Archive for January 22nd, 2010

२८ जना राजनैतिक स्रष्टालाई देवकोटा शताब्दी सम्मान

काठमाडौं, जनवरी २२-
राजनीतिज्ञ र स्रष्टा श्री खनुप्‍रूदे ‘रामबाबू’ले २००० सालपूर्व जन्मिएका राजनीतिमा सकृय साहित्यकारहरूलाई महाकवि देवकोटा शताब्दी सम्मान प्रदान गर्नुभयो।


महाकवि देवकोटा शताब्दी महोत्सवबाट आयोजित महाकवि देवकोटा शताब्दी सम्मानबाट सम्मानित हुने राजनीतिक स्रष्टाहरूमा सर्वश्री आनन्ददेव भट्‍ट, कमलराज रेग्मी, कमला न्यौपाने, गोविन्दप्रसाद लोहनी, जगदीशशमशेर राणा, दान खालिङ, नारायणमान विजुक्छे रोहित, नारायणप्रसाद शर्मा, पासाङ गोपर्मा, भद्रकुमारी घले, महेश्वर राय, मिठाइदेवी विश्वकर्मा, मोहनविक्रम सिंह, डा.मोदनाथ प्रश्रित, यज्ञप्रसाद आचार्य, राजेश्वर देवकोटा, रामचन्द्र भट्‍टराई, रामहरि जोशी, रामहरि शर्मा, लोकेन्द्रबहादुर चन्द, शक्ति लम्साल, शान्ता पोखरेल, शान्ता श्रेष्ठ, श्यामप्रसाद शर्मा, सूबसेन, क्षेत्रप्रताप अधिकारी, डा. हृषिकेश उपाध्याय र ज्ञान उदास हुनुहुन्छ।

महाकवि देवकोटा शताब्दी महोत्सवका सदस्य नरहरि आचार्यको सभापतित्वमा सञ्चालित सो समारोहमा महाकवि देवकोटाको राष्ट्रिय चिन्तन विषयक प्रवचन गोष्ठी पनि भएको थियो।

गोष्ठीमा लोकेन्द्रबहादुर चन्द, जगदीशशमशेर राणा, राजेश्वर देवकोटा, खनूपरुदे रामबाबू, गोपाल ठाकुर, गोविन्द भट्‍ट, भद्रकुमारी घले, डा. मोदनाथ प्रश्रित, यज्ञप्रसाद आचार्य, महोत्सवका सदस्यसचिव नरेन्द्रराज प्रसाई र त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईले महाकवि देवकोटाको राष्ट्रिय चिन्तन र शताब्दी महोत्सवका बारे प्रकाश पार्नुभएको थियो।

समारोहमा जगदीशशमशेर राणद्वारा लिखित महाकवि देवकोटाको वैचारिक पक्ष नामक कृति सार्वजनिक गरिएको थियो।

नरेन्द्रराज प्रसाई
सदस्यसचिव
महाकवि देवकोटा शताब्दी महोत्सव

Recent Videos:

Popularity: 7%

Add comment January 22nd, 2010

उपराष्ट्रपतिलाई पदबहाली गराउन सबै दल सहमत

एचकेनेपाल डट कम संवाददाता-
उपराष्ट्रपतिलाई क्रियाशील गराउन छ राजनीतिक दलको सहमतीअनुसार तीन प्रमुख राजनीतिक दल एकीकृत नेकपा (माओवादी), नेपाली काङ्ग्रेस र नेकपा एमालेले व्यवस्थापिका संसदमा साझा सङ्कल्प प्रस्ताव दर्ता गराएका छन्।

संसदमा दर्ता गरिएको उक्त साझा सङ्कल्प प्रस्तावमा उपराष्ट्रपतिजस्तो पद निस्कृय हुनु असहज स्थिति रहेको, संसद उक्त पदलाई क्रियाशील गराउन चाहन्छ र यस प्रयोजनका लागि राजनीतिक सहमतीको आधारमा यो साझा सङ्कल्प प्रस्ताव प्रस्तुत गरिएको छ, भनिएको छ।

प्रस्तावमा उक्त पदलाई क्रियाशील गराउन व्यवस्थ्ाापिका संसदबाट आवश्यकता अनुसार संविधान संशोधन गर्नुका साथै अन्य विधिसम्मत प्रकृयाहरू अगाडि बढाउन नेपाल सरकारलाई निर्देश गर्ने सङ्कल्प गर्दछ भनिएको छ।

उक्त प्रस्तावको प्रस्तावकमा एकीकृत नेकपा (माओवादी)का प्रमुख सचेतक पोष्टवहादुर बोगटी, नेपाली काङ्ग्रेसका प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरे र नेकपा एमालेका प्रमुख सचेतक भीमप्रसाद आचार्य हुनुहुन्छ।

उक्त प्रस्ताव प्रस्तुत गर्नुअघि बसेको छ राजनीतिक दलको बैठकले सो सङ्कल्प प्रस्ताव लाने र सोही दिन नेपाल सरकारबाट प्रस्ताविक नेपालको अन्तरिम संविधानको सातौं संशोधन विधेयक पारित गर्ने सहमती भएको नेपाली काङ्ग्रेसका प्रमुख सचेतक लक्ष्मणप्रसाद धिमिरेले बताउनुभयो।

