एचकेनेपाल डट कम संवाददाता-
सरकारसँग चारपटक वार्तामा बसिसकेको जनतान्त्रिक तराई मुक्ति मोर्चाले उपराष्ट्रपतिलाई पुनर्बहाली गर्नुपर्ने लगायत विभिन्न छ बूँदे माग अघि सार्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।
आफूहरूको मागप्रति सरकार गम्भीर नभए वार्ता भङ्ग हुने चेतावनीसमेत मोर्चाले दिएको छ।
सदरमुकाम राजाविराजमा आज बिहान पत्रकार सम्मेलनको आयोजना गरी मोर्चाले विरोधसभादेखि तीनदिने तराई बन्दको समेत घोषणा गरेको छ।
पत्रकार सम्मेलनमा मोर्चाका केन्द्रीय अध्यक्ष राजीव झा उत्कर्ष मुक्तिले सरकार र मोर्चाबीच भएको सहमति तत्काल लागु गरी कार्यकर्तालाई रिहाइ गर्नुपर्ने, मोर्चाका लडाकू र कार्यकर्ताको भरणपोषण र शिविर व्यवस्थापन गर्नुपर्ने तथा वार्ताको क्रममा मारिएका मोर्चाका धनुषा जिल्ला इन्चार्ज अविनाश मुक्तिको प्रकरणको उच्चस्तरीय छानविनको माग आफूहरूको रहेको बताउनुभयो।
एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी)का सचिव सिपी गजुरेलले वर्तमान संविधानसभाबाट जनसंविधान नबन्ने ठोकुवा गर्दै अब जनविद्रोहबाटै सत्ता कब्जा गरी जनताले चाहेको संविधान बनाउन माओवादी आन्दोलनमा लागेको बताउनुभएको छ।
सचिव गजुरेलले आज सुनसरीको इटहरीमा क्रान्तिकारी पत्रकार सङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा सार्वजनिक गर्नुभएको हो।
सचिव गजुरेलले नेकपा (एमाले) नीतिविहीन राजनीतिक दल भएको र यतिखेर एमाले नेपाली काङ्ग्रेसको इशारामा शासनमा रहेको टिप्पणी गर्नुहुँदै नेपाली काङ्ग्रेसले नै एमाले नेता अशोक राईमार्फत् यो संविधानसभा विघटनको कुरा बाहिर ल्याएको बताउनुभयो।
एचकेनेपाल डट कम संवाददाता-
चितवनको सीमा क्षेत्रको सुरक्षाका लागि जिल्लामा सीमा सुरक्षा कार्यालय स्थापना हुनेभएको छ।
चितवनमा सम्भावित अतिक्रमण तथा सीमा क्षेत्रमा हुने अपाराधिक गतिविधि रोक्न सीमा सुरक्षा कार्यालयको स्थापना हुन लागेको हो।
दक्षिण चितवनको माडी क्षेत्र र त्यसनजिक जोडिएका भारतीय सीमा नाकामा अतिक्रमण भएको तथ्य सार्वजनिक भएपछि चितवनमा पनि सीमा क्षेत्रको सुरक्षा आवश्यक भएको हो।
सशस्त्र प्रहरीको मातहतमा चितवनमा रहने सीमा सुरक्षा कार्यालयको मुख्य कार्यालय सदरमुकाममा रहने र अन्य कार्यालय सीमा क्षेत्रमा रहने बताइएको छ।
दुई महिनाअघि बसेको मन्त्रिपरिषद्को बैठकले तराईका जिल्लाहरुमा सीमा सुरक्षा कार्यालय गठन गर्ने निर्णय गरेपछि चितवनमा पनि कार्यालय गठनका लागि कार्य सुरु भएको हो।
