एचकेनेपाल डट कम संवाददाता-
नचिनेका मान्छेको समूहले गुल्मीको जुभुङ्ग गाविसमा गए राति रु. नौ लाखभन्दा बढी चोरी गरी लगेका छन्।
जुभुङ्ग गाविस ४ हटियाका गङ्गाप्रसाद श्रेष्ठको घरमा बास बस्ने निहुँ पारी आएका नचिनेका चार जनाको समूहले रु. पाँच लाख र १५ तोला सुनका गहना लुटेर लगेको पीडितले बताएका छन्।
होटलमा बास बस्न आएका लुटेराहरूले गए राति श्रेष्ठ र उनको श्रीमतीलाई हातखुट्टा रसीले बाँधी मुखमा पट्टी बाँधेर १५ तोला सुन र रु. पाँच लाख ५० हजार चोरी गरी भागेका छन्।
छिमेकीले थाहा पाएर राति नै प्रहरीलाई जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट पुगेको टोलीले लुटेराहरूको खोजी गरिरहेको प्रहरीले जनाएको छ।
एचकेनेपाल डट कम संवाददाता-
अर्ध भूमिगत पार्टी नेकपा (मसाल)का महामन्त्री मोहनबिक्रम सिंहले नेपाललाई सङ्घीय राज्य बनाउँदा सिक्किमको नियती भोग्नुपर्ने आरोप लगाएका छन्।
महामन्त्री सिंहले नेपालको राजनीतिमा भारतको हस्तक्षेपले त्यहि कुराको सङ्केत गरेको छ भन्नुभयो।
एकीकृत नेकपा (माओवादी) सैन्यवाद तथा फाँसीवादी सोचतर्फ उन्मुख भएको आरोप लगाउनुभएको छ।
प्रगतिशील पत्रकार सङ्घ, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले आफुखुसी सङ्घीय राज्य घोषणा गर्दै हिँड्ने कार्यले एकीकृत माओवादी नयाँ संविधान निर्माणको पक्षमा नरहेको देखाउँछ भन्नुभयो।
पत्रकारलाई तस्वीर खिच्न नदिइएको सो पत्रकार सम्मेलनमा उहाँले आफ्नो विचार अरु राजनीतिक दलमा जवरजस्ती लाद्न खोज्ने तथा आफूले भनेको मात्र ठीक हो भन्ने एकीकृत माओवादी प्रवृत्तिले बृहत शान्ति सम्झौता पनि टुङ्गोमा नपुग्ने बताउनुभयो।
एक प्रश्नको जवाफमा उहाँले आफ्नो दलका नेता तथा कार्यकर्ता भूमिगत भए पनि राजनीतिक गतिविधि भने भूमिगत छैन भन्नुभयो।
एक अर्को प्रश्नको जवाफमा महामन्त्री सिंहले सही नीति र वस्तुगत अवस्थाको विश्लेषण गर्न नसक्दा मुलुक अहिले गम्भीर सङ्कटको मोडमा पुगेको बताउनुभयो।
एचकेनेपाल डट कम संवाददाता-
पार्टी कामको सिलसिलामा आज बिहान बागलुङ आउनुभएका ऊर्जामन्त्री प्रकाशशरण महतलाई एकीकृत माओवादीका कार्यकर्ताले कालोझन्डा देखाउनेक्रममा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा सातजना घाइते भएका छन् भने मन्त्री चढेको गाडी तोडफोड भएको छ।
सो झडपमा माओवादीका छजना कार्यकर्ता र नेपाली काङ्ग्रेसका एक कार्यकर्ता घाइते भएका बताइएको छ।
