Archive for May, 2009

प्रधानमन्त्रीलाई कालो झण्डा

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री बनेपछि अभिनन्दन ग्रहण गर्न आफ्नो गृहजिल्ला रौतहट पुगेका माधवकुमार नेपाललाई माओवादी कार्यकर्ताले कालो झण्डा देखाउन थालेपछि उनीहरू पक्राउ परेका छन्। पक्राउ परेका माओवादी भ्रातृसंगठन वाइसीएलका कार्यकर्ताहरू राजकुमार सिंह र कमल पहरी छन्।

सभास्थल छेउमा प्रधानमन्त्री नेपालविरूद्ध कालो झण्डा फाल्ने क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेपछि उनीहरू एमाले कार्यकर्ताको आक्रमणमा परेका थिए। एमाले कार्यकर्ताहरूले उनीहरूमाथि अन्धाधुन्ध कुटपिट गरेका थिए।

प्रधानमन्त्री नेपाल रौतहटको चन्द्रनिगाहपुरस्थित जनज्योति बहुमुखी क्याम्पसमा अभिनन्दन तथा स्वागत समारोहमा सहभागी हुन त्यहाँ पुगेका थिए। प्रधानमन्त्री बोल्ने क्रममा वाइसीएलका कार्यकर्ताहरूले कालो झण्डा देखाउने प्रयाश गरेका थिए।

Popularity: 10%

24 comments May 31st, 2009

माओवादीद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

एचकेनेपाल डट कम संवाददाता-
नागरिक सर्वोच्चताका लागि भन्दै सरकारबाट बाहिरिएको एकीकृत नेकपा माओवादीले देशव्यापी आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ। माओवादी सचिवालयको आइतबार बिहान सम्पन्न बैठकले नागरिक सर्वोच्चता कायम नहुन्जेल आन्दोलन जारी राख्ने निर्णय गरेको छ।

माओवादीले प्रधानसेनापति रुक्माङ्गद कटवाललाई कारबाही, राष्ट्रपतिले माफी माग्नुपर्ने र नागरिक सर्वोच्चताका लागि भन्दै देशव्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। माओवादी प्रवक्ता दिनानाथ शर्माका अनुसार २० गते बुधवार मुलुकका ७५ वटै जिल्ला प्रशासन कार्यालयमा २ घण्टा धर्ना र घेराउ गर्ने, २१ गतेदेखि मसान्तसम्म मुलुकका सबै गाविसमा जनवर्गीय संगठन परिचालन गर्ने निर्णय गरेको छ।

त्यसै गरी, बैठकले जनवर्गीय संगठन परिचालनका लागि मोहनबैद्य किरणको संयोजकत्वमा परिचालन र समन्वय समिति गठन गरेको छ। बैठकले व्यवस्थापिका संसदमा प्रस्तुत गरेको संकल्प प्रस्ताव छलफलमा नलगेर अधिनायकवादी चरित्र प्रदर्शन गरेको ठहर गरेको छ। राष्ट्रपतिको कदम नसच्चिएसम्म माओवादीले व्यवस्थापिका संसदको बैठक बहिष्कार जारी राख्ने निर्णयसमेत गरेको छ।

Popularity: 10%

6 comments May 31st, 2009

बेल्जियम दूतावासमा गणतन्त्र दिवस

एचकेनेपाल डट कम सम्वाददाता
३१ मई, ब्रसेल्स -
गणतन्त्र दिवसको उपलक्ष्यमा नेपाली राजदूतावास बेल्जियमले ३० मईका दिन ब्रसेल्समा एक कार्यक्रमको आयोजना गर्यो। कार्यक्रममा बेल्जियमस्थित नेपाली समुदायका विभिन्न संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुको उपस्थित थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत प्रमेशकुमार हमालले ठूलो त्याग, तपस्या र बलिदानबाट प्राप्त गणतन्त्रलाई संस्थागत विकास गरी नेपाल र नेपाली जनताको सर्वोत्तम हित कायम गर्न राजनीतिक सहमति र सहकार्यको अत्यन्त ठूलो महत्व रहेको कुरा बताउनु भयो। नेपालमा गणतन्त्र स्थापना गर्ने क्रममा शुरु भएको सहमति र सहकार्यको राजनीतिलाई अझै सवल र सक्रिय बनाउँदै शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन र संविधान निर्माण कार्य सम्पन्न गर्नु पर्ने आवश्यकतामाथि उहाँले जोड दिनु भयो।

हाम्रा विदेशी मित्र र अन्तर्राष्ट्रिय समुदायले पनि नेपालमा शान्ति प्रक्रियाले पूर्णता प्राप्त गरेको र नयाँ संविधान अन्तर्गत दिगो शान्ति स्थापना भई विकास र निर्माण कार्यले गति लिएको हेर्न चाहेका छन् उहाँले अगाडि भन्नु भयो। मुलुकको शान्ति र समुन्नतिका लागि गैर आवासीय नेपाली समुदायको भूमिका माथि प्रकाश पार्दै उहाँले देश भित्र र बाहिर रहेका नेपालीहरुको समन्वय र सहकार्यले विद्यमान चुनौतिहरुलाई छिचोलेर अघि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो।

कार्यक्रममा उपस्थित अतिथिहरुलाई मिनिष्टर काउन्सेलर दीपक धितालले स्वागत गर्दै कार्यक्रम संचालन गर्नु् भएको थियो। समारोहमा लोकतन्त्र र गणतन्त्र स्थापना गर्ने क्रममा शहादत प्राप्त शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो।