सीमा सुरक्षा कार्यालयका लागि सरकारले ११ हजार ३८८ सुरक्षाकर्मीको दरबन्दीका लागि स्वीकृत दिएको छ। जसमा पहिलो चरणमा पाँच हजार ४८१ दरबन्दी तयार भइसकेको सुरक्षा स्रोतले जानकारी दिएको छ। यसअघि तराईका अन्य १८ वटा जिल्लामा सीमा सुरक्षा कार्यालय स्थापना भइसकेको छ।
एचकेनेपाल डट कम संवाददाता-
आमालाई दुर्व्यवहार गर्ने एक पुरुषलाई धनकुटाका एक किशोरले भाटाले हानेर हत्या गरेका छन्।
मुतिढुङ्गा–६ का १५ वर्षीय मङ्गल मादेनले आफ्नी आमा हेमकुमारी मादेनलाई दुर्व्यवहार गर्ने तेह्रथुम सुदामका ४२ वर्षीय श्यामकुमार मादेनलाई दुर्व्यवहार गरिरहेको अवस्थामै भाटाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय, धनकुटाले जनाएको छ।
उनका बाबु हाल विदेश गएका छन्। घरमा कोही नभएका बेला उसले आमालाई दुर्व्यवहार गर्ने गरेकाले सहन नसकी हत्या गरेको उनले बताए।
एचकेनेपाल डट कम संवाददाता-
सञ्चारमाध्यमलाई गलत सूचना दिएको आरोपमा दाङको राजपुर गाविसका रुपलाल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।
चौधरीले केही दिनअघि आफैंले श्रीमतीलाई कुटपिट गरेकामा छिमेकीले श्रीमती र छोराछोरीलाई अपहरण गरेको भनी सञ्चारमाध्यममा सूचना दिएका थिए। ।
आफैंले श्रीमतीलाई कुटेर प्रहरीलाई गलत सूचना दिई सञ्चारमाध्यम र प्रहरीलाई बदनाम गर्न खोजेकाले उनलाई पक्राउ गरिएको इप्रका, गढवाका प्रहरी निरीक्षक लक्ष्मीराज अधिकारीले बताउनुभयो।
एचकेनेपाल डट कम संवाददाता-
नेकपा (माले)का महासचिव चन्द्रप्रकाश मैनालीले राष्ट्रिय झन्डा परिवर्तन गर्न जरुरी नभएको भए पनि त्यसमा अङ्कित केही प्रतीकको सामूहिक व्याख्या गर्न सकिने भन्नुभयो।
मैनालीले झन्डाको किनारामा नीलो रङको ठाउँमा हरियो रङ परिवर्तन गर्न सकिने त्यसो गर्दा समावेशीको सङ्केत हुनुको साथै विश्व पर्यावरणप्रति पनि सजग भएको सङ्केत गर्नसकिने बताउनुभयो।
एचकेनेपाल डट कम संवाददाता-
उपप्रधानमन्त्री विजयकुमार गच्छदारले हल्लाकै भरमा सरकार परिवर्तन नहुने दावी गरेका छन्।
आइतबार बिहान महेन्द्रनगरमा मधेशी जन अधिकार फोरम (लोकतान्त्रिक) कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गच्छदारले ठूला दलहरूले सरकार परिवर्तन हुने हल्ला फैलाएर अस्थिरता सृजना गर्न खोजेको आरोप लगाए।
माओवादी अध्यक्ष प्रचण्ड र नेका सभापति गिरिजाप्रसाद कोइरालाबीच सिंगापुरमा भेट हुंदैमा सरकार परिवर्तन नहुने उनको धारणा थियो। अहिले सरकार परिवर्तनको पक्षमा कांग्रेस पनि सहमत नहुने गच्छदारले बताए।
एचकेनेपाल डट कम संवाददाता-
