Archive for July, 2009

बाढी पहिरोले ९ जनाको मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
अविरल वर्षासंगै विहीबार राति आएको पहिरोमा परी तनहुँ, स्याङजा र दैलेखमा ९ जनाको मृत्यु भएको छ। पहिरोले घर बगाउंदा ६० परिवार विस्थापित भएका छन्।

पहिरोमा परेर मृत्यु हुनेहरूमा स्याङजा चित्रे भन्ज्याङ ५ स्थित माथिल्लो हटियाका एकै घरका ८४ वर्षीय तिलकनारायण मानन्धर, ७० वर्षीया भुवानी मानन्धर र ३२ वर्षीया जौमाया मानन्धर रहेका छन्। त्यसैगरी, सोही घटनामा ७० वर्षीया टीकामाया मानन्धर र ५ वर्षीय मीलन मानन्धरको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा अन्य ४ जना घाइते भएका छन्।

तनहुँको किहु गाविस वडा न.१ स्थित बबिता रसाइलीको घर पहिरोले पुर्दा उनीसहित उनका दुई छोरीहरु आरती र अमृताको मृत्यु भएको छ।

दैलेखमा रानीबन गाविस-६ का गोपाल शाहीको मृत्यु भएको छ। पहिरोले गोठसंगै उनी पुरिएको प्रहरीले जनाएको छ।

Recent Videos:

Popularity: 9%

Add comment July 31st, 2009

आजदेखि विद्यालय खुल्ने

एचकेनेपाल डट कम संवाददाता-
सरकारले विगतमा भएका सहमतिका आधारमा वार्ता गर्न तयार भएपछि आन्दोलनरत शिक्षक भोलिदेखि विद्यालय खोलेर वार्ता गर्न तयार भएपछि दुई दिनदेखि बन्द विद्यालय आजदेखि खुल्ने भएका छन् ।

विगतमा शिक्षा मन्त्रालयले गरेका सहमतिको कार्यान्वयनको माग राखी शैक्षिक गणतान्त्रिक मञ्चले यही साउन १४,१५ र १६ गते देशभरका निजी तथा सामुदायिक शैक्षिक संस्था बन्दको आह्वान गरेको थियो।

निजी विद्यालयमा कार्यरत शिक्षकको तलब सरकारीसरह बनाउनुपर्ने, विद्यालयलाई कम्पनी ऐनअन्तर्गत दर्ता गर्नुपर्ने प्रावधान खारेज गर्नुपर्ने, सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण अस्थायी शिक्षकलाई स्थायी बनाउनुपर्नेलगायतका माग राखी मञ्चले आन्दोलन गरेको थियो।

यी मागका बारेमा सरकारले विगतमा केही शैक्षिक सङ्गठनसँग सहमति कायम गरेको थियो।

Recent Videos:

Popularity: 9%

Add comment July 31st, 2009

रिसको आवेगमा श्रीमतीको हत्या

एचकेनेपाल डट कम संवाददाता-
बर्दियाको ढोढरी वडा नं. ९ का ३५ वर्षीय रामबहादुर पुलामीले गएराति आफ्नी श्रीमतीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन्।

बत्तीस वर्षीया श्रीमती बेलमतिलाई रामबहादुर पुलामीले रिसको आवेगमा धारिलो हतियारले हानी हत्या गरेको ढोढरी इलाका प्रहरी कार्यालयले जनाएको छ ।

अभियुक्तलाई पक्राउ गरी अहिले इप्रका ढोढरीमा राखिएको छ।

Popularity: 9%

Add comment July 31st, 2009

काठमाडौं उपत्यकाको फोहोर उठ्ने

एचकेनेपाल डट कम संवाददाता-
सरकार र सिसडोलस्थित ल्यान्डफिल्ड साइट स्थानीय स्घर्ष समितिबीच हिजो भएको वार्तापछि काठमाडौं उपत्यकाको फोहोर उठ्ने भएको छ।

स्थानीय विकास मन्त्रालयमा दुवै पक्षबीच भएको वार्तामा स्थानीय सङ्घर्ष समितिले राखेका माग सम्बोधन गर्ने सहमति भएपछि एक हप्तादेखि काठमाडौँका सडक गल्लीमा थुप्रिएका फोहोर उठ्ने भएको हो।

फोहोरमैला अधिकार सम्पन्न समिति गठन गर्ने, ल्यान्डफिल्ड साइटको सीमाङ्कन गर्ने, ओखरपौवाको सेउलिनीबाट गल्छीसम्मको मोटर बाटो निर्माण गर्न पाँच सदस्यीय समिति गठन गर्ने सहमति भएको छ।

यसैगरी सो क्षेत्रमा स्रोतसाधनसम्पन्न स्वास्थ्यचौकी स्थापना गर्ने, विद्यालयमा शिक्षक दरबन्दीको व्यावस्था गर्ने, रोजगारीको व्यावस्था गर्ने, अन्तर्राष्ट्रिय मापदण्डबमोजिमको फोहोर व्यावस्थापन गर्न पहल गरिने सहमति पनि भएको छ।

Popularity: 9%

Add comment July 31st, 2009

उपराष्ट्रपतिले राजिनामा दिनु राम्रो-उपेन्द्र यादव

एचकेनेपाल डट कम संवाददाता-
मधेसी जनअधिकार फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपति परमानन्द झाले दोहोर्‍याएर नेपाली भाषामा शपथ लिनुभन्दा पदबाट राजिनामा दिएर देश र जनताका पक्षमा उभिनु राम्रो हुने बताएका छन्।

मधेसी जनअधिकार फोरम सलहेश क्षेत्रका कार्यकर्तालाई प्रशिक्षण दिन लहान पुगेका अध्यक्ष यादवले सञ्चारकर्मीसंग कुरा गर्दै सर्वोच्च अदालतले सरकारको निर्देशनमा उपराष्ट्रपति झाविरुद्ध जुन निर्णय गर्‍यो त्यो मधेसविरुद्ध भएको आरोप लगाए।

वर्तमान सरकारले तराईमा रहेका सशस्त्र समूहसँग वार्ता नगरिकन जुनप्रकारले दमन नीति अपनाएको छ त्यसले शान्तिप्रक्रियालाई प्रभाव पार्ने भन्दै यादवले सरकारले दमन नीति त्यागी ती समूहलाई वार्तामा बोलाउनु पर्ने बताए।

वर्तमान सरकारले ल्याएको नयाँ सुरक्षा नीतिप्रति आफ्नो दृष्टिकोण राख्दै अध्यक्ष यादवले सरकारले ल्याएको नयाँ सुरक्षा नीति जनताको सुरक्षा र हितका लागि हो भने यो राम्रो काम हो, तर यदि त्यो मधेसविरोधी नीति हो भने त्यसको घोर विरोध गर्दछु भने।

Popularity: 9%

1 comment July 31st, 2009

स्व. पवन सार्कीको परिवारलाई सहयोग

एचकेनेपाल डट कम संवाददाता-
गत महिना ह्रदयघात भई असामायिक निधन भएका पवन सार्कीको परिवारलाई नेपाली जनप्रगतीशिल मचं, बेल्जियमले सहयोग रकम हस्तान्तरण गरेको छ।

