Archive for January, 2010

मेरा साथी बिष्णुलाल शहिद भएछन्

एल एन सुवेदी “हस्ती”-
उनीसंग मेरो भेट भएको २०४५ सालको भाद्र महिनाको अन्तिम साता हो जस्तो लाग्छ। असार महिनाको खेतीपाती सकिकन म मेरो गाउ इलाम जिल्लाको मंगलबारेबाट काठमाडौंतिर लागेको थिएं। पिताजीको आग्रह अनुसार मैले गाउंमै मास्टरी जागीर खोजेर खांदै कानून पढ्नु थियो।

दाइले काठमाडौं बोलाउनु भएकोले पानी झरीको बेला अलिकति कुम्लो कुटुरो च्यापेर झापासम्म पैदल आई बिर्तामोडबाट रात्रि सेवाको बसमा चढेर काठमाडौं सुइकिएं। पहाडबाट आएको ठिटो काठमाडांै मेरो लागि अनौठो हुने नै भयो । काठमाडौंको सतुंगलमा मेरो दाइ र एक जना भतिज बस्थे । उनीहरुका साथमा नै मेरो पनि बसाइ हुन थाल्यो । केही दिनपछि मेरो भतिज र मैले थानकोटस्थित मंगलोदय क्याम्पसमा ब्यबस्थापन संकायमा भर्ना गर्यौं। शुरुका केही दिन साथीभाइ चिन्नमा समय बित्यो । क्याम्पस प्रमुख भक्तलाल श्रेष्ठ हुनुहुन्थ्यो । पढाउने शिक्षकमा नेपालका बरिष्ठ अर्थशास्त्री चन्द्रराज ढुगेंल , नेपाली पढाउने गुरु श्री हरी रुपाखेती हुनुहुन्थ्यो , अरु सर मिसहरुको त नाम बिर्सिएछ । हिजो आज तितो सत्य कार्यक्रम चलाउने दिपकराज गिरी मेरा समकक्षी थिए। सतंुगलबाट क्याम्पस जाने साथीहरु निकै थियौं । त्यसमा एक जना महर्जन थरका साथी थिए । उनको नाम बिर्सिएं । ती मान्छे नेपाल बिद्यार्थी संघका रहेछन्। गणेशमान सिंहका घरमा आइजाई गर्थे । पछि उनी मेरा एकदम असल साथी बने। त्यसै बीचमा एक जना होचो कदको सानो शरीर भएको बोलीमा नेवारी भाषाको समिश्रण भएको , साना साना तिखा आँखा , नाकको टुप्पामा एउटा कोठी भए जस्तो लाग्छ। उनीसंग मेरो चिनाजानी भयो। तिनै मित्र थिए, सहिद बिष्णु लाल महर्जन । यी आज मेरो लेखनका पात्र भए। यी साथीको बारेमा केही वाक्य लेख्न मलाई हम्मे हम्मे परेको छ।

भेटघाट र चिनाजानीपछि उनी मेरा घनिष्ट साथी बन्दै गए। उनी काठमाडौंका भए पनि शहर भन्दा बाहिर काठका थिए। उनीहरुको रहन सहन , रीतिरिवाज , चार्डपर्व , संस्कृति अलिक फरक किसिमको थियो । त्यस बेला सतुंगल भन्ने ठांउमा पुराना शैलीका घरहरु थिए। शौचालयको ब्यवस्था कम थियो । हामी पूर्व प्रमुख निर्वाचन आयुक्त बिष्णु प्रसाद श्रेष्ठकी छोरी ज्वार्इका घरमा बसेका थियांै। बिष्णुलाल कपडा सिलाउने काम गर्थे, म चांहि चौधरी गु्पको निर्माण बनस्पति घ्यू फ्याक्ट्रीमा सहायक स्टोर किपरको काम गर्थें। दिनहरु बित्दै जांदा पञ्चायती ब्यवस्थाको उग्र बिरोध हुदैं थियो। बिष्णलाल पहिले देखि नै आन्दोलनमा जाने गर्दा रहेछन् । म पनि बिस्तारै बिस्तारै उनका पछि लाग्न थालें। त्यस ताका क्याम्पसमा मण्डले भन्ने साथीहरुको बडो बिगबिगी थियो । मण्डले साथीहरुको थिचाइ सहन नसकेर मैले कलेज परिवर्तन गरें। बिष्णलाल त्यहीं पढिरहे। उनको घर नजिकै म बस्ने हुनाले हाम्रो भेट दिन दिनै हुन्थ्यो । मैले फ्याक्ट्रीको पेशा छाडेर शिक्षण पेशातिर लागें। उनले आफ्नो काम गरिरहे । प्रजातन्त्र प्राप्तिको लागि चर्किएको आन्दोलनको लागि हामी प्रायः एकै ठांउबाट भेला भएर रातमा रांके जुलूस र दिनमा काला झण्डा बोकेर जुलूसमा गइन्थ्यो । त्यसै शिलशिलामा हामी शिक्षकहरुलाई स्कूलबाट नै पक्रिएर लग्यो र सिंहदरबारको अघिल्तिर रहेको बग्गीखाना नजिकैको खाध्य संस्थानको गोदामभित्र खाँदेर करङ्ग सोझ्यायो। बिष्णुलालहरुलाई कालीमाटीतिर कता लगेर धूलो टक्टक्याएछ। पछि निलडामसहित भेट भइयो।

पछि प्रजातन्त्रको घोषणा भएपछि खुशियाली जूलुस लिएर उनीहरु थानकोट, गूर्जुधारा, मातातीर्थ सतुंगलबाट बिशाल जूलुस लिएर निस्के , हामी नैकाप नयाँ भञ्ज्याङ्ग , पुरानो भञ्ज्याङ्ग , झोलेटोलबाट निस्क्यांै । उता तीनथानाबाट अर्को समूह निस्क्यो र नैकाप भञ्ज्याङ्गमा भेट भइयो। बिशाल जनमानसले विजयोत्सव मनाउनु थियो। हामी के नारा लगाउने भन्ने कुरामा एकछिन छलफल भयो। नैकाप नयाँ भञ्ज्याङ्गमा पढाउने एक जना नेवार शिक्षकले समस्याको समाधान निकाले। उनले भने, जनता जनता एक हौं भन्नुपर्छ । उनले एउटा तर्क दिंदै ब्याख्या गरे , यो कुनै पार्टी विशेषको मात्र प्रजातन्त्र नभएर सारा नेपालीको लागि आएको प्रजातन्त्र हो भनेपछि हामी सबैको चित्त बुझ्यो। एक हातमा फिल्टर बिनाको चुरोट तान्दै ती मास्टर भन्थे, “जनटा जनटा” , हामी एक हौं भन्थ्यांै। बिष्णुलाल अगाडि हुन्थे। हामी कलंङ्ककी, कालीमाटी, थापाथली हुदै रानीपोखरी पुग्यांै। उता भोटांहिटीतिरबाट हरिबोल भट्टराई र तीर्थराम डंगोल रिक्सामा चढेर हामी भएतिर नै आए। हामीले अबिर लगाएर स्वागत गर्यौं। रेडियोमा नाम सुनिएको थियो, प्रत्यक्ष भेटेर हात मिलाउंदा ज्यादै खुशी लाग्यो । उस दिन काठमाडांै वरिपरी घुम्ने गाडी, ट्याम्पुहरु कसैले भाडा लिएनन्। कति रमाइलो दिन थियो त्यो।

जनताका खातिर गरिने हरेक साना र ठूला आन्दोलनमा बिष्णुलाल अगाडि हुन्थे। उनी जनताका पक्षधर र प्रजातन्त्रका हिमायती थिए। उनको उमेर धेरै लामो रहेन, तर काम धेरै गरे। आफ्नै जीविकोपार्जन लागि गरेका भए आफ्नो परिवार पाल्न गाह्रो हुने थिएन। उनले स्वार्थमा बाँच्ने अभिलासा राखेनन्। देश र जनतालाई सर्वोपरी ठानेर हरेक आन्दोलनको अग्रपंङ्तिमा लडे र शहिद भए। हामी यात्रा गर्दा बाटामा भेटिएका सहयात्री थियौं। केही समय संगै यात्रा गरियो। यात्रा क्रममा मैले गोरेटो बाटोबाट निस्किएर राजनीतिक यात्राको पूर्णविराम लगाएं। उनी मूलबाटै मूलबाटो अग्रपंङ्तिमा हिंडिरहे हिंडिरहे र आज गए। हरेक बर्ष मनाइने शहिद दिवसमा चढाइने दुइ थुङ्गा फूलले मात्र बिष्णुलालको सपना साकार हुदैन होला। उनलाई मेरो तर्फबाट दिने केही पनि छैन, यिनै श्रद्धाका दुइ थोपा आँसू बाहेक।

