Archive for August, 2009

नेपाली जनसंपर्क समिती नेदरल्यान्डसको बिस्तार

दिनेश खरेल, नेदरल्यान्डस/ एचकेनेपाल डट कम -
नेपाली जनसंपर्क समिति नेदरल्यान्डसका अध्यक्ष नारायणप्रसाद आचार्यले समितिको बिधान बमोजिम समितिको बिस्तार गर्नुभएको छ।

त्यसैगरी, अध्यक्ष आचार्यले निम्नानुसार कार्य बिभाजन गर्नुभएकोछ। जस अनुसार अध्यक्ष नारायणप्रसाद आचार्य, उपाध्यक्षहरु जीवन बराल, पदमबहादुर क्षेत्री, श्रीराम कंडेल, कृष्णराज अधिकारी, महासचिव थानेश्वर गौतम, सह-सचिब दीपक रेग्मी, कोषाध्यक्ष ठाकुरप्रसाद शर्मा र सदस्यहरुमा दिनेश रिजाल, हिराबहादुर भण्डारी, प्रयागराज खनाल, उतम कंडेल, कर्मा गुरुङ, दिनेश खरेल, प्रबिण बनिया, दीपक पोखरेल, अगन्धर उपाध्याय, रबी बास्तोला, बसन्त पौडेल, राजु हमाल, साबी रिजाल, रत्ना सापकोटा, भिमबहादुर रोका, बिष्णु बास्तोला, कमल शाही, नवरत्न सङ्ग्रौला, सन्तोष लिम्बू, कृष्ण पराजुली, हरीबहादुर कार्की, अरुण घिमिरे रहनु भएकोछ। साथै समितिको प्रवक्तामा श्रीराम कंडेल र प्रचार बिभागमा दिनेश खरेललाई नियुक्त गरिएको छ।

जनसम्पर्क समितिको विभिन्न बिभाग तथा क्षेत्रीय समितिको छिटो भन्दा छिटो बिस्तार र सल्लाहकार समितिको गठन समेत गरिने जानकारी गराउदै सम्पूर्ण नेदरल्यान्डबासी नेपाली दाजुभाइ, दिदिबहिनीहरु तथा बिभिन्न संघ सस्थाहरुप्रति सहयोग र समर्थनको आशा राख्दै आगामी दिनहरुमा समितिले बिविध प्रकारका कार्यक्रमहरुको आयोजना गर्ने जानकारीसमेत अध्यक्ष आचार्यले गर्नुभएको छ।

Recent Videos:

Popularity: 8%

Add comment August 31st, 2009

आवश्यक परे माओवादीले तुरुन्तै जनसरकार बनाउने

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी)का केन्द्रीय सदस्य धर्मचन्द्र लावतीले आवश्यकता परे भोलि नै जनसरकार घोषणा गरी जनअदालत खडा गरेर आफ्नो पार्टीले आम जनतालाई उचित न्यायको अनुभूति दिलाउने बताएका छन्।

विस्तृत शान्ति सम्झौतामा समानान्तर सरकारका गतिविधि सञ्चालन गर्न नपाइने उल्लेख छ।

ताप्लेजुङमा एक साताअघि अज्ञात समूहद्वारा हत्या गरिएका माओवादी कार्यकर्ता लगमध्वज लिम्बूको श्रद्धाञ्जलि सभामा लावतीले वर्तमान सरकारले जनतालाई न्याय दिननसकेकाले माओवादीले यसो गर्न लागेको दाबी गरे।

अर्का केन्द्रीय सदस्य टङ्क आङबुहाङले नागरिक सर्वोच्चतालाई लत्याएर सैनिक सर्वोच्चताका पक्षमा लाग्ने दलहरू जनताबाट टाढिने बताए।

गत सोमबार बेलुकी अज्ञात समूहको गोली प्रहारबाट माओवादीको इलाका कमिटी सदस्य लिम्बुको हत्या भएको थियो।

Recent Videos:

Popularity: 9%

10 comments August 31st, 2009

झाडापखालाबाट हुम्लामा ११ जनाको मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
मध्य तथा सुदूरपश्चिमाञ्चलमा महामारीका रुपमा फैलिएको झाडापखालाबाट हुम्लामा अहिलेसम्म एघार जनाको मृत्यु भएको छ।

मृत्यु हुने सबै सदरमुकाम सिमिकोटबाट करिब ४४ कोष टाढा रहेको कालिका गाविस रहेका छन्।

समयमै उपचार सेवा पुर्‍याउन नसक्दा मृत्यु हुनेको सङ्ख्या बढेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. प्रकाशप्रसाद शाहको भनाई छ।

रोग प्रभावित गाविसमा औषधि र स्वास्थ्यकर्मीका टोली पुगि उपरचार सुरु गरिसकेकाले झाडापखाला नियन्त्रणमा आउन थालेको डा. साहले जानकारी दिएका छन्।

Popularity: 9%

Add comment August 31st, 2009

दृष्टिविहिन नेपाली कोरियातर्फ

एचकेनेपाल डट कम संवाददाता-
भक्तपुर सिरुटार गाविस-५ की १९ वर्षीया दृष्टिबिहीन सृष्टी केसी नेपालको प्रतिनिधित्व गर्दै कोरिया गएकी छिन्।

यही भदौ १५ देखि २० गतेसम्म कोरियामा एसियाका १४ वटा देशको सहभागिता हुने दसौँ एसिया प्यासाफिक सङ्गित महोत्सवमा भाग लिन केसी नेपालको प्रतिनिधित्व गर्दै कोरिया गएकी हुन्।

प्रमाणपत्र तहसम्म अध्ययन गरेकी केसी जागृति समाज नेपालको सहयोगमा कोरिया गएकी हुन्। कक्षा आठमा पढ्दै गर्दा जलबिन्दु लागि उनले आँखाको ज्योति गुमाएकी थिइन्। कोरियामा हुने महोत्सवमा नृत्य, गीत र कविता प्रस्तुत गर्ने केसीले बताइन्।

Popularity: 8%

Add comment August 31st, 2009

झा विधिसम्मत उपराष्ट्रपति रहेनन्

एचकेनेपाल डट कम संवाददाता-
नेपाल बार एसोसिएसनका अध्यक्ष विश्वकान्त मैनालीले आजदेखि परमानन्द झा नेपाली जनताको विधिसम्मत उपराष्ट्रपति नहुने बताएका छन्।

हिजो आयोजित साक्षात्कार कार्यक्रममा मैनालीले झा संसदले निर्वाचित गरेको उपराष्ट्रपतिमात्र भएको दावी गरे।

उपराष्ट्रपतिका कानुनी सल्लाहकार हिक्मत सिंहले उपराष्ट्रपतिले केही गल्ती गर्नु भएकै छैन भन्दै अदालतको फैसला पूर्वाग्रही भएको र फैसलाको सम्मान गरी त्यसमा विमति राख्न मिल्ने बताए।

कानुनविद् शेरबहादुर केसीले यस्तै घटना मनमोहन अधिकारीका पालामा पनि भएको थियो भन्दै त्यसबेला अधिकारीले अस्पतालबाटै आफ्नो गल्ती स्वीकार गर्नुभएको बताए। केसीले उपराष्ट्रपति झाले सपथ नलिए सम्पूर्ण सुविधा खोसिनु पर्ने बताए।

