Archive for December 2nd, 2009

माओवादी कमाण्डरलाई ३ महिना जेल

एचकेनेपाल डट कम संवाददाता-
माओवादी लडाकु दीपेन्द्र शाह (युगान्त) लाई बाँके जिल्ला प्रशासन कार्यालयले तीन महिना थुनामा राख्न आदेश दिएको छ।

माओवादी लडाकुको पाँचौं सैन्य डिभजनका बिग्रेड कमाण्डर शाहलाई जिल्ला प्रशासनले सार्वजनिक सुरक्षामा खलल पुर्‍याएको भन्दै तीन महिना थुनामा राख्ने आदेश दिएको हो।

अनमिनले प्रमाणित गरेको चाइनिज पेस्तोल बोकेर कोहलपुरमा एक स्थानीयसँग विवाद गरेपछि शाह हतियारसहित शनिबार राति पक्राउ परेका हुन्। उनीसंगै रहेका उनका चारजना अंगरक्षक भने भाग्न सफल भएका थिए।

हतियारसहित पक्राउ परेका माओवादी कार्यकर्तालाई छाड्न अनमिन र माओवादी नेतृत्वले दबाव दिएपनि गृहमन्त्रीको आदेशमा प्रशासनले शाहलाई जेल पठाएको जनाइएको छ। माओवादीले शाहलाई जेल हालेर शान्ति प्रक्रिया भाँड्ने प्रयास गरेको आरोप लगाएको छ।

Recent Videos:

Popularity: 14%

5 comments December 2nd, 2009

फर्केर हेर्दा रूम्जाटार -सुवास गुरूङ

सुवास गुरूङ, रूम्जाटार-
नेपालको पूर्वी पहाडी जिल्ला ओखलढुँगाको मध्यभागमा अवस्थित रुम्जाटार गाउँ अधिकाँश नेपालीहरुको मन-मस्तिष्कमा बाँचि रहने गाउँ हो। यो गाउँ समुद्री सतहदेखि ३९०३ फीट उचाइमा रहेको छ।

पृथ्वीनारायण शाहसँगै लड्दै फौजको नेतृत्व गर्दै किराँत राज्यलाई समेट्दै एकीकरणमा सामेल गराउने लामा झगल गुरूङ र हरिनन्दन उपध्याले यहि माटोमा अफ्नो मौजा विर्ता र किपट कायम गरी आफ्ना सन्तानलाई बसोबास गराएको ठाउँ रूम्जाटार हो।

चारैतिरबाट अग्ला डाँडाकाँडाहरुले घेरिएको यो उपत्यका असाध्यै मनमोहक छ। दायाँतर्फ सिस्ने खोला र बायाँ तर्फबाट ठोक्ने खोला बगिरहेको यो गाविसमा करीव सातहजारको हाराहारीमा जनसँख्या रहेको छ। यहाँ मूख्यतः गुरूङ जातीको बसोबास छ। त्यसपछि क्रमशः पोख्रेल र नेवारहरूको बाहूल्यता छ। क्षेत्रफलको अधारमा यो गाउँ नेपालको सबैभन्दा ठूलो गुरूङ गाउँ हो।

