डम्बरकृष्ण श्रेष्ठ, काठमाडौं / एचकेनेपाल डट कम -
भर्खरै स्थापना भएको धरान सरोकार समाज, काठमाडौंले कार्तिक २८ गते राजधानीमा गरेको बृहत भेलाका सहभागीहरुले धरानको सर्वाङ्गिण विकासका लागि आ-आफ्नो ठाउँबाट जुट्ने प्रण गरेकाछन्। काठमाडौं, बागबजारस्थित पद्मकन्या कलेजको सभा हलमा सम्पन्न भेलामा धरानको पर्यटन, शिक्षाका साथै रङ्गशाला निर्माण, खानेपानी समस्याआदीका बारेमा छलफल भएका थिए।
भेलाले खानेपानी धरानको सबैभन्दा ठुलो समस्या भएकाले यसको समाधानका लागी धरान र धरान बाहिर रहेका सबैले एक भई लागी पर्न आवश्यक रहेको निश्कर्ष निकालेको छ । उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले सरकारको मात्रै मुख ताकेर खानेपानी समस्या समाधान नहुने भएकाले धरानेहरु आफै जुटनु पर्ने बताउँनुभयो । उहाँले धरानको खानेपानीका लागी विदेशी दातृ राष्ट्रहरुसंग कुरा भइरहेको बताउँदै उद्योग बाणिज्य संघ धरानको सक्रियतामा स्थानीय स्तरको आर्थीक कोष समेत बनाउँदै लगिएको बताउँनु भयो । जोशीले भन्नुभयो “हामी आफू-आफै जति-जति सक्छौ रकम संकलन गरौ र एउटा कोष जुटाएर सरकार र दातृ राष्ट्रका सामु थप सहयोगको आग्रह गरौ।” यसका लागी आफुले रु. १ लाख हस्तान्तरण गरेको बताउँदै जोशीले धरानमा रङ्गशाला निर्माणका लागी पनि आन्दोलन, चक्काजाम नगरेर धरानेहरुले आ-आफै आर्थ संकलन गरेर सरकारलाई घच्घच्याउनु पर्ने बताउँनुभयो । उहाँलेभन्नुभयो “सरकारको मुख नताकी आफ्नो सहर आफै बनाएर धरानवासी जुन उदाहरण देखाएकाछन्, यसलाई निरन्तरता दिनुपर्छ ।” कार्यक्रम स्थलबाटै भेलाका सहभागीहरुले खानेपानीका लागि अर्थ संकलन सुरु गरेकाछन् । आठजना सहभागीहरुले रु. २० हजार नगद समाजलाई बुझाएका थिए । अर्थ संकलनलाई अभियानकै रुपमा लैजाने समाजका महासचिव चन्द्रकुमार घिमीरेले बताउँनुभयो । कार्यक्रममा सुनसरी क्षेत्र नं १ का सभासद किरण राईले धरानको खानेपानी समस्या र समाधानका लागि भएका प्रयासहरुबारे जानकारी गराउँनु भएको थियो । भने नेपाल-चीन समाजका सदस्य समेत रहनुभएका जगतबहादुर केसीले धरानको खानेपानी समस्याबारे चीनले समेत चासो देखाएको र धरान-बराहक्षेत्र केवलकार निर्माणका लागी समेत चीन सकरात्मक रहेको बताउँदै समाजले त्यस तर्फपनि पहल गर्नुपर्ने बताउँनुभयो।
धरानमा जन्मेर वा धरानमा बसोवासगरी हाल काठमाडौं उपत्यकामा रहदैँ आएका तथा धरानसँग सरोकार राख्नेहरुलाई समेट्ने उदेश्यले स्थापना भएको धरान सरोकार समाजको बारेमा समाजका उपाध्यक्ष सरु जोशी श्रेष्ठ र महासचिव चन्द्रकुमार घिमिरेले भेलालाई जानकारी गराउँनु भएको थियो। हालसम्म समाजको सदस्यता शुल्कबाट करिब २ लाख रुपैया संकलन भइसकेको कोषध्यक्ष बिजया राईले जानकारी दिनुभयो । त्यसैगरी कुनैपनि धर्म, जात-जाती, बर्ग, पेशा, साम्प्रदाय राजनैतिक दलसँग आवद्ध महानुभावहरु सदस्य बन्नसक्ने र संस्थापक, आजीवन र साधरण सदस्यता खुल्ला राखिएको समाजका सचिव सरोज खनालले जानकारी दिनुभयो।
