एचकेनेपाल डट कम संवाददाता-
लमहीबाट घोराहीतर्फ आउँदै गरेको ना ३ ख ४९०१ नम्बरको यात्रुवाहक बसले ठक्कर दिंदा तीन जनाको मृत्यु भएको छ।
मृत्यु हुनेहरूमा ढिकपुर ४ का दीपेन्द्र विक, रामपुरकी अन्जु गौतम र घोराही नगरपालिका ६ गिठेपानीका राजु बुढा रहेका छन्।
बसले लमहीतर्फ जाँदै गरेको रा १ प ३८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार विक र गौतमको मृत्यु भएको हो। दुर्घटनापछि अनिन्त्रित सोही बसको ठक्करले पैदल यात्री बुढाको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटना घोराही नगरपालिका- ४ कटुवाखोला नजिक भएको थियो। दुर्घटनामा घाइते भएका दुई जनाको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ। प्रहरीले घटनासम्बन्धी अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।
दुर्घटनापछि मृतकका आफन्त र स्थानीयबासीले बसमाथि तोडफोड र आगजनी गरेका छन्। उनीहरूले मृतकका परिवारलाई क्षतिपूर्तिको माग र घटनाको विरोध गर्दै घोराही बजार बन्द गरेका छन्।
एचकेनेपाल डट कम संवाददाता-
म्याग्दीको काँहु गाविस- ४ की ३० वर्षीया माया सार्की आफ्ना छोराछोरीसँगै एउटै कक्षामा पढ्दैछिन्।
तीन सन्तानकी आमा भइसकेकी माया दीपशिखा उच्चमाध्यमिक विद्यालय कुहुमा हालै कक्षा ५मा भर्ना भएर नियमित विद्यालय जान थालेकी हुन्।
छोरा वीरबहादुर र छोरी नीलम पनि कक्षा ५ मा आमासागै अध्ययन गर्छन्।
बिहान बेलुकी घरायसी काम गरेर छोराछोरीसँगै विद्यालय जान थालेको मायाले बताइन्।
माया छोराछोरीसँगै पढ्न आउन थालेपछि धेरैले अनौठो मानेपनि मायाले पढ्ने इच्छालाई उमेरले बाधा गर्दैन भन्ने उदाहरण प्रस्तुत गरेको सो विद्यालयका शिक्षक माधव सुवेदी बताउंछन्।
सानै उमेरमा विवाह गर्नुपरेको गुनासो गर्दै मायाले शिक्षा लिने अवसरबाट वञ्चित भएकाले पढेर शिक्षित नागरिक बन्ने इच्छाका कारण विद्यालय जान थालेको बताइन्।
मायाको १६ वर्षको उमेरमा पारिवारको दबाबमा विवाह भएको थियो। हाल मायाका श्रीमान् रोजगारीको लागि साउदीमा छन्।
पढाइको महत्व बुझेर मायाले देखाएको उत्साह धेरैका लागि प्रेरणा बन्ने विद्यालयका शिक्षकहरू बताउँछन्।
एचकेनेपाल डट कम संवाददाता-
यस वर्षको एसएलसी परीक्षामा विराटनगर -१५ स्थित बाल कल्याण विद्या मन्दिर (बिकेभिएम) बोर्डिङ स्कूलले आफ्नो विद्यालयका एक विद्यार्थीले सर्वाधिक अङ्क ल्याएको दाबी गरेको छ।
सो विद्यालयका राकेश गिरीले एसएलसी परीक्षामा कूल ८०० पूर्णाङकमा ७४५ अङक अर्थात ९३.१२ प्रतिशत ल्याएको र यो यस वर्षको सर्वाधिक अङक् हुनसक्ने बताइएको छ।
सो विद्यालयवाट एस एल. सी. परीक्षामा सहभागी एक सय ३० विद्यार्थीमध्ये १ सय १४ जना विशिष्ट श्रेणीमा तथा १६ जना प्रथम श्रेणीमा उत्तीर्ण भएको विद्यालयका सहायक प्राचार्य रवीन दाहालले बताए।
स्कूलहरुबीच अस्वस्थ प्रतिस्पर्धा बढेर अनियमितता हुनसक्ने भन्दै परीक्षा नियन्त्रण कार्यालयले बोर्ड प्रथा खारेज गरिसकेको छ।
एचकेनेपाल डट कम संवाददाता-
झापाको उत्तरी गाविस बुधवारे स्थित एक विद्यालयका प्रधानाध्यापकले एक विद्यार्थीलाई कुटपिट गरी घाइते बनाएका छन्।
नमुना निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक वासुदेव नेपालले कक्षा ५ का विद्यार्थी अजय खातीलाई कुटपिट गरी घाइते बनाएको बताइएको छ। विद्यालय नजिकै घर भएकी भीमा कार्कीका अनुसार प्रधानाध्यापक नेपालले सोमबार दिउँसो ३ बजेतिर विद्यार्थीलाई कुटपिट गरेका हुन्।
पीडित विद्यार्थीका काका धीरज खातीले शिक्षकको पिटाईबाट विद्यार्थी विरामी परेको बताए।
