धता गरेका शान्ति प्रकृया तार्किक निश्कर्षमा पुर्याउनु, नयाँ संबिधान निर्माण र गणतन्त्र संस्थागत गर्दै आर्थिक नीति कार्यक्रम कार्यान्वयन गर्ने जस्ता काममा हामी सबैले आ-आफ्नो ठाउँ बाट सहयोग पुर्याउन आग्रह गर्नु भयो।

कार्यक्रमलाई सम्बोधन गर्दै सभासद बिनोद पहाडीले प्रबासमा रहेर पनी नेपालीहरुलाई एकीकृतगर्दै देश र जनताप्रति संगठनले निभाउदै आएको भूमिकाप्रति खुशी ब्यक्त गर्नु भयो तथा गणतन्त्र स्थापनाको लागि भयको शहीदहरुको बलिदानीलाई आत्मसाथ गर्दै त्यसका उपलब्धीहरुलाई संस्थागत गर्नु पर्ने तथा प्रतिगामीहरुका चलखलबिरुद्ध संघर्ष जारी राख्नु पर्ने बताउनुभयो।
ज्ञापनपत्रको बोधार्थ रक्षा मन्त्रालय र नेपाली दूताबास जेनेभालाई पनि दिईएको छ।

Popularity: 9%

4 comments April 26th, 2009

कांग्रेसले सदन चल्न नदिने

एचकेनेपाल डट कम संवाददाता-
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आइतबार पनि व्यवस्थापिका संसदको बैठक चल्न नदिने बताएको छ। प्रधान सेनापतिलाई कारबाही नगर्ने प्रतिवद्धता सरकारबाट नआएसम्म संसद चल्न नदिने अडान कांग्रेसले राखेको छ।

व्यवस्थापिका संसदको बैठक आइतबार अपराह्न तीन बजे बस्ने कार्यक्रम छ। यसअघि कांग्रेसले यही मुद्दालाई लिएर दुई पटक सदनको बैठक अवरुद्ध गरिसकेको छ।

त्यसअघि एमालेले गरेको अवरोधका कारण चैतमा नै सकिनुपर्ने संसदको बैठक वैशाखभरका लागि लम्ब्याइएको थियो। एमालेसित सहमति भएपछि पुनः प्रधानसेनापति प्रकरणमा कांग्रेसले बैठक अवरुद्ध गरेको हो।

Popularity: 9%

2 comments April 26th, 2009

अन्तिम क्रान्ति बाँकी-बोगटी

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी) का सचिवालय सदस्य पोस्टबहादुर बोगटीले बेपत्ता योद्धाको बलिदानीको इतिहासलाई संस्थागत गर्न उनीहरूको सपना पूरा हुनुपर्ने बताउनुभएको छ।

बेपत्ता योद्धा परिवार समाज नेवाः राज्य समितिको पहिलो भेलामा आज प्रशिक्षण दिंदै नेता बोगटीले बेपत्ताको सपना साकार पार्नका लागि अन्तिम क्रान्ति पुरा हुनै बाँकी रहेकाले आफ्नो पार्टी निर्णायक क्रान्तिको सङ्घारमा उभिएको स्पष्ट पार्नुभयो।

नेवाः राज्य समितिको आयोजनामा भएको सो भेलामा समितिका सेक्रेटरी भीष्म, बेपत्ता परिवार समाजका अध्यक्ष शर्मिला त्रिपाठी, सभासद् एकराज भण्डारी, नेवाः राज्य समिति भक्तपुर सहइन्चार्ज दिवाकरलगायतले प मन्तव्य राख्नुभएको थियो।

यसैबीच सो भेलाले दुई सदस्यपछि थप्ने गरी कमला लिम्बुको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ।

समितिका सदस्यमा टीका बाँस्तोला, रूपा महर्जन, पुष्कर श्रेष्ठ, वीरेन्द्र बस्नेत, शान्ता भण्डारी, चन्द्र दुलाल, रुबी श्रेष्ठ, नारायणदेवी श्रेष्ठ, सविता बस्नेत, इन्द्रकेशरी श्रेष्ठ, सोनु पोखरेल र हरिकृष्ण महर्जनलाई चयन गरिएको छ। भेलाले यही वैशाख २६ गते राष्ट्रिय भेला गर्ने निर्णय पनि गरेको छ।

Popularity: 9%

5 comments April 26th, 2009

बन्द खुलाउन कर्फ्यु

एचकेनेपाल डट कम संवाददाता-
थरुहट बन्दका कारण राजधानीलगायतका क्षेत्रमा पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य सामानको अभाव भएपछि ती सामान पठाउनका लागि वीरगन्ज पथलैया सडकखण्डमा कफर्यु लगाइएको छ।

वीरगन्ज भन्सारबाट छुटेका तेल र उपभोग्य मालसामानका टयाङ्कर र कन्टेनर राजधानी पठाउन त्रिभुवन राजपथअन्तर्गतको वीरगन्ज पथलैयाखण्डको बाराको परवानीपुरदेखि पथलैयासम्म कफर्यु लगाइएको हो।

जिल्ला प्रशासन कार्यालय बाराले सो सडकखण्ड र आसपासका एक किलोमिटर दायाँबायाँ क्षेत्रमा रातभरसम्म कफर्यु आदेश जारी गरेको हो।

थरुहटका कार्यकर्ताले सो सडकखण्डको छातापिपरामा गरेको बन्दका कारण वीरगन्ज आउने र वीरगन्जबाट राजधानीलगायतका स्थानमा जाने ट्रक, कन्टेनरको आवागमन विगत चार दिनदेखि ठप्प भएको छ। यसअघि पनि सिमरामा स्थानीय बासिन्दाले पााच दिनसम्म सडक अवरुद्ध पारेका थिए।

Popularity: 9%

Add comment April 26th, 2009

प्रलेसका अध्यक्ष डंगोल चयन

एचकेनेपाल डट कम संवाददाता-
प्रगतिशील लेखक सङ्घ (प्रलेस) काठमाडौँको शनिबार सम्पन्न प्रथम जिल्ला अधिवेशनले २७ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मतिले चयन गरेको छ।

समितिका अध्यक्षमा आरएम डङ्गोल, उपाध्यक्षमा विजयराज आचार्य र भोगीराज चाम्लिङ, सचिवमा आरसी न्यौपाने, सहसचिवमा होमशङ्कर बास्तोला र कोषाध्यक्षमा भवानी पौडेल रहनुभएको छ।