कार्यक्रममा समाजका सदस्य डा.महेन्द्र सुब्बाले भेलामा उठेका कुराहरुलाई क्षेत्रगत रुपमा प्राथमीकताका साथ समेटदै लैजाने बताउँनु भयो । समाजका अध्यक्ष प्रभु श्रेष्ठको सभापतित्वमा सम्पन्न समारोहमा आ-आफ्नो क्षेत्रमा क्षेत्रमा योगदान पुर्याएवापत धराने ब्याक्तित्वहरु उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशी, खाद्य प्रविधी गुण नियन्त्रण विभागकी महा निर्देशक श्रीमती जीवन लामा, प्रहरी बरिष्ठ उपरिक्षक योगेन्द्र कटवाल र गायिका लोचन भट्टराईलाई समाजका तर्फबाट सम्मान गरिएको थियो।
एचकेनेपाल डट कम संवाददाता-
नेपालगन्जको बिपीचौकस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको मूल गेटमा आज ग्रिनेट बम भेटिएको छ। बाहिरबाट रातो कपडाले बेरेर कालो टेपले ब्यान्डिङ गरेको अवस्थामा सो बम भेटिएको हो।
बिहान साढे ८ बजे अस्पताल प्रशासनलाई फोन गरेर ‘म मधेस मुक्ति मोर्चाको मान्छे हुँ तपाईंको अस्पताल परिसरमा हामीले दुई वटा बम राखेका छौँ’ भनी टेलिफोनमार्फत जानकारी गराएपछि बम राखेको थाहा भएको अस्पताल प्रशासनले जनाएको छ।
अस्पताल प्रशासनले प्रहरीलाई बम राखेको जानकारी गराएपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको बम डिस्पोजल टोलीले अस्पतालको मूल गेटमा राखिएको बम निस्क्रिय पारेको थियो।
बम राखिएको हल्ला भएपछि अस्पतालका कर्मचारी, चिकित्सक, बिरामी र सर्वसाधारण त्रसित भएका थिए।
सञ्चारकर्मीलाई टेलिफोनमार्फत मधेस मुक्ति मोर्चाले बम राखेको जिम्मा लिएको छ।
एचकेनेपाल डट कम संवाददाता-
भूमिसुधार तथा व्यवस्थामन्त्री डम्बर श्रेष्ठले आगामी मङ्सिर ५ गतेभित्र राजनीतिक सहमति हुने विश्वास व्यक्त गर्नुभएको छ।
नेकपा (माले) निकट अखिल नेपाल प्रगतिशील महिला सङ्घको दोस्रो राष्ट्रिय सम्मेलनमा सहभागी हुन चितवन आउनुभएका मन्त्री श्रेष्ठले आज नारायणगढमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सरकार सहमतिको लागि हरदम तयार रहेको बताउनुभयो।
माओवादीको व्यवहार र बोलीमा फरक देखिएका कारण सहमति हुन नसकेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले यदि साँच्चै नै शान्ति चाहेको भए माओवादी पनि मूलधारमा आउनुपर्ने जिकिर गर्नुभयो।
शान्तिपूर्ण आन्दोलन गर्नु लोकतान्त्रिक प्रक्रिया भए पनि अराजक क्रियाकलापमा सरकारले कुनै पनि सम्झौता नगर्ने उहाँको भनाइ थियो। सहमति र समझदारीमा सरकार हरदम लचकदार बन्दै आए पनि माओवादीकै कारण राज्यमा निकास ननिस्केको उहाँले बताउनुभयो।
अहिले माओवादीले राखेको माग संविधान विपरीत रहेको उहाँको भनाइ थियो।