कानुनविद् राधेश्याम अधिकारीले सबै भाषालाई कामकाजमा प्रयोग गर्न सम्भव छैन भन्दै अदालतको फैसलाको सम्मान गर्दैमा झाको गरिमा नघट्ने बताए।

सभासद् एकराज भण्डारीले यस्तो राजनीतिक विषयमा फैसला गर्न अदालतको हैसियत नभएको दावी गरे।

अधिवक्ता कुमुद भट्टराईले उपराष्ट्रपतिले अदालतको फैसला मान्नैपर्छ भन्दै नमानेमा पदमुक्त हुने जिकिर गरे।

Popularity: 8%

4 comments August 31st, 2009

माओवादीले प्रमुख शहरमा आमसभा गर्ने

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी) सम्बद्ध संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपालले यही भदौ २१ देखि २९ गतेसम्म देशका प्रमुख शहरमा केन्द्रीयसभा गर्ने भएको छ।

संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपालका कार्यालय सचिव फणीन्द्र देवकोटाका अनुसार प्रथम राष्ट्रिय भेलाद्वारा पारित शान्ति प्रक्रिया, राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित ४५ बुँदे माग आम जनतामा पुर्‍याउन काठमाडौँ, विराटनगर, गाइघाट, जनकपुर, सुर्खेत, हेटौँडा, बाग्लुङ, बुटवल, घोराही पोखरा, फिदिम, जुम्ला, नेपालगन्ज, दिपायल, धनगढी, बिर्तामोड र रोल्पामा हुने सभामा पार्टी अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेताहरूले सम्बोधन हुने जनाइएको छ।

Popularity: 8%

Add comment August 31st, 2009

राईबाट थर परिवर्तन गदै धमाधम लिम्बू

राजेश राई, धनकुटा/ एचकेनेपाल डट कम-
संखुवासभाकाका राईहरुले आफू लिम्बू भएको भन्दै धमाधम थर परिर्वतन गर्न थालेका छन्। पहिले लिम्वूनै भएको र १८३१ ताका तत्कालिन सरकारले राम्रो काम गर्नेलाई दिएको पदवीका आधारमा लिम्वू थर परिवर्तन हुँदै राई भएका दाबी गदै थर परिर्वतन गर्न थालेका हुन्।

यसका लागि यही शुक्रबारदेखि परिवर्तनका लागि नागरिकता वितरण गर्ने टोलि संखुवासभाको बाह्रविसे पुगेर काम सुरु गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र सिग्देलको नेतृत्वमा गाविस सचिवहरु सहितको टोलि स्थलगत नागरिकता वितरणका लागि बाह्रविसे गएको हो। जिल्लाको सभापोखरी गाविसका दुई सय ५० राई थरका स्थानीय बासिन्दालाई नागरिकता वितरण गर्दै लिम्वू बनाउने तयारी गरिए अनुरुप नागरिकता वितरणका लागि टोली बाह्रविसे गएको हो।

थर परिवर्तनका लागि नागरिकता वितरण गर्ने टोलीले आज संखुवासभाको सभापोखरीमा नागरिकता वितरण गरेको छ। स्थानीय ९० वर्षीय केशप्रसाद राईले राई थर त्याग गरि लिम्बू थरमा नागरिकता लिएर कार्यक्रमको सुभारम्भ गरे।

जिल्लाको सभापोखरी गाविसका दुई सय ५० राई थरका स्थानीय बासिन्दालाई नागरिकता वितरण गर्दै लिम्वू बनाउने तयारी गरिए अनुरुप नागरिकता वितरणका लागि टोली बाह्रविसे गएको हो। टोलीले आज र भोलि नागरिकता वितरण गरिंदै सभापोखरी गाविसका ४ वटा वडाका स्थानीय बासिन्दालाई राईबाट लिम्वू बनाईने टोलीका संयोजक तथा संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र सिग्देलले बताए।

स्थानीय बासिन्दा पहिले लिम्वूनै भएको र १८३१ ताका तत्कालिन सरकारले राम्रो काम गर्नेलाई दिएको पदवीका आधारमा लिम्वु थर परिवर्तन हुँदै राई भएको स्थानीय बासिन्दाले बताएका छन्। पाएको पदवीका आधारमा आफ्नो थरनै परिवतर्न भएको तथा अहिलेसम्म सच्याउने प्रयास कतैबाट नभएपछि आफ्नो जातिय अस्तित्वनै संकटमा पर्ने भन्दै स्थानीय बासिन्दा र जनजाति महासंघले गरेको आग्रह अनुसार थर परिवर्तनका लागि नागरिकता वितरण गर्न लागिएको हो।

Popularity: 9%

84 comments August 30th, 2009

उपराष्ट्रपति परमानन्द झाको प्रेस विज्ञप्तिको पूर्ण विवरण

उपराष्ट्रपति परमानन्द झाको प्रेस विज्ञप्तिको पूर्ण विवरण-
नेपाली जनताको मातृभाषाको सम्मान सरकारी स्तर र सर्वोच्च अदालतकै पूर्व फैसलाहरुबाट हालसम्म हुन नसकेको अवस्था छ अतः सरकार र संविधानसभाले मातृभाषाहरुलाई सम्मान गरेपश्चात मात्र मैले शपथ लिने विषयमा सोच्न सक्छु।

श्री सर्वोच्च अदालतको मिति २०६६।४।९ र मिति २०६६।५।७ को आदेश विरुद्ध श्री सर्वोच्च अदालतमा मिति ०६६।५।१२ गते पुनरावलोकनको निवेदन दर्ता गर्न पठाउँदा २०६६।४।९ को आदेशको हकमा दर्ता भई २०६६।५।७ को आदेशको हकमा दरपीठ आदेश भएको हुँदा त्यस अर्थमा सम्पूर्ण शपथ प्रकरण अदालत समक्ष विचाराधीन हुँदा (subjudice) पनि सम्पूर्ण नेपालका चासोको विषय भएकोले यो प्रेस रिलीज राष्ट्र र जनताका नाउँमा प्रेषित गर्दछु। २०६२–६३ को महान जनआन्दोलन एवम् महान मधेश आन्दोलनमा शहिदहरुको बगेका रगतबाट सिंचिएर स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम निर्वाचित उपराष्ट्रपतिको गरिमामय पदमा बसी देश र जनताको सेवा गर्ने मौका पाएकोमा आफुलाई गौरवान्वित महशुस गर्दछु र निर्वाचनमा समर्थन गर्ने सबै माननीय सभासदज्यूहरुलाई हृदयदेखि कृतज्ञता ज्ञापन गर्दछु।

मेरो चाहना संक्रमण सकस र समस्यामा परेको मुलुकलाई झनझन समस्या र अपठ्यारोमा पार्नु कदापी होइन। म एउटा जिम्मेवार नागरिक पनि हुँ र समग्र राष्ट्रको प्रतिनिधि पनि। मेरो व्यक्तिगत समस्या, मान, अपमान, प्रहार, आघात ठूलो कुरा होइन। मलाई यो राष्ट्रको एकता, अखण्डता, सार्वभौमिकतामा अक्षुण आस्था छ, रहिरहन्छ। तर मेरो शपथग्रहणको परिप्रेक्षलाई यो मुलुकमा जसरी संङ्कीर्ण स्वार्थसाधनको माध्यम बनाइएको छ र ममाथि जसरी व्यक्तिगत प्रहार पनि भएको र भइरहेका छन् त्यसले मलाई गहनरुपमा मर्माहत तुल्याएको छ। भाषाका कुरा, जाति, धर्म र सांस्कृतिका कुरा यो मुलुकका अत्यन्तै सम्वेदनशील कुरा हुन। अतीतमा जे भएपनि सबै भाषा, सबै धर्म, सबै जाति र हामी सबैसमेत एक अर्काका परिपूरक हौं र हुनुपर्छ। तर अझ सारा राष्ट्र कठिन परीक्षाको बेलामा रहेको अवस्थामा न्याय दिने निकायका महत्वपूर्ण व्यक्तिहरुले समेत आफनो ओहदाको अहंकारमा अन्तरिम संविधानको अपब्याख्या गरि र न्यायको मर्म बिर्सेर घोर अन्याय गरेका छन्।