अनलाइन नेपाली साहित्य मञ्चले यस बर्ष युवा साहित्यकार राजेश राई खाटाम्मा भोजपुरलाई मिलन देवान स्मृति अनेसाम साहित्य पुरस्कार २०६५ दिने निर्णय गरेको छ।
राईलाई विगत एक दशकदेखि निरन्तर नेपाली साहित्यमा योगदान पुर् याएवापत सो पुरस्कार दिने निर्णय गरेको हो। राईका देशभक्त कलम कविता संग्रह २०६०, किराती लोक कथा २०६२ प्रकाशित भएका छन् भने कथा संग्रह जापनीज र अंग्रेजी भाषामा समेत प्रकाशित भई सकेको छ। युवा स्रष्टालाई प्रदान गरिने यस पुरस्कारको राशि नगद १० हजार रुपैयाँ र प्रमाण-पत्र रहेको छ।
धनुकुटा बोधेमा जन्मेका मिलन देवान कर्मक्षेत्र खोज्दै कतार पुगेको १९ औं दिनमा स्वर्गरोहण भएकोले उनको स्मृतिमा निजका सहोदर दाजु आनन्द देवान, अमृत देवान, दिदीहरु हरीमाया रुपमणि र रमा लगायतको परिवारले वि. सं. २०६४ मा उक्त पुरस्कारको स्थापना गरेका हुन्।
त्यसैगरी, मञ्चले नेपाली भाषा साहित्यको क्षेत्रमा विगत डेढ दशकदेखि निरन्तर योगदान पुर् याउदै आउनुभएका बन्दीपुर १ तनहूँका अर्जुन अधिकारीलाई र मौवा ९ नेन्दीबुङ पान्थर निवासी सेसेमी से नाल्बोलाई लिम्बू भाषामा विशेष योगदान पुर्याएवापत सम्मान गर्ने निर्णय गरेको छ। पुरस्कार राशि नगद ५ हजार रूपैयाँका साथै प्रमाण-पत्र प्राप्त रहेको छ।
एचकेनेपाल डट कम संवाददाता-
पोखराको महेन्द्रपुलमा शनिबार दिउँसो एउटा छाडा साँढेले वितण्डा मच्चाएको छ।
ड्युटीमा खटिएका प्रहरी हबल्दारलाई एक्कासी साँढेले उदिनेपछि उनी घाइते भएका छन्। साढेको आक्रमणबाट घाइते हुनेमा प्रहरी हबल्दार सुरेशबाबु थापा रहेका छन्।
घाइते थापाको टाउको, पेट र कोखामा चोट लागेको छ। साँढेको उदिनाइबाट उनी मुर्छित समेत भएको उद्धारमा संलग्न प्रहरीले जनाएका छन्। महेन्द्रपुलको बीच सडकमा उभिएर ट्राफिक व्यवस्थापन गरिरहेका बेला थापालाई पछाडीबाट साढेले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताए।
थापा भुइँमा ढलेपछि उनको टाउकोमा चोट लाग्दा उनी मुर्छित भएका थिए। साढेले थापालाई घाइते बनाएपछि साँढे धपाउन गएका प्रहरीलाई समेत नटेरेपछि प्रहरीहरु पछि हटेका थिए। साँढेलाई प्रहरीले बीच सडकमै छाडिदिएपछि सडक पेटीमा रहेका सर्वसाधारण रमिते बनेका थिए। साढे धपाउन नसकेका प्रहरी हुलाक पछाडिको बिट नजिकै उभिरहँदा साँढेले सोही ठाउँमा गएर आक्रमण गर्न खोजेको थियो। प्रहरीहरु साढेको आक्रमणबाट जोगिन बिटबाट केही पर हटेका प्रत्यक्षदर्शीले बताएका छन्।
एचकेनेपाल डट कम संवाददाता-
चिनीयाँले नेपाली ट्राफिक प्रहरीमाथि कुटपिट गरेपछि शनिवार दिनभर तातोपानी नाका तनावग्रस्त रह्यो।