पङ्कज राई, काठमाडौं/एचकेनेपाल डट कम -
नेपाली आदिवासी जनजाति महासंघ हङकङले आदिवासी जनजाति समुदायबाट हङकङका लागि महावाणिज्यदूत नियुक्त गरिनुपर्ने आफ्नो माग फेरि दोहोर्याएको छ। (more…)
एचकेनेपाल डट कम संवाददाता-
विस्तृत शान्ति सम्झौता विपरीत एकीकृत नेकपा माओवादीको भातृ संगठन अखिल नेपाल किसानसङ्घले शुक्रवार र आइतवार गरी दुई दिनको अन्तरमा कपिलवस्तुको चार भिन्दाभिन्दै ठाँउबाट दुई सय १० बिघाहा भन्दा बढी धान सहितको खेत कब्जामा लिएको छ।
जिल्लाको नन्दनगर , बासखोर र जहदी तथा बलरामपुर गरी कपिलवस्तुका चार गाविसमा गरी सो जग्गा कब्जामा लिएको माओवादीले जनाएको छ।
माओवादीको भातृसंगठन अखिल नेपाल किसानसङ्घले कब्जा जग्गामा झण्डा गाडेका छन्। किसानसघंले कब्जा जग्गा भष्टाचार गरी कमाएको तथा जवरजस्ती रुपमा अर्कैको नाममा पास गरी बिक्री गर्न लागेपछि ति जग्गा कब्जामा लिएको जनाएको छ। जग्गाकब्जाबारे नेकपा माओवादी जिल्ला समिति कपिलवस्तुले पनि पुष्टि गरेको छ। किसान संगठनले शुक्रवारसाँझ बासखोर गाविस वडा नं. ५ कर्मामा रहेको ५० बिगाहा जग्गा कब्जा लिई अभियानको सुरुवात गरेको थियो। जिल्लानेता अनुप बरालले बासखोरको कर्मामा एक सय बिघा, बलरामपुरमा ५० बिघा , नन्दनगरमा ४० बिघा तथा जहदीमा २० बिघा खेत किसानसङ्घंले नियन्त्रणमा लिएको बताए। कार्यकर्ताहरुले कब्जा स्वरुप जग्गामा झण्डा गाडेर जग्गाधनीलाई उक्त जग्गा बिक्री वितरण गर्न रोक लगाएका छन्।
कब्जा जग्गा मध्ये कर्मामाको एकसय बिगाहा सुकुम्बासी हो। बाकी सबै प्लटिङ गरेको र धान लगाइएको खेत हो। कर्मामाको कब्जाजग्गाबारे किसानसङ्घ क्रान्तिकारीका जिल्ला अध्यक्ष छविलाल भुसालले भ्रष्टाचार र अनियमितताको आरोप लगाएका छन् भने अन्य जग्गामा किसानलाई ठगेको आरोप लगाएका छन्। उनले कर्मामाको सो जग्गा अभिराव जामिया इस्लामिया इस्लामिक मदर्शाको नाममा रहेको तर स्थानीय जमिनदार अब्दुलकलाम मुसलमान, जियाउ रहमान र हितिज रहमान लगायत पाँच जनाले जवरजस्ती रुपमा आफ्नो नाममा बनाउन खोजेपछि किसानसङ्घमा परेको उजुरीका आधारमा जग्गा नियन्त्रणमा लिएको बताए।
एचकेनेपाल डट कम संवाददाता-
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री स्व.टेकबहादुर चोख्यालप्रति आज श्रद्धाञ्जलि अर्पण गरियो। चोख्यालको अनामनगरस्थित आफ्नै निवासमा गएराति साढे दशबजे ५९ वर्षको उमेरमा अत्यधिक रक्तश्रावका कारण निधन भएको हो।
उहाँको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय सानेपामा आज दिउँसो दुई घण्टा राखी अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगियो।
वि.स.२०२७ देखि लोकतान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्नुभएका स्व. चोख्याल २०५७ देखि २०५९ सम्म कांग्रेसको मुख्य सचेतक हुनुहुन्थ्यो। उहाँले कानूनमन्त्रीको कार्यभार समेत वहन गर्नुभएको थियो।