मेरो लागि सर्वोच्च अदालतको असम्बैधानिक फैसलालाई स्वीकारी पदमा बसिरहन सरल थियो। तर महान नेपाली जनताको समावेशी, शान्त, सुन्दर र समृद्ध नेपालको जुन आकांक्षा छ त्यो पुरातनवादी, संङ्कीर्णतावादी, र एकाङ्गी सोचले कदापि पूर्ण हुनसक्दैन। सर्वोच्चको फैसलाले अन्तरीम संविधान र स्वयम् सर्वोच्चको गरिमा र महिमाको तेजोबध गरेको छ।

नेपालको अन्तरिम संविधान २०६३ सोही सालको फाल्गुन ३० गतेदेखि लागू भई राष्ट्र्पति र उपराष्ट्रपतिको व्यवस्था २०६५/२/०६ को चौथो संशोधनबाट संविधानमा थपिएको छ। राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था हुनुभन्दा अघिबाट नै अन्तरिम संविधानको भाग ४मा राज्यको दायित्व निर्देशक सिद्धान्त तथा नीतिहरुको धारा (३३)घ, धारा (३४) ५, धारा (३५)३ मा उल्लेखित व्यवस्थाले विभिन्न भाषाभाषीहरु बीचको भेदभाव असमानतालाई अन्त्य गरी राष्ट्रिय एकतालाई सुदृढ गर्ने र राज्यको पुर्नसंरचना गरिने दायित्व र नीति राज्यले अवलम्बन गरिने भनिएको छ। धारा ३ ले “बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक समेतका विषयमा आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिगत रुपमा राष्ट्र हो”, लेखिएको छ। यसै प्रकार नागरिकको मौलिक हकको सन्दर्भमा “कुनै भाषा वा बैचारिकताको आधारमा नागरिकमाथि भेद–भाव गरिने छैन”–भनिएको छ।

यस प्रकार राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था हुनुभन्दा अगावै संविधान लागू हुँदाको अवस्थादेखि संविधानले स्वीकारेको मर्म, सिद्धान्त र नीतिहरुको विपरीत पछि थपिएका “अनुसुचि– १ क अनुसार नेपाली भाषामा दिएको सपथको ढाँचाअनुसार नै नेपाली भाषा मै म उपराष्ट्रपतिले पद र गोपनियताको सपथ लिनु पर्छ भनि मैले २०६५/४/८ मा लिएको सपथ असंवैधानिक ठहराई अदालतको निर्णय संविधानको मर्म, लोकतन्त्रको मान्यता तथा प्रजातन्त्रको भावनाको विपरीत, समग्र नेपाली जनताको मातृभाषा प्रयोग गर्ने मौलिक हक विरोधी रहेको छ। सर्वोच्चको संविधान विपरीत यो फैसलालाई सरकारी र केही राजनैतिक दलको मौनताले समर्थन गरेको पाइयो। संवैधानिक मर्म र मान्यता विपरीत रहेको यस फैसलालाई मान्न मेरो आत्माले स्विकार नगरेको अवस्था एकातिर छ भने अर्कोतर्फ धारा ३६झ (२) अनुसार राष्ट्रपतिवाट म उपराष्ट्रपतिले २०६५/४/८ मा लिएका पद तथा गोपनियताको सपथलाई राष्ट्रपतिले विगत एक वर्षदेखि आत्मसात र स्वीकार गरिएको अवस्थामा सर्वोच्च अदालतको न्यायाधीशज्यूहरुबाट भएको २०६६/४/९ को आदेशमा उपराष्ट्रपतिलाई पुनः सपथ गराउन अदालतबाट राष्ट्रपतिलाई निर्देशन वा आदेश नभएको अवस्थामा राष्ट्रपतिले पुनः सपथ गराउनु पर्ने विषयले आफैमा गंभीर संवैधानिक संकट उत्पन्न गरेको छ।

सपथ भाषाको लागि पनि लिइदैन देशको हित र जनता प्रतिको समर्पणको लागि लिइने हो। राष्ट्रियता भावनावाट प्रतिविम्वित हुन्छ भाषाबाट होइन । २०६५/४/८ मा सपथ लिंदा यो मुलुकका पूर्व सरकार र राष्ट्रप्रमुख श्री गिरिजाप्रसाद कोईराला, हालका राष्ट्रपति डा. रामवरण यादव, तत्कालीन प्रधानन्यायाधीश श्री केदारप्रसाद गिरी, तत्कालीन सभामुख, वैदेशीक कूटनितीक निकायका प्रमुखहरु, माननीय मंत्री एवं सभासदहरु, नेपाल सरकारका संवैधानिक अंगका पदाधिकारीहरु, राजनैतिक दलका प्रतिनिधिहरु तथा स्वदेशी र विदेशी पत्रकार, नागरिक समाज र नेपाली जनता समक्ष लिइसकेको सपथलाई कानूनी दायराभित्र पारी पूर्वाग्रही रुपमा मुद्दा दिई तत्कालका प्रधानन्यायाधीशले स्वीकारेको सपथलाई पूर्वाग्रहीकै रुपमा सर्वोच्च न्यायालयका पछि आउने प्रधानन्यायाधीशकै बेन्चबाट बदर गर्ने आदेश समेत भएको र सो आदेश मबाट २०६५/४/८ को हस्ताक्षरित नेपाली भाषाको सरकारी अभिलेखमा रहेको सपथपत्र सो आदेशबाट बदर नभई कायमै रहेको अवस्थामा मैले पुनः सपथ लिँदा अब कुन भाषाको सपथपत्रलाई सरकारी अभिलेखका लागि प्रमाणित गरी दिने हो? यसै सम्बन्धमा अदालत समक्ष राखिएको जिज्ञासाको कुनै जवाफ नपाइएकोले यी विषयहरु आफैमा अन्यौलको वातावरण सृजना गरेको छ तसर्थ पुनः शपथ लिने आदेशको औचित्य छैन।

नेपाली भाषाको सपथ पत्रलाई मैले हस्ताक्षर गरी नेपाली भाषा प्रतिको सम्मान र सरकारी कामकाजको भाषाको औपचारिकता पूरा गरैकै थिएँ। संघियतातर्फ उन्मुख रहेको यस मुलुकमा भावना भन्दा पनि ढाँचासंग भाषालाई जोडी अपव्याख्या गरि राष्ट्रियताको व्याख्या गर्ने जडसूत्रवादी चिन्तन र शाव्दिक समावेशीको नारा एवं मातृभाषाको अनादर ले राष्ट्रलाई हानी नै पुर्‍याउँछ।

