Archive for November 1st, 2009

देउताको भजन गर्ने ठाउँमा कुटपिट

एचकेनेपाल डट कम संवाददाता-
मोरङको मधुमल्लामा गएराति भजनकीर्तन भइरहेको स्थानमा गाउँलेहरूबीच आपसी विवाद भई झडप हुँदा दुईजना घाइते भएका छन्।

मधुमल्ला–३ स्थित अर्जुन ढकालको घरमा भइरहेको भजनकीर्तनका क्रममा मादक पदार्थ सेवन गरी आएका साजन भण्डारीले सोही ठाउँका रमित तिम्सिना र पदमबहादुर बुढाथोकीलाई कुटपिट गरी घाइते बनाएका हुन्।

घाइते दुवैजनालाई उपचारका लागि झापाको दमकस्थित लाइफ लाइन अस्पताल लगिएको छ। कुटपिट गर्ने भण्डारी फरार रहेकाले खोजी कार्य भइरहेको मोरङ प्रहरीले जनाएको छ।

Recent Videos:

Popularity: 14%

5 comments November 1st, 2009

नेपाली काँग्रेस महासमिति बैठक प्रारम्भ

एचकेनेपाल डट कम संवाददाता-
नेपाली काँग्रेस महासमितिको बैठक आजदेखि राजधानीमा प्रारम्भ भयो। तीनदिने महासमितिको बैठकले पार्टीको विधान, राज्यको पुनःसंरचना, राजनीतिक प्रस्ताव र महामन्त्रीको प्रतिवेदन पारित गर्ने भएको छ।

बैठकमा देशभरका करिब एक हजार २०० महासमिति सदस्यको प्रतिनिधित्व रहेको छ।

महासमितिको उद्घाटन गर्दै सभापति गिरिजाप्रसाद कोइरालाले राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि सहमति, सहकार्य र एकताको राजनीतिलाई अगाडि बढाउनुपर्ने बताउनुभयो।

उहाँले काङ्ग्रेसको आदर्श र इतिहासलाई कायम राख्दै देश निर्माणको नयाँ इतिहास कायम गर्न अघि बढ्नुपर्ने उल्लेख गर्दै देशको गम्भीर परिस्थितिलाई बुझ्न काङ्ग्रेसजनलाई आग्रह गर्नुभयो।

बिपी कोइरालाको मेलमिलापको राजनीतिक जगमा नै रहेर सहमति, सहकार्य र एकतालाई काङग्रेसले अघि बढाएको बताउँदै सभापति कोइरालाले माओवादी अध्यक्ष प्रचण्डलाई आन्दोलन त्यागेर वार्ता र सहमतिमा आउन आग्रह गर्नुभयो।

उहाँले पार्टीमा सभापतीय पद्धतिलाई अन्त्य गर्न नहुने धारणा पनि राख्नुभयो।

महासमिति बैठकले पार्टी एकतालाई अझ बलियो पार्नुपर्ने बताउँदै सभापति कोइरालाले हामी एक थियौँ, एक रहन्छौँ र एक रहने छौँ भन्नुभयो।

उहाँले नेपालमा प्रजातन्त्रका लागि अन्तिम समयसम्म लडाइँ गर्न आफू तयार रहेको उल्लेख गर्दै ‘म निराश भएको छैन’ भन्नुभयो।

नेपाली काँग्रेसमा महाधिवेशनपछिको दोस्रो ठूलो निकाय महासमितिमा देशका प्रत्येक निर्वाचन क्षेत्रका क्षेत्रीय प्रतिनिधिमध्येबाट तीनजना चुनिएर महासमितिमा प्रतिनिधित्व गर्नेछन्।

तीन वर्षअघि नेपाली काङ्ग्रेस र नेपाली काङग्रेस (प्रजातान्त्रिक) को एकीकरण भएपछि संयुक्तरुपमा महासमितिको बैठक बसेको थियो।

Recent Videos:

Popularity: 14%

Add comment November 1st, 2009

आन्दोलनले दुर्घटना भयो भने माओवादी कै जिम्माः देउवा

एचकेनेपाल डट कम संवाददाता-
नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले प्रजातान्त्रिक मूल्य मान्यता र आदर्शप्रति प्रतिबद्ध एक मात्र पार्टी नेपाली काँग्रेस भएको बताउनुभएको छ।