स्वर्गीय चोख्याल ऐतिहासिक संविधान सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ६ मा माओवादी उम्मेदवारबाट पराजित हुनुभएको थियो।
श्रद्धाञ्जलि कार्यक्रममा वरिष्ठ नेता शेरबहादुर देउवाले उहाँको निधनले राष्ट्र तथा पार्टीलाई ठुलो क्षति पुगेको बताउनुभएको छ। स्व. चोख्यालका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ।
बन्दना पौडेल, काठमाडौं/ एचकेनेपाल डट कम-
रक्षामन्त्री विद्या भण्डारीले आन्दोलनको नाममा माओवादीले सडकबाट अराजक गतिविधि सञ्चालन गरिरहेको आरोप लगाउनुभएको छ।
एमाले वडा कमिटीले चावहिलमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उहांले माओवादी आन्दोलनले संविधानसभालाई समेत अपांग बनाएको बताउनुभयो। उहांले माओवादी आन्दोलनलाई जनताले नस्वीकारेको दावी गर्नुभयो। संविधान बनाउने जिम्मेवारी एमालेको रहेको भन्दै उहांले एमालेले समयमै संविधान बनाएर देखाउने जिकिर गर्नुभयो। अधिकांश समय माओवादीको विरोधमा बोल्नु भएकी रक्षामन्त्री भण्डारीले देश पछि पर्नुको कारण पनि माओवादी नै भएको आरोप लगाउनुभयो।
माओवादीले सरकारसित गरेका कुनै पनि सम्झौता पालना नगरेको भन्दै रक्षामन्त्रीले बुर्जुवा शिक्षा हटाउने नाममा माओवादीले विद्यालयलाई गुरिल्ला क्याम्प बनाउन लागेको पनि बताउनुभयो।
बन्दना पौडेल, काठमाडौं/ एचकेनेपाल डट कम-
राष्ट्रपति डाक्टर रामवरण यादवले राजनीतिक गतिरोधको अन्त्य संसदबाटै खोज्न आग्रह गर्नुभएको छ।
सप्तरीको छिन्नमस्ता मन्दिरको दर्शन गर्न पुग्नुभएका राष्ट्रपति डा. यादवले संविधानसभा र संसदबाहिर समस्याको समाधान खोज्न नहुन दलहरुलाई आग्रह गर्नुभयो। उहांले सबै मिलेर जनतालाई नयाँ संविधान दिनुपर्ने भन्दै संसद् अवरोध गरेर समस्याको समाधान नहुने विचार राख्नुभयो।
मेची आँखा अस्पतालको भवन उद्घाटनका लागि हिजो झापा पुग्नु भएका राष्ट्रपति यादव आज नेपाली सेनाको हेलिकोप्टरबाट सिंधै मन्दिर परिसरमा पुग्नु भएको थियो।
मन्दिर परिसर पुग्दा राष्ट्रपतिको विरोधमा माओवादी कार्यकर्ताले प्रदर्शन गरेका थिए। माओवादीले विरोध गर्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै मन्दिर परिसरमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको थियो। माओवादी कार्यकर्ताले कालो झण्डा देखाउंदै राष्ट्रपतिको असंवैधानिक कदमको विरोधमा नारावाजी गरेका थिए।
राष्ट्रपतिको दर्शन कार्यक्रममा सञ्चारकर्मीलाई पनि कडाइ गरिएको थियो। राष्ट्रपतिलाई प्रश्न नसोध्न प्रशासनले कडा निर्देशन जारी गरेको थियो।
बन्दना पौडेल, काठमाडौं/ एचकेनेपाल डट कम-
भारतको लखनउमा हुने एशियन टेबल टेनिस च्याम्पियनमा सहभागी हुन ११ सदस्यीय नेपाली टोली आज त्यसतर्फ लागेको छ।