घाइते हुनेहरुमा माओवादीको भ्रातृ सङ्गठन कालिगण्डकी साँस्कृतिक परिवारका अध्यक्ष निर्मल जिसी, अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य राजीव घिमिरे, प्रशंसा केसी, मीना परियार, होमनाथ चालिसे र नाम नखुलेका बिक थरका एक जना रहेका छन् भने नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल महिला सङ्घकी जिल्ला सचिव शकुन्तला पौडेल रहेकी छिन्।
घाइतेमध्ये माओवादीतर्फ जिसी र घिमिरे तथा महिला सङ्घका सचिव शर्माको अवस्था गम्भीर रहेको छ। टाउको र छातीमा चोट लागेका उनीहरु तीनै जनाको हाल बागलुङ अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइते सामान्य उपचारपछि घर फिर्ता भएका छन्।
मन्त्री महत चढेको बा १ झ १०२६ नं. गाडीको पछाडिको सिसा फुटेको छ। प्रहरीको बा. १ झ ७३९३ नं.को गाडीमा पनि क्षति पुगेको छ। पार्र्टी कार्यकर्ता भेटघाटका लागि कार्यक्रमस्थल होटल पिसप्यालेसतर्फ जाँदै गर्दा माओवादी कार्यकर्ताले कालोझन्डा देखाउँदै मन्त्री महतको गाडीमा झन्डा फालेपछि प्रहरीले लट्ठी प्रहार गरेको थियो।
प्रहरीबाट भएको लट्ठी प्रहार र आफ्ना कार्यकर्तामाथि कुटपिट भएको भन्दै एकीकृत माओवादीले आजदेखि अनिश्चितकालीन सदरमुकाम बन्दको घोषणा गरेको छ।
एचकेनेपाल डट कम संवाददाता-
विद्युत लाइनमा उत्पन्न समस्या पत्ता लगाउन नसकेपछि सिन्धुपाल्चोकको सदरमुकाम चौतारालगायत जिल्लाका दर्जनभन्दा बढी गाविस विगत चार दिनेदेखि अन्धकारमय भए।
लामोसाँघुस्थित सुनकोसी विद्युतगृहबाट सदरमुकाम लगिएको एक केभी प्रसारण लाइनमा उत्पन्न समस्या पत्ता लगाउन नसकेपछि मङ्सिर ३० गतेदेखि ती क्षेत्र विद्युतविहीन भएका हुन्।
विद्युतको अभावमा सरकारी कार्यालयको कामकाज, टेलिफोन लाइन, मोवाइललगायत यहाँबाट सञ्चालित एफएम स्टेशन र पत्रिका प्रकाशनको कामसमेत बन्द भएको छ।
विद्युत अभावमा सम्पर्क विच्छेद हुनुका साथै कुटानी पिसानी मिलसमेत बन्द भएपछि स्थानीयवासीलाई बिहान बेलुकाको खानपिनको लागि समेत समस्या परेको छ।
त्यसैगरी दोलखामा पनि तीन दिनदेखि विद्युत आपूर्ति बन्द भएपछि एफएमहरु समेत बन्द भएका थिए।
दुवै ठाउँमा आज दिउँसोदेखि विद्युत आपूर्ति सुचारु भएको छ।
एचकेनेपाल डट कम संवाददाता-
एकीकृत माओवादीले आज शुक्रवार जनकपुरको बारबिघा रंगभूमिबाट मधेस स्वायत्त गणराज्य घोषणा गरिने भएको छ।
करीव पाँच लाखभन्दा बढीको सहभागिता हुने दावी गरिएको घोषणा सभाबाट पार्टी उपाध्यक्ष डा. बाबुराम भट्टराईले मधेस स्वायत्त गणराज्य घोषणा गर्ने छन्।