समितिका सदस्यमा अच्युत घिमिरे, चेतनाथ धमला, पञ्चकुमारी परियार, धनबहादुर मगर, श्याम रिमाल, तेजविलास अधिकारी, माधव ढुङगोल, विन्दा मैनाली, वन्दना ढकाल, सरोजदिलु विश्वकर्मा, प्रकाश सिलवाल, कृष्णहरि भट्ट, तिलक चाम्लिङ, बालमुकुन्द कार्की, ओमी शर्मा, हरिप्रसाद सिलवाल, प्रकाश सिलवाल, पुष्पा राई, नारायण शर्मा, प्रकाश राई र विदुर मल्ल रहनुभएको छ।

त्यसअघि अधिवेशनको उद्घाटन गर्दै प्रलेसका अध्यक्ष निनु चापागाइर्ाले नयाा संविधान निर्माणमा जनचेतना जगाउन लेखकहरूले कलम चलाउनुपर्नेमा जोड दिनुभयो।

त्यस अवसरमा सुधा त्रिपाठी, अमर गिरी, रामविनय विष्णु प्रभात, डा. विष्णुहरि नेपाल, जीवन शर्मा, वासुदेव अधिकारीलगायतले शुभकामना व्यक्त गर्दै २००९ सालमा जन्मेको प्रलेसलाई सशक्तरूपमा अघि बढाउनुपर्ने र प्रगतिशील लेखकहरूको रचनाले हस्तक्षेप गर्नुपर्ने बताउनुभयो।

प्रलेस काठमाडौँले २७८ सदस्यबाट २५ प्रतिशत सदस्य केन्द्रीय प्रतिनिधि चयन गर्ने छ। प्रलेसको आठौँ राष्ट्रिय अधिवेशन आगामी जेठ २३-२४ गते काठमाडौमा हुने भएको छ।

Popularity: 8%

Add comment April 26th, 2009

चौथोसँगको विवाहपछि तेस्रीको हत्या

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं जिल्ला महाराजगञ्जनिवासी श्रीमती निर्मला थापालाई हत्या गरेको अभियोगमा पति ऋषि पण्डितसहित दुईजनालाई गजुरी प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार घरायसी हिंसाका कारण हत्या गरिएकी निर्मलालाई हत्या गरेको मानिएका श्रीमान् ऋषि र सौतेलो छोरा उमेशलाई पक्राउ गरिएको छ भने सौता बनेकी सम्झना लामिछानेलाई पक्राउ गरिएको छैन।

राष्ट्रिय अनुसन्धान विभागको कर्मचारी हुँदादेखि नै पटकपटक धेरै युवतीसँग यौनसम्पर्क गर्ने गरेको र अहिले चौथोपटक औपचारिक विवाह गरेलगत्तै ऋषिले तेस्रो विवाह गरेर ल्याइएकी श्रीमती निर्मलाको हत्या गरेको अभियोग लगाइएको छ।

मृतकका भाइ विष्णुको उजुरीका आधारमा उनीहरूलाई धादिङ प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।

ऋषिले प्रहरी कार्यालय र सञ्चारकर्मी तथा मानवअधिकारकर्मीलाई दिएका बयान पटकैपिच्छे फरकफरक दिएका छन्। चौथी श्रीमतीका रूपमा सम्झनालाई वैशाख २ गते विवाह गरेपछि निर्मलामाथि पटकपटक कुटपिट गर्ने गरेको र वैशाख ६ गते कुटपिट गरेका कारण ओठमा घाउ लागेकाले टिचिङ अस्पतालमा उपचार गराइएको मृतकका छोराले जानकारी दिएका छन्।

निर्मलाले प्रयोग गर्ने मोटरसाइकल सोमबार बैरेनी गाविस-९ महेशदोभान नजिकै सडकछेउमा भेटिएको थियो। सो मोटरसाइकलमा एक युवती आएर त्रिशूली नदीमा पसी हराएको स्थानीय प्रत्यक्षदर्शी नवराज बिंडारीले जानकारी दिनुभयो। सो मोटरसाइकलमा को आएको थियो भन्ने अझै पत्ता नलागेको प्रहरीको भनाइ छ।

हराएकी युवतीको लास फेला परेको छैन भने निर्मलाको बारेमा पनि कुनै जानकारी छैन।

राष्ट्रिय अनुसन्धान विभागका पूर्व कर्मचारीसमेत रहेका ऋषिले निर्मलाभन्दा पहिला अरूलाई विवाह गरेका र निर्मलालाई झुक्याएर विवाह गरेको माइती पक्षको भनाइ छ।

Popularity: 8%

Add comment April 26th, 2009

हार्दिक धन्यवाद -

हार्दिक धन्यवाद -
सर्वप्रथम राष्ट्रिय परिषद सदस्यहरु सबैलाई नमस्कार।
अप्रिल २४ तारिख शुक्रवारका दिन सम्पन्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दोहा कतारको तेश्रो राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्वको चयन भएको छ। जसमा मलाई संघको महासचिव पदमा अत्याधिक बहुमतले निर्वाचित गरी दिनु भएकोमा सम्पूर्ण राष्ट्रिय परिषद सदस्यहरुप्रति हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्न चाहन्छु। नयाँ निर्वाचित सहकर्मी पदाधिकारी र सदस्य मित्रहरुलाई हार्दिक बधाई दिन चाहन्छु।

प्रजातान्त्रिक प्रक्रियामा गएर नेतृत्व चयन गर्दा पक्ष/विपक्ष र एक उम्मेदवारको विरुद्धमा अर्को उम्मेदवार बन्नु सामान्य कुरा भित्र पर्छ भन्ने मलाई लाग्छ र म यसलाई त्यसै रुपमा मात्र बुझ्दछु। हाम्रो प्रतिद्वन्दिता हिजोको मतदान नहुदासम्म मात्र थियो। सबैले यो संस्थामा रहेर नेपालीहरु कै भलाईको लागि काम गर्ने प्रणका साथ आउनु भएको थियो। मत परिणाम अनुसार हामीले मौका पायौं र पदिय हैसियतले अलि फरक देखिएको मात्र हो। काम गर्ने कुरामा हामी सधैं साथ साथै रहनु पर्छ र हाम्रो संयुक्त प्रयासले मात्र हामी हाम्रो गन्तव्यमा पुग्न सक्दछौं।

