Archive for December, 2009

श्याम गुरुङको दाहासंस्कार जनवरी २ तारिख

सुरज गुरूङ, दक्षिण कोरिया/ एचकेनेपाल डट कम-
गत डिसेम्बर २७ तारिखका दिन दक्षिण कोरियाको छुङ्गनामस्थित ससान शहरको एक मोटेलमा आगलागी भई मृत्यु भएका कास्की जिल्ला बगालेटोल-८ पोखराका ३५ वर्षीय श्याम गुरुङको दाहासंस्कार जनवरी २ तारिख शनिबारको दिन छुङ्गनाममा हुने भएको छ।

स्व. गुरूङको दाहसंस्कारका लागि नेपालबाट बाबु प्रेमबहादुर गुरुङ, आमा सन्तकुमारी गुरुङ, मामा इन्द्रबहादुर गुरुङ र श्रीमती रिता गुरुङ कोरिया आईसकेका छन्।

जनवरी २ तारिख शनिवार विहान ७ बजे दोङ्गदेमुनमा बस राखिने भएकोले सो दिन स्व. श्याम गुरुङको दाहासंस्कारमा जानु हुने महानुभावहरु ७ बजेभित्र दोङ्गदेमुन ३ नम्बर गेट आगाडि आई पुग्न तमू धीं गणतन्त्र कोरियाले हार्दिक अनुरोध गरेकोछ।

थप जानकारी र सोधपुछका लागिः
रामकाजी गुरुङ-०१०-८८८-६८९५

Recent Videos:

Popularity: 8%

Add comment December 31st, 2009

प्रधानमन्त्री आज स्वदेश फर्कदै

एचकेनेपाल डट कम संवाददाता-
छिमेकी राष्ट्र चीनको छ दिवसीय औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री माधवकुमार नेपाल आज स्वदेश फर्कदै छन्।

प्रधानमन्त्री नेपालको भ्रमण टोली आज साँझ चीनको विशेष प्रशासनिक क्षेत्र हङहङ हुँदै स्वदेश फर्कने कार्यक्रम रहेको जनाएको छ।

चिनियाँ समकक्षी वा च्या पाओको निमन्त्रणमा गत शनिवार चीन भ्रमण गएका प्रधानमन्त्री नेपालले चिनका राष्ट्रपति हु जिन ताओ, प्रधानमन्त्री वा च्या पाओ, चिनीया जन काग्रेसका अध्यक्ष विदेश विभाग प्रमुखलगायतकासँग दुइपक्षीय हितका विषयमा कुराकानी र सहमति पत्रमा हस्ताक्षर गरेका थिए।

प्रधानमन्त्री नेपालको भ्रमणको क्रममा चीनले नेपाललाई वार्षिक एक अर्व पचास करोड रुपैयाँ सहयोग गर्ने सहमति भएको छ।

Recent Videos:

Popularity: 8%

Add comment December 31st, 2009

आदिवासी/जनजातिले नयाँ वर्षको दिन नेपाल बन्द गर्ने

डीबी आङ्बुङ, काठमाडौं /एचकेनेपाल डट कम-
आदिवासी/जनजाति बृहत मोर्चा, नेपालको प्रथम चरणको आन्दोलनको कार्यक्रम अनुसार सरकारले माग पूरा गर्ने कुनै प्रतिक्रिया नदिएपछि पुस १७ गते नयाँ वर्ष २०१० को पहिलो दिन नै मोर्चाले नेपाल बन्द गर्नेभएको छ।

नेपाल बन्द गर्नुभन्दा १ महिना अगावै मोर्चाले नेपाल सरकारको प्रधानमन्त्री र संविधान सभाध्यक्षलगायतलाई आफ्नो माग र आन्दोलनको ज्ञापन पत्र बुझाएको थियो । मोर्चाको आन्दोलनको कार्यक्रम अनुसार प्रधानमन्त्रीसँग भेट, संहदरवार धर्ना, चक्काजाम र जिल्ला कार्यायलमा धर्ना गर्दा पनि आदिवासी/जनजातिको जायज मागको सुनुवाई नभएपछि मोर्चाद्वारा उक्त पुस १ को नेपाल बन्दको कार्यक्रम गर्न बाध्य भएको जनाइएको छ।

यो नेपाल बन्दको कार्यक्रमको घोषणा आन्दोलनको योजना अनुसार पुस ९ गते काठमाडौं जिल्ला कार्यायलको धर्ना र १३ गतॆ नयाँवानेश्वरस्थित् संविधान सभाको हल अगाडि गरिएको धर्ना कार्यक्रममा गरिएको थियो। बन्दको क्रममा मोर्चामा आवद्व सबै राजनीतिक संघ संगठन तथा जातीय र सामाजिक संघ संस्थाहरु पनि सक्रियताका साथ सहभागी हुने जनाइएको छ। त्यसैगरी, यस आन्दोलनमा लिम्बुवान, खम्बुवान, थरुहट, तामाङसासीङ र नेवाःलगायतका राजनीतिक संगठनहरुले पनि सशक्तताका साथ नेपाल बन्द गर्ने जनाइको छ।

मोर्चाका कार्यवाहक सचिव माननीय सुरेश आलेका अनुसार बन्दको लागि आवश्यक कार्य र प्रचार-प्रसार सबै पूरा भएको छ। पुस १४ गते साँझ नेपाः राष्ट्रिय पार्टीको कार्यालय वसन्तपुर काठमाडौंमा बसेको मोर्चाको तयारी बैठकले काठमाडौं उपत्यकालाई बन्द गर्न ठाउँ र कार्य विभाजनसमेत गरेको छ। सोही अनुसार नेपालका सम्पूर्ण क्षेत्र र जिल्ला जिल्लामा समेत बन्दको जिम्मेवारी तोकी कार्यकर्ताहरु परिचालन गरिएको जनाइएको छ। सो बन्दको अघिल्लो दिन पुस १६ गते बेलुकी काठमाडौंको रत्नपार्कस्थित् शान्तिवाटिकाबाट विशाल मसाल जुलुश गर्नेसमेत कार्यक्रम रहेको छ।

मोर्चाको निर्णय अनुसार बन्दको समयमा यातायात, कल-कारखाना, सरकारी कार्यालय र शैक्षिक संस्थान सबै बन्द गरिनेछ। तर, बन्दका दिन पनि औषधि पसल, एम्बुलेन्स, मानवअधिकारकर्मी पत्रकार, रेडक्रस र कूटनीतिक नियोगका सवारी साधनमा भने रोक लगाइने छैन।

आदिवासी/जनजाति बृहत मोर्चा, नेपालले लोकतान्त्रिक गणतन्त्र, संघीयता, आत्मनिर्णयको अधिकार, जातीय स्वायत्तता र स्वशासन, राजनीतिक अग्राधिकार, धर्मनिरपेक्षता, राज्यका सम्पूर्ण अङ्गहरुमा आदिवासी/जनजातिहरुको सुमानुपातिक प्रतिनिधित्व, आदिवासी/जनजातिहरुकॊ पहिचान, आदिवासीहरुको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणा-पत्र, अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि १६९ को कार्यान्वयन र आदिवासी/जनजातिहरुका हक-अधिकारहरुलाई सुनिश्चित गराउननका लागि सो बन्दको आन्दोलन गरेको जनाइएको छ।

Popularity: 9%

2 comments December 31st, 2009

जनसम्पर्क समिति अमेरिकाको तयारी समिति विस्तार

गौतम दाहाल, न्यूयोर्क, अमेरिका-
नेपाली जनसम्पर्क समिति, अमेरिका एकता अधिवेशन तयारी समितिका संयोजक खगेन्द्र जीसीले मौजुदा तयारी समितिमा विभिन्न व्यक्तिहरुलाई समावेश गरी ३५ सदस्यीय समिति विस्तार गर्नुभएको छ।

गत मंसीर ४ गते नेपाली काँग्रेस केन्द्रीय समितिले आफूलाई संयोजक तोकी पार्टीले दिएको निर्देशन र जिम्मेवारी बहन गर्ने क्रममा आफ्नो अधिकार प्रयोग गरी समिति विस्तार गरिएको जानकारी जीसीले दिनु भएको छ।

संयोजक जीसीले यही डिसेम्वर २८ तारिख विज्ञप्ति जारी गरी सार्वजनिक गर्नुभएको तयारी समिति विस्तारबारे पार्टीको नेतृत्वलाई अवगत गराएको र पार्टीले अनुमोदन गरेको उल्लेख छ । उहाँले आफूलाई दिइएको अधिकार प्रयोग गरी विस्तार गरिएको तयारी समितिलाई अनुमोदन गरेकोमा नेपाली काँग्रेसका सभापतिमार्फत सम्पूर्ण केन्द्रीय समितिलाई धन्यवाद समेत दिनु भएको छ।

विस्तारित तयारी समितिमा वेदप्रसाद खरेललाई सह संयोजकको जिम्मेवारी तोकिएको छ भने डाक्टर अर्जुन बञ्जाडेलाई सदस्य सचिवमा मनोनयन गर्नुभएको छ । तयारी समितिका अन्य सदस्यहरुमा विगतमा सुरेन्द्र देवकोटा र आनन्द विष्टको अलग अलग नेतृत्वमा क्रियाशील रहेका पदाधिकारीहरुको नै बाहुल्यता रहेको छ। जसअनुसार, सदस्यहरुमा धर्मराज श्रेष्ठ कोलोराडो),विनोद भट्ट -क्यालिफोर्निया), रवीकिरण कोइराला -न्यूयोर्क), अनुप श्रीवास्तव -क्यालिफोर्निया), सानुबावु सिलवाल र्-नर्थ क्यारोलाइना), कृष्ण लामिछाने -टेक्सास), गौतम दाहाल -मेरील्याण्ड), धनञ्जयनरंसिंह के.सी. -क्यालिफोर्निया),कृष्ण पोखरेल - न्यूयोर्क),भोजराज घिमिरे -इलिनोई),पशुपति पाण्डे -वासिङ्टन), चित्रा कार्की -मेरील्याण्ड), वंशलाल तामाङ -न्यूयोर्क),हेमराज भट्ट -लस एञ्जेल्स),सोमनाथ घिमिरे -न्यूयोर्क),पेमानिमा शेर्पा -न्यू इंगल्याण्ड),विष्णु सुवेदी -न्यूयोर्क), प्रभा शर्मा -वासिङ्टन डिसी),सन्तोष पहारी -जर्जिया),कृष्ण विष्ट -न्यूयोर्क),भगवान मैनाली -टेक्सास),काजी शर्ेपा -न्यूयोर्क),बिमल मोक्तान -पेन्सिलभेनिया), गणेश अर्याल -कनेक्टिकट),नारायण थापा -मेरील्याण्ड),प्रमोद सिटौला - न्यूयोर्क),अर्जुन देवकोटा -कनेक्टिकट),मञ्जु भट्टर्राई -भर्जिनिया),रबिन्द्र राई -क्यालिफोर्निया),हरिहर दाहाल -क्यालिफोर्निया), सुशील अधिकारी - टेक्सास) र रामचन्द्र अधिकारी -मेरील्याण्ड) रहनु भएको छ।

यसअघि देवकोटा र विष्ट समूहमा विभाजित दुवै समूहले न्यूजर्सीमा आपसी वार्ता गरी दुवै समिति भंग गर्दै जीसीको संयोजकत्वमा तयारी समिति गठनको प्रस्तावसहित पार्टीलाई अनुमोदनका लागि पठाएका थिए। जुन प्रस्तावलाई पार्टीले तत्काल अनुमोदन गरी जीसीलाई अधिकार प्रत्यायोजनसहित जिम्मेवारी सुम्पिएको थियो।

लामो समयदेखि विवादको भुमरीमा रुमल्लिदै आएका अमेरिकामा रहेका काँग्रेस शुभेच्छुकहरु एकता अधिवेशनको प्रक्रिया शुरु भएकोमा उत्साहित देखिएका छन् । यसैबीच तयारी समितिका संयोजक जीसीले अमेरिकामा रहेका तमाम् काँग्रेस शुभेच्छुकहरुलाई निकट भविष्यमा हुन लागिरहेको जनसम्पर्क समितिको एकता अधिवेशनमा सक्रियरुपमा सहभागी भईदिन पनि आग्रह गर्नुभएको छ।

Popularity: 8%

Add comment December 31st, 2009

ल्होछारका लागि राष्ट्रपतिको शुभकामना

एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रपति डा.रामवरण यादवले तमु ल्होछार पर्वले सबै नेपालीबीच मेलमिलाप, सद्भाव एवम् भाइचाराको भावना सुदृढ गराई शान्त र समृद्ध नेपाल बनाउन हामी सबैलाई प्रेरणा प्राप्त होस् भन्ने कामना गर्नुभएको छ।

राष्ट्रपति डा.यादवले नयाँ वर्षका रूपमा मनाइने सो पर्वका उपलक्ष्यमा आज शुभकामना सन्देश दिई सबै जातजातिका यस्ता सांस्कृतिक चाडपर्वको जगेर्नाबाट नेपाल सांस्कृतिकरूपमा अझ वैभवशाली बन्दै जानेछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ।

उहाँले सन्देशमा यस उपलक्ष्यमा देशविदेशमा रहेका सम्पूर्ण गुरुङ दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना पनि व्यक्त गर्नुभएको छ।

यसैगरी प्रधानमन्त्री माधवकुमार नेपालले तमुको महान् चाड तमु ल्होछारका उपलक्ष्यमा सम्पूर्ण नेपाली तमुमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ।

उहाँले आफ्नो सन्देशमा भाषा, संस्कृति र रीतिरिवाजको दृष्टिले तमु समृद्ध र उन्नत जाति हो, आफ्नो भाषिक एवम् साँस्कृतिक पहिचानको जगेर्ना गर्दै नेपाली लोकसंस्कृतिको उत्थान एवम् विकास र देश–विदेशमा रहेर यस जातिले हासिल गरेको योगदान अनुकरणीय एवम् प्रशंसनीय रहेको उल्लेख गर्नुभएको छ।

प्रधानमन्त्री नेपालले हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताको अनुपम सङ्गम भएको बताउँदै सन्देशमा भन्नुभएको छ–यिनै विविधताबीचको राष्ट्रिय एकता र स्वाभिमान हाम्रा राष्ट्रिय पहिचान हुन्, यही राष्ट्रिय पहिचानभित्र हरेक जातजाति र धर्मावलम्बीको विशिष्ट एवम् मौलिक परम्परा जोडिएको छ।

उहाँले यस उपलक्ष्यमा तमु समुदायको उत्तरोत्तर प्रगति र समृद्धिको कामना पनि गर्नुभएको छ।

सोही उपलक्ष्यमा नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा बधाई एवम् शुभकामना अर्पण गर्दै सबैले पारस्परिक सहयोग, आपसी सद्भाव र सहमतिलाई सदैव कायम गरेर देश निर्माणकार्यमा एकताबद्ध भएर अघि बढौँ भन्ने कामना गर्नुभएको छ।

उहाँले आफ्नो सन्देशमा भन्नुभएको छ–नेपाल विभिन्न जातजाति, धर्म, भाषा, संस्कृति र रीतिरिवाज भएको मुलुक हो, एकले अर्काको धर्म, भाषा र संस्कृतिको सम्मान गर्ने हाम्रो आफ्नो एक बेग्लै र विशिष्ट परम्परा छ, यो परम्परालाई हामीले अझ सुदृढ पार्दै लग्नुपर्छ।

सभापति कोइरालाले आज आफ्नो देशको संविधान आफैंले लेख्ने इतिहासले सुम्पेको उचित अवसर र गुरुत्तर जिम्मेवारी सफल गन्तव्यमा पुर्‍याउन सक्यौँ भनेमात्र नेपाललाई शान्त, समृद्ध र समुन्नत नेपालमा रुपान्तरण गर्नसकिने सन्देशमा उल्लेख गर्नुभएको छ।

तमु ल्होसारकै अवसरमा नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले यस पर्व देशमा शान्ति, एकता र राष्ट्रियतालाई अझ बढी सुदृढ गर्ने प्रेरणा प्रदानका साथ सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना उजागर गर्न र भाइचाराको सम्बन्ध बढाउन सफल हुने विश्वास व्यक्त गर्नुभएको छ।

नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले ‘बाघ पर्व’का रूपमा यो वर्ष धुमधामसँग मनाइने तमु ल्होसारका उपलक्ष्यमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण तमु समुदाय र अन्य जनजातिका जनतालाई पार्टी र आफ्नैतर्फबाट शान्ति, लोकतन्त्र, अग्रगति र समुन्नतिका निम्ति शुभकामना व्यक्त गर्नुभएको छ।

उहाँले आफ्नो शुभकामनामा राष्ट्रिय धरोहर र सम्पदाका रूपमा रहेका नेपाली जनताले मनाउने सबै पर्वको संरक्षण र सम्बर्द्धन गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउने र मुलुकलाई समृद्ध बनाउने दिशातर्फ अघि बढ्नु आज सबैको कर्तव्य बनेको उल्लेख गर्नुभएको छ।

अध्यक्ष खनालले शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने, राज्यको पुनःसंरचना गर्ने, सामाजिक–आर्थिक रुपान्तरण गर्ने र परिवर्तनका पक्षधर एकताबद्ध भई नयाँ संविधान बनाउने काममा अघि बढ्नु आजको आवश्यकता हो भन्दै ल्होसार पर्वले हामी सबैलाई अझ उन्नत, समझदारी र एकता निर्माण गर्दै त्यस दिशामा अघि बढ्न उत्प्रेरित र प्रोत्साहित गर्न सकोस् भन्ने शुकामना पनि व्यक्त गर्नुभएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले पनि तमु ल्होसार पर्वका उपलक्ष्यमा गुरुङ दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना दिंदै सामाजिक एकता र सद्भाव सुदृढ गर्न परम्परागतका यस्ता चाडपर्वको ठूलो भूमिका रहेकाले यसको जगेर्ना गर्नेतर्फ सबै सचेत रहनुपर्ने बताउनुभएको छ।

Popularity: 8%

Add comment December 30th, 2009

आज ल्होछार मनाइँदै

एचकेनेपाल डट कम संवाददाता-
बौद्ध धर्मअन्तर्गत महायान सम्प्रदायको सांस्कृतिक पर्व ल्होछार आज काठमाडौंलगायत गुरुङ बस्ती भएका विभिन्न भागमा मनाइँदै छ।

नयाँ वर्षका रूपमा ल्होसार पर्व नेपालमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका जातिले मनाउने गर्छन्।

गुरुङले आज पुस १५ गते तोला ल्होछारका रूपमा, तामाङलगायतका जातिले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछारका रूपमा तथा शेर्पा र भोटेलगायतका जनजातिले फागुन शुक्ल प्रतिपदाका दिनदेखि ग्याल्पो ल्होसार मनाउने गर्छन्।

ल्हो भन्नाले वर्ष तथा छार भन्नाले नयाँ भन्ने बुझाउँछ। प्रत्येक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ।

प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने र यी वर्षलाई मुसा, गाई, बाघ, बिरालो, गिद्ध, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मिर्गको प्रतीकका रूपमा लिइन्छ।

यो पर्वमा गुरुङ जातिले भने गाई बर्गको बिदाइ र बाघ बर्गको स्वागत वर्षका रूपमा स्वागत गरेका छन्।

यो पर्व चीनमा विकास भएर तिब्बत हुँदै नेपाल आइपुगेको गुरुङ ज्योतिषी इन्द्रबहादुर गुरुङ बताउनुहुन्छ।

राम्रो लगाउने र मीठो खाने यो साँस्कृतिक पर्व नेपाललगायत चीन, हङकङ, सिङ्गापुर, मङ्गोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस, म्यान्मा, जापानलगायतका देशमा मनाइन्छ।

नेपाल सरकारले यो पर्वलाई वि.स.२०६४ सालदेखि राष्ट्रिय पर्वका रूपमा मान्यता दिई सार्वजनिक विदा दिन थालेको छ।

Popularity: 8%

Add comment December 30th, 2009

डिजेल छर्केर सुत्केरी श्रीमती जलाउने श्रीमान् पक्राउ

एचकेनेपाल डट कम संवाददाता-
कन्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरैयाका २२ वर्षीया करन लुहार घरायसी विवादका कारण आफ्नै पन्ध्र दिनकी सुत्केरी श्रीमतीलाई जलाएर भाग्न खोज्दा पक्राउ परेका छन्।

दुईवर्षअघि करनसँग विवाह बन्धनमा बाँधिएकी १७ वर्षीया भागरथी लुहारलाई सामान्य विवादमा मदिराको नशामा करणले तीन दिन अघि घरमै शरीरमा डिजेल छर्केर जलाएर मार्ने प्रयास गरेका थिए।

हातका औंलाबाहेक पूरै शरीर जलेकी भागरथीलाई महाकाली अञ्चल अस्पतालमा छिमेकीको सहयोगमा उपचारार्थ भर्ना गरिएको प्रहरीले जनाएको छ।

टुकी खसेर आगो लागेको भन्दै ज्यानमार्ने धम्की दिएपछि चुप बसेकी भागरथीले आज महिला अधिकारकर्मीलाई श्रीमानले मदिराको नशामा डिजेल छर्केर आगो लगाएको बताएकी हुन्।

अभियुक्त करनले भने टुकी खसेर पराल सल्किन गई श्रीमती जलेको सञ्चारकर्मीलाई बताएका छन्।

श्रीमतीलाई जलाएर मार्ने प्रयास गरेको आरोपमा प्रहरीले करनलाई पक्राउ गरेको हो।

पीडित महिलाको उपचार खर्च बृद्धबृद्धा सेवा केन्द्र महेन्द्रनगरकी प्रमुख शारदा चन्दलगायतको महिला अधिकारकर्मीले जुटाएको बताइएको छ।

पीडित महिलाकी पन्ध्रदिनकी नवजात छोरी छिन्।

Popularity: 8%

1 comment December 30th, 2009

उपराष्ट्रपतिका लागि संविधान संशोधन प्रस्ताव

एचकेनेपाल डट कम संवाददाता-
व्यवस्थापिका संसदमा नेपालको अन्तरिम संविधान–२०६३ माथिको संशोधनका लागि सातौं संशोधन प्रस्ताव प्रस्तुत भएको छ।

संविधानसभाको आजको बैठकमा कानुन तथा न्यायमन्त्री प्रेमबहादुर सिंहले नेपालको अन्तरिम संविधान (सातौं संशोधन) विधेयक, २०६६ प्रस्तुत गर्नुभयो।

सो संशोधनमा मुलुकमा लामोसमयदेखि कायम रहेको उपराष्ट्रपतिको सपथ विवादको निरुपण गर्न सभासद्का अतिरिक्त मन्त्री, प्रधानमन्त्री, उपराष्ट्रपति र राष्ट्रपतिले समेत राष्ट्रिय भाषामा सपथ खान पर्ने ब्यवस्था प्रस्तावित छ।

सो संशोधन प्रति मधेसी जनाधिकार फोरमका सभासद् जयप्रकाश प्रसाद गुप्ताले अन्तरिम संविधानको सातौं संशोधनबाट उपराष्ट्रपतिको भाषा विवादसम्बन्धी समस्याको संवैधानिक समाधान नहुने दावी गर्दै विरोधको सूचना दर्ता गराउनुभएको थियो।

सभासद् गुप्ताले सरकारको प्रतिबद्धता आउनुपर्ने र सरकारले समस्या समाधान गर्न सक्ने किसिमको अर्को विधेयक ल्याउनु पर्ने माग गर्दै सो विधेयक फिर्ता लिन माग गर्नुभयो।

उहाँको सो विरोधको सूचना संसदको बहुमतले अस्वीकृत गरेको थियो।

Popularity: 8%

Add comment December 30th, 2009

सागमा पदक जिते नगद पाइने

एचकेनेपाल डट कम संवाददाता-
बङ्गलादेशको राजधानी ढाकामा आउँदो माघ १५ गतेदेखि आयोजना हुने दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता जनाउने तेक्वान्दो खेलाडीलाई हौसला स्वरुप आई कोर फिल्मस् नेपालले पदक जित्न सफल हुने खेलाडीका लागि नगद पुरस्कारको घोषणा गरेको छ।

फिल्मस् नेपालका प्रमुख कार्यकारी अधिकृत प्रभु समशेर जङबहादुर राणाले सागमा स्वर्ण पदक जित्नेलाई रु. ५० हजार, रजत पदक जित्नेलाई रु. २५ हजार र कास्य पदक जित्नेलाई रु. १५ हजार प्रदान गरिने घोषणा गर्नुभएको हो।

कार्यक्रममा खेलाडीहरूलाई आई कोर फिल्मस् नेपाल लेखिएको टिसर्ट प्रदान गरियो। सागमा नेपालको तर्फबाट चार महिला र छ पुरुष गरी कुल १० जना खेलाडी बन्द प्रशिक्षणमा रहेका छन्।

Popularity: 8%

Add comment December 30th, 2009

पुस २३ देखि अयोग्य लडाकू निकालिने

एचकेनेपाल डट कम संवाददाता-
शान्तिमन्त्री रकम चेम्जोङले यही पुस २३ गतेदेखि सिन्धुलीको धुधौलीमा रहेको माओवादी लडाकू शिविरबाट अयोग्य लडाकुको बहिगर्मन सुरू गरिने र एक महिनाभित्र शिविरका सबै अयोग्य लडाकुको बहिगर्मन भइसक्ने बताउनुभएको छ।

उहाँले युद्धकालमा मारिएका व्यक्ति तथा बेपत्ता नागरिकका परिवार, टुहुरा, एकल महिला यातना पीडित र हिरासतमा रहेकाहरूका लागि सरकारले राहत तथा क्षतिपूर्ति उपलव्ध गराउँदै आएको जानकारी गराउनुभयो।

उहाँले एकीकृत माओवादीका केही योग्य लडाकुलाई नेपाली सेनामा पनि समायोजन गर्न सकिने बताउँदै भन्नुभयो— ‘माओवादी लडाकु समायोजनका विषयमा अरुले के भन्छन् भन्दा पनि हामीले के निर्णय गर्‍यो त्यो महत्वपूर्ण हो।’

अर्को एक प्रश्नको जवाफमा मन्त्री चेम्जोङले नयाँ संविधान जारी नभएसम्मका लागि सरकारले अनमिनको म्याद थप्ने सोच बनाएको बताउँदै शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने सँगसँगै नयाँ संविधान समयमै जारी गर्न सरकारले चार महिने कार्ययोजना निर्माणको गृहकार्य सुरू गरेको छ भन्नुभयो।

Popularity: 8%

1 comment December 30th, 2009

नेपाली डायस्पोरा जातिविभेद र रंगविभेद! -जे.बि.शेर्पा

जे.बि.शेर्पा /एचकेनेपाल डट कम -
एई भोटे…. !…. तं बढता बोल्छ्स्? म को हुँ चिनेको छस् …. स्स्साले यहींबाट तल ख़साली दिउं …?
जीवनमा विर्सनै नसक्ने गरि सुन्नु परेको वाक्यको एक लहर हो यो! करीब १९, २० वर्षे उमेरको हुँदा तत्कालीन बग्गिखानाका (पुतलीसड़क) एक पुलिस हाकिम साबले व्यक्त गरेको अत्यन्तै अमानविय कटु शब्दवाण हो, जसले मलाई नमरुन्जेल घोची रहनेछ!

वास्तवमा म त्यस बखत चिन्जानको एक प्रहरी हवल्दार दाईसंग कुरा गरिरहेको थिएँ। बिना अर्थ, एक निर्दोष मानिसलाई एक्कासी त्यस्तो भन्नुमा पुलिसिया अहमपनले भन्दा पनि उ जातिविभेदको संकीर्ण मानसिकताले पीडित लाग्थ्यो! के गर्ने कहिलेकाँही पिएपछि हाकिम बौलाउँछ भन्दै त्यों हवल्दार दाइले मलाई जोगाएर तल बाहिरसम्म ल्याई दिएका थिए!

शायद हामीमध्ये कमैले मात्र नेपालमा हुँदा जातिविभेद र रंगविभेदको तितो अनुभव भोग्नु नपरेको हुन् सक्छ यस अर्थमा जातिविभेद र रंगविभेद नेपाली समाजबाट हटेको र घटेको भने छैन। कुनै न कुनै रुपमा त्यो बेला बेलामा प्रकट हुन्छ। व्यक्त हुन्छ। नेपालको सन्दर्भमा भन्नु पर्दा प्राय गरी दलित जात जातिहरु जातिविभेदबाट उत्पिडित देखिन्छन्। बेला बखत छापाहरुमा आउने समाचारहरुले यहि खाले नेपाली सामाजिक चित्र प्रस्तुत गर्दछ। शहरी समाजमा भने दलितहरु त्यस्ता समस्याहरुबाट कमै पीडित छन्। तर पनि, शहर बजारमै पनि बिभिन्न खाले तिरस्कारयुक्त वा विद्वेषपूर्ण व्यवहार यस पंक्तिकारले पनि केही पटक भोगि सकेको छ। आफ्नै देशमा यस्ता खाले व्यवहार नभोग्ने सायदै कमै नेपालीहरु होलान। जानी नजानी घट्ने यस्ता खाले दुर्व्यवहार कम हुँदै जान अझै धेरै समय लाग्नेछ।

रंगविभेद र जातिविभेदको समस्या संसारका अति विकसित ठहरिने देशहरुमा समेत अनुभव गर्न सकिन्छ। तर, यसरी पश्चिमा मुलुकहरुमा हामीहरूले अनुभव गर्नु परेको त्यस्ता व्यवहारहरु त्यति गम्भीर प्रकृतिका हुन्नन्। यस पंक्तिकारको १० वर्षे यूरोप बसाई अवधिभर कुनै एकजना गोरेले पनी कहिल्यै एई तं बिदेशी वा फलानो भनेर निम्न स्तरको तुच्छ व्यवहार गरेको सम्झना छैन। बरु के बुझेकोछु भने यिनीहरु स्वभावले नै अतिनै सहनशील र सानो तिनो झमेला वा झैँ झगडामा पर्न नचाहने मानशिक्ता लिएका मानिसहरु हुन्। भेड़ा भेडाको बथानमा, बाख्रा बाख्राकै बथानमा भने जस्तै गोरो छालाले गोरेनै बढी मन पराउनु अनि कालो छालाले कालो छालानै बढी मन पराउनु र प्राथमिकता दिनुमा रंगविभेदी मानशिकता र जातिविभेदी मानशिकताले भन्दा पनि स्वजातिय आकर्षणले नै धेरथोर उर्जा पुर्र्याई रहेको हुन्छ। यो प्रकृतिजन्य व्यवहार हो र यो सर्व व्याप्त छ।

कतिपय तेस्रो विश्वका आप्रवासीहरु जस्तै: पाकिस्तान, बंगलादेश, भारत, श्रीलंका, अफ्रिका मानिसहरु त आएको दुई चार महिना मै के सोच्छन् भने यी गोरा छाला भएकाहरु हामीहरुलाई देखनै चाहन्नन्, यिनीहरु रेसिस्ट हुन् इत्यादि! रोजी रोटीको या पढ़ाई लेखाइको सिलसिलामा अर्काको देशमा आएर लामो समयसम्म बस्ने प्राय विदेशीहरू न त उनीहरुको भाषा संस्कृति कै इज्जत गर्छन न त नीतिनियम नै पालना गर्छन्। उदहारणको लागि: लामो समय बिदेश बस्दा पनि स्थानीय जनजीवनमा भिज्न नसक्नु, भिज्न नचाहानु, आफ्नै देशमा हुंदाको फोहोरी बानीहरु, असभ्य बानीहरु नत्याग्नु ! कुनै खैरेले ए भाई चुरोट्को ठूटा भुइंमा हैन त्यों भाँडोमा फाल्ने भन्दा तेरो किन टाउको दुख्यो भन्दै निहुँ खोज्ने खाल्का बिदेशीहरुको जमातले गर्दा पनि सवै बिदेशीहरु उस्तै हुन्छन् भन्ने मानशिकता बढ़ी रहेको छ। कोठा खोज्दा घरपतिले तिमी कुन देशका हौ भनेर सोध्ने सामान्य भै सकेकोछ। उनीहरु विदेशीहरुको अस्वाभाविक र अव्यावहारिक रहनसहन र जीवनशैलीबाट दिक्क देखिएका मात्र हुन्। त्यसलाई सिधै रंगविभेद र जातिविभेदको रंगले रंग्याई हाल्नु उपयुक्त हुँदैन। यदि खैरेहरु रेसिस्टनै हुन् भने पनि उनीहरु रेसिस्ट बन्ने कारक तत्व भनेको तिनै बिदेशीहरुको व्यबहारले हो। तर, युरोपमा भएका अन्य आप्रवासीहरुको तुलनामा नेपाली डायस्पोराले भने कमै मात्र त्यस्तो व्यवहार भोग्नु परेको सुनिन्छ र नेपालीहरुले पनि आजसम्म नेपालको र नेपालीको परिचय जोगाएर राख्न सकेकोछ।

स्वाभाविक रुपमा आफ्नो देश र गाऊं ठाऊको मायाँ बाहिरकालाइ भन्दा त्यही देशका र स्थानका मानिसहरुमा बढ़ी हुने भएपनि आफूले सहारा लिएको देश र जनताप्रति थोरै मायाँ र आदर गरि दिंदा धमिलिँदै गई रहेको बिदेशीहरुको छवि र सम्बन्ध सुध्रिन्थ्यो होला। तर, अब झन झन त्यों तिक्तताको दूरी बढ्दै गई एक राजनितिक र सामाजिक मुद्दासमेत बनी सकेको छ। युरोपका कतिपय देशहरुमा आप्रवासी विरोधी राजनितिक दलहरु सक्रिय र लोकप्रिय हुँदै गईरहेकोछ, बेल्जियममै पनि भ्लाम्स वेलांग भनिने आप्रवासी बिरोधि दल शक्तिशाली हुँदै गैरहेकोछ। भर्खरैमात्र स्विटजरल्यांड जस्तो देशका जनताहरुले मुस्लिम धर्मावलम्बीहरुको “”मीनार” बनाउन नपाउने पक्षमा मतदान गरे जून आफैमा अनौठो र सोचनीय छ।

वास्तवमा गहिरिएर सोच्ने हो भने यस्तो जातिविभेद र रंगविभेदको समस्या पश्चिमा मुलुकहरुमा नभएर हाम्रो आफ्नै देशमा सर्वव्याप्त छ! नत्र १९७२ को बुरुंडी मानव संहार र १९९४ को रुवान्डाको त्यत्रो ठूलो मानव संहार किन भएको थियो ? त्यस बेला करीब पाँचदेखि दश लाखको संख्यामा हुतू र तुत्सी जाति एक आपसमा मारकाट गरेर मारिएका थिए। कतिपय मुस्लिम राष्ट्रहरुमा सुन्नी र शिया समुदायबीच मारकाट चलिरहेछ। भारतमै पन बेला बेलामा ठूला ठूला सांप्रदायिक दंगाहरु भैरहन्छन्। बंगालीले गोर्खाली नेपाली, मद्रासिले यु.पि.कालाई र कुनैले पंजाबीलाई जात जातिको आधारमा गर्ने दुर्व्यवहार अति चरम अवस्थामा छ। देश , धर्म , भाषा संस्कृति र छालाको रंगसम्म एउटै हुँदा पनि त्यस्तो आपसी विद्वेष किन? के त्यों जातिविभेद र रंगवि भेदको निकृष्ट र चरम रुप हैन?

हामी यूरोप अमेरिकामा बस्ने नेपालीहरु आफ्नो कुनै काम सोचे जसरी भै दिएन भने वा कुनै समस्या आई दियो, ढिला सुस्ती भै दियो भने सोझै त्यसलाइ तुरुन्तै जातिवाद्को रंगमा रंगाई दिन्छौ र प्याच्च चोर खैरेहरू… !! स्साला रेसिस्टहरु… !! भनेर आफ्नो रिस र कमजोरीलाई पखालछौं। यदि, त्यही मान्छेबाट त्यों काम भैदिएको भए वाह ! क्या राम्रो मान्छे परेछ क्या देश छ, क्या सिस्टम बनेको छ, हाम्रो देशमा जस्तो हो र ? भनी हाल्छौं तर यहींका वासिन्दाहरु स्वयं पनि कर्मचारीतंत्रबाट कति पीडीत छन् आजित छन भन्ने कुरो बुझ्न चाहिं चाहन्नौ। हामीहरुले भन्दा पनि बढ़ता दुःख पाउने यहिंका खैरेहरु पनि छन्। जे जस्तो कामकुराहरुलाई पनि हामी पहिलो पटक मै शंकास्पद र नकारात्मक रूपले लिन्छौ यो हामीहरुको नानीदेखि लागेको बानी भने झैं भै सकेको छ। जातिभेद र रंगभेदको हामी आफैं कति पक्षपाती छौं ? हामीले काठमांडूको खाली सिसी र कागज किन्ने र आलू गोभी बेच्ने वा केश काटने भाई भैयाहरुलाई कति आत्मियता दर्शाएका थियौं ? सोझा साझा निमुखा गरीब पहाड़ी होस या प्रष्ट नेपाली बोल्न नसक्ने हिमाली, यिनीहरुलाई कहिल्यै गिज्याएका, होच्याएका थिएनौ?

माओवादीहरु भन्ने बितिक्कै प्राय बाहुन क्षेत्री समुदायका नेपाली दाज्यूभाईहरुले कस्तो खाले अनुहार र मानिसहरुको चित्रण गर्छन्? माओवादी आन्दोलन वर्गीय आन्दोलन भए पनि किन जातीय आन्दोलन जस्तो बन्दै गई रहेछ? किन अन्य मंगोल मुलका नेपालीहरु र दलित जातिहरु बढ़ी मात्रामा भावनात्मक रुपमा माओवादी लाई आफू नजिक सम्झनछन् वा उनीहरुप्रति सहानुभूति राखछन्? साम्प्रदायिकता र जातिभेदको रंग सातसमुन्द्र पारीको दूरी पार गरे पनि त्यों किन पखालिएको सम्म पनि छैन? यहाँ पनि हामीहरूले भन्न छाडेका छैनौ कि त्यों बाहून? त्यों नेवार ? ए त्यों भोटे ? मदिशे ? त्यों झापाली, त्यों स्याँग्जाली? त्यों नाक चुच्चे, त्यों नाक थेप्चे ! त्यो कांग्रेसी त्यो एमाले त्यो मावादी !!! बिडम्बना विदेशमै पनि यसरी विभिन्न राजनितिक आस्था, क्षेत्रीयता र जातजातीयताको आधारमा हामीहरु टुक्रा टुक्राहरुमा बिभाजित छौं! एक नेपालीले अर्को नेपालीलाई सिर्फ भाई बंधुत्वको नजरले मात्र हेर्न नसकेसम्म, अन्धो र कट्टर राजनीति अनि जातियताको रडाको नत्यागेसम्म यो समस्या यथावत रहिरहनेछ वा हुन सक्छ यो झनै चर्कँदै जानेछ, जुन नेपाल, नेपालीपन र नेपाली मनको परिचय भने पक्कै हैन!!!
tongmarmendok @gmail .com

Popularity: 8%

2 comments December 29th, 2009

राष्ट्रिय एकता र सहमतिको आवश्यकताः पूर्वप्रहरी महानिरीक्षक गुरुङ

भीम गुरूङ, बुटवल/ एचकेनेपाल डट कम-
तमु हृयुल छोज धी गुरुङ राष्ट्रिय परिषदका सल्लाहकार तथा पूर्वप्रहरी महानिरीक्षक हेम गुरुङले राष्ट्रिय एकता र राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताउनु भएको छ।

ल्होछारको अवसरमा बुटवलमा आज आयोजित कार्यक्रममा गुरुङले राष्ट्र निर्माणको लागि सबै जात-जातिले आ-आफ्नो स्थानबाट सहयोग गर्नु पर्ने बताउनुभयो। उहाँले नेपालको श्रम, प्रतिभा पलायन प्रति चिन्ता व्यक्त गर्नुभयो। साना-तिना वाल वच्चाहरुमा स्वदेशप्रति माया जगाउनु पर्नेमा उहाँको जोड थियो। अन्तर्जातिय विवाहले गुरुङ संस्कार मेटिदै गएको चिन्ता व्यक्त गर्नुभयो।

त्यसैगरी, तत्कालिन तमु छोज धिंका सल्लाहकार दुर्गाप्रसाद गुरुङले छिटको गुन्यो र भाङग्रा लगाउदैमा गुरुङ नहुने भन्दै गुरुङ भाषा कुरा गर्न सक्ने हुनु पर्ने बताउनुभयो। त्यसको लागि स्कुलहरुमा गुरुङ भाषा पढाउने व्यवस्था गर्नु पर्नेमा उहाँको जोड थियो।

तमु हृयुल छोज धि रुपन्देहीका अध्यक्ष टेकबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा परिषदका अनुगमन तथा मूल्याङ्कन समितीका केन्द्रीय सदस्य सूर्यलाल गुरुङ, परिषदका केन्द्रीय सदस्य हरीमाया गुरुङ, सल्लाहकार भोजवीर गुरुङ, केन्द्रीय सदस्य लेखप्रसाद गुरुङ, सुन्दर गुरुङ, वालनरसिंह गुरुङ, दलबहादुर गुरुङ, धनबहादुर गुरुङ, यातायात मजदुर तथा भलाई कोष अध्यक्ष चिनबहादुर गुरुङ, छन्त्याल संघका दलबहादुर छन्त्याल, छत्र गुरुङ, नन्दप्रसाद तमुलगायतले गुरुङमा फुट नगरी एकता गरी जानु पर्ने बताउनुभयो।

Popularity: 8%

Add comment December 29th, 2009

आरआरएनद्वारा पहिरो पीडितलाई २० लाख ६३ हजारको राहत वितरण

राजधन कुलुङ, संखुवासभा/ एचकेनेपाल डट कम-
ग्रामीण पुनःनिर्माण संस्था, नेपाल (आरआरएन)ले सिकिदिम पहिरो पीडितहरुको पुनःस्थापनका लागि २० लाख ६३ हजार १ सय ७२ रुपैँया बराबरको जस्ता पाता ६१ घरलाई वितरण गरेको छ।

साउन ११ गते गएको पहिरोबाट विस्थापित ताम्कु-९ सिकिदिमका ६१ घरपरिवारलाई ताम्कुकै मानेटारमा पुनःस्थापना गर्न घरको छानो स्वरुप आरआरएनले सो रकमको जस्तापाता उपलब्ध गराएको हो। खाँदबारीको मानेभञ्ज्याङमा आयोजित एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सत्रुघ्न पुडासैनी र आरआरएनका अध्यक्ष डा. अर्जुनकुमार कार्कीले पहिरो पीडित परिवारलाई २ सय ४६ बण्डल जस्तापाता हस्तान्तरण गरेका छन्।

प्रतिघर ६ फिटको १४ पाता, ७ फिटको २८ पाता र ६ फिटको मगरा ६ पाताको दरले वितरण गरिएको छ । पीडित परिवार सबैलाई तीनकोठे घर निर्माण गर्न पुग्ने जस्ता पाता आरआरएनले उपलब्ध गराएको हो । वितरित जस्ता अनुसारको छानो हुने तीनकोठे घरको नक्सा डिजाइन आरआरएनले गरिदिएको र घर निर्माणमा आवश्यक सहजीकरण गरिने आरआरएनले आरआरएनका कार्यक्रम संयोजक रुद्र थापाले बताए।

आफ्नो संस्थाले प्रतिघर ३३ हजार ८ सय २२ रुपैयाँ उल्लेख्य नभएपनि सिकिदिमवासीका लागि अहिलेसम्मको ठूलो सहयोग भएको बताउँदै आरआरएन अध्यक्ष डा. कार्कीले पुनःस्थापना स्थललाई नमुना गाउँ बनाउन सहयोग गर्न सबैलाई आग्रह गरे। उनले आफूले थप सहयोगको कोशिस गर्नेसमेत बताए।

उक्त कार्यक्रममा हङकङमा कार्यरत संखुवासभालीहरुले पहिरो पीडितहरुको सहयोगार्थ संकलन गरेको २ लाख ५० हजार नगद प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको थियो। हङकङवासीको तर्फबाट व्यापारी सुमन श्रेष्ठले प्रजिअ पुडासैनीलाई रकम हस्तान्तरण गरेका थिए। उक्त रकम जग्गा खरिद तथा घर निर्माण खर्च गरिने पुडासैनीले जानकारी दिए।

कार्यक्रममा सिकिदि पहिरो पीडितहरुको पुनःस्थापनाका लागि अहिलेसम्म ६१ रोपनी जमिन गाविसको नाममा लिइसकेको र बाँकी लिने प्रकृयामा रहेको प्रमुख जिल्ला अधिकारीले जानकारी गराएका थिए। अहिलेसम्म जमिन खरिद तथा पुनःस्थापनामा ३ लाख राहत संकलनबाट उठेको र ३ लाख ७५ हजार गाविसबाट विनियोजन भएको छ। हङकङबाट आएकोसमेत गरी करिब ९ लाख रुपैयाँ पुनःस्थपनाका लागि रकम जम्मा भएकोछ।

स्वतन्त्र रुपमा विभिन्न संघ संस्थाले नगद तथा जिन्सि गरी यसअधि करिब २० लाख बढीको राहत सामग्री वितरण भइसकेका छन्।

हङकङमा रहेका संखुवासभालीहरुले संकलन गरेर पहिरो पीडित सहयोगार्थ पठाएको रु. २ लाख ५० हजार प्रमुख जिल्ला अधिकारी शत्रुघ्न पुडासैनीलाई हस्तान्तरण गर्दै व्यापारी समुन श्रेष्ठ। तस्वीरः राजधन कुलुङ

राहत स्वरुप पाएको आ-आफ्नो जस्ता पाताको भारी लगाउँदै पहिरो पीडितहरु।

Popularity: 8%

Add comment December 29th, 2009

अमेरिकामा पशुपति मन्दिर निर्माणको लागि भेला

गोकुल ढकाल, क्यलिफोर्निया/ एचकेनेपाल डट कम-
आस्थाका प्रतिक भगवान शिवको मन्दिर परदेश पारी पनि निर्माण गरिने उद्धेश्यले अमेरिकाको बिशाल राज्य क्यालिफोर्नियाको लस अन्जेलस शहर वरिपरिका नेपालीहरु जुटेर लागि परेका छन्।

“पशुपती समाज” गठन गरेर गत केही महिनादेखि प्रत्येक महिनाको अन्तिम आईतवार आफ्नै ‘नेपाली घर’ मा भजन किर्तनसहित गरिने भेटघाटलाई “सत्सङ्ग-यात्रा” को रुप दिदैं मन्दिर निर्माणको लागि यस क्षेत्रका नेपालीहरु अहोरात्र लागिपरेका छन्।

यसै “सतसङ्ग-यात्रा” लाई मन्दिर निर्माणार्थ सहयोगी भेला होस् भन्ने हेतुले आज करीब १०० नेपालीहरुको उपस्थितिमा भजन किर्तनसहितको ‘मन्दिर निर्माण, सत्सङ्ग यात्रा” सम्पन्न भएको छ। समाजका कोषाध्यक्ष पुन्नाखर “ऋशि” ढकालको एल मोन्टेस्थित निबासमा भएको भेला र यात्राले मन्दिर निर्माण जस्तो पवित्र कार्यलाई कुनै पनि हालतमा जुटेर लाग्ने प्रतिज्ञा गरेका छन्।

डा. श्याम तुलाचन, डा. दीपक सिम्खडा, डा. शम्भु ढुंगानाको आतिथ्यमा सम्पन्न भेलामा हिन्दू धर्म सम्बन्धी प्रवचन्, महिला र पुरुषहरुको पालै- पालोको भजन-किर्तन, परिचयात्मक कार्यक्रम, समाजको बैठक र अन्तमा भोजन सम्पन्न भएको थियो।

Popularity: 8%

1 comment December 29th, 2009

मागेको पैसा दानमा

एचकेनेपाल डट कम संवाददाता-
स्याङ्जा घर भएका ७६ वर्षीय खेमा गिरीले हेटौँडामा सञ्चालन भइरहेको श्रीमद्भागवत सप्ताह महायज्ञमा मागेरै सङ्कलन गरेको रु.दुई हजार ११ दान गरेका छन्। उनले दुई वर्षदेखि घरघर डुलेर सङ्कलन गरेको रकम दान गरेका हुन्।

घरबार छोडेर डेढ वर्षदेखि हेटौँडा २ मा रहेको ॐ वृद्धाश्रममा आश्रय लिएर बस्दै आएका गिरीले अहिले पनि आफूलाई आवश्यक खानेकुरालगायतका वस्तु आफैँ मागेर पुर्‍याउँदै आएको ॐ वृद्धाश्रमका अध्यक्ष बुद्धिप्रसाद पौडेल बताउनुहुन्छ।

उनले मागेर सङ्कलन भएको खानेकुराहरू वृद्धाश्रममा बस्ने अन्य वृद्धवृद्धालाई पनि दिने गरेको अध्यक्ष पौडेल बताउनुहुन्छ। वृद्धाश्रममा उनीसमेत चार जना आश्रय लिँदै आएका छन्।

बिहानको समयमा हेटौँडामा मागेर हिँड्ने उनले आफूले सङ्कलन गरेको रकमबाट खाएर बाँकी रहेको रकम महायज्ञलाई दान गरेको बताइन्।

‘धर्म गर्न दान गरेको हुँ, मरेर के नै पो लानु छ र?’, उनी गर्वका साथ बताउनपछि पर्दैनन्।
मागेरे मात्र हुन्छ, दान पनि गर्नुपर्छ भन्ने लाग्यो अनि दान गरे, उनले थपे,’धन मात्र जम्मा गर्ने त शोषक हुन्’।

Popularity: 8%

Add comment December 29th, 2009

प्रधानमन्त्रीले ग्रेटवाल नघुम्ने

एचकेनेपाल डट कम संवाददाता-
चीनको छ दिवसीय औपचारिक भ्रमणका क्रममा बेइजिङमा रहनुभएका प्रधानमन्त्री माधवकुमार नेपालले चीनको प्रसिद्ध ग्रेटवालको यात्रा रद्द गर्नुभएको छ।

निर्धारित भ्रमण तालिकाअनुसार प्रधानमन्त्री नेपाल आज बिहान ग्रेटवालको भ्रमणमा जाने कार्यक्रम थियो।

ग्रेटवालको भ्रमण रद्द गरेर प्रधानमन्त्री नेपालले भ्रमणदलमा सहभागी नेपाली उद्योगी तथा व्यापारीहरूसँग परामर्श गर्नुभएको छ।

प्रधानमन्त्रीले ग्रेटवालको भ्रमण रद्द गर्नु भए तापनि उहाँका अन्य पूर्वनिर्धारित कार्यक्रम भने यथावत् छन्।

Popularity: 8%

Add comment December 29th, 2009

सङ्घीयताको निर्णय खारेजीको माग गर्दै बन्द

एचकेनेपाल डट कम संवाददाता-
सङ्घीयताको निर्णय खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाले आज भेरी कर्णाली बन्दको आह्वान गरेको छ।

जनमोर्चाले हरेक तीन तीन दिनमा दुई अञ्चल बन्द गर्ने जनाएको छ।

सङ्घीयताले जातीय र क्षेत्रीय द्वन्द्व बढाइ राष्ट्रियता बिखण्डन हुने र देश टुक्रिने भएकाले आफूहरू आन्दोलनमा उत्रिएको राष्ट्रिय जनमोर्चाले जनाएको छ।

बन्दबाट आज बिहानैदेखि भेरी कर्णालीका १५ वटै जिल्लाका यातायात, शिक्षणस्ांस्था, कलकारखाना र बजार प्रभावित भएका छन्।

राष्ट्रिय अखण्डताको रक्षा गर्न माओवादी अराजक र अधिनायकवादी कार्यशैलीको भण्डाफोर, राष्ट्रघाती सन्धिसम्झौताको खारेजी, अतिक्रमण गरिएका नेपाली भूमि फिर्ता हुनुपर्ने, पत्रकारमाथि भइरहेको दमनको अन्त्यलगायतका २७ बुँदे माग राखी भदौ ३० गतेबाट सुरु भएको तेस्रो चरणको आन्दोलनको अन्तिम दिन आज भेरी कर्णाली बन्द गरिएको हो।

Popularity: 8%

1 comment December 29th, 2009

नवजात शिशुको हत्या

एचकेनेपाल डट कम संवाददाता-
बागलुङ जिल्लाको बाटाकाचौर गाविस वडा नं. ९ निवासी एक महिलाले अवैध गर्भबाट जन्मेको शिशुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ।

करिब ४० वर्षीया तिनु विश्वकर्माले अवैध शिशु जन्मेको तीन दिनपछि शनिबार हत्या गरेको प्रहरीले जनाएको छ।

पुस ९ गते जन्मेको सो शिशुको हत्या गरी नजिकैको खोलामा जलाउन लागेको अवस्थामा निज महिलालाई स्थानीय बासिन्दाले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ।

सोही गाविस निवासी २० वर्षीय ओमबहादुर विकसँगको यौनसम्पर्कबाट सो बच्चा जन्मिएको जनाइएको छ।

शिशुको हत्यापछि ओमबहादुर विक अहिले फरार रहेको प्रहरीको भनाइ छ।

आफ्नो पति रोजगारीका लागि विदेश गएको अभियुक्त महिलाले प्रहरीसमक्ष बताएकी छिन्।

Popularity: 8%

1 comment December 29th, 2009

भारतीय दूतावासले संविधानको खाका बनाउँदैछ

एचकेनेपाल डट कम संवाददाता-
नेकपा (माओवादी)का संयोजक मातृका यादवले जनमुखी संविधान निर्माण नभए नेकपा (माओवादी)ले जलाउने चेतावनी दिनुभएको छ।

संयोजक यादवले २०४७ सालको संविधान जलाएको प्रशंग उल्लेख गर्दै दुई/दुई ठाउँबाट हारेका प्रधानमन्त्रीको नेतृत्वमा बनेको संविधान जनमुखी नबन्ने भएकाले त्यसको कुनै औचित्य नहुने बताउनुभयो।

‘संविधान बन्छ तर बन्नु ठूलो कुरा होइन, नेपाली जनताले चाहेको जस्तो संविधान बन्दैन किनकि संविधान निमार्णमा ठूलो षड्यन्त्र भइरहेको छ’– उहाँले भन्नुभयो।

भारतीय दूतावासले संविधानको खाका कोर्न लागेको आरोप लगाउँदै उहाँले त्यो संविधान नेकपा (माओवादी) मात्र नभएर नेपाली जनतालाई पनि मान्य नहुने बताउनुभयो।

उहाँले सरकारले भारत र चीनबाट हतियार भित्र्याएर र विषेश सुरक्षा योजना लागु गरेर युद्धको तयारी गरिरहेको आरोपसमेत लगाउनुभएको छ।

उहाँले भन्नुभयो–’सरकार युद्धको तयारी गर्दैछ, जनताहरू सचेत भएर रहने अवस्था आएको छ।’

विश्वमा नै चर्चामा रहेका एकीकृत नेकपा (माओवादी)का अध्यक्ष प्रचण्ड भारतीय नेतालाई खुशी पार्न नसकेर सक्ताबाट बाहिरिनु परेको समेत उहाँले आरोप लगानुभयो।’प्रचण्डको बोलीको ठेगान छैन, जनताको अगाडि भाउ बढाउने, विदेशीको अगाडि गएर बिक्नेले जनताको भलो गर्दैनन्’– यादवले भन्नुभयो।

उहाँले नागरिक सर्वोच्चताको कुरा उठाएर प्रचण्डले नागरिकको अवज्ञा गरेको भनी आक्रोस व्यक्त गर्नुभयो।

एकीकृत नेकपा (माओवादी)ले नागरिक सर्वोच्चताको आन्दोलन गर्ने भए भ्रष्टाचार विरुद्धको आन्दोलन गर्नुपर्ने बताउनुभयो।

बाह्रबुँदे समझदारी नेपाली क्रान्तिमा पासो हो भन्दै उहाँले क्रान्तिकारी विचार, क्रान्तिकारी सेना र क्रान्तिकारी मोर्चा जस्ता तीन हतियारबिना माओवादीले चाहेको क्रान्ति सम्भव नहुने बताउनुभयो।

Popularity: 8%

1 comment December 29th, 2009

सञ्चारलाई देवकोटा शताब्दी सम्मान

काठमाडौं, २९-१२-२००९
महाकवि देवकोटा शताब्दी महोत्सवले श्रव्यका माध्यमबाट नेपाली भाषालाई जनप्रिय बनाई झन्नै छ दशकदेखि देशदेशान्तरमा पुर्‍याउन समर्पित भएवापत रेडियो नेपाललाई ‘महाकवि देवकोटा शताब्दी सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ।

साथै, नेपाली भाषाको अन्तर्राष्ट्रिय विस्तारका निम्ति चार दशकअघिदेखि उल्लेखनीय योगदान पुर्‍याएवापत बीबीसी नेपालीसेवालाई ‘महाकवि देवकोटा शताब्दी सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ।

यसैगरी, महाकवि देवकोटाको जीवनगाथाको शब्दचित्रलाई जनस्तरमा निरन्तर पुर्‍याएवापत अन्नपूर्णपोष्ट दैनिकलाई ‘महाकवि देवकोटा शताब्दी सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ।

महोत्सवका अध्यक्ष डा.मोदनाथ प्रश्रतिको अध्यक्षतामा बसेको महोत्सवको बैठकले सो निर्णय गरेको हो।

‘महाकवि देवकोटा शताब्दी सम्मान’ आगामी मार्च १८ देखि २२ सम्म काठमाडौंमा हुने प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलनका अवसरमा प्रदान गरिने भएको छ। सो सम्मेलनको उद्घाटन प्रधानमन्त्री श्री माधवकुमार नेपाल र समापन प्रधानन्यायाधीश श्री अनुपराज शर्माबाट हुने भएको छ।

नरेन्द्रराज प्रसाई
सदस्यसचिव
महाकवि देवकोटा शताब्दी महोत्सव

Popularity: 8%

Add comment December 29th, 2009

साउदीमा ल्होछारको तयारी

एचकेनेपाल डट कम संवाददाता-
तमू धिं प्रवास केन्द्रिय समिति साउदी अरबको आयोजनामा गाई वर्गलाई सुखद बिदाई गर्दै बाघ वर्गलाई स्वागत गर्न गुरुङहरुको पराम्परागत नयाँ वर्ष (२५९४) गुरुङ ल्होसार यहि आउँदो जनवरी ८ तारिख शुक्रबारका दिन शुभकामना आदान प्रदानका साथै बिबिध साँस्कृतिक कार्यक्रमसहित दमाम शहरको पारागन रेष्टुरेण्टको हलमा भब्य रुपमा मनाउँने भएकोछ।

कार्यक्रममा तमू धिं साउदी अरबको प्रस्तुति तिलक गुरुङ्गको आधुनिक गीत संग्रह “बिहानी” प्रमूख अतिथि राजदूत हमिद अन्सरीबाट बिमोचन गर्न गईरहेको छ। ल्होछार कार्यक्रमको लागि तमू धिं साउदी अरबका अध्यक्ष ओम घलेको संयोजकत्वमा २१ सदस्यीय २५९४ ल्होछार मूल समिति गठन गरिएको छ भने बिभिन्न उप-समिति पनि गठन गरिएको छ।

तमू धिंका महासचिव खेम तमूको संयोजकत्वमा आर्थिक समिति, प्रवक्ता राजपति तमूको संयोजकत्वमा प्रचार प्रसार समिति, केन्द्रिय सदस्य साथै साँस्कृतिक बिभाग प्रमूख तिलक तमूको संयोजकत्वमा साँस्कृतिक समिति गठन गरिएको छ।

Popularity: 8%

Add comment December 29th, 2009

स्वीट्जरल्याण्डबाट नयाँ नेपाली वेब साइट सञ्चालन हुने

एचकेनेपाल डट कम संवाददाता-
स्वीट्जरल्याण्डमा स्थायी तथा अस्थायी रूपमा बसोबास गरी रहेका नेपालीहरूको साझा सहयोगमा यही नयाँ बर्ष २०१० जनवरी १ देखि नेपाल स्वीस डट कम (www.nepalswiss.com) नामको वेब पत्रिका सञ्चालन हुने भएको छ।

यसमा स्वीसबासी नेपालीहरूको गतिविधीहरूको साथमा स्वदेश तथा विदेशका समसामयिक समाचार, सूचना, साहित्य र मनोरन्जनका सामाग्रीहरू प्रकाशित हुनेछ। यसका अतिरिक्त यस साइटमा वेब टेलिभिजन, अनलाइन रेडियो र साप्ताहिक चलचित्रहरू पनि हेर्न र सुन्न पाउनु हुनेछ। हाल यस वेब साइटको इमेल ठेगाना nepalswissdotcom@yahoo.com मा स्वदेश तथा विदेशबाट समाचार, सूचना तथा साहित्यका सामाग्रीहरू पठाउन सकिने छ।

Popularity: 8%

Add comment December 29th, 2009

कोरियामा तमू ल्होछार ३ तारिख

सुरज गुरूङ, दक्षिण कोरिया/ एचकेनेपाल डट कम-
तमू धीं गणतन्त्र कोरियाले तमू जातिको नयाँ वर्ष तथा महान चाड २५९४औं तोला ल्होछार जनवरी ३ तारिखका दिन मनाउने भएको छ।

तमूहरूको महान चाड ल्होछार कार्यक्रममा यसै समाचारलाई आधार मानी विशेष गरी इपिएस मार्फत कोरिया आउनु भएका सम्पूर्ण तमूलगायत कोरियामा रहनु भएका बुद्धिजीवी, व्यवसायी, विभिन्न संघ-संस्थाका प्रतिनिधि साथै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उक्त दिन उपस्थित हुनुभई कार्यक्रमको सोभा बढाई दिन हुन तमू धीं गणतन्त्र कोरियाले हार्दिक अनुरोध गरेको छ।

video link, http://www.youtube.com/watch?v=I3tytfBPk18

थप जानकारीको लागिः
स्थानः छुङ्गआङ सङ्दाङ्ग (आन्याङ्ग) पुरानो आन्याङ्ग मजदुर गृहको ठीक अगाडि
समयः दिनको ११ बजे
तमू धीं गणतन्त्र कोरिया

Popularity: 8%

Add comment December 29th, 2009

नेपाली जनाधिकार मंच कोरियाका अध्यक्ष भण्डारीको बिदाई

उमेश वस्नेत, दक्षिण कोरिया/ एचकेनेपाल डट कम-
नेपाली जनाधिकार मंचका सस्थापक उपाध्यक्ष तथा वर्तमान अध्यक्ष डिआर भण्डारी र संस्थापक सदस्य नरमाया न्यौपानेलाई नेपाली जनाधिकार मंच कोरियाले एक कार्यक्रमको आयोजाना गरी बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

छोन्गाकस्थित दुर्गा रेष्टुरण्टमा आइतवार एक कार्यक्रमको आयोजना गरी उहाँहरूको बिदाइ तथा सम्मान कार्यक्रम गरेको हो।

कार्यक्रममा उपस्थित विभिन्न वक्ताहरुले लामो कोरिया बसाइपछि नेपाल फर्किन लाग्नु भएका उहाँहरुको कार्यकालको अत्यन्त उच्च मूल्यांकन गर्दै र उहाँहरुले संगठनमा पुर्र्याउनु भएको योगदानको कदर गर्दै नेपाल फिर्ता भएपछि पनि देश र संगठनप्रति संघर्षशील रहनु हुने छ भन्ने आशा राख्नु भएको थियो। त्यसै गरी, उहाँहरुलाई शुभकामना दिंदै भण्डारीले सम्हाल्दै आउनु भएको सम्पूर्ण कार्यभार मंचकै उपाध्यक्ष बिष्णु क्षेत्रीले सम्हाल्नु हुने नेपाली जनाधिकार मंच कोरियाले जनाएको छ।

Popularity: 8%

Add comment December 29th, 2009

हङकङमा ‘नेपाली सप्ताह’को रौनक

देवराज राई, हङकङ/ एचकेनेपाल डट कम-
हङकङमा नेपाली भाषा, साहित्य र संस्कृतिको बलियो आधार स्तम्भ तयार पार्नका निम्ति हङकङ नेपाली कला मन्दिरले वर्षेनी आयोजना गर्दै आएको ‘नेपाली भाषा साहित्य संस्कृति सप्ताह २००९’ भव्य रुपमा सम्पन्न भइरहेको छ। विगत वर्षहरुमा जस्तै वर्षको अन्तिम साता डिसेम्बर २५ देखि ३१ तारिखसम्म विविध कार्यक्रमहरुसहित नेपाली सप्ताह २००९ आयोजना गरिएको हो। (more…)

Popularity: 8%

Add comment December 28th, 2009

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

December 2009
M T W T F S S
« Nov   Jan »
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Posts by Month

Posts by Category

More news....