मधेस राज्यको सीमांकनसम्बन्धी पार्टीभित्रको विवाद साम्य नभएपनि विभिन्न गणराज्यहरू घोषणा गर्ने क्रममा मधेस स्वायत्त गणराज्य घोषणा गरिन लागेको हो। मधेस राज्यअन्तर्गत मिथिला, भोजपुरा र अवध उपराज्यहरू छन्। मधेसीहरूको बाहुल्य रहेको पूर्वका मोरङ, सुनसरी र झापा जिल्लालाई कोचिला राज्यअन्तर्गत राखेकामा माओवादीकै एक थरी नेताहरूले असन्तुष्टि जनाएपछि पार्टीभित्र सीमांकनसम्बन्धी विवाद देखिएको हो।
माओवादीले अहिलेसम्म १२ वटा गणराज्यको घोषणा गरिसकेको छ।
एचकेनेपाल डट कम संवाददाता-
एकीकृत माओवादीका कार्यकर्ताहरूले बाग्लुङमा उर्जामन्त्री डा.प्रकाशशरण महतमाथि आक्रमण गरेका छन्।
मोदीखोला जलविद्युतको अनुगमनको क्रममा त्यहाँ पुगेका मन्त्री महतमाथि माओवादी कार्यकर्ताहरूले ढुंगामुढा गरेका थिए। मन्त्री महतलाई केही नभएपनि उनी सवार बा. १. झ १०२६ नम्बरको गाडीमा क्षति पुगेको छ।
माओवादी कार्यकर्ताहरूले मन्त्रीविरूद्घ कालो झण्डा देखाइसकेपछि ढुंगामुढा गरेका थिए। आक्रमणमा नेपाल महिला संघ बागलुङकी सचिव शकुन्तला शर्मा गम्भीर घाइते भएकी छिन्। शर्मा उर्जामन्त्री महतलाई भेट्ने जाने क्रमका घाइते भएकी हुन्।
माओवादी कार्यकर्ताहरूले ढुंगामुढा गरेपछि प्रहरीसंग झडप भएको थियो। माओवादी कार्यकर्ता र प्रहरीबीच भएको झडपमा पाँच माओवादी कार्यकर्ता भएका छन्। घाइते हुनेहरूमा माओवादी निकट अनेरास्ववियुका होमनाथ चालिसे, राजिव घिमिरे, निर्मल जिसी, प्रशंसा केसी र मिना विक छन्। माओवादी कार्यकर्ता नेपाली काँग्रेसको पार्टी कार्यालयमा पनि तोडफोड गरी झण्डा जलाइ दिएका छन्।
शान्तिपूर्ण प्रर्दशनमा प्रहरीले दमन गरेको भन्दै घटनाको विरोधमा माओवादीले बाग्लुङ बजार बन्द गरेको छ।
भक्त गुरूङ, लण्डन/ एचकेनेपाल डट कम -
एनआरएन युकेले नयाँ संविधानमा दोहोरो नागरिकताको व्यवस्थाको माग गर्दै नेपालको संविधानसभाको अध्यक्ष सुवासचन्द्र नेम्वाङ, प्रधानमन्त्री माधवकुमार नेपाल, संवैधानिक समितिका सभापति निलाम्बर आचार्य र मौलिक हक तथा निर्देशक सिद्धान्त समितिका सभापति विन्दा पाण्डेको नाममा लण्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत झविन्द्रप्रसाद अर्यालमार्फत डिसेम्बर १६ तारिख ज्ञापनपत्र बुझाएको छ।