हिजो मेरो प्रतिबद्धतामा जे कुराहरु उल्लेख भएका थिए त्यसमा सधैं अडिक रहने छु। कतारमा कार्यरत नेपाली संघसंस्थाहरु, व्यवासायीहरु, पत्रकारहरु र समस्त नेपाली समुदायको आपसी मित्रता, सदभाव र भाईचारालाई उच्चतम महत्व दिने प्रतिबद्धता पुनः दोहोर्‍याउंदै यस साझा संस्थामा एउटा साझा व्यक्तिको रुपमा मलाई अगाडि ल्याई दिनु भएकोमा कृतज्ञता ज्ञापन गर्दछु।
“नेपालीका लागि नेपाली” भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै यहाँहरुको साथ सधैं पाईरहने आशाका साथ पुनः सम्पूर्ण राष्ट्रिय परिषद सदस्यहरु, पत्रकार मित्रहरु र शुभचिन्तक सहयोगि मित्रहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु।

बिलबहादुर गुरुङ
महासचिव
एनआरएनए-एनसीसी,
दोहा, कतार।

Popularity: 8%

Add comment April 26th, 2009

सार्दीखोलामा निःशुल्क स्त्री तथा प्रसूती रोग सम्बन्धी शिविर

राज गुरूङ, पोखरा / एचकेनेपाल डट कम -
कास्की जिल्लाको सार्दीखोला गाविसस्थित भुर्जुङ्गखोलामा उज्यालो भविष्य नेपाल वगर-१ पोखराले आयोजना गरेको स्त्री तथा प्रसूती रोग सम्बन्धी निःशुल्क शिविरमा तीन गाविसका करिव एक सय ७५ महिलाहरु लाभान्वित भएका छन्।

स्थानीय शान्ति समाज भुर्जुङ्गखोलाको व्यवस्थापन रहेको शिविरमा जिल्ला जनस्वास्थ्य कार्यालयका कास्की र सुनौलो परिवार नेपाल मेरी स्टोप्स् सेण्टर पोखराले प्राविधिक सहयोग गरेको थियो।

शिविरमा स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा चण्डिका पण्डित र मेरी स्टोप्स् सेण्टर पोखराका डा. यादु प्रधानसहितको स्वास्थ्यकर्मीको एक टोलीहरुले महिलाहरुको स्वास्थ्य जाँच गरेको थियो। त्यसक्रममा १२ जना महिलाहरुको पाठेघरमा समस्या देखिएको र उनीहरुको जिल्ला जनस्वास्थ्य कार्यालय कास्की मार्फत मणिपाल शिक्षण अस्पताल फुलवारी पोखरामा निःशुल्क शल्यक्रिया गर्ने प्रवन्ध मिलाईएको डा. पण्डितले जानकारी दिनुभयो। त्यसक्रममा स्वास्थ्य जाँच गरिएका बिरामीहरुलाई निःशुल्क रुपमा औषधीसमेत वितरण गरिएको थियो। सोही शिविरमा ताम्राकार हेल्थ ल्यावरोटी भीमसेन चोक पोखराकाको सहयोगमा करिव ३० जना महिलाहरुको रक्त परीक्षण गरी आवश्यक परामर्श प्रदान गरिएको थियो।

यसअघि सो शिविरको उद्घाटन गर्दै सभासद् कृष्णकुमारी परियारले दुर्गम गाउँमा सञ्चालित शिविरमा रोग लुकाएर राख्ने ग्रामिण भेगका महिलाहरु प्रत्यक्षरुपमा लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो। वहाँले अझैपनि कतिपय दुर्गम गाउँका जनतासम्म स्वास्थ्य सेवाको पहुँच पुग्न नसकेको भन्दै त्यसतर्फराज्यका निकायहरु चनाखो हुनुपर्ने खाँचो समेत औल्याउनु भयो। उज्यालो भविष्य नेपालका अध्यक्ष राजबहादुर गुरुङले संस्थाले आगामी दिनहरुमा देशका विभिन्न भागका ग्रामिण भेगहरुमा स्वास्थ्यको सेवाबाट बञ्चित भएका महिलाहरुलाई लक्षित गरी अन्य कार्यक्रमहरु सञ्चालन गर्दे लगिने जानकारी दिनुभयो। शान्ति समाज भुर्जुङ्गखोलाका अध्यक्ष धनकुमारी गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका कास्कीका प्रमुख महेन्द्रध्वज अधिकारी, वारा जिल्ला न्यायधीश विनोदमोहन आचार्य, मेरी स्टोप्स् सेण्टरका क्षेत्रीय प्रवन्धक सुरेशकुमार गिरी, जिल्लार् इञ्चार्ज सरोजचन्द्र न्यौपाने, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं पश्चिमाञ्चल प्रमुख पुण्य पौडेल, स्वास्थ्यकर्मी टेकराज आचार्य लगायतका वक्ताहरुले ग्रामिण भेगमा सञ्चालित शिविरमा विशेषज्ञ चिकित्सकहरुको पहुँचसम्म नपुगेका बिरामीहरुले प्रत्यक्ष लाभ लिन सक्ने भएकाले आगामी दिनहरुमा पनि यस्ता शिविरहरु निरन्तररुपमा सञ्चालन हुनुपर्नेमा जोड दिएका थिए।

Popularity: 8%

1 comment April 26th, 2009

संविधानमा अनिवार्य समेट्नुपर्ने केही बुदां र छलफलका विषयहरु

संविधानमा अनिवार्य समेट्नुपर्ने केही बुदां र छलफलका विषयहरु
-विश्वासदीप तिगेला
आफ्नो लागि आफैले संविधान बनाउने नेपालीहरुको शदिऔं देखिको चाहना पूरागर्ने बाटोमा मुलुक अघि बढिरहेको छ। संविधान निर्माण गर्ने क्रममा देशविदेशमा रहेका विभिन्न ब्यक्ति, बर्ग, समुदाय, संघ, संगठन, राजनैतिक दल, जातिय उत्थान संगठन, धार्मिक संगठन लगायतको तर्फबाट प्रसस्त सुझाव, माग, दबाव साथै इच्छा आकांक्षा र आसाका आवाजहरु आउनु एकदमै सकारात्मक पक्ष हो।