प्रतियोगितामा नेपाली खेलाडीहरुले म्यान सिंगल्स, ओमन्स सिंगल्स, म्यान्स डबल्स, ओमन्स डबल्स, मिक्स डबल्स र टिम इभेन्टस्मा प्रतिस्पर्धा गर्नेछन्। टेबुल टेनिस टोलीले एशियन च्याम्पियनसिपलाई एघारौ दक्षिण एशियाली खेलकुदको तयारीमा रुपमा समेत लिएको छ। प्रतियोगितामा ८ नेपाली खेलाडीहरुले प्रतिस्पर्धा गर्दैछन्। पुरुषोत्तम बज्राचार्य, शिवसुन्दर गोथे, चन्द शाही, अजय सुवाल, गिता थापा, नविता श्रेष्ठ, मुना बासुकला र स्वेच्छा नेम्वाङले प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्। शिवसुन्दर र स्वेच्छा बाहेक बाँकी सबै खेलाडीहरु दक्षिण एशियाली खेलकुदका लागि छनौट भइसकेका छन्।
दक्षिण एशियाली खेलकुदमा छनौट भएर पनि एशियन च्याम्पियनसिपमा स्थान बनाउन नसकेको दूइ खेलाडीहरु दिपसावन र एलिना महर्जनलाई संघले पर्यवेक्षकका रुपमा प्रतियोगितामा लगेको छ। नेपाली टोलिको प्रशिक्षणको जिम्मेवारी शुशिल पौडेलले सम्हाल्नेछन्। त्यस्तै टिम म्यानेजरमा टेबुल टेनिस संघका अध्यक्ष चतुराचन्द राजवैद्य रहेका छन्। प्रतियोगिताकै दौरान हुने एशियन टेबुल टेनिस युनियनको साधारणसभामा राजवैद्यले नेपालको प्रतिनिधित्व गर्नेछन्।
उत्तर प्रदेश टेबुल टेनिस संघको आयोजनामा साता दिनसम्म चल्ने यो प्रतियोगितामा चीन, जापान, भारतलगायत एशियाली राष्ट्रका खेलाडीहरुले प्रतिस्पर्धा गर्दैछन्। एशियन टेबुल टेनिस च्याम्यिनपिसमा वर्षौदेखि चीनले आफ्नो प्रभुत्व जमाउंदै आएको छ।
देवकोटालाई “महाकवि” दिने ईश्वर बराल थिए
(जीवनी) नरेन्द्रराज प्रसाई-
१९८० सालको कात्तिक ९ गते सिराहा जिल्लाको बस्तीपुर गाउँमा जन्मेका ईश्वर बरालको वास्तविक नाउँ लीलानटेश्वर बराल हो। पिता पं. देवीरञ्जन बराल तथा माता भुवनेश्वरीदेवी बरालका सुपुत्र ईश्वर बरालका एक छोरा किरण र दुई छोरी ज्योति र द्युति छन्।
२०५४ सालको आरम्भमा बराल बिरामी परे। उपचारार्थ उनी भारतको दिल्ली पुगे। त्यहाँको अस्पतालमा भर्ना भएपछि निष्कर्ष निक्ल्यो- उनलाई ‘ब्रेन ट्युमर’ भएको रहेछ। मीठो बोलीचाली भएका बरालले अनायासै आफ्नो वाणी दैवलाई दान दिनुपर्यो। त्यति राम्रो वाक्शक्ति भएका बरालले त्यसपछि मौनतामा जीवन अर्पण गर्नुपर्यो। त्यति मात्र होइन, नेपाली साहित्यफाँटमा अत्यन्तै सुन्दर हस्ताक्षर हुनेहरूमध्ये एक बरालका ती सुन्दर अक्षर पनि २०५४ सालको वैशाखदेखि कहीँकतै नआउने भए । सरस्वतीका वरद पुत्र ईश्वर बराल लेख्न र बोल्नबाट वञ्चित हुन पुगे । हुँदाहुँदै २०५४ सालको कात्तिक २७ गते बुधबार एकाबिहानै काठमाडौंमा उनले देहत्याग गरे।
फाइल तस्वीरः बराल र प्रसाई