२०६६/४/९ मा नेपाली भाषा मै शपथ लिनु पर्छ भनी सर्वोच्च अदालतको पूर्वाग्रही आदेशको विधिवत् जानकारी म उपराष्ट्रपतिलाई आउनुभन्दा अगाडि नै उपराष्ट्रपतिलाई आफनो पदबाट मुक्त गर्नु भनी अधिकारपृच्छाको अर्को रीट सर्वोच्च अदालतले २०६६।४।१३ मा स्वीकार गरेको छ। फैसला वा आदेश अन्तिम भए पश्चात् सोको कार्यान्वयनको पक्ष शुरु हुने न्यायायिक सिद्धान्त र कानूनी व्यवस्थालाई पनि शपथ प्रकरणमा सर्वोच्चको आदेशले लत्याई मूढे अहंकारको प्रदर्शन गरेको छ।

वर्तमान संविधान अन्तरीम संविधान हो। अन्तरीमको अर्थनै तत्कालिक (stop gap arrangement) हुन्छ। यस संविधानलाई भारत वा अमेरिकी संविधानको समकक्ष राख्न मिल्दैन। बंगलादेशको संविधानमा मातृभाषा बंगला हो तर देशको कामकाज अधिकांश अंग्रेजीमा हुन्छ। भारतीय संविधानको आठौं अनुसूचीमा आसामीदेखि उर्दू भाषासम्मको उल्लेख छ तर अंग्रेजीको कही उल्लेख छैन तर देशको सम्पूर्ण काज अंग्रेजीमानै हुन्छ र सो अनुसूचिमा नेपाली भाषाको स्थान मैथिलीभन्दा माथि छ। गत जनगणनाबाट (जस्को आधारमा वर्तमान संविधानसभाको चूनाव भएको छ) पनि नेपालमा बोलिने भाषाको स्थान क्रममा १६ औं स्थान हिन्दीको छ र हाम्रा संविधानले नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषाका स्थान दिएको छ। अतः महज भाषिक विवादको श्रृजना गर्ने उद्देश्य वाहेक सर्वोच्च अदालतको आदेशको अर्को अर्थ छैन। उत्प्रेषण र परमादेश निमित्त संयुक्त इजलाश र त्यस्को By product को रुपमा परेको पछिल्ला अधिकारपृच्छाको रीट सुनुवाईकालागि ५जनाको फूल वेन्च गठन हुनु आफैमा अनौठा छ। अधिकारपृच्छावाट शपथ ग्रहण गराउने आदेश हुन रीट सिद्धान्त विपरीत छ। शपथ गर्न शुरुको आदेशमा परमादेश जारी नहुने तर पछिको अधिकारपृच्छावाट शपथ गराउने भनि भएको आदेश पूर्णरुपेण हस्यास्पद र गलत हो।

सर्वोच्च अदालतको शपथ प्रकरण सम्बन्धी अधिकार पृच्छा रीटमा भएको ०६६/५/७ को अन्तरीम आदेशमा ७ दिन भित्र शपथ लिनु वा उपराष्ट्रपति निष्कृय भई रहनु भन्ने रहेकोमा यी दुई मध्ये मैले जे रोजे पनि सर्वोच्चको फैसलालाई सम्मान नै हुन्छ भन्ने ठानेको छु।

नेपाली जनताको मातृभाषाको सम्मान सरकारी स्तर र सर्वोच्च अदालत कै पूर्व फैसलाहरुबाट हालसम्म हुन नसकेको अवस्था छ अतः सरकार र संविधान सभाले मातृभाषाहरुलाई सम्मान गरेपश्चात मात्र मैले शपथ लिने विषयमा सोच्न सक्छु।

नेपालमा वास्तविक गणतन्त्र स्थापना होस्। भाषा, लिंग, वर्ण, जात र क्षेत्रका आधारमा कसैसंग भेदभाव नहोस्। प्रत्येक नेपाली आ–आफनो भाषा, संस्कृति, सभ्यता र आत्मसम्मान रक्षार्थ सार्थक पहल गर्न पाऊन् यही मेरो भावना हो। सम्मान पाउनलाई अरुलाई सम्मान पनि गर्नु पर्छ। सबै मातृभाषाको सम्मान भएमा मात्र नेपाली भाषा पनि सम्मानित हुन सक्छ। बहुभाषीक यस मुलुकमा भावना, भाषा र राष्ट्रियता माथि गरिएको प्रहारका विपक्षमा रही सघाउनु हुने भएका सवै धन्यवादका पात्र छन्।

धन्यवाद।

Popularity: 9%

3 comments August 30th, 2009

राजेश पायलको दर्शन नमस्ते

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम -
गायक राजेशपायल राईको १०औं गीति एलबम दर्शन नमस्तेको विमोचन अगष्ट २८ तारिख शुक्रबारका दिन होटल एभरेष्टमा वरिष्ठ संगीतकार अम्बर गुरुङको बाहुलीबाट गरियो।

फरक ढंगले संचालन गरिएको कार्यक्रममा मन्तव्यहरु राखिएको थिएन। अतिथि वरिष्ठ संगीतकार गुरुङले एल्बम दर्शन नमस्ते विमोचन गरेका थिए।

कार्यक्रममा ब्लड सम्बन्धी रोगबाट पीडित ९ वर्षीय जम्बो शेर्पाको पनि एक विशेष उपस्थिति रहेको थियो। उनको उपचारार्थ गायक राईले १० हजार रुपैया प्रदान गरे। गायक राईको रकमलाई खोटाङ सेवा समाजका अध्यक्ष राकेश राईले पीडित बालिकालाई हस्तान्तरण गरेका थिए।

कार्यक्रममा गायक राईले दर्शन नमस्तका ३ गीतहरु प्रस्तुत गरे। उनले उपस्थित अतिथिहरुलाई दर्शन नमस्ते, तिम्रो र मेरो र तुवाँलो जस्ता नयाँ एल्बमका गीतहरु सुनाए। गायक राईले किन छाड्यौं गीतको म्युजिक भिडियो पनि सार्वजानिक गरे। दर्शन नमस्ते एबलममा महेश खड्का, विनोद खम्बू, खेमराज गुरुङ, सचिन सिंह, सुरेश कुमारले संगीत दिएका गीतहरु संग्रह गरिएका छन्। राजेन्द्र थापा, नरेश भट्टराई, विपिन किरण, नवराज लम्साल, बाबुराम दाहाल र सुरेश कुमारको गीत रहेको छ। रञ्जना म्युजिक इण्डष्ट्रिजले एल्बमलाई बजारमा ल्याएको हो।

Popularity: 9%

1 comment August 30th, 2009

‘१० वर्षमा नेपाल सोमालिया बन्न सक्छ’

एचकेनेपाल डट कम संवाददाता-
कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डा. हरि दाहालले नेपालमा कृषिमा लगानी घट्दै जाँदा खाद्यान्य सङ्कट बढेको बताउनुभएको छ।

मार्टिन चौतारीले आयोजना गरेको छलफल कार्यक्रममा डा. दाहालले भन्नुभयो यही रूपले खाद्य सङ्कट बढ्दै जाने हो भने नेपाल १० वर्षजतिमा सोमालिया बन्नसक्ने खतरा औँल्याउनुभयो।

मानिसको आयस्रोत बढ्दै जाँदा खाद्यान्न सङ्कट बढ्ने बताउँदै डा. दाहालले भन्नुभयो- नेपालीको खाना खाने बानीमा अब परिवर्तन आउनुपर्छ। हाम्रो चामल मात्र खानामा खाने प्रवृत्ति नै नराम्रो छ।

कृषियोग्य जमिन घडेरीमा परिणत हुनु नेपालका लागि प्रमुख समस्या भएको बताउँदै उहाँले कृषियोग्य जमिन कृषि क्षेत्रका लागि मात्र प्रयोग गरिनुपर्ने सुझाव दिनुभयो।

धान र मकैको उत्पादन गत वर्षको भन्दा केही कमी हुने र त्यसका लागि हिउँदे बाली गहुँ, तेलहनको उत्पादनमा विशेष जोड दिइने उहाँले बताउनुभयो।

Popularity: 9%

3 comments August 29th, 2009

बेपत्ता पार्ने सैनिकलाई कारबाही गर्न दबाब

एचकेनेपाल डट कम संवाददाता-
संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको नेपालस्थित प्रतिनिधि रिचर्ड बेनेट र कार्यवाहक प्रधानसेनापति छत्रमानसिंह गुरुङबीच बिहीबार भएको भेटमा सन् २००३ र २००४ मा नेपाली सेनाको महाराजगञ्ज ब्यारेकमा घटेका स्वेच्छाचारी थुना, यातना र बेपत्ता पार्ने कार्यसम्बन्धी घटनाको उपयुक्त ढङ्गबाट अनुसन्धान गर्नमा भएको सरकारको विफलताबारे उच्चायुक्तको कार्यालयले हालै प्रधानमन्त्रीलाई लेखेको पत्रमा उठाइएका चिन्ताबारे छलफल भएको छ।

उच्चायुक्तको कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा प्रमुख बेनेटले द्वन्द्वका क्रममा नेपाली सेनाबाट भएका मानवअधिकार तथा अन्तरराष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लङ्घनका लागि जवाफदेही बनाउने सर्न्दर्भमा भएका प्रगतिको अभाव र बर्दिया जिल्लामा भएका बेपत्ता पार्ने कार्य तथा मैना सुनुवार हत्यालगायत नेपाली सेनाका कर्मचारीहरू संलग्न भएका मानवअधिकारको गम्भीर उल्लङ्घनसम्बन्धी आरोपबारे पनि छलफल भएको उल्लेख छ।

यस्तै प्रमुख बेनेटले महाराजगञ्ज ब्यारेकमा मानवअधिकार उल्लङ्घन भएको बेलामा कमाण्ड जिम्मेवारीको पदमा रहेका नेपाली सेनाका उपरथी तोरणजङ्गबहादुर सिंह तथा सहायक रथी भिक्टर राणालगायतका कर्मचारीहरूलाई हालै बढुवा वा म्याद थपका लागि सिफारिस गरिएको विषयमा चिन्ता व्यक्त गर्दै भविष्यमा यस्तो विवाद हुन नदिन शान्तिप्रक्रियाको दौरानमा नेपाली सेनाका कर्मचारी र एकीकृत नेकपा (माओवादी)का कार्यकर्ता दुवैको बृहत् जाँच गर्न सल्लाह दिएको विज्ञप्तिमा जनाइएको छ।

प्रमुख बेनेटले यस्तो राय पेस गरेपछि कार्यवाहक प्रधानसेनापति गुरुङले मानवअधिकार उल्लङ्घनमा दोषी प्रमाणित भएका सैनिक कर्मचारीहरूलाई दण्डित गर्ने, द्वन्द्वका क्रममा भएका मानवअधिकार उल्लङ्घनको अनुसन्धान गर्न स्थापित बेपत्ता पार्ने कार्यसम्बन्धी छानबिन आयोगजस्ता उचित तरिकाले गठन गरिएका निष्पक्ष एवम् स्वतन्त्र निकायलाई सहयोग गर्ने प्रतिबद्धता जनाको विज्ञप्तिमा उल्लेख गरिएको छ।

Popularity: 9%

1 comment August 29th, 2009

दुई सातादेखि जङ्गलमा बास

एचकेनेपाल डट कम संवाददाता-
पहिरोले गाउँ नै बगाएपछि सुर्खेत, लगाम गाविस-६ का ३७ परिवार दुइ सातादेखि जङ्गलमा बास बस्न बाध्य भएका छन्।

यही भदौ १ गते गएको पहिरोले जारिमेका २५ र करौजेका १२ परिवारका घर बगाएपछि ती परिवार अहिले सल्लेबारीको जङ्गलमा रात काटिरहेको स्थानीयवासी हरि अधिकारीले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयमा सो समस्याबारे समयमै सूचना गरिए पनि पुनर्स्थापनाको पहल नभएको पीडितहरूको गुनासो छ। ‘पहिरो जानेक्रम अहिले पनि जारी छ तर सरकारले प्रभावितक्षेत्रमा अहिलेसम्म राहत पठाउन सकेको छैन’-स्थानीयवासीले बताए।

जिल्ला प्रशासन कार्यालयले भने राहत सहयोगका लागि निर्णय भएपनि भौगोलिक कठिनाइका कारण समयमै पुर्‍याउन नसकिएको जनाएको छ। जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पौडेलले यही भदौ १० गते बसेको समितिको बैठकले सहयोगका लागि निर्णय गरेको जानकारी दिए।

Popularity: 9%

Add comment August 29th, 2009

उपराष्ट्रपतिलाई प्रधानमन्त्रीको अनुरोध

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री माधवकुमार नेपालले उपराष्ट्रपति परमानन्द झालाई उपराष्ट्रपतिको सपथका विषयमा सर्वोच्च अदालतबाट हालै भएको फैसला कार्यान्वयन गर्न अनुरोध गर्नुभएको छ।

उपराष्ट्रपति झालाई एक पत्र पठाई प्रधानमन्त्री नेपालले अदालतको आदेश कार्यान्वयन गरी लोकतान्त्रिक मान्यताको संरक्षणार्थ सहयोगका लागि पनि आग्रह गर्नुभएको छ।

नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय देश भएकाले यहाँ बोलिने सम्पूर्ण मातृभाषा राष्ट्रभाषा भएको भन्दै प्रधानमन्त्रीले राष्ट्रपति, उपराष्ट्रपतिलगायत र्सार्वजनिक पदधारण गर्ने व्यक्तिले आफ्नो मातृभाषामा पद तथा गोपनियताको शपथ लिनसक्ने अधिकारको व्यवस्थालाई संविधानमा समावेश गर्न नेपालको अन्तरिम संविधान, २०६३ मा सातौं संशोधन गर्ने सम्बन्धी विधेयक मन्त्रिपरिषद्बाट पारित भई हाल व्यवस्थापिका-संसदमा विचाराधीन रहेको जानकारी गराउनुभएको छ।

व्यवस्थापिका-संसदको गतिरोध अन्त्य हुनासाथ सो विधेयक पारित गर्ने प्रक्रियालाई सरकारले उच्च प्राथमिकता दिनेहुँदा उक्त विधेयक पारित हुनेकुरामा प्रधानमन्त्री नेपालले उपराष्ट्रपतिलाई आश्वस्त पार्नुभएको छ।

देश अत्यन्त संवेदनशील सङ्क्रमणकालीन रहेको परिस्थितिमा नेपालको अन्तरिम संविधानको संरक्षण एवम् पालना गर्ने/गराउने तथा उपराष्ट्रपति पदको गरिमाको रक्षा र लोकतान्त्रिक मूल्य र मान्यता सर्वोच्च अदालतको आदेशको कार्यन्वयन गर्ने जिम्मेवारी संविधानसम्मत् किसिमले हुनुपर्दछ भन्ने जनअपेक्षा रहेको प्रधानमन्त्रीको पत्रमा उल्लेख छ।