संविधान निर्माण प्रकृयामा बाधा अवरोध आउनु पनि अस्वाभाविक होइन तर जसरी भएपनि संविधान निर्माण हुनैपर्दछ त्यो अनिवार्य आवश्यकता हो। वास्तवमै अबको संविधान कस्तो हुनुपर्दछ त? कस्तो प्रकारको संविधान चाहि सबैको लागि स्वीकार्य हुन्छ? कतै संविधान निर्माणमा षडयन्त्र हुने त होइन? यहाँ यिनै विषयहरुको वरिपरि रहेर चर्चा गरिनेछ।

संविधान देशको मूल कानुन भएकोले यस सम्बन्धमा प्रत्येक ब्यक्ति, समाज, समुदाय, वर्ग, क्षेत्र र लिङ्गलाई सरोकार हुनुपर्दछ। अहिले हामी संविधान निर्माणको प्रकृयामा भएकाले सबैभन्दा पहिला हामी यस बारेमा स्पष्ट हुनुपर्दछ। हामीले कति बर्षसम्म बाँच्न सक्ने संविधान बनाउने? विगतलाई सरसर्ति हेर्ने हो भने वि सं. २००४ मा बनेको संविधान वि. सं. २०१५, २०१७, २०१९, २०३६, २०४६ र २०६३ गरी पटक–पटक संशोधन र पुननिर्माण हुदै आएको छ। नेपालको संविधान किन यति चाडै निकम्मा हुन्छन्? प्रत्येक १० देखि १५ बर्षसम्मलाई मात्र कामगर्ने संविधान बन्ने गरेको छ। किन त्यसो हुदै आएको छ? के फेरि पनि त्यति नै आयु भएको संविधान बनाउन हामी आतुर छौं ? अवश्य होइन र हुनुहुदैन। यो एउटा सुनौलो अवसर हो र हामी सुनौलो बिहानीमा छौ। सबैमा सद्भाव र सहयोग अनि नेपाली हौं भन्ने राष्ट्र (भावना) हुनु पर्दछ। देशमा धेरै उतारचढावहरु आए र आउनेक्रम चलिरहेको छ। यसलाई नियमित प्रकृया मान्न सक्नुपर्दछ। बेलाबेला हामी देशको अवस्थालाई लिएर निरासामा पनि पर्नेगर्छौं तर हामीले विगतका घटना परिघटनाहरुलाई पाठको रुपमा लिदै अबको ग्लोबल विश्वमा अघि बढ्नुपर्दछ।

संसार विकासको द्रुत गतिमा अघि बढिरहेको छ र हामी मानवहरु साच्चै नै सभ्य र समुन्नत बन्दै गएका छौ। संसारको कुनै एक कुनामा रहेका मानिसहरुलाई विपत्ति आइपर्दा अर्को कुना अर्थात विभिन्न मुलुकमा रहेका मानिसहरुले सहयोग गर्दै आएका छन्। अफ्रिकामा भोकाएकाहरुको लागि चीनमा खाना तयार गरिन्छ। भारतमा रोगले ग्रस्त वर्गको लागि बेलायतमा औषधी तयार गरिन्छ। अब भौगोलिक सिमानाको के कुरा गरौं। हामीले देखेका छौ। यूरोपियन युनियनले धेरै विचार र मान्यतालाई तोड्दै एक मुद्रा र झण्डै एक देशको मोडलमा प्रवेश गरेको छ। के विश्व साच्चै नै सुन्दर र धर्महरुमा बर्णन गरेको स्वर्ग जस्तै छैन र? यी सबै घट्ना परिघट्नाहरुले नेपाल र हामी नेपालीहरुलाई पनि प्रत्यक्ष/अप्रत्यक्ष असर पारेको हुन्छ र पार्नुपर्दछ।

वितेका एक दशक अवधिमा हाम्रो देशमा रगतको खोलो बग्यो। त्यसले हामीलाई अझै विचल्ली, विलाप र शोकमा डुबाएको छ यद्यपी हामी नेपालीहरुले चाहेको राष्ट्र र ब्यवस्था प्राप्तिको लागि समय अनुकुल दिशामा अघि बढिरहेको अवस्थामा थोरै भए पनि चित्त बुझाउने ठाँउ बनेको छ। हामी प्रतिज्ञा गरौं अब बन्ने संविधानले ज्ञातअज्ञात हजारौ शहिदहरुलाई सम्बोधन गर्न सकोस। पुनः रक्तपातको श्रृंखला ननिम्त्याइयोस। संविधान कै कुरा गर्दा अहिले हामी नेपालीहरुसँग कतै खुसी छ र कतै भयावह त्रासदी पनि। तर वास्तविकता भनेको हामी नेपाली नागरिकहरु विशेषतः राजनैतिक रुपमा अत्यन्तै अगाडि छौं भन्दा गलत नहोला। अब हामी कोही पनि हत्या हिंसा चाहदैनौं। सिर्फ हामीलाई हिजोको जनयुद्धको हाउगुजीले बेलाबखत सताउनु अस्वभाविक अवश्य होइन। हिजो देखिको चरम शोषणको विरुद्ध आक्रोश आज यत्रतत्र रहनु असान्दर्भिक पनि होइन। बुझ्नेले जसरी बुझे पनि समय आफनै गतिमा बगिरहेको छ र संविधान बन्ने प्रकृया अघि बढिसकेको छ। यसलाई शंका र समस्याको रुपमा नलिई साझा जिम्मेवारी र दायित्व सम्झेर हामी सबैले आ–आफ्नो ठाँउबाट योगदान गर्नको लागि कम्मर कसौ, त्यसैमा हामी सबैको कल्याण देखिन्छ।

शक्ति र जिम्मेवारीलाई विकेन्द्रीकरण गर्नको लागि हिजो छुट्टायाइएको अञ्चलको अवधारणा निश्चित क्षेत्रको लागि उत्तरदायी समुदाय नतोकिएको कारणले नराम्ररी फेल भयो। त्यसको मुख्य कारण भौगोलिक रुपबाट मात्र अंचलको विभाजन हुनु थियो। त्यसैको परिणाम स्वरुप वि. सं. २०४६ सालमा नेपाल राष्ट्रिय जनजाति पार्टी खोलेर देशलाई १२ प्रान्त बनाई समुन्नत नेपाल देख्न चाहने स्व. काजीमान कन्दङ्वाको सपना उनको निधनपछि अब साकार हुने निश्चित छ। त्यसो भए उनले देखेको संघीय नेपाल र संघीय नेपालको संविधान कस्तो हुनुपर्दछ त? हामी सबैको सामु साझा सवाल बनेको छ।