चिनीयाँ पसलअघि ना ३ ख ४९४ नं.को नेपाली कन्टेनर गाडी रोकेको भन्दै एक चिनीयाँले गाडीको सीसा तोडफोड र चालक दुर्गालाल श्रेष्ठमाथि हातपात गरेपछि बढेको विवाद मिलाउन गएका नेपाली ट्राफिक हवल्दार अरुण पाण्डेलाई चिनीयाँ अध्यागमन कर्मचारीले दुई थप्पड हानेपछि झन विवाद बढेको थियो।
नेपाली ट्राफिट हवल्दार पाण्डे, चालक तथा मजदुर नेता श्रेष्ठमाथि कुटपिट र गाडीमा तोडफोड गरेको विरोधमा स्थानीय र नेपाली मजदुरले प्रदर्शन गरेर तातोपानी नाका बन्द गरेपछि दिनभर सो क्षेत्र तनावग्रष्त बनेको थियो।
चिनियाँ पक्षका खासास्थित सुरक्षा प्रमुख र नेपालका अध्यागमन र सुरक्षा अधिकारीवीच दिनभर भएको वार्तामा दोषीमाथि कारवाही गर्ने सहमति र चिनीयाँ पक्षले माफी माग्दै आगामी दिनमा यस्ता गल्ती नदोहोरिने बताएपछि स्थिति सामान्य बनेको थियो।
एचकेनेपाल डट कम संवाददाता-
आगामी मन्त्रिपरिषदको बैठक सगरमाथाको आधार शिविर नजिक गोरकसेपमा हुने भएको छ। जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउन मंसिर १९ गते शुक्रवार बैठक बस्न लागेको हो।
यसअघि, कार्तिक २५ गते गर्ने बस्ने भनिएको बैठक स्थगित भएपछि मंसिर १९ गते शुक्रवारका दिन बैठकको मिति तय भएको हो।
समुद्र सतहभन्दा १७ हजार १ सय ९० फिट उचाइमा रहेको गोरकसेपमा हुने बैठकमा जलवायु परिवर्तन र वातावरण संरक्षणसम्बन्धी घोषणा पत्र जारी गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिएका छन्। रिजालका अनुसार बैठकमा क्याबिनेटका २४ मन्त्रीहरुसहित कर्मचारी, पत्रकार, चिकित्सक र उद्धारकर्ता गरी करीव ५० जना सहभागी हुने छन्।
नेपाल टेलिभिजनले बैठकलगायत पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण गर्ने भएको छ। त्यसैगरी, सीएनएन, बीबीसी, अलजजिरालगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारणका लागि चासो राखेको बताइएको छ।
उच्च शिक्षा हाँसिल गर्न युके आउनुभएका नेपाली विद्यार्थीहरुको समस्याको सन्दर्भमा गैरआवासीय नेपाली संघ, युकेको सार्वजनिक अपिल-
नेपालबाट उच्च शिक्षा हाँसिल गर्न भर्खरै युके आउनुभएका नेपाली विद्यार्थीहरुले भोगी रहेका समस्याहरुप्रति गैरआवासीय नेपाली संघ, युकेको ध्यान गम्भीर रुपमा आकर्षित भएको छ।