ज्ञापनपत्र एनआरएन युकेका अध्यक्ष सूर्यबहादुर गुरुङले पढेर हस्तान्तरण गर्नुभएको थियो। ज्ञापन कार्यक्रमलाई सञ्चालन गर्दै कोअर्डिनेटर भक्त गुरुङले गैरआवासीय नेपालीहरुको लागि दोहोरो नागरिकताको मागलाई संबन्धित समितिको मस्यौदामा पूर्णतयः वेवास्ता गरिएकोले आफ्नो हकलाई स्थापित गराउन ज्ञापनपत्रसहित मागपत्र पेश गर्नुपरेको कुरा बताउनुभयो। कार्यक्रममा छोटो मन्तव्य दिदैं एनआरएनका युरोपियन कोअर्डिनेटर हितमान गुरुङले संविधान लेखनको महत्वपूर्ण चरणहरु अगाडि बढिरहेकोमा गैरआवासीय नेपालीहरुको ‘’एकपटकको नेपाली सधैको नेपाली’’ भन्ने मागलाई पूरा गराउन यो विरोधपत्र दिनुपरेको कुरा बताउनुभयो।
कार्यक्रममा एनआरएनका आईसिसि सदस्यहरु किशोर सापकोटा र विजय थापाले एनआरएनको महत्वपूर्ण मुद्दा मध्येको एक यो दोहोरो नागरिकताको हकको कुरालाई नेपालको नयाँ संविधानमा लेखिनुपर्ने कुरामा जोडदिनुभएको थियो। एनआरएन युकेका सल्लाहकार तथा वि.जि.डव्लु.एस.का अध्यक्ष रि.मे. टिकेन्द्रदल देवानले नयाँ संविधानमा गैरआवासीय नेपालीहरुलाई दोहोरो नागरिकताको व्यवस्था गर्न नसक्दा नेपाल-ब्रिटेनको सन्धिसंझौता अनुसारको ब्रिटिश-गोर्खा सेनाको व्यवस्थामा पनि असर पुग्ने कुरा औल्याउनु भयो। उहाँले २०० वर्षदेखि ब्रिटेन-नेपालबीचको विशेष दूतको रुपमा काम गर्दै आएको ब्रिटिश-गोर्खा गैरआवासीय नेपालीहरुलाई दोहोरो नागरिकताको व्यवस्था गर्नु अति आवश्यक भएकोमा जोड दिनुभएको थियो। कार्यक्रममा एनआरएनका सल्लाहकारहरु कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको व्यापक उपस्थिति रहेको थियो। कार्यक्रममा कावा राजदूतले आफ्नो तर्फबाट गर्नु पर्ने सम्पूर्ण कुरा गरिने कुरा बताउनुभयो। उहाँले दोहारो नागरिकताको व्यवस्थाले नेपाललाई कुनै नोक्सान नहुने भएकोले आफ्नो नागरिकको लागि यो व्यवस्थामा नेपाल जानुपर्ने कुरामा आफू स्पष्ट रहेको कुरा वताउनुभयो।
ज्ञापन पत्र
मितिः १६ डिसेम्वर २००९
श्री सम्माननीय अध्यक्ष सुवास चन्द्र नेम्वाङ्ग ज्यू
नेपालको संविधान सभा
संविधान सभाको सचिवालय काठमाडौं
नेपाल।
मार्फतः महामहिम कार्यवाहक राजदूत श्री झविन्द्रप्रसाद अर्यालज्यू
नेपाली दूतावास लण्डन संयुक्त अधिराज्य वेलायत।
विषयः दोहोरो नागरिकताको व्यवस्था सम्बन्धमा माग-पत्र।
सम्माननीय अध्यक्ष महोदय,
जन-आन्दोलनको प्रतिफलस्वरुप प्राप्त जनप्रतिनिधिमुलक संस्था संविधान-सभामा सम्माननीय अध्यक्षज्यूको अगुवाईमा नयाँ संविधान निर्माण कार्य अनवरत रुपमा अघि बढिरहेको कुराले हामीलाई खुसी तुल्याएको छ । साथै संविधान-सभामा विभिन्न विषयगत समितिहरु र संबैधानिक समितिका बैठकहरुमा भईरहेको प्रगतिले निर्धारित समय तालिकाभित्र नयाँ संविधान बन्ने कुरामा हामी आशावादी बनेका छौं । यसै सिलसिलामा संविधानसभाको मौलिक हक तथा निर्देशक सिद्धान्त समितिद्वारा प्रस्तुत नागरिकता सम्बन्धी मस्यौदाप्रति हाम्रो गंभीर ध्यान आकर्षण भएको छ । प्रस्तुत मस्यौदामा गैर-आवसीय नेपालीहरुको दोहोरो नागरिकताको मागलाई पूणरुपमा अस्वीकार गरिएको छ । विद्यमान नागरिकता ऐनको धारा १०.