नेपाली काँग्रेस महासमिति बैठकको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता देउवाले पार्टीका मत मतान्तर र तिक्ततालाई हटाएर बैठकमा आएको प्रस्तावलाई मतदानद्वारा पारित नगरी सहमतिका साथ पारित गर्न आग्रह गर्नुभयो।

उहाँले माओवादीले सेनामा हस्तक्षेप गरी एकदलीय सर्वसत्तावाद कायम गर्न खोजेकाले नै २२ वटा राजनीतिक दलले राष्ट्रपतिलाई लिखितरुपमा त्यो कार्य रोक्न आग्रह गरेको बताउनुभयो।

वार्ता र सहमतिको विकल्प छैन भन्नुहुँदै नेता देउवाले माओवादीको आन्दोलनमा कुनै दुर्घटना भयो भने त्यसको जिम्मा उनीहरूले नै लिनुपर्ने धारणा राख्नुभयो।

नेपाली काँग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले पार्टीलाई संस्थागतरुपमा आगाडि बढाउनका लागि सामूहिक नेतृत्वको विकल्प नभएको धारणा राख्नुभयो।

उहाँले तर नेतृत्व वर्गको सुझाव र पार्टीका प्रमुखहरूको सल्लाहबाट नै पार्टीलाई सुदृढ बनाउनुपर्छ भन्नुभयो।

उपसभापति एवम् संसदीय दलका नेता रामचन्द्र पौडेलले राष्ट्रलाई लोकतान्त्रिक र पार्टीलाई प्रजातान्त्रिक पद्धतिमा लैजान महासमितिले महत्वपूर्ण निर्णय गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

उहाँले पार्टी भित्रका निष्ठावान् कार्यकर्तालाई पन्छाएर मुलुक हाँक्न नसकिने बताउँदै पार्टी समावेशी हुनुपर्छ भन्नुभयो।

Popularity: 14%

1 comment November 1st, 2009

माओवादीलाई सडकमा नरोई नियमसङ्गत आउन प्रमको चुनौती

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री माधवकुमार नेपालले एकीकृत नेकपा (माओवादी)लाई सडकमा रोईकराई गरी हिड्नुभन्दा संसदमा बहुमत सिद्ध गरेर सरकार फेर्न चुनौती दिनुभएको छ।

प्रधानमन्त्री नेपालले आज काभ्रेको धुलिखेलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उक्त कुरा बताउनुभएको हो।

नेकपा एमाले केन्द्रीय प्राकृतिक स्रोत व्यवस्थापन विभागद्वारा आयोजित …जलवायु परिवर्तन, चुनौती र अवसर’ विषयक अन्त्ारक्रियाको उद्घाटन गर्दै प्रधानमन्त्री नेपालले डेनमार्कको कोपेनहेगनमा हुने विश्व जलवायु सम्मेलनका लागि नेपालका तर्फबाट प्रस्ताव प्रस्तुत गर्न जनस्तरबाट सुझाव सङ्कलन गरिनुपर्ने बताउनुभयो।

Popularity: 14%

2 comments November 1st, 2009

सहारा क्लबलाई २० लाख आर्थिक सहयोग

धन बस्नेत, पोखरा/एचकेनेपाल डट कम -
सहारा एकेडेमीको भवन निर्माणको लागि क्लबलाई सहारा फुटबल क्लब युके, नर्वेजियन समूह, कुखाम व्रिज रोटरी युके तथा इटालियन समूहले झण्डै २० लाख रुपियाँ आर्थिक सहयोग प्रदान गरेका छन्।

सहारा युकेका अध्यक्ष नविन गुरुङको नेतृत्वमा पोखरा आएको १८ सदस्यीय टोलीले शनिबार आयोजित कार्यक्रममा आर्थिक सहयोग प्रदान गरेका हुन्। पोखरा एकेडेमी चिल्ड्रेन्स ट्रष्ट (प्याक्ट) युकेले ९ लाख ३० हजार, कुखाम व्रिज रोटरी क्लब युकेले ५ लाख ५० हजार, मार्को बाल्दिनीले २ लाखसँगै सहरा युकेका अध्यक्ष नविन गुरुङ, उपाध्यक्ष मुछेत्र गुरुङ र कोषाध्यक्ष दिलिप गुरुङले एक/एक लाख रुपियाँ सहयोग प्रदान गर्नुभएको थियो।