उनले अजयलाई स्थानीय मनकामना हस्पिटलमा उपचार गराएको जानकारी दिए। धीरजले अजयको शरीरभरी नीलडाम रहेकोदावी गरेका छन्। यस घटनाका विषयमा जानकारी नभएको प्रहरी चौकी बुधवारेले जनाएको छ।
एचकेनेपाल डट कम संवाददाता-
अमेरिकको न्यूयोर्क अदालतले निवेश घोटालाको अभियोगमा ७१ वर्षीय बर्नार्ड मेडोफलाई १५० वर्षको जेल सजाय सुनाएको छ।
अमेरिकाको इतिहासमा सर्वाधिक निवेश घोटाला गरेको भन्दै अदालतले मेडोफलाई कडाभन्दा कडा सजायस्वरूप १५० वर्षको जेल सजायको फैसला गरेको हो।
जज डेनी चिनले मेडोफविरूद्ध निवेशकर्ताहरूलाई जालसाछी र कालो धनलाई सेतो बनाउने जस्ता १२ वटा आरोपहरूका आधारमा सो सजायको फैसला सुनाएका हुन्। मेडोफका अपराध असाधारण दुष्टता र रक्तहीन अपराधबाट ठूलो नोक्सानी भएको भन्दै १५० वर्ष लामो जेल सजाय सुनाएका हुन्। यसअघि, मेडोफका वकिलले उनलाई १२ वर्षको सजाय तोक्न आग्रह गरिरहेका थिए।
मेडोफले निवेशकर्ताहरूको ६५ अरब डलर हिनामिना गरेको समाचार स्रोतले जनाएको छ। अदालतले मेडोफलाई १५० वर्ष लामो जेल सजायको फैसला सुनाउंदा अदालत बाहिर रहेका पीडितहरूले ताली बजाएर फैसलाको स्वागत गरेका थिए।
एचकेनेपाल डट कम संवाददाता-
पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डपछि आफ्ना दाई वीरेन्द्र र उनको परिवारको नाममा रहेको एक करोडभन्दा बढी रुपैयाँ बेलायतको बैँकमा पठाएको रहस्य खुलेको छ। पूर्व राजपरिवारको सम्पति छानबिन गर्न गठित नेपाल ट्रष्टको कार्यालयले यो रहस्य पत्ता लगाएको हो।
सरकारले स्वर्गीय राजा वीरेन्द्र र उनको परिवारको सम्पति राष्ट्रियकरण गर्ने र जनहीतमा लगाउने घोषणा गरिसकेको छ। यसै अन्तर्गत अब ट्रष्टले सम्पति छानबिन गरिरहेको छ।
ट्रष्टका अधिकारीहरुका अनुसार सन् २००३ को मार्च १२ तारिखका दिन उनले नेपालको एउटा बैँकमा स्वर्गीय राजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको बैँकबाट १ लाख ८ हजार ८ सय ५४ पाउन्ड स्टर्लिङ बेलायतस्थित एउटा बैँकको नयाँ खातामा स्थानान्तरण गरिएको थियो। सो रकम नेपाली रुपैयाँमा परिवर्तन गर्दा १ करोडभन्दा बढी हुन आउँछ।
स्मरण रहोस्, पूर्वराजा ज्ञानेन्द्रले आफ्नो अन्तिम पत्रकार सम्मेलनमा आफ्नो सम्पत्ति विदेशमा नराखेको स्पष्टीकरण दिएका थिए।
एचकेनेपाल डट कम संवाददाता-
यमनको राजधानी समाबाट कोमोरोसको राजधानी मोरोनीतर्फ उडेको यमनिया विमान मंगलबार बिहान हिन्दमहासागरमा दुर्घटनाग्रष्त भएको छ।
चालक दलका ११ सदस्य, ६६ फ्रेन्स नागरिकसहित १४२ यात्रुहरू लिएर उडेको यमनिया एयरलाइनको विमान एयरबस-३१० गन्तव्यमा पुग्नु एक घण्टाअघि दुर्घटनाग्रष्त भएको थियो। विमानमा सवार सबैको जीवित रहने सम्भावना कम रहेको अधिकारीले बताएका छन्। दुर्घटनाग्रष्त सामुन्द्री क्षेत्रबाट केही शवहरू निकालेका छन्।
खराब मौसमबाट जुझिरहेको यमनिया विमान दुर्घटनाबारे थप जानकारी दिइएको छैन।
जुन महिनामा विमान दुर्घटना भएको यो दोश्रो पटक हो। जुन १ तारिख फ्रान्सिसी विमान अटलांटिक महासागरमा दुर्घटना हुंदा विमानमा सवार २२८ जनाको ज्यान गएको थियो।
एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा माओवादीको पोलिटव्युरोको सोमवार कोटेश्वरमा सम्पन्न बैठकले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को राजनीतिक प्रतिवेदनलाई संशोधनसहित केन्द्रीय समितिमा लाने निर्णय गरेको छ।