लामो समयदेखि बेल्जियममा बसोवास गर्दै आएका पवन सार्कीको निधनप्रति गहिरो शोक ब्यक्त गर्दै मचंले स्व. पवन सार्कीको परीवारलाई सहयोग स्वरुप ८ सय ७० यूरो प्रदान गरेको छ। बेल्जियमको ब्रुगे शहरमा नेपाली जनसाँस्कृतिक संघको कार्यक्रममा मचंका केन्द्रीय अध्यक्ष बिष्णु भुजेलले स्व. पवन सार्की सहयोग समितिका संयोजक काजी नेपालीलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्। मचंका महासचिव दधीराज घिमिरेले नेपाली जनप्रगतीशिल मचं, बेल्जियम नेपालको राजनैतिक सर्घष र यहाँको स्थानीय समस्यालाई संगसगै लैजाने दुइ मुख्य काम भएको बिषयमा चर्चा गरेका थिए।

Popularity: 9%

Add comment July 31st, 2009

पुष्पलालको सम्मानमा रक्तदान

एचकेनेपाल डट कम संवाददाता-
क. पुष्पलाल ३१औं स्मृति दिवसको अवसरमा ६० जनाले रक्तदान गरेक छन्। नेपाल कम्युनिष्ट पार्टी (संयुक्त मार्क्सवादी) समारोह समितिको आयोजनमा नबज्योति कलेज बासुकीनगर कोटेश्वरको प्राङ्गणमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो।

कार्यक्रम आयोजक समितिको तर्फबाट नेकपा (संयुक्त मार्क्सवादी) का महासचिव क. लोकनारायण सुवेदीले क. पुष्पलालको तस्वीरमा फूल तथा अबीर अर्पणकासाथ संक्षिप्त सम्वोधन गर्दै रक्तदान आफैमा एउटा पुण्य काम रहेको बताए। त्यसमा पनि क. पुष्पलाल जस्ता देश र जनताका अबिष्मरणीय इतिहास पुरुष, सिद्धान्तनिष्ठ नेता तथा जनताको मुक्तिको निमित्त सम्पूर्णरूपले समर्पित ब्यक्तित्वको सम्मानमा रक्तदान गर्नु झनै ठूलो महत्वको कार्य हो उनले भने। क. पुष्पलालले देखाउनु भएको संयुक्त जन आन्दोलनको क्रान्तिकारी मूल बाटोमा साच्चै नै दृढ संकल्प, प्रष्ट राजनीतिक इच्छाशक्ति र साहसकासाथ अग्रसर हुने हो भने अहिले देशमा देखापरको घोर अनिश्चितता, अन्यौल र अराजकताको अन्त्य हुन्छ र संघीय गणतान्त्रिक लोकतन्त्र नेपाल सबल र संस्थागत गर्न सकिने सुवेदीको भनाई थियो।

नेकपा (संयुक्त मार्क्सवादी)का केन्द्रिय सचिवालय सदस्य तथा नेपाल प्रगतिशील महिला फेडरेशनकी अध्यक्ष क. सीता सुवेदीले रक्तदान गेर शुरु भएको रक्तदान कार्यक्रममा क. बिक्रान्त सुवेदी, क. मोहन श्रेष्ठ, क. सुमन कटुवाल, क. भुवन कटुवाल, रेणुप्रसाद कँडेल, इन्द्रलोचना चौधरी, थिरु थापा, हरि भट्ट, उदयकुमार तिवारी, चन्द्रबिनोद भटर्राई, क.राजेन्द्र बिक्रम मल्ल ठकुरी, श्रीमती लीला मल्ल ठकुरी, हिमालय बिक्रम मल्ल, दुर्गाप्रसाद बञ्जारा,श्रीमती गंगा थापा, झनिन्द्र खतिवडा, दयालक्ष्मी महर्जन, सन्तोष ओझा, अनुजा सिंह, महेश्वर सत्याल, छबिन्द्र पोखरेल, दिलबहादुर कार्की, दिनेश कार्की, अजय खतिवडा, अंकित ढकाल, हरिसिंह बिष्ट, सेवक केसी, अरबिन्द कुमार यादव, अमरसिंह चौधरी, बिमला सिलवाल, राजनकुमार श्रेष्ठ, बिष्णु खरेल, सन्देश राई, गौतम शाक्य, अमोल काफ्ले, रामप्रसाद बडाल, किशोर पन्त, निकेश सुवेदी, भोलानाथ भूजेल, श्रीमती अग्नेश भूजेल, बिक्रम लामा, सरला शर्मा, तिलक माझी, गोबिन्द चौधरी, गणेश बस्नेत, श्रीमती सविता हुमागाई, सन्तोष रोकाय, अमिन दर्नाल, श्रीमती शान्ता लावती, सुश्री र्सर्मिला पन्थी, सुश्री चञ्चला काफ्ले, बिष्णुकुमार राना, सुश्री टीका नेम्बाङ्ग, ऋषिकेश माझी, श्रीमती मुना आचार्य, डम्बर बहादुर खत्री र निर्मलकुमार श्रेष्ठलगायत ६० जनाले उत्साहकासाथ रक्तदान गरेका थिए।

आयोजक समितिको तर्फबाट रक्तदान गर्ने सबैलाई नेकपा (संयुक्त मार्क्सवादी) राष्ट्रिय परिषदका सदस्य तथा नेपाल प्रगतिशील बिद्यार्थी फेडरेशनका महासचिव क. दमन कटुवालले हार्दिक धन्यवाद दिदै क.पुष्पलालप्रतिको यो सम्मान आउदा बर्षरुमा निरन्तर जारी राख्ने देश तथा जनताको सेवामा लाग्ने उत्साहलाई अझ जगाउनु पर्ने कुरा ब्यक्त गरेका थिए।

Popularity: 9%

Add comment July 31st, 2009

प्रचण्डको प्रतिवेदन र माओवादी विधान संशोधनसहित पारित

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठकले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को राजनीतिक प्रतिवेदन र विधान संशोधन सहित पारित गरेको छ।

माओवादी पार्टी कार्यालय कोटेश्वरमा विहीबार बसेको बैठकले लामो छलफलपछि प्रचण्डको राजनीतिक प्रतिवेदन र विधान संशोधनसहित पारित गरेको हो।

विधान संशोधन भएपछि माओवादी अध्यक्षात्मक प्रणालीबाट बहुपदीय संरचनामा गएको छ। अध्यक्षमा प्रचण्ड, उपाध्यक्षमा मोहन वैद्य, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ, महासचिवमा रामबहादुर थापा, सचिवमा पोष्टबहादुर बोगटी र सीपी गजुरेल चयन भएका छन्।

अध्यक्ष प्रचण्डको प्रतिवेदनमा नयाँ संविधान र शान्ति प्रकृयालाई केन्द्रमा राखेर राष्ट्रिय संयुक्त सरकार गठन गर्ने उल्लेख गरिएको छ। मोहन वैद्य पक्षधरका केही सदस्यहरूले प्रतिवेदनमा जनविद्रोहलाई नसमेटेको भन्दै असन्तुष्टी पोखेका थिए। प्रचण्डले जन विद्रोहको विकल्प बाँकी रहेको जनाएपछि सहमति भएको बताइन्छ।