१ को विदेशी नागरिकता प्राप्त गरेमा नेपाली नागरिकता कायम नरहने प्रावधान प्रस्तावित मस्यौदामा पनि कायम रहेकोले धारा ११ (ख) ‘’एक पटकको नेपाली सधैको नेपाली'’ भएर बाँच्न पाउने हाम्रो अधिकार कुण्ठित भएको छ । यस्तो व्यवस्थाले विदेशमा जन्मिने हाम्रो सन्ततीले पहिचान गुमाउने निश्चित भएको छ।
संविधानमा दोहोरो नागरिकताको व्यवस्थाले गैर-आवासीय नेपालीहरुको आफ्नो मातृभुमिसंगको जिवन्त सम्बन्धलाई अविछिन्न राख्नुका साथै राष्ट्रको सर्वाङ्गिण विकासमा सहभागी बन्ने महान अवसर मिल्ने हुँदा यसबाट राष्ट्र स्वयं र गैर-आवासीय नेपालीहरु दुवैले प्रचूर लाभ लिन सक्ने कुरामा कसैको पनि दुईमत नभएको कुरा सम्माननीय अध्यक्षज्यू समक्ष विनम्रपुर्वक अनुरोध गर्न चाहन्छौं । गैर-आवासीय नेपालीहरुद्वारा आयोजित विभिन्न गोष्ठी, सभा, सम्मेलन र समारोहहरु तथा अन्य कार्यक्रमहरुमा पनि देशको नीति निर्माणमा निर्णायक भुमिका खेल्ने राजनीतिक दलहरुका शिर्षस्थ नेतृत्वद्वारा दोहोरो नागरिकताको पक्षमा पटकपटक समर्थन व्यक्त गर्दै आएको कुरा पनि सम्माननीय अध्यक्षज्यू समक्ष स्मरण गराउन चाहन्छौं । साथै नयाँ संविधानमा सुझाव संकलनको समयमा दोहोरो नागरिकताको विभिन्न पक्षको विवेचनासहित दोहोरो नागरिकताको व्यवस्था हुनुपर्ने कुरा गैर-आवासीय नेपाली संघले आफ्नो अधिकारीक सुझावपत्रमा स्पष्ट रुपमा उल्लेख गरी सुझाव सम्मिलित गराएको कुरा पनि सम्माननीय अध्यक्षज्यूलाई स्मरण गराउन चाहन्छौं।
उपरोक्त तथ्यहरुको विपरित समितिद्वारा आफ्नो मस्यौदामा गैर-आवासीय नेपालीहरुका लागि न्यूनतम अधिकार मात्र भएको परिचय-पत्रको व्यवस्था गर्ने प्रस्ताव पेश गरिएको कुराले हामीलाई अत्यन्त मर्माहत दुखिःत र आक्रोशीत तुल्याएको छ । यस मस्यौदाको संविधानले गैर-आवासीय नेपालीहरुलाई आफ्नो मातृभुमिसंगको सांस्कृतिक, सामाजिक, भाषीक, धार्मिक र भावनात्मक सम्बन्धलाई पूर्णतः विच्छेद तुल्याउनुका साथै देशको आर्थिक विकासमा सहभागी बन्ने अवसरबाट पूर्णतः बन्चित गराउने कुरा निश्चित छ । दोहोरो नागरिकताको व्यवस्थाको विरुद्दमा उठाईएका तर्कहरु जस्तैः भारत, बर्मा, भुटान आदि देशमा रहेका लाखौं नेपालीहरुले पनि नागरिकता माग्न सक्ने, यि देशहरु पनि