तस्वीरः सुदर्शन रञ्जित, पोखरा/एचकेनेपाल डट कम

रोटरी क्लब युकेका अध्यक्ष डेरक स्मिथले अर्को वर्ष ५ लाख ५० हजार रुपियाँ आर्थिक सहयोग दिने प्रतिबद्धता समेत गर्नुभयो। प्याक्टका अध्यक्ष समेत रहेका नर्वेजियन नागरिक गुनार स्ट्रोक्चनले सामाजिक सेवा जुटेको सहारा क्लबलाई निकट भविष्यमा पनि निरन्तर सहयोग गर्ने बताउनुभयो । सहारा क्लब युकेले क्लबलाई वर्षेनी आर्थिक तथा खेलकुद सामाग्री सहयोग गर्दै आएको छ।

यसैगरी, सहारा युकेले सास्कृति कार्यक्रम समेत गर्ने जनाएको छ । कार्यक्रमबाट संकलित रकम सहारा एकेडेमी पोखराको भौतिक पूर्वाधारको लागि सहयोग प्रदान गरिने सहारा युकेका अध्यक्ष नविन गुरुङले जानकारी दिनुभयो । उहाँले सहारा क्लबले खेलकुदसँगै मानवीय सेवामा गरेको भन्दै बेलायतमा विभिन्न कार्यक्रम गरी आर्थिक संकलन गरेर सहयोग गरिने बताउनुभयो।

सहारा क्लब पोखराले २० जना अनाथ बालकहरुलाई लिएर सहारा एकेडेमी सञ्चालन गर्दै आएको छ । क्लबले तीन वर्षअघि पोखरा उपमहानगरपालिका १७ स्थित दोविल्लामा ३२ लाख रुपियाँमा २६ रोपनी जग्गा खरीद गरेको थियो । खरीद गरिएको जग्गामा क्लबले प्राप्त आर्थिक सहयोगबाट एकेडेमीको भौतिक पूर्वाधार तयारमा लगानी गर्ने जनाएको छ । क्लबले वर्षेनी आयोजना गर्ने आहा गोल्डकपबाट बचत रकम एकेडेमीको लागि खर्चदै आएको छ।

कार्यक्रममा सहारा क्लबका अध्यक्ष विक्रम थकालीले सहयोगीहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । क्लबले २६ रोपनी क्षेत्रफलमा फुटबल मैदान, स्वीमिङपुल, आवासगृह, पुस्तकालय लगायतका पूर्वाधारहरु तयार पार्ने गुरुयोजना बनाएको छ । क्लबले आइतबार भौतिक पूर्वाधार निर्माणको लागि शिलान्यास गर्ने छ।
पोखराबाट धन बस्नेत

Popularity: 14%

3 comments November 1st, 2009

कतारमा ‘नेपाली सुपरस्टार नाइट’ हुने

दीपक पौडेल, दोहा/ एचकेनेपाल डट कम-
विश्वभरिका मुस्लिम सम्प्रदायको महान पर्व इद उल अधाको अवसरमा कतारमा हरेक वर्ष नेपालीहरूले सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरूको आयोजना गर्दै आएका छन्। यस बर्षपनि सोही अवसरमा प्राप्त सार्वजनिक विदालाई नेपालीहरूले सांस्कृतिक एवं मनोरञ्जनात्मक आनन्दकासाथ मनाउन पाउने भएका छन्।

कहिले संघसंस्था त कहिले ब्यक्तिगत पहलमा कतारमा नेपाली कलाकारहरुकासाथ रम्न पाइने अवसर जुराउने काममा यसपटक उद्यम ब्यवसायी तेजेन्द्र महत अघि सरेका छन्। नेपाली ब्यवसायी संघका महासचिव महतले ‘नेपाली सुपरस्टार नाइट-२००९’ को आयोजना गर्न लागेको कुराकानीको क्रममा बताए। नेपालीको जनसंख्या ३ लाख नाघि सकेको उल्लेख गर्दै महतले नेपालीहरूमाझ विगतदेखि नै ‘स्टेज प्रोग्राम’मा निकै रुची रहँदै आएकोले सो आयोजनाको निर्णय गरेको बताए।