यसै सन्दर्भमा संघको आयोजनामा यहि २२ नोभेम्वरमा ऊलवीच लण्डनमा बृहत अंतरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थीहरुको तर्फबाट धर्मराज अधिकारी, दिपा थापा र सुजित साहले विद्यार्थीहरुले भोगेको समस्याको वारेमा बताउनुभएको थियो । वहाँहरुले युकेमा विद्यार्थीहरु चौतर्फि मारमा परेको कुरा बताउनुभयो । वहाँहरुले नेपाली विद्यार्थीहरु अन्यको तुलनामा महंगो रकम बुझाएर आउनुपरेको युकेमा आईसकेपछि कलेजहरुले राम्रो व्यवहार नगरेको एअरपोर्टदेखि नै ठगि सुरु भएको, कलेजहरुले विद्यार्थीहरुसंग सर्त गरे बमोजिम उचित समयमा बासस्थानको बन्दोवस्त गर्न नसकेको, विद्यार्थीहरुले हप्तौं दिनसम्म भर्नाका लागि कलेज धाउनु परेको, सानो कक्षा कोठामा धेरै विद्यार्थी राखी पढाउन थालिएको, कलेजमा सुलभ र उपयुक्त पुस्तकालयको व्यवस्था नभएको, पठनपाठन राम्रो नभएको, घरवालाहरुले सानो कोठामा धेरै विद्यार्थीहरु राखी महंगो घरभाडा असुलेको, जागिर पाउन नसकिएको, सानातिन जागिर पाए पनि सरकारी न्यूनतम तलबदरभन्दा कममा काम गर्नु परेको जस्ता समस्याहरुकाकारण आफूहरु आर्थिक र मानसिक रुपबाट अत्यन्त पीडामा रहेको कुरा बताउनु भएको थियो।
कलेज संचालकहरुको तर्फबाट संगिता मरहट्ठा, सुवास अधिकारी र अरुण न्यौपानेले गुणस्तरिय शिक्षा दिन कलेजहरु प्रतिवद्ध रहेको, एकै समयमा धेरै विद्यार्थीहरु आईपुग्दा व्यवस्थापनमा केही कमिकमजोरीहरु रहन गएको, समस्याको वारेमा वास्तविकताभन्दा गलत अफवाहहरु फैलाईएको, वेलायतको आर्थिक मन्दिले विद्यार्थीहरुलाई रोजगारी पाउन समस्या बनेको, रोजगारीको लागि आवश्यक सरसहयोग गर्न कलेजहरुले कुनै कसर बाँकी नराखेको, नेपाली विद्यार्थीहरु नेपालमा गलत सल्लाहको सिकार भएकाले महंगो कलेजहरुमा भर्ना हुनपुगेको, विद्यार्थीहरु वेलायत जस्तो अत्याधुनिक र महंगो सहरमा आईपुग्दा एकैसमयमा विभिन्न कुराहरु झेल्नुपर्दा पीडा भोग्नु परेको जस्ता विचारहरु राख्नुभएको थियो।
कार्यक्रममा सोलिसिटर राजु थापाले विद्यार्थीहरुको भर्ना तथा भिसा नविकरण सम्बन्धि कानुनी व्यवस्था कलेजहरुको श्रेणी घटुवा, सस्पेन्स वा खारेजी भएमा कलेज स्थानन्तरणको कानुनी व्यवस्था, कलेजको अध्ययन सकिएपछिको अवस्थामा अध्यागमन सम्बन्धि व्यवस्था, नियम तथा कानुन विपरित कलेजहरुले कार्य गर्दाको अवस्थामा उजुरी गर्न सक्ने कानुनी व्यवस्था, वेलायतको एनआई तथा कर सम्बन्धि सामान्य नियम कानून सम्बन्धि व्यवस्थाको वारेमा विद्यार्थीहरुलाई जानकारी दिने उद्देश्यले कार्यपत्र पेश गर्नु भएको थियो । वीवीसी नेपाली सेवाका भगिरथ योगीले विद्यार्थीहरुले भोग्नुपरेको समस्या, त्यसको राजनैतिक सामाजिक र आर्थिक पक्ष, विद्यार्थीहरुले विचार पुर् याउनु पर्ने महत्वपूर्ण कुराहरुको वारेमा कार्यपत्र पेश गर्नुभएको थियो । कार्यक्रममा बोल्दै डा. चन्द्र लक्जम्वाले विद्यार्थीहरुको अगाडि कठिन घडि आएको वेलायतको विषम आर्थिक मन्दिको अवस्थामा टिक्नलाई कठोर मेहनत गर्नुपर्ने अवस्था रहेको, यो भन्दा कठिन समयमा आफूले वेलायतमा अध्ययन गरेको कुरा बताउनुभएको थियो। विविसि नेपाली सेवाका खगेन्द्र नेपालीले विगतमा पनि यसखालका समस्याहरु देखिए पनि यस पटक धेरै समस्याहरु देखिएको र सुनिएको कुरा बताउनुभयो। वहाँको अनुसार यसपटक विद्यार्थीहरुको संख्या अप्रत्यासित रुपमा ठूलो रहेको कारण समस्या देखिन आएको कुरा बताउनुभयो। उहाँले विद्यार्थीहरुलाई धैर्यतापूर्वक आफ्नो मार्गमा अगाडि लम्कन पनि हौसला दिनुभयो।
कार्यक्रममा आफ्नो विचारहरु राख्दै एनआरएनका पुर्व अध्यक्ष रि.मेजर डमर घलेले विद्यार्थीहरुको पीडामा मलम पट्टि लगाउने काम एनआरएनले गर्ने कुरा बताउनुभयो। उहाँले वेलायतमा कुनै पनि व्यक्ति कानुनको अघि झुक्न वाध्य हुने कुरा बताउनुभयो । उहाँले कलेजहरुले यदि नियमकानुन विपरित विद्यार्थीहरुलाई दुःख दिई राखेको छ भने विद्यार्थीको पक्षमा लड्न एनआरएन अगाडि बढ्ने कुरा बताउनुभयो । उहाँले विद्यार्थीहरुले आफूलाई मर्का परेको कुरा लिखित रुपमा सम्बन्धित निकायमा दर्ता गराई समस्याको उपचार खोज्न पनि सुझाव दिनु भयो । कार्यक्रममा एनआरएनका आई.सि.सि. सदस्य राजन कँडेलले विद्यार्थीहरुको समस्यालाई हल गर्न कलेजको तर्फबाट कुनै कसर बाँकी नराख्ने विचार व्यक्त गर्नुभयो । उहाँले एनआरएन सबै नेपालीहरुको साझा संस्था भएकोले पिडामा रहेका नेपालीहरुलाई सहयोग गर्नु यसको कर्तव्य रहेको कुरा बताउनुभयो। उहाँले आफूले संचालन गरेको कलेजमा विद्यार्थीहरुलाई सकेसम्म कुनै समस्याबाट पीडित बन्नु नपरोस् भन्ने कुरामा ध्यान दिईएको कुरा बताउनुभयो। कार्यक्रममा एन.आर.एन.का युरोपियन कोअर्डिनेटर रि.क्या. हितमान गुरुङले विद्यार्थीहरुलाई वेलायतमा प्रतिष्पर्धा गरी जित्न कठोर मेहनत गर्नुपर्ने कुरा बताउनुभयो। उहाँले वेलायतमा आउनुभन्दा पूर्व नै वेलायतको विभिन्न पक्षको वारेमा यथेष्ठ सूचना लिएर आउने व्यवस्था नहुँदा विद्यार्थीहरुले ठूलो पीडा झेल्नुपरेको कुरा बताउनुभयो। उहाँले जागिर खोज्न जानुअघि आफ्नो सिवि राम्रोसंग तयार पार्ने, अन्तर्वार्तामा सहभागी हुनुभन्दा पहिले राम्रो तयारी गर्ने जागिर सम्बन्धि सूचनाका लागि जवसेन्टर, सरकारी लाईवे्ररीहरुमा जानु पर्ने जस्ता सुझावहरु दिनुभयो। वहाँले विद्यार्थीहरुले धैर्य गरी अगाडि बढ्न पनि सुझाव दिनुभएको थियो।
कार्यक्रमको प्रमुख अतिथि नेपाली दूतावासका कार्यवाहक राजदूत झविन्द्र अर्यालले दूतावासको तर्फबाट विद्यार्थीहरुको समस्याहरु संकलन गर्न उजुरीहरु सुन्न र संकलित समस्याहरुको समाधानका लागि पहल गर्न छुट्टै निकायको स्थापना गरी काम गरिरहेको कुरा बताउनुभयो । वहाँले विद्यार्थीहरुले आफ्नो पीरमर्काहरु लिखित वा मौखिक रुपमा दूतावासमा दिन सबैलाई आव्हान पनि गर्नुभयो । दूतावासले दुःखमा परेका विद्यार्थीहरुको लागि दूतावासको तर्फबाट बनाउन मिल्ने सम्पूर्ण कागजातहरु प्राथमिकतामा राखी सहयोग गरिरहेको कुरा बताउनुभयो । उहाँले गलत सूचनाहरु प्रवाह गरी विद्यार्थीहरुलाई मर्कामा पारिएको भए सम्बन्धित निकायमा तदारुकताकासाथ कार्य गर्न सूचना गरिने कुरा पनि बताउनुभयो।
कार्यक्रममा एन.आर.एन. युकेका अध्यक्ष सूर्य गुरुङले विद्यार्थीहरुको समस्या समाधानको लागि एन.आर.एन. सहयोग गर्न तयार रहेको कुरा बताउनुभयो । वहाँले कार्यक्रमको अन्तमा विद्यार्थीहरुको समस्या समाधानमा सहयोग पुर् याउन सम्बन्धित विभिन्न पक्षहरुलाई एन.आर.एन. युकेको तर्फबाट निम्नलिखित रुपमा सार्वजनिक अपिल गर्नुभएको छ।
१. कलेजहरुबारे विद्यार्थीहरुबाट माथि उल्लेखित विभिन्न गुनासाहरु अभिव्यक्त भईरहेको सन्दर्भमा तिनीहरुलाई यथासमयमा विना हिचकिचाहट पूरा गर्न कलेज संचालकहरुसंग हार्दिक अपिल गर्दछु।
२. विद्यार्थीहरुको दोश्रो समस्या वेरोजगारी रहेको छ। वेलायतको आर्थिक मन्दिकाकारण यहाँका स्थानीय जनशक्तिले पनि वेरोजगारीको मार खेपिरहेको परिस्थितिमा नेपालबाट आएका नयाँ विद्यार्थीहरुलाई रोजगारी पाउन अत्यन्त कठिनको विषय बनिरहेको छ। नेपालको सानो अर्थतन्त्रको बिचबाट ठूलो धनराशि खर्च गरी दुःखपूर्वक वेलायत आई पुगेका विद्यार्थीहरु एक महिनामात्र यहाँ वेरोजगार भई बस्नु पर्दा उनले अत्यन्त आर्थिक कठिनाईको पीडा भोग्नुपर्ने कुरा निश्चित छ। आज सम्पूर्ण नेपाली विद्यार्थीहरु यहि पीडा भोगिरहेका छन्। तसर्थ, यस्ता दुःखमा परेका विद्यार्थीहरुलाई सहयोग गर्नु आफ्नो परम कर्तव्य ठानी वेलायतमा उद्योग व्यवसाय संचालन गरेका नेपालीहरुले अधिकतम रुपमा नेपाली विद्यार्थीहरुलाई रोजगारी दिन हार्दिक अपिल गर्दछु। साथै वेलायतमा व्यवसाय गरी बसेका नेपाली व्यवसायीहरुसंग रोजगारीको कुनै अवसर भएमा एन.आर.एन. युकेलाई जानकारी गराउन पनि हार्दिक अनुरोध गर्दछु।
३. नवआगन्तुक नेपाली विद्यार्थीहरु वेलायतमा महंगो घरभाडाको शिकार भएका छन्। वेलायतको मुटु कँपाउने चिसो जाडोमा विना हिटरको घरमा अत्यन्त चर्को घरभाडा तिरी बस्नुपर्ने विवसता उनीहरुमा छ। तसर्थ, वेलायतमा घरजम गरी बसोवास गरी रहेका नेपाली दाज्युभाई दिदीबहिनीहरुले दुःखमा परेका हाम्रा विद्यार्थी भाईबहिनी छोराछोरीहरुलाई यथासम्भव वासस्थानको लागि सहयोग गरिदिन पनि एन.आर.एन.को तर्फबाट हार्दिक अपिल गर्दछु।
४. वेलायत सरकारले बिदेशी जनधन ल्याई यहाँको अर्थतन्त्रलाई मजवुत पार्ने परिकल्पना गरेर अन्तर्राष्ट्रिय कलेजहरु खोल्ने अनुमति दिई विदेशी विद्यार्थीहरुको ओईरो लगाउने गर्दै आएको छ। यसरी झिकाईएका विद्यार्थीहरुलाई सरकारले हप्ताको न्यूनतम २० घण्टा काम गर्न पाउने अधिकार पनि दिएको छ। तथापि, सरकारले विद्यार्थीहरुलाई रोजगारीके कुनै वातावरण सृजना गरेको छैन। तसर्थ, वेलायत झिकाईएका ति विद्यार्थीहरुलाई न्यूनतम रुपमा भए पनि रोजगारीको ग्यारेण्टी गर्न वेलायत सरकारसंग एन.आर.एन. युके हार्दिक अपिल गर्दछ। साथै, नेपाल सरकारले समस्यामा परेका नेपाली विद्यार्थीहरुलाई वेलायतमा आवश्यक रोजगारीको व्यवस्थामा पहल गर्नु आफ्नो दायित्व संझनु जरुरी छ। यसका लागि वेलायत सरकारसंग कुटनितिक पहल गर्न नेपाल सरकारसंग हार्दिक अपिल गर्दछु।
५. अन्त्यमा, एन.आर.एन. युकेका कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु अन्तर्राष्ट्रिय कमिटिका सदस्यहरु, सल्लाहकारहरु, विभिन्न समितिका सदस्यहरु र एन.आर.एन.का पुर्व पदाधिकारी तथा सदस्यहरु तथा एन.आर.एन.का सदस्यहरुले नवआगन्तुक विद्यार्थीहरुलाई आवश्यक पर्ने सहयोग गर्न आ-आफ्नो ठाउमा तत्पर भएर लाग्न हार्दिक अपिल गर्दछु।
यस छलफल कार्यक्रम संघका राष्ट्रिय संयोजक भक्त गुरुङले संचालन गर्नुभएको थियो। कार्यक्रममा सहभागि सम्पूर्णलाई उपाध्यक्ष कुल आचार्यले स्वागत गर्नुभएको थियो। कार्यक्रममा विद्यार्थीहरु, सरोकारवाला सम्पूर्ण व्यक्तिहरु, एन.आर.एन.का अन्तर्राष्ट्रिय कमिटिका सदस्यहरु, राष्ट्रिय कमिटिका सदस्यहरु तथा सल्लाहकारहरुको व्यापक उपस्थिती रहेको थियो। अन्तर्क्रियामा विद्यार्थीहरुले सम्बन्धित सरोकारवालाहरुसंग आ-आफ्नो समस्याहरुलाई स्पष्टसंग राख्नुभएको थियो।
धन्यवाद ।
भक्त गुरुंग
राष्ट्रिय संयोजक
गैरआवासीय नेपाली संघ, युके
२८ नोभेम्वर २००९
एचकेनेपाल डट कम संवाददाता-
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइराला दक्षिण-दक्षिण समूहको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन आइतबार केन्याको राजधानी नैरोबी जाने कार्यक्रम स्थगित भएको छ।
मंगलवारदेखि सुरू हुने विकासोन्मुख मुलुक सदस्य रहेको दक्षिण-दक्षिण समूहसम्बन्धी राष्ट्रसंघीय उच्चस्तरीय सम्मेलनमा सहभागी हुन कोइराला त्यसतर्फ जाने तयारी भैरहेको सो कार्यक्रम स्थगित भएको परराष्ट्र सचिव मदन भट्टराईले जनाएका छन्। भ्रमण स्थगित हुनुको कारण भने उनले बताउन चाहेनन्।