Popularity: 9%

2 comments August 29th, 2009

उपराष्ट्रपति झाद्वारा सर्वोच्चमा निवेदन

एचकेनेपाल डट कम संवाददाता-
हिन्दी भाषामा लिएको सपथका सम्बन्धमा सर्वोच्च अदालतको आदेशविरुद्ध उपराष्ट्रपति परमानन्द झाले पुनरावलोकनको निवेदन दर्ता गराउनुभएको छ ।

महान्यायाधिवक्ताको कार्यालयमार्फत् सर्वोच्च अदालतमा दर्ता भएको प्रधानन्यायाधीशसहितको संयुक्त इजलासले गत साउन ९ गते जारी गरेको उत्प्रेषणयुक्त परमादेशको आदेश र आइतबार पूर्ण इजलासले जारी गरेको अधिकारपृक्षाको आदेशका विरुद्ध छुट्टाछुट्टै पुनरावलोकनको निवेदन परेकोमा अधिकारपृक्षाको आदेशविरुद्धको निवेदन भने दरपिठ भएको छ।

उत्प्रेषणयुक्त परमादेशविरुद्धको निवेदनमा नेपाली भाषामा हस्ताक्षर गरेको सपथप्रति संवेदनशील नभई अपव्याख्या गरिएको, सपथग्रहण वाचन र हस्ताक्षर दुवै आवश्यक हुन्छ भन्ने जारी आदेश संविधानसम्मत् नभएको र आफूले लिएको सपथ असंवैधानिक भए तत्कालै पुनः सपथ लिने विषयमा निर्दिष्ट कुरालाई ख्याल नगरी समग्र संवैधानिक शक्तिलाई खलबल्याउने र देशलाई अस्थिरतातर्फ धकेल्ने काम भएकाले यस्तो त्रुटिपूर्ण आदेश बदर गर्न माग गरिएको छ।

Popularity: 9%

1 comment August 29th, 2009

उपराष्ट्रपतिको निवासमा बम विस्फोट

एचकेनेपाल डट कम संवाददाता-
उपराष्ट्रपति परमानन्द झाको निवास छेउमा शुक्रवार राति सकेट बम विस्फोट भएको छ। विस्फोटका बेला झा परिवारसहित निवास मै थिए। विस्फोटबाट झा निवासमा कुनै क्षति पुगेको छैन।

सो विस्फोटको जिम्मेवारी किराँत जनवादी वर्कस् पार्टीले लिएको छ। हिन्दी भाषामा शपथ खाएको विरोधमा सो विस्फोट गराइएको उसले बताएको छ।

उक्त विस्फोटमा छिमेकी पार्वती खतिवडा घाइते भएकी छिन्। उनको ओम अस्पताल, चाबहिलमा उपचार भइरहेको छ।

Popularity: 9%

Add comment August 29th, 2009

एन्बगद्वारा सहारा क्लवलाई १ लाख ११ हजार तथा कम्प्युटर सहयोग

एन्बगद्वारा सहारा क्लवलाई १ लाख ११ हजार तथा कम्प्युटर सहयोग
मैत्रीपूर्ण खेलमा पत्रकारको टोली विजयी

सुदर्शन रञंजित, पोखरा / एचकेनेपाल डट कम-
एन्वग समूहले पोखराको सहारा क्लवलाई फुटवलको विकास तथा एकेडेमी संचालनमा सहयोग पुर्र्याउने उद्धेश्यले १ लाख ११ हजार १ सय ११ नगद रूपैयाँ र दुई थान कम्प्यूटर हस्तान्तरण गरेको छ।


तस्वीरहरूः सुदर्शन रंजित र राम गुरूङ

समूहका अध्यक्ष गोपाल सुन्दर कक्षपतिले सहारा क्लवलका अध्यक्ष विक्रम थकालिलाई रकम तथा कम्प्यूटर हस्तान्तरण गर्नुभएको हो। ३ बर्षपहिला समेत ७५ हजार रुपैयाँ सहयोग गरेको एन्वग समूहले नेपालकको फुटबल विकासमा उल्लेखनिय योगदान पुराएको भन्दै आफूहरुले सानो सहयोग गरेको बताउदै अध्यक्ष गोपाल सुन्दर कक्षपतिले पछिका दिनहरुमा पनि सहयोग गर्ने बताउनु भएको छ।


सहारा क्लबका अध्यक्ष बिक्रम थकालीले बिभिन्न व्यक्ति तथा संघ सस्थाबाट सहारा क्लब हाल अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न सफल भएकोले सम्पूर्ण सहयोगदातालाई धन्यबाद दिनुभयो।

एन्बग हिजो सन् १९६० को दशक, हिट्लरको पालामा निमार्ण भएका जर्मनी वक्स वागेन विटेल नामक कार र्‍याली आयोजना गरी काठमाण्डौंबाट पोखरा आएको थियो। टोलीलाई पोखरामा सहारा क्लबले स्वागत गरेको थियो।

एन्बग ग्रुपका अध्यक्ष गोपाल सुन्दर कक्षपतिको नेतृत्वमा आएको टोली आज तनहुंको बन्दीपुर हुदै काठमाण्डौ जादैछ।

यसैबिच, एसोसियसन अफ नेपाल वेटल युजर ग्रुपको टोलि (एन्बग) र पत्रकारहरुको टोलीबीच आज बिहान पोखरा रंगशालामा भएको मैत्रीपूर्ण फुटवल खेलमा पत्रकारको टोली ५-३ ले विजयी भएको छ।

पत्रकारको जितमा प्रकाश थापाले ४ गोल तथा मन क्षेत्रीले १ गोलको योगदान दिएका थिए। एन्बगको तर्फबाट पुष्प शाक्यले दुई र रुपेन गुरुङले एक एक गोल गरेका थिए।


Popularity: 9%

Add comment August 28th, 2009

पहिरो पीडितको लागि महिला फुटबल

राजेश राई, धनकुटा/ एचकेनेपाल डट कम-
धनकुटा भीरगाउँका पहिरो पीडितहरुको सहयोगका लागि धनकुटामा मैत्रीपूर्ण महिला फुटबल प्रतियोगिता हुने भएको छ।

जिल्ला प्रहरी कार्यालयमा आज भएको सर्वपक्षीय बैठकले आगमी भदौं २० गते सो प्रतियोगिता गर्ने निर्णय गरेको हो। प्रतियोगिता सम्पन्न गर्न धनकुटाका प्रहरी नायव उपरीक्षक सानुकाजी लामीछानेको संयोजकत्वमा धनकुटा फुटबल संघ, जिल्ला खेलकुद विकास समिति, नेपाल पत्रकार महासंघ, धनकुटा बहुमुखी क्याम्पस, नेपाल रेड्क्रस सोसाईटी, रेडियो मकालु, रेडियो धनकुटा, पहाडी ट्याक्सी ब्यबसायी संघ, उधोग बाणिज्य संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ, अखिल नेपाल शिक्षक संगठन, नेपाल निजामति कर्मचारी संगठन, निजामति कर्मचारी युनियन, र राष्ट्रिय कर्मचारी संघ सदस्य रहेको आयोजक समिति पनि गठन गरिएको छ।