महतले कतारमा आफूले नेपाली सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम यसअघि ६ पटक आयोजना गरिसकेको उल्लेख गरे। सातौंपटक यस किसिमको कार्यक्रमको आयोजनाका लागि अग्रसर भएका महतले सो कार्यक्रममा फरक फरक प्रतिभा भएका नेपालका ख्यातिप्राप्त १० जना कलाकारहरूको प्रस्तुती रहने बताए । सनैया र दोहामा आयोजना हुने सो कार्यक्रमका लागि १० जना कलाकारको टोली नोभेम्बरको अन्तिम साता कतार आउने र यहाँ १ साता रहने आयोजक महतले बताएका छन्।

कलाकारहरूको टोलीमा पछिल्लो समयका चर्चित आधुनिक तथा पप गायक शिव परियार र अञ्जु पन्तका साथमा प्रसिद्व लोकगायक राजु परियार र निशा सुनुवार सो कार्यक्रमको आकर्षाण रहेका छन्।

दोहावासी नेपाली दर्शकलाई मनोरञ्जन दिलाउन नायिका रेजिना उप्रेती, गायिका तथा उद्घोषिका सुनिता दुलाल, हास्य कलाकार कमल गाउँले, नृत्य कलाकारहरू रमेश विसी र सम्झना बुढाथोकीको दश सदस्यीय टोलीलाई निम्तो दिएको र दोहा आगमन तय भइसकेको महतले बताए । आयोजकको यसअघिको अनुभवका कारण कतारबासी नेपालीहरुले यसपाली विशिष्ट प्रकारको प्रस्तुती हेर्न पाउने आयोजकसुत्रले बताएको छ।

चर्चित कलाकारहरू तथा यथासम्भव कलाकारिताका धेरै क्षेत्रलाई समेटिएकोले कार्यक्रम रोचक हुने विश्वास महतले ब्यक्त गरे। स्थापित कलाकारहरूले ३ घण्टा लामो स्टेज प्रस्तुतीमा मौलिक गित-संगित, नृत्य, हास्यब्यंग्य लगायतका विधामा छुट्टाछुट्टै स्वाद पस्कनेछन्। कार्यक्रममा कतारवासी नेपालीले मन पराउने, अत्यधिक सुन्ने र भिडियो हेर्ने गरेका लोक दोहोरीहरुलाई विशेष प्राथमिकता दिइने महतले बताए । कार्यक्रमको स्थान र समय तालिका छिट्टै सार्वजनिक गर्ने उनले बताए । सो कार्यक्रमको टिकटपनि केही दिनभित्रमै उपलब्ध हुने उनले उल्लेख गरे।

Popularity: 14%

1 comment November 1st, 2009

प्रथम नारीस्रष्टा ललितत्रिपुरसुन्दरी

नरेन्द्रराज प्रसाई/ एचकेनेपाल डट कम-
ललितत्रिपुरसुन्दरीको जन्म १८५० सालमा भएको थियो । यिनका बाबुआमाको खुट्पत्तो नभए तापनि यिनी थापा क्षेत्रीकी छोरी हुन् भन्ने बेहोरासम्म सुनिन्छ। यिनको बिहे जनरल भीमसेन थापाका पहलमा राजा रणबहादुर शाहकी पाँचौं रानीका रुपमा भयो। तर बिहे गरेको अर्को वर्ष यिनका पतिको निधन भयो । जनरल थापाको सहृदयताले यिनले पतिसँगै चितामा बलेर सती जानु परेन। १८६३ सालदेखि यिनले बालविधवाका रूपमा आफ्नो जीवन व्यतीत गरिन्।
नेपाली भाषा साहित्यमा पहिलोपल्ट अक्षर खेलाउने नारी ललितत्रिपुरसुन्दरी हुन्। साथै नेपाली भाषामा पहिलोचोटि कविता लेख्ने नारीस्रष्टा पनि यिनै हुन् । ‘महाभारत’लाई संस्कृत भाषाबाट नेपालीमा अनुवाद गर्ने क्रमको सिरानमा नै उनले नेपाली भाषामा आफ्नो मौलिकता प्रस्तुत गरिन्।

