दिनेश खरेल, नेदरल्यान्डस/ एचकेनेपाल डट कम -
नेपाली जनसंपर्क समिति नेदरल्यान्डसका अध्यक्ष नारायणप्रसाद आचार्यले समितिको बिधान बमोजिम समितिको बिस्तार गर्नुभएको छ।
त्यसैगरी, अध्यक्ष आचार्यले निम्नानुसार कार्य बिभाजन गर्नुभएकोछ। जस अनुसार अध्यक्ष नारायणप्रसाद आचार्य, उपाध्यक्षहरु जीवन बराल, पदमबहादुर क्षेत्री, श्रीराम कंडेल, कृष्णराज अधिकारी, महासचिव थानेश्वर गौतम, सह-सचिब दीपक रेग्मी, कोषाध्यक्ष ठाकुरप्रसाद शर्मा र सदस्यहरुमा दिनेश रिजाल, हिराबहादुर भण्डारी, प्रयागराज खनाल, उतम कंडेल, कर्मा गुरुङ, दिनेश खरेल, प्रबिण बनिया, दीपक पोखरेल, अगन्धर उपाध्याय, रबी बास्तोला, बसन्त पौडेल, राजु हमाल, साबी रिजाल, रत्ना सापकोटा, भिमबहादुर रोका, बिष्णु बास्तोला, कमल शाही, नवरत्न सङ्ग्रौला, सन्तोष लिम्बू, कृष्ण पराजुली, हरीबहादुर कार्की, अरुण घिमिरे रहनु भएकोछ। साथै समितिको प्रवक्तामा श्रीराम कंडेल र प्रचार बिभागमा दिनेश खरेललाई नियुक्त गरिएको छ।
जनसम्पर्क समितिको विभिन्न बिभाग तथा क्षेत्रीय समितिको छिटो भन्दा छिटो बिस्तार र सल्लाहकार समितिको गठन समेत गरिने जानकारी गराउदै सम्पूर्ण नेदरल्यान्डबासी नेपाली दाजुभाइ, दिदिबहिनीहरु तथा बिभिन्न संघ सस्थाहरुप्रति सहयोग र समर्थनको आशा राख्दै आगामी दिनहरुमा समितिले बिविध प्रकारका कार्यक्रमहरुको आयोजना गर्ने जानकारीसमेत अध्यक्ष आचार्यले गर्नुभएको छ।
एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी)का केन्द्रीय सदस्य धर्मचन्द्र लावतीले आवश्यकता परे भोलि नै जनसरकार घोषणा गरी जनअदालत खडा गरेर आफ्नो पार्टीले आम जनतालाई उचित न्यायको अनुभूति दिलाउने बताएका छन्।
विस्तृत शान्ति सम्झौतामा समानान्तर सरकारका गतिविधि सञ्चालन गर्न नपाइने उल्लेख छ।
ताप्लेजुङमा एक साताअघि अज्ञात समूहद्वारा हत्या गरिएका माओवादी कार्यकर्ता लगमध्वज लिम्बूको श्रद्धाञ्जलि सभामा लावतीले वर्तमान सरकारले जनतालाई न्याय दिननसकेकाले माओवादीले यसो गर्न लागेको दाबी गरे।
अर्का केन्द्रीय सदस्य टङ्क आङबुहाङले नागरिक सर्वोच्चतालाई लत्याएर सैनिक सर्वोच्चताका पक्षमा लाग्ने दलहरू जनताबाट टाढिने बताए।
गत सोमबार बेलुकी अज्ञात समूहको गोली प्रहारबाट माओवादीको इलाका कमिटी सदस्य लिम्बुको हत्या भएको थियो।
एचकेनेपाल डट कम संवाददाता-
भक्तपुर सिरुटार गाविस-५ की १९ वर्षीया दृष्टिबिहीन सृष्टी केसी नेपालको प्रतिनिधित्व गर्दै कोरिया गएकी छिन्।
यही भदौ १५ देखि २० गतेसम्म कोरियामा एसियाका १४ वटा देशको सहभागिता हुने दसौँ एसिया प्यासाफिक सङ्गित महोत्सवमा भाग लिन केसी नेपालको प्रतिनिधित्व गर्दै कोरिया गएकी हुन्।
प्रमाणपत्र तहसम्म अध्ययन गरेकी केसी जागृति समाज नेपालको सहयोगमा कोरिया गएकी हुन्। कक्षा आठमा पढ्दै गर्दा जलबिन्दु लागि उनले आँखाको ज्योति गुमाएकी थिइन्। कोरियामा हुने महोत्सवमा नृत्य, गीत र कविता प्रस्तुत गर्ने केसीले बताइन्।
एचकेनेपाल डट कम संवाददाता-
नेपाल बार एसोसिएसनका अध्यक्ष विश्वकान्त मैनालीले आजदेखि परमानन्द झा नेपाली जनताको विधिसम्मत उपराष्ट्रपति नहुने बताएका छन्।
हिजो आयोजित साक्षात्कार कार्यक्रममा मैनालीले झा संसदले निर्वाचित गरेको उपराष्ट्रपतिमात्र भएको दावी गरे।
उपराष्ट्रपतिका कानुनी सल्लाहकार हिक्मत सिंहले उपराष्ट्रपतिले केही गल्ती गर्नु भएकै छैन भन्दै अदालतको फैसला पूर्वाग्रही भएको र फैसलाको सम्मान गरी त्यसमा विमति राख्न मिल्ने बताए।
कानुनविद् शेरबहादुर केसीले यस्तै घटना मनमोहन अधिकारीका पालामा पनि भएको थियो भन्दै त्यसबेला अधिकारीले अस्पतालबाटै आफ्नो गल्ती स्वीकार गर्नुभएको बताए। केसीले उपराष्ट्रपति झाले सपथ नलिए सम्पूर्ण सुविधा खोसिनु पर्ने बताए।
कानुनविद् राधेश्याम अधिकारीले सबै भाषालाई कामकाजमा प्रयोग गर्न सम्भव छैन भन्दै अदालतको फैसलाको सम्मान गर्दैमा झाको गरिमा नघट्ने बताए।
सभासद् एकराज भण्डारीले यस्तो राजनीतिक विषयमा फैसला गर्न अदालतको हैसियत नभएको दावी गरे।
अधिवक्ता कुमुद भट्टराईले उपराष्ट्रपतिले अदालतको फैसला मान्नैपर्छ भन्दै नमानेमा पदमुक्त हुने जिकिर गरे।
एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी) सम्बद्ध संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपालले यही भदौ २१ देखि २९ गतेसम्म देशका प्रमुख शहरमा केन्द्रीयसभा गर्ने भएको छ।
संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपालका कार्यालय सचिव फणीन्द्र देवकोटाका अनुसार प्रथम राष्ट्रिय भेलाद्वारा पारित शान्ति प्रक्रिया, राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित ४५ बुँदे माग आम जनतामा पुर्याउन काठमाडौँ, विराटनगर, गाइघाट, जनकपुर, सुर्खेत, हेटौँडा, बाग्लुङ, बुटवल, घोराही पोखरा, फिदिम, जुम्ला, नेपालगन्ज, दिपायल, धनगढी, बिर्तामोड र रोल्पामा हुने सभामा पार्टी अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेताहरूले सम्बोधन हुने जनाइएको छ।