Popularity: 9%

Add comment July 30th, 2009

पोखरामा वाईसीएलको आक्रमण

एचकेनेपाल डट कम संवाददाता-
माओवादीको भातृसंगठन वाईसीएलको आक्रमणबाट राप्रपा नेपाल कास्कीका जिल्लास्तरीय नेताहरू घाइते भएका छन्। पोखरास्थित चिप्लेढुंगामा हस्ताक्षर संकलन गरिरहेका राप्रपा नेपालका नेता तथा कार्यकर्ताहरूमाथि वाईसीएल कार्यकर्ताहरूले विहीवार विहान आक्रमण गरेका हुन्।

वाईसीएलको आक्रमणमा राप्रपा नेपालका जिल्ला अध्यक्ष देवीजंग गुरुङ गंभीर घाइते भएका छन्। टाउको, निधार र हातमा चोट लागेका गुरूङको स्थानीय मोडेल अस्पतालमा उपचार भैरहेको छ। जिल्ला इकाईका अध्यक्ष लालबहादुर मल्ल पनि आक्रमणमा घाइते भएका छन्। मल्लको निधारमा ६ वटा टाँका लगाएको छ। त्यसै गरी, वाईसीएलको आक्रमणमा जिल्ला कार्यकर्ता दण्डीराज आचार्य, अमिर मिया, रामबहादुर तामाङ र सकुरण मिया घाइते भएका छन्।

राप्रपा नेपालले नेपाललाई हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था र संघीयताका लागि हस्ताक्षर संकलन गरिरहेको बेला घरेलु हतियारसहित आएका वाईसीएल कार्यकर्ताहरूले एक्कासी उनीहरूमाथि आक्रमण गरेका थिए।

घटनालाई नियन्त्रण गर्न प्रहरीले हस्तक्षेप गरेपछि वाईसीएल कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो। झडपमा वाईसीएल जिल्ला अध्यक्ष सुशील देवकोटा घाइते भएका छन्। प्रहरीतर्फ चार जना घाइते भएका छन्।

घटनापछि वाईसीएलका कार्यकर्ताहरूले बजार बन्द गराउंदै यातायातमा अवरोध पुर्र्याएका थिए।

Popularity: 9%

14 comments July 30th, 2009

कटवाल राजदूत बन्दै छन्

एचकेनेपाल डट कम संवाददाता-
भदौ २५ गतेदेखि अवकाश पाउन लागेका प्रधानसेनापति रुक्मांगद कटवालको नाम फ्रान्सको लागि राजदूतमा प्रस्तावित गरिएको स्रोतले जनाएको छ।

परराष्ट्र मन्त्रालयले तयार पारेको राजदूतको सूचीमा कटवालसहित योजना आयोगका पूर्वउपाध्यक्ष शंकर शर्मा, पूर्वराजदूत सुरेश चालिसे र रुक्मशमशेर राणालगायत छन्। कटुवाल फ्रान्स, शर्मा वासिङ्टन, चालिशे बेलायत र राणालाई भारतको राजदूतमा प्रस्तावित गरिएको स्रोतले जनाएको छ। दक्षिण अफ्रिका र ब्राजिलमा खोल्न लागिएको दूतावासमा गोपालबहादुर थापा वा दिव्यमणि राजभण्डारी र परराष्ट्र सहसचिव प्रद्युम्नविक्रम शाह र कुबेतका लागि मधुवन पौडेलको नाम प्रस्तावित गरिएको छ।

त्यस्तै गरी, न्युयोर्कस्थित राष्ट्रसंघीय नियोगका लागि परराष्ट्रसचिव ज्ञानचन्द्र आचार्यलाई र सहसचिव अरुण धिताललाई इजिप्ट पठाउने तयारी भैरहेको छ।

परराष्ट्र मन्त्रालयले तयार पारेको राजदूतको सूची मन्त्रीपरिषदको निर्णयले अन्तिम टुङ्गो लगाउने छ। परराष्ट्र मन्त्रायले पठाएको नाममा मन्त्रीपरिषदले हेरफेर पनि गर्न सकिने छ।

Popularity: 9%

7 comments July 30th, 2009

गच्छदारद्वारा नयाँ पार्टी दर्ता

एचकेनेपाल डट कम संवाददाता-
मधेसी जनअधिकार फोरमबाट अलग्गिएका विजयकुमार गच्छदार समूहले नयाँ पार्टी दर्ता गरेको छ।

गच्छदार समूहले निर्वाचन आयोगमा ‘मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)’ नयाँ नाम राखी पार्टी दर्ता गरेको छ।

फोरम संसदीय दलका नेतासमेत रहेका गच्छदार र फोरमका अध्यक्ष उपेन्द्र यादव संस्थापनबीच सरकारमा जाने विषयमा विवाद हुंदा मधेसी जनअधिकार फोरम टुक्रिएको थियो। निर्वाचन आयोगले यादवको समूहलाई अधिकारिता प्रदान गरेपछि गच्छदार समूहले नयाँ पार्टी दर्ता गराएका हुन्।

Popularity: 9%

Add comment July 30th, 2009

राजदूत थापामाथि लगाइएको आरोप झुट

रमेश बेलबासे/ एचकेनेपाल डट कम-
केही दिन अगाडि बिभिन्न अनलाईन मिडियाहरुमा संयुक्त अरब एमिरेट्सका लागि नेपाली राजदूत अर्जुनबहादुर थापालाई संकेत गरी राजदूत नै मेनपावर धन्दामा सक्रिय भन्ने सनसनीपूर्ण समाचारले सबैलाई आश्चर्यमा पारेको थियो।

राजदूत थापालाई नजिकबाट चिन्नेहरु कसैले पनि यो समाचार पत्याउन सकिरहेका थिएनन। कसैले ब्यक्तिगत चरित्र हत्या गर्नकै लागि यस्तो गरेको हुनुपर्छ भन्ने सबैको ठम्माइ थियो। नभन्दै त्यही नै साबित भयो। काल्पनिक र कपोकल्पित तरिकाले चरित्र हत्या गर्न बनाईएको झुटो समाचार सत्यताको अगाडि धेरै दिन टिक्न सकेन।

उक्त भ्रामक समाचार तयारीको लागि चोरीको लेटरहेड र किर्ते हस्ताक्षर प्रयोग गरिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र यसका सभापति बालचन्द्र पोखरेललगायत समाचारमा उल्लेख गरिएका अन्य संघ संस्था, स्थानीय बुद्धिजीबी, पत्रकार, बिभिन्न सामुदायिक संघ संस्थाका प्रतिनिधिसहित स्वयम राजदूत थापाको बिशेष सक्रियतामा अनुसन्धान गर्दै जाँदा यो सत्य तथ्य पत्ता लागेको जनाइएकोछ।