Recent Videos:

Popularity: 8%

Add comment January 31st, 2010

दक्षिण कोरियामा सोनाम ल्होछार कार्यक्रम भब्यरुपमा सम्पन्न

रघु त्रिपाठी, दक्षिण कोरिया जनवरी ३१ /एचकेनेपाल डट कम-
दक्षिण कोरियास्थित आन्सान सिटिको माइग्रेट भवनमा नेपाल तामाङ्ग संघ दक्षिण कोरियाको आयोजनामा कोरियामा रहेका विभिन्न पेशामा आवद्ध नेपाली समुदायहरु भेलाभई २८४६ औँ सोनाम ल्होछार भब्यरुपमा मनाएका छन्।

रोजगारीको लागि मातृभूमि छोड्न बाध्य भए पनि प्रवासी भूमिमा यसरी नेपालीहरुले आफ्ना संस्कृति र परम्परालाई बचाई राखेको उदाहरण हुन यी। कोरियामा रहेका विभिन्न जातीय संघ सस्थाहरुले आफ्नो परम्परालाई बाचाई राख्ने उद्धेश्यले बेलावखत साथीसंगी, छिमेकी तथा जातीय समुदायको आयोजनामा यहाँ रहेका सवै क्षेत्रका नेपाली समुदायहरुलाई भेला गरी महत्वपूर्ण नेपाली पर्वहरु मनाउने गरेका छन्।

कोरियाको आइतवारे सार्वजनिक विदाको दिन आज तामाङहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरी सोनाम ल्होछार मनाएका छन् । मध्यान्ह देखिनैँ भेला भएका नेपाल कोरिया साँस्कृतिक मञ्च , आपतकालीन नेपाली सेवा समिति तथा अन्य स्थानीय नेपाली कलाकारहरुले मौलिक संस्कृति झल्किने पोशाकमा अतिथिहरुको स्वागत गर्दै गीत , नृत्य तथा हास्य ब्यग्य प्रस्तुत गरेर कार्यक्रमलाई उल्लासमय वनाएका थिए भने बिहानै देखि नेपाली चेलीहरुले मेहनतका साथ तयार पारेका नेपाली खानाका परिकारहरु वास्तवमै तारिफ योग्य थियो।

तामाङ्गहरुका लामा गुरुद्धारा मन्त्रोच्चारण र पूजा पाठ गरी सुरु गरिएको उक्त कार्यक्रमलाई प्रमुख अतिथि नेपाली सम्पर्क समितिका अध्यक्ष डेविड राई माइग्रेट सेन्टरका डाइरेक्टर किम छन् मुन एनआरएनका उपाध्यक्ष ध्यान राई तथा नेपाली समुदयलाई सहयोग पुर्र्याउदै आएकी छाबी चिवकी आमाले सयूक्तरुपमा दिप प्रज्वलन गरी कार्यक्रम उद्धघाटन गरेका थिए।

सोनाम ल्होछारको अवशरमा शुभकामना मन्तब्य दिदै तमुधीका अध्यक्ष रामकाजी गुरुङले हालैका दिनहरुमा कोरियामा मनाइने विभिन्न पर्वहरुमा नेपाली अभिभावकको हैसियतले नेपाली दूतावासलाई आमन्त्रण गर्दा पनि दूतावासले जातीय पर्वहरुलाई वेवास्ता गरेको भन्दै राज्यले ल्होछार पर्वलाई राष्ट्रिय पर्व घोषणा गरे पनि राज्यको तर्फबाट खटिएका प्रतिनिधीहरु निस्कृय रहेको भन्दै नेपाली दूतावासप्रति कडा आक्रोश ब्यक्त गरेका थिए। त्यसै गरी, मन्तब्य दिने क्रममा प्रमुख अतिथि डेविड राईले आफ्नो संस्कार र संस्कृतिलाई वचाई राख्न प्रवासमा मनाइने नेपाली पर्वहरुको महत्वको वारेमा प्रकाश पारेका थिए। एनआरएनका उपाध्यक्ष ध्यान राईले यसरी प्रवासमा नेपाली पर्वहरु मनाउदा आफ्नो संस्कार र संस्कृति पनि बचिरहने र प्रवासमा रहेका सवै जात जातीले एक अर्काको संस्कृति बुझ्न पाउने भएकाले यस्तो कार्यक्रमले एक अर्काप्रति सहिष्णुता कायम रहने विचार ब्यक्त गरेका थिए। कार्यक्रममा उपस्थित अन्य कोरियन पाहुनाहरुले पनि सोनाम ल्होछारको अवशरमा शुभकामना ब्यक्त गरेका थिए। तामाङ संघका कार्यवाहक अध्यक्ष गणेश तामाङको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रमलाई सचिव राम बाहादुर तामाङले संचालन गरेका थिए।

Recent Videos:

Popularity: 8%

Add comment January 31st, 2010

एमालेले सत्ताकब्जा गर्न खोज्यो-सुजाता

एचकेनेपाल डट कम संवाददाता-
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री सुजाता कोइरालाले शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउन र माओवादी लडाकुको व्यवस्थापन गर्न माओवादीलाई सँगै लैजानुपर्ने बताउनुभएको छ।

नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, राष्ट्रिय वाणिज्य बैङ्क बुटवलको चौथो क्षेत्रीय अधिवेशनको उद्घाटन गर्दै सङ्घीयताजस्ता विषयमा जनमतसङ्ग्रह गराउँदा आम नेपालीको भावनाको कदर हुने विश्वास व्यक्त गर्नुभयो।

उहाँले सरकारको नेतृत्व गरेको एमालेले सत्ताकब्जा गर्न खोजेको आरोप समेत लगाउनुभयो।

उपप्रधानमन्त्री कोइरालाले सरकारमा एमालेकरण भइरहेको र माओवादीलेजस्तै सत्ताकब्जा गर्न एमाले लालायित भएको बताउँदै एमाले तत्कालै नसच्चिए सरकारको विकल्पमा नेपाली काङ्ग्रेस जान बाध्य हुनुपर्ने बताउनुभयो।

मुलुकको वित्तीय तथा कर्मचारी संयन्त्रमा पनि एमालेकै हालीमुहाली भएको बताउँदै उहाँले पछिल्लोपटक कृषि विकास बैङ्कको कर्मचारी भर्ना र बढुवामा समेत अर्थमन्त्रीले ठाडो हस्तक्षेप गरेको आरोप लगाउनुभयो।

Popularity: 9%

Add comment January 31st, 2010

सल्यानका एफएम बन्द

एचकेनेपाल डट कम संवाददाता-
शुक्रबार दिउँसोदेखि सल्यान जिल्लाको विद्युत सेवा अबरुद्ध भएपछि जिल्लास्थित सबै एफएम बन्द भएका छन्।

विद्युत प्राधिकरण सल्यानका अनुसार त्रिवेणी गाविसमा रहेको टुनीबोटमा बाटो बनाउँदै गर्दा सडक खन्ने मेसिन स्काभेटरले विद्युतका दुईवटा पोल ढालेपछि सल्यान जिल्लाको पूरै विद्युत सेवा अबरुद्ध भएको हो।

विद्युत अबरुद्ध भएपछि जिल्लामा रहेका रेडियो राप्ती, रेडियो सल्यान र रेडियो शारदाले शुक्रबार साँझदेखि नै प्रसारण बन्द गरेका छन्।

Popularity: 9%

Add comment January 31st, 2010

सीमा निरीक्षण पछि एसएसबीको ज्यादती

एचकेनेपाल डट कम संवाददाता-
इलामको पशुपतिनगरस्थित नेपाल–भारत सीमा क्षेत्रका नेपालीमाथि भारतीय सीमा सुरक्षाबल (एसएसबी) ले दुःख दिन थालेको छ।सीमा क्षेत्रमा दुई हप्ताअघि एकीकृत नेकपा (माओवादी)ले भारतीय ज्यादतीबिरुद्ध नाराबाजी गरेपछि नेपाली बस्तीमा छिरेर एसएसबीले दुःख दिन थालेको हो।

पशुपतिनगर–४ का रुवीन शेर्पा भारतबिरोधी नारा लगाएको भन्दै दिनहुँ आएर एसएसबीले नेपालीलाई धम्क्याउन थालेको बताउनुहुन्छ।

माओवादीले पुस २७ गते सीमा क्षेत्रमा आमसभा गर्ने क्रममा भारतबिरुद्ध नाराबाजी र अतिक्रमित क्षेत्रको निरीक्षण गरेको थियो।

त्यसपछि एसएसबीले सीमाका नेपालीलाई माओवादी ल्याएर भारतबिरुद्ध बोल्न लगाएको आरोप लगाउँदै धम्क्याउने गरेको उहाँ बताउनुहुन्छ।

आमसभा गर्ने एउटा दुःख पाउने अर्कै, उहाँले गुनासो गर्नुभयो, ‘यसलाई अब नमिलाउने हो भने हामीलाई मर्नु न बाँच्नु पार्छ।’

नाकाबाट हुने दैनिक आयात–निर्यातमा समेत एसएसबीले कडाई गर्न थालेको स्थानीयबासी बताउँछन्।

नेपालबाट भारत निकासीका लागि भन्सारबाट अनुमति लिएपनि एसएसबीले बाटोमै रोकेर खोस्ने प्रयास गरेको र रकम असुल्ने गरेको स्थानीयबासीको गुनासो छ।

भारतीय पक्षले सीमा अतिक्रमण गरेर नेपालीलाई सताए पनि केन्द्रीय तहबाट समस्या समाधानका लागि ठोस पहल नहुँदा सीमा क्षेत्रका नेपालीले दुःख पाउने गरेका हुन्।

इलाममा मात्रै एसएसबीले २० रोपनी भन्दा बढी जमिन अतिक्रमण गरेको सीमा निरीक्षण टोलीले ठहर गरेको छ।

भारतीय पक्षबाट पूर्वी इलाम, पाँचथर, झापा र ताप्लेजुङ्गका विभिन्न सीमावर्ती स्थानहरु अतिक्रमणको चपेटामा पर्दै आएका छन्।

Popularity: 9%

2 comments January 31st, 2010

बाहुनहरु राज्यपुनर्संरचनाको विरोधमा

एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रिय ब्राह्मण समाज नेपालले राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले नेपाललाई जातीय आधारमा बाँडफाँड गरेकोमा विभिन्न जातजातिबीच शताव्दिऔँदेखि रहँदै आएको सद्भाव र एकतामा खलल पुर्‍याउने बताएको छ।

समाजले पत्रकार सम्मेलनमा यसबाट जातजातिको भलाई नहुने र दलित, जनजाति, ब्राह्मण, क्षेत्रीलगायतका कुनै समुदायको पनि उत्थान हुन नसक्ने ठहर गरेको छ।

समाजले नयाँ संविधानमा जातीय आधारमा राज्यको विभाजन गरिएमा अमान्य हुने र समाजले देशव्यापी विरोध गर्ने जनाएको छ।

समाजका केन्द्रीय अध्यक्ष नारायणप्रसाद अधिकारीले समितिले पेस गरेको मस्यौदा जलाउने र विरोध प्रदर्शन गर्ने जानकारी दिनुभयो।

राष्ट्रिय ब्राह्मण समाज हाल ४० जिल्लामा गठन भइसकेको र माघ महिनाभित्र ५५ जिल्लामा शाखा विस्तार गर्ने तयारीमा रहेको छ।

Popularity: 9%

3 comments January 31st, 2010

संविधान नबने संविधानसभा विघटन हुने– उपाध्यक्ष गौतम

एचकेनेपाल डट कम संवाददाता-
नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले अहिलेको प्रमुख आवश्यकता नै शान्ति र नयाँ संविधान निर्माण गर्नु भएको बताउँदै अबको चार महिनामा संविधान निर्माण हुन नसके संविधानसभा विघटन हुने र मुलुक ठूलो दुर्घटनामा फस्ने बताउनुभएको छ।

बुटवल–९, दीपनगरमा निर्माण गर्न लागेको जीवराज आश्रित स्मृति प्रतिष्ठानको भवन शिलान्यास समारोहमा बोल्दै उपाध्यक्ष गौतमले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत बनाएर लैजाने विषयमा पार्टीभित्र फरक मत राख्दा आफूलाई माओवादी भएको आरोप लागेको गुनासो गर्नुभयो।

उहाँले माओवादीका नेताहरूसँग भेटघाट र एउटै मञ्चमा बोल्दैमा र छलफल गर्दैमा माओवादी नभइने समेत जिकिर गर्नुभयो।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले देशी विदेशी प्रतिक्रियावादी शक्तिबाट एमालेलाई उग्रवामपन्थी र यथास्थितिवादतर्फ धकेल्ने प्रयत्न भइरहेको बताउनुभयो।

Popularity: 8%

Add comment January 31st, 2010

न्याय माग्दा बलात्कृत

एचकेनेपाल डट कम संवाददाता-
आफ्नै देवरानीसँगको घरायसी झगडाका कारण न्याय माग्न हिँडेकी रामकुमारी लोनियाले न्याय पाउन त परै जाओस् उल्टै आफ्नो सतित्व नै गुमाउनु पर्‍यो र अहिले सोही कारणले उनी सामाजबाट बहिष्कृत हुँदैछिन्।

लालबोझी गाविस वडा नं. ३ की लोनिया आफ्नै देवरानी पचैया लोनियासँगको घरायसी विवादका कारण न्याय माग्न गत पुस २५ गते एकीकृत नेकपा (माओवादी)का गाविस जनपरिषद् अध्यक्षसमेत रहेका विप्लव कहाँ पुगेकी थिइन्।

सबैले माओवादीलाई भनेमा न्याय पाइन्छ भनेकाले आफू विप्लवकहाँ गएको उनी बताउँछिन्।

सबै कुरा बताएपछि माओवादी नेताले अहिले माघी चलिरहेकाले दुई–तीन दिनपछि आउनु भन्ने जवाफ दिएका थिए। तर उनीसँगै रहेका वाइसिएल कार्यकर्ता उस्मान खाँले आजै न्याय दिलाइदिन्छु भन्दै स्थानीय जङ्गलमा लगेर बलात्कार गरेको लोनिया बताउँछिन्।

‘आफूले तिमी छोरा उमेरको मान्छे हौ यस्तो कुकृत्य किन गर्छौ भन्दाभन्दै राक्षसले मेरो सतित्व लुट्यो मैले आफ्नो धर्म बचाउन सकिन’ भक्कानिँदै लोनिया भन्छिन्।

घटनाबारे लोनियाले इलाका प्रहरी कार्यालय, भजनीमा उजुरी त दिइन् तर प्रहरी निरीक्षक हेमबहादुर शाही भने आफूले तीन–चारपटक उक्त घरमा छापा मार्न लगाए पनि कोही फेला पर्न नसकेको भन्दै दोषीलाई राजनीतिक संरक्षण भएको बताउँछन्।

पाँच सन्तान र दुई नातिनातिनीकी हजुरआमा रहेकी अन्दाजी ४५ वर्षीया लोनियाका श्रीमान् पाँच महिनादेखि भारतको महाराष्ट्रमा नोकरी गर्न गएका छन् भने छोराहरु पनि परिवारसहित उतै बस्छन्।

तर पीडितका छिमेकी मगुल लोनिया र काशिराम यादवका अनुसार मुसलमानबाट बलात्कृत भएकीले पीडितको हातको पानी नखाने र उसको मुख पनि हेर्न हुँदैन भनी पीडितका गोतियार (बिरादरी) ले सल्लाह गरी सामाजिक बहिष्कार गर्ने तयारी गरिहेका छन्।

घटना भएको लामो समयसम्म पनि महिला अधिकारकर्मी तथा मानवअधिकारवादीले कुनै सहयोग नगरेको पीडितको गुनासो छ।

Popularity: 8%

4 comments January 31st, 2010

नेपाल—भारत सम्बन्ध सुधार्ने प्रयास

एचकेनेपाल डट कम संवाददाता-
केही दिनअघि नेपाल—भारत सीमा क्षेत्रमा बढेको तनाब समाप्त गरी आपसी सद्भाव र भाइचाराको सन्देश प्रवाहित गर्ने उद्देश्यले ज बाँके जिल्लाको नेपाल—भारत सीमा क्षेत्र जमुनहामा संयुक्त रुपमा सद्भाव कार्यक्रमको आयोजना गरियो।

सीमावर्ती भारतीय नागरिक समाज र पीस फर नेपालको संयुक्त आयोजनामा भएको सो सद्भाव कार्यक्रममा दुबै देशका नागरिक समाजका अगुवा, पत्रकार, व्यापारी, शिक्षक र सर्वसाधारणले दुबै देशको राष्ट्रिय झण्डा फहराउदै आपसी सद्भावको सन्देश प्रवाहित गरेका थिए।

त्यस अवसरमा महात्मा गान्धी र नेपालका सहिदहरूप्रति एक मिनेट मौनधारण गरी सामूहिक श्रद्धाञ्जलि व्यक्त गर्नुका साथै गुलाबका फूल साटासाट गरिएको थियो।

कार्यक्रममा नेपाल जिन्दावाद, भारत जिन्दावाद, नेपाल—भारत मित्रता अमर रहोस्जस्ता आपसी सद्भावका नारासमेत लगाइएको थियो।

कार्यक्रममा नेपालको तर्फबाट पीस फर नेपालका अध्यक्ष डा. सुशील कोइराला, पत्रकार पूर्णलाल चुके, निरज गौतम, झलक गैरे, नागरिक समाजका अगुवा हरदेवबक्स चौधरी, भारतका तर्फबाट डा. फजल अब्बास रिजवी, प्राचार्य बिके सिंह, प्रधान जुबेर अहमद फारुकी, पत्रकार मनिराम शर्मा, राजेश सिंहले सदियौं पुरानो नेपाल—भारत सम्बन्धमा खलल पुर्‍याउने जुनसुकै तत्वलाई परास्त गरी छाड्ने अठोट व्यक्त गर्नुभयो।

Popularity: 8%

Add comment January 31st, 2010

दुई चेली दूतावासको शरणमा

दीपक पौडेल, दोहा/एचकेनेपाल डट कम -
महिलालाई खाडीका देशहरुमा घरेलु कामदारका रुपमा पठाउन सरकारले गरेको निषेधका बाबजुत पनि यता आएर अलपत्र पर्नेहरूको संख्या उल्लेख्य छ।

चोरवाटोबाट वा दलाललाई मोटो रकम खुवाएर भएपनि नेपाली चेलीवेटीहरुलाई खाडी राष्ट्रहरुमा घरेलु कामदारको रुपमा पठाउने कार्य रोकिएको छैन। बैदेशिक रोजगारीका क्रममा नेपाली महिला कामदारहरुले श्रम शोषणका साथै मानसिक तथा शारिरीक यातना पाउँदै आएका प्रशस्तै उदाहरणका वावजुत पीडकमाथि कारवाहीका लागि सरकारी उदासिनता यथावत रहनुबाट खाडी राष्ट्रहरुमा महिला घरेलु कामदार पठाउनेहरूलाई पश्रय मिलेको देखिन्छ।

पोखरा चिप्लेढुंगाकी २७ वर्षीया सीता वि.क सरकारी निषेधका बाबजुत घरेलु कामदारकारुपमा दोहा आएको डेढ बर्षपछि दूतावासको शरणमा आएकी छिन्। सम्वन्धित घरको मालिकले दिएको यातना सहन नसकेर उनी दुतावासको शरणमा आएकी हुन्। घरको सम्पूर्ण् काम गर्नुपर्ने, वच्चा रोएपनि राम्रो सँग हेरविचार नगरको भन्दै कुटपिट गर्ने, घर मालिक्नीले मालिकलाई अनावश्यक कुरा लगाएर उक्साउने र अन्ततः घर मालिकले यातना दिने गरेको उनको बेदना छ। ‘नेपालमा मेरो बच्चा विरामी छ’ भन्दा पनि घर जान नदिएको र बल्ल बल्ल धेरै दिनको आग्रहपछि आफ्नै तबलवाट कटौती गर्नेगरी १ हजार ६ सय कतारी रियालको आवत जावतको लागि टिकट ल्याइदिएको तर ‘अझै एक साता जान पाउँदिनस् भनेर टिकट रद्द गरी मुलुक र्फकन नदिएको उनको उजुरी छ।

एक महिनाको तबल लिन वाँकी रहेको उल्लेख गर्दै विकले पासर्पोट र टिकटलगायत आफ्ना सामानहरु सवै घरमा छोडेर झापाका उमेश वि.क.को सहयोगमा नेपाली दूतावास आएको जनाइन्। उनले भारतको मुर्म्वईवाट एक एजेन्टले पठाएर दोहा आएको बताइन् तर एजेन्टकावारेमा आफूसंग कुनै पनि जानकारी नभएको र चिनाजान पनि नभएको उल्लेख गरिन्। एजेन्टलाई ४० हजार रुपैयाँ तिरेर कतार आएको उनले बताएकी छन्।

त्यसैगरी, झापा सुरुङ्गाकी आशा राई पनि घरेलु कामदारको रुपमा कतार आएपछि दूतावासको शरणमा आउन बाध्य भएकी छन्। घरेलु कामदारको रुपमा कतार आउँदा काठमाण्डौस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलवाट नै आएको उनले बताएकी छिन्। नेपाल सरकारले घरेलु कामदारको रुपमा खाडीमा जान महिलालाई रोक लगाएपनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलवाट नै खाडीतर्फ उडान गराउन दलालहरू सफल हुनुमा सरकारी पक्षको लापरवाही देखिएको छ। दोहावाट घरेलु काम गरेर फर्केकी सविता कार्की भन्ने एक एजेन्टले टिकट र भिसा दोहावाट नै मिलाएर आफूलाई पठाएको आशाले बताइन्। ‘घरको काम धेरै गाह्रो भयो । परिवारका सवै काम एक्लैले कसरी गर्न सकिन्छ -’ उनको गुनासो छ । दोहा आएको दुइ महिनामा नै भागेकी आशाले एक महिनाको तलबको पनि आशा मारेर दूतावास आएकी हुन्। अज्ञानताबस घरेलु काममा आएका पीडित चेलीको उद्दारका लागि नेपाली दूतावासले पहल गरेको छ।

त्यसैगरी झापा सुरुङ्गाकै २४ वर्षीया रामकुमारी राईलाई भने भागेको भोलिपल्ट नै स्पोन्सरले टिकट र ख्ुज उपलब्ध गराएका छन्। पीडित चेली रामकुमारी राई २४ जनवरीमा भागेर नेपाली दूतावासको शरणमा आएकी थिइन। उनले नेपाली दूतावासमा दिएको निवेदनको आधारमा स्पोन्सरलाई सर्म्पक गरेपछि स्पोन्सरले नै सवै कुरा मिलाएको जानकारी नेपाली दूतावासले दिएको छ । पीडित चेलीले दिएको निवेदनमा उनलाई घरमालिकले बढी काम लगाउने र गाली बेइज्जती गर्ने गरेका थिए । १६ हजार खर्च गरेर आएकी राम कुमारी राई दुइ महिना मात्र दोहा बसेर २५ जनवरीमा नेपाल फर्की सकेकी छिन्।

Popularity: 8%

1 comment January 31st, 2010

दोश्रो वुमन बाइकर्स च्याम्पियनसिप र्र्यालीको तयारी पूरा

एचकेनेपाल डट कम संवाददाता-
नेपाल अटोमोबाईल स्पोर्टस एसोसिएसन (नासा) काठमाडौं जिल्ला कमिटी र नासा -वुमन बाइकर्स ग्रुपको संयुक्त आयोजनामा आगामी २३ माघ अर्थात ६ फेब्रुअरी २०१० शनिबारका दिन सम्पन्न गरिने दोश्रो वुमन वाइकर्स च्याम्पियनसिप र्र्यालीको तयारी पूरा भएको छ।

आयोजक संस्था नासा काठमाडौंका सचिव दामोदर नेपालले दिनु भएको जानकारी अनुसार नेपालमा मोटरिङ, टुरिङ, बाइकिङ तथा साइकिलिङ, प्याराग्लाइडिङ तथा र्र्याफ्टीङलगायतका क्षेत्रबाट साहसिक खेल प्रबर्द्धन गर्न सकिन्छ र यिनै खेलका माध्यमबाट नेपाललाई विश्वमा चिनाउंदै नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउन सकिन्छ भन्ने उद्देश्यका साथ स्थापना भएको खेल संघ नेपाल अटोमोबाईल स्पोर्टस एसोसिएसन (नासा) हो । यो संघ नेपालमा व्यवसाय प्रवर्द्धन र मनोरञ्जनको क्षेत्रमा मात्र परिचित मोटरिङलाई कम्प्लिट गेमको रुपमा विकास, विस्तार र व्यवस्थापन गरी नेपाललाई साहसिक तथा पर्यटकीय खेलको केन्द्र बनाउन क्रियाशिल रहेको छ। यसले बिभिन्न खालका साहसिक खेलहरु सञ्चालन गर्दै आइरहेको छ। यस अघि पनि नासाले पहिलो वुमन बाइकर्स च्याम्पियनशिप र्याली, काठमाडौं जिरी मोटरसाइकल र्याली, सिन्सियर सिटिजन्स कार र्र्याली जस्ता साहसिक कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेको छ।

साहसिक खेलको प्रवर्द्धनमा लागेको नासाले आगामी २३ माघ शनिबारका दिन दोस्रो वुमन बाइकर्स च्याम्पियनसिप र्र्याली आयोजना गरेको छ। उक्त र्याली ललितपुरको जावलाखेलबाट शुरु भई काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थान हुंदै अन्त्यमा गोकर्णस्थित नोर्लिङ रिसोर्टमा पुगेर टुंगिने बताइएको छ । सो र्र्यालीका प्रथम, द्वितीय र तृतीय हुने विजेताहरुले क्रमशः बीस हजार, दश हजार र पांच हजार रुपैयां नगद तथा अन्य विभिन्न पुरस्कार प्राप्त गर्ने छन्।

आयोजक नासा वुमन बाइकर्स ग्रुपकी अध्यक्ष रोज्लिन राणाले यस पटकको कार्यक्रममा सहभागी हुन चाहने वुमन बाइकर्सहरुको दैनिक थुप्रै फोनहरु आइरहेको र सहभागीताको फारामका बारेमा जानकारी मागिरहेको कारणले यस पटकको कार्यक्रममा सहभागीहरुको संख्या पहिलेको भन्दा दोब्बर हुन सक्ने बताउनु भएको छ।

स्मरण रहोस, राणा गत वर्ष सम्पन्न प्रथम वुमन बाइकर्स च्याम्पियनसिप र्र्यालीको प्रथम विजेता हुनु हुन्छ साथै जसरी मिस नेपालको ताज अर्को वर्षको मिस नेपाललाई हस्तान्तरण हुन्छ त्यसरी नै नासा वुमन बाइकर्स ग्रुपको अध्यक्ष सोही र्र्यालीको प्रथम विजेता नै हुने प्रावधान नासामा रहेको छ।

Popularity: 8%

Add comment January 30th, 2010

नेपाली युवा नेताहरुको निरुद्धेश्य कोरिया भ्रमण

नेपाली युवा नेताहरुको निरुद्देश्य कोरिया भ्रमण: लुटको धन फूपुको श्राद्व?
रघु त्रिपाठी, दक्षिण कोरिया/ एचकेनेपाल डट कम-
नेपालका सडक र क्याम्पसका प्रांगणमा बिभिन्न विद्यार्थी तथा युवा समूहहरुलाई आपसमा मारमुंग्री गर्न, ईटा प्रहार गर्न र सडकका बार र रेलिंग जस्ता सार्वजनिक सम्पत्तिहरु तोडफोड गर्न उक्साउने बिभिन्न शक्तिशाली राजनीतिक पार्टीहरुका जन वर्गिय संगठनहरुका हाइकमाण्डहरु अहिले सरकारी ढुकुटीको धन उडाउंदै कोरिया भ्रमणमा एउटा प्रतिनिधि मण्डल बनेर आएका छन्।

सुत्रका अनुसार छिमेकी मुलुक जनवादी गणतन्त्र चीनको साता व्यापी भ्रमण सकेपछि सो टोली कोरियाको युवा गतिविधिहरुको अध्ययन गर्न दुई दिने भ्रमणमा हिजो आइपुगेको हो। युवा तथा खेलकुद मन्त्रालयका सह-सचिव गोरखबहादुर सिंहको नेतृत्वमा उपसचिव अनन्तबहादुर सिलवाल, एनेकपा माओवादीको युवा संगठन वाईसीएल अध्यक्ष गणेशमान पुन, नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलकी सरिता प्रसाई, एमाले निकट प्रजातान्त्रिक राष्ट्रिय युवा संघका अजम्बर कांगवांग, मधेशी जनाधिकार युवा फोरमका युसुफ सफी तथा तराई मधेश लोक तान्त्रिक पार्टी युवा फ्रन्टका नेताद्वय उदय किशोर तिवारी र राजकुमार दास गरी आठ जनाको सो डेलिगेशनले कोरियाली युवाहरुको गतिविधि अध्ययन गरी स्वदेश पर्कने बताईएको छ।

प्रतिनिधी मण्डलका अगुवाईकर्ता गोरखबहादुर सिंहको भनाई अनुसार “हाम्रो टोलीले चीनको साता व्यापी भ्रमण पूरा गरिसकेको छ र कोरियाको युवा गतिविधि तथा विकास संभावनाहरुलाई अध्ययन गर्न हामी यहां आयौं तर शनिवार र आइतवार सरकारी विदा परेको हुनाले औपचारिक भेटघाटका कुनै कार्यक्रमहरु बन्न र बनाउन सकिया छैन। त्यसैले कोरियामा शनिवार र आइतवार दुई दिन बिदा परेकोले कुनै कार्यक्रम वन्न नसकेको भन्दै घुमफिर गरेर सोमवार बिहान स्वदेश फर्किने कार्यक्रम रहेको भएपनि भोलि आन्सानस्थित माइग्रेट सेन्टरमा नेपाल तामाङ संघको आयोजनामा मनाउन लागिएको जातिय चाड ल्होछार कार्यक्रममा निमन्त्रणा भएकोले नेपाली समुदाय संग भेट्घाटको लागी जाने सम्भावना रहेको बताए। यसो घुमफिर गरेर सोमबार प्रमण्डल स्वदेश फर्कंदैछ।

“परस्परमा प्रतिद्वन्दी विचारधाराका संबाहक र वकालत कर्ता यी अगुवाहरु जसरी कोरियाको पांचतारे होटलहरुमा मिलेर संगै बस्न सकेका छन्, संगै चीन र कोरिया घुमेका छन् उसरी नै आफ्ना मातहतका कार्यकर्ताहरुलाई पनि सगोलमा मिलेर देश बिकास गर्नु पर्दछ भन्ने शिक्षादिक्षा कहिले देखि दिन थाल्ने हुन्? त्यो भने आशा गरौं भर नपरौं कै स्थितिमा रहेको भनि हाम्रा विश्लेशषकहरुले बताउंदछन्।

साथै जुन उद्धेश्यले उनीहरु कोरिया आएका थिए सो उद्धेश्य मुताविक काम नभएको अवस्था भनेको “लुटको धन फूपुको श्राद्ध्” नहोला भन्न सकिन्न। ८१ लाख भन्दा ज्यादा युवाहरु भएको हाम्रो मुलुक नेपालमा आज युवाहरुलाई राज्यले देश विकासमा कसरी उनीहरुको भूमिका स्थापित गर्ने भन्ने स्पष्ट निकास नदिएको कारणले सत्तरी प्रतिशत साक्षर युवाहरु मध्य आधा स्वदेशमा बेरोजगार छन्। नयां नेपाल बनाउन सामर्थ्य राख्ने १० लाख नेपाली युवाहरु अहिले विश्व श्रम बजारमा मेहनत गरिरहेका छन्। दैनिक सयौं युवाहरु विदेश पलायन हुने क्रम जारी रहेको स्थिति हो अहिले। यो प्रतिनिधिमण्डलले देशमा फर्केर विदेशबाट सिकेका कुराहरु युवाशक्तिलाई कसरी स्वदेशमै रोजगार तुल्याउने भन्ने बारेमा सरकारलाई स्पष्ट परामर्श दिन सकोस भनि कोरियामा मेहनत गरी देशमा रेमिट्यान्स भित्राउने युवाहरुको मनशाय प्रकट भएको पाइन्छ।

Popularity: 8%

Add comment January 30th, 2010

ब्राह्मण–क्षेत्री आन्दोलित

एचकेनेपाल डट कम संवाददाता-
ब्राह्मण–क्षेत्री संयुक्त सङ्घर्ष समितिले त्रिभुवन विश्वविद्यालयले प्राध्यापक नियुक्तिमा आरक्षण प्रणाली लागू गरी विश्वविद्यालयलाई राजनीति एवम् जातीय रङ्ग लिएर साख गिराउने प्रयास गरेको भन्दै आरक्षण प्रथा तुरुन्त खारेज गर्न माग गरेको छ।

समितिले पत्रकार सम्मेलन गरी प्राध्यापक नियुक्ति प्रक्रिया निष्पक्ष गरी उच्च क्षमतावान व्यक्तिलाई छनौट गर्न पनि माग गरेको छ।

समितिका संयोजक केशव सापकोटाले आफूहरुको मागप्रति बेवास्ता गरिए यसबाट पर्नजाने सम्पूर्ण क्षतिको जिम्मेवारी र जवाफदेही विश्वविद्यालय प्रशासन हुने चेतावनी दिनुभयो।

Popularity: 8%

Add comment January 30th, 2010

फोरम र थरुहटको सहमति अस्वाभाविक र अप्राकृतिक– गच्छदार

एचकेनेपाल डट कम संवाददाता-
उपप्रधानमन्त्री एवम् मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले मधेसी जनअधिकार फोरम नेपाल र थरुहट सङ्घर्ष समितिबीचको सहमतिलाई अस्वाभाविक र अप्राकृतिक सहकार्यको संज्ञा दिनुभएको छ।

उपप्रधानमन्त्री गच्छदारले मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) पर्साद्वारा आयोजित बृहत् जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उक्त धारणा राख्नुभएको हो।

उहाँले हिजोसम्म परस्पर बिरोधी मत राख्दै आएका मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र थरुहट सङ्घर्ष समितिका संयोजक लक्ष्मण थारु आज एकाएक एकै ठाउँमा उभिनु असम्भव गठबन्धन हो भन्नुभयो।

उपप्रधानमन्त्री गच्छदारले भन्नुभयो – यस्तो अपवित्र गठबन्धन गरेर जनतालाई झुक्याउन मात्र खोजिएको छ।

सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग विगतमा भएका आठ बुँदे सहमतिलाई कार्यान्वयन गर्नका लागि वर्तमान सरकार प्रयत्नशील रहेको र यसका लागि उच्चस्तरीय समिति समेत बनाएको उहाँले बताउनुभयो।

Popularity: 8%

Add comment January 30th, 2010

श्रीस्वस्थानी व्रतकथाको साङ्गे आज

एचकेनेपाल डट कम संवाददाता-
हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आज सम्पन्न भएको छ।

व्रत बस्ने प्रत्येक महिलाले महिनाभरि नुहाई मध्याह्न कालमा महादेवको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पुरा हुने विश्वास गरिन्छ।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनका लागि विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उनले लोककल्याणका निम्ति सो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीको उद्धार गर्नुभएकाले परम्परागतरूपमा यो कथा प्रचलित हुँदै आएको मानिन्छ।

आज व्रत समाप्तिका दिन श्रीस्वस्थानीको पूजा गरी चढाइने १०८ रोटी, १०८ पान, १०८ कुड्का सुपारीलगायतका सामग्रीमध्ये आठ–आठवटा रोटी, सुपारी र पानलगायतका सामग्री आफ्ना श्रीमान्लाई, श्रीमान् नभए छोरालाई, छोरा पनि नभए मीतछोरालाई दिने र मीतछोरा पनि नभए मेरो इच्छा पुरा होस् भनी गङ्गामा लगेर विसर्जन गरी बाँकी व्रतालु स्वयंले खाने प्रचलन छ।

श्रीस्वस्थानी वाचन अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएका स्थानमा पूजाआजा गरेमा पनि मोक्ष प्राप्त हुने धार्मिक विश्वासअनुरुप ती स्थानमा भक्तजनको घुइँचो लाग्ने गरेेको छ।

एकतीस अध्याय रहेको सो कथाको बाह्रौँ अध्यायमा श्रीस्वस्थानीको महिमाबारे वर्णन गरिएको र श्रद्धापूर्वक श्रीस्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दुःख तथा रोगव्याधि नाश हुने र मनले चिताएको पुग्ने कुरा पार्वती, गोमा र नवराजजस्ता पात्रका माध्यमबाट देखाइएको छ। कसैले पनि अभिमान र अवहेलना गर्न नहुनेजस्ता नैतिक शिक्षा पनि दक्षप्रजापति र चन्द्रावतीजस्ता पात्रका माध्यमबाट समाजलाई दिन खोजिएको छ।

व्रतकथामा सधैँ सत्यको जित र असत्यको हार हुन्छ भन्ने कुरा मधु–कैटभ, तारकासुर, जालन्धर र त्रिपुरासुरजस्ता दैत्यको पराजयबाट चित्रण गरिएकोे छ।

स्थानीय भक्तजनका अनुसार परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालीनदीमा विभिन्न जिल्लाबाट आएका भक्तजनले माघ महिनाका स्वामी नामले चिनिने माधवनारायणको जलप्रसाद ग्रहण गरी गत पौष शुक्ल पूर्णिमादेखि व्रत शुभारम्भ गरेका थिए।

सो मन्दिर पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनामात्र खोली पूजाआजा गर्ने प्रचलन छ।

स्कन्दपुराणको केदार खण्डमा सूर्य मकर राशिमा प्रवेश गरेपछि लाग्ने माघ मेलामा समयका प्रभावले पानी शुद्ध र स्वच्छ हुने उल्लेख गरिएकाले यस अवधिमा पनि सात्विक भोजनका साथ बिहान स्नान गरी श्रीस्वस्थानीको पूजापाठ गर्नाले ठूलो फल मिल्ने उल्लेख छ।

Popularity: 8%

Add comment January 30th, 2010

दुई पञ्च पार्टी एकीकरण हुँदै

एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)र राष्ट्रिय जनशक्ति पार्टी (राजपा) बीच आगामी हप्ता एकीकरण हुने भएको छ। पार्टी एकीकरणका लागि गठित कार्यसम्पादन समितिको संयुक्त बैठकले सो निर्णय गरेको हो।

बैठकले पार्टी एकता घोषणापत्र र कार्यविधिलाई समेत पारित गरेको जनशक्ति पार्टीका केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिनुभयो।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र प्रजातान्त्रिक शक्तिका बीच एकता र हातेमालो गर्दै अघि बढ्नेसमेत निर्णय बैठकले गरेको छ।

बैठकमा राप्रपाका तर्फबाट पार्टी अध्यक्ष पशुपतिशम्शेर जबरा, वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द, विश्वबन्धु थापा र राजेश्वर देवकोटालगायतका नेता हुनुहुन्थ्यो।

यसैगरी राजपाका तर्फबाट पार्टी अध्यक्ष सूर्यबहादुर थापा, सहअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, राज्यमन्त्री इन्द्रप्रसाद ढङ्गेललगायतका नेता रहनुभएको थियो।

Popularity: 8%

1 comment January 30th, 2010

संयन्त्रको बैठक हरेक बिहीबार बस्ने

एचकेनेपाल डट कम संवाददाता-
उच्चस्तरीय राजनीतिक संयन्त्रको हिजोको बैठकले देशका विभिन्न भागमा राजनीतिक पार्टीका बीच भएका हिंसात्मक झडपका घटनाका सम्बन्धमा तीन पार्टीसम्मिलित तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

एकीकृत नेकपा (माओवादी) का वसन्त माझी, नेपाली काङ्ग्रेसका होमनाथ दाहाल र नेकपा (एमाले)का विषमलाल अधिकारी रहेको सो समितिले घटनाका बारेमा आवश्यक छानबिन गरी सातदिनभित्र संयन्त्रमा प्रतिवेदन पेस गरेपछि सोही प्रतिवेदनका आधारमा आवश्यक निर्णय गरिने बताइएको छ।

संयन्त्रका संयोजक गिरिजाप्रसाद कोइरालाको महाराजगन्जस्थित निवासमा नेता कोइरालाको अध्यक्षतामा आज बसेको सो बैठकले संयन्त्रको बैठक हरेक साताको बिहिबार बिहान ९ बजे बस्ने निर्णय पनि गरेको छ।

वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्नेबारेमा बैठकमा छलफल भएपनि ठोस निर्णय भने हुन सकेन। उक्त विषयलाई एजेन्डा बनाएर बने यही माघ १८ गते सोमबार बिहान ९ः०० बजे बस्ने संयन्त्रको बैठकले त्यसबारे थप छलफल गर्ने एनेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताउनुभयो।

गठित समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको र त्यसका आधारमा आवश्यक कारबाही गर्न संयन्त्रले आवश्यक निर्णय लिने जानकारी दिँदै उहाँले एनेकपा (माओवादी) र नेकपा (एमाले)का कार्यकर्ताबीच सिन्धुलीको झाँगाझोलीमा भएको झडपलाई समेत मध्यनजर गर्दै उक्त समिति गठन गरिएको बताउनुभयो।

Popularity: 8%

Add comment January 30th, 2010

गैरआवासीय नागरिकलाई परिचयपत्र

एचकेनेपाल डट कम संवाददाता-
नेपाल सरकारको निर्णयअनुसार परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपालीलाई परिचयपत्र प्रदान गर्ने तयारी पूरा गरेको छ।

परराष्ट्र मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तीमा परिचयपत्रका लागि ईच्छुक गैरआवासीय नेपाली नागरिकलाई विदेशस्थित नेपालका सम्बन्धित कार्यालयमा सम्पर्क राख्नसक्ने व्यवस्था गरिएको उल्लेख छ।

यसका लागि परराष्ट्र मन्त्रालय वा विदेशस्थित नेपाली कार्यालयबाट दर्खास्त फाराम लिन सकिने वा मन्त्रालयको वेवसाइट ‘डब्लुडब्लुडब्लु डट एमओएफए डट जीओभी डट एनपी /एनआरएन’ बाट पनि हेर्नसकिनेछ।

Popularity: 8%

3 comments January 29th, 2010

उपराष्ट्रपति सक्रिय हुने भए

एचकेनेपाल डट कम संवाददाता-
व्यवस्थापिका–संसदको हिजोको बैठकमा ‘नेपालको अन्तरिम संविधान (सातौँ संशोधन) विधेयक, २०६६’ आवश्यक दुईतिहाईभन्दा बढी मतले पारित भयो।

मत विभाजन प्रक्रियाका आधारमा पारित सो विधेयकमाथिको प्रस्तावको पक्षमा ४९९ र विपक्षमा ४ मत परेको थियो। मत विभाजन प्रक्रियामा ५०३ जना सभासद्ले भाग लिनुभएको थियो।

यसअघि प्रस्ताव प्रस्तुतकर्ता कानुन तथा न्यायमन्त्री प्रेमबहादुर सिंहले संशोधन प्रस्तावमा उठेका प्रश्नहरूको जवाफ दिँदै उपराष्ट्रपति पद व्यक्ति मात्र नभएर सम्माननीय पनि भएकोले यस्तो पदको क्रियाशीलतालाई सुनिश्चित गर्न संविधानमा संशोधनको प्रस्ताव ल्याइएको स्पष्ट गर्नुभयो।

उहाँले सर्वोच्च अदालतको आदेशको सम्मान भइसकेको छ भन्दै सबैको चासोको रूपमा रहेको उपराष्ट्रपति पदको क्रियाशीलताका लागि ल्याइएको संशोधन प्रस्ताव पारित गर्न सबै सांसदलाई आग्रह गर्नुभयो।

सांसदहरू सरिता गिरी, आत्मारामप्रसाद साह, सुनिल प्रजापति, विश्वेन्द्र पासवान र डोलबहादुर कार्कीले सो प्रस्तावमाथि छुट्टाछुट्टै संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।

सांसदहरू गिरी, साह, पासवान र कार्कीले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिनुभएपनि फिर्ता लिन नमान्नुभएका प्रजापतिको संशोधन प्रस्ताव बैठकमा निर्णयार्थ प्रस्तुत हुँदा बहुमतले अस्वीकृत भएको थियो।

व्यवस्थापिका–संसदको बैठकमा प्रधानमन्त्री माधवकुमार नेपाल, प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल र नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, संसदीय दलका नेता रामचन्द्र पौडेललगायतको उल्लेख्य उपस्थिति थियो। नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइराला भने बैठकमा अनुपस्थित हुनुहुन्थ्यो।

Popularity: 8%

Add comment January 29th, 2010

दाइजो नपाएपछि जिउँदै जलाइयो

एचकेनेपाल डट कम संवाददाता-
रौतहटको सन्तपुर मटिऔन गाविस वडा न. ६ नयाँवस्ती टोलका रामबचन साहले आफ्नै १९ वर्षीया श्रीमती मञ्जुदेवीलाई दाइजो नल्याएको भन्दै हत्या गरेको प्रहरीले जनाएको छ।

मञ्जुका भाइ उपेन्द्र रौनियारले प्रहरी समक्ष उजुरी दिएपछि मट्टितेल शरीरमा छर्केर हत्या गरेको रहस्य खुलेको हो। हत्या गरिएकी मञ्जुलाई रातारात जलाएको अवस्थामा घरभन्दा केही परको जङ्गलमा प्रहरीले कङ्काल मात्र फेला पारेको थियो।

माइतीबाट दाइजो नल्याएकोले दुवैबीच पटकपटक झैझगडा हुँदै आएको माइतीपक्षले आरोप लगाएको छ। तर हत्याको अभियोग लागेका रामबचन हाल फरार रहेको प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले बताउनुभयो।

Popularity: 8%

3 comments January 29th, 2010

माओवादीले भारतीय झण्डा जलाए

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी)का कार्यकर्ताले झापाको धुलाबारी मोडमा भारतीय झण्डा जलाएका छन्।

माओवादी कार्यकर्ताले भारतबाट काँकडभिट्टा हुँदै पश्चिमतर्फ जाँदै गरेको डब्ल्यूबी ४७–९३८३ नम्बरको भारतीय मालबाहक ट्रकले भारतीय झण्डा फहराएको फेला पारेपछि मेची उद्योग वाणिज्य सङ्घ अगाडि रोकेर झण्डा कब्जा गरेका थिए।

झण्डा कब्जा गरेलगत्तै उनीहरुले चोकमा लगेर जलाएका थिए। नेपाली भूमिमा भारतीय झण्डा फहराएर हिंडेको विरोधमा झण्डा जलाइएको माओवादीसम्बद्ध संयुक्त राष्ट्रिय जनआन्दोलन झापा क्षेत्र नं १ का अध्यक्ष माधव अर्यालले बताउनुभयो।

झण्डा जलाएपछि धुलाबारी चोकमा आयोजित कोणसभामा अर्यालले नेपाली भूमिमा भारतीय झण्डा फहराउनुले नेपाली स्वाधीनता र राष्ट्रियताको अपमान भएको बताउनुभएको थियो।

माओवादी कार्यकर्ताले भारतीय झण्डा जलाए पनि ट्रकमा भने कुनै क्षति पु–याएका थिएनन्। माओवादीले ट्रक नियन्त्रणमा लिएलगत्तै त्यसका चालक भने फरार भएका छन्।

Popularity: 8%

2 comments January 29th, 2010

पहिलो गणतन्त्रवादी सहिदको बलिदान दिवस आज

एचकेनेपाल डट कम संवाददाता-
नेपालको पहिलो गणतन्त्रवादी सहिद दुर्गानन्द झाको बलिदान दिवस आज मनाइँदैछ।

नेपालमा गणतन्त्रको कल्पना गरेर वि.सं. २०१८ माघ ९ गते जनकपुरधाममा राजा महेन्द्रमाथि बम प्रहार गरेर पनि पक्राउ पर्न नसकेका २० वर्षिय झाले निरङ्कुशताको अन्त्यका लागि आफूलाई समर्पित गर्नुभएको थियो।

नेपालको इतिहासमै पहिलोपल्ट राजामाथि बम प्रहार गरेर उहाँ चर्चामा मात्र आउनु भएन, उहाँले तीन महिनापछि आफ्नो गिरफ्तारी स्वयम् दिएर एउटा नौलो इतिहास प्रस्तुत गर्नुभएको थियो।

जनकपुरधामदेखि १४ किलोमिटर दक्षिण धनुषा जिल्लाको जटही गाउँमा १९९९ साल वैशाख १४ गते जन्मनुभएका दुर्गानन्द झा आफ्ना बाजे पण्डित भोलानाथ झाका तीन छोरामध्ये जेठा देवनारायण झा र सुकुमारीदेवी झाको एकमात्र सुपुत्र हुनुहुन्थ्यो।

Popularity: 8%

Add comment January 29th, 2010

बंगलादेशमा ६ नेपाली खेलाडीहरू घाइते

एचकेनेपाल डट कम संवाददाता-
११औं दक्षिण एसीयाली खेलकुदमा सहभागी हुन बंगलादेश पुगेका ७ नेपालीहरू होटलको लिफ्ट चुडिदा घाइते भएका छन्।

घाइते हुनेहरूमा जुडोका देवु थापा, राधादेवी राई, कालुमान तामाङ, रमेश मगर तथा भारत्तोलनका ज्ञानबहादुर श्रेष्ठ र गोपालबहादुर श्रेष्ठ रहेका छन्। घटनामा जुडो खेलका पदाधिकारी ध्यान बस्नेतसमेत घाइते भएका छन्।

होटल इम्पेरियमको लिफ्ट चुडिंदा उनीहरू पाँचौ तलाबाट खसेको समाचार स्रोतले जनाएको छ। सामान्य घाइते भएका उनीहरू उपचारपछि अस्पतालबाट फर्किएका छन्।

Popularity: 8%

2 comments January 29th, 2010

जातिय अधिकार र पहिचानका लागि सकारात्मक सोंच..

हुम गुरुङ, पोखरा / एचकेनेपाल डट कम-
नेपाली कांग्रेसका नेता एबं पूर्व राज्यमन्त्री महादेब गुरुङले आफनो जातिय अधिकार र पहिचानका लागि सकारात्मक सोंचका साथ लाग्नुपर्ने बताउनु भएको छ।

कास्कीको ढिकुरपोखरी गाबिस वडा नं. ८ काउले गाऊं स्थायी घर भइ हाल पोखरालगायतका बिभिन्न स्थानमा रहेका टुर भाई खलकहरुको आयोजनामा आज पोखरामा भएको तो ल्होछार शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले अधिकार माग्दा अरुलाई अपमान गर्न नहुने बताउनु भयो। उहाँले सदियौदेखि रहेको सामाजिक सन्तुलनलाई खल्बलाउंदै बिभिन्न जात, जातिको धर्म संस्कृति र परम्परालाई समाप्त पार्न केही शक्ति लागिरहेको आरोप लगाउनुभयो।

टुर भाई खलकका चिबा कर्णबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा परिवारका बृद्धबृद्धाहरु भैखु तमु, रामप्रसाद तमु, धनराज तमु, सुन कांउरी तमु, लाल कांउरी तमु, सुनकुमारी तमुलाई सम्मान गरिएको थियो।

कार्यक्रममा हृयाल्जे तमु समाजका सल्लाहकार कुलबहादुर तमु ( कुलु ) पाउंदुर मुखिया खलकका कर्णबहादुर तमु, फिर्के तमु समाजका जुमकाजी तमु, क्या बिर्तासिङ्ग तमु, आशबहादुर तमु, कास्की कांग्रेसका जिल्ला सदस्य हरि लामिछानेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

Popularity: 8%

Add comment January 28th, 2010

क्यानाडामा साहित्यकार पराजुलीलाई अभिनन्दन

गोपीकृष्ण काफ्ले, ब्राम्टन/ एचकेनेपाल डट कम-
नेपाली भाषा तथा साहित्यका धरोधर बरिष्ठ साहित्यकार कृष्णप्रसाद पराजुलीलाई हालै क्यानडामा भब्य कार्यक्रमका बिच अभिनन्दन गरिएको छ।

टोरोन्टो साहित्य समाज र गैरआवासीय नेपाली संघद्वारा संयुक्त रुपमा आयोजित बसन्त श्रवण कार्यक्रमको सभापतित्व गैर आवासीय नेपाली संघका अध्यक्ष नवराज गुरुंगले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन गैरआवासीय नेपाली संघका सचिब गोपीकृष्ण काफ्लेले गर्नु भएको थियो। उपस्थित महानुभाबहरुलाई गैरआवासीय नेपाली संघका भाषा साहित्य तथा संस्कृतिका संयोजक मुक्ति गौतमले स्वागत गर्नु भएको थियो। टोरोन्टोस्थित प्रवासीका तर्फबाट साहित्यकार पराजुलीलाई सम्मानपत्र सहित अभिनन्दित गरिएको हो। क्यानडा प्रवासीका तर्फबाट गैर आवासीय नेपाली संघका अध्यक्ष नवराज गुरुंगले सम्मानपत्र अर्पण गर्नु भएको थियो। नेपाली भाषाको अनुसन्धान र लेखनमा उल्लेखनीय योगदान पुर्याए बापत उँहालाई सो अभिनन्दन गरिएको हो। नेपाली साहित्यका स्तम्भ ७५ वर्षीय पराजुलीका “राम्रो रचना: मिठो नेपाली” लगायत ४३ वटा मौलिक ३३ भन्दा बढी फुटकर साहित्य सामग्री संपादन गरी पाठक समक्ष पुगिसकेका छन्। सो अवसरमा अभिनन्दित व्यक्तित्व पराजुलीले नेपालमा प्रतिलिपि अधिकार सुरक्षित गर्न नसक्दा स्रष्टा अन्यायमा परेको दुखेसो पोख्नुभयो। तर राम्रो लेखेकोले नै तेसो भएको होला भनी चित्त बुझाउनु भयो। उक्त अबसरमा साहित्यकारको ब्यक्तित्वबारे गोबिन्दसिंह रावतले बोल्नु भएको थियो।

कार्यक्रममा स्रष्ट्राहरु मुक्ति गौतम, गोपीकृष्ण काफ्ले, राधिका खरेल, गोबिन्दसिंह रावत, तुलसी धरेल,किरण पन्त, राजकुमार राई,बिनु काफ्ले, मेधावी गौतम,प्रिया श्रेष्ठ, बिस्मिता पराजुलीले कविता बाचन गरेका थिए। यस्तै राजदूत भोजराज घिमिरेको गजल तथा अटवाबाट कृष्ण हरी गौतम, अमेरिका बाट नबीन अन्योल, अस्ट्रेलियाबाट निष्प्रभ सजी, आयरल्याण्डबाट सुमन घिमिरे, युएई अनुकूल प्रकाश, इजरायलबाट हरी मानन्धरका प्राप्त कविता गजल, हाइकु पनि बाचन गरिएको थियो। कार्यक्रममा ८२ बर्षीय उमानाथ गौतमले सरस्वतीको पूजा गरी कार्यक्रम सुरुवात गर्नु भएको थियो भने साना साना बाबु नानीहरुलाई अक्षरारम्भको पनि कार्यक्रम गरिएको थियो। कार्यक्रममा राधिका खरेलले मीठो गीत पनि गाउनु भएको थियो। उक्त कार्यक्रममा उपस्थित महानुभाब तथा पत्रकारहरुलाइ गैरआवासीय नेपाली संघका डा. तुलसी धरेलले धन्यवाद दिनु भएको थियो।

कार्यक्रममा एनसीएनसी अध्यक्ष किरण पन्त, नेवा गुठीका अध्यक्ष प्रकाशलाल प्रधान, जनजातिबाट राजकुमार राइ, मगर संघबाट गिरी बुड़ाथोकी, नेपाली कमुनिटी सर्भिसबाट संयोजक संजीव रिजालले पनि साहित्यकारलाई अभिनन्दन गर्नु भएको थियो। कार्यक्रमको अन्तमा सभापति नबराज गुरुंगले आफ्नो मंतब्य राख्नु हुँदै साहित्यकार पराजुलीको सम्मान गर्न पाएकोमा खुसी छौ भन्दै बसंता पंचमी जस्ता कार्यकम निरंतर गर्न सके नेपाली भाषा साहित्यको जग बालियों हुनेथियो भन्नु भयो। जलपान पश्चात कार्यक्रम समापन गरिएको थियो।

Popularity: 8%

Add comment January 28th, 2010

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

January 2010
M T W T F S S
« Dec   Feb »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....