एचकेनेपाल डट कम सवाददाता-
एकीकृत नेकपा (माओवादी)का कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै धनकुटामा सरकारी कार्यालयहरू र सवारी साधनमा आक्रमण गरी क्षति पुर्याएका छन्।
बन्दकर्ता माओवादीका कार्यकर्ताले बन्दको अवज्ञा गरी कार्यालय खोलेको भन्दै पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय, धनकुटा र जिल्ला शिक्षा कार्यालय, धनकुटामा आक्रमण गरी क्षति पुर्याएका छन्।
बन्दकर्ताहरूले क्षेत्रीय स्वास्थ्य निर्देशनालयको कार्यालयमा ढुङ्गा प्रहार गरी झ्यालका सिसा फुटाउनका साथै कम्प्युटरसमेत ध्वस्त बनाई दिएका छन् भने जिल्ला शिक्षा कार्यालयमा फर्निचर तथा झ्याल ढोका फुटाउनका साथै केही कागजपत्र जलाइदिएको प्रहरीले जनाएको छ।
एचकेनेपाल डट कम सवाददाता-
गृहराज्यमन्त्री रिजमान अन्सारीले विशेष सुरक्षा योजना कुनै व्यक्ति वा पार्टीका विरुद्ध नभई नेपाली नागरिकको हक हित र निर्धारित समयमा संविधान निर्माणका लागि ल्याइएको बताउनुभएको छ।
कपिलवस्तु भ्रमणका क्रममा तौलिहवा आइपुग्नुभएका राज्यमन्त्री अन्सारीले कतिपय दलले विशेष सुरक्षा योजना मधेशविरुद्ध लक्ष्यित भनेकोप्रति आपत्ति जनाउँदै दुर्गम र काठमाडौं उपत्यकामा समेत विशेष सुरक्षा लागु भएकाले भ्रमपूर्ण राजनीति नगर्न आग्रह गर्नुभयो।
जिल्लाका कार्यालय प्रमुखहरूलाई निर्देशन दिने क्रममा उहाँले सरकारले वर्तमान अवस्थामा कुनै जातजाति, भाषा र धर्मका विरुद्ध विशेष सुरक्षा योजना नल्याएको स्पष्ट पार्नुभयो।
उहाँले जातीय मुक्तिको नाममा साम्प्रदायिक हिंसा र मुलकलाई विखण्डन गर्ने खालका गतिविधि पूर्णरूपमा रोकथाम गर्न वर्तमान सरकार लागिपरेको बताउँदै सोहीअनुरूप काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिनुभयो।
राज्यमन्त्री अन्सारीले तराईमा सशस्त्र सङ्घर्षको नाममा भइरहेका अराजक गतिविधि नियन्त्रण गर्न वर्तमान सरकार लागिपरेको बताउँदै एकीकृत माओवादीलाई आन्दोलनभन्दा सहकार्यमा आई निर्धारित समयमा संविधान निर्माण गर्ने प्रक्रियामा सहयोग पुर्याउन आग्रह गर्नुभयो।
एचकेनेपाल डट कम सवाददाता-
नागरिक समाजका व्यक्तिहरूले राजनीतिक दलहरूलाई शान्ति–सम्झौता, ऐन कानुन र अन्तरिम संविधानअनुसार मिलेर अगाडि बढ्न दबाब दिएका छन्।
उनीहरूले दलहरू मिलेर अगाडि नबढे तोकिएको समयमा संविधान बन्न नसकी देशमा थप सङ्कट आउने चेतावनीसमेत दिएका छन्।
मानवअधिकार तथा प्रजातान्त्रिक मञ्च (फोरिड)द्वारा आज यहाँ आयोजित उच्चस्तरीय राजनीतिक संयन्त्रको कार्यादेश, शान्ति स्थापना तथा संविधान निर्माणमा यसको भूमिका विषयक छलफल कार्यक्रममा नागरिक समाजका दमननाथ ढुङ्गानाले प्रस्तुत गर्नुभएको आजको प्रमुख द्वन्द्व र उपयुक्त उपचार शीर्षकको कार्यपत्रमाथि टिप्पणी गर्दै उनीहरूले यस्तो चेतावनी दिएका हुन्।
कार्यपत्र प्रस्तोता ढुङ्गानाले दलहरूलाई तत्काल टेबुलमा बसेर समस्याको समाधान खोज्न आग्रह गर्दै समयमै संविधान बनाउनका लागि मधेसवादी दलहरूसमेत सम्मिलित उच्चस्तरीय साझा संयन्त्र गठन गरी यसैमार्फत संयुक्त राष्ट्रिय सरकार बनाइहाल्नुपर्ने विचार राख्नुभयो।
एचकेनेपाल डट कम सवाददाता-
राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौँले राष्ट्रिय झण्डा परिवर्तन गर्ने प्रस्तावका विरुद्ध सुन्धराबाट विरोध जुलुस निकाली रत्नपार्कमा पुगेर कोणसभा सम्पन्न गरेको छ।
सो अवसरमा पार्टीका उपाध्यक्ष जोगमेहर श्रेष्ठले राष्ट्रिय झण्डा कसैले चाहँदैमा फेर्न नपाइने भन्दै त्यसका विरुद्ध सभामुखलाई छिट्टै ज्ञापनपत्र बुझाइने तयारी भएको बताउनुभयो।
आयोजक समितिका अध्यक्ष शिशिरप्रसाद धितालले राष्ट्रिय झण्डा परिवर्तन भएमा नेपालको अस्तित्व मेटिएर नेपालीको पहिचान गुम्नसक्ने खतरा औँल्याउनुभयो।
एचकेनेपाल डट कम सवाददाता-
पूर्व–पश्चिम राजमार्गअन्तर्गत माकर–२ चिसापानीमा हिजो साँझ भएको दुर्घटनामा ४० जना घाइते भएका छन्।
नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको लु१ख ५१५९ नं. को बसले सडकमा रोकिराखेको ना३ख ९०२ नं.को ट्रकलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो।
दुर्घटनामा परी घाइते भएकामध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ। घाइतेको बर्दघाट अस्पताल र लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको नवलपरासी जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
राजेश राई, धनकुटा/ एचकेनेपाल डट कम-
एकीकृत नेकपा माओबादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीले भोजपुर बहुमुखी क्याम्पस प्रमुख पर्वतकुमार राईलाई कुटपिट गरी घाईते बनाएपछि उन्पन्न विवाद शुक्रबार अन्त्य भएको छ।
शुक्रबार जिल्ला प्रशासन कार्यालयमा भएको र्सवपक्षिय बैठकमा ६ बुँदे सहमति भएपछि विवाद मिलेको हो।
आज भएको सहमतमा माओबादी निकट अखिल क्रान्तिकारीले क्याम्पस प्रमुख राईलाई गरेको कुटपिटको घटना र एमाले निकट विद्यार्थीले वाईसिएलका अध्यक्ष गोपाल तिम्सिनामाथि कुटपिट गरेको घटनाको नैतिक जिम्मेवारी लिएका छन्। त्यस्तै, भोजपुर क्याम्पसको कर्मचारी नियुक्तिको विषयमा सर्वोच्च अदालतमा मुद्दा परि सकेकाले फैसाला नभएसम्म यस विषयमा दुवै पक्षबाट विरोध नगर्ने सहमति भएको छ। यो विषयसंग सम्बन्धित सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिने सहमति समेत भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले बताए।
सहमति पत्रमा एकीकृत नेकपा माओबादी भोजपुरका सहईन्चार्ज खेम सुन्दास, नेपाली कांग्रस भोजपुरका सभापति कुमार राई, नेकपा एमाले भोजपुरका संयोजक शेरधन राई र प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले हस्ताक्षर गरेकाछन्।
कार्तिक ८ गते भोजपुर क्याम्पसमा कर्मचारी नियुक्तिको विषयलाई लिएर अखिल त्रान्तिकारीले क्याम्पस प्रमुख राईलाई कुटपिट गरेको थियो। सो घटनापछि क्रान्तिकारीका जिल्ला अध्यक्ष सुनिता राईले प्रहरीमा आत्म समर्पण गरेकी थिईन्। त्यस्तै, कार्तिक ८ गते वाईसिएल भोजपुरका अध्यक्ष गोपाल तिम्सिनालाई पनि अनेरास्ववियुका कार्यकताले कुटपिट गरेको थियो।
यस घटनामा संलग्न अनेरास्ववियुका केन्द्रीय सदस्य धुवराज राई, जिल्ला अध्यक्ष मकरबहादुर खडका र जिल्ला सदस्यहरु जीवन राई र सुजन राईलाई प्रहरीले पक्राउ गरेको थियो। सहमतिपछि उनीहरु रिहा हुने र ३ दिनदेखि जारी कर्फ्यू राति ११ बजेदेखि हटाउने सहमति भएको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए।
राजेश राई, धनकुटा/ एचकेनेपाल डट कम-
धनकुटाको लेगुवा गाविसस्थित शारादा प्रथामिक विद्यालयका विद्यार्थीहरु एकाएक बेशोस हुन थालेका छन्।
विद्यालयमा अध्ययन गर्न आएका विद्यार्थीहरु कक्षा कोठमा नै एकाएक बेहोश हुन थालेको जनता उच्च माध्यामिक विद्यालयका जितपुरका प्राधनाध्यापक प्रदिप न्यौपानले जानकारी दिए। उनका अनुसार आजदेखि कक्षाकोठामा नै विद्यार्थीहरु बेहोस हुन थालेका हो।
आज विद्यालयका ८ जना विद्यार्थीहरु बेशोस भएको न्यौपानले बताए। यस्तो घटना गत बैशाख महिना पनि भएको र फेरि शुक्रबारदेखि सुरु भएको अभिभावकहरुले बताएका छन्। बेहोश विद्यार्थी हेरेपछि अरु विद्यार्थीहरु पनि बेहोश हुने गरेको न्यौपानले बताए।
यसैवीच, विद्यालयले यो समस्या बारम्बर आएपछि जिल्लास्थित बिभिन्न सरोकार निकायसंग सहयोगको याचना पनि गरेको छ।
राजेश राई, धनकुटा/ एचकेनेपाल डट कम-
एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरुले वन्दको अवज्ञा गरेको भन्दै आज धनकुटाका दुइवटा सरकारी कार्यालयमा तोडफोड र आगजानी गरेका छन्।
एकीकृत नेकपा माओवादी कार्याकर्ताहरुले आज दिउँसो जिल्ला शिक्षाका कार्यालय धनकुटाका र पूर्वाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनालय धनकुटा कब्जामा लिएर तोडफोड गरेका हुन्। उनीहरुले कार्यालयमा रहेका कर्मचारीहरुलाई वन्दको अवज्ञाको गरेको भन्दै दुर्व्यवहार पनि गरेका छन्।