समाचारमा नाम उल्लेख गरिएका बिभिन्न संघ संस्थाहरुको तर्फबाट नेपाली समाजका अध्यक्ष यमप्रसाद तमु, नेपाली आदिबासी जनजाति महसंघका अध्यक्ष छत्रबहादुर लामा, नेपाल पत्रकार महासंघका महासचिब जयप्रसाद सापकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका सभापति बालचन्द्र पोखरेल, गैरआबासीय नेपाली संघ राष्ट्रिय परिषद अध्यक्ष चुडामणी ढकालले अनुसन्धान र प्रमाणित पछि एक संयुक्त प्रेस बक्तब्य निकालि सत्य तथ्य सार्वजनिक गरिएकोछ। उक्त बक्तब्यमा महामहिम थापाको बारेमा बिभिन्न मिडियाहरुमा प्रकाशन भएको समाचारप्रति सम्बन्धित संस्थारुको गम्भीर ध्यानाकर्षण भएको जनाइएकोछ।

बक्तब्यमा उल्लेख गरिए अनुसार उक्त समाचारबारे खोजी र अनुसन्धान गर्दा सोही दूताबासमा पियन पदमा कार्यरत जयराम अधिकारीले राजदुत थापासँग प्रतिशोधको भाबना राखी राजदूतको छबि धमिल्लाउने तथा निजलाई बदनाम गराउने उद्धेश्यले अभिप्रेरित भएको कुरा दूताबासमै भेला भएका सम्बन्धित संस्था, बुद्धिजीबी र उपस्थित महानुभाबकै अगाडि स्वीकार गरेकाछन।

राजदूत्र थापामाथि लगाइएका बिभिन्न आरोपहरुको बिषयमा यी संस्थाहरुबाट बिगतमा कुनै प्रकारको संयुक्त बिज्ञप्ति जारी नगरिएको तथा निजलाई लगाएका आरोपहरुको सम्बन्धमा हालसम्म कुनै प्रकारका आधारहरु नपाईएकाले यो समाचार तथा विवरणप्रति संयुक्त रुपमा खण्डन गर्छौं भनी प्रेस बक्तब्यमा उल्लेख गरिएकोछ।

बक्तब्यमा अगाडि भनिएकोछ निज समाचार प्रेषकले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको लेटर प्याड चोरि गरी उक्त सस्थाको सभापतिको नामबाट किर्ते ईमेल ठेगानासमेत तयार गरी हस्ताक्षर समेत गरी बिभिन्न ठाउमा समाचारहरु सम्प्रेषण गरिएको निजको ईमेलबाट थाहा भएको सन्दर्भमा हामी सम्बन्धित अन्लाईनहरुलाई समेत सो समाचार खण्डनको लागि आग्रह गरिएकोछ। बक्तब्यको अन्त्यमा भबिष्यमा कसैको ब्यक्तिगत चरित्र हत्या गर्ने आसयका यस्ता समाचारहरु प्रकाशन गर्नु पूर्व सम्बन्धित संस्थाको ईमेल वा ब्यक्तिमार्फत सत्य तथ्य बुझेर मात्र प्रकाशन गर्नु हुन समेत सम्बन्धित मिडिया र प्रकाशकहरुलाई आग्रह गरिएकोछ।

Popularity: 9%

Add comment July 29th, 2009

पचास हजारविरुद्ध ज्ञापन पत्र

एचकेनेपाल डट कम संवाददाता-
नवलपरासीका एकल महिलाहरूले विभिन्न पाँच सूत्रीय मागसहितको एक ज्ञापनपत्र अर्थमन्त्रीलाई पठाएका छन्।

एकल महिलाहरूले नवलपरासीका निमित्त प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालमार्फत सो ज्ञापनपत्र अर्थमन्त्रीसमक्ष बुझाएका हुन् ।

ज्ञापनपत्रमा एकल महिलाका छोराछोरीलाई उच्च शिक्षासम्म निःशुल्क अध्ययनको व्यवस्था, एकल महिलालाई योग्यताअनुसार रोजगारीको व्यवस्था, रासनकार्डको व्यवस्था हुनुपर्नेलगायतका माग राखिएको छ।

एक महिला समूह, नवलपरासीकी अध्यक्ष सीता श्रेष्ठको नेतृत्वमा जिल्ला प्रशासन कार्यालमा बुझाइएको ज्ञापनपत्रमा एकल महिलालाई प्रदान गरिने मासिक भत्तामा उमेरको हदबन्दी लगाउन नहुने र यातायातमा समेत सहुलियत दिनुपर्नेलगायतका माग समावेश गरिएको छ।

एकल महिलाहरूले नेपाल सरकारले हालै ल्याएको बजेटमा एकल महिलासँग विवाह गर्ने व्यक्तिलाई दिने भनिएको ५० हजार रूपैयाँको निर्णय तत्काल बदर गर्न माग राख्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए।

Popularity: 9%

Add comment July 29th, 2009

मह अब कमिक्समा पनि

एचकेनेपाल डट कम संवाददाता-
सामाजिक विकृतिलाई हास्यव्यङ्ग्यमार्फत् प्रस्तुत गरी सामाजिक चेतना फैलाउन अग्रसर मह जोडीलाई राखेर मह कमिक्स प्रकाशित गरिएको छ।

नेपाली बजारमा नेपालीद्वारा रचित उक्त कमिक्सलाई प्रथम मानिएको छ।

सुरेश किरण मानन्धरद्वारा लिखित तथा अविन श्रेष्ठद्वारा चित्रण गरिएको उक्त कमिक्सको मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले संयुक्त रूपमा विमोचन गरेका थिए।

Popularity: 9%

1 comment July 29th, 2009

एमाले महासचिव अर्जेन्टिना प्रस्थान

एचकेनेपाल डट कम संवाददाता-
नेकपा एमालेका महासचिव इश्वर पोखरेल एसिया र दक्षिण अमेरिकी राष्ट्रको राजनीतिक दलका नेताहरूको सङ्गठन इक्याप र कोप्पालको संयुक्त आयोजनामा अर्जेन्टिनाको राजधानी ब्युनसआयर्समा यही साउन १५ र १६ गते हुने सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकाछन्।

एसियाली १२ राष्ट्रका २५ तथा दक्षिणी अमेरिकी १२ राष्ट्रका ३० नेता सहभागी हुने सो सम्मेलनमा महासचिव पोखरेलले ‘आर्थिक तथा सामाजिक विकास, देश तथा क्षेत्रको विकास र बहुपक्षीय सम्बन्धका बारेमा दलहरूको भूमिका’ विषयक तीनवटा विभिन्न गोष्ठीमा नेपालको धारणा प्रस्तुत गर्नेछन्।

विश्व आर्थिक मन्दीले विकासोन्मुख देशमा पारिरहेको प्रभाव र त्यसको समाधानका उपायका बारेमा समेत छलफल केन्द्रित हुनेछ।