घनघोर बस्ती भएको यस गाउँमा थुप्रै रमणीय स्थलहरू रहेका छन्। तर पर्यटन विकासको हिसावले यो गाउँ रमणीय भैकन पनि ज्यादै पछि परेको छ । घना गुरूङ बस्ति रहेका लमजुङको घले गाउँ, कास्कीको घान्द्रुक र स्याँजाको सिरूबारी जस्ता गाउँहरूसँग तुलना गर्न सकिने कुनै पनि पूर्वाधारहरू यहाँ निर्माण हुन सकेका छैनन्। यहाँका बहूसँख्यक गुरूँगहरू मात्र हैन सबैजातीका सम्पन्न ब्यक्तिहरू अन्यत्र पलायन भैसकेका छन। गुरूङ समुदायको नयाँ पिँढी ज्यादातर बिदेशतिर सँघर्ष गरिरहेको छ । खास गरि नेपालका अन्य गुरूँग जस्तै यहाँका गुरूँग युवाहरू पनि ब्रिटिश आर्मी, भारतीय आर्मी र नेपाल आर्मीमा आकर्षित रहेको पाइन्छ। त्यसबाहेक ज्यादातर युवा समुदाय रोजगारको सिलसिलामा गल्फ, कोरिया, जापान, युरोप र अमेरिका तिर भासिएका छन। तर समृद्ध भएपछि रूम्जाटार फर्किनेहरूको सँख्या ज्यादै न्यून छ । नागरिकता लिने लगायतका प्रशाशनिक कामको लागि मात्र रूम्जाटार फर्किनेहरू एक-दुइ दिन बसेर बाहिरिन्छन । यसले गर्दा रूम्जाटारबासीहरूबाट रूम्जाटारको बिकाश र प्रगतिमा कुनै योगदान हुन नसकिरहेको यथार्थले मन कुँढिन्छ।

बिकाशका कुरा गर्दा ०३३ सालमा निर्मित हवाइ अड्डा स्याहार-सँभार र पुनरनिर्माणको अभावमा रूग्ण अवस्थामा रहेको छ। स्थानीय ठोट्ने खोला साना जलविद्युत अयोजनाबाट उत्पादित बिजुलीले स्थानीय माँगलाइ धान्न छोडीसकेको छ । बाउने खोलाबाट सञ्चालित खानेपानी अयोजनाले बिहान २ घण्टा र बेलुका तीन घण्टा मात्र खानेपानी आपूर्ति गरेको छ । ०५७ सालमा पुगेको कच्चि सडकमा जोखिमपूर्ण यात्रा गर्न रूम्जाटारवासीहरू बाध्य छन । गाउँ-गाउँसम्म मोबाइल टेलिफोन सेवा र इण्टरनेट सुविधा पुगिसकेको सन्दर्भमा रूम्जाटारमा अहिलेसम्म दूरसञ्चारको मौसमी तार सेवाले रुम्जाटारवासीहरुको खिल्ली उडाइरहेको छ भने इण्टरनेट सेवा प्रदायकहरु निकट भविष्यमा पुग्न सक्ने कुनै योजना छैन। यहाँको हस्तकला राडि-पाखीले उपयुक्त बजार पाउन सकेको छैन । सिँचाइको अभावमा यहाँको सुन्तलाखेति मुर्झाएको छ । ०४३ सालमा निर्माण कार्य शुरू गरिएको फुटबल मैदान अझै सम्पन्न हुनसकेको छैन।