बरालका कृतिहरूमा प्रौढ दृष्टिकोण, पाण्डित्यपूर्ण शैली र ओजस्वी अभिव्यक्ति पाइन्छ । नेपाली समालोचनाफाँटका अमर व्यक्तित्व प्राध्यापक ईश्वर बरालको ख्याति नेपाली वाङ्मयसंसारकै एउटा सम्पत्ति मानिन्छ । उनी आधुनिक नेपाली साहित्यको समालोचना र सम्पादनका जगद्गुरु मानिन्छन् । त्यति मात्र होइन, नेपाली भाषासाहित्यका महत्त्वपूर्ण स्रष्टाहरूलाई खोज्ने, गोड्ने र चिनाउने पनि ईश्वर बराल हुन् । विभिन्न भाषाका ज्ञाता मानिने बराल नेपाली साहित्यकाशका अमर तारा हुन्, अमर प्राज्ञ हुन् र अमर स्रष्टा हुन् । उनैले पहिलो पल्ट लक्ष्मीप्रसाद देवकोटालाई महाकवि लेखे । २००४ सालमा उनले देवकोटालाई महाकवि लेखेपछि उनका नाउँमा त्यही सम्मान चलेर गयो र देवकोटालाई लेखिने गरेको युगकवि २०१० सालको हाराहारिमा सिद्धिचरण श्रेष्ठमा सारिएको थियो।
बरालले चार वर्ष अमरकोश पढेका थिए। आफ्नी आमा भुवनेश्वरीदेवीले मौखिक वाचनद्वारा उनलाई सो ग्रन्थ कण्ठाग्र गराएकी थिइन् । पाँच वर्षपुग्दा अमरकोशका तीनै काण्ड कण्ठस्थ पार्ने व्यक्ति ईश्वर बराल थिए । त्यसपछि उनले क्रमशः हितोपदेश, रघुवंश, लघुसिद्धान्त-कौमुदी, शुक्लयजुर्वेदका केही अध्याय र रुद्री आदिको ज्ञान अन्य गुरुजनहरूबाट ग्रहण गरे । उनले एघार वर्षलाग्दा अङ्ग्रेजी अर्थात् ए, बी, सी, डी पढ्न थालेका थिए । त्यसपछि हिन्दी, उर्दू, बङ्गाली भाषामा पनि उनी क्रमशः भिज्दै गए।
संस्कृत, नेपाली, अङ्ग्रेजी, हिन्दी, मैथिली, उर्दू, बङ्गाली, भोजपुरी आदि भाषामा केही पोख्त हुँदाहुँदै उनले भारतको जयनगरबाट म्याट्रिक पास गरे । त्यसपछि संवत् १९९८ सालमा उनले दरभङ्गामा आई.एस्सी. मा आफ्नो नाउँ लेखाए।
१९९९ सालमा ‘भारत छोड’ आन्दोलनमा सक्रिय भएकाले बराल पनि दरभङ्गामा समातिए । परिणामस्वरूप त्यहाँ उनको आई.एस्सी.को पढाइ अवरुद्ध भयो । त्यसपछि २००० साल वैशाखमा उनी काठमाडौँस्थित त्रिचन्द्र कलेजमा भर्ना भए । त्यस बेला उनका सहपाठी थिए विजय मल्ल । साथै त्यस समय नै लक्ष्मीप्रसाद देवकोटा, हृदयचन्द्रसिंह प्रधान आदिसँग बरालको घनिष्ठता भइसकेको थियो । त्यस बेला उनले नेपाली साहित्यका बारेमा केही जान्ने र सुन्ने मौका पनि पाए । त्यसैको परिणामले उनले २००० सालमा शारदामा एउटा लेख छापे । ‘कथाको परिभाषा’ शिर्षकको सो समालोचना समीक्षाजगत्को उनको प्रथम प्रस्तुति थियो । नितान्त सिकारुको लेख हुनाले त्यस बेलाको सो लेखबाट पछिपछि बरालाई लाज पनि लागेको थियो।
साहित्यमा दिनानुदिन रुचि बढ्दै गएपछि बरालले आई.एस्सी. समुत्तिर्ण गरे र २००२ सालमा काशी हिन्दू विश्वविद्यालयमा बी.ए. मा नाउँ लेखाए । त्यसपछि अर्थात् २००३ सालमा उनी नेपाली (राष्ट्रिय) काङ्ग्रेसका संस्थापक सदस्य भए । २००५ साल वैशाखमा ईश्वर बरालको विवाह सुश्री रानू ढुङ्गानासँग सुसम्पन्न भएको थियो।