यो व्यवस्थामा नगएको, दुवै हातमा लड्डु दिन नहुने, देशको आर्थिक राजनीतिक क्षेत्रमा प्रभाव पारी देशको आन्तरिक सुरक्षामा खलल पुर् याउन सक्ने, देशको राजनीतिक/आर्थिक क्षमताले धान्न नसक्ने जस्ता आधार नभएका तर्कहरुलाई हामी पूर्ण रुपमा अस्वीकार गर्छौ । परिचय-पत्रको व्यवस्था खोला विनाको झोलुङ्गे पुल जस्तै बन्ने, अर्को देशको नागरिकता लिने गैर-आवासीय नेपालीहरुको संख्या देशले धान्नै नसक्ने नरहेको, दोहोरो नागरिकताको व्यवस्था भएको देश जस्तैः संयुक्त अधिराज्य वेलायत, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, क्यानडा जस्ता देशहरुको नागरिकता िलंदा नेपाली नागरिकता त्याग्नु नपर्ने व्यवस्था रहेकोमा नेपाली नागरिकता ऐन मात्र संसोधन गरे पुग्ने, दोहोरो नागरिकताको व्यवस्थामा जाँदा राष्ट्रलाई कुनै घाटा नभई चौतर्फि फाईदा नै पुग्ने र वेलायत जस्तो बृटिश-गोर्खा आर्मीको पृष्ठभुमि भएको देशको गैर-आवासीय नेपालीहरुलाई दोहोरो नागरिकताको व्यवस्था गर्नु नेपालकै सन्धि-संझौताले पनि देशलाई बाध्य पार्ने जस्ता तर्कहरु वलवान रहेको सन्दर्भमा नयाँ संविधानमा गैर-आवासीय नेपालीहरुको लागि दोहोरो नागरिकताको स्पष्ट व्यवस्था गरियोस् भन्दै निम्न बमोजिमका मागहरु सम्माननीय अध्यक्षज्यू समक्ष प्रस्तुत गर्न चाहन्छौं।
१. नयाँ संविधानमा ‘’गैर-आवासीय नेपालीहरुलाई दोहोरो नागरिकताको व्यवस्था गरिने छ'’ भन्ने वाक्यांश राखियोस ।
२. प्रस्तावित मस्यौदाको धारा ११ (ख) को विदेशी नागरिकता प्राप्त गरेमा नेपालको नागरिकता नरहने प्रावधानको खारेजी गरियोस्। यस्तो व्यवस्थाले राष्ट्रले केही गुमाउन नपर्ने हाल नेपाली नागरिकता भएका नेपालीले विदेशी नागरिकता लिएपछि पनि नेपाली नागरिकता कायम राख्न सक्ने र विदेशमा जन्मने नेपाली सन्तानहरुको पहिचान नगुम्ने उनीहरुको नेपालप्रतिको भावनात्मक सम्बन्ध कायम रहने हुनाले दिर्घकालीन रुपमा राष्ट्रलाई फाईदा पुग्नेछ । यस्तो व्यवस्थाले भुटान, भारत, बर्मा लगायतका नेपालीमूलका नागरिक जोसंग अहिले नेपाली नागरिकता कायम छैन को प्रश्न पनि आउने छैन।
३. यस पुर्व अर्को देशको नागरिकता लिईसकेका र विगतमा नेपालको नागरिकता भएको अभिलेख नेपाल सरकारसंग भएका गैर-आवसीय नेपालीहरुलाई पनि दोहोरो नागरिकताको व्यवस्था गरियोस्।
४. बृटिश-गोर्खा सैनिकहरु नेपाल सरकारको व्यवस्था बमोजिम नै बृटिश सेनामा कार्यरत रहेकोले आफ्नो यस पृष्ठभुमिका गैर-आवासीय नेपालीहरुले बेलायती नागरिकता िलंदा नेपाली नागरिकता समाप्त नहुने व्यवस्था गरियोस्।