टिम्बुरबोटे काण्डका जीवित शहीद लोकबहादुर गुरुङ,०१५ सालका काँग्रेस साँसद पेशल पोख्रेल,जिल्लामै कम्युनिष्ट अन्दोलन भित्र्याउने नारानबहादुर गुरूङ, गायिका मेलवादेवी, आधुनिक गायिका गँगा राना, नेताहरू डिआर पोख्रेल, दीपबहादुर श्रेष्ठ, पूर्व अञ्चलाधीश नवराज गुरूङ, पूर्व सचिव रेवतिरमण पोख्रेल, राणाकालीन सैनिक कर्णेल सर्वध्वज गुरूङ,वरिष्ठ इन्जिनियर महेन्द्र गुरूङ, इन्जिनीयर बाबूराम गुरूङ, बरिष्ठ चिकित्सक डा. गणेश गुरूङ, स्व.श्री ५ रवि शाहका माता रम्भा गुरूङ शाह, ज्ञानदिल दाश, प्रसिद्ध तान्त्रीक गोइबे लामा जस्ता प्रसिद्ध ब्यक्तित्वहरूलाई जन्म दिएको यस भूमिले उहाँहरूले राष्ट्रका लागि दिएको योगदानको प्रतिफल पाउन नसकेको भान हुन्छ। प्रख्यात समाजसेवी अनुराधा कोइराला, समाजसेवी अमीर बाबू गुरूङ, गायक शक्तिकुमार श्रेष्ठ, गायिका मौसमी गुरूङ, कल्याणकुमार राइलगायत देशभित्र र बाहिर छरिएर रहेका सयोँ रूम्जाटारवासीहरूबाट रूम्जाटारले ठूलो अपेक्षा गरेको छ। यसै सन्दर्भमा पिछडिएको रूम्जाटारलाई राष्ट्रिय रूपमा पुनरताजगि दिनको लागि रूम्जाटारवासीहरू जुरमुराउन थालेको दृष्यले आशा पलाएको छ। पुष ११ गते देखि १५ सम्म अयोजना हुन लागेको ओखलढुँगा-रूम्जाटार महोत्सवले सबैको ध्यान खिँचेको छ । प्रधानमन्त्री माधव नेपालद्वारा उद्घाटन गरिने सो महोत्सवको समापन सभाध्यक्ष सुवासचन्द्र नेम्वाँगबाट हुने कार्यक्रम रहेको छ । यो महोत्सवले रूम्जाटारको इतिहाँस, सँस्कृति, भेषभूषा, खानपान, स्थानीय उत्पादन,पर्यटन प्रवर्द्धनलगायत यसको समग्र विकासमा टेवा पु-याउने कुरामा सर्वत्र विश्वास जगाएको छ।

तर समय-समयमा आयोजना गरिने महोत्सव र मेलाहरूले मात्र यो ठाउँको आशातीत विकाश सँभव छैन । यसको लागि स्वयम् जागरूक हुन जरूरी छ । महोत्सवको यसै उपलक्षमा रूम्जाटार भुलिसकेका टारेलीहरूले एकपल्ट आफू जन्मेको जमीनको स्मरण गर्न जरूरी छ । रूम्जाटारवासीहरूको यस प्रयासमा बिदेशमा बस्ने टारेलीहरूले पनि होस्टेमा हैँसे गर्नुपर्ने अवस्यकता छ। मन हुने हो भने धनको कमी छैन । सबैमा जन्मभूमिको लागि केही गर्नु पर्छ भन्ने भावना जागृत हुने हो भने श्रोत सँकलन र परिचालन कठिन छैन । युरोप र अमेरिकामा मात्र ५०० को हाराहारीमा रूम्जाटारेहरू रहेको अनुमान छ। यिनिहरूलाई मात्र परिचालन गर्न सकिने हो भने पनि धेरै काम हुन सक्दछ । महोत्सवमा भाग लिन सँसारबाट त्यहाँ पुग्नु हुने रूम्जाटारे मित्रहरूलाई यसबारेमा एउटा अवधारणा बनाउन म आग्रह गर्दछु । साथै बर्णालु गाविस समेतलाई मिलाएर रूम्जाटार गाविसलाई नगरपालिका घोषणा गराउन त्यहाँका राजनैतिक दलका नेताहरू, समाजसेवीहरू, बुद्धिजीविहरू तथा सम्पूर्ण रूमजाटारवासीहरू तुरून्तै सकृय हुनु पर्ने बेला भएको छ । यस महोत्सवको अवसर पारेर सम्पूर्ण रूम्जाटारवासीहरू यसको सर्वतोमूखी विकाशको लागि मन, वचन र कर्मले एक भएर लाग्न म सबैमा हार्दिक अनुरोध गर्दछु। महोत्सवको पूर्ण सफलताको कामनासहित…।

१ डिसेम्बर २००९
हालः बेल्जियम

Recent Videos:

Popularity: 14%

3 comments December 2nd, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

December 2009
M T W T F S S
« Nov   Jan »
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Posts by Month

Posts by Category

More news....