बरालले बी.ए. को अन्तिम वर्षअध्ययन गर्दागर्दै झयालबाट र हिमालचुलीको सम्पादन गरेका थिए । तर परिस्थितिले गर्दा उनको झयालबाट २००६ सालमा र हिमालचुली २०१२ सालमा मात्र प्रकाशित भएका थिए।
एम्.ए. अध्ययनका लागि पनि बराल काशी हिन्दू विश्वविद्यालयमा भर्ना भए । त्यस बेला उनी समीक्षात्मक कलामा झन् उर्त्र्सग भए । उनले समीक्षाका लागि मम्मट र टी.एस. इलियटलाई गुरु थापे । नेपाली भाषाप्रतिको न्यानो माया, मोह र भावना बोकेर उनी २०१८ सालमा संयुक्त अधिराज्य पुगे।
बरालले भारतको काशी हिन्दू विश्वविद्यालयबाट २००६ सालमा अङ्ग्रेजी साहित्यमा एम्.ए. तथा २०२१ सालमा बेलायतको लन्डन विश्वविद्यालयबाट पृथ्वीनारायण शाहका दिव्य उपदेशमा पीएच्.डी. गरे । नेपाली साहित्यमा प्रवेश गर्दा कविता लेखेर उनले आफ्नो साहित्यिक यात्रा अघि बढाएका भए पनि उनका कविताहरूले प्रकाशित हुने मौका त्यति पाएनन्।
बरालले साहित्यका अतिरिक्त सुरुदेखि नै शिक्षापेसालाई अपनाए । उनले २००६ सालदेखि २००८ सालसम्म दार्जिलिङ सरकारी कलेजमा नेपाली पढाए भने २००८ सालदेखि २०१३ सालसम्म त्रिचन्द्र कलेज र पद्मकन्या कलेजमा प्राध्यापन गरी आफ्नो उत्कृष्ट प्राध्यापकीय सीपको पनि प्रदर्शन गरेका थिए । विभिन्न राजनीतिक खिचातानीले गर्दा उनी नेपालमा अटाउन सकेनन् । परिणामस्वरूप उनी भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालय फर्के । २०४७ सालमा उनी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका उपकुलपति मनोनीत भए । देशमा बहुदलीय प्रणाली भित्रिएपछि पहिलोपल्ट प्रज्ञाप्रतिष्ठानको उपकुलपति हुने पनि ईश्वर बराल नै भए । २०५० सालसम्म उनी उपकुलपतिपदमा विराजमान थिए । नेपाली साहित्यमा उल्लेखनीय सेवा गरेबापत उनले महाकवि देवकोटा महासम्मान, बालचन्द्र पुरस्कार, झपट पुरस्कार र सीताराम पुरस्कार प्राप्त गरे।
बरालका पन्ध्रवटा प्रकाशित कृतिहरूमध्ये उनको जीवनकालमा आठवटा र निधनपछि शरद्चन्द्र शर्मा भट्टराईको सङ्कलन र सम्पादनमा छवटा कृति प्रकाशित भए । उनले पारिजातका कविता सम्पादनदेखि रवीन्द्रनाथ ठाकुरका कथा अनुवादसम्मको काम गरे।
बराललले नेपाल सांस्कृतिक परिषद् पत्रिका , धरती इन्द्रेणीको पनि सम्पादन गरे । साथै उनी नेपाली लेखक सङ्घ र नेपाली सांस्कृतिक परिषद्का सचिव पनि भएका थिए । उनले पाँच दशकभन्दा बढी समय नेपाली भाषा, साहित्य संस्कृति, इतिहास, राजनीतिजस्ता विषयमा शताधिक लेख नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा लेखिरहे।
नेपाली साहित्यकाशमा महत्त्वपूर्ण योगदान पुर्याउने बराल थुप्रै समयसम्म भारतमा बसे पनि उनले निरन्तर रूपमा नेपाली भाषासाहित्यका बारेमा लेखिरहे । समीक्षामा आफूलाई कठोर बनाए पनि डा. बराल नरम, सादा र सीधा थिए । गुलाफका बिरुवा हुर्काउने र मलजल गर्ने इच्छामा आबद्ध बराल गुलाफ फुलेको हर्नमा त्यति नै रमाइलो मान्थे । उनको घर सिफलमा उनी बिहानबेलुका प्रायः फूल गोडमेल गर्नमा नै व्यस्त रहन्थे।