ललितत्रिपुरसुन्दरीले पच्चीस वर्ष जतिको आफ्नो नायबी राज्यकालमा देशको वस्तुस्थिति देखिन्, दुक्खसुख भोगिन् र सफलतापूर्वक राजकाज पनि गरिन् । उनले आफ्ना पतिको शासनको ज्ञान ग्रहण गर्न नपाए तापनि छोरा र नातिकी नायबी भएर शासन गरेपछि तत्सम्बन्धी ज्ञानगुनका धेरै कुरा जनसमक्ष ल्याइन् । नेपालको इतिहासमा आफ्ना नायबी कालमा अनेक ठाउँमा भाषिक शिलालेख अङ्कित गर्ने पनि उनी प्रथम नारी हुन् । विविध ठाउँमा उनले राखेका शिलालेखको अध्ययन गर्ने हो भने उनी नेपाली साहित्यप्रति रुचि राख्ने, मोह देखाउने र समर्पित हुने कोटिमा जाज्वल्यमान भएर स्थापित भइन् । नेपाली साहित्यप्रतिकोे निष्ठामा बाँधिएर नै त्यस बेला उनले कविता पनि लेखिन्। उनको त्यस घडीको लेखनको धारा नै कल्कलाउँदो भएर अविरल बगेको छ । उनको त्यही सृजनात्मक सक्रियतालाई स्वीकार्दैर् इश्वरवल्लभ लेख्छन् ‘’ललितत्रिपुरसुन्दरी नेपाली भाषासाहित्यको विशिष्ट पुरोधा नारीस्रष्टा हुन्।'’

ललितत्रिपुरसुन्दरीले संस्कृत भाषामा लेखिएको ‘महाभारत’ शान्तिपर्वअर्न्तर्गतको अनुशासनपर्वको सरल नेपाली भाषामा अनुवाद गरिन् र त्यसलाई ‘राजधर्म’का नाउँबाट प्रस्तुत गरिन् । उनका नायबीकालका अनेक शिलापत्रहरूमा झैं यस ग्रन्थमा पनि उनको गतिलो भाषिक प्रस्तुति देखिन्छ । त्यसैले ‘राजधर्म’ले पाठकको मनलाई नेपाली भाषाको थप मोहमा तानेको पनि पाइयो। दिनेशराज पन्तका शब्दमा भन्ने हो भने ” ‘राजधर्म’को भाषा, शैली र प्रस्तुति अत्यन्तै मिठासपूर्ण छ । अहिलेका लेखक साहित्यकारको भाषाभन्दा त्यस बेलाको भाषा नै सुन्दर थियो भन्ने बेहोरा ‘राजधर्म’ले प्रस्तुत गरेको छ।”

ललितत्रिपुरसुन्दरीले राजदरबारको वातावरणमा हुर्केर पनि नेपाली भाषा साहित्यका लागि आफ्नो मन रोपिन् । अनि राजकाजको व्यस्त समयबाट उम्किदै उनले नेपाली भाषाका मन्दिरमा एउटा बडेमाको ग्रन्थ चढाइन् । उनका पालामा उनले गरेका सबै राम्रा बेहोरालाई बिर्सिएरै पनि यही ‘राजधर्म’लाई मात्र समाउने हो भने पनि उनी प्रतिभासम्पन्न प्रथम नेपाली नारीस्रष्टा भएको बेहोरा नेपाली साहित्यको इतिहासमा अङ्कित छ । यसबारे मोदनाथ प्रश्रतिले पनि उनको महिमा उल्लेख गर्दै भनेकाछन् ‘’अहिलेसम्म चर्चामा आएसम्म र सामग्री भेटेसम्म नेपालको प्रथम नारीसाहित्यकारमा ललितत्रिपुरसुन्दरीको नाउँ आएको छ । नेपाली साहित्यकारको सर्न्दर्भमा उनको भन्दा अर्को नाउँ भेटिएको छैन । त्यसै गरी श्यामदास वैष्णवले पनि उनको गरिमालाई आत्मसात् गर्दै मन्तव्य प्रकट गरेका छन् “निश्चय नै अग्रणी र गौरवमयी नारीस्रष्टा हुन् ललितत्रिपुरसुन्दरी ।” शान्ता श्रेष्ठले ‘’त्यस्तो कालरात्रिको युगमा कृति लेखेर ललितत्रिपुरसुन्दरी सम्पूर्ण नेपाली नारीको गौरवको पात्र भइन्'’ भनेर उनको महिमा गाएकी छिन्।