नेता मोहन वैद्य किरणलागयतका केही नेताहरूको फरक अभिमतका कारण प्रचण्डको राजनीतिक प्रतिवेदन संशोधनसहित केन्द्रीय समितिमा लाने निर्णय भएको हो। “शान्ति, संविधान, राष्ट्रिय स्वाभिमान, नागरिक सर्वोच्चता र राष्ट्रिय संयुक्त सरकार” भन्ने कार्यदिशा पारित गर्दै दुई सातादेखि राजधानीमा जारी बैठक टुङ्गिएको छ।
प्रतिवेदनमा माओवादीको तत्कालीन कार्यनीति, नागरिक सर्वोच्चता, शान्ति, संविधान निर्माण र राष्ट्रिय सरकारबारे उल्लेख गरिएका छन्।
बैठकपछि सञ्चारकर्मीहरूसंग बोल्दै प्रचण्डले माओवादीकै नेतृत्वमा नै तत्काल सरकार बन्ने बताए। उनले केही समयभित्र माओवादी नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुन सक्ने दावी गरे। प्रचण्डले माओवादी नेतृत्वको सरकार गठनको विकल्प नभएको बताउंदै वर्तमान सरकार कठपुतली सरकार भएकाले माओवादीले मान्यता दिन नसक्ने बताए।
प्रचण्डले राष्ट्रपतिको कदममा कुनै सहमति र सम्झौता हुन नसक्ने जिकिर गरे।
एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री माधवकुमार नेपालसमक्ष जलस्रोत विकास संस्था नेपालले जलस्रोत मन्त्रालयलाई पुनर्स्थापना गर्न ज्ञापनपत्र बुझाएको छ।
नेपाल सरकार (मन्त्रिपरिषद्) को हालैको पुनर्गठनमा जलस्रोत मन्त्रालयको मन्त्रालयलस्तरमा अस्तित्व देखिएन भन्दै संस्थाले यस कार्यबाट सदियौँदेखि महत्व पाएको र दिइएको जलस्रोत विषयलाई गौण र महत्वहीन बनाएको देख्दा जलस्रोतसम्बन्धी लेखाजोखा, अध्ययन, अनुसन्धान गर्ने संस्थालाई जलस्रोत एकीकृत व्यवस्थापन र विकासमा गम्भीर समस्या आउन लागेको बताएको छ।
नेपालको जलस्रोत एकीकृतरूपमा व्यवस्थापन र विकास गर्नुपर्ने अनिवार्यलाई मनन गरी विगतमा नेपाल सरकारले गठन गरेको जलस्रोत रणनीति, २००२ र राष्ट्रिय जलयोजना, २००५ स्वीकृत गरी कार्यान्वयनमा ल्याउने प्रयास भइरहेको अवस्था रहेको र जलस्रोतसम्बन्धी ऐन, २०४९ र सम्बन्धित नियमहरूलाई सम्बोधन तथा कार्यान्वयन गर्नुका साथै एकीकृत जलस्रोत व्यवस्थापन गर्ने, बहुउद्देश्यीय जलस्रोत आयोजनाहरूको विकास गर्ने, जलस्रोत सम्बन्धमा दुईपक्षीय, बहुपक्षीय र अन्तरराष्ट्रिय वार्ता, छलफल, सन्धि गर्नुपर्ने वास्तविकता रहेको अवस्थामा जलस्रोत मन्त्रालय रहनु अनिवार्य देखिन आउँछ- ज्ञापनपत्रमा भनिएको छ।
एचकेनेपाल डट कम संवाददाता-
नेकपा (एमाले) समर्थित लोकतान्त्रिक मधेसी सङ्गठन (लोमस) ले समग्र मधेस दुई प्रदेशको अवधारणा अगाडि सारेको छ।
लोमसको वीरगन्जमा सम्पन्न दोस्रो केन्द्रीय विस्तारित बैठकले यथार्थ र वैज्ञानिक किसिमले राज्यको पुनर्संरचना गर्दा समग्र मधेस दुई प्रदेशको अवधारणासहित मधेसमा दुई र पहाड-हिमालमा पाँच गरी देशमा जम्मा सात प्रान्त बनाउन उपयुक्त हुने निर्णय गरेको हो।
लोमसद्वारा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो। बैठक यही असार १२ र १३ गते सम्पन्न भएको हो।
सङ्गठनको राज्य पुनर्संरचनासम्बन्धी प्रतिवेदनलाई पारित गर्दै बैठकले पूर्वी तराई/मधेस, पश्चिमी तराई/मधेस, किराँत, ताम्सालिङ/सेसाङ, नेपा, तमुमगराँत र खसान सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रादेशिक, प्रान्तीय र गणराज्य हुने अवधारणा पारित गरेको छ।
ती गणराज्यका नाम र सीमामा आवश्यकताअनुसारको समान्य फेरबदल गर्न सकिने लोमसका अध्यक्ष रघुवीर महासेठले बताउनुभयो।
लोमसको वर्तमान केन्द्रीय समितिको संरचनालाई पुनर्गठन गरी ३९ सदस्यीय गर्ने निर्णय भएको छ भने हाल ३१ सदस्यीय समितिको निर्माण भएको छ।
नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र भएको मुलुक हुने भनी प्रायः सबै राजनीतिक दलले स्वीकार गरे पनि सोअनुरुपको व्यवहार प्रमुख राजनीतिक दलले देखाउन नसक्दा नै आत्मनिर्णयको अधिकारसहितको सङ्घीयतामा मुलुकलाई लान नसकिरहेको ठहर गर्दै बैठकले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र चाहिन्छ भने ती दलले सत्तालिप्साको फोहरी खेलबाट मुक्त भई नयाँ संविधान निर्माण र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनका लागि अहिलेदेखि आफ्ना कामकारबाही र व्यवहारमा पारदर्शी तरिकाले सुधार ल्याउनुपर्नेमा जोड दिएको छ।
नेकपा (एमाले) नेतृत्वले संविधान र पार्टीको अवधारणविपरीत मन्त्रिपरिषदमा मधेसी जनतालाई अपहेलित गरेको भनी आपत्ति प्रकट गर्दै बैठकले नेकपा (एमाले) को आठौँ राष्ट्रिय महाधिवेशनको भावनाअनुरुप केन्द्रीय कमिटीजस्तै पोलिटब्युरो र स्थायी समितिलाई पनि समावेशी बनाई मधेसी समुदायलाई समावेशी व्यवस्था गर्नुपर्ने माग गरेको छ।
एचकेनेपाल डट कम संवाददाता-
नेपाली काङ्ग्रेसकी आरजु देउवाले मातृभाषालाई राजनीतिक नारा बनाइए पनि अन्ततः मुलुकका लागि अङ्ग्रेजी भाषाको पनि अपरिहार्य रहेको बताउनुभयो।
नेकपा (एमाले) का लालबाबु पण्डितले एउटै भाषा र एउटै संस्कृतिको विकासले समग्र जनताको हित नहुने भएकाले सबै मातृभाषाको सम्मान गरिनुपर्ने राय दिनुभयो।
नेकपा (एमाले) का शान्ति अधिकारीले सामाजिक अधिकारका लागि भाषिक अधिकारको सुनिश्चितता प्रदान गर्नुपर्ने बताउँदै लिङ्गका आधारमा कसैमाथि पनि भेदभाव गर्न हुँदैन भन्नुभयो। उहाँले महिला आयोगलाई संवैधानिक आयोग बनाउन माग गर्नुभयो।
नेपाली काङ्ग्रेसका मोहमदी सिद्दिकीले मौलिक पहिचानका लागि सबै भाषाको आ-आफ्नै महत्व हुने भएकाले सबै भाषाको समान अधिकारको व्यवस्था संविधानमा व्यवस्था हुनुपर्ने बताउनुभयो।
एचकेनेपाल डट कम संवाददाता-
लगातार २२ पटकसम्म प्रवेशिका परीक्षा दिँदै आएका महोत्तरीका भागीरथ राय यसपालि पनि असफल भएका छन्।
महोत्तरी जिल्लाको जनता उच्चमाध्यमिक विद्यालय, मडै उग्रिपट्टीबाट एक्जाम्टेड समूहमा सहभागी राय यस वर्ष अङ्ग्रेजी, विज्ञान र लेखा विषयमा अनुत्तीर्ण भएको बताइएको छ।
मडै उग्रिपट्टी ९ रानी रतवाडा निवासी ३५ वर्षीय रायका दुई छोरा र एक छोरी छन्।
साहस र लगनशीलताले मानिस अवश्यक सफल हुन्छ भन्ने मान्यता राख्दै लगातार २२औँ पटकसम्म प्रवेशिका परीक्षामा सहभागी भएका राय आफ्नो भाग्य अझै चम्कन नसककोमा दुःखी भएका छन्।
एचकेनेपाल डट कम संवाददाता-
पृथ्वी राजमार्गको दमौली-मुग्लिन सडकखण्डमा पर्ने गोरे चौतरानजिक ट्रकको ठक्करबाट मृत्यु भएका दुइ जनाको आफन्तलाई दिइने क्षतिपूर्तिको टुङ्गो नलाग्दा पाँच दिनदेखि शव उठेको छैन।
पीडितपक्ष, ट्रकधनी, राजनीतिक दलका प्रतिनिधि, स्थानीय प्रशासन, नागरिक समाज र सञ्चारकर्मीबीच आइतबार बिहान ८ बजेदेखि राति ९ बजेसम्म भएको वार्ता क्षतिपूर्ति रकमको टुङ्गो नलाग्दा बिनानिष्कर्ष टुङ्गिएको थियो।
पीडितपक्षले क्षतिपूर्तिबापत रु. दस लाख माग गरेका र ट्रकधनीले रु. पाँच लाख भन्दा बढी नदिने अडानले वार्ता बिना निष्कर्ष टुङ्गिएको हो।
ट्रकको ठक्करबाट चितवन-शिवनगर- २ का २२ वर्षीय हेमबहादुर आले र उनका ८ वर्षीय भतिज अमितको गत बिहीबार मृत्यु भएको थियो।
मृतकद्वयको दमौली अस्पतालमा लामो समयसम्म शव राखिँदा दुर्गन्ध बढेको अस्पतालले जनाएको छ।
पीडितपक्षले उचित क्षतिपूर्ति नपाए शव नउठाउने र राजमार्ग ठप्प पार्ने चेतावनी दिएका छन्।
वार्ता आज दिउँसो पुनः बस्ने तयारी भइरहेको बताइएको छ।
एचकेनेपाल डट कम संवाददाता-