Popularity: 10%

Add comment May 31st, 2009

माओवादीले बेबी किङ ल्याउन ज्ञानेन्द्रलाई उक्साएको दावी-रक्षामन्त्री

एचकेनेपाल डट कम संवाददाता-
रक्षामन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले माओवादीले बेबी किङ्गको कुरा गरेर रछ्यानमा पुगेका पूर्वराजा ज्ञानेन्द्रलाई उक्साउन खोजेको आरोप लगाउनुभएको छ।

अखिल नेपाल महिला सङ्घ र अखिल नेपाल किसान महासङ्घ काभ्रेको जिल्ला सम्मेलनको संयुक्तरूपमा उद्घाटन गर्दै रक्षामन्त्री भण्डारीले एमालेको नेतृत्वमा गठन भएको सरकारले बेबी किङ्गलाई स्थापना गर्न खोजेको आरोपको खण्डनका साथ राजतन्त्र कुनै हालतमा ब्युँतिन नसक्ने बताउनुभयो।

नागरिक सर्वोच्चता र लोकतन्त्रको कुरा गर्ने माओवादीले सेनापतिलाई कारवाही गरेर माओवादी सर्वोच्चता कायम गर्न खोजेको आरोप पनि उहाँले लगाउनुभयो।

कसैको स्पष्ट बहुमत नभएको अवस्थामा सबैले मिलेर सहमतिको आधारमा निर्णय लिनुपर्नेमा माओवादीले एकतर्फी निर्णय लादेर सहमतिको राजनीतिको अन्त्य गरेको बताउँदै उहाँले स्वतन्त्र प्रेस, न्यायालय र मानवअधिकारलाई कुल्चेर कुनै दल अगाडि बढ्न नसक्ने उहाँको भनाइ थियो।

हिजो सरकारमा रहेर सहयोग गरुन्जेल एमाले क्रान्तिकारी, अहिले सरकारको नेतृत्व हातमा लिंदा एकैरातमा कसरी प्रतिक्रान्तिकारी भयो भन्ने प्रश्न गर्दै मन्त्री भण्डारीले एमालेसंग टक्कर लिनु भनेको चट्टानसँग ठोकिनु हो भन्नुभयो।

Popularity: 10%

3 comments May 31st, 2009

दाइजो नल्याएको निहुँमा बुहारी लघारिइन्

एचकेनेपाल डट कम संवाददाता-
माइती पक्षले प्रशस्त दाइजो नदिएको भन्दै बथनाहा-२ की शोभादेवी महतोलाई घरका परिवारजनले कुटेर लघारेका छन्।

जिल्लाकै अन्कार-४ बेला टोल माइती भएकी शोभालाई घरमा ससुरा प्रभु , सासू जगतारणदेवी, काका ससुरा किशोरी र नन्द ममतासमेतले मागेको दाइजो नदिएको भन्दै कुटेर लघारेको पीडित शोभाले बताइन्।

एकवर्षअघि प्रभुका एकमात्र छोरा सकलेदवसाग विवाह गरेकी शोभालाई आज एकाबिहानै उनका पति घर नभएका बेला पीडकहरूले “टिभी र साइकल ले,नभए मारिदिन्छौँ”भन्दै कुटपिट गरेकोशोभाले जिउभरि कुटाइका सुम्ला देखाउँदै भनिन्।

गत कात्तिकमा शोभाका पति कमाउन विदेश गएपछि यताका दिनमा कैयौँ पटक परिवारजनको कुटपिट खेप्दै बताउँदै शोभाले आफू सो घरमा बाँच्न सक्ने स्थिति नभएको हुँदा इन्साफका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पुगेको बताइन्।

Popularity: 10%

3 comments May 31st, 2009

काँग्रेसमा मन्त्री छान्ने अधिकार गिरिजालाई

एचकेनेपाल डट कम संवाददाता-
नेपाली काङ्ग्रेस संसदीय दलको बैठकले जातीय र क्षेत्रीय आधार तयार गरी मन्त्रिमण्डलमा सामेल हुने व्यक्तिको चयन गर्नुपर्ने निर्णय गरेको छ।

बैठकले पार्टीको विधान र परम्पराअनुरूप मन्त्रिमण्डलमा पठाउने व्यक्तिको चयन गर्न पार्टी सभापति गिरिजाप्रसाद कोइरालालाई जिम्मा दिएको छ।

बैठकले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्रीमा नियुक्त हुनु भएकामा बधाई ज्ञापन गर्दै उहाँको कार्यकालको सफलताको कामना गरेको छ।

बैठकमा पार्टी केन्द्रीय समितिले गरेको निर्णयबारे सभासद्लाई जानकारी दिइएको थियो।

Popularity: 10%

4 comments May 31st, 2009

मन्त्री छान्न समितिलाई अधिकार दियो फोरमले

एचकेनेपाल डट कम संवाददाता-
मधेसी जनअधिकार फोरमको बैठकले सरकारमा सहभागी हुने व्यक्तिको नामावली चयनलगायत समयसामयिक राजनीतिक विषयलाई टुङ्गोमा पुर्‍याउन उच्चस्तरीय राजनीतिक समितिलाई अधिकार दिएको छ।

पार्टी अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा गठित सो समितिमा सहअध्यक्ष जयप्रकाशप्रसाद गुप्ता, महासचिव मृगेन्द्रकुमारसिंह यादव, संसदीय दलका नेता विजयकुमार गच्छदार, उपनेता शरत्सिंह भण्डारी, रेणु यादव, रत्नेश्वरलाल कायस्थ, चन्द्रिका यादव र उपेन्द्र झा रहेका छन्।