ललितत्रिपुरसुन्दरीले ‘राजधर्म’ १८८१ सालमा लेखिन् भन्ने जानकारी योगी नरहरिनाथले दिएका छन् । यसलाई सुन्दर अक्षरमा लिपिकार भुवनानन्दले १९३० सालमा सारेको यसको प्रति जगदम्बा प्रकाशनले भेट्यो र प्रकाशनमा ल्यायो । अनि नइ प्रकाशनले ललितत्रिपुरसुन्दरीलाई ‘राजधर्म’की लेखिका भनेर लिपीबद्ध गरिदियो । यही ओजिलो ग्रन्थमार्फ उनले नेपाली भाषाका मन्दिरमा दिएका योगदानको रेखाङ्कन गर्दै दयाराम श्रेष्ठले लेखे राजधर्म एउटा ऐतिहासिक उपहार हो । गोविन्द भट्टले पनि यसलाई नेपाली भाषाको ओजपूर् ग्रन्थ मानेका छन्।

‘राजधर्म’ले नेपाली भाषासाहित्यको बौद्धिक चेतलाई क्रमशः आफूतिर आकृष्ट गरेको पाइन्छ । यसबारे चर्चा परिचर्चाको क्रम पनि निरन्तर बगिरहेको छ । यसै पर्रि्रेक्ष्यमा चिरञ्जीवीदत्त पाण्डेले लेखेका छन् ‘ललितत्रिपुरसुन्दरीले ‘राजधर्म’लाई संस्कृतबाट नेपालीमा अनुवाद गरेकी छन् ।’ यसैबारे जगदीशशमशेर पनि भन्छन् ‘’…’राजधर्म’ हेरेपछिमात्र मैले ललितत्रिपुरसुन्दरीबारे जानें । त्यस बेला यस्तो रोचक भाषामा, यत्रो साहित्यिक, धार्मिक र नैतिक परिवेशमा लेखिएको ग्रन्थ लेख्ने या लेखाउने या लिपिबद्ध गर्ने नारीलाई पुज्नु योग्य कार्य हो ।'’ यसबारे घटराज भट्टराईले पनि लेखेका छन् ‘राजधर्म’ नेपाली भाषामा पाइएको महत्त्वपूर्ण ग्रन्थ हो । राजनीतिक, भाषिक र साहित्यिक दृष्टिले पनि यस ग्रन्थले निकै महत्त्व राख्छ।”

रणबहादुर शाहको हत्यापछि ललितत्रिपुरसुन्दरीले राष्ट्रमा सुधारका राम्राराम्रा काम गरिन् । त्यसैले एकल जीवनमा नै यिनको र्सवत्र प्रशंसा भएको थियो । यी अठार वर्षपुगेका बेला नै यिनका प्रारम्भिक योगदानका बारे वाणीविलास पाँडेले वाग्मती पुलको स्तम्भमा यिनको स्तुति लेखेको बेहोरार् इश्वर बरालद्वारा सम्पादित ‘सयपत्री’मा अङ्कित छ।

ललितत्रिपुरसुन्दरीको नायबीकालमा यिनका नाउँमा दुइवटासम्म टक चल्तीमा आएका थिए । त्यस बेहोरालाई सत्यमोहन जोशीद्वारा लिखित ‘नेपाली राष्ट्रिय मुद्रा’ नामक ग्रन्थमा उल्लेख गरिएको छ । साथै यसबारेको थप जानकारी बाबुराम आचार्य, सूर्यविक्रम ज्ञवाली र प्रकाश ए. राजले पनि दिएका छन्।

आफ्ना जीवनकालमा ललितत्रिपुरसुन्दरीले काशीमा ललिताघाटको निर्माण गरिन् । साथै यिनले नै पशुपतिनाथको देवल गुठीको स्थापना गरिन् । यिनैले गोरखामा गोरखकाली गुठी पनि बनाइन् । यिनैले त्रिपुरेश्वरको कालमोचनमा महादेवको निकै विशाल मन्दिर बनाइन् । यिनले ज्ञानेश्वर गौचरनमा पनि देवल बनाइन् । साथै यिनले काठमाडौं ललितपुर आवतजावत गर्नका लागि थापाथलीमा वाग्मतीको पुल हालिन् । यिनैले भीमसेन थापाप्रति कृतज्ञताज्ञापन गर्दै धरहरा पनि बनाएकी थिइन् । सुन्धारा बनाउने काम पनि यिनैबाट भएको थियो । यिनका नायबीकालमा मुलुकभित्र र मुलुकबाहिर अनेक ठाउँमा बनाइएका स्तम्भ, मन्दिर र देवलहरूमा सजिलो नेपाली भाषामा कपिएका शिलालेखहरू स्थापित भएका छन् । वास्तवमा शिलापत्र राख्ने कार्यमा यी निकै जागरुक थिइन् । यसै पृष्ठभूमिमा यिनको जीवनका सफलताका गुन गाएर सुन्दरानन्दले ‘त्रिरत्नसौर्न्दर्यगाथा’मा यिनलाई एक रत्नका रूपमा जयजयकार गरेका छन्।