५ हाल पश्चिम मुलुकमा विदेशी नागरिकसंग विवाह गर्ने नेपाली महिलाहरुको संख्या उल्लेखित रुपमा बढ्दै गएको छ । यस्ता आमाको सन्तानलाई आमाको नेपाली नागरिकताको आधारमा नेपाली नागरिकता दिने व्यवस्था गरियोस्।
धन्यवाद।
………………………
सूर्यबहादुर गुरुङ
अध्यक्ष
गैर-आवासीय नेपाली संघ
संयुक्त अधिराज्य वेलायत
वोधार्थः
१ श्री सम्माननीय प्रधानमंत्री माधवकुमार नेपाल ज्यू, प्रधानमंत्रीको सचिवालय सिंहदरवार काठमाडौं।
२ श्री माननीय सभापति निलाम्वर आचार्य ज्यू, संवैधानिक समिति, नेपालको संविधान सभा, समितिको कार्यालय काठमाडौं नेपाल।
३ माननीय सभापति विन्दा पाण्डे ज्यू, मौलिक हक तथा निर्देशक सिद्धान्त समिति, नेपालको संविधान सभा, समितिको कार्यालय काठमाडौं नेपाल।
भक्त गुरूङ, लण्डन/ एचकेनेपाल डट कम -
एनआरएन युकेले आगामी दुई वर्षको लागि कार्ययोजना तय गर्न विशेष योजना गोष्ठी कार्यक्रम हालै लण्डनमा सम्पन्न गरॆको छ। गोष्ठीबाट निम्न लिखित कार्ययोजनाहरु तर्जुमा गरिएको कुरा एनआरएन युकेले जनाएको छ।
1. नेपालको नयाँ संविधानमा दोहोरो नागरिकताको व्यवस्थाको लागि दवाव दिन डिसेम्वर १३ मा नेपाली दूतावासमा विरोधपत्र बुझाउने, जनवरी ११ मा उच्चस्तरीय प्रतिनिधि मण्डल नेपाल पठाउने, नेपालको सम्पूर्ण राजनीतिक दलहरु र शक्तिहरुसंग व्यापक लविङ्ग शुरु गर्ने निर्णय गरेको छ।
2. एन.आर.एन., युकेको कामलाई व्यवस्थित गर्नको लागि कार्यालय भवनको आवश्यकता महशुस भएकोले कार्यालय भवन खरिदको कार्यलाई तत्कालै अगाडि बढाउने निर्णय भएकोछ।
3. एन.आर.एन. युकेलाई युकेको च्यारिटी कमिसनमा तत्काल दर्ता गराई च्यारिटी संस्थाको रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ।
4. एन.आर.एन. युकेका सदस्यहरुको सदस्यता कार्ड तयार गरी उक्त कार्डवाहकहरुलाई विभिन्न कारोवारहरुमा निश्चित प्रतिशत छुटको व्यवस्था गराउन तत्काल अगाडि बढ्ने निर्णय भएको छ।
5. नेपालका अजरअमर तथा सुप्रसिद्ध गायकगायिकाहरुको कलालाई जिवन्त बनाई राख्नको लागि उहाँहरुको सम्मानमा युकेमा रहेका नेपाली कलाकारहरुको विशेष प्रस्तुती कार्यक्रम नेपाली नयाँ वर्षमा आयोजना गर्ने निर्णय भएको छ।
6. ए.नआर.एन. कपलाई यसवर्षको अक्टोवरमा सञ्चालन गर्ने निर्णय भएको छ।
7. एन.आर.एन.को च्यारिटी फण्डलाई निरन्तरता दिनको लागि बृहत सम्मान कार्यक्रमसहितको च्यारिटी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।