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले वर्तमान सरकारमा माओवादीलाई पनि समावेश गराएर सहमति र बृहत एकताको सरकार बनाउनुपर्ने बताउनुभएको छ।
प्रेस चौतारी नेपाल, तनहुँद्वारा आज दमौलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष खनालले वर्तमान सरकारलाई नै राष्ट्रिय सरकारको रुपमा लैजानुपर्ने धारणा व्यक्त गर्नुभयो।
दलहरुले शान्ति प्रक्रिया र नयाँ संविधान निर्माण कार्यलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।
सञ्चारमाध्यमहरुले पनि मुलुकको समस्या समाधान गर्न सहयोग पुग्ने किसिमबाट कलम चलाउनुपर्ने उहाँले बताउनुभयो।
सो कार्यक्रम प्रेस चौतारी नेपाल, तनहुँका अध्यक्ष त्रिभुवन श्रेष्ठको सभापतित्वमा भएको थियो।
एचकेनेपाल डट कम संवाददाता-
आइसियू कक्षमा उपचार गराइरहेकी अनुसा सुब्बा आइतबार रातिदेखि हराएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पताल तनावग्रष्त बनेको छ।
स्थायी घर धरान र हाल पोखरा चिप्लेढुङ्गा बस्दै आएकी सुब्बा पाँच दिनदेखि सो अस्पतालमा उपचार गराइरहेकी थिइन्। प्रेमिसंग असन्तुष्ट सुब्बाले विष सेवन गरेपछि उपचारको लागि उनलाई अस्पताल भर्ना गरिएको परिवारको भनाई छ।
सुब्बाको आफन्तले विरामी भगाएको भन्दै डा. सुवास सापकोटामाथि हातपात गरेपछि अस्पताल तनावग्रष्त बनेको हो। चिकित्सकहरूले विरामी भागेको बताउंछन् भने सुब्बाका आफन्तले चिकित्सकले विरामी भगाएको आरोप लगाएका छन्।
चिकित्सकमाथि हातपात गरेको भन्दै अस्पतालले आकस्मिक कक्षबाहेक सबै सेवाहरू बन्द गरेको छ।
हराएकी सुब्बा पछि प्राइभेट क्याविनमा भेटिएकी थिइन्।
बिल गुरूङ, दोहा, कतार/ एचकेनेपाल डट कम -
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको सचिवालयको शुक्रवार सम्पन्न बैठकले चन्द्रशेखर यादवको मुद्दामा सहयोग गर्ने निर्णय गरेको छ।
एक इन्डोनेशियाली महिलाको हत्या गरेको आरोपमा मृत्यु दण्ड सुनाईएका चन्द्रशेखर यादवलाई पुनरावेदन अदालतले पनि अघिल्लो अदालति निर्णयलाई नै सदर गरेकोले सर्वोच्च अदालतमा अपिल गर्नको लागि सहयोग गर्न नेपाली राजदूतावास दोहा कतारबाट संघलाई प्राप्त अनुरोध पत्रउपर छलफल गर्न सो बैठक बसेको थियो।
लामो समयदेखि जेल जीवन विताईरहेका आरोपी यादव सिरहा जिल्ला, बेलहा गा.वि.स. वडा नं. ७ निवासी हुन। यादवको मुद्धा सर्वोच्च अदालतमा दायर गर्दा वकालत गर्ने वकिलको सेवा शुल्क वापत बुझाउने गरी तय भएको रकम कतारी रियल २५ हजार मध्ये कतारवासी गैर आवासीय नेपालीहरुकै सहयोगमा कतारी रियल २२ हजार संकलन गरि बुझाई सकिएकोछ भने अब ३ हजार कतारी रियल बुझाउन बाँकी रहेको छ। उक्त रकम व्यहोर्न दूतावासमा श्रोतको अभाव रहेकोले सहयोगका लागि संघलाई अनुरोध गरिएको राजदूतावासको पत्रमा उल्लेख छ।
कतारस्थित नेपाली राजदूतावासले यादवको जीवन रक्षाको लागि सहयोग गर्न पत्र संख्या प.सं.ने.रा.दोहा/कनु./०६५/०६६/५०१ द्वारा गरेको उक्त मानवीय सहयोगको अनुरोधलाई बैठकले सहर्ष स्वीकृति दिएको छ। एनआरएनए-एनसीसी कतार हरेक खालको सहयोग र सेवामूलक कार्यहरुमा सदैव कतारवासी नेपालीहरु र यहाँस्थित संघसंस्थाहरुसंग हातेमालो गर्दै अगाडि बढ्न चाहन्छ। त्यसैले, यस कार्यको लागि पनि कतारवासी सबै नेपालीहरुको सहभागिता होस भन्ने हेतुले आवश्यक सहयोगको लागि संघसंस्थाहरुलाई संघको तर्फबाट पत्राचार गर्ने निर्णय गरिएको छ।