एकीकृत नेकपा माओवादीका जिल्ला सेक्रेटरी उज्वल किराती नेतृत्वमा रहेको समूहले दिउँसो १२ बजे जिल्ला शिक्षा कार्यालयमा कब्जामा लिएर तोडफोड गरेका हुन्। उनीहरुले जिल्ला शिक्षा अधिकारी झुमप्रसाद राईको कार्यकक्षामा रहेको कुर्सी, कागजपत्र, कर्मचारीहरुको व्याक्तिगत डायरीसमेत जलाएको एक कर्मचारीले बताए। यस्तै, शिक्षा कार्यालयको झ्यालका सिसाहरु पनि फुटाएका छन्। उनीहरुले कर्मचारीहरुमाथि समेत दुर्व्यवहार गरेको कर्मचारीहरुले बताएका छन्। उनीहरुले पेट्रोल छर्केर जिल्ला शिक्षा कार्यालयको सबै सामान जलाउने तयारी गरेपनि प्रहरी पुगेपछि जलाउन नपाएको प्रहरी निरिक्षक दुर्गा दाहालले बताए।
यसै गरी, माओवादी कार्यकर्ताहरुले पूर्वाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनालय धनकुटामा पनि आगजानी र तोडफोड गरेका छन्। कार्यालयको ५ वटा झयालको सिसा र एक कम्प्युटरको मोनिटर फुटाएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ। कार्यालयको अन्य कागजपत्र पनि जलाएको प्रहरीले बताएको छ। क्षेत्रिय स्वास्थ निर्देशनालय धनकुटाका कर्मचारीमाथि पनि माओवादी कार्याकर्ताहरुले अपशब्द प्रयोग गरेको कर्मचारीहरुले बताएका छन्। नाम नबताउने एक कर्मचारीले भने,’हामीलाई मनपरी भन्दै कार्यालय तोडफोड गरी आगजानी गरे।’
यसैगरी माओवादी कार्यकर्ताहरुले आजै धरानबाट छिन्ताङ्ग देवी मन्दिर तर्फजादै गरेको को १ च ३८३६ नम्वरको पजेरो गाडीलाई धनकुटा क्याम्पस गेटमा नियन्त्रणमा लिएर तोडफोड गरेका छन्। प्रहरीले गाडीलाई छिटै नियन्त्रण लिएपछि सामान्य क्षति मात्रै भएको प्रहरीले वताएको छ। एकीकृत नेकपा माओवादी धनकुटा सेक्रेटरी उज्जवल किरातीले भने बन्दको अवज्ञा गरीएकाले तोडफोड गरिएको बताए । गाडीमा उनीहरुले क्याम्पस गेट अगाडि ढुङ्गामुढा प्रहार गरेका थिए।
एचकेनेपाल डट कम संवाददाता-
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान निर्माणका बेला आन्दोलन गरेर प्रजातन्त्रको विरुद्धमा उत्रिएमा एकीकृत नेकपा (माओवादी) को हालत पनि पूर्व राजाको जस्तो हुने बताउनुभएको छ।
माओवादीले सुरु गर्न लागेको आन्दोलनलाई शक्ति प्रयोग गरेर दमन गरिए सरकारका सहभागी दलहरूको हालत पूर्व राजा ज्ञानेन्द्रको जस्तो बनाइदिने माओवादीले चेतावनी दिएको भोलिपल्ट नेता देउवाको यस्तो धारणा सार्वजनिक भएको हो।
प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता देउवाले भन्नुभयो, ‘संसदीय धारमा आएर चुनावमा प्रतिस्पर्धा गरेको माओवादीले संसद अवरुद्ध गर्नु देशलाई मुठभेडतर्फ लैजानु हो।’
एचकेनेपाल डट कम संवाददाता-
घरेलु आपसी विवादमा गए राति महोत्तरी जिल्लाको कट्टी गाउँमा एउटै परिवारका चार जना गम्भीर घाइते भएका छन्।
घाइते हुनेहरूमा जिल्लाको सानोकट्टी बस्ने ४५ वर्षीय दिलीप साह, निजका जेठो छोरा ३० वर्षीय रामनन्दन, कान्छो छोरा २५ वर्षीय रामदिनेश र निजकी बुहारी ३० वर्षीया ममतदेवी साह रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ।
गम्भीर घाइते ती चारै जनालाई आज बिहान करिब ४ बजे स्थानीय छिमेकीहरूले उपचारको लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याएको प्रहरीले जनाएको छ।
एचकेनेपाल डट कम संवाददाता-
सशस्त्र प्रहरीको कुटाइबाट गएराति वीरगन्ज उपमहानगरपालिका वडा नं. १९ इनर्वाका एक सर्वसाधारणको ज्यान गएको छ।
गए राति करिब ८ः३० बजे खेतमा पानी लगाउन गएका इनर्वाका स्थानीय ५५ वर्षीय मोजाहिर अन्सारीको सशस्त्र प्रहरीको कुटाइबाट ज्यान गएको स्थानीयवासीले आरोप लगाएका छन्।
राति आफ्नो खेतमा पानी लगाउन गएका बेला अपराधी ठानी सशस्त्र प्रहरीले कुटेपछि अन्सारीको मृत्यु भएको बताए पनि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुवोध घिमिरेले बताउनुभयो।
मृतक अन्सारीको शव स्थानीयवासीले आफ्नो नियन्त्रणमा लिएको छ। घटनाको विषयलाई लिएर गाउँलेहरू आक्रोषित बनेका छन्।
एचकेनेपाल डट कम संवाददाता-
श्रीलङ्काका राष्ट्रपति महिन्दा राजपाक्ष लुम्बिनी क्षेत्रको भ्रमणका निम्ति आज नेपाली सेनाको विशेष हेलिकप्टरबाट लुम्बिनी पुग्नुभएको छ।
राष्ट्रपति राजपाक्षका साथ उहाँकी धर्मपत्नी र भ्रमण दलमा सहभागी पाँचजना मन्त्रीसहितका सदस्यहरु हुनुहुन्छ।
राष्ट्रपति राजपाक्ष लुम्बिनी आइपुग्नुहुँदा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झा, लुम्बिनी विकास कोषका उपाध्यक्ष कर्मा सेङबु शेर्पाले स्वागत गर्नुभएको थियो।
राष्ट्रपति राजपाक्षले श्रीलङ्का सरकारले लुम्बिनी परिसरमा निर्माण गरेको बौद्ध स्तुपको उद्घाटन गर्ने कार्यक्रम छ।
एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी)को आज पार्टी केन्द्रीय कार्यालय, पेरिस डाँडामा बसेको बैठकले यही १५ गतेबाट हुने आन्दोलनलाई शान्तिपूर्ण ढङ्गले प्रभावकारी तुल्याउने निर्णय गरेको छ।
केन्द्रीय समिति,नेवाः र ताम्सालिङ राज्य समितिका पदाधिकारी, जनवर्गीय सङ्गठनका प्रमुख र उपत्यकाभित्रका सङ्गठन इन्चार्जहरुको सहभागिता रहेको उक्त बैठकमा सहभागीहरुले दिएको सुझावले महत्वपूर्ण ऊर्जा मिलेको पार्टीले जनाएको छ।
बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैँ पार्टी अध्यक्ष पुष्पकमल दाहालले आन्दोलन शान्तिपूर्ण ढङ्गले परिचालन गरिने बताउनुभयो।
उहाँले भन्नुभयो–आन्दोलनलाई दमन गर्ने हैसियत सरकारको छैन्, यदी दमन गरे त्यसबाट आउने परिणामको भागी स्वम् सरकार हुनेछ।
सो पार्टीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले वार्ता र आन्दोलनलनलाई सँगसँगैलगिने जानकारी दिदैँ सरकारले आह्वान गरेको अमुर्त वार्ताले समस्या समाधान भइहाल्छ भन्ने आसा नगरिएको बताउनुभयो।
उहाँले भन्नुभयो–पाँच महिनादेखि भएको वार्ताले त कुनै निष्कर्ष दिएन भने, दुईदिनभित्र हुने वार्ताले के निकास दिन सक्छ, हामीले आन्दोलन चाहेका थिएनौं, वार्ताबाट निकास ननिस्केएपछि बाध्यताले आन्दोलन गर्नुपरेको हो।
एचकेनेपाल डट कम संवाददाता-
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रधानमन्त्री माधवकुमार नेपालको प्रस्तावमा उनका माहिला भाई विनोदकुमार उपाध्यायलाई महावाणिज्यदूत नियुक्त गरेको छ। (more…)
काठमाडौं, २९-१०-२००९
नइ प्रकाशनले विविध क्षेत्रमा समर्पित भई आआफ्नो ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने नौजना बालिकालाई २०६६ सालको नइ देरुनिखपु बाल पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
साहित्यतर्फको सो पुरस्कार विभु लुइटेल र ऋभु लुइटेललाई संयुक्त रूपमा प्रदान गरिने भएको छ। यसैगरी नइ देरुनिखपु बाल पुरस्कारबाट पुरस्कृत हुनेहरूमा चित्रकलातर्फ रीया तण्डुकार, गायनतर्फ नीर्जला पराजुली, नृत्यतर्फ ईप्सु ढकाल खेलकुदतर्फ रमीता चौधरी र रेडियो पत्रकारितातर्फ श्रीजा रेग्मी हुनुहुन्छ। यी पुरस्कारका राशि जनही दस हजार रूपियाँ रहेका छन्।
यसै गरी गायनमा प्रियाञ्जली शर्मा र नृत्यमा मार्टिना महर्जनलाई नइ देरूनिखपु कोपिला पुरस्कार प्रदान गर्ने निर्णय भएको छ। यी पुरस्कारका राशि जनही पाँच हजार रूपियाँ रहेका छन्।
नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको नइ प्रकाशनको साधारणसभाले सो निर्णय गरेको हो।
नइ प्रकाशन र दाता खनूपरूदे ‘रामबाबू’का बुबा लप्टन देवीप्रसाद प्रसाई, आमा रुद्रकुमारी, पत्नी नीलिम, दाता खनूपरूदे रामबाबू र पत्नी पूनावतीका नाउँका अघिल्ला अक्षरहरू जोडेर गत वर्ष यी पुरस्कारको स्थापना गरिएको थियो।
नइ प्रकाशनले हरेक वर्ष अठारवटा पुरस्कार प्रदान गर्ने गर्छ। तीमध्य दसदेखि पन्ध्रवर्षसम्मका छजना बालबालिकालाई नइ देरूनिखपु बाल पुरस्कार र पाँचदेखि दस वर्षसम्मका दुईजना बालबालिकालाई नइ देरूनिखपु कोपिला पुरस्कार प्रदान गरिने छ।
(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव
नइ प्रकाशन
राजेश राई, धनकुटा /एचकेनेपाल डट कम -
पूर्वाञ्चलब्यापी सारङ्गी प्रतियोगिता-२०६६ को उपाधि भोजपुर जरायोटार निवासी तेजेन्द्र गर्न्धवले जितेका छन्। घामै छायाँले, नमर्नु, नबाच्नु पार्यो मायाँले भन्ने बोलको गीतको लयमा सराङ्गीको धुन रेटेर उनले यो उपाधि जित्नु भएका हुन्।
प्रथम तेजेन्द्र गन्धर्व। तस्वीरः राजेश राई, धनकुटा /एचकेनेपाल डट कम
उनले आफूसंगै आएका सारङ्गी बजाएर बुढो भएका सुरेश गन्धर्न्व, डम्बर गर्न्धर्व जस्ता हस्तीलाई उछिन्दै प्रथम स्थान प्राप्त गरेका थिए। प्रथम स्थान प्राप्त गरेपछि छोटो प्रतिक्रिया दिँदै उनले गाउँगाउँमा बजाउदै आएको सारङ्गीले सम्मान दिएको बताए।
नेपाल म्युजिक सेन्टर काठमाडौं र रेडियो मकालु धनकुटाले आयोजना गरेको यो प्रतियोगितामा पूर्वाञ्चलका विभिन्न्न जिल्लाबाट १० जना सारङ्गी बाधकहरुको सहभागिता रहेकोमा सुनसरीका सुरेश गर्न्धर्वले दोस्रो भोजपुर जरायोटार कै डम्बर गन्धर्वले तेस्रो र झापाका तारा गन्धर्वले सान्त्वना पुरस्कार जितेका छन्। उनीहरु काठमाडौंमा हुने राष्ट्रिय सारङ्गी प्रतियोगिताको लागि छनौट भएका छन्। प्रतियोगितामा कलाकार खेमराज गुरुङ, प्रकाश गुरुङ, किरण राई र नर्वेका संगीतकार स्वान वास्टर्टले निर्णायकको भूमिका निभाएका थिए।
राष्ट्रिय प्रतियोगिताका छनोट भएका सारङ्गी वाद्यकहरू।
यो प्रतियोगिताको उद्घाटन गर्नु हुँदै कायममुकायम पूवाञ्चल क्षेत्रिय प्रशासक धरणीधर खतिवडाले संगीत क्षेत्रमा व्यापक अतिक्रमण भईरहेकाले नेपाली कला र संस्कृतीलाई जोगर्ना गर्न राज्य जिम्मेवार हुनु बताए।
प्रतियोगितामा नेपाल म्यूजिक सेन्टरका संयोजक एवं संगीतकार बुलु मुकारुङले सारङ्गी बाजालाई संगीत शिक्षाको पाठ्क्रममा राख्न विषेश तयारी भईरहेको जानकारी दिए। सारङ्गी बाजालाई गन्धर्व जातिमा मात्र सिमित नराखी राष्ट्रको मौलिक बाजाको रुपमा स्थापित गर्न यो प्रतियोगिता आयोजना गरेको उनले बताए।
त्यस अवसरमा बोल्दै रेडियो मकालुका प्रवन्ध निर्देशक कुलप्रसाद राईले रेडियो मकालुले स्थानिय स्तरको कला र संस्कृतिको संरक्षण एवं प्रवर्द्धनको लागि निरन्तर लागिरहने बताए।
यस अवसरमा गायक खेमराज गुरुङ र नेपाल म्युजिक सेन्टरकी कलाकार बर्त गन्धर्वले गीत गाएर दर्शकहरुलाई नचाएका थिए। सुरभी होटलको हलमा भएको यो प्रतियोगितामा नर्वेका संगीतकार स्वान वास्टर्टले नेपाली बाजा मुचुङगा बजाएर दर्शकलाई मनोरञ्जन दिएका थिए।
अप्रिय निर्णय गर्नुपर्ने बाध्यता
प्रिय पाठक गण,
आज हामी एउटा अत्यन्त अप्रिय निर्णयका साथ उपस्थित भएका छौं। हामी ५ जना नेपाल कार्यालयमा काम गर्दै आएका स्टाफले विगत साढे दुई वर्षदेखि पारिश्रमिक पाएका छैनौ। आज हुन्छ भोलि हुन्छ भन्दै नेपालस्थित सम्पादक दिनेश बस्नेतको भनाइमा विश्वास गर्दै हामीले निरन्तर काम गरेका थियौ। तर, अहिलेसम्म पनि त्यस विषयमा कुनै सुनुवाई नभएकाले हामी बाध्य भएर यो निर्णयमा पुगेका हौं।
प्रिय पाठक, विज्ञापनदाता तथा शुभचिन्तक मित्रहरु,
विगत २ वर्षदेखि पारिश्रमिक दिइएन। विगतमा धेरै पटक स्वार्थपूर्ण समाचार तथा लेख रचना सम्प्रेषण गर्न बाध्य पारियो। दबाव दिइयो। तसर्थ हामीले आजैका मितिबाट फ्री नेपाल डट कमबाट सामूहिक राजीनामा दिएका छौ। हाम्रो श्रम शोषण भएको छ । साथै हाम्रो पारिश्रमिक उपलव्ध गराउनसमेत माग गर्दछौ । हामी नेपालमा लागु श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्नसमेत यसै बेला माग गर्दछौ।
हामी पेशाकर्मी हौं, हामी तपाईहरुसामू कुनै न कुनै माध्यमबाट प्रस्तुत भइनै रहनेछौ। साथै आजैका मितिदेखि विगतमा प्रधानसम्पादक रहँदै आएका डा. मधुकृष्ण श्रेष्ठलगायत पुरानो टिमलाई हटाइएको छ। सम्पादक दिनेश बस्नेतले समेत आफू नरहने बताउनुभएको छ। श्रमशोषणविरुद्धको हाम्रो अभियानमा सम्पादक दिनेश बस्नेतबाट समेत सहयोगको अपेक्षा गरेका छौ। साथै हाललाई हामीले एफएनएन डट कम डट एनपी र फ्री नेपाल डट कम डट एनपी (
http://www.fnn.com.np or http://www.freenepal.com.np) मार्फत पूर्ववत सेवा दिने कोशिषमा रहनेछौं। हामीले फ्री नेपाल डट कम छोडेका हौ तपाईहरुलाई होइन। हामीले खाइनखाई विगतमा गरेको सेवालाई हृदयदेखि नै सहयोग गर्दै आउनु भएका र सद्भाव व्यक्त गर्नु हुने सबैमा आगामी दिनमा पनि पूर्ण सहयोगको अपेक्षा गर्दछौ।
लक्ष्मी कुँवर
सनमान लामा
मिना क्षेत्री
दिपक बस्नेतका साथै दुई जना फोटो पत्रकार
मोहन बानियाँ, साउदी अरब/ एचकेनेपाल डट कम-
साउदी अरबको रियादस्थित पुरानो रियादको बाटोमा पर्ने अल सुलईमान मजराहा कृषिमा तिहार मनाउने क्रममा नेपाली नेपालीबीच टिभि च्यानलको विषयमा झगडा हुंदा एकको मृत्यु भएको छ भने चार जना साउदी अरबको जेलमा परेका छन्।
झगडामा मृत्यु हुनेमा तनहूँका डिलबहादुर श्रेष्ठ रहेका छन्। ढिलो गरी प्राप्त जानकारीका अनुसार अक्टोबर १६ तारिख साँझ टिभी च्यानलको विषयमा झगडा हुंदा श्रेष्ठको पेटमा छुरा प्रहार भएको थियो। गम्भीर घाइते भएका श्रेष्ठलाई अस्पताल लैजाँदा गर्दा बाटोमा मृत्यु भएको थियो।
बिगत ५/ ६ महिनादेखि डिलबहादुर श्रेष्ठ तनहुँ, रामबहादुर तामाङ सिन्धुपाल्चोक, सन्तोषकुमार जमर कटेल बैरबन्द मोरङ खीपुरी, चित्रबहादुर चितवन ५ जना एकै ठाउंमा काम गर्दै आएका थिए।
रात्रि भोजनको सयममा टिभि च्यानलको विषयमा झगडा हुंदा ३४ बर्षीय सन्तोषकुमार जमर कट्टेललाई, तनहूँका डिलबहादुर श्रेष्ठ, सिन्धुपालचोकका रामबहादुर तामाङले पहिले हातपात गरेपछि रिसको झोकमा सन्तोषकुमार जमर कटटेलले कोठाबाट धारिलो छुरी ल्याई सिन्धुपाल्चोकका रामबहादुर तामाङलाई पहिलो प्रहार गर्दा देब्रे खुट्टामा लागेको थियो।
दोस्रो प्रहार तनहुँका डिलबहादुर श्रेष्ठलाई पेटमा प्रहार गरी छुरी पेटबाट ननिकालिकन छुरी माथि उचालि दिएका थिए। साथीहरुको भनाई अनुसार डिलबहादुरलाई छिटो अस्पताल लगेको भए बाँच्न सक्ने बताए। छुरी प्रहारपछि पनि सन्तोषकुमार जमर कट्टेल त्यहाँबाट भागेका भने थिएनन्। केही समयपछि भागेर काम गर्दै आएको (साउदी कपिल) कम्पनी मालिकलाई फोन गरी बोलाए पनि डिलबहादुरको रगत धेरै बगेका कारण अन्तिम अवस्थामा पुगिसकेको र अस्पताल लैजादै गर्दा बाटोमा डिलबहादुर श्रेष्ठको मृत्यु भएको जनाए। मृतकलगायत चारै जना अभियुक्त अबैध रुपमा भागेर काम गर्दै आएका थिए।
हाल चार जना नेपालीलाई साउदी अरबको खलेदिया हिरासतमा राखिएको छ। घटनासम्बन्धी छानविन र अदालती कारवाही गर्न कम्तीमा दुई हप्ता लाग्ने बताइए पनि अब यी नेपालीहरुलाई साउदी सरकारको कानुन अनुसार कारवाही गर्दा मृत्युदण्ड सजाय हुन सक्ने बताइन्छ।
साउदी अरबमा मृतक डिलबहादुर श्रेष्ठका कोही आफन्त रहे नेपाली दूतावासमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ।
एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी)ले आफ्नो कार्यकर्ताको हत्याको विरोधमा आजदेखि आह्वान गरेको लिम्बुवानक्षेत्र बन्दको क्रममा धनकुटा जिल्लामा एक सवारीसाधन तोडफोड गरेका छन्।
बन्दलाई सफल बनाउन हिडेका एकीकृत (माओवादी)का कार्यकर्ताहरुले जिल्ला सदरमुकाम, धनकुटामा बन्दको अवज्ञा गरेको भन्दै एक मिनिट्रक तोडफोड गर्नुका साथै आधा दर्जन मोटरसाइकलको चाबी खोसेका छन्।
बन्दको क्रममा आज कोसी तथा मेची र सहिद नारदमुनी थुलुङ राजमार्गमा कुनै पनि यातायातका साधन चलेका छैनन् भने धनकुटा बजारलगायत पहाडी जिल्लामा शैक्षिक संस्था तथा बजार पूर्णरुपमा बन्द भएका छन्।
ताप्लेजुङमा केही महिनाअघि हत्या भएका कार्यकर्तालाई सहिद घोषणा गरी परिवारलाई उचित क्षतिपूर्ति दिई दोषीलाई कडा कारबाही गर्नुपर्ने, शान्तिसुरक्षा कायम गरी दण्डहीनतालाई रोक्नुपर्नेलगायतका मागराखी आजदेखि एकिकृत नेकपा (माओवादी)को लिम्बुवान राज्य समितिले धनकुटा, तेह्रथुम, इलाम, पाचथर र ताप्लेजुङ जिल्ला अनिश्चितकालीन बन्दको आह्वान गरेको छ।
रघु त्रिपाठी, दक्षिण कोरिया/ एचकेनेपाल डट कम-
कोरियाको राजधानी सउलको मुटुमा रहेको सेजोङ् कल्चरल सेन्टरमा सउल नगरपालिकाले सउलको बिकाशमा टेवा पुर्र्याउने नेपालीहरुलाई मानार्थ कोरियन नागरिकता प्रदान गरेको छ।
प्रत्येक वर्षप्रदान गर्दै आएको कोरियन नागरिता ५० वर्ष पुगेको अवसर पारी बुधवार आयोजना गरिएको नागरिता बितरण कार्यक्रममा झापा निवासी नेपाली नागरिक केपी सिटौलालगायत १६ जना बिदेशी नागरिकलाई मानार्थ कोरियन नागरिकता बितरण गरिएको छ।
कोरियास्थित बिशेष गरेर सउलको बिकाशमा विदेशी नागरिकहरुले गरेको योगदानको कदर गर्दै सउल नगरपालिकाले उक्त नागरिता प्रदान गर्दै आएको छ। सउल नगरपालिकाले नागरिता बितरण सुरु गरेको ५० औं वर्ष पुगेको विशेष अवसरमा पहिलो पटक एकजना नेपालीलाई कोरियन नागरिता प्रदान गरेको हो।
हाल सम्म ६०७ जना बिदेशी नागरिकहरुले उक्त नागरिता प्राप्त गरेका छन् भने साउथ एशियाबाट भारतका दुइजना श्रीलंका एकजना तथा नेपालका एकजना गरी जम्मा ४ जना बिदेशी नागरिकले सो मानार्थ नागरिता प्राप्त गरेका छन्। कार्यक्रममा बिभिन्न मुलुका राजदूत तथा बिशिष्ठ ब्यक्तिहरुको उपस्थितिमा नगर प्रमुख ओ से हुनले एकजना नेपालीसहित १६ जना बिदेशी नागरिकहरुलाई एक भब्य समारोका बिच नागरिता प्रदान गरेका हुन्। उक्त कार्यक्रममा नेपाली राजदूत कमलप्रसाद कोइरालाको पनि उपस्थिति रहेको थियो।
श्री सिटौलालाई उक्त मानार्थ नागरिता पर्यटन प्रवर्द्धन तथा साँस्कृतिक बिकाशमा सउल नगर पालिकाले सन् २००१ बाट सुरु गरेको सबैभन्दा ठूलो कार्यक्रम हाई सउल फेस्टिवलमा नेपालको तर्फबाट दुई देशको साँस्कृतिक आदान प्रदान र पर्यटन बिकासमा पुर्र्याएको योगदान र प्रवासीहरुको लागि सहयोग स्वरुप माइग्रेट आरिराङ फेस्टिवलको नेपालीमा उल्था गरिएको प्रवासी मजदुर साँस्कृतिक गाइड बुक त्यसै गरी, नेपाल घुम्न जाने कोरियनहरुका लागी कोरियन भाषामा तयार गरिएको गाइड बुक सेगेरो खान्दा जस्ता महत्वपूर्ण योगदानहरुलाई आधार मानिएको छ।
नागरिकता पाउनको लागि सिटौलालाई कोरियामा नेपाली दूतावास खुल्नु अगाडि बिगत ६ वर्षसम्म नेपालका लागि महावाणिज्यदूत तथा हाल नेपाल कोरिया मैत्री संघका प्रमुख ली इन जङ् पूर्व जेसिएम केका प्रमुख तथा हालका इन्छन् माइग्रेट प्रमुख फाक ग्यङ् स कोरियाका लागि नेपाली राजदूतावासलगायत ५ जना भन्दा बढी विशिष्ट ब्यक्तिहरुको सिफारिसमा उहाँले यो मानार्थ नागरिता प्राप्त गरेका हुन्।
स्मरणीय रहोस्, बिगत १७ बर्षदेखि कोरिया बसोवास गर्ने क्रममा कोरियामै फेसन डिजाइनिङ कोर्ससमेत गर्नु भएका सिटौलाले हाल ब्यावसायिक रुपमा ट्राभल्स एजेन्सी र रेष्टुरेन्ट सञ्चालन गरिरहनुभएको छ।
चन्द्रप्रकाश शर्मा, बागलुङ/ एचकेनेपाल डट कम-
बालवैज्ञानिक कुशल के.सी.ले अन्ततः सोलार कार बनाएका छन्। पाँच महिनाअघि आफूद्वारा निर्मित ‘स्पीडीइगल’ नामक हेलिकप्टरको प्रदर्शन गर्ने क्रममा सोलार कार बनाउने घोषणा गर्दा कत्तिले पत्याएकै थिएनन् होला, तर कुशलले निर्माण गरेको सोलार कार सार्वजनिक कार्यक्रममा हेर्न आउने भीडलाई एक्कासी आश्चर्य चकित बनाएका छन्। आफ्नो सोलार कार विद्यालय परिसरमा गुडाएर।
तस्बीरःसोलार कारका साथ फोटो खिचाउंदै कुशल केसी। चन्द्रप्रकाश शर्मा।
कुशलले गाडी गुडाईरहंदा दर्शकदीर्घबाट तालीको गडगडाहटले बधाई दिएका थिए। अमृत आदर्श उच्च मावि कक्षा १० मा अध्यनरत कुशल केसी- -१६ बर्षले सोलार, ब्याट्री र मोटरको प्रयोग गरी ‘सोलार कार’ निर्माण गरेका हुन्। कुशलद्वारा निर्मित कारमा तीन जना बस्न सकिन्छ। सामान्य आर्थिक अवस्था भएका कुशलले विद्यालय, साँस्कृतिक कार्यक्रम विभिन्न संघ/संस्था र व्यक्तिगत गरी ६ लाखको लागतमा उक्त सोलार निर्माण गरेको बताउनुभयो।
२० वाटको प्यानल ६ वटा, १८ एम्पाएरको ब्याट्री २० वटा र मोटरको प्रयोग गरी उक्त सोलार कार निर्माण गरेका कुशलले बताउनुभयो। कुशलद्वारा निर्मित सोलार कारलाई उद्घाटनपछि सदरमुकाम बागलुङ बजार घुमाईएको थियो। सानै उमेरमा सोलार कार निर्माण गरी सदरमुकाम बागलुङ बजारमा गुडाईरहंदा नगरबासीले तालीको गड्गडाहटबाट कुशललाई बधाई दिएका थिए।
‘सामाग्री जुटाउन मात्रै तीन महिना लाग्यो’ कुशलले भन्नुभयो- ‘साम्रगी जुटाएपछि ४२ दिनमा नै सोलार कार निर्माण सम्पन्न भयो ।’ कुशलले निर्माण गरेको सोलार कारको तौल ३ क्विन्टल रहेको छ। ‘सोलार कार प्रतिघण्टा ५० किमी गुड्न सक्छ’ विद्यालय, विभिन्न संघ/संस्था र विशिष्ट व्यक्तित्वबाट सम्मानित हुंदा प्रसन्न भएका कुशलले भन्नुभयो- ‘यो त नमुना सोलारकार मात्रै हो, आर्थिक सहयोग मिलेमा विविधायुक्त कार बनाउने सोच गरेको छु।’
‘सोलार कारको नै अवधारणा कसरी आयो भन्ने सञ्चारकर्मीको प्रश्नमा कुशलले भन्नुभयो- ‘धुंवाबाट प्रदुषित बन्दै गएको विश्वको वातावरण जोगाउन र परनिर्भर नेपालमा सधै खड्किरहने डिजेल/पेट्रोलको अभावलाई पूर्ति गर्न सोलार कार निर्माणमा रुची जाग्यो। ‘ सोलार कार निर्माण गर्ने घोषणा गरी आर्थिक संकलन अभियान संचालन गरेपनि सरकारी निकायबाट कुनै किसिमको सहयोग नपाउंदा आफूलाई दुःख लागेको कुशलले बताउनुभयो। उहाँले भन्नुभयो- ‘सरकारले सहयोग गरेमा नयाँ प्रविधिको विकास गर्न सकिन्छ भन्ने सोच छ।’ सो अवसरमा कुशलका बाबु भिम केसी र आमा रुद्र केसीलाई विद्यालयले सम्मान गरेको थियो।
बाबु भिम केसी र माता रुद्र केसीको कोखबाट २०५० चैत्र १७ गते जन्मिएका कुशलले यसअघि ‘स्पिडी इगल’ नामक हेलिकप्टर, डायोनामो, माइक्रोप्रोजेक्ट, टेलिस्कोप, फोटो प्रोजे्रक्नटर समेत निर्माण गरिसकेका छन्। कुशलका पिता रुद्रले प्राइभेट क्षेत्रको पानी, बिजुली र फोनको महशुल उठाउने काम गर्छन भने आमा रुद्रले सिलाई प्रशिक्षण केन्द्रमा काम गर्छिन। दुई छोरा र दुई छोरीको लालनपालन गर्दै आएका रुद्रले छोरा कुशलको उद्धेश्यलाई सफल बनाउने लागि आर्थिक संकलनमा जुटेका छन्।
२८ अक्टोबर,ब्रसेल्स
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का केन्द्रीय अध्यक्ष डा. कुमार बस्नेतलाई पितृ शोक परेको छ।
अक्टोबर २५ का दिन उहाँको पुजनिय बुबा दिलबहादुर बस्नेतको ८० वर्षको उमेरमा असामयिक निधन भएको छ। फोक्सोको विरामी तथा मधुमेहद्वारा पीडित उहाँ केही महिना अगाडिदेखि अस्वस्थ हुनुहुन्थ्यो।
यस दुःखद घडिमा मृत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै अनेसास केन्द्रीय समितिलेले एक प्रेस बिज्ञप्ति प्रकाशित गरी हार्दिक समवेदना प्रकट गरेकोछ।
रवि भट्ट, रत्ननगर / एचकेनेपाल डट कम-
चितवन युवा समूह गुञ्जनगर साखा दोहाले भुवनवस्ती उपस्वास्थ्य चौकीलाई १ लाख रुपैया नगद सहयोग हस्तान्तरण गरेको छ।
उपस्वास्थ्य चौकीमा आवश्यक पर्ने उपकरण खरिद गर्नका लागि उक्त रकम शाखाका संरक्षक रामहरी गैरेले एम्बुलेन्स व्यवस्थापन समितिका संयोजक गोविन्द गुरुङ, कोषाध्यक्ष रामभक्त गैरे र उपस्वास्थ्य चौकीका इन्चार्ज हरिश्चन्द्र न्यौपानेलाई हस्तान्तरण गर्नुभएको हो।
गुञ्जनगरबाट कामको सिलसिलामा कतार पुगेका र कतारमा रहेका अन्य नेपाली समाजसेवीहरुले पनि उक्त रकम सहयोग गरेको गैरेले जानकारी दिए। उनले आफू अत्यन्तै गरिव भएको र गरिवीको पीडा वुझेकोले जहाँ गएपनि सदा समाजसेवा गर्ने वताए।
पदमप्रसाद ढकाल सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गुञ्जनगरबाट कतार गई कार्यरत युवाहरुलाई उनीहरुको घरबाट चौकीसम्म पञ्चेवाजाले स्वागत गरिएको थियो।
भुवनवस्तिका विभिन्न संघ संस्था, आमा समूहलगायत सम्पूर्ण पार्टी प्रतिनिधिको उपस्थितिको लागि एउटा एम्बुलेन्स खरिद गर्नको लागी प्रस्तावित समिति गठन गरेको पनि कार्यक्रममा जानकारी दिईएको थियो। सम्पूर्ण अतिथिहरुले सहयोगको सरहना गरी चितवन युवा समूहलाई धन्यवाद दिएका थिए।