देशको मूल कानुन अर्थात संविधान राष्ट्रको विविधता अनुकुल हुनुपर्दछ। अन्य देशहरुको तुलनामा नेपालको सामाजिक, साँस्कृतिक, भाषिक र भौगोलिक संरचनामा असमानता रहेकोले सबै जाति, धर्म, सम्प्रदाय, भूगोललाई बराबर हैसियत वा जिम्मेवारी दिई समान पहुँच र अस्तित्वमा राख्नुपर्दछ। त्यसैको लागि संविधानको प्रस्तावना सबै नेपालीलाई समेट्ने हुनुपर्दछ। संविधान सानो आकारको बनाउनु उपयुक्त हुन्छ। धेरै कुरा संविधानमा लेखिएको खण्डमा लेख्न छुटेका कुरा संविधान बाहिर पर्न सक्ने सम्भावना भएकोले संक्षेपमा लेख्ने तर सबै कुरालाई समेट्ने हुनुपर्दछ। बहू धर्मावलम्बी मुलुक भएकोले अनिवार्य धर्म निरपेक्ष उल्लेख गरेको हुनुपर्दछ। नेपाल सरकारको छापमा संस्कृत शब्द - स्वर्गद्धपी गरियसी - अनिवार्य हटाउनुपर्दछ। नेपालको राष्ट्रिय चिन्हमा राष्ट्रिय पंक्षी डाँफे, राष्ट्रिय जनावर एकसिङ्गे गैडा, राष्ट्रिय फूल लाँली गुराँस, राष्ट्रिय रङ्ग सफा आकाशको नीलो रङ्ग हुनु उपयुक्त हुन्छ। राष्ट्रिय जनावर गाई भएको खण्डमा र संस्कृत शब्द यथावत राखिएमा नेपालका अरु धर्मावलम्बी र भाषिहरुलाई अपमान गरेको ठहर्दछ। हामीले कुनै पनि धर्मलाई असर पुग्ने किसिमको ब्यवस्था गर्नुहुदैन र एकसिंङ्गे गैडा विश्वमै नेपालमा मात्र पाइने भएकोले यसलाई राख्दा हाम्रो देशको चिनारी अरु मजवुत हुनेछ। प्रश्न उठ्न सक्छ हिजो थियो आज किन हुनुहुन्न? तर सबैले बुझ्नुपर्ने विषय के हो भने नेपाल बहूधार्मिक र बहूभाषिक मुलुक हो। प्रत्येक धर्म र संस्कारको आ–आफ्नै मान्यता रहेको हुन्छ। त्यसैले कुनैपनि धर्म, संस्कारलाई असर हुने खालको ब्यवस्था हामीले अब उप्रान्त गर्नु हुदैन यदि यसतर्फ ध्यान दिएनौ भने भोलि अकल्पनिय स्थिति आउन सक्दछ।

देशको प्रतिनिधित्व गर्ने राष्ट्रिय झण्डा संसारमा नौलो र सुन्दर भए पनि विशेषत विदेशी पुस्तकहरुमा र स्वदेशी पुस्तकहरुमा लेखिएको झण्डाको परिभाषाले सूर्यवंशी र चन्द्रवंशीलाई मात्र समेट्ने र समग्र नेपालीलाई नसमेट्ने भएकोले अनिवार्य सुधार वा परिवर्तन गर्नुपर्दछ। नेपाललाई मुख्य तीन कारणबाट विश्वले चिन्दछ। पहिलो– विश्वको सर्वोच्च शिखर सगरमाथाको देश, दोस्रो – भगवान बुद्धको जन्मथलो देश र तेस्रो – वीर गोर्खालीहरुको देश भनेर। यसर्थ हाम्रो देशको झण्डामा पनि सर्वोच्च शिखर सगरमाथा राख्नु सबैभन्दा उपयुक्त हुन्छ। यसले कुनै पनि सम्प्रदाय वा धर्मलाई असर गर्दैन। सबैलाई सर्वस्वीकार्य हुन सक्दछ।

सबै जाति, वर्ग र क्षेत्रलाई समान रुपमा समेट्नका लागि हिजोदेखि आजसम्म शोसित पीडित आम नेपालीहरुको शसक्त माग राज्यको पुर्नसंरचना हो। राज्यलाई नयाँ संरचनामा लैजान साहस, हिम्मत र सहमतिका साथ मुख्यगरि यी ५ वटा आधारहरुबाट गर्नुपर्दछ। १. ऐतिहासिक, २. भाषिक, ३. जातीय, ४. भूगोल र ५. आर्थिक धरातल।

अचानोको पीर खुकुरीलाई थाह हुन्न अर्थात विमारको पीडा स्वयं बिरामीलाई मात्र थाहा हुन्छ अरुलाई हुँदैन भने झै नेपालको नयाँ संविधानमा के कस्तो ब्यवस्था गर्ने भन्ने सवालमा हिजो देखि दुख्दै आएकाहरुले बुलन्द आवाज गर्नुपर्‍यो। नरोइकन आमाले समेत दुध दिदैन भन्ने बुझ्नु पर्दछ। त्यस्तै राज्य पुर्नसंचनाको बारेमा नेपालका शासक वर्गमा खासै चासो देखिँदैन र उनीहरु सनातन धर्मबाट ओतप्रोत भएका कारण खुलेर हिम्मतका साथ बहसमा उत्रिन नचाहेका हुन की झै देखिएको छ। देश धर्म निरपेक्ष हुनु, राज्य पुर्नसंरचना हुनु कसैको भाग खोस्नु वा खोसिइनु होइन। त्यसैले हामी सबैले यस कार्यमा सहयोग पुर्‍याउनुपर्दछ। मोही माग्न जाने तर ढुङ्ग्रो लुकाउने भन्ने उखान झै नेपालका ठूला राजनैतिक दलहरु काँग्रेस, एमाले, एकिकृत माओवादी लगायतका अधिकांश नेताहरुको भित्री चाहना सनातन अधिराज्य नै बनाऊ भन्ने रहेकोले उनीहरु यस मामलामा असहयोगी देखिएका हुन् की भनेर शंका गर्ने ठाँउ रहेको छ। वि. स. २०४८/४९ मा संस्कृत भाषालाई सम्पूर्ण आदिबासी जनजाति, दलित तथा मधेसीमा लादनु खोज्ने यिनै नेताहरु भएको कारण हाम्रो यी आरोपलाई थप टेवा पुग्दछ।