कानुनी प्रक्रिया अगाडि बढाउनका लागि आवश्यक पर्ने उक्त सहयोग रकम तत्काल उपलब्ध गराउने र संघको तर्फबाट पत्राचार गरि कतारस्थित नेपाली संघसंस्थाहरुलाई पनि विपत्तिमा परेको नेपालीको उद्धार गर्ने कार्यमा सहभागी गराउने निर्णय उक्त बैठकमा गरिएको छ।
भीम केसी कमल लिस्बन, २८ जुन
म्याग्देली समाज (मोना) पोर्चुगलको आयोजनामा लिस्बनको अल्भलादेस्थित रमणिय पार्कमा बनभोज एवं भेटघाट कार्यक्रम भब्यतापूर्वक सम्पन्न भएको छ।
मोना पोर्चुगलका अध्यक्ष पदमप्रसाद तुलाचनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ई सं २००८ को डिसेम्बरमा स्थापित म्याग्देली समाज (मोना) पोर्चुगलको संस्थाका अध्यक्ष तुलाचनले रिबन काटेर उदघाटन गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि गैर आवाशिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलका अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले शान्तिको प्रतिक मैनबत्ति प्रज्ज्वलन गर्नुका साथै आफ्नो मन्तब्य दिंदै पोर्चुगलबासी सम्पुर्ण नेपालीहरुको शुख, शान्ति, सम्बृद्धि तथा मोनाको उत्तरोत्तर प्रगतिको कामना गर्नु भयो।
बिभिन्न स्वादिष्ट नेपाली परिकारहरु तथा दोहोरी गीत, नृत्य, लोक गीतको साथमा अत्यन्त मनोरन्जनात्मक रुपमा सम्पन्न उक्त बनभोजमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका सल्लाहकार नरेन्द्र हमाल, पोर्तुगल नेपाल मैत्री संघका अध्यक्ष मकरबहादुर हमाल, नेपाल पोर्तुगल कला संस्कृति तथा साहित्य संचार परिषदका अध्यक्ष कुमार श्रेष्ठ, तमु समाजका अध्यक्ष ज्योती गुरुङ्, गणतन्त्रिक मोर्चाका अध्यक्ष रामबहादुर गौचन्, नेपाली समाजका महासचिब राजेन्द्र अधिकारि, शेर्पा समाजका पेम्बा शेर्पा लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा लिस्बनमा रहेका ब्यबसायीहरुको उत्साहजनक उपस्थिति रहेको थियो।
म्याग्देली समाजका सदस्यहरु तथा आमन्त्रित अतिथिहरु गरी १०० जना भन्दा बढीको सहभागिता रहेको उक्त बनभोज एवं भेटघाट कार्यक्रम सफल पार्न उपाध्यक्ष जीबन शाही, सचिब धन मल्ल, कोषाध्यक्ष सबिन रोका, सह-सचिब अश्बिन शाही, सदस्यहरु धर्म कंडेल, चन्द्र आले, पुर्ण बिक, खेम जुग्जालि, मिन केसी, सोम नेपाली, पार्बती नेपाली, लक्ष्मी नेपाली, मन कुमारी राम्जाली, खेल संयोजक रामप्रसाद पुन, संगीत संयोजक बिर परियार, शकबहादुर नेपाली तथा सल्लाहकारहरु मनबहादुर पुर्जा, टेकबहादुर पुन, पहलबहादुर पुन, नुलबहादुर गर्बुजा र खडगबहादुर सेनको सकृयता बिशेष उल्लेखनिय थियो। रिमझिम झरीको लुकामारी संगसंगै कार्यक्रमको अन्तमा समाजका योगेन्द्र बिकले धन्यबाद ज्ञापन तथा अध्यक्ष तुलाचनले कार्यक्रमको समापन गर्नु भएको थियो।
एचकेनेपाल डट कम संवाददाता-
विद्यार्थीका लागि फलामे ढोकाको रूपमा लिइने यस वर्षको प्रवेशिका (एसएलसी) परीक्षाको परीक्षाफल आइतवार प्रकाशित भएको छ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले प्रकाशित गरेको परीक्षाफलमा नियमित तर्फ ६८.७४ प्रतिशत र आंशिक तर्फ ४७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।
गत चैत्र महिनामा दिएको एसएलसी परीक्षा २०६५ मा २ लाख ५६ हजार ७ सय ७९ विद्यार्थी उत्तीर्ण भएका छन्। जसमध्ये नियमिततर्फ उत्तीर्ण हुनेमा २ लाख ५६ हजार ७ सय ७९ जना छन्। परीक्षा नियन्त्रण कार्यालयका अनुसार ११,३०४ डिष्टिंसन, ८७,७७२ प्रथम श्रेणी, १२,५४२१ द्वितीय श्रेणी र १०,१०५ तृतीय श्रेणीमा उतीर्ण भएका छन्।
नियमिततर्फ ३ लाख ४४ हजार १ सय ५१ तथा आंशिकतर्फ ४७ हजार ५ सय ५२ परीक्षार्थी गरी ३ लाख ९१ हजार ७ सय ३ परीक्षार्थी परीक्षामा सम्मिलित थिए। यो बर्ष गत बर्षभन्दा २४ हजार ६ सय ४७ बढि परीक्षार्थी सहभागी छन्।
परीक्षाफल हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् नियमितः आंशिकः
एचकेनेपाल डट कम संवाददाता-
विषालु जङ्गली च्याउ खाँदा पाँचथरको लुम्फाबुङ-२ का एकै परिवारका दुइ जनाको मृत्यु हुनुका साथै ६ जना सिकिस्त परेका छन्।
लुम्फाबुङ- २ का चन्द्रराज लावतीको परिवारले विषालु च्याउ खाँदा १९ वषीया नेहाकुमारी लावती र ११ वषीया नेत्रकुमारी लावतीको मृत्यु भएको हो।
दुइ दिनअघि जङ्गली च्याउ खाँदा सिकिस्त बिरामी परेपछि शनिबार उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा एक जनाको बाटोमै र अर्का एक जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो।
बिरामीमध्ये ६९ वषीय चन्द्रराज लावती र ३६ वषीया छोरी मीना लावतीको अवस्था चिन्ताजनक रहेको छ भने २६ वषीय खड्गसुन्दर लावती र उनका साढे तीन वषीया छोरी मनु लावतीको अवस्था भने केही सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।
अन्य दुइ जनाको स्थानीय उपस्वास्थ्य चौकी लुम्फाबुङमा उपचार भइरहेको स्थानीयवासीले जनाएका छन्।
एचकेनेपाल डट कम संवाददाता-
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घको आह्वानमा आजदेखि धवलागिरी अञ्चलमा गरिएको अनिश्चितकालीन यातायात बन्दका कारण जनजीवन प्रभावित भएको छ।
व्यावसायिक सुरक्षाको माग गर्दै गरिएको यातायात बन्द आहृवानका कारण म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङ जिल्लामा सञ्चालन हुँदै आएका सवारी साधन बन्द भएका छन्।
धवलागिरी अञ्चलका चारवटै जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरीका यात्रुवाहक र मालवाहक सवारी साधन बन्द हुँदा सयौँ यात्रु समस्यामा परेका छन्। मुस्ताङ भ्रमण गर्न आएका तीर्थयात्री र पर्यटक पनि बन्दको मारमा परेका बताइएको छ।
बढ्दै गएको चन्दा आतङ्क, दुर्घटनापछि गरिने सडकजाम, यातायातका साधनमाथि हुने आगजनी र तोडफोडलगायतका समस्याको विरोधमा व्यावसायिक सुरक्षाको माग गर्दै आजदेखि अनिश्चितकालका लागि यातायात बन्दको आहृवान गरिएको महासङ्घका केन्द्रीय सदस्य तथा धवलागिरी अञ्चल संयोजक सुरत केसीले बताए।
पछिल्लो पटक गत हप्ता कास्कीको हेम्जामा बसको ठककरबाट मोटरसाइकलमा सवार स्थानीय दुई युवाको मृत्यु भएपछि ठक्कर दिने धवलागिरी अञ्चल यातायात व्यवसायी समितिको एउटा बस स्थानीयवासीले आगो लगाएर जलाएका थिए।
एचकेनेपाल डट कम संवाददाता-
चार दिनअघि टीकापुरबाट अपहरित एक बालकलाई प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा भारतको निगासन भन्ने ठाउँबाट आज बिहान सकुशल मुक्त गराइएको छ।
स्थानीय गणेशबाबा इङ्लिस स्कुलमा कक्षा १ मा पढ्ने बालक शुभप्रभात रानालाई अज्ञात समूहले यही असार ११ गते अपहरण गरको थियो।
बालक अपहरणको विषयलाई लिएर टीकापुरक्षेत्र तनावग्रस्त बन्दै आएको थियो। रासस
एचकेनेपाल डट कम संवाददाता-
तनहुँको बन्दीपुर गाविस र यम्पाफाँटनजिकै बालिका अपहरण गर्न खोजेको आरोपमा स्थानीय बासिन्दाहरुले हिजो साँझ पाँच भारतीय नागरिकलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन्।
भारतको वाइपुर जिल्ला ग्राम कुद बस्ने २८ वषीय रच्यित कुमार सेठ्ठी, कस्ट्रोल बस्ने ३२ वषीय अशोक यादव, ३२ वषीय सुरेन्द्रकुमार पाण्डे, ३२ वषीय चन्द्रशेखर वर्मा र ४० वषीय रमेश कुमारलाई गाउँलेहरुले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा बुझाएका छन्।
एचकेनेपाल डट कम संवाददाता-