प्रतियोगितामा धनकुटा ११ र सुनसरी ११ बीच प्रतिस्पर्धा हुने भएको छ। प्रतियोगिताबाट उठेको रकम बाढी पीडितहरुलाई उपलब्ध गराईने प्रहरी नायब उपरीक्षक सानुकाजी लामीछानेले बताए। सोही भेलाले सदस्यीय स्टेरिङ कमिटी र ३ सदस्यीय आर्थिक परिचालन समिति गठन गरिएको छ।

Popularity: 9%

Add comment August 28th, 2009

कतारबाट घर्तिमगरको शव नेपाल पठाइयो

कतार आएको सोह्र दिनमै मृत्यु भएका नेपालीको शव स्वदेश पठाइयो
इखालु रमेश गेलाल, कतार, अगष्ट २८-
कतार आएको सोह्र दिनमा नै गत अगष्ट ८ तारिख शनिवारका दिन मृत्यु भएका गोठादी गा.बि.स-८ दमार पाल्पा घर भएका धनबहादुर घर्तीमगरको शव २८ अगष्ट शुक्रवार नेपाल पठाइएको कतार स्थित नेपाली राजदुतावासका प्रथम सचिव रामकाजी खड्काले जानाकारी दिनु भएको छ।

कतारस्थित अलजजीरा सिसोर कम्पनीमा क्लिनरको रुपमा कार्यरत घर्तीको सुतेकै अवस्थामा मृत्यु भएको थियो। मगरको घरमा बुवा श्रीमती दुई छोरा र दुई छोरी भएको सहकर्मीहरुलाई उनले बताएको भएता पनि हालसम्म स्पष्ट रुपमा आफन्तहरुसँग समेत कुनै पनि सम्पर्क हुन नसकेको उनका सहकर्मीहरुले बताएका छन्।

उनीसंगै कम्पनीमा कार्यरत सिन्धुपाल्चोक घर भएका अम्बर तामाङको साथमा उनको शव पठाइएको हो। घर्ती आएको केही दिन मात्र भएको र मेडिकल प्रक्रिया पूरा गर्ने क्रममा नै रहेकाले उनले पाउनु पर्ने पारिश्रमिकसमेत नभएको भएता पनि दूतावासको पहलमा शव पठाउन कम्पनीले १५००।- कतारी रियल उपलब्ध गराएको जानाकारी सचिव खड्काले दिनुभयो।

स्मरण रहोस, कतारमा ह्रदयघातका कारण मृत्यु हुनेहरुले बिमा पाउने सम्बन्धी कुनै व्यबस्थासमेत रहेको छैन।

————————–
कतार आएको सोह्र दिनमै मृत्यु
इखालु रमेश गेलाल, कतार, अगष्ट ११-
कतारमा अकालमा मृत्यु हुनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। कोही दुर्घटनामा परेर मृत्युको मुखमा पुग्ने गरेका छन् त कोही ह्रदयघातका कारण सुतेकै अवस्थामा।

यसै क्रममा कतार आएको सोह्र दिनमा नै एक नेपाली मृत्युको मुखमा पुगेका छन्। गत अगष्ट ८ तारिख शनिवारका दिन कतारस्थित अलजजीरा सिसोर कम्पनीमा क्लिनरको रुपमा कार्यरत गोठादी गा.बि.स-८, दमार, पाल्पा घर भएका धनबहादुर घर्तीमगरको सुतेकै अवस्थामा मृत्यु भएको हो।

रात्रि डिउटी गरेर आई सुतेका मगर दिवा डिउटीका साथीहरुका काम सकि फर्कदासमेत सुतिरहेको देखेर उठाउने कोशिस गर्दा नउठेपछि उनको मृत्यु भएको साथीहरुले थाहा पाएका थिए।

कतार आएको सोह्र दिनमा नै मृत्युको मुखमा पुगेका मगरको घरमा बुवा, श्रीमती, दुइ छोरा र दुइ छोरी भएको निजका सहकर्मीहरुलाई उनले बताएका थिए। उनी कार्यरत सो कम्पनीमा अधिकांश सबै नेपालीहरु भर्खरै कतार आएका र उनको आफन्तहरुको समेत कुनै पनि सर्म्पर्क ठेगाना थाहा नभएका कारण निजको पारिवारीक स्रोतसम्म खबर पुग्न नसकेको उनका सहकर्मीहरुले बताए।

Popularity: 10%

1 comment August 28th, 2009

सभापतिमा पदमा आचार्य निर्वाचित

एचकेनेपाल डट कम संवाददाता-
संवैधानिक समितिको सभापतिमा कांग्रेसका निलाम्बर आचार्य निर्वाचित भएका छन्।

शुक्रवार अपरान्ह भएको निर्वाचनमा २९ मत प्राप्त गरी आचार्य निर्वाचित भएका हुन् भने अर्का उम्मेदवार माओवादीका नारायणकाजी श्रेष्ठले २१ मत प्राप्त गरेका थिए। आचार्यलाई सत्ता पक्षीय २२ दलको समर्थन रहेको थियो।

समितिका ६३ जना मतदातामध्ये ५० जनाले मतदान गरेका थिए। ५ जनाले चुनाव वहिष्कार गरेका थिए भने बाँकी उपस्थित भएनन्।

संवैधानिक समितिका सभापति माधवकुमार नेपाल प्रधानमन्त्री भएपछि रिक्त रहेको सो पदका लागि शुक्रवार निर्वाचन भएको हो। सभापतिमा निर्वाचित आचार्यलाई शुक्रवार नै सभामुख सुभासचन्द्र नेम्बाङले सपथ ग्रहण गराएका छन्।

Popularity: 8%

3 comments August 28th, 2009

झाडापखालाबाट मर्नेको संख्या ३४१

एचकेनेपाल डट कम संवाददाता-
मध्य तथा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका केही जिल्लामा फैलिएको झाडापखालाका कारण हालसम्म ३४१ जनाले अकालमा ज्यान गुमाउनुपरेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सो रोगका कारण हालसम्म जाजरकोटमा १५४, रुकुममा ४८, दैलेखमा २९, सुर्खेतमा १४, डोल्पामा आठ, रोल्पामा आठ, सल्यानमा छ, प्युठानमा तीन, डोटीमा १२, अछाममा २४, बैतडीमा आठ, कैलालीमा चार र डडेलधुरामा पाँच जनाको मृत्यु भइसकेको छ।

करिब १८ जिल्लाका १६१ गाविस सो रोगबाट प्रभावित भएकामा १४७ गाविसमा रोग नियन्त्रणमा आएको, रोग नियन्त्रण गर्न ३५ वटा स्वास्थ्य शिविर सञ्चालनमा रहेका र १५७ जना स्वास्थ्यकर्मी परिचालन भइराखेको महाशाखाले जानकारी दिएको छ।

महाशाखाले गत असारको अन्तिम सातादेखि फैलिएको सो रोगका करिब ६२ हजार जनालाई उपचार गरिसकिएको र रोग नियन्त्रणका क्रममा रहेको पनि जानकारी दिएको छ।

Popularity: 9%

Add comment August 28th, 2009

अनुशासन तोड्ने ठूला नेतालाई पनि कारबाही हुन्छः खनाल

एचकेनेपाल डट कम संवाददाता-
नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले पार्टीको अनुशासन तोड्ने जतिसुकै ठूलो तहको नेता भए पनि त्यसलाई पार्टीले कारबाही गर्ने बताउनुभएको छ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँ जिल्ला सङ्गठन कमिटीद्वारा आयोजित बृहत कार्यकर्ता भेलामा बोल्दै उहाँले अनुशासन र लोकतन्त्र एमालेको विशेषता भएको चर्चा गर्दै अध्यक्ष खनालले सबै पार्टीका कार्यकर्ता तथा ठूलो पदका नेताहरू समेत अनुशासित हुनुपर्नेमा जोड दिनुभयो।