राजनैतिक रुपबाट निर्वाचित प्रतिनिधिहरुको अभावमा पनि सरकार तथा देशको कामकार्वाही निरन्तर चलाउने सरकारी कर्मचारीलाई स्थायी सरकार -Permanent Government_ भनिन्छ। स्थायी सरकार अन्तर्गत दुई दर्जन मन्त्रालय र ७५ वटा जिल्लाका (भोलि बढि होला) प्रमुख जिल्ला अधिकारी, गाविस सचिव, नगरपालिका सचिव, मालपोत, अदालत, हुलाक, हेल्थपोष्ट तथा शिक्षण संस्था लगायतको क्षेत्र जहाँ दैनिक नागरिकको प्रत्येक्ष काम हुन्छ त्यहाँ अनिवार्य समानुपातिक र स्थानियताको ग्यारेण्टि गरिनु पर्दछ। अहिलेसम्म राजनैतिक, सेना, पुलिसमा मात्र यसको जोडदार माग उठेको छ जुन अपूर्ण छ। यी अवसर र जिम्मेवारीको ठाँउमा समानुपातिक ब्यवस्था भएमा बरु संघीयताको आवश्यकता कम हुनसक्छ तर त्यहि समानुपातिक पहूँच र अस्तित्वको लागि स्वायत्त राज्यको आवश्यकता परेको हो।

दुई शक्तिशाली देश चीन र भारतको बीचमा रहेको सानो भू–परिवेष्ठित देश नेपाल अन्य देशका अपराधीहरु लुक्ने ठाउँ पनि बनेको छ। देशभित्रै असामान्य अपराधिक गतिविधिहरु चलिरहेका छन्। अर्को कुरा देश गरिब र लाचार हुनुको पछाडी भ्रष्टाचार एक मुख्य कारक बनिरहेको परिप्रेक्ष्यमा नेपालमा कडा कानुनको ब्यवस्था गर्नु आवश्यक देखिन्छ। हामी हिसाब गरौं, ३ जना खुंखार ब्यक्तिले भ्रष्टाचार गरेमा तीन करोड नेपाली भोकै मर्नेछन् तर ति ३ जना ब्यक्तिहरुलाई मृत्यूदण्ड दिंदा बाँकी ३ करोड नेपाली समृद्धिमा बाँच्न सक्छन् भने फाइदा र बेफाइदाको यो हिसाब अब हामीले गर्ने कि नगर्ने? विश्वमा छुट्टै अस्तित्व बोकेका सार्वभौम १९५ स्वतन्त्र देशहरु मध्ये छिमेकी मुलुक भारत, चीन, अमेरिका, सिंगापुर लगायत विश्वका ७० वटा देशहरुमा मृत्यूदण्डको ब्यवस्था भएको पाइन्छ। हामीले बुझ्नुपर्ने कुरा के हो भने मृत्यूदण्डलाई थोरै देशहरुले मात्र नियमितता दिदै आएका छन्। नेपालको अन्तरिम संविधान २०६३, जातीय भेदभाव विरुद्ध राष्ट्रिय मञ्चद्धारा तयार पारिएको नमुना संविधान २०६५, एकिकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीको संविधान खाका २०६५, किरात राई यायोख्खा केन्द्रिय कार्य समितिद्धारा प्रस्तुत सुझाव र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालद्धारा पेश गरिएको संविधानका मुख्य धाराहरु हेर्दा स्पष्ट रुपमा मृत्युदण्ड दिइने छैन भनि किटान गरिएको छ वा मौन रहेको छ। त्यसले नेपाल जस्तो गरिब मुलुकमा हुने भ्रष्टाचारलाई प्रोत्साहन गर्ने निश्चित देखिन्छ।

हाम्रो देशको राजनैतिक संस्कारमा धेरै सुधार गर्नुपर्ने देखिन्छ। सांसदको लागि उम्मेदवारी बन्नेले तोकिएको निश्चित तहसम्म अध्यायन गरेको हुनुपर्ने र एक ब्यक्तिले एकै पदमा दुईपटक भन्दाबढि सोहि पदमा बहाल रहन नपाउने ब्यवस्था गर्न सकेमा राम्रो हुन सक्दछ। पाकिस्तानमा संसद सदस्य बन्न तोकिएको निश्चित शिक्षा हासिल गरेको हुनु पर्दछ भने रसियाको राष्ट्रपति झै दुई कार्यकालपछि अर्को कार्यकाल पदीय दायित्वबाट बाहिर बस्नुपर्ने ब्यवस्था धेरै उत्कृष्ट देखिन्छ। त्यसो भएको खण्डमा अधिनायकी शासकको सम्भावना पनि कम हुनजान्छ।

विविधता भएको नेपालमा कार्यपालिका, न्यायपालिका र ब्यवस्थापिकाबीच सन्तुलन हुने गरि राष्ट्रपति रेफ्रिको रुपमा रहने गरि र खेल क्याप्टेनको रुपमा प्रधानमन्त्री रहने गरि ब्यवस्था गर्नु उपयुक्त हुन्छ। छिमेकी मुलुक मलेशियामा अवलम्बन गरिएको राष्ट्रप्रमुख (राष्ट्रपति) मण्डल पाँच सदस्यीय बनाउनु नेपालको परिवेशमा सबैभन्दा उपयुक्त्त देखिन्छ। त्यसमध्ये आर्य, खस समुदायबाट १, तराईवासीबाट १, महिलाबाट १, दलितबाट १ र आदिबासी जनजाति समुदायबाट १ जना रहने ब्यवस्था गर्न सकिन्छ। प्रत्येकले पालैपालो राष्ट्रप्रमुखको जिम्मेवारी बहन गर्नेछन्। यसो गर्न सकेको खण्डमा सबै समुदायलाई सम्मान र पहिचान गर्न सकिन्छ। उता प्रधानमन्त्री सबैभन्दा शक्तिशाली बन्ने ब्यवस्था गर्नुपर्दछ। यस्ता महत्वपूर्ण पदको लागि सम्पूर्ण नेपाललाई एक निर्वाचन क्षेत्र मानी प्रत्यक्ष निर्वाचनद्धारा चयन गर्नु सबैभन्दा उपयुक्त देखिन्छ।