ललितत्रिपुरसुन्दरी नेपाली भाषासाहित्यका देउरालीमा ढकमक्क फुलेर बसेकी छिन् । यिनको साहित्यप्रतिको समर्पणलाई राष्ट्रिय गरिमाले ढाकेको छ । यिनको साहित्यिक लेखनबारे शैलेन्द्र साकारले पनि लेखेका छन् “ललितत्रिपुरसुन्दरीलाई आजसम्म थाहा भएअनुसार प्रथम नारीलेखिका मानिएको छ ।” नेपाली साहित्यको नारीसृजनाका क्षेत्रमा उनी इतिहासको जग बनेकी छन् । उनको यसै परिवेशलाई बुन्दै मातृका गजमेरले लेखिन् “ललितत्रिपुरसुन्दरी पहिलो नेपाली विदुषी नारी थिइन् ।” यी सबै तथ्यको निचोडमा बालकृष्ण पोखरेलले लेखे ‘’राजधर्मको अनुवाद ललितत्रिपुरसुन्दरीले गरेकी हुन् भनेर अधिकांश विचारकहरूले मानेका छन्।'’

ललितत्रिपुरसुन्दरीको कलात्मक यात्राका एकएक कारण जोडिएर उनी नेपाली माटामा चिरञ्जीवी नारीपात्र भइन् । साहित्यिक यात्राले उनलाई नेपाली संसारमा जीवित बनायो । त्यसमाथि उनको स्तरीय लेखन स्वयम् उनको व्यक्तित्वको सिफारिस बन्यो । देवीप्रसाद सुवेदीका भाकामा बोल्ने हो भने ‘’राजधर्मको प्रत्येक अध्यायको अन्त्यमा दिएको टुङ्ग्याउनी पद्यश्लोकले राजधर्मकी अनुवादक ललितत्रिपुरसुन्दरीको कवित्वशक्तिको परिचय पाइन्छ।'’

जीवनको अन्त्य समयसम्म पनि ललितत्रिपुरसुन्दरी समाजसेवामा नै समर्पित थिइन्। जनकल्याणका काममा संलग्न हुँदाहुँदै अपर्झट उनी सिकिस्त भइन् । खास कुरा के हो भने त्यतिखेर नेपालमा बेलाबेला बिफर को महामारी आउँथ्यो । जनजीवनमा गाँसिएर सेवा गर्दागर्दै उनलाई पनि त्यस बिफरको महामारीले घुँडा टेकाएको थियो । अनि त्यही अस्वस्थताले संवत् १८८८ चैत १६ गते उनको भौतिक चोला उठ्यो।
naiprasai@gmail.com

Popularity: 14%

Add comment November 1st, 2009

अनेसास वेलायतद्वारा महाकविको सतवार्षिकी कार्यक्रम सम्पन्न

गणेश राई, बेलायत/ एचकेनेपाल डट कम-
अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास)ले महाकवि लक्ष्मीप्रसाद देवकोटाको सतवार्षिकी हालै नर्थ वेस्ट लन्डन कलेज अल्परटन हाउसमा सम्पन्न गरेको छ।

‘’उद्धेश्य के लिनु उडी छुनु चन्द्र एक।'’ महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रसिद्ध कविताको पंत्तिलाई बाचन गर्दै उपस्थित सम्पूर्ण साहित्यानुरागीलगायत सर्जक स्रष्टाहरुलाई अनेसास वेलायतका उपाध्यक्ष कवि तथा उपन्यासकार गणेश राईले स्वागत गर्नुभएको महाकविको सतवार्षिकी कार्यक्रममा देवकोटाको जीवनसम्बन्धी, महाकविले नेपाली भाषा र साहित्यलाई लगाएको अतुलनिय गुणका बारेमा संस्थाका अर्का उपाध्यक्ष तथा कवि गोपिकृष्ण प्रसाईद्वारा प्रस्टाइएको थियो।