नेपाली साहित्यका अमर समीक्षक ईश्वर बराल समालोचनाजगत्का एक होनहार प्रतिभा थिए ।बरालको समालोचकीय प्रणाली वैज्ञानिक र र्सवमान्य थियो । कुनै पनि व्यक्तिले उनको समालोचनालाई खोट लाउन सकेका थिएनन् । बरु उनका लेखनीमा स्थापित शब्दहरूबारे गुनासाहरूचाहिँ आइरहने गर्थे । बरालले नेपाली समाजलाई जति दिए थुप्रै दिए । उनको एक्लो प्रयासले उनले नेपाली प्रज्ञाप्रतिष्ठानलाई पनि उछिने र साझा प्रकाशनलाई पनि जिते । वास्तवमा २००० सालदेखि मृत्यू पर्यन्त निरन्तर नेपाली समालोचनाका लागि समर्पित हुने व्यक्ति पनि बराल एउटै थिए । उनले यस आधा शताब्दीमा नेपाली भाषाको मन्दिरनिर्माणमा अत्यधिक लगानी गरे । उनी आधुनिक नेपाली समालोचनाका सगरमाथा बने । उनी नेपाली भाषाको समीक्षाविधाका एक आधिकारिक महापुरुष बने । उनी नेपाली वाङ्मयसंसारका एक श्रद्धेय, आदरणीय र अमर विभूति बने।
एचकेनेपाल डट कम संवाददाता-
नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला थप उपचारको लागि विशेष हवाई एम्बुलेन्स विमानद्वारा शनिवार विहान सिंगापुरतर्फ प्रस्थान गरेका छन्।
गत मंगलवारदेखि अस्वस्थ्य रहेका कोइरालालाई थप उपचारको लागि सिंगापुर लगिएको हो। कोइरालालाई लिन शनिवार बिहान सिंगापुरबाट विशेष हवाई एम्बुलेन्स विमान नेपाल आएको थियो। आकस्मिक उपचार कक्षसहित सिंगापुरका चिकित्सकहरू रहेको उक्त विमान विहान ९ बजे सिंगापुरतर्फ प्रस्थान गरेको हो। कोइरालासंगै डा. मनबहादुर केसी, जगदिश अग्रवाल र जिजुनाथ पोखरेल गएका छन्।
कोइरालाको उपचार सिंगापुरको ट्रिपल वन समर सिटीस्थित क्लेप निकल्स अस्पतालमा हुनेछ।
कोइरालाको स्वास्थ्य स्थितिमा क्रमिक सुधार आइरहेको बताइएपनि खतरामुक्त नरहेको स्रोतले जनाएको छ।
एस, मकाउ/ एचकेनेपाल डट कम-
क्यानाडाको शहर टोरन्टोमा नोवेम्बर १४-१५ सम्म सञ्चालन हुन गैरहेको २००९ टोरन्टो इन्टरनेशनल ओपेन ते क्वान दो च्याम्पियनशिपमा सहभागी हुनका लागि दुई नेपाली तेक्वान्दो खेलाडीहरु त्यसतर्फ प्रस्थान गरेका छन्।
सहभागी हुने टोलीमा नेपलिज तेक्वान्दो क्लब, मकाउका संस्थापक एवं मुख्य प्रशिक्षक धिरेन्द्रकुमार शाही र सहायक प्रशिक्षक बाबुलाल गुरुङ हुनु हुन्छ। उक्त प्रतियोगितामा तेक्वान्दो अन्तर्राष्ट्रिय रेफ्री शाहीले निर्णायकको भूमिका निर्बाह गर्नुका साथै तेक्वान्दो पुम्से प्रदर्शनसमेत गर्नु हुनेछ। अर्का खेलाडी बाबुलाल गुरुङले भने ६७ केजि तौल माथिको समूहमा प्रतिस्पर्धा गर्नुहुनेछ।
सहभागी हुने खेलाडीहरुलाई मकाउ तेक्वान्दो संघका अध्यक्ष ग्रान्ड मास्टर विलीएम ओङ वाइ पुइले एक समारोहबिच बिदाइ गर्नुभएको थियो।