ज्यादै अल्छीलाग्दो नेपालको ब्यवस्थापिकालाई चुस्त बनाउदै संघीय प्रतिनिधिसभा र संघीय राष्ट्रिय (जातीय) सभा नामाकरण गर्नु नेपाल जस्तो बहूजातीय देशको लागि उपयुक्त देखिन्छ। इरान, अफगानिस्तान र पाकिस्तान लगायत बहुजातीय मुलुकमा जातीय सभा लोकप्रिय बन्दै आएको प्रशस्त उद्धाहरणहरु पाइन्छन्।

हाम्रो जस्तो असमानता रहेको मुलुकमा संघीय राज्य अपरिहार्यता भएको कुरा हामी सबैले महशुस गरिसकेका छौ। यसर्थ केन्द्र सरकार र राज्य सरकारबीच स्पष्ट क्षेत्राधिकार तोक्नुपर्ने अनिवार्यता रहन्छ जसमा केन्द्र सरकारले रक्षा, परराष्ट्र, मुद्रा, केन्द्रीय बैक, अन्तराष्ट्रिय ब्यापार, उपरोक्त विषयहरुसँग सम्बन्धित मुद्धाहरु बाहेक सम्पूर्ण जिम्मा राज्य सरकारलाई दिनु उपयुक्त हुन्छ। यस्तै प्रकारको नीति अमेरिकाले अवलम्बन गर्दै आएको छ भने भारतले यसको ठिक उल्टो राज्यलाई दिइएको क्षेत्राधिकार बाहेकको कुरा केन्द्र सरकारले ब्यवस्था गर्ने गर्दछ।

नेपाल कुटनैतिक हिसाबले अत्यन्तै संवेदनशील मुलुक भएकोले परराष्ट्र नीतिमा सावधानी अपनाउँदै देशको पहिचान र पहुँच बढाउन जरुरी हुन्छ। त्यसैले एसिया महादेशभित्र र बाहिरका कतिपय धनी मुलुकहरुसँग अझ राम्रो सम्बन्ध विस्तार गरि सहयोगको लागि पूर्वाधार तयार गर्न सक्नुपर्दछ। ब्रुनाई, ताइवान, इरान, सिंगापुर लगायतका धेरै देशहरुमा सम्बन्ध विस्तार गरि राजदुतावास खोल्न सके हामीलाई धेरै सहयोग मिल्न सक्दछ।

हाम्रो देशमा भाषिक कठिनाइहरु भएको कारण देशको भाषिक नीति स्पष्ट हुनुपर्दछ। नेपाली भाषालाई सम्पर्क भाषा, अंग्रेजी भाषालाई अन्तर्राष्ट्रिय सम्पर्कको भाषा र मातृभाषा तथा स्वेच्छिक भाषालाई कामकाजी भाषाको रुपमा समेत प्रयोग गर्न सक्ने ब्यवस्था गर्नुपर्दछ। शिक्षाको सवालमा पनि संघीय (केन्द्रीय) शिक्षा र राज्य शिक्षाको ब्यवस्था गर्नु उपयुक्त देखिन्छ। राज्य शिक्षा अन्तर्गत स्थानीय राज्यमा बोलिने भाषा शिक्षा र स्वेच्छिक शिक्षा बाहेक विज्ञान, प्रविधि लगायतको शिक्षा केन्द्रीय स्तरबाट हेर्नु पनि निक्कै सान्दर्भिक देखिन्छ।

देशको अर्थतन्त्रमा रेमिट्यान्सले ठूलो हिस्सा ओगट्दै आएको छ । यर्सथ रेमिट्यान्स भित्राउने ती गैर आवासिय नेपालीहरुको लागि नेपाल बाहिर जुन देशमा गएको हो त्यहि देशको नागरिकता प्राप्त गरे पनि नेपालको नागरिकता त्याग्न नपर्ने अर्थात नेपाली नागरिकताको अस्तित्व रहिरहने ब्यवस्था गर्नुपर्दछ । ती गैर आवासिय नेपालीहरुको सन्तानले वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्नसक्ने र उनीहरुले नेपालमा सम्पत्ति जोड्न पाउने तथा नेपालमै लगानीको लागि थप हौसला पुग्ने ब्यवस्था गर्नु बुद्धिमता ठहर्छ । रोजगारीको लागि विदेश जाने हाम्रो परम्परालाई धेरै ब्यवस्थित गर्नु आवश्यक देखिन्छ। विशेषत विदेशमा विचल्लिमा परेका नेपालीहरुको उद्धारको लागि परराष्ट्र मन्त्रालय अन्तर्गत उद्धार मिसनको ब्यवस्था गरि स्वदेश फर्काउने दायित्व सरकारको हुनुपर्दछ।

नेपालको शैक्षिक अवस्था अपेक्षानुरुप निक्कै उत्साहजनक रहेको छ। दक्ष जनशक्ति उत्पादनको क्रम निरन्तर चलिरहेको छ। हामीले देखेका छौं की कतिपयले निरन्तर ३५/४० बर्षसम्म जागिर गरिरहेका हुन्छन्। उता शैक्षिक प्रगतिसँगै बेरोजगारको संख्या पनि हवात्तै बढिरहेको छ। त्यसैले अधिकतम २२ वा २८ बर्षपछि अनिवार्य निवृत्तिभरण लिनुपर्ने ब्यवस्था गर्नु वान्छानिय देखिन्छ। त्यसो हुन सकेको खण्डमा रोजगारीको अवसर केही भएपनि बढ्न सक्दछ।

कुनैपनि देश आर्थिक रुपमा मजबुत तब हुन्छ जब उद्योगधन्दाबाट उत्पादित बस्तु विदेशमा निर्यात हुन्छ। त्यसैले देशले गर्न नसक्ने ठूल्ठूला उद्योग कलकारखाना स्थापनाको लागि बिषेश ब्यवस्था गर्नु अति आवश्यक देखिन्छ। त्यसैले संविधानमा उद्योग नीतिलाई फराकिलो राख्नुपर्दछ।