8. नेपालको पर्यटन वर्ष २०११ लाई मध्यनजर राखी विभिन्न संघसंस्थाहरुसंगको सहभागितामा बृहतखालको पर्यटकीय, व्यवसायीक तथा शैक्षिक फेयर आयोजना गर्ने निर्णय भएको छ।
9. एन.आर.एन.को वेबसाईडलाई व्यवस्थित गरी सूचनामुलक र प्रभावकारी रुपमा सञ्चालन गर्ने निर्णय भएको छ। वेबसाईडमा कानुनी, स्वस्थ्य. शिक्षा. व्यापार आदि सम्बन्धि जिज्ञासाहरुलाई सम्बन्धित विशेषज्ञको माध्यमबाट उत्तर दिने व्यवस्था गरिने छ।
10. एन.आर.एन.को वार्षिक मुखपत्रलाई निरन्तरता दिने निर्णय भएको छ।
11. एन.आर.एन.को सदस्यतालाई अझ व्यापक बनाउन स्कटल्याण्ड, वेल्स, नर्थनआएरल्याण्ड तथा वेलायतका अन्य भागहरुमा आवश्कयता अनुसार क्षेत्रिय ईकाइहरु गठन गर्दै लगिने निर्णय भएको छ।
12. विभिन्न समयमा तात्कालीन विषयबस्तुहरुमा आधारित रहेर विभिन्न सभा, गोष्ठी, समारोहहरुको आयोजना गर्दै जाने निर्णय भएको छ।
13. नेपाली समुदायलाई आपतकालीन सेवा तथा सुझावहरु दिनको लागि युकेको विभिन्न भागहरुमा एन.आर.एन. युकेको कार्यसमिति, सल्लाहकार तथा सदस्यहरु सम्मिलित सम्पर्क व्यक्तिहरुको व्यवस्था गर्ने निर्णय भएको छ।
14. एन.आर.एन. युकेले यस अवधिमा नेपालको दुर्गम जिल्लामा स्वस्थ्य सम्बन्धी परियोजना सञ्चालन गर्ने निर्णय भएको छ। साथै अन्य सम्भाव्य परियोजनाहरुको अध्ययन गरी सञ्चालन गर्दै लैजाने निर्णय भएको छ।
कार्यक्रमको उद्घाटन र समापन एन.आर.एन. युकेका अध्यक्ष सूर्य गुरुङको अध्यक्षतामा र छलफल तथा गोष्ठी कार्यक्रम एन.आर.एन.का युरोपियन कोअर्डिनेटर हितमान गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। गोष्ठीमा सहभागीहरुलाई छलफलको लागि ५ समूहमा विभाजन गरिएको थियो। र, पाँचै समूहको नेतृत्व आई.सि.सि. सदस्यहरु क्रमशः राजन कंडेल, विजय थापा, किशोर सापकोटा, लक्ष्यबहादुर गुरुङ र शंकर भण्डारीले गर्नुभएको थियो। कार्यक्रममा दोहोरो नागरिकताको सम्बन्धमा प्रोफेसर डा. सूर्य सुवेदीले कार्यपत्र पेश गर्नु भएको थियो भने डा. हेमराज शर्माले समूहगत नेताहरुद्वारा प्रस्तुत सुझावहरुलाई संक्षेपीकरण गरी रिपोर्ट पेश गर्नुभएको थियो। कार्यक्रमको उद्घाटन समारोहमा पूर्व अध्यक्षद्वय महन्त श्रेष्ठ र डमर घलेले आ-आफ्नो कार्यकालको अनुभव व्यक्त गर्नुभएको थियो र नवगठित सल्लाहकार समिति र कार्यसमितिका कोअप सदस्यहरुलाई खादा ओढाई सम्मान गरिएको थियो। कार्यक्रमको सञ्चालन कोअर्डिनेटर भक्त गुरुङले गर्नु भएको थियो। अतिथि तथा सहभागी सम्पूर्णलाई उपाध्यक्ष महेन्द्र कंडेलले स्वागत गर्नु भएको थियो।