पार्टीका तर्फबाट सरकारमा जाने प्रतिनिधिको नाम बढीमा आगामी सोमबारसम्म पठाइसक्ने सभासद् विपी यादवले जानकारी दिए। पछिल्लो दिनमा पार्टीमा उत्पन्न राजनीतिक विवादलगायतका विषयमा पनि शीर्षस्थ नेतृत्वसम्मिलित समितिमा छलफल हुने बताइएको छ।

Popularity: 10%

Add comment May 31st, 2009

फोरमभित्र चर्को विवाद… अझै कुरा मिलेन

एचकेनेपाल डट कम संवाददाता-
मधेशी जनअधिकार फोरमभित्र सरकारमा जाने या नजाने भन्ने विषयले चर्को विवाद निम्त्याएको छ। फोरमका अध्यक्ष उपेन्द्र यादव र संसदीय दलका नेता विजयकुमार गच्छदारबीच यसै विषयमा आरोप प्रत्यारोप भएपछि यादव बैठक नटुङ्गिदै बाहिरिए। फोरमभित्र बढ्दै गएको विवादले फोरम फुटको संघारमा पुगेको छ।

अध्यक्ष यादवले गच्छदारको हस्ताक्षर अभियान र पार्टीले निर्णय नगर्दै सरकारमा जाने संसदीय दलको निर्णयलाई गैरकानुनी भन्दै आपत्ति जनाएका छन्। उनले चार दलले फोरमलाई फुटाउन लागेको आरोप लगाउंदै चार दलले फोरम संसदीय दलको निर्णयलाई स्वीकार गर्न नहुने बताएका छन्। चार दलले संसदीय दलको निर्णयलाई मान्यता दिएमा सरकारलाई दिएको फोरमको समर्थन फिर्ता लिनसक्ने उनले चेतावनी दिएका छन्।

यसैबीच, फोरम संसदीय दलका नेता गच्छदारले यादवको भनाईप्रति आपत्ति जनाएका छन्। उनले लोकतान्त्रिक गठबन्धनको सरकारलाई समर्थन गरेरै छाड्ने प्रतिवद्धता जाहेर गरेका छन्। आफ्नै नेतृत्वमा फोरम सरकारमा जाने गच्छदारले बताएका छन्।

Popularity: 10%

7 comments May 30th, 2009

अब शहरबाट संघर्षः प्रचण्ड

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रको रक्षा र जनपक्षीय संविधान निर्माणका लागि शहरबाटै शान्तिपूर्ण सङ्घर्ष गर्ने बताएका छन्।

एकीकृत नेकपा माओवादी ललितपुरले आयोजना गरेको ‘गणतन्त्रको रक्षा र जनपक्षीय संविधान निर्माणका चुनौती’ विषयक प्रवचन गोष्ठीमा दाहालले संविधान निर्माण र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन र नागरिक सर्वोच्चता कायम गराउन पनि संर्घष शान्तिपूर्ण हुने बताए।

उनले आफूले प्रधानमन्त्री पदबाट राजिनामा दिनु हार नभई प्रतिक्रान्ति र यथास्थितिवादविरुद्ध र आत्मसम्मानको विजय भएको बताए। कार्यक्रममा माओवादी नेता वर्षामान पुन र पम्फा भुसालले संविधान र गणतन्त्रको विपक्षमा उभिएका दलहरुले अहिले देशलाई पछाडि फर्काउने षडयन्त्र गरिरहेको आरोप लगाए।

Popularity: 10%

10 comments May 30th, 2009

तेस्रो जनआन्दोलन गछौँ- भट्टराई

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नागरिक सर्वोच्चताका लागि तेस्रो जनआन्दोलन गरिने चेतावनी दिएका छन्।

एकीकृत नेकपा माओवादीद्वारा गणतन्त्र दिवसको अवसरमा वसन्तपुरमा आयोजित सभालाई सम्बोधन गर्दै डा. भट्टराईले अब आफ्नो पार्टी सडक र सदन सङ्र्घर्षको आँधिबेरी सिर्जना गर्ने बताए।

कार्यक्रममा सो पार्टीका पोलिटब्युरो सदस्य हितमान शाक्यले सरकारमा सामेल दलहरुले बाहिर गणतन्त्र भन्दै भित्रभित्रै राजतन्त्र राख्ने षड्यन्त्र गरिरहेको बताए।

एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य झक्कु सुवेदीले दुइ ठाउँबाट चुनाव हारेका व्यक्तिले प्रधानमन्त्री भएर नेपाली जनताको अपमान गरेको विचार व्यक्त गरे।

Popularity: 10%

Add comment May 30th, 2009

गल्ती गर्नेलाई जनताले कारबाही गर्न पाउनुपर्छः थापा

एचकेनेपाल डट कम संवाददाता-
कुनै पनि निकायले गल्ती गर्छ भने जनताले उसलाई कारबाही गर्न पाउनुपर्ने एकीकृत नेकपा मओवादीका नेता तथा पूर्वमन्त्री रामबहादुर थापाले बताउनुभएका छन्।

नेता थापाले सदरमुकाम गाइघाटमा मगर राष्ट्रिय मुक्तिमोर्चा नेपालको राष्ट्रिय एकता भेलाको उद्घाटन सभालाई सम्बोधन गर्दै अदालत, कुनै संघसस्था र कुनै व्यक्तिसमेत जनताभन्दा ठूलो हुन नहुने हुनाले गल्ती गर्ने निकायलाई जनताले कारबाही गर्न पाउनु पर्ने तर्क राखेका हुन्।

सभासद् रामबहादुर थापा मगरले अब यो मुलुकमा उत्पीडितलाई तिनको उत्पीडनबाट एकीकृत नेकपा माओवादीले मात्र छुट्कारा दिनसक्ने दावी गरे।