हाम्रो देशको गम्भिर समस्याहरु मध्ये यातायात दुर्घटना एक मुख्य समस्या बन्दै आएको छ। त्यसैले यदि यातायात निगरानी ट्राफिक प्रहरीबाट सम्भव छैन भने कुनैपनि विकल्पको ब्यवस्था गर्नुपर्ने बेला भएको छ किनकी बढि भन्दा बढि दुर्घटना कानुन मिच्नेहरुले गराउँदै आएका छन्, त्यसप्रकारको क्रियाकलाप कमि गर्न नितान्त प्रयास गर्नु पर्दछ।

सबै आगैआगो भएर मात्र हुदैन कोहि पानी पनि हुनुपर्दछ भन्ने भनाई अनुसार अहिले आदिबासी जनजाति, दलित, मधेसीहरुमा शासक वर्गहरुबाट विगत देखि हुदै आएको शोषण, अत्याचार विरुद्धको आक्रोश अझै पनि देख्न सकिन्छ। यसलाई हामीले असामान्य किसिमले लिनु हुदैन। लामो र गौरवशाली इतिहास बोकेको नेपाल र नेपालभित्र रहेको विभिन्न भू–भाग तथा क्षेत्रको इतिहास बुझेर सम्मान र मान्यता दिनुपर्दछ। वि. स. २०२१ सालसम्म स्वशासित राज्य रहेको पूर्वको लिम्बुवान र अहिलेको लिम्बुवानी आन्दोलन त्यसको प्रत्यक्ष उदाहरण हो। यसर्थ नेपालले संयुक्त राष्ट्र संघ अन्तर्गतको आदीवासी जनजातिहरु सम्बन्धि अभिसन्धि नं. १६९ लाई सूनिश्चित गरि लागु गर्नुको विकल्प छैन।

संविधान निर्माण प्रकृया अन्तर्गत संविधानसभामा सबै जाति, धर्म, वर्ग, क्षेत्र, लिङ्ग तथा समुदायलाई समेट्नु साह्रै महत्वपूर्ण कार्य भएको छ। अझ संविधान सुझाव गाँउगाँउ र देशविदेशबाट समेत माग्नु साह्रै उत्तम कार्य भएको छ। प्राप्त सुझाव सबै समेट्न लायक नहुन सक्छ तर सुझाव प्राप्त हुनुको अर्थ सक्षम संविधान निर्माणप्रति सद्भाव र समर्थन हो भन्ने पनि बुझ्नु पर्दछ। विज्ञ कानुनविदहरुको सहयोगमा ब्यवस्थापिकासभाले सक्षम संविधान निर्माण गर्नेमा आश गरौ र आ–आफ्नो ठाँउबाट सहयोग गरौ। विश्वकै इतिहासमा शान्तिपूर्ण तवरले राजतन्त्र हटायौं, सबैको सहमतिमा देशलाई धर्म निरपेक्ष घोषणा गर्‍यौ । अब सम्पूर्ण नेपालीहरुको सहभागितामा शान्तिपूर्वक र सद्भावूपर्वक संविधान निर्माण गरौं तब आधा पेट नै भएपनि समृद्धिमा रमाउन सक्नेछौं। विश्वकै लागि हामी उदाहरण बनौ। त्यसपछि कतै नअलमलिई देश विकासको लागि निरन्तर अघि बढौं।

हामीले सोचेजस्तो र खोजेजस्तो सक्षम संविधान ढुक्कका साथ बन्नेवाला चाहिं छैन। केही प्रतिगामी तत्व जसले हिजो हालीमुहाली र बर्चश्व राख्दै आएका थिए अर्थात यथास्थितिवादीहरुको तर्फबाट विभिन्न अवरोध र षड्यन्त्रहरु आउने सम्भावनाहरु पर्याप्त रहेको छ। त्यसैले हामी सबैले त्यसपछि चनाखो रही सावधानी अपनाउनु जरुरी भएको छ। यसपटक संविधानमा अपरिवर्तनिय संरचना राखिनु हुदैन। संविधान समय अनुकुल शसोधन हुन सक्ने प्रावधानलाई स्वीकार्नु पर्दछ। भारतको संविधानको इतिहासलाई हेर्ने हो भने संविधान निर्माण पूरा भएकै अर्को साल पहिलो शंसोधन सन् १९५१ र दोस्रो शंसोधन १९५२ मा भएको छ। यसर्थ संविधान निश्कलङ्क बनाउन लचिलो, पारदर्शी र उद्धार दिलले लाग्नु पर्दछ।

अन्तमा, देश हाम्रो हो, निर्माणाधिन संविधान हाम्रो हो। कानुनको नजरमा प्रत्येक ब्यक्ति हक, अधिकार, जिम्मेवारी र पहूँचमा समान हुनुपर्दछ। सबै धर्म, जाति, वर्ग र क्षेत्रको अस्तित्वलाई स्वीकार गर्दै कसैको पनि कहिंबाट असर नगरौं। हामी नेपाली सबै समान भएको महशुस गरौं र गराऔं। देशको यो मिर्मिरे बिहानीले आम नेपालीहरुको लागि सुख, समृद्धि, सद्भाव र प्रगति लिएर आउन सकोस् शुभकामना।

स्रोतहरुः
१. नेपाल अन्तरिम संविधान २०६३
२. जातिय भेदभाव विरुद्ध राष्ट्रिय मंचद्धारा निर्मित नमुना संविधान २०६५
३. एकिकृत माओवादीको संविधान खाका २०६५
४. किरात राई यायोख्खा केन्द्रिय कार्य समितिद्धारा प्रस्तुत सुझाव
५. सघिय लोकतान्त्रिक राष्ट्रिय मंचद्धारा पेश गरेको संविधानको मुख्य धाराहरु
६. नेपाल अधिराज्यको संविधान २०४७
७. Constitution of India: http://india.gov.in/default.php
८. यस्तो हुनुपर्छ राज्यको संरचना, लेखक भवानी वराल

-biswasdip@ymail.com
१ बैशाख २०६६ तदनुसार १८ अप्रिल २००९, बेलायत

Popularity: 8%

Add comment April 26th, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2009
M T W T F S S
« Mar   May »
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Posts by Month

Posts by Category

More news....