परराष्ट्रमन्त्री सुजाता कोइरालाले एकीकृत माओवादी अब छिट्टै सरकारमा सहभागी हुने जिकिर गरेकी छन्।
आज बिहान चितवनमा आयोजित पत्रकार भेटघाटमा मन्त्री कोइरालाले सहमति र सहकार्यको विकल्प नभएकोले माओवादीलाई सरकारमा आउन आग्रह गरिन्।
“माओवादीलाई सरकारमा सहभागी गराउन गिरिजाबाबुले पहल गरिराख्नुभएको छ, आशा छ माओवादी छिट्टै सरकारमा आउने छ” - कोइरालाले भनिन्।
मन्त्री कोइरालाले नेपाल-भारत सीमा विवाद दुई देशको आपसी सहमतिमा छिट्टै समाधान हुनेसमेत बताएकी छन्। उनले सीमा विवाद समाधानका लागि गृहकार्य भइरहेको बताइन्।
आफू अहिले सीमाका सम्बन्धमा गहिरो अध्ययनमा लागेको र अध्ययनपछि मात्रै थप कुरा बोल्नेसमेत बताइन्।
एचकेनेपाल डट कम संवाददाता-
महाकाली नदीले बगाउंदा दार्चुलाका ३ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेहरूमा दार्चुला उकु गाविसका नारायणबहादुर चन्द, नरबहादुर चन्द र मोहनसिंह ठगुन्ना रहेका छन्।
प्रहरीका अनुसार महाकाली नदी तर्न खोज्दा आइतवार विहान उनीहरू बेपत्ता भएका हुन्। बेपत्ता तीनैजनाको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ।
हुम तमु, पोखरा / एचकेनेपाल डट कम-
नेकपा एमालेका पोलिटव्युरो सदस्य पृथ्वीसुब्बा गुरुङले एक हतियार एक सेनाको अर्न्तराष्ट्रिय मान्यता अनुसार प्रधानमन्त्री माधवकुमार नेपालले पाँच हजार माओवादी लडाकुको नेपाली सेनामा समायोजन गर्न सकिने बताउनु भएको खुलासा गर्नु भएको छ।
नेपाल लोकतान्त्रिक आदिवासी जानजाति महासंघका केन्द्रीय अध्यक्षसमेत रहनु भएका गुरुङले पोखरामा नेपाल लोकतान्त्रिक तमु संघ कास्कीकोद्धारा आयोजित स्वर्गीय मदन भण्डारीको ५८ औं जन्मजयन्तीको सर्न्दर्भमा आदिवासी जनजाति र मदन भण्डारी विषयेक गोष्ठीमा प्रधानमन्त्री नेपालको भनाईको पुष्टि गर्नु भएको हो। उहाँले अनमिनले प्रमाणिकरण गरेको माओवादी लडाकुलाई काँग्रेसले मान्दैनौं भन्न नहुने बताउनु हुदै हतियारको संख्या भन्दा वढी रहेको लडाकुलाई राष्ट्रिय सुरक्षा बलमा व्यवस्थापन गरिनु पर्ने बताउनु भयो।
नेता गुरुङले नयाँ संविधान निर्माणका लागि एकीकृत माओवादीको एकदलिय मानसिकता अवरोध बन्न सक्ने आशंका गर्नुभयो। उहाँले नेकपा एमाले सामाजिक सद्भाव स्थापना सहित नयाँ नेपाल निर्माणका लागि पहल गरिरहे पनि माओवादीले एकपछि अर्को अवधारणा परिवर्तन गर्दै आएको आरोप लगाउनु भयो। उहाँले मदन भण्डारीले अगाडि सारेको जनताको बहुदलिय जनवादबाटै जनआन्दोलन, मुलुक लोकतान्त्रिकरण, स्वायत्तता लगायत स्थानीय समुदाय र आदिवासी जनजातिको अधिकारका अवधारणाहरुले मुर्तता पाउन थालेको दावी गर्नु भयो।
कार्यक्रममा एमालेका केन्द्रिय सदस्य तथा नेपाल लोकतान्त्रिक तमु संघका सल्लाहकार तुलबहादुर गुरुङले माओवादीले सरकार रहदा पनि सरकार छाड्दा पनि इमान्दारी नवनेको आरोप लगाउनु भयो। उहाँले पोखराको विरौटामा रहेको मदन भण्डारी चोक लाई सामाजिक संस्थाले तमु धिं नेपालले तमु हृयुला चोक बनाएर राजनितिक षडयन्त्रमा फसेको बताउनु हुदै संवादको आधारमा विवाद टुग्याउनु पर्ने बताउनु भयो।
नेपाल लोकतान्त्रिक तमु संघका कास्की अध्यक्ष टेकबहादुर गुरुङको अध्यक्षतामा भएको गोष्ठीमा एमाले कास्कीका कार्यवाहक सचिव पुण्य पौडेल, लोकतान्त्रिक तमु संघका महासचिव बेदबहादुर गुरुङ, कोषाध्यक्ष गजकुमारी गुरुङ, लालकाजी गुरुङ, सुरेन्द्र गुरुङ, रामहरी गुरुङ, बैन बहादुर गुरुङलगायतले मदन भण्डारीको योगदानको चर्चा गर्दै तमु हृयुला चोक नामाकरण फिर्ता लिन तमु धिं सँग आग्रह गर्नु भयो।