Popularity: 10%

6 comments May 30th, 2009

तेन्जिङहिलारी एभरेस्ट म्याराथुनको उपाधि तामाङलाई

एचकेनेपाल डट कम संवाददाता-
तेन्जिङहिलारी एभरेस्ट म्याराथुनको सातौं संस्करणमा सोलुखुम्बु लुक्लाका फुर्बा तामाङले प्रथम स्थान हासिल गरेकाछन्। अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा शुक्रबार बिहान भएको प्रतियोगितामा तामाङले सो उपाधि जितेका हुन्।

उनले सगरमाथा आधार शिविरदेखि नाम्चेसम्मको ४२ दशमलव १३५ कि.मि.को दूरी ३ घण्टा ४० मिनेट ४७ सेकेण्डमा पुरा गरी प्रथम स्थान हासिल गरे। उनकै सहोदर दाजु रामकुमारले म्याराथुनको दोस्रो स्थान हासिल गरे। उनले निर्धारित दूरीको ४ घण्टा ७ मिनेट २ सेकेन्डमा पुरा गरेका थिए।

त्यस्तै सोलुखुम्बु गुदेलका सुदीप कुलुङ राईले निर्धारित ४ घण्टा ९ मिनेट ४८ सेकेन्डमा पुरा गरेकाछन्। उपाधि चुम्न सफल फुर्बा गतवर्षको उप विजेता हुन् भने वहाँका दाजुले पहिलोपल्ट सहभागिता जनाएका हुन्। प्रथम स्थान हासिल गर्न सफल फुर्बाले एक हजार अमेरिकी डलर हात पारे भने दोस्रो र तेस्रो विजेताले पाँच सय र तीन सय डलर प्राप्त गरेका छन्।

महिलातर्फ भने नाम्चे-५ ठमोकी मिङ्माछम्जी सेर्पाले प्रथम स्थान हासिल गरिन्। उनले ५घण्टा ५ मिनेट ३२ सेकेण्डमा दौड पुरा गरेकी हुन्। गत वर्षकी विजेता आङफुटी सेर्पा ५ घण्टा २१ मिनेट २४ सेकेण्डमा दौड पुरा गर्दै दोस्रो भइन्। त्यस्तै ५ घण्टा २१ मिनेट ३१ सेकेण्डमा दौड पुरा गर्दै मिङ्माफुटी सेर्पा तेस्रो भइन्। जितसँगै प्रथम विजेताले पाँच सय तथा दोस्रो र तेस्रो विजेताले तीन सय र दुई सय डलर प्राप्त गरेका छन्।

प्रतियोगितामा विदेशीतर्फ भारतीय सेना अघि रहे। पहिलो तीनवटै उपाधिमाथि उनीहरुले जित हात पारेका हुन्। श्याम के.सी ५ घण्टा ३६ मिनेट २५ सेकेण्डमा दौड पुरा गर्दै पहिलो, ओमकुमार ५ घण्टा ३ मिनेट ४६ सेकेन्डमा पुरा गर्दै दोस्रो र टी गजपति ६ घण्टा ६ मिनेट ४१ सेकेन्डमा दौड पुरा गर्दै तेस्रो भए।

सगरमाथा स्वर्ण महोत्सवको अवसरमा सन् २००३ देखि सुरु भएको सो प्रतियोगिताको सातौं संस्करणमा ५२ विदेशीसहित १२० जना धावकले भाग लिएका थिए।

विदेशीमध्ये सबैभन्दा धेरै भारतका १४ जना र जर्मनीका पाँच प्रतियोगीले भाग लिएका थिए। विजेतालाई नेपालका लागि जर्मन राजदूत मेरेना ग्राइफिनमन रोडनले पुरस्कार प्रदान गरे।

Popularity: 10%

Add comment May 30th, 2009

कुकुरको विवादमा तीन जना दलित घाइते

एचकेनेपाल डट कम संवाददाता-
कुकुरलाई कुटेका कारण तीनजना दलितले कुटाइ खानु परेको मार्मिक घटना सिरहाको अर्नामा ब्रहृमपुरी वडा नं. ३ मा भएको छ।

कुरो हो बिहीबार राति ७-८ बजेतिरको। सडकमा दुइवटा भुस्याहा कुकुर एक आपसमा झगडा गर्दैथिए तर घर अगाडि कुकुर झगडा गरिरहेको भन्दै अर्नामा ब्रहृमपुरी-३ का ब्रहृमदेव मोचीले दुइटै कुकुरलाई ढुङ्गाले हानेर भगाएका थिए। तर सोही ठाउँबस्ने फेकु यादव र उनका छोरा जितेन्द्र यादवले मेरो कुकुरलाई किन ढुङ्गाले हानेको भन्दै ब्रहृमदेवलाई मराणासन्न हुनेगरी कुटपिट गरे।

बाबुछोराको कुटाइबाट सख्त घाइते भएका ब्रहृमदेवलाई उपचारका लागि सिरहा अस्पताल लगिएकोमा त्यहाँ उपचार हुननसकेपछि थप उपचारका लागि धरानतर्फलगिएको पारिवारिक स्रोतले बताएको छ। सोही क्रममा कुटाइ खाएर सामान्य घाइते भएका गुलाई महरा र चरितर महराको सिरहा अस्पतालमा उपचार भइरहेको छ।

उपल्लो जाति भनाउँदा यादव जातिले सामान्य कुरालाई लिएर दलितलाई कुटपिट गरेको घटनाप्रति जिल्लास्थित दलित सङ्घसंस्थाहरुले आक्रोश व्यक्त गरेका छन्।

