एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशैं तिहारसम्म माओवादी नेतृत्वमा संयुक्त राष्ट्रिय सरकार गठन हुने दावी गरेका छन्।
उनले बुधवार नवलपरासीको कावासोतीमा आफ्ना कार्यकर्ताहरूसंग बोल्दै दशैं तिहारसम्म माओवादी नेतृत्वको सरकार बन्ने बताएका हुन्। भारतीय प्रवासी नेपालीहरुको प्रशिक्षण सकेर राजधानी फर्किने क्रममा उनले कावोसोतीमा आफ्ना कार्यकर्ताहरूसंग भेटघाट गरेका थिए।
संयुक्त राष्ट्रिय सरकार गठन गर्न सबै दलहरुसंग छलफल भैरहेको प्रचण्डले बताए। माओवादी अहिले सडक र सदनबाट संघर्ष गरिएको बताउंदै सरकारले माओवादीलाई बाहिर राखेर शान्ति प्रकृया र संबिधान निर्माण गर्न नसकिने उनले बताए। आफ्नो नेतृत्वमा सरकार बनेपछि मात्र संबिधान निर्माण कार्य सम्पन्न हुने उनको भनाई रहेको थियो।
गोकुल ढकाल, बोष्टन / एचकेनेपाल डट कम-
गोरखा जिल्लाबाट करिब चार बर्षअगाडि बुवा ध्रुब घिमिरेको ग्रिन कार्डमा सुनौलो सपना बोकेर आफ्नी माता राधिका घिमिरेसँग अमेरिका छिरेकी नौ बर्षकी बालिका ओशिन घिमिरे म्यासाचुसेट्स राज्यमा ‘नेशनलस, इन्क, प्रेजेन्ट्स’ द्धारा आयोजित ‘मिस जुनियर प्रि-टीन, बोस्टन - २००९’, उपाधि जित्न सफल भएकी छिन्।
अमेरिकाका प्रत्येक राज्यबाट छानिएर एक बिजेतालाई आगामी डिसेम्बर महिनामा फ्लोरिडा राज्यको ओर्ल्यान्डओमा आयोजना गरिने ‘मिस जुनियर प्रि-टीन, यू यस् ए - २००९’ मा प्रतिस्पर्धा गराइने प्रतियोगितामा ओशिन म्यासाचुसेट्स राज्यको प्रतिनिधित्वको साथमा प्रतिस्पर्धा गर्नेछिन्।
कक्षा चारमा अध्यरनत समरभिल नगर निवासी ओशिन म्यासाच्युसेट्स राज्यका १३५ प्रतिस्पर्धीलाई उछिनेर उक्त उपाधि चुम्न सफल भएकी हुन। तीन बर्षको उमेरदेखि नेपालमा रहंदा आफ्ना समाजमा आयोजना हुने सांस्कृतिक कार्यक्रमदेखि सहभागिता जनाइरहेकी उनी अमेरिका आएदेखि बोस्टन क्षेत्रमा आयोजना गरिने र गरिएका हरेक कार्यक्रममा आफ्नो सभागिताले प्रतिभा प्रदर्शन गर्दै आएकी छिन्। यसै शिलशिलामा अर्की बालिका श्वेता तमाङले पनि उक्त कार्यक्रममा ओशिनसङै ‘फोटोकेनिक’ को उपाधि जितेकी छिन्।
सात समुन्द्र पारी आएर आफ्नो कला र कौशलताले प्रख्यात परदेशी उपाधि हात पार्नु पक्कै तमाम नेपालीको इज्जत र गौरबको कुरो त छदैंछ, र फेरी अमेरिका भरिका प्रतिस्पर्धीलाई उछिनेर एक निश्चल नेपाली बालिका आगामी डिसेम्बरमा आयोजना हुने ‘मिस जुनियर प्रि-टीन, यूएसए’, मा सफल नहुने के नै कारण छ र ? त्यो गौरबमय उपाधिको लागि ओशिन घिमिरेलाई शुभकामना!!!