Popularity: 9%

Add comment July 29th, 2009

चारमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

एचकेनेपाल डट कम संवाददाता-
शिक्षामन्त्री रामचन्द्र कुशवाहासँग पर्सा जिल्लाको बैरिया विर्ता वडा नं. ४, ५ र ६ मा चार बिघा नौ कठ्ठा सात धुर जग्गा र घडेरी, श्रीमतीको नाममा साढे सात धुर जग्गामा दुइ तले घर, २२ बोर राइफल एक थान, २० तोला सुनको गहना र वीरगन्ज वाणिज्य बैङ्कमा रु ६८ हजार रहेको छ।

उहाँको महालक्ष्मी फाइनान्स आदर्शनगर वीरगन्जमा सेयर छ भने वीरगन्ज कृषि विकास बैङ्कबाट उपचारका लागि रु. दुइ लाख ५७ हजार ऋण लिनुभएको छ।

त्यस्तै युवा तथा खेलकुदमन्त्री गणेश तिवारीसँग पर्साको पतैली गाविस महोत्तरीमा आफ्नो नाममा एक बिघा खेतीयोग्य जमिन, श्रीमती दानादेवीको नाममा सोही ठाउँमा दुइ बिघा खेतीयोग्य जमिन र छ कठ्ठा घडेरी, श्रीमतीकै नाममा जलेश्वर नगरपालिका वडा नं. ५ मा एक कठ्ठा घडेरी रहेको छ।

उहाँसँग सिक्री, औँठी, बालालगायत ३१ तोला सुन र आधा केजी चाँदीका गरगहना र आफ्नै नाममा राष्ट्रिय वाणिज्य बैङ्क, जलेश्वर शाखामा रु. एक लाख ५० हजार रहेको छ।

यसैगरी उद्योगमन्त्री महेन्द्रप्रसाद यादवसँग र्सलाही जिल्लाको मलङ्गवा नगरपालिका वसन्तपुर गाविसमा १५ बिघा जमिन, पाँच तोला सुन र केही चाँदी रहेको छ।

उहाँको नाममा वाणिज्य बैङ्क, काठमाडौँमा रु. ३० हजार र श्रीमती ममताको नाममा राष्ट्रिय वाणिज्य बैङ्क, मलङ्गवामा रु. ११ लाख र नेपाल बैङ्कमा रु. ५० हजार रहेको छ भने उहाँले यति फाइनान्स हेटौँडाबाट मोटरसाइकल खरिदका लागि रु. ५० हजार ऋण लिनुभएको छ।

यस्तै,कानुन तथा न्यायमन्त्री प्रेमबहादुर सिंहसँग कालिकोट जिल्लाको ओदानकु-४, मान्मा-५, काठमाडौँ जिल्लाको थानकोट-९ र कीर्तिपुर नगरपालिका मच्छेगाउँमा केही जग्गा, कालिकोटको ओदानकुमै स्याउ बगैँचा र घर, २५ तोला सुन र पाँचसय तोला चाँदी, २० तोला मुगा, पाँच थान सिपी र रु. चार लाख रहेको छ।

उहाँको आफ्नै नाममा सेन्ट्रल फाइनान्स लिमिटेड ललितपुरमा रु. पाँच लाख, इन्भेस्टमेन्ट बैङ्क पुतलीसडकमा रु. एक लाख र एभरेस्ट बैङ्क सिंहदरबारमा रु. छ लाख बैङ्क ब्यालेन्स छ भने उहाँले घर कर्जाका लागि सेन्ट्रल फाइनान्स लिमिटेड, ललितपुरबाट रु. १९ लाख ऋण लिनुभएको छ।

Popularity: 9%

Add comment July 29th, 2009

उपराष्ट्रपति झाविरुद्ध रिट

एचकेनेपाल डट कम संवाददाता-
सर्वोच्च अदालतको फैसलाविपरीत उपराष्ट्रपति परमानन्द झाले पदभार ग्रहण गर्न नहुने जिकिर गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ।

काठमाडौँ महानगरपालिका वडा नं. १५ निवासी कृष्णप्रसाद बास्तोला र नवराज न्यौपानेले उपराष्ट्रपति झाले हिन्दी भाषामा लिएको सपथ असंवैधानिक भएको भनी सर्वोच्च अदालतले आदेश जारी गरिसक्दा पनि पुनः सपथ नलिई पदमा बहाल रहिरहनु नहुने भएकाले अधिकारपृच्छाको आदेश जारी गर्न माग गर्दै सो रिट दायर गरेका हुन्।

उपराष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि हिन्दी भाषामा लिएको सपथ प्रधानन्यायाधीश मीनबहादुर रायमाझी र न्यायाधीश बलराम के.सी.को संयुक्त इजलासले गत शुक्रबार बदर गरिदिएको थियो।

सो रिटमा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र संविधानसभालाई विपक्षी बनाइएको छ।

Popularity: 9%

7 comments July 29th, 2009

भाषणमा हैन घरदैलोमा सुरक्षा दिने

एचकेनेपाल डट कम संवाददाता-
गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले सरकारले किताब र भाषणमा होइन जनताको घरदैलोमा पुगेर शान्तिसुरक्षाको प्रत्याभूति दिने बताएकाछन्।

प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ गण्डकी अञ्चलस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई बुधवार सम्बोधन गर्दै राज्यमन्त्री अन्सारीले सरकारले ल्याउन लागेको सुरक्षा नीतिलाई सफल बनाउन युवा शक्ति सङ्गठित भएर लाग्नुपर्नेमा जोड दिए।

राज्यमन्त्री अन्सारीले जातीय मुक्तिको नाममा समाजमा आतङ्क फैलाई मुलुकलाई बिखण्डन गर्न खोज्नेलाई सरकारले कडा कारबाही गर्ने चेतावनी दिए।

कार्यक्रमको अध्यक्षता सङ्घका अञ्चल इन्चार्ज राजीव पहारीले गरेका थिए।

Popularity: 9%

1 comment July 29th, 2009

प्रधानमन्त्रीको संबोधनको पूर्ण विवरण

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री माधवकुमार नेपालले रक्षामन्त्री विद्या भण्डारीको भारत भ्रमणको उद्धेश्य हतियार भित्र्याउन नभएको स्पष्ट पारेका छन्। प्रधानमन्त्री नेपालले मंगलवार संसदमा संबोधन गर्दै सरकार शान्ति सम्झौताप्रति पूर्ण प्रतिवद्ध रहेको बताएका छन्।

प्रधानमन्त्री माधवकुमार नेपालको संबोधनको पूर्ण विवरणः
सरकारका तर्फबाट भारतसँग हातहतियार खरीद गर्नेबारे कुनै कार्य सूची नरहेको र कुनै निर्णय नभएको जानकारी दिन चाहन्छु.

गत केही समयदेखि मध्यपश्चिमाञ्चल जिल्लाका पहाडी जिल्ला हुँदै वरपर फैलिएको झाडापखाला र हैजा, त्यसबाट १८८ जनाले ज्यान गुमाउनु परेको दुःखद अवस्था, त्यसको रोकथामको लागि सरकारले चालेका कदम र भावी योजना, माननीय रक्षा मन्त्रीको भारत भ्रमण सम्बन्धी विषयमा एकीकृत नेकपा(माओवादी) लगायत विभिन्न दलका सांसदहरुले उठाएका कुरा र हालै घटेको रौतहट घटनाका बारेमा यस सम्मानित सदनलाई जानकारी गराउने उद्देश्यले म यहाँ उपस्थित भएको छु।
२०६६ वैशाख २२ देखि जाजरकोट जिल्लाका केही गाउँमा झाडा पखालाको प्रकोप देखिएपछि जिल्ला तथा क्षेत्रीय स्वास्थ्य कार्यालयबाट औषधी सहितको टोली खटाई उपचार गरिएको थियो । वैशाख ३१ गते केन्द्रबाट थप औषधि तथा चिकित्सक सहितको टोली खटिएर रोगीको उपचार गर्नुका साथै रोगको कारण पत्ता लगाउन दिसा र पानीको नमूना संकलन गरी केन्द्रमा पठाइएको थियो । परीक्षणबाट पानीको नमूनामा अत्यधिक मात्रामा कोलिर्फम भेटिएको थियो ।

२०६६ असारको दोस्रो हप्तादेखि जाजरकोटमा फेरि देखा परेको प्रकोप नियन्त्रण गर्न आवश्यक पर्ने औषधी सहित असार २१ सम्ममा २० जना स्वास्थ्यकर्मीहरुको टोली खटिएको थियो ।असार २३ गते चिकित्सक र थप औषधि लिई स्वास्थ्य तथा जनसंख्या मन्त्री र सम्बन्धित जिल्लाका सभासद्लगायतको टोलीले स्थलगत निरीक्षण गरेको थियो ।

छिमेकी जिल्ला रुकुममा पनि झाडावन्ताको प्रकोप देखिएपछि असार २८ गते मेरो अध्यक्षतामा बसेको उच्च स्तरीय बैठकबाट जाजरकोट तथा रुकुम जिल्लामा फैलिएको झाडा पखालाको प्रकोप नियन्त्रण गर्न युद्ध स्तरमा कार्य गर्ने निर्णय र निर्देशन भयो। तत्पश्चात् नेपाली सेनाको हेलिकप्टर र हवाईजहाजबाट १६० जना चिकित्सक र स्वास्थ्यकर्मी तथा औषधि जाजरकोट तथा रुकुम तर्फ पठाइएको थियो । यसका लागि नेपाली सेना, सशस्त्र एवं जनपद प्रहरी, रेडक्रस, उद्योग वाणिज्य संघहरु, नेपाल चिकित्सक संघ लगायत सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवको संयोजकत्वमा उच्चस्तरीय समन्वय समितिको गठन भई समन्वयात्मक रुपमा कार्य अघि बढाईएको थियो । तत्पश्चात तीन जना प्रथम श्रेणीका चिकित्सकको संयुक्त टोलीको नेतृत्वमा औषधोपचार कार्य अघि बढाइएको छ।

साउन २ गते माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीको अध्यक्षतामा स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री, स्वास्थ्य तथा जनसंख्या सचिव, गृह मन्त्रालय, अर्थ मन्त्रालय, आवास तथा भौतिक योजना मन्त्रालय, संचार मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बरिष्ठ अधिकारीहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस, तथा स्वास्थ्य संग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरुको बैठक बोलाई झाडापखालाको प्रकोप नियन्त्रणमा आ-आफ्नो क्षेत्रबाट गर्न सकिने सहयोगको वारेमा विस्तृत छलफल भएको थियो। साउन ५ गते म लगायत स्वास्थ्य तथा जनसंख्या मन्त्रीको उच्च स्तरीय टोलीले प्रकोप प्रभावित जाजरकोट जिल्ला अन्तर्गत खगेनकोट गा.वि.स. को दली र सदरमुकाम खलङ्गामा तथा रुकुम जिल्ला अन्तर्गत आठबीसकोट गा.वि.स. र सदरमुकाम मुसिकोटमा प्रकोप नियन्त्रण कार्यको अनुगमन गरेको थियो । साथै प्रकोपको सूचना समयमै पाउने उद्देश्यले आठ थान सीडीएमए मोबाइल फोन पनि प्रदान गरिएको थियो।

साउन ६ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको दिसाको ७ वटा नमूनामध्ये जाजरकोटका ३ वटा नमूनामा हैजाको जिवाणु र बाँकी नमूनामा अरु प्रकारका जिवाणु फेला परेका थिए ।

सभामुख महोदय,
हालको अवस्था यस प्रकार छः
बढी प्रभावित जिल्लाः २ वटा -(जाजरकोट र रुकुम)
केही प्रभावित जिल्लाः ११ वटा -डोल्पा, डडेल्धुरा, रोल्पा, सुर्खेत, दैलेख, अछाम, सल्यान, डोटी, कन्चनपुर, प्युठान, बाजुरा
जम्मा शिविर : ७४ वटा
जम्मा चिकित्सक संलग्नः ३३, स्वास्थ्यकर्मीः ३१९ गरी ३५२ जना।
जम्मा उपचार गरिएकोः विरामी संख्या २२४१५, मृत्यु भएकोःसंख्या १८८ -हालसम्म
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल चिकित्सक संघ, नेपाल रेडक्रस लगायत २२ संघसंस्था प्रकोप नियन्त्रणमा क्रियाशील रहेका छन् । हालसम्म करीब रु. १ करोड ७० लाख बराबरको औषधि केन्द्र तथा क्षेत्रबाट पठाइ सकिएको छ।
सभामुख महोदय,
o प्रकोप व्यवस्थापनका लागि सवै क्षेत्रको प्रतिनिधित्व हुने गरी प्रकोप नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा व्यवस्थापन समिति गठन गरिएको छ
o माइकिङ्ग गरेर एवं रेडियो नेपाल र स्थानीय एफ एम हरुद्वारा स्वास्थ्य सम्वन्धी जनचेतना अभिवृध्दि कार्य भैरहेको छ
o क्लोरिनद्वारा खानेपानी शुद्विकरण गर्ने कार्य भैरहेको छ
o जिल्लाका सवै गा.वि.स.हरुमा स्वास्थ्य संस्था प्रमुखको अध्यक्षतामा प्रकोप व्यवस्थापन समन्वय समिति गठन गरिएको छ