मन्तव्यको क्रममा कवि प्रसाइले देवकोटालाई विश्वका प्रख्यात साहित्यकारहरुको हाराहारीमा राख्न उनका कृतिहरु पर्याप्त भएको प्रस्ट पार्नु भयो। सतवार्षिकी कार्यक्रमको अध्यक्षता संस्थाकी कार्यबाहक अध्यक्ष नीला अधिकारिले गर्नुभएको थियो भने वरिष्ठ साहित्यकार तथा समाजसेवी इश्वर मानन्धरको प्रमुख आतिथ्य रहेको थियो। विभिन्न कवि तथा साहित्यकारबाट देवकोटा र समसामयिक विषयलाई कविताको सृजनाको स्रोतका साथै बर्तमान देशको अस्तव्यस्तताप्रति व्यङ्ग्य मिश्रित रचनाहरुले महत्वपूर्ण स्थान पाएको कार्यक्रमलाई संस्थाकी सदस्य तथा कथाकार जया राईले सञ्चालन गर्नुभएको थियो। हङकङको साहित्यिक माहौलमा आफ्नो दर्विलो उपस्थिति जनाइसक्नु भएकी कवि तथा उद्धोषिका लारा अर्थात लक्ष्मी राई, गजलकार रुपक वनवासी र आध्यात्मिक शैलिमा कविताको बाढी उर्लाउन सक्ने क्षमताकी धनि शकुन्तला सुनुवारका प्रस्तुतिले साहित्यिक माहौल तातेको कार्यक्रममा ताप्लेजुङ समाजका अध्यक्ष खगेन्द्र पाठकले लक्ष्मीप्रसाद देवकोटाको जीवनीपरक निबन्ध ढाका टोपि पहिरेर बाचन गर्नुहुंदा नेपाली स्वाभिमान जुरुक्क उठेको थियो।

एउटा पृथक कार्यक्रमको रुपमा साथै तिहारको झल्को बल्झाउनको लागि मध्यान्तरमा देउसी भट्याउदै देउसुरेको भाखामा अक्षेता पाती, फूल, दीयो र सेलरोटिले भरिएको नाङ्लो संस्थाकी सदस्य कवि मञ्जु विमलीले घुमाउदा साच्चै गाउँघरको आँगनमै रहेको आभास दिलाएको थियो भने अनेसास वेलायतको कोष पनि राम्रै सङ्कलन भएको थियो। कविता बाचन गर्ने अन्य कवि स्रस्टाहरु इश्वर मानन्धर, सुशिला कार्की, मञ्जु विमली, रामकृष्ण सुनुवार, विप्लप रुपाचा, शिव प्रधान, नीला अधिकारि र जया राई थिए भने प्रतिभा बोहराले पठाएको कवितालाई कवि गोपिकृष्ण प्रसाईबाट बाचन गरिएको थियो।

नेपाली दूतावासका प्रतिनिधि गणेश अधिकारिले विशेष अतिथिको आसनबाट दूतावासले गर्नुपर्ने कार्यक्रम अनेसासले गरेकोमा कृतज्ञता प्रकट गर्नुभएको थियो भने समाजसेवी गोपिकृष्ण लामिछानेले पनि कार्यक्रमका बारेमा छोटो छरितो मन्तव्य राख्नु भएको थियो। कार्यक्रमको बीच बीचमा जलपान र खाजाका व्यवस्था अनेसास वेलायतका कोषाध्यक्ष बिदुर सिटौलाबाट गरिएको कार्यक्रमको अन्त्यतिर दोहोरी शैलिको कवितात्मक बाचनले कार्यक्रमलाई थप रोचक बनाएको थियो । कार्यक्रममा उपस्थित सम्पूर्ण स्रस्टालगायत साहित्यानुरागिहरुलाई कार्यक्रममा उपस्थित भई देवकोटा जन्म जयन्ती सफल बनाएकोमा सभाका अध्यक्ष नीला अधिकारिले आभार प्रकट गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो।
हाँडीखोले इस्टहामबाट

Popularity: 13%

Add comment November 1st, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2009
M T W T F S S
« Oct   Dec »
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  

Posts by Month

Posts by Category

More news....