Popularity: 9%

Add comment May 30th, 2009

आज सगरमाथा दिवस

एचकेनेपाल डट कम संवाददाता-
सगरमाथामा पहिलोपटक मानव पाइला टेकिएको आज ५६ वर्ष पुगेको छ। दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन आठ हजार ८४८ मिटर अग्लो सगरमाथाको शिखरमा पुगी आफ्नो आरोहणयात्रामा सफलता प्राप्त गरेपछि यस घटनाले विश्वभर नै ठूलो चर्चा पायो र नेपाल सर्वोच्च शिखर सगरमाथाको देश भनेर संसारभर चिनिएको हो।

त्यसै घटनालाई स्मरण गर्दै मे २९ तारिखलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रुपमा नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ उत्साहपूर्वक मनाउने गरिएको छ।

छपन्न वर्षको आरोहणको अवधिमा करिब दुई हजार २०० पर्वतारोहीले सर्वोच्च शिखरको साहसिक विजययात्रा पूरा गरिसकेका छन् भने नयाँ नयाँ कीर्तिमान समेत थप्दै आएका छन्।

यस जोखिमपूर्ण आरोहणका क्रममा केही वीर वीरङ्गानाले सगरमाथाकै नाममा आफ्नो जीवन उत्सर्ग गरेका छन्।
आफ्नै कीर्तिमानलाई तोड्दै विख्यात आरोही आप्पा शेर्पाले पर्वतारोहणकै इतिहासमा एउटा नयाँ कीर्तिमान थप्नुभएको छ।

यही जेठ ७ गते आप्पाले १९ औं पटक सबभन्दा सगरमाथा आरोहण गरी सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गरेको विश्व कीर्तिमान कायम गर्नुभएको छ।

Popularity: 10%

Add comment May 29th, 2009

गणतन्त्र दिवसमा राष्ट्रपतिको सन्देश

एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रपति डा. रामवरण यादवले नेपालमा गणतन्त्र स्थापनाको पहिलो वर्ष पुरा भएको अवसरमा देशभित्र र बाहिर रहेका सबै नेपालीमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।

यस अवसरमा आज उहाँले सन्देश दिंदै नेपालको निर्माण, राष्ट्रिय एकता, अखण्डता र सार्वभौमसत्ताको रक्षा तथा लोकतन्त्र प्राप्तिको निम्ति जीवन बलिदान गर्नुभएका सबै ज्ञान-अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ।

एउटा लामो शासन परम्पराको अन्त्य र गणतन्त्रको नयाँ अध्याय सुरु भएको पहिलो वर्ष त्यति सहज हुन नसकेको अनुभव तपाईं हामी सबैले गरेकै छौं। आउने दिन पनि सजिला हुने छैनन्। सङ्क्रमणकाल कहीं पनि सहज हुँदैन। त्यसैले अगाडिको चुनौतीपूर्ण उकालो यात्रालाई कसरी सहज बनाउने भन्नेमा आज सबै नेपालीको ध्यान जानु जरुरी रहेको छ-सन्देशमा भनिएको छ।

सन्देशमा उल्लेख छ-हाम्रो अहिलेको प्रमुख गन्तव्य शान्ति प्रक्रियाको पूर्णता र नयाँ संविधानको निर्माण हो। त्यो गन्तव्यमा पुग्नसके मात्र हाम्रो नयाँ गणतन्त्रले जरा हाल्न सक्नेछ। राष्ट्रको यथार्थ र आवश्यकता मनन गरी एक अर्कासाग हातेमालो गर्दै अगाडि बढेमा गन्तव्यमा पुग्न अवश्य पनि गाह्रो हुने छैन।

हुन त हामीले गएको एक वर्ष सहमति र सहकार्यको माला धेरै जप्यौं तर त्यो मालाका लागि चाहिने जति विश्वास र समझदारीका फूल फुलाउन भने सकेनौं। असहमतिको अधिकार लोकतन्त्रको सबैभन्दा मुख्य विशेषता हो। त्यसलाई दबाइयो भने लोकतन्त्र कुरुप हुने र गणतन्त्रका जरा कुहिने खतरा बढ्छ। असहमतिका बिझाउने काँडाका बीचमै विश्वास र समझदारीको फूल फुलाउने खतरा बढ्छ। तर असहमतिका बिझाउने काँडाका बीचमै विश्वास र समझदारीको फूल फुलाउन सक्यांै भने लोकतान्त्रिक गणतन्त्रको बगैंचा ढकमक्क हुनेछ, जहाँ नेपाल र सम्पूर्ण नेपालीको सुन्दर तस्बिर खिच्न सकिनेछ -सन्देशमा भनिएको छ।

Popularity: 9%

Add comment May 29th, 2009

राजतन्त्र ब्युँताउने षड्यन्त्र हुँदैछः प्रचण्ड

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी प्रतिगमनकारी पक्षविरुद्ध एकढिक्का भई राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने पक्षमा रहेको बताउनुभएको छ।

नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठन निजामती राष्ट्रिय समितिद्वारा गणतन्त्र घोषणा भएको प्रथम वर्षगाँठको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान एवम् जलपान कार्यक्रममा अध्यक्ष दाहालले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो।

आत्मनिर्णयसहित सार्वभौमसम्पन्न नेपालका विरुद्ध विभिन्नखाले प्रतिगामी तत्व सल्बलाइरहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो- “लोकतन्त्र र परिवर्तनका विरुद्ध जुनसुकै मूल्य चुकाउन परे पनि कोही कसैसाग घुँडा टेकिन्न।”