प्रकोप नियन्त्रणका लागि देहायका चुनौतीहरु रहेका छन्
o छरिएको बस्ती सम्म पहुँचमा समस्या
o भौगोलिक विकटता र यातायातमा कठिनाईका कारण विरामीलाई समयमै स्वास्थ्यचौकी वा शिविरसम्म पुर्याउन कठिनाई
o संचारमा कठिनाई
o व्यक्तिगत र वातावरणीय सरसफाईमा कमी
o जनचेतना तथा शिक्षाको कमी
o प्रदूषित पानी
o खुला रुपमा दिसा पिसाब गर्ने प्रचलन
o खाद्यान्न अभाव तथा कुपोषण
लामो खडेरीका कारण खानेपानीका मुहान सुक्न गै पानीको प्रदूषण, जनचेतनाको कमी, कुपोषण जस्ता कारणबाट प्रकोप विस्तार भैरहेकोले उपचारका लागि सरकारले तत्कालिन प्याकेज लैजाने तयारी गरिरहेको छ।प्रकोप पीडित प्रत्येक मृतकका परिवारलाई तत्कालका लागि रु.१०,०००। र परिवारको मूलीको मृत्यु भएको अवस्थामा थप रु.५,०००। प्रदान गर्ने निर्णय गरिएको छ। अवस्था अनुसार थप सहयोग गर्दैजाने सरकारको सोचाई रहेको छ। साथै अभिभावक गुमाएका बालबालिकाका लागि भरणपोषण र शिक्षाको व्यवस्था गर्न सरकारले आवश्यक कदम चाल्ने छ। सरकारले दीर्घकालमा घरघरमा शौचालय र जनचेतनामूलक कार्यक्रम एवं स्वास्थ्य शिक्षाका अतिरिक्त पोषणयुक्त खाद्य आपूर्तिका माध्यमबाट यस प्रकारका प्रकोप नियन्त्रण गर्न सकिने ठानेको छ । तत्कालका लागि रोगको प्रकोप नियन्त्रण गर्न सरकारले आफ्नो तर्फबाट कुनै कसर बाँकी राVने छैन भन्ने विश्वास दिलाउन चाहन्छु । यसमा विभिन्न राजनीतिक दल, संघसंस्था र माननीय सभासदहरुको तर्फबाट सरकारले सहयोगको अपेक्षा गरेको छ । रोगको प्रकोप नियन्त्रण कार्यको अनुगमनमा योगदान पुर्याई माननीयज्यूहरुबाट सरकारलाई उपलब्ध गराईने सत्यतथ्य एवं रचनात्मक सुझावलाई ग्रहण गरी अघि बढ्न सरकार तत्पर छ । साथै बिरामीलाई स्वास्थ्य चौकी वा शिविर सम्म ल्याउने व्यवस्था र जनचेतना बढाउने कार्यमा राजनीतिक दलको ठूलो योगदान हुनसक्ने हुँदा म यस सम्मानित सदन मार्फत सबैको सहयोगको लागि आव्हान गर्दछु ।
अहिलेसम्म भएका कामहरुको समीक्षा गरी सरकारले उपचार सेवालाई अझ व्यापक पार्न, उपचार र राहतका लागि थप एकीकृत प्याकेज बनाउन र त्यस्तो प्याकेजको योजनालाई कार्यान्वयन गर्ने विशेष संयन्त्र बनाउने तयारी गरिरहेको छ। उक्त प्याकेज अन्तर्गत प्रत्येक गाविसमा थप औषधी लगायत राहतका सामान पुर्‍याउने, पानीका श्रोतहरुलाई प्रदुषण रहित बनाउने, खाद्यान्न अभाव भएका ठाउँमा खाद्यान्न उपलब्ध गराउने र उपचार कार्यक्रमलाई अघि बढाउन घुम्ती टोलीहरुको व्यवस्था गर्ने समेतका योजनालाई आवश्यकता अनुरुप समावेश गरिनेछ।
सभामुख महोदय,
रक्षामन्त्री माननीय विद्यादेवी भण्डारीको भारत भ्रमणको विषयमा पनि कुरा उठेको छ।भारतीय रक्षा मन्त्रीको निमन्त्रणामा माननीय विद्यादेवी भण्डारीले २०६६।०४।०५ देखि २०६६।०४।११ सम्म भारतको औपचारिक भ्रमण गर्नु भएको हो। भ्रमणका क्रममा उहाँले आफ्ना समकक्षी भारतीय रक्षामन्त्रीसँग द्विपक्षीय हितका मामलामा वार्ता गर्नु भएको र भारतका विदेश मन्त्री र विपक्षी दल भारतीय जनता पार्टीका नेता श्री लालकृष्ण आडवानीसँग पनि भेटवार्ता गर्नुभएको थियो ।हाल उहाँ भारतमा आफ्नो स्वास्थ्योपचार गराउँदै हुनुहुन्छ र उपचार पश्चात नेपाल फर्कदै हुनुहुन्छ । सरकारका तर्फबाट भारतसँग हातहतियार खरीद गर्नेबारे कुनै कार्य सूची नरहेको र कुनै निर्णय नभएको व्यहोरा सभामुख मार्फत यस सम्मानित संसदलाई जानकारी गराउँदछु ।त्यसैगरी सरकार विगतमा भएको विस्तृत शान्ति सम्झौताप्रति पूर्णत: प्रतिबध्द छ भन्ने पनि यस सम्मानित सदनलाई जानकारी दिन चाहन्छु।
सभामुख महोदय,
अब म रौतहटमा यही १० गते घटेको घटनाको बारेमा जानकारी गराउन चाहन्छु।
रौतहट जिल्ला रमौली वैरिया बस्ने वाइसीएलका केन्दि्रय सदस्य हिमाल भन्ने लक्ष्मण राय यादवलाई मिति २०६६।४।१० गते बा.६प ६४१६ नं.को मोटरसाइकलमा विश्रामपुर गा.वि.स. आफ्नो घर तर्फ आउँदै गर्दा तराई मुक्ति मोर्चाका केन्द्रिय सदस्य अरुण यादव भन्ने सुरेन्द्र मुखिया वीनको नेतृत्वमा गएको टोलीले चाँदी खोला नजिक गोली हानी हत्या गरेको भन्ने जानकारी प्राप्त भएको छ ।
उक्त घटनाको विषयलाई लिएर मिति २०६६।४।११ गते जिल्ला स्थित राजनीतिक पार्टीका प्रतिनिधिहरु, प्रहरी र प्रशासनका प्रमुख तथा प्रतिनिधिहरु, मृतकका आफन्तहरु,पत्रकार,मानव अधिकारवादी तथा स्थानीय व्यक्तिहरुको उपस्थितिमा एउटा बैठक सम्पन्न भएको थियो।बैठकमा उठेका कुराहरु अनुरुप अपराधीको खोजी कार्य तदारुकताकासाथ भैरहेको छ र दोषीलाई कानून बमोजिम कारवाई गर्न सरकार कटिबध्द छ।मृतकका परिवारलाई क्षतिपूर्ति दिने सम्बन्धमा पहिलेदेखिनै कार्यान्वयनमा ल्याईएको क्षतिपूर्तिसम्बन्धी निर्देशिका बमोजिम गरिने व्यहोरा पनि यस सम्मानित सदनलाई अवगत गराउन चाहन्छु। त्यस्तै मृतकलाई शहीद घोषणा गर्ने सम्बन्धमा पनि आवश्यक छानबीन पछि प्रक्रिया पुर्‍याएर शहीद घोषणा गरिने छ र मृतकको हत्यामा संलग्नलाई पक्राउ गरी कार्वाही गर्न प्रहरी प्रशासनलाई आवश्यक निर्देशन दिइसकिएको छ।
त्यस्तै सम्माननीय उप-राष्ट्रपतिको सपथ सम्बन्धी विषयमा सहमतिबाट एउटा उपयुक्त निकास खोज्नु पर्दछ भन्ने मेरो धारणा छ।
धन्यवाद ।

Popularity: 9%

2 comments July 28th, 2009

प्रधानमन्त्रीको संबोधनपछि अवरूद्ध संसद सुचारू

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री माधवकुमार नेपालको संबोधनपछि अवरूद्ध संसद मंगलवारदेखि सुचारू भएको छ। माओवादीलगायत अन्य केही दलका सभासदहरूले भारतबाट शान्ति सम्झौताविपरित हतियार भित्र्याउन लागेको भन्दै तीन दिनदेखि सदन अवरूद्ध गर्दै आइरहेका थिए।

हतियार ल्याउने या नल्याउने भन्ने सम्बन्धमा प्रधानमन्त्री नेपालले संसदमा स्पष्ट पार्नुपर्ने माओवादीको अडानपछि प्रधानमन्त्री नेपालले मंगलबार सम्बोधन गरेका हुन्।

प्रधानमन्त्री नेपालले रक्षामन्त्री विद्या भण्डारीको भारत भ्रमणको उद्धेश्य हतियार ल्याउन नभएको स्पष्ट पारे। भारतबाट हतियार ल्याउने भनिएको कुरा झुट भएको प्रधानमन्त्री नेपालले बताए। प्रधानमन्त्री नेपालले संबोधनका क्रममा स्पष्ट पार्दै सरकार शान्ति सम्झौताप्रति पूर्ण प्रतिवद्ध रहेको बताए।

प्रधानमन्त्री नेपालको संबोधनपछि तीनदेखि अवरूद्ध सदन सुचारू भएको छ।

Popularity: 9%

Add comment July 28th, 2009

मुलुकभरका विद्यालयहरू ठप्प

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा माओवादी निकट गणतान्त्रिक शैक्षिक मञ्चले बुधवारदेखि तीन दिनसम्मका लागि मुलुकभरका निजी तथा सार्वजनिक विद्यालयहरू बन्द गराएको छ।

मञ्चले अस्थायी र करारमा नियुक्त भएका शिक्षकहरूलाई स्थायी गरिनु पर्ने, निजी विद्यालयमा कार्यरत शिक्षकको तलब सरकारी सरह बनाउनुपर्ने र विद्यालयलाई कम्पनी ऐन अन्तर्गत दर्ता गर्नुपर्ने प्रावधान खारेजीलगायतका माग राख्दै उच्च माध्यमिक विद्यालय र सबै संस्थागत विद्यालयहरु बन्द गरेको हो।

विगतमा शिक्षा मन्त्रालयसंग भएको सहमति कार्यान्वयनका लागि दबाव सिर्जना गर्न मञ्चले बुधवारदेखि तीन दिनसम्म मुलुकभरका विद्यालय गर्न आह्वान गरेको छ। बन्दको पहिलो दिन विद्यालयहरू ठप्प भएपछि मुलुकभरका ६५ लाख विद्यार्थी पढाईबाट बञ्चित भएका छन्।

Popularity: 9%

6 comments July 28th, 2009

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

एचकेनेपाल डट कम संवाददाता-
अवरिल वर्षाले पहिरो गएपछि सिद्धार्थ राजमार्ग सोमबार साँझदेखि अवरूद्ध भएको छ।

बुटवल तानसेन सडक खण्डका तल्लो शिद्धबाबामा ठूलो पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ। गत वर्ष नियन्त्रण गर्न नसकेको पहिरोमा अहिलेको भारी बर्षासंगै ठूलो पहिरो खस्दा यसले थप समस्या निम्त्याएको हो।

पहिरो नियन्त्रण गर्न नसक्दा बुटवलबाट पोखरा र पाल्पालगायतका गन्तव्यमा आवातजावत गर्न नसकेपछि यात्रुहरू बुटवल र दोभानमा रोकिन वाध्य भएका छन्। वर्षा रोकिपछि दुबैतर्फबाट डोजार लगाएर बाटो खोल्ने तयारी भैरहेको प्रहरीले जनाएको छ।

Popularity: 9%

Add comment July 28th, 2009

अमेरिकामा भुटानी शरणार्थीको गोली हानी हत्या

एचकेनेपाल डट कम संवाददाता-
झापा बेलडाँगीबाट अमेरिका पुगेका एक भुटानी शरणार्थीको आइतवार राति अज्ञात समूहले गोली हानी हत्या गरेको छ।

फ्लोरिडास्थित ज्याक्सन भिल्लेमा बस्दै आएका हरिलाल अधिकारीलाई उनको निवासअगाडि अज्ञात समूहले गोली हानि हत्या गरिएको हो। झापा बेलडाँगी-२ स्थित भुटानी शरणार्थी शिविरका अधिकारी शरणार्थी पुनःस्थापना अन्तर्गत अमेरिका पुगेका थिए।

Popularity: 9%

1 comment July 28th, 2009

माइक्रोबस दुर्घटनामा ४ को मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
म्याग्दीको अर्थुङ्गे गाविसको डम्बरामा सोमबार दिउसो माइक्रोबस दुर्घटना हुंदा ४ जनाको मृत्यु भएको छ भने २३ जना यात्रु घाइते भएका छन्।

दुर्घटनामा मृत्यु हुनेहरूमा बसका चालक बरङ्जा गाविस- ४ का खड्कबहादुर थापा, सिंङ्गा गाविसका हिरावहादुर केसी, कुँहु गाविस- ७ की हीरादेवी पाईजा र कैलालीका विरबहादुर पुन रहेका छन्। चारैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु भएका केसी राष्ट्रिय जनमोर्चा म्याग्दीका उपाध्याक्ष हुन्। घाइतेमध्ये १९ जनालाई पोखरा ल्याएको छ भने चार जना जिल्ला अस्पतालमा उपचारको लागि लगिएको छ।

सदरमुकाम बेनीबजारबाट पश्चिम दरवाङ्ग बजारतर्फ जाँदै गरेको ना ३ ख ४३७९ नम्बरको बस अर्थुङ्गे गाविसको डम्बरा सडकबाट करीव डेढ सय फिट तल म्याग्दी नदीको किनारमा खसेको थियो।

Popularity: 9%

Add comment July 27th, 2009

आयोग सचिवालयमा आगलागी

सुविन श्रेष्ठ, ललितपुर/ एचकेनेपाल डट कम-
ललितपुरको हरिहर भवनस्थित स्थानीय विकास मन्त्रालयभित्रको विक्तिय आयोग सचिवालयमा आगलागी भएको छ। ग्याँस सिलिण्डर लिक भएर आगलागी भएको हो।

लगभग २०० मिटरको हाराहारीमा रहेको जुद्ध वारुणयन्त्रले तत्कालै आगलागी नियन्त्रणमा लिएको थियो। जुद्ध वारुणयन्त्र ललितपुरका अनुसार आगलागीले सामान्य क्षति भएको छ। आगलागीले सचिवालयको कोठाका कुर्सीहरु र गलैचा जलेको वारुणयन्त्रका बिष्णु कार्कीले बताएका छन्।

Popularity: 9%

Add comment July 27th, 2009

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

July 2009
M T W T F S S
« Jun   Aug »
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Posts by Month

Posts by Category

More news....