एचकेनेपाल डट कम संवाददाता-
मध्य तथा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका केही जिल्लामा फैलिएको झाडापखालाका कारण हालसम्म ३३४ जनाले अकालमा ज्यान गुमाउनुपरेको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सो रोगका कारण हालसम्म जाजरकोटमा १५४, रुकुममा ४८, दैलेखमा २७, सुर्खेतमा १४, डोल्पामा आठ, रोल्पामा पाँच, सल्यानमा छ, प्युठानमा तीन, डोटीमा १२, अछाममा २४, बैतडीमा आठ, कैलालीमा चार र डडेलधुरामा पाँच जनाको मृत्यु भइसकेको छ।
करिब १८ जिल्लाका १६१ गाविस सो रोगबाट प्रभावित भएकामा १४७ गाविसमा रोग नियन्त्रणमा लिइसकिएको, रोग नियन्त्रण गर्न ३५ वटा स्वास्थ्य शिविर सञ्चालनमा रहेका र १५७ जना स्वास्थ्यकर्मी परिचालन भइराखेको महाशाखाले जानकारी दिएको छ।
महाशाखाले गत असारको अन्तिम सातादेखि फैलिएको सो रोगका करिब ६० हजार जनालाई उपचार गरिसकिएको र रोग नियन्त्रणको क्रममा रहेको पनि जानकारी दिएको छ।
एचकेनेपाल डट कम संवाददाता-
कपिलवस्तुमा सोमबार पक्राउ परेका जनमुक्ति सेनालाई उनीहरूसँग रहेको ९ थान हतियार र ३ वटा सवारी साधनसहित अनमिनको रोहबरमा छाडिएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार हतियार तथा लडाकूहरू अनमिनले प्रमाणीकरण गरेको पाएपछि छाडिएको हो।
जनमुक्ति सेनासँगै रहेको हतियार क्यान्टोनमेन्टभित्रको नभई सुरक्षाका लागि प्रयोग गरिने भएकाले छाडिएको प्रशासनको भनाई छ।
नेपालगञ्जबाट आएको अनमिन प्रतिनिधि क्लाउडियो फियलाको टोलीले हतियार तथा लडाकूहरूको निरीक्षण गरी प्रमाणित गरेको थियो।
निरीक्षणपछि गृह मन्त्रालयको आदेशअनुसार उनीहरूलाई लिखित रूपमा अनमिनको जिम्मा लगाई छाडिएको प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले बताउनुभयो।
नवलपरासीस्थित झ्यालटुङडाँडा चौथो डिभिजन उप-कमाण्डर पावेलका अनुसार अध्यक्ष प्रचण्डको स्कर्टिङका लागि नेपालगञ्ज जाने क्रममा रहेका जनमुक्ति सेनाहरूलाई अकस्मात् बीचबाटोबाटै फर्किने क्रममा सोमबार पूर्व-पश्चिम राजमार्गको पिपराबाट पक्राउ गरेको थियो।
एचकेनेपाल डट कम संवाददाता-
उप-राष्ट्रपति परमानन्द झाले हिन्दीमा सपथ खानु नै गलत भएकाले वर्तमान परिस्थितिको सिर्जना भएको एकीकृत माओवादीका सचिव सिपी गजुरेलले बताउनुभएको छ।
यो प्रकरणमा माओवादीको आधिकारिक धारणा आइनसकेको भए पनि हिजो हेटौँडामा पत्रकारहरूसँग कुराकानी गर्दै नेता गजुरेलले हिन्दी भाषा नेपालमा कहीँ नबोलिनेसमेत स्पष्ट पार्नुभयो।
सर्वोच्च अदालतले नेपाली भाषामा सपथ खानका लागि गरेको निर्णय पनि एकीकृत नेकपा (माओवादी)लाई मान्य नहुने उहाँले पत्रकारहरूसँगको जिज्ञासाका क्रममा बताउनुभयो।
उहाँले नेपाली, हिन्दीमा भन्दा पनि मैथिली, अवधि वा जनताले बोल्ने भाषामा सपथ लिँदा राम्रो हुने तर्कसमेत अघि सार्नुभयो।
पार्टी प्रशिक्षणको क्रममा हेटौँडा आउनुभएका गजुरेलले कार्यकर्ताहरूसँगको भेटघाटलाई समेत तीब्र बनाउनुभएको थियो।
एचकेनेपाल डट कम संवाददाता-
नेपाली काङ्ग्रेस संसदीय दलको बैठकले परराष्ट्रमन्त्री सुजाता कोइरालाले आफू भारत नजानुका कारणबारेमा दिनुभएको स्पष्टीकरण चित्तबुझ्दो भएको ठहर गर्दै अब सो विषयलाई छलफलमा नल्याउने निर्णय गरेको छ।
संसदीय दल कार्यालय सिंहदरबारमा बसेको बैठकमा परराष्ट्रमन्त्रीले आफू भारत नजानुको अन्य कुनै कारण नभई आफ्नो व्यस्तताको कारण भएको स्पष्ट पार्नुभएको थियो।
बैठकपछि परराष्ट्रमन्त्री कोइरालाले आफ्नो जवाफबाट सभासद् सन्तुष्ट भएको पत्रकारलाई बताउनुभयो।
संसदीय दलको बैठक बस्नुअघि परराष्ट्रमन्त्रीका समर्थकले दलको कार्यालयअगाडि उहाँको पक्षमा नाराबाजी गरेका थिए।
एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टीले उठाएका चारवटा एजेन्डामा राष्ट्रिय सहमति नबने निर्णायक जनआन्दोलन गर्नुको विकल्प नभएको बताउनुभएको छ।
पार्टीअन्तर्गतको भारत प्रवासका कार्यकर्तालाई आज राजनीतिक प्रशिक्षण दिँदै अध्यक्ष दाहालले नागरिक सर्वोच्चता, सेना समायोजन, संविधान निर्माण र माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार आफ्नो पार्टीले अघि सारेका न्यूनतम एजेन्डा भएको जानकारी दिनुभयो।
माओवादी शान्ति प्रक्रियाप्रति इमान्दार रहेको बताउँदै उहाँले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन र तोकिएको समयमा नयाँ संविधान निर्माण गर्न माओवादी नेतृत्वमा राष्ट्रिय सरकार एकमात्र विकल्प भएको तर्क राख्नुभयो।
त्यस अवसरमा एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष मोहन वैद्यले कार्यनीतिलाई लिएर पार्टीभित्र कुनै विवाद नरहेको स्पष्ट पार्दै आन्दोलनमा एक ढिक्का भएर लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ।