Archive for November, 2009

कतारमा २१ अलपत्र, १ को मृत्यु

दीपक पौडेल, दोहा/ एचकेनेपाल डट कम-
बैदेशिक रोजगारीका लागि कतार आएर विगत १० महिनादेखि अलपत्र रहेका एक नेपाली युवाको सुतिरहकै अवस्थामा हृदयाघातबाट मृत्यु भएको छ।

आठविस डाँडागाउँ- ८, ठूलीबार्खु, रुकुमका इन्द्रबहादुर पुन मगरको गत १८ नोभेम्बरमा असमायीक निधन भएको उनकै गाउँका कर्णवहादुर परियारले जनाएका छन्।

मन्सुरास्थित एक क्याम्पमा सुतिरहेकै अवस्थामा रातको १ बजे हृदयाघातबाट मृत्यु भएका २७ वर्षीय इन्द्रबहादुर १० महिनाअघि एक भवन निर्माण कम्पनीमा श्रमिककारुपमा कतार आएका हुन्। मृतककावारेमा आफन्त तथा सहकर्मीहरूले नेपाली दूतावासमा जानकारी गराइसकेका छन् भने हाल हमद अस्पतालमा रहेको मृतकको शव आवश्यक कानुनी प्रकृयापश्चात केही दिनभित्रमा नेपाल पठाइने भएको छ।

दोहामा अलपत्र अवस्थामा जीवनयापन गर्दै आएका इन्द्रबहादुरलाई यथासक्य सहयोग गर्दै आएका कर्णबहादुर परियारले जनाए अनुसार कतार आएदेखि नै उनले काम गर्ने भनिएको कम्पनी पत्ता लागेको थिएन। आएदेखि नै कम्पनीविहिन हुनेहरुमा अन्य २१ जना युवाहरू पनि छन्। कर्णबहादुरले जनाए अनुसार कम्पनिविहिन ती युवाहरूमध्ये इन्द्रबहादुरसहित ८ जना एकै गाउँ, रुकुमको ठूलीबार्खुका हुन्। ‘यी २१ जनाको अवस्था अत्यन्तै नाजुक छ’ पीडितहरूलाई सहयोग गर्दै आएका कर्णबहादुरले भने- ‘जाडो मौसम शुरु भयो, खानपिनको समस्यासंगै क्याम्पमा बस्नका लागि अत्यन्तै नाजुक अवस्था छ।’ यी युवाहरुलाई रुकुमको ठूलीबार्खुका जोगबहादुर पुन र दाङका रञ्जित पुनले मिठो आश्वासन दिएर कतार पठाएका हुन्।

पिडितहरूलाई न्याय र क्षतिपूर्ति, पीडकहरूलाई आवश्यक कारवाही, मृतकको शव स्वदेश फिर्ता तथा मृतकका आश्रित परिवारलाई क्षतिपूर्ति र सहयोगका लागि कर्णबहादुर, मनोज पुन, सुनिल बुढमगरलगायतका सहयोगी युवाहरूले अपिल गरेका छन्। नेपाली दूतावासले पहल अघि बढाइरहेको उनीहरूले बताए। यिनै सहयोगी युवाहरूले पीडित २२ जनालाई खानपिनमा सहयोग गर्दै आएका छन्। अव चन्दा संकलन गरी पीडितहरूलाई सहयोग गर्ने उल्लेख गर्दै उनीहरूले सहयोगका लागि आग्रह गरेका छन्। पीडितहरूको मुद्दा हाल श्रम अदालतमा चलिरहेको छ।

Recent Videos:

Popularity: 8%

1 comment November 30th, 2009

गणराज्यहरूको सीमाङ्कन र नामकरणको टुङ्गो भोलि

एचकेनेपाल डट कम सं‍वाददाता-
एकीकृत नेकपा (माओवादी)को भोलि बस्ने स्थायी समितिको बैठकले माओवादीद्वारा प्रस्तुत राज्य संरचनाको अन्तिम ढाँचा गणराज्यहरूको सीमाङ्कन र नामकरण गर्ने विषयको टुङ्गो लगाउने भएको छ।

माओवादी पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडाँमा आज बसेको स्थायी समिति सदस्य, विभिन्न जातीय, क्षेत्रीय मोर्चा प्रमुख, राज्य समितिका इन्चार्जहरू, पोलिटब्युरो सदस्य र केन्द्रीय समिति सदस्य सम्मिलित संयुक्त बैठकले यही मङ्सिर २६ गतेदेखि घोषणा गरिन तयार गरिएको सो विषयमा व्यापक छलफलपछि सो निर्णय गरेको हो।

सो बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल …प्रचण्ड’ले गणराज्यहरूलाई राज्य पुनःसंरचनाको खाकाअनुसार परिभाषित गर्दै लानुपर्ने धारणा राख्नुभएको थियो।

पार्टी प्रवक्ता दीनानाथ शर्माले सञ्चारकर्मीलाई दिनुभएको जानकारीअनुसार भोलि बस्ने स्थायी समितिको बैठकमा छलफलपछि सो विषयको टुङ्गो लाग्नेछ।

उहाँले गणराज्यको सीमाङ्कन र नामकरणको विषयमा पार्टीमा एकमत रहेको पनि जानकारी दिनुभयो।

Recent Videos:

Popularity: 8%

2 comments November 30th, 2009

दिनदहाडै रु. एक्काइस लाख लुटपाट

एचकेनेपाल डट कम सं‍वाददाता-
चितवनको नारायणगढमा आज बिहान लुटेराहरुको समूहले रु. २१ लाख लुटपाट गरेको छ।

नारायणगढको भित्री सडकमा रहेको लुम्बिनी बैङ्कबाट रकम निकालेर फर्कंदै गरेका भरतपुर–२ क्षेत्रपुरका हजरत अलिखानलाई बिहान करिब ११ बजे लुटेरा समूहले लुटपाट गरेको हो।

पैसा लिएर घर फर्कंदै गरेका उनलाई जनहल रोडमा पुगेपछि अल्फावेट नखुलेको ९९११ नम्बरको मोटरसाइकलमा आएका तीनजनाको लुटेरा समूहले लुटपाट गरेको अलीले बताए।

अलीले क्षेत्रपुरमा गार्मेन्ट फ्याक्ट्री सञ्चालन गर्दै आएका छन्। लुटपाट गरी लुटेरा समूह भरतपुरको प्रहरी तालिमकेन्द्रको बाटो हुँदै भोजाडको जङ्गलतर्फ भागेको जिल्ल्ाा प्रहरी कार्यालय, चितवनले जनाएको छ।

लुटेराहरुको खोजीकार्य जारी रहेको बताइएको छ।

Popularity: 8%

2 comments November 30th, 2009

प्रधानन्यायाधीश नियुक्तिका लागि शर्माको नाम सिफारिस

एचकेनेपाल डट कम सं‍वाददाता-
संवैधानिक परिषद्को आज बसेको बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश अनुपराज शर्मालाई प्रधानन्यायाधीशमा नियुक्तिको लागि सिफारिस गरेको छ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश मीनबहादुर रायमाझीको उमेर हदका कारण यही मङ्सिर २७ गते पदावधि सकिँदैछ।

परिषद्मा संसदमा विपक्षी दलका नेताबाहेक अन्य सदस्यको सहभागिता रहेको र विपक्षी दलका नेताले सो सिफारिसपत्रमा पछि हस्ताक्षर गर्ने खबर प्राप्त भएको परिषद्का सदस्य रहनुभएका कानुनमन्त्री प्रेमबहादुर सिंहले जानकारी दिनुभयो ।

अन्य संवैधानिक अङ्गका पदाधिकारीको नियुक्तिका लागि भने परिषद्को अर्को बैठक यही मङ्सिर १७ गते बस्नेभएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र महालेखा परीक्षकको कार्यालय लामो समयदेखि प्रमुखविहीन छन्।

Popularity: 8%

Add comment November 30th, 2009

नायब महानिरीक्षक थापालाई फिर्ता बोलाउन माग

एचकेनेपाल डट कम सं‍वाददाता-
महिला हिंसाविरुद्ध उत्रेका सुदूर तथा मध्यपश्चिमका ११ जिल्लाका महिलाहरुले महिला प्रहरीलाई बलात्कार गर्ने सहकर्मी प्रहरीमाथि कारबाहीको माग गरेका छन्।

धनगढीमा प्रदर्शन गरिएको जुलुसका क्रममा उनीहरुले बलात्कारमा संलग्नलाई कारबाही गर्न आग्रह गरेका हुन्।

उनीहरुले काठमाडौँ फिर्ता बोलाइएकी नायब महानिरीक्षक पार्वती थापाको सरुवा फिर्ताको पनि माग गरेका छन्।

दुई महिनाअघि सुदूरपश्चिम प्रहरी प्रमुखका रुपमा आएकी थापालाई बलात्कारमा परेकी महिलालाई सहयोग गरेको आरोपमा गृहमन्त्री भीम रावलले प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाएको आरोप महिलाहरुको छ।

प्रहरी स्रोतका अनुसार गृहमन्त्रीले आफ्नो गृह जिल्ला अछाम प्रहरी कार्यालयभित्र भएको बलात्कार घटनालाई नचर्काउन थापालाई दबाब दिएका थिए। तर थापाले पीडित महिलाको साथ नछोडेपछि कारबाहीस्वरुप प्रहरी प्रधान कार्यालय फिर्ता बोलाइएको बताइएको छ।

गएको दसैँको नवमीका दिन अछाम प्रहरी कार्यालयभित्र छजना सहकर्मी प्रहरीले महिला प्रहरीलाई सामूहिक बलात्कार गरेका थिए।

महिला हिंसाविरुद्ध थालिएको १६ दिने अभियानअर्न्तगत कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, डडेल्धुरा, बैतडी, दार्चुला, अछाम, बझाङ, डोटी र बाजुराका महिलाहरु धनगढीमा भेला भएका हुन्।

Popularity: 8%

2 comments November 30th, 2009

समयमा संविधान लेख्न कापी र कलम उपहार

एचकेनेपाल डट कम सं‍वाददाता-
निर्धारित समयभित्र संविधान लेख्न संविधान सभा सदस्यलाई दबाब दिने उद्देश्यले नेपाल पत्रकार महासङ्घ, बाँके शाखाले आज प्रमुख जिल्ला अधिकारी वीरेन्द्र बानियाँमार्फत संविधानसभा सचिवालयलाई कापी र कलम पठाएको छ।

महासङ्घका जिल्ला अध्यक्ष झलक गैरे, संस्थापक अध्यक्ष लियाकत अली, सल्लाहकार निरज गौतमलगायतका पत्रकार टोलीले आज स्थानीय प्रशासनको कार्यालयमा पुगी सो कापी र कलम प्रजिअ बानियाँलाई हस्तान्तरण गरेको हो।

त्यस अवसरमा अध्यक्ष गैरे र प्रजिअ बानियाँले आ–आफ्नो पेसा र सचेत नागरिकका समेत हैसियतले समयमा संविधान जारी गर्न दबाब दिनु आवश्यक रहेको बताउनुभयो।

Popularity: 8%

Add comment November 30th, 2009

सीडीओ कुट्ने मन्त्रीको विरोधमा गरिएको आन्दोलन फिर्ता

एचकेनेपाल डट कम सं‍वाददाता-
कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमले पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीमाथि गरेको कुटपिटको विरोधमा पर्साका कर्मचारीले सुरु गरेको आन्दोलन आइतबारबाट फिर्ता लिएका छन्।

राज्यमन्त्री बेगममाथि कारबाहीको माग गर्दै पर्साका कर्मचारीहरु यही मङ्सिर ११ गतेदेखि सरकारी कार्यलयको कामकाजसमेत ठप्प पारी आन्दोलनमा उत्रेका थिए।

जिल्ला प्रशासन कार्यालय, पर्सामा भएको सर्वपक्षीय बैठकमा नागरिक समाजको आग्रहमा कर्मचारी सङ्गठनहरु आजदेखि काममा फर्कन सहमत भएका हुन्।

प्रमुख जिल्ला अधिकारी यादव कोइरालाको अध्यक्षतामा सम्पन्न बैठकमा घटनाको घोर भर्त्सना गर्दै दुई बुँदे निर्णय भएपछि कर्मचारी सङ्घसङ्गठनका नेताहरु काममा फर्कन सहमत भएका हुन्।
राजनीतिक दलका नेता, नागरिक समाज, मानवअधिकारवादी, सञ्चारकर्मी, कर्मचारी सङ्घसङ्गठनका प्रतिनिधिहरु तथा पर्साका सुरक्षाप्रमुखहरुको उपस्थितिमा भएको बैठकले घटनाप्रति भर्त्सना गर्दै राज्यमन्त्रीलाई कानुनी कारबाहीको माग गरेको छ।

Popularity: 8%

2 comments November 30th, 2009

उच्चस्तरीय संयन्त्रको औचित्य छैनः देउवा

एचकेनेपाल डट कम संवाददाता-
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले उच्चस्तरीय राजनीतिक संयन्त्रको औचित्य नभएको बताएका छन्।

प्रेस यूनियन सुनसरीद्वारा इटहरीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै देउवाले उच्चस्तरीय राजनीतिक संयन्त्रको राजनीतिक गतिरोध अन्त्य र संबिधान निर्माणसंग कुनै सम्बन्ध नरहेको बताएका छन्। देउवाले उच्चस्तरीय राजनीतिक संयन्त्रले राजनीतिक गतिरोधको अन्त्य नभै गफ गर्ने थलोमात्र हुने बताए।

नेका सभापति गिरिजाप्रसाद कोइराला, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले अध्यक्ष झलनाथ खनालले उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गर्ने तयारी गरिरहेको बेला देउवाको यस्तो भनाइ सार्वजनिक भएको हो। यसअघि पनि एमालेका बरिष्ठ नेता केपी ओली, काँग्रेस उपसभापति रामचन्द्र पौडेललगायतका नेताहरु संयन्त्रको विपक्षमा रहेको समाचारहरू प्रकाशमा आएका थिए।

Popularity: 8%

Add comment November 30th, 2009

विश्व साइकलयात्री मानन्धर हङकङमा

एस हङकङ/ एचकेनेपाल डट कम-
विश्व साइकलयात्री रामचन्द्र मानन्धर हङकङ आइपुगेका छन्। उनी आजभोलि हङकङका सडकका किनारा, नेपाली तथा विदेशी समुदायबीच नेपालको राष्ट्रिय झण्डासहितको साइकलमा देखिन्छन्। (more…)

Popularity: 8%

Add comment November 30th, 2009

कोरियामा माओवादी नेता भट्टराई

पुरु जोशी, दक्षिण कोरिया / एचकेनेपाल डट कम-
एकीकृत नेकपा माओवादीको भातृ संगठन नेपाली जनअधिकार मञ्चद्वारा आयोजित बृहत अन्तरक्रिया कार्यक्रम आइतवार सम्पन्न भएको छ।

शान्ति, संविधान निर्माण, नागरिक सर्वोच्चता, राष्ट्रिय सरकार तत्कालीन आवश्यकता भन्ने नाराका साथ राजधानी सउलको सिन्दाङ दोङस्थित छुङमु आर्ट हलमा सम्पन्न उक्त कार्यक्रमका लागि नेपालबाट आउनु भएका एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता तथा उपाध्यक्ष डा. बावुराम भट्टराईको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रममा बिशेष अतिथिको रुपमा उपस्थित हुनु भएका महामहिम राजदूत कमलप्रसाद कोईराला र प्रमुख अतिथि डा. भट्टराईद्वारा संयुक्त रुपमा दीप प्रज्ज्वलन गरी उदघाटन गरिएको सो कार्यक्रममा दक्षिण कोरियास्थित नेपाली काँग्रेसको भातृ संगठन जनसम्पर्क समिति एमालेको भातृ संगठन प्रवासी नेपाली संघ त्यसैगरि बामपन्थीहरुको मोर्चा नेपाली प्रगतिशील मोर्चाका प्रतिनिधीहरुका साथै नेपाली सम्पर्क समिति तथा एनआरएन कोरियालगायत थुप्रै संघसंस्थाका प्रतिनिधीहरुले आ आफ्नो मन्तब्य राखेका थिए।

नेपाली जनअधिकार मञ्चका अध्यक्ष डीआर भण्डारीको अध्यक्षतामा सम्पन्न सो अन्तरकृयामा लगभग ३०० जनाको उपस्थिती रहेको थियो। कार्यक्रममा डा. बाबुराम भट्टराईको सम्वोधनपछि उपस्थित नेपालीहरुले आफ्ना जिज्ञासाहरु डा. भट्टराई समक्ष प्रस्तुत गरेका थिए।

Popularity: 8%

Add comment November 30th, 2009

उपराष्ट्रपतिलाई पुनर्बहाली नगरे वार्ता भंग हुने चेतावनी

एचकेनेपाल डट कम संवाददाता-
सरकारसँग चारपटक वार्तामा बसिसकेको जनतान्त्रिक तराई मुक्ति मोर्चाले उपराष्ट्रपतिलाई पुनर्बहाली गर्नुपर्ने लगायत विभिन्न छ बूँदे माग अघि सार्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।

आफूहरूको मागप्रति सरकार गम्भीर नभए वार्ता भङ्ग हुने चेतावनीसमेत मोर्चाले दिएको छ।

सदरमुकाम राजाविराजमा आज बिहान पत्रकार सम्मेलनको आयोजना गरी मोर्चाले विरोधसभादेखि तीनदिने तराई बन्दको समेत घोषणा गरेको छ।

पत्रकार सम्मेलनमा मोर्चाका केन्द्रीय अध्यक्ष राजीव झा उत्कर्ष मुक्तिले सरकार र मोर्चाबीच भएको सहमति तत्काल लागु गरी कार्यकर्तालाई रिहाइ गर्नुपर्ने, मोर्चाका लडाकू र कार्यकर्ताको भरणपोषण र शिविर व्यवस्थापन गर्नुपर्ने तथा वार्ताको क्रममा मारिएका मोर्चाका धनुषा जिल्ला इन्चार्ज अविनाश मुक्तिको प्रकरणको उच्चस्तरीय छानविनको माग आफूहरूको रहेको बताउनुभयो।

Popularity: 8%

1 comment November 29th, 2009

सत्ता कब्जा गरी संविधान बनाउन आन्दोलनः गजुरेल

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी)का सचिव सिपी गजुरेलले वर्तमान संविधानसभाबाट जनसंविधान नबन्ने ठोकुवा गर्दै अब जनविद्रोहबाटै सत्ता कब्जा गरी जनताले चाहेको संविधान बनाउन माओवादी आन्दोलनमा लागेको बताउनुभएको छ।

सचिव गजुरेलले आज सुनसरीको इटहरीमा क्रान्तिकारी पत्रकार सङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा सार्वजनिक गर्नुभएको हो।

सचिव गजुरेलले नेकपा (एमाले) नीतिविहीन राजनीतिक दल भएको र यतिखेर एमाले नेपाली काङ्ग्रेसको इशारामा शासनमा रहेको टिप्पणी गर्नुहुँदै नेपाली काङ्ग्रेसले नै एमाले नेता अशोक राईमार्फत् यो संविधानसभा विघटनको कुरा बाहिर ल्याएको बताउनुभयो।

Popularity: 8%

1 comment November 29th, 2009

चितवनमा सीमा सुरक्षा कार्यालय स्थापना हुने

एचकेनेपाल डट कम संवाददाता-
चितवनको सीमा क्षेत्रको सुरक्षाका लागि जिल्लामा सीमा सुरक्षा कार्यालय स्थापना हुनेभएको छ।

चितवनमा सम्भावित अतिक्रमण तथा सीमा क्षेत्रमा हुने अपाराधिक गतिविधि रोक्न सीमा सुरक्षा कार्यालयको स्थापना हुन लागेको हो।

दक्षिण चितवनको माडी क्षेत्र र त्यसनजिक जोडिएका भारतीय सीमा नाकामा अतिक्रमण भएको तथ्य सार्वजनिक भएपछि चितवनमा पनि सीमा क्षेत्रको सुरक्षा आवश्यक भएको हो।

सशस्त्र प्रहरीको मातहतमा चितवनमा रहने सीमा सुरक्षा कार्यालयको मुख्य कार्यालय सदरमुकाममा रहने र अन्य कार्यालय सीमा क्षेत्रमा रहने बताइएको छ।

दुई महिनाअघि बसेको मन्त्रिपरिषद्को बैठकले तराईका जिल्लाहरुमा सीमा सुरक्षा कार्यालय गठन गर्ने निर्णय गरेपछि चितवनमा पनि कार्यालय गठनका लागि कार्य सुरु भएको हो।

सीमा सुरक्षा कार्यालयका लागि सरकारले ११ हजार ३८८ सुरक्षाकर्मीको दरबन्दीका लागि स्वीकृत दिएको छ। जसमा पहिलो चरणमा पाँच हजार ४८१ दरबन्दी तयार भइसकेको सुरक्षा स्रोतले जानकारी दिएको छ। यसअघि तराईका अन्य १८ वटा जिल्लामा सीमा सुरक्षा कार्यालय स्थापना भइसकेको छ।

Popularity: 8%

2 comments November 29th, 2009

आमालाई दुर्व्यवहार गरेको देखेपछि हत्या

एचकेनेपाल डट कम संवाददाता-
आमालाई दुर्व्यवहार गर्ने एक पुरुषलाई धनकुटाका एक किशोरले भाटाले हानेर हत्या गरेका छन्।

मुतिढुङ्गा–६ का १५ वर्षीय मङ्गल मादेनले आफ्नी आमा हेमकुमारी मादेनलाई दुर्व्यवहार गर्ने तेह्रथुम सुदामका ४२ वर्षीय श्यामकुमार मादेनलाई दुर्व्यवहार गरिरहेको अवस्थामै भाटाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय, धनकुटाले जनाएको छ।

उनका बाबु हाल विदेश गएका छन्। घरमा कोही नभएका बेला उसले आमालाई दुर्व्यवहार गर्ने गरेकाले सहन नसकी हत्या गरेको उनले बताए।

Popularity: 8%

8 comments November 29th, 2009

आफू स्वास्नी कुटेर छिमेकीलाई दोष

एचकेनेपाल डट कम संवाददाता-
सञ्चारमाध्यमलाई गलत सूचना दिएको आरोपमा दाङको राजपुर गाविसका रुपलाल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

चौधरीले केही दिनअघि आफैंले श्रीमतीलाई कुटपिट गरेकामा छिमेकीले श्रीमती र छोराछोरीलाई अपहरण गरेको भनी सञ्चारमाध्यममा सूचना दिएका थिए। ।

आफैंले श्रीमतीलाई कुटेर प्रहरीलाई गलत सूचना दिई सञ्चारमाध्यम र प्रहरीलाई बदनाम गर्न खोजेकाले उनलाई पक्राउ गरिएको इप्रका, गढवाका प्रहरी निरीक्षक लक्ष्मीराज अधिकारीले बताउनुभयो।

Popularity: 8%

Add comment November 29th, 2009

झण्डाको रंग परिवर्तन गर्ने पक्षमा माले

एचकेनेपाल डट कम संवाददाता-
नेकपा (माले)का महासचिव चन्द्रप्रकाश मैनालीले राष्ट्रिय झन्डा परिवर्तन गर्न जरुरी नभएको भए पनि त्यसमा अङ्कित केही प्रतीकको सामूहिक व्याख्या गर्न सकिने भन्नुभयो।

मैनालीले झन्डाको किनारामा नीलो रङको ठाउँमा हरियो रङ परिवर्तन गर्न सकिने त्यसो गर्दा समावेशीको सङ्केत हुनुको साथै विश्व पर्यावरणप्रति पनि सजग भएको सङ्केत गर्नसकिने बताउनुभयो।

Popularity: 8%

Add comment November 29th, 2009

हल्लाको भरमा सरकार परिवर्तन हुदैनः गच्छदार

एचकेनेपाल डट कम संवाददाता-
उपप्रधानमन्त्री विजयकुमार गच्छदारले हल्लाकै भरमा सरकार परिवर्तन नहुने दावी गरेका छन्।

आइतबार बिहान महेन्द्रनगरमा मधेशी जन अधिकार फोरम (लोकतान्त्रिक) कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गच्छदारले ठूला दलहरूले सरकार परिवर्तन हुने हल्ला फैलाएर अस्थिरता सृजना गर्न खोजेको आरोप लगाए।

माओवादी अध्यक्ष प्रचण्ड र नेका सभापति गिरिजाप्रसाद कोइरालाबीच सिंगापुरमा भेट हुंदैमा सरकार परिवर्तन नहुने उनको धारणा थियो। अहिले सरकार परिवर्तनको पक्षमा कांग्रेस पनि सहमत नहुने गच्छदारले बताए।

Popularity: 8%

Add comment November 29th, 2009

राईलाई मिलन देवान स्मृति अनेसाम साहित्य पुरस्कार

एचकेनेपाल डट कम संवाददाता-
अनलाइन नेपाली साहित्य मञ्चले यस बर्ष युवा साहित्यकार राजेश राई खाटाम्मा भोजपुरलाई मिलन देवान स्मृति अनेसाम साहित्य पुरस्कार २०६५ दिने निर्णय गरेको छ।

राईलाई विगत एक दशकदेखि निरन्तर नेपाली साहित्यमा योगदान पुर् याएवापत सो पुरस्कार दिने निर्णय गरेको हो। राईका देशभक्त कलम कविता संग्रह २०६०, किराती लोक कथा २०६२ प्रकाशित भएका छन् भने कथा संग्रह जापनीज र अंग्रेजी भाषामा समेत प्रकाशित भई सकेको छ। युवा स्रष्टालाई प्रदान गरिने यस पुरस्कारको राशि नगद १० हजार रुपैयाँ र प्रमाण-पत्र रहेको छ।

धनुकुटा बोधेमा जन्मेका मिलन देवान कर्मक्षेत्र खोज्दै कतार पुगेको १९ औं दिनमा स्वर्गरोहण भएकोले उनको स्मृतिमा निजका सहोदर दाजु आनन्द देवान, अमृत देवान, दिदीहरु हरीमाया रुपमणि र रमा लगायतको परिवारले वि. सं. २०६४ मा उक्त पुरस्कारको स्थापना गरेका हुन्।

त्यसैगरी, मञ्चले नेपाली भाषा साहित्यको क्षेत्रमा विगत डेढ दशकदेखि निरन्तर योगदान पुर् याउदै आउनुभएका बन्दीपुर १ तनहूँका अर्जुन अधिकारीलाई र मौवा ९ नेन्दीबुङ पान्थर निवासी सेसेमी से नाल्बोलाई लिम्बू भाषामा विशेष योगदान पुर्याएवापत सम्मान गर्ने निर्णय गरेको छ। पुरस्कार राशि नगद ५ हजार रूपैयाँका साथै प्रमाण-पत्र प्राप्त रहेको छ।

Popularity: 8%

Add comment November 29th, 2009

साढेको आक्रमणबाट प्रहरी हबल्दार घाइते

एचकेनेपाल डट कम संवाददाता-
पोखराको महेन्द्रपुलमा शनिबार दिउँसो एउटा छाडा साँढेले वितण्डा मच्चाएको छ।

ड्युटीमा खटिएका प्रहरी हबल्दारलाई एक्कासी साँढेले उदिनेपछि उनी घाइते भएका छन्। साढेको आक्रमणबाट घाइते हुनेमा प्रहरी हबल्दार सुरेशबाबु थापा रहेका छन्।

घाइते थापाको टाउको, पेट र कोखामा चोट लागेको छ। साँढेको उदिनाइबाट उनी मुर्छित समेत भएको उद्धारमा संलग्न प्रहरीले जनाएका छन्। महेन्द्रपुलको बीच सडकमा उभिएर ट्राफिक व्यवस्थापन गरिरहेका बेला थापालाई पछाडीबाट साढेले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताए।

थापा भुइँमा ढलेपछि उनको टाउकोमा चोट लाग्दा उनी मुर्छित भएका थिए। साढेले थापालाई घाइते बनाएपछि साँढे धपाउन गएका प्रहरीलाई समेत नटेरेपछि प्रहरीहरु पछि हटेका थिए। साँढेलाई प्रहरीले बीच सडकमै छाडिदिएपछि सडक पेटीमा रहेका सर्वसाधारण रमिते बनेका थिए। साढे धपाउन नसकेका प्रहरी हुलाक पछाडिको बिट नजिकै उभिरहँदा साँढेले सोही ठाउँमा गएर आक्रमण गर्न खोजेको थियो। प्रहरीहरु साढेको आक्रमणबाट जोगिन बिटबाट केही पर हटेका प्रत्यक्षदर्शीले बताएका छन्।

Popularity: 7%

Add comment November 29th, 2009

चिनीयाँले नेपाली ट्राफिक प्रहरीलाई कुटे

एचकेनेपाल डट कम संवाददाता-
चिनीयाँले नेपाली ट्राफिक प्रहरीमाथि कुटपिट गरेपछि शनिवार दिनभर तातोपानी नाका तनावग्रस्त रह्यो।

चिनीयाँ पसलअघि ना ३ ख ४९४ नं.को नेपाली कन्टेनर गाडी रोकेको भन्दै एक चिनीयाँले गाडीको सीसा तोडफोड र चालक दुर्गालाल श्रेष्ठमाथि हातपात गरेपछि बढेको विवाद मिलाउन गएका नेपाली ट्राफिक हवल्दार अरुण पाण्डेलाई चिनीयाँ अध्यागमन कर्मचारीले दुई थप्पड हानेपछि झन विवाद बढेको थियो।

नेपाली ट्राफिट हवल्दार पाण्डे, चालक तथा मजदुर नेता श्रेष्ठमाथि कुटपिट र गाडीमा तोडफोड गरेको विरोधमा स्थानीय र नेपाली मजदुरले प्रदर्शन गरेर तातोपानी नाका बन्द गरेपछि दिनभर सो क्षेत्र तनावग्रष्त बनेको थियो।

चिनियाँ पक्षका खासास्थित सुरक्षा प्रमुख र नेपालका अध्यागमन र सुरक्षा अधिकारीवीच दिनभर भएको वार्तामा दोषीमाथि कारवाही गर्ने सहमति र चिनीयाँ पक्षले माफी माग्दै आगामी दिनमा यस्ता गल्ती नदोहोरिने बताएपछि स्थिति सामान्य बनेको थियो।

Popularity: 8%

4 comments November 29th, 2009

मन्त्रीहरूको बैठक सगरमाथामा

एचकेनेपाल डट कम संवाददाता-
आगामी मन्त्रिपरिषदको बैठक सगरमाथाको आधार शिविर नजिक गोरकसेपमा हुने भएको छ। जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउन मंसिर १९ गते शुक्रवार बैठक बस्न लागेको हो।

यसअघि, कार्तिक २५ गते गर्ने बस्ने भनिएको बैठक स्थगित भएपछि मंसिर १९ गते शुक्रवारका दिन बैठकको मिति तय भएको हो।

समुद्र सतहभन्दा १७ हजार १ सय ९० फिट उचाइमा रहेको गोरकसेपमा हुने बैठकमा जलवायु परिवर्तन र वातावरण संरक्षणसम्बन्धी घोषणा पत्र जारी गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिएका छन्। रिजालका अनुसार बैठकमा क्याबिनेटका २४ मन्त्रीहरुसहित कर्मचारी, पत्रकार, चिकित्सक र उद्धारकर्ता गरी करीव ५० जना सहभागी हुने छन्।

नेपाल टेलिभिजनले बैठकलगायत पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण गर्ने भएको छ। त्यसैगरी, सीएनएन, बीबीसी, अलजजिरालगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारणका लागि चासो राखेको बताइएको छ।

Popularity: 7%

Add comment November 29th, 2009

नेपाली विद्यार्थीहरुको समस्याप्रति एनआरएन युकेको ध्यानाकर्षण

उच्च शिक्षा हाँसिल गर्न युके आउनुभएका नेपाली विद्यार्थीहरुको समस्याको सन्दर्भमा गैरआवासीय नेपाली संघ, युकेको सार्वजनिक अपिल-
नेपालबाट उच्च शिक्षा हाँसिल गर्न भर्खरै युके आउनुभएका नेपाली विद्यार्थीहरुले भोगी रहेका समस्याहरुप्रति गैरआवासीय नेपाली संघ, युकेको ध्यान गम्भीर रुपमा आकर्षित भएको छ।

यसै सन्दर्भमा संघको आयोजनामा यहि २२ नोभेम्वरमा ऊलवीच लण्डनमा बृहत अंतरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थीहरुको तर्फबाट धर्मराज अधिकारी, दिपा थापा र सुजित साहले विद्यार्थीहरुले भोगेको समस्याको वारेमा बताउनुभएको थियो । वहाँहरुले युकेमा विद्यार्थीहरु चौतर्फि मारमा परेको कुरा बताउनुभयो । वहाँहरुले नेपाली विद्यार्थीहरु अन्यको तुलनामा महंगो रकम बुझाएर आउनुपरेको युकेमा आईसकेपछि कलेजहरुले राम्रो व्यवहार नगरेको एअरपोर्टदेखि नै ठगि सुरु भएको, कलेजहरुले विद्यार्थीहरुसंग सर्त गरे बमोजिम उचित समयमा बासस्थानको बन्दोवस्त गर्न नसकेको, विद्यार्थीहरुले हप्तौं दिनसम्म भर्नाका लागि कलेज धाउनु परेको, सानो कक्षा कोठामा धेरै विद्यार्थी राखी पढाउन थालिएको, कलेजमा सुलभ र उपयुक्त पुस्तकालयको व्यवस्था नभएको, पठनपाठन राम्रो नभएको, घरवालाहरुले सानो कोठामा धेरै विद्यार्थीहरु राखी महंगो घरभाडा असुलेको, जागिर पाउन नसकिएको, सानातिन जागिर पाए पनि सरकारी न्यूनतम तलबदरभन्दा कममा काम गर्नु परेको जस्ता समस्याहरुकाकारण आफूहरु आर्थिक र मानसिक रुपबाट अत्यन्त पीडामा रहेको कुरा बताउनु भएको थियो।

कलेज संचालकहरुको तर्फबाट संगिता मरहट्ठा, सुवास अधिकारी र अरुण न्यौपानेले गुणस्तरिय शिक्षा दिन कलेजहरु प्रतिवद्ध रहेको, एकै समयमा धेरै विद्यार्थीहरु आईपुग्दा व्यवस्थापनमा केही कमिकमजोरीहरु रहन गएको, समस्याको वारेमा वास्तविकताभन्दा गलत अफवाहहरु फैलाईएको, वेलायतको आर्थिक मन्दिले विद्यार्थीहरुलाई रोजगारी पाउन समस्या बनेको, रोजगारीको लागि आवश्यक सरसहयोग गर्न कलेजहरुले कुनै कसर बाँकी नराखेको, नेपाली विद्यार्थीहरु नेपालमा गलत सल्लाहको सिकार भएकाले महंगो कलेजहरुमा भर्ना हुनपुगेको, विद्यार्थीहरु वेलायत जस्तो अत्याधुनिक र महंगो सहरमा आईपुग्दा एकैसमयमा विभिन्न कुराहरु झेल्नुपर्दा पीडा भोग्नु परेको जस्ता विचारहरु राख्नुभएको थियो।

कार्यक्रममा सोलिसिटर राजु थापाले विद्यार्थीहरुको भर्ना तथा भिसा नविकरण सम्बन्धि कानुनी व्यवस्था कलेजहरुको श्रेणी घटुवा, सस्पेन्स वा खारेजी भएमा कलेज स्थानन्तरणको कानुनी व्यवस्था, कलेजको अध्ययन सकिएपछिको अवस्थामा अध्यागमन सम्बन्धि व्यवस्था, नियम तथा कानुन विपरित कलेजहरुले कार्य गर्दाको अवस्थामा उजुरी गर्न सक्ने कानुनी व्यवस्था, वेलायतको एनआई तथा कर सम्बन्धि सामान्य नियम कानून सम्बन्धि व्यवस्थाको वारेमा विद्यार्थीहरुलाई जानकारी दिने उद्देश्यले कार्यपत्र पेश गर्नु भएको थियो । वीवीसी नेपाली सेवाका भगिरथ योगीले विद्यार्थीहरुले भोग्नुपरेको समस्या, त्यसको राजनैतिक सामाजिक र आर्थिक पक्ष, विद्यार्थीहरुले विचार पुर् याउनु पर्ने महत्वपूर्ण कुराहरुको वारेमा कार्यपत्र पेश गर्नुभएको थियो । कार्यक्रममा बोल्दै डा. चन्द्र लक्जम्वाले विद्यार्थीहरुको अगाडि कठिन घडि आएको वेलायतको विषम आर्थिक मन्दिको अवस्थामा टिक्नलाई कठोर मेहनत गर्नुपर्ने अवस्था रहेको, यो भन्दा कठिन समयमा आफूले वेलायतमा अध्ययन गरेको कुरा बताउनुभएको थियो। विविसि नेपाली सेवाका खगेन्द्र नेपालीले विगतमा पनि यसखालका समस्याहरु देखिए पनि यस पटक धेरै समस्याहरु देखिएको र सुनिएको कुरा बताउनुभयो। वहाँको अनुसार यसपटक विद्यार्थीहरुको संख्या अप्रत्यासित रुपमा ठूलो रहेको कारण समस्या देखिन आएको कुरा बताउनुभयो। उहाँले विद्यार्थीहरुलाई धैर्यतापूर्वक आफ्नो मार्गमा अगाडि लम्कन पनि हौसला दिनुभयो।

कार्यक्रममा आफ्नो विचारहरु राख्दै एनआरएनका पुर्व अध्यक्ष रि.मेजर डमर घलेले विद्यार्थीहरुको पीडामा मलम पट्टि लगाउने काम एनआरएनले गर्ने कुरा बताउनुभयो। उहाँले वेलायतमा कुनै पनि व्यक्ति कानुनको अघि झुक्न वाध्य हुने कुरा बताउनुभयो । उहाँले कलेजहरुले यदि नियमकानुन विपरित विद्यार्थीहरुलाई दुःख दिई राखेको छ भने विद्यार्थीको पक्षमा लड्न एनआरएन अगाडि बढ्ने कुरा बताउनुभयो । उहाँले विद्यार्थीहरुले आफूलाई मर्का परेको कुरा लिखित रुपमा सम्बन्धित निकायमा दर्ता गराई समस्याको उपचार खोज्न पनि सुझाव दिनु भयो । कार्यक्रममा एनआरएनका आई.सि.सि. सदस्य राजन कँडेलले विद्यार्थीहरुको समस्यालाई हल गर्न कलेजको तर्फबाट कुनै कसर बाँकी नराख्ने विचार व्यक्त गर्नुभयो । उहाँले एनआरएन सबै नेपालीहरुको साझा संस्था भएकोले पिडामा रहेका नेपालीहरुलाई सहयोग गर्नु यसको कर्तव्य रहेको कुरा बताउनुभयो। उहाँले आफूले संचालन गरेको कलेजमा विद्यार्थीहरुलाई सकेसम्म कुनै समस्याबाट पीडित बन्नु नपरोस् भन्ने कुरामा ध्यान दिईएको कुरा बताउनुभयो। कार्यक्रममा एन.आर.एन.का युरोपियन कोअर्डिनेटर रि.क्या. हितमान गुरुङले विद्यार्थीहरुलाई वेलायतमा प्रतिष्पर्धा गरी जित्न कठोर मेहनत गर्नुपर्ने कुरा बताउनुभयो। उहाँले वेलायतमा आउनुभन्दा पूर्व नै वेलायतको विभिन्न पक्षको वारेमा यथेष्ठ सूचना लिएर आउने व्यवस्था नहुँदा विद्यार्थीहरुले ठूलो पीडा झेल्नुपरेको कुरा बताउनुभयो। उहाँले जागिर खोज्न जानुअघि आफ्नो सिवि राम्रोसंग तयार पार्ने, अन्तर्वार्तामा सहभागी हुनुभन्दा पहिले राम्रो तयारी गर्ने जागिर सम्बन्धि सूचनाका लागि जवसेन्टर, सरकारी लाईवे्ररीहरुमा जानु पर्ने जस्ता सुझावहरु दिनुभयो। वहाँले विद्यार्थीहरुले धैर्य गरी अगाडि बढ्न पनि सुझाव दिनुभएको थियो।

कार्यक्रमको प्रमुख अतिथि नेपाली दूतावासका कार्यवाहक राजदूत झविन्द्र अर्यालले दूतावासको तर्फबाट विद्यार्थीहरुको समस्याहरु संकलन गर्न उजुरीहरु सुन्न र संकलित समस्याहरुको समाधानका लागि पहल गर्न छुट्टै निकायको स्थापना गरी काम गरिरहेको कुरा बताउनुभयो । वहाँले विद्यार्थीहरुले आफ्नो पीरमर्काहरु लिखित वा मौखिक रुपमा दूतावासमा दिन सबैलाई आव्हान पनि गर्नुभयो । दूतावासले दुःखमा परेका विद्यार्थीहरुको लागि दूतावासको तर्फबाट बनाउन मिल्ने सम्पूर्ण कागजातहरु प्राथमिकतामा राखी सहयोग गरिरहेको कुरा बताउनुभयो । उहाँले गलत सूचनाहरु प्रवाह गरी विद्यार्थीहरुलाई मर्कामा पारिएको भए सम्बन्धित निकायमा तदारुकताकासाथ कार्य गर्न सूचना गरिने कुरा पनि बताउनुभयो।

कार्यक्रममा एन.आर.एन. युकेका अध्यक्ष सूर्य गुरुङले विद्यार्थीहरुको समस्या समाधानको लागि एन.आर.एन. सहयोग गर्न तयार रहेको कुरा बताउनुभयो । वहाँले कार्यक्रमको अन्तमा विद्यार्थीहरुको समस्या समाधानमा सहयोग पुर् याउन सम्बन्धित विभिन्न पक्षहरुलाई एन.आर.एन. युकेको तर्फबाट निम्नलिखित रुपमा सार्वजनिक अपिल गर्नुभएको छ।

१. कलेजहरुबारे विद्यार्थीहरुबाट माथि उल्लेखित विभिन्न गुनासाहरु अभिव्यक्त भईरहेको सन्दर्भमा तिनीहरुलाई यथासमयमा विना हिचकिचाहट पूरा गर्न कलेज संचालकहरुसंग हार्दिक अपिल गर्दछु।

२. विद्यार्थीहरुको दोश्रो समस्या वेरोजगारी रहेको छ। वेलायतको आर्थिक मन्दिकाकारण यहाँका स्थानीय जनशक्तिले पनि वेरोजगारीको मार खेपिरहेको परिस्थितिमा नेपालबाट आएका नयाँ विद्यार्थीहरुलाई रोजगारी पाउन अत्यन्त कठिनको विषय बनिरहेको छ। नेपालको सानो अर्थतन्त्रको बिचबाट ठूलो धनराशि खर्च गरी दुःखपूर्वक वेलायत आई पुगेका विद्यार्थीहरु एक महिनामात्र यहाँ वेरोजगार भई बस्नु पर्दा उनले अत्यन्त आर्थिक कठिनाईको पीडा भोग्नुपर्ने कुरा निश्चित छ। आज सम्पूर्ण नेपाली विद्यार्थीहरु यहि पीडा भोगिरहेका छन्। तसर्थ, यस्ता दुःखमा परेका विद्यार्थीहरुलाई सहयोग गर्नु आफ्नो परम कर्तव्य ठानी वेलायतमा उद्योग व्यवसाय संचालन गरेका नेपालीहरुले अधिकतम रुपमा नेपाली विद्यार्थीहरुलाई रोजगारी दिन हार्दिक अपिल गर्दछु। साथै वेलायतमा व्यवसाय गरी बसेका नेपाली व्यवसायीहरुसंग रोजगारीको कुनै अवसर भएमा एन.आर.एन. युकेलाई जानकारी गराउन पनि हार्दिक अनुरोध गर्दछु।

३. नवआगन्तुक नेपाली विद्यार्थीहरु वेलायतमा महंगो घरभाडाको शिकार भएका छन्। वेलायतको मुटु कँपाउने चिसो जाडोमा विना हिटरको घरमा अत्यन्त चर्को घरभाडा तिरी बस्नुपर्ने विवसता उनीहरुमा छ। तसर्थ, वेलायतमा घरजम गरी बसोवास गरी रहेका नेपाली दाज्युभाई दिदीबहिनीहरुले दुःखमा परेका हाम्रा विद्यार्थी भाईबहिनी छोराछोरीहरुलाई यथासम्भव वासस्थानको लागि सहयोग गरिदिन पनि एन.आर.एन.को तर्फबाट हार्दिक अपिल गर्दछु।

४. वेलायत सरकारले बिदेशी जनधन ल्याई यहाँको अर्थतन्त्रलाई मजवुत पार्ने परिकल्पना गरेर अन्तर्राष्ट्रिय कलेजहरु खोल्ने अनुमति दिई विदेशी विद्यार्थीहरुको ओईरो लगाउने गर्दै आएको छ। यसरी झिकाईएका विद्यार्थीहरुलाई सरकारले हप्ताको न्यूनतम २० घण्टा काम गर्न पाउने अधिकार पनि दिएको छ। तथापि, सरकारले विद्यार्थीहरुलाई रोजगारीके कुनै वातावरण सृजना गरेको छैन। तसर्थ, वेलायत झिकाईएका ति विद्यार्थीहरुलाई न्यूनतम रुपमा भए पनि रोजगारीको ग्यारेण्टी गर्न वेलायत सरकारसंग एन.आर.एन. युके हार्दिक अपिल गर्दछ। साथै, नेपाल सरकारले समस्यामा परेका नेपाली विद्यार्थीहरुलाई वेलायतमा आवश्यक रोजगारीको व्यवस्थामा पहल गर्नु आफ्नो दायित्व संझनु जरुरी छ। यसका लागि वेलायत सरकारसंग कुटनितिक पहल गर्न नेपाल सरकारसंग हार्दिक अपिल गर्दछु।

५. अन्त्यमा, एन.आर.एन. युकेका कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु अन्तर्राष्ट्रिय कमिटिका सदस्यहरु, सल्लाहकारहरु, विभिन्न समितिका सदस्यहरु र एन.आर.एन.का पुर्व पदाधिकारी तथा सदस्यहरु तथा एन.आर.एन.का सदस्यहरुले नवआगन्तुक विद्यार्थीहरुलाई आवश्यक पर्ने सहयोग गर्न आ-आफ्नो ठाउमा तत्पर भएर लाग्न हार्दिक अपिल गर्दछु।

यस छलफल कार्यक्रम संघका राष्ट्रिय संयोजक भक्त गुरुङले संचालन गर्नुभएको थियो। कार्यक्रममा सहभागि सम्पूर्णलाई उपाध्यक्ष कुल आचार्यले स्वागत गर्नुभएको थियो। कार्यक्रममा विद्यार्थीहरु, सरोकारवाला सम्पूर्ण व्यक्तिहरु, एन.आर.एन.का अन्तर्राष्ट्रिय कमिटिका सदस्यहरु, राष्ट्रिय कमिटिका सदस्यहरु तथा सल्लाहकारहरुको व्यापक उपस्थिती रहेको थियो। अन्तर्क्रियामा विद्यार्थीहरुले सम्बन्धित सरोकारवालाहरुसंग आ-आफ्नो समस्याहरुलाई स्पष्टसंग राख्नुभएको थियो।

धन्यवाद ।
भक्त गुरुंग
राष्ट्रिय संयोजक
गैरआवासीय नेपाली संघ, युके
२८ नोभेम्वर २००९

Popularity: 8%

1 comment November 29th, 2009

उपप्रधानमन्त्री सुजाता कोइरालाको अफ्रिका भ्रमण स्थगित

एचकेनेपाल डट कम संवाददाता-
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइराला दक्षिण-दक्षिण समूहको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन आइतबार केन्याको राजधानी नैरोबी जाने कार्यक्रम स्थगित भएको छ।

मंगलवारदेखि सुरू हुने विकासोन्मुख मुलुक सदस्य रहेको दक्षिण-दक्षिण समूहसम्बन्धी राष्ट्रसंघीय उच्चस्तरीय सम्मेलनमा सहभागी हुन कोइराला त्यसतर्फ जाने तयारी भैरहेको सो कार्यक्रम स्थगित भएको परराष्ट्र सचिव मदन भट्टराईले जनाएका छन्। भ्रमण स्थगित हुनुको कारण भने उनले बताउन चाहेनन्।

Popularity: 8%

2 comments November 29th, 2009

माओवादी नेता बाबुराम भट्टराई दक्षिण कोरियामा

वसन्तबहादुर थापा, दक्षिण कोरिया /एचकेनेपाल डट कम -
एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता तथा केन्द्रीय उपाध्यक्ष डा.बावुराम भट्टराई पार्टीको भातृ संगठन नेपाली जनअधिकार मञ्चको कार्यक्रममा भाग लिन शनिवार विहान दक्षिण कोरिया आउनु भएको छ।

मञ्चले आइतावार सोलमा आयोजना गर्ने नेपालको समसामयिक राजनीतिक विषयमा गरिने अन्तर्क्रिया कार्यक्रममा नेता भट्टराईले सम्वोधन गर्ने कार्यक्रम रहेको छ।

दक्षिण कोरियामा रहंदा उहाँले नेपाली समुदाय तथा कोरियाली व्यक्तिहरुलाई भेट गर्नुहुने मञ्‍चका अध्यक्ष डिआर भण्डारीले बताउनु भयो।

नेता भट्टराई सोमवार विहान नेपाल फर्कने कार्यक्रम रहेको छ।

Popularity: 8%

1 comment November 28th, 2009

व्यवसायिक फूटबल खेलाडी सिंहको निधन

एचकेनेपाल डट कम संवाददाता-
नेपालको आधुनिक फुटबलको पहिलो व्यवसायिक खेलाडी नरेन्द्रमान सिंहको शुक्रवार निधन भएको छ।

लामो समयसम्म भारतमा ब्यवसायिक फुटबल खेलेका उनी नेपालको आधुनिक फुटबलको पहिलो व्यवसायिक खेलाडी मानिन्छ।

हालैमात्र संकटा क्लबका प्रशिक्षक बनेका सिंह खेलाडीहरुलाई प्रशिक्षण दिइरहेकै बेला उनी अचानक कार्तिक २६ गते विरामी परेपछि अस्पताल भर्ना भएका थिए। ५२ वर्षीय सिंहको जण्डीसका कारण निधन भएको जनाइएको छ।

Popularity: 8%

1 comment November 28th, 2009

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2009
M T W T F S S
« Oct   Dec »
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  

Posts by Month

Posts by Category

More news....