जनादेशलाई आत्मसात् गरी शान्ति र संविधान निर्माणका पक्षमा माओवादी सदैव रहेको स्पष्ट गर्दै अध्यक्ष दाहालले अनेकौँ तानावाना र षड्यन्त्र गरी राजतन्त्र पुनस्र्थापना गर्न प्रतिगमनकारी तत्व सक्रिय भएको भन्दै सबैको ध्यानाकर्षण पनि गर्नुभयो।

नेपालको राजनीतिक इतिहासलाई समीक्षा गर्दै प्रतिगामी तत्वका चलखेलका कारण स्वाभिमानी प्रधानमन्त्री विपी कोइराला पदबाट अनाहक अपदस्थ हुनुपरेको स्मरण गर्दै निवर्तमान प्रधानमन्त्री दाहालले राष्ट्रिय स्वाभिमानका पक्षमा कसैसंग आत्मसमर्पण नगर्दा आफूले पनि राजीनामा दिनुपरेको स्पष्ट गर्नुभयो।

Popularity: 9%

7 comments May 29th, 2009

लिम्बुवानको स्वायत्त संघीयताको माग

एचकेनेपाल डट कम संवाददाता-
सङ्घीय लिम्बुवान राज्य परिषद्ले सरकारसंग जातीय आधारमा छुट्टै स्वायत्त सङ्घीयताको माग गरेको छ। सो परिषद्ले बदलिँदो परिस्थितिमा सङ्घीय लिम्बुवान राज्य खस परिषद्को धारणा र अधिवेशनसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरी उक्त माग गरेको हो।

एकीकृत नेकपा माओवादीले जतिसुकै जातीय अधिकारको नारा लगाए पनि लिम्बुवान स्वायत्तताको आन्दोलनलाई दमन गरेको आरोप लगाउँदै परिषद्ले सरकारले लिम्बुवानका माग नसुने शान्तिपूर्ण आन्दोलन गर्ने पनि घोषणा पनि गर्‍यो।

परिषद्को महाधिवेशन मूल समारोह समितिका संयोजक पदम अधिकारीले लिम्बुवानको अधिकार सुनिश्चित गर्न र उनीहरुका माग सुन्न राजनीतिक दलहरु गम्भीर नभएको आरोप लगाउँदै यतिबेला मुलुकको राष्ट्रियता खतरामा परेकाले कसरी यसलाई जोगाउन सकिन्छ भनेर समयमै महाधिवेशन गर्न लागिएको जानकारी दिनुभयो।

उहाँले राज्यले जातीय विभेद् गरेकाले यतिबेला मुलुकका विभिन्न क्षेत्रमा जातीय आत्मनिर्णयका लागि आन्दोलन भइरहेको बताउँदै तर समयमै संविधान बनाउनुपर्नेमा जोड दिनुभयो।
परिषद्को महाधिवेशन प्रचारप्रसार उपसमितिका प्रमुख अशोक खसाङले शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनका लागि जातीय, वर्गीय, भाषिक, साँस्कृतिक, धार्मिक, क्षेत्रीय, लैङ्गिक विभेद्को अन्त्य गर्नुपर्ने र वर्गीय समस्या समाधान गरिनुपर्ने बताउनुभयो।

‘केन्द्रीकृत सत्ताफिर्ता जा, लिम्बुवानी सत्ता लिम्बुवानवासीलाई जिम्मा ला’ भन्ने मूल नाराका साथ सो परिषद्को दोस्रो अधिवेशन यही जेठ २२ देखि तीन दिनसम्म हुनेछ।

सोही कार्यक्रममा जातीय अधिकारका लागि स्वायत्त खसाङ राज्य परिषद्को गठन गरिएको घोषणा गरिएको थियो।

सो परिषद्का अध्यक्ष जगदीश पाण्डेले सरकारले जातजातिलाई अपहेलना गरेका कारण एकजुट भएर जातीय मुद्दा उठाउन परिषद्को स्थापना गरिएको जानकारी दिनुभयो।

Popularity: 9%

1 comment May 29th, 2009

तीन दिन गणतन्त्र दिवस मनाउन अपील

एचकेनेपाल डट कम संवाददाता-
गृह मन्त्रालयले यही जेठ १४, १५ र १६ गते तीन दिनसम्म विविधि कार्यक्रमसहित मनाउन लागिएको गणतन्त्र दिवसमा सक्रियतापूर्वक सहभागी जनाई दिवसलाई चाडका रुपमा भव्यरुपमा मनाउन सबैसँग हार्दिक अपिल गरेको छ।

मन्त्रालयले एक विज्ञप्तिमार्फत् तीन दिनसम्म सरकारी एवम् गैरसरकारी कार्यालय, औद्योगिक-व्यापारिक प्रतिष्ठान, धार्मिक एवम् सामाजिक प्रतिष्ठान र घरघरमा दीपावलीसमेत गरी खुसियाली मनाउन सर्वसाधारण सबैमा अपिल गरेको छ।

Popularity: 9%

3 comments May 29th, 2009

सबैलाई चित्त बुझाउन जम्बो मन्त्रिमण्डल

एचकेनेपाल डट कम संवाददाता-
सरकारमा सहभागी हुने ठूला साना सबै दललाई चित्त बुझाउन नेका र एमालेबीच कम्तीमा ३५ सदस्यीय मन्त्रीमण्डल गठन गर्ने विषयमा सहमत भएका छन्। प्रधानमन्त्री निवास वालुवाटारमा विहीवार विहान बसेको बैठकमा नेकाले मन्त्रिमण्डलमा ३५ सदस्यभन्दा बढी नथप्न पनि एमालेलाई सुझाव दिएको छ।

दुई दलबीच भएको छलफलमा साना दलहरूलाई १० सिट बराबर १ मन्त्री दिन सहमत भएका छन्। मन्त्रालयको संख्या २४ भएपनि राज्यमन्त्री र सहायक मन्त्री थपेर ठूलो आकारको मन्त्रिमण्डल गठन गरिनेछ। शुक्रवारसम्म मन्त्रालयको बाँडफाँडको टुंगो लागेपछि आइतवारसम्म मन्त्रीमण्डल विस्तार गरिने एमाले महासचिव ईश्वर पोखरेलले बताए।

Popularity: 9%

8 comments May 28th, 2009

‘बेबी किङ’ ब्यूंझाउने प्रयाशः माओवादी

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा माओवादीले नयाँ सरकारबाट ‘बेबी किङ’ ब्यूंझाउने प्रयाश भैरहेको आरोप लगाएका छन्। राजधानीमा जारी माओवादी सचिवालय बैठकले नयाँ सरकारको समीक्षा गर्दै यस्तो आरोप लगाएको हो।

वर्तमान सरकारले नारायणहिटी दरबारभित्र गणतन्त्र सालिक बनाउने निर्णय रद्द गरी रत्नपार्कमा सार्ने निर्णयको माओवादीले विरोध गरेको छ। नारायणहिटीबाट गणतन्त्र सालिक हटाउने सरकारको पछिल्ला निर्णयलाई ‘बेबी किङ’ ब्यूंझाउने संज्ञाको रूपमा माओवादीले लिएको छ। त्यसै गरी, राज्य पुनःसंरचना र संविधानसभा मन्त्रालय खारेज गरेको निर्णयलाई परिवर्तन आत्मसात गर्न नसकेको भनेर माओवादीले आलोचना गरेको छ।

पूर्ववर्ती माओवादी नेतृत्वको सरकारले नारायणहिटी परिसरमा नै गणतन्त्र सालिक निर्माण गर्ने भन्दै बजेटसमेत छुट्याई सकेको प्रवक्ता दीनानाथ शर्माले बताए। पछिल्लो सरकारको निर्णयलाई रद्द गर्दै पूर्णता नपाएको अहिलेको मन्त्रिपरिषद बैठकले यस्ता महत्वपूर्ण निर्णय गरेर अधिनायकवादी चरित्र देखाएको उनले आरोप लगाए। उनले संकल्प प्रस्तावमाथि छलफल भएमात्र माओवादीले संसद चल्न दिने बताए। संकल्प प्रस्तावमाथि छलफल नभएसम्म संसद अवरोध जारी रहन्छ, उनले भने।

Popularity: 10%

11 comments May 28th, 2009

एमटियूका नेता नरेन्द्र गुरुङलाई पक्रेर नेपाल पठाइए

मञ्जु थापा, दक्षिण कोरिया / एचकेनेपाल डट कम
सन् १९९३ देखि दक्षिण कोरियामा काम गर्दै आएका हाल काठमाडौं निवासी नरेन्द्र गुरुङलाई अध्यागमन विभागले समातेर बुधवार नेपाल पठाएको छ।

तस्वीरमा नरेन्द्र गुरूङ
सन् २००३ मा कोरियामा भएको चर्चित प्रवासी मजदुरहरुको हडतालबाट चर्चामा आएका गुरुङ कोरियाको वान्टेट लिष्टमा समेत थिए। कोरियामा प्रवासी मजदुरहरुको लागि सहयोग गर्दै आएका उनी यसपटक भने गत साता मृत्यु हुने बुद्ध गुरुङको क्षतिपूर्तिका लागि कारखानाको साहुसंग कुरा गर्दै थिए। वार्तामा भनाभन भएपछि उक्त कारखानाबाटै अध्यागमनका अधिकारीहरुले उनलाई पक्राउ गरेका थिए। उनी माइग्रेण्ट ट्रेड यूनियनसंग लामो समयदेखि आवद्ध थिए।

कोरियामा प्रवासी श्रमिकहरुको हक र अधिकारको लागि आवाज उठाउने, जुलुस र कोरियाली सरकारविरुद्ध नाराबाजी गर्नेहरुलाई पटक पटक अध्यागमनको अधिकारीहरुले जबरजस्ती प्रक्राउ गर्ने, धडपकड गरी दुर्व्यवहार गर्ने गरेको पाइन्छ। एमटियूका नेताहरु प्रक्रने क्रममा प्रभावशाली तथा कोरियनहरुको प्रिय नेता साथी (दोङजी) समर थापाबाट शुरु भएको थियो भने लगतै काजीमान, राजु गुरुङ, तोर्ण लिम्बूलाई धड्पकड गरी प्रक्राउ गरेकोमा कोरियाका प्रवासी मजदुरहरुले ठूलो संख्यामा जुलुस र नाराबाजी गरेका थिए। उनीहरुले कोरियनहरुसंग मिली आफ्ना नेतालाई छुटाउने प्रयास गरेका थिए भने अध्यागमन कार्यालयको अगाडि धर्ना पनि दिएका थिए। विगतमा झैं अन्य अप्रिय घटना हुन नदिन यस पटक गुरुङलाई छिटै नेपाल पठाइ सकेका छन् भने यसरी धडपकड गरी रहंदा एमटियुमा प्रवासी श्रमिकहरुको हक र अधिकारका लागि काम गर्ने प्रभावशाली नेताहरुको अभाव खटि्कएको छ।
दक्षिण कोरियाबाटः मञ्जु थापा / एचकेनेपाल डट कम

निलो ज्याकेटमा नरेन्द्र गुरूङ (फाईल फोटो)

Popularity: 10%

4 comments May 28th, 2009

कटवालमाथिको कारवाही फिर्ता, खड्कालाई कामुबाट हटाउने

२२ दलको निर्णयः
कटवालमाथिको कारवाही फिर्ता, खड्कालाई कामुबाट हटाउने,
संकल्प प्रस्ताव छलफलै नगरी संसदमा टुङ्गाउने,
हिउँदे अधिवेशनलाई बिहीबार नै टुंग्याइने,
शुक्रबारसम्म मन्त्रिमण्डल विस्तार गरिसक्ने

एचकेनेपाल डट कम संवाददाता-
नयाँ सरकारलाई सहयोग र समर्थन गर्ने २२ दलको बुधवार बिहान बसेको सर्वदलीय बैठकले पूर्ववर्ती माओवादी नेतृत्वको सरकारले गरेको निर्णयलाई रद्द गरी प्रधानसेनापति रूक्मांगद कटवालमाथि गरेको कारवाही फिर्ता, कटवाललाई पुनः पदबहाली र कुलबहादुर खड्कालाई कायम मुकायमबाट हटाउने निर्णय गरेको छ। यद्दापि, बैठकले सेनापति प्रकरण अन्त्य गर्ने जिम्मा प्रधानमन्त्री माधवकुमार नेपाललाई दिइएको छ।

बैठकले सरकारको न्युनतम साझा कार्यक्रम कार्यान्वनको लागि प्रमुख चार दल कांग्रेस, एमाले, फोरम र तमलोपाको उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको छ। सर्वदलीय बैठकले राज्य पुनः संरचना मन्त्रालय र संविधानसभा मन्त्रालयलाई खारेज गरी त्यसका ठाउँमा क्रमशः संस्कृति मन्त्रालय र संसदीय व्यवस्था मन्त्रालय कायम गर्ने निर्णय गरेको छ।

त्यसैगरी, पूर्ववर्ती माओवादी नेतृत्वको सरकारले राष्ट्रपति डा. रामवरण यादवविरूद्ध दर्ता गरेको संकल्प प्रस्तावलाई संसदमा छलफल नगरी टुङ्ग्याउने निर्णय गरेको छ। सोही बैठकले विगत लामो समयदेखि चलिरहेको व्यवस्थापिका संसदको हिउँदे अधिवेशनलाई बिहीबार नै टुंग्याउने निर्णय गरेको छ।

बैठकमा प्रधामन्त्री माधवकुमार नेपालले शुक्रबारसम्म मन्त्रिमण्डल विस्तार गरिसक्ने प्रस्ताव पेश गरेका थिए।

Popularity: 10%

9 comments May 27th, 2009

न्युज अपडेटः गोली हानी युवतीको हत्या

एचकेनेपाल डट कम संवाददाता-
अज्ञात समूहले मंगलबार राति वारामा एक युवतीको गोलीहानी हत्या गरेको छ। अज्ञात समूहको गोली प्रहारबाट मृत्यु हुनेमा भलुवी भरवलीया-३ निवासी १९ वर्षीया मेनिका साह रहेका छन्।

चार पाँच जनाको संख्यामा आएका अज्ञात समूहले उनलाई मध्यराति घरबाटै अपहरण गरी खेतमा लगेर टाउकोमा गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ। मृतकको टाउकोमा दुई राउण्ड गोली लागेको छ। विहान गाउलेले साहको शव देखेपछि प्रहरीलाई खवर गरेका थिए। हत्याको कारण थाहा हुन सकेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

यसैबीच, युवतीको हत्याको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा पृथ्वी समूहले लिएको छ। सुराकी गरेको आरोपमा हत्या गरेको मोर्चाका वारा कमाण्डर देवा सिंहले स्थानीय सञ्चारकर्मीसमक्ष टेलीफोनमार्फत बताएका छन्। कलैयास्थित रामराजा क्याम्पसकी १२ कक्षाकी छात्रा मृतक साह नेपाल राष्ट्रिय प्राथमिक विद्यालय त्रिवेणीकी शिक्षिका समेत थिइन्।

Popularity: 10%

6 comments May 27th, 2009

मन्त्री बनाउन सर्वदलीय बैठक

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री माधवकुमार नेपालले आज बिहान आठ बजे सिंहदरबारमा सर्वदलीय बैठक बोलाउनुभएको छ।

बैठकमा मन्त्रिमण्डलको विस्तार तथा नेकपा एमालेको नेतृत्वमा सरकार गठनका लागि समर्थन जनाउने दलहरुबीचको न्यूनतम साझा कार्यक्रम तय गर्ने विषयमा छलफल हुनेछ ।

यसअघि बसेको नेकपा (एमाले),नेका,मधेसी जनअधिकार फोरमलगायतका दलको बैठकले तत्काल र्सवदलीय बैठक डाक्न एमालेलाई सुझाव दिएको थियो।

यसैगरी आजै बिहान भावी रणनीति तय गर्न माओवादी सचिवालयको बैठक पनि बस्दैछ।

Popularity: 10%

Add comment May 27th, 2009

बालक हत्याको अभियोगमा प्रहरी पक्राउ

एचकेनेपाल डट कम संवाददाता-
बालक हत्याको अभियोगमा जिल्ला प्रहरी कार्यालय उदयपुरले एक सशस्त्र प्रहरीका जवानलाई पक्राउ गरेको छ।

बाँके जिल्ला नेपालगन्ज नगरपालिका वडा नं. २ घर भई हाल सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान त्रिलोक भनिने त्रिलोचन पुरीलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, उदयपुरका प्रहरी नायब उपरीक्षक पशुपतिनाथ डोटेलले बताउनुभयो।

Popularity: 10%

1 comment May 27th, 2009

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2009
M T W T F S S
« Apr   Jun »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....