उहाँले पार्टी एकताबद्ध हुनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै आठौँ महाधिबेशनले पारित गरेको नीतिलाई कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पार्टीभित्रका मानिसहरूमा फरक-फरक विचार हुन सक्छन्, त्यसलाई शान्तिपूर्वक पार्टीभित्र नै राख्नुपर्ने उहाँको धारणा थियो।

उहाँले पार्टीभित्रै माओवादी र काङ्ग्रेसलाई शत्रु ठान्ने व्यक्तिहरू पनि भएको चर्चा गर्दै यस्तो विचार सोचेर अगाडि बढेमा मुलुकमा नयाँ संविधान बन्न नसक्ने समेत बताउनुभयो।

उहाँले भन्नुभयो-”पार्टीलाई नयाँ विधानको आधारमा पुनर्गठित गरेर लैजानुपर्छ, नत्र यही तरिकाले पार्टीअगाडि बढ्न सक्दैन।”

Popularity: 9%

2 comments August 28th, 2009

गुम्बामा हतियार भेटिएको भनेपछि बौद्ध धर्मावलम्बी आक्रोशित

एचकेनेपाल डट कम संवाददाता-
काभ्रेको नमो बुद्ध गुम्बाको अन्डरग्राउन्डबाट हातहतियार बरामद भएको छ भनेर नेकपा (एमाले) का पूर्वसांसद सुरेश कार्की र पूर्वमन्त्री राधाकृष्ण मैनालीले दिएको अन्तर्वार्ता सरासर गलत रहेको नेपाल बौद्ध महासङ्घले जनाएको छ ।

उक्त अन्तर्वार्ता इमेज च्यानलबाट प्रसारित अलग धार नामक कार्यक्रममा यही भदौ ६ गते प्रसारण भएको थियो।

महासङ्घद्वारा आयोजित कार्यक्रममा नमो बुद्ध बौद्ध ध्यान तथा शिक्षण केन्द्रका सचिव च्वङ्गी राङडोल लामाले विशुद्ध धार्मिक स्थलमा झुटो आरोप लगाइएकामा दुःख व्यक्त गर्दै इमेज च्यानलले माफी माग्नुपर्ने बताउनुभयो।

नेपाल तामाङ्ग राष्ट्रिय महासङ्घका अध्यक्ष श्याम तामाङ्गले नेपालमा धर्मयुद्ध निम्त्याउन लागिएको भन्दै सो टिभीप्रति कार्बाहीको माग गर्नुभयो।

नेपाल शेर्पा सङ्घ, बौद्ध जागरण केन्द्र नेपाल, दोल्पो जनजाति विकास केन्द्र, नमो बुद्ध बौद्ध धर्म ध्यान तथा शिक्षण केन्द्र, मुस्ताङ शाक्य बौद्ध सङ्घलगायतका १२ वटा सङ्घले सोको विरोधमा ऐक्यबद्धता जनाएका छन्।

उनीहरूले इमेज च्यानलले तत्काल माफी माग्नु पर्ने माग राखेका छन्।

Popularity: 9%

1 comment August 28th, 2009

हो, काँग्रेसमा गुटबन्दी छ- डा. महत

एचकेनेपाल डट कम संवाददाता-
नेपाली काग्रेसका सहमहामन्त्री डा.रामशरण महतले नेपाली काङ्ग्रेसभित्र चरम गुटबन्दी रहेको स्वीकार गर्नुभएको छ ।

नेपाल तरुण दल केन्द्रीय प्रशिक्षण विभागले भक्तपुरमा आयोजना गरेको मध्यमाञ्चलस्तरीय प्रशिक्षणको समापन गर्दै नेता महतले गुटबन्दीको अन्त्य नगरे काङ्गेस गम्भीर सङ्कटमा पर्ने चेतावनी दिनुभयो।

त्यसैगरी नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली काङ्ग्रेसको केन्द्रदेखि गाउँ स्तरसम्म भावनात्मक एकता हुनुपर्ने आवश्यकता औँल्याउनुभयो।

नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष महेन्द्र यादवले तरुण दलको अनुशासन भङ्ग गर्नेलाई सात दिनभित्र कारवाही गर्ने चेतावनी दिनुभयो ।

कार्यक्रममा बोल्ने अधिकांश युवाले पार्टीको नेतृत्वको व्यापक आलोचना गरेका थिए। प्रशिक्षणमा १९ जिल्लाका ७८ जना तरुण कार्यकर्ता सहभागी थिए।

Popularity: 9%

Add comment August 28th, 2009

मैथिलीमा शपथ लिन दिन माग

एचकेनेपाल डट कम संवाददाता-
भाषिक अधिकार संयुक्त सङ्घर्ष समिति, नेपालले उपराष्ट्रपतिलाई खस भाषामा नभई उहाँकै आफ्नै मातृभाषा मैथिलीमा शपथग्रहण गर्न दिइनुपर्ने माग गरेको छ ।

समितिले नेपालमा विगत सरकारद्वारा थोपरिएको एक भाषाको एकाधिकारको अन्त्य गर्दै मुलुकका सबै मातृभाषालाई समान संवैधानिक मान्यता प्रदान गरी अन्तरिम संविधान अविलम्ब संशोधन गरिनुपर्ने सुझाव दिएको छ ।

Popularity: 8%

Add comment August 28th, 2009

हामीले सर्वोच्चको निर्णय जलाएनौँ: सदभावना

एचकेनेपाल डट कम संवाददाता-
पार्टीको नाम झण्डा प्रयोग गरी उपराष्ट्रपति परमानन्द झाको शपथ सम्बन्धमा सर्वोच्च अदालतले गरेको निर्णय प्रति जलाएकोमा नेपाल सदभावना पार्टी (सरिता गिरी) समूहले आपत्ति प्रकट गरेको छ।

एक प्रेस विज्ञप्ति जारी गरी अराजक तथा पार्टी विरोधी तत्वहरूले सो कार्य गराएको जनाएको छ।

सो पार्टीका राष्ट्रिय अध्यक्ष सरिता गिरीद्वारा जारी विज्ञप्तिमा यही भदौ २१ गतेदेखि सुरु हुने मुद्दाको बहसलाई प्रभावित गर्न र एउटा जिम्मेवार पार्टीलाई बदनाम गर्ने षडयन्त्रमूलक कार्य भनी उल्लेख गरिएको छ ।

सदभावना पार्टीको आधिकारिकता विवादसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

उपराष्ट्रपतिको शपथ सम्बन्धमा उत्पन्न विवादको समाधान अदालतको आदेशको प्रति जलाएर नभई राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गरिनुपर्ने पार्टीकोे धारणा रहेको विज्ञप्तिमा छ ।

सदभावना पार्टीको झण्डा बोकेको एक समूहले उपराष्ट्रपतिले लिएको शपथ सम्बन्धमा दिएको फैसलाको प्रति जलाउनुका साथै सर्वोच्च अदालतविरुद्ध चर्को नाराबाजीसहित प्रदर्शन गरेका थिए।

Popularity: 8%

Add comment August 28th, 2009

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

August 2009
M T W T F S S
« Jul   Sep »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category

More news....