उक्त छ राजनीतिक दलको बैठकमा एकीकृत नेकपा (माओवादी)का प्रमुख सचेतक बोगटी, नेपाली काङ्ग्रेसका प्रमुख सचेतक धिमिरे, नेकपा एमालेका प्रमुख सचेतक आचार्य, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)का प्रमुख सचेतक रामजनम चौधरी, तराई मधेश लोकतान्त्रिक पार्टीका सचेतक वृजेशकुमार गुप्ता र सदभावना पार्टीका सचेतक अनिल झाको उपस्थिति थियो ।

Recent Videos:

Popularity: 7%

1 comment January 22nd, 2010

फेरि संविधानसभाको चुनाव गर्न कमल थापाको माग

एचकेनेपाल डट कम संवाददाता-
नयाँ संविधान निर्माणका लागि संविधानसभाको म्याद थप्नुभन्दा पुनः संविधानसभाको चुनाव गरिनुपर्ने धारण राप्रपा नेपालका अध्यक्ष कमल थापाले राख्नुभएको छ।

तोकिएको समयमा संविधान निर्माण नभए राष्ट्र विखण्डनतिर उन्मुख हुने उहाँले बताउनुभयो।

हेटौँडामा सम्पन्न घरदैलो अभियानपछि आयोजित सभालाई सम्बोधन गर्दै उहाँले तोकिएकै समयमा नयाँ संविधान निर्माण नभए फेरि संविधानसभाको चुनाव हुनुपर्ने बताउनुभयो।

‘नयाँ संविधान निर्माण गर्ने समयावधि थप्नुको सट्टा बरू संविधानसभाको चुनाव फेरि गर्दा उपयुक्त हुन्छ’ अध्यक्ष थापाले भन्नुभयो।

तोकिएको समयमा संविधान नबने मुलुकमा गृहयुद्ध, विखण्डन र बाह्य हस्तक्षेप हुनसक्ने भएकोले तोकिएकै मितिमा नयाँ संविधान निर्माण गर्न दबाब दिने उद्देश्यले राप्रपाले घरदैलो अभियान थालेको हो।

मुलुकका ठूला तीन दल तोकिएकै समयमा संविधान निर्माण गर्नुभन्दा पनि सरकार गिराउने र बनाउने खेलमा लागेको आरोप लगाउँदै उहाँले आपसी खिचातानीमा लाग्नुभन्दा पनि नयाँ संविधान बेलैमा निर्माण गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

Popularity: 7%

Add comment January 22nd, 2010

अरुको नेतृत्वमा संविधान जारी हुन सक्दैन

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा माओवादीका केन्द्रीय उपाध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टीको नेतृत्वविना नयाँ संविधान निर्माण हुनै नसक्ने ठोकुवा गर्नुभएको छ।

एकीकृत नेकपा (माओवादी)को चौथो चरणको राष्ट्रिय जनजागरण तथा भण्डाफोर अभियानअन्तर्गत बिहीबार म्याग्दीको बेनीमा आयोजित केन्द्रीय जनसभालाई सम्बोधन गर्दै उपाध्यक्ष डा. भट्टराईले वर्तमान सरकारसँग नयाँ संविधान जारी गर्ने हैसियत र नैतिकता नभएको बताउनुभयो।

‘एकीकृत नेकपा माओवादीको नेतृत्वमा संयुक्त राष्ट्रिय सरकार बन्यो भने मात्र नयाँ संविधान जारी हुनुका साथै शान्तिप्रक्रिया टुङ्गोमा पुग्छ’ मगराँत र तमुवान राज्यसमितिले संयुक्त रूपमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘विदेशीद्वारा सञ्चालित वर्तमान कठपुतली सरकारले नयाँ संविधान निर्माण गरेर देशमा स्थायी शान्ति कायम गर्ने कुनै आधार छैन्।’

बाघ र बाख्रोलाई एउटै कुवामा पानी खुवाउन सक्नुनै हाम्रो सफलता हो भन्दै निर्धारित समयमै सबैलाई मिलाएर नयाँ जनसंविधान निर्माण जारी गर्ने क्षमता माओवादीमा मात्र भएको उहाँले दाबी गर्नुभयो।

सरकारले आफै निर्णय गर्न नसक्नु, मन्त्रीहरूले निराधार, भ्रामक र उत्तेजित अभिव्यक्ती दिनु तथा रक्षामन्त्रीले आफ्नै प्रधानमन्त्रीले गरेको निर्णयको बिरोध गर्नुले सरकार शान्तिप्रक्रिया भङ्ग गर्न उद्दत रहेको पुष्टि गर्दछ ( उपाध्यक्ष डा. भट्टराईले भन्नुभयो।

‘बृहत शान्ति सम्झौता र अन्तरिम संविधानअनुसार जनसेना र नेपाली सेना समायोजना नभएसम्म शान्ति स्थापना हुन सक्दैन’ डा. भट्टराईले बताउनुभयो। भारतलाई उत्तेजित पार्न नभएर नेपालको वास्तविक समस्या समाधान गर्न राष्ट्रिय स्वाधीनताको मुद्दा उठाएको उहाँको भनाई छ। सरकार मात्र परिवर्तन गरेर जनताका समस्याहरू समाधान नहुने पनि उहाँले बताउनुभयो।

Popularity: 7%

3 comments January 22nd, 2010

अन्तरधार्मिक मन्त्रालयको माग

एचकेनेपाल डट कम संवाददाता-
विभिन्न धार्मिक अगुवाहरूले धार्मिक सद्भाव र मेलमिलाप कायम गर्न अन्तरधार्मिक मन्त्रालय गठन हुनुपर्ने माग गर्नुभएको छ।

अन्तरधार्मिक परिषद् नेपालले आयोजना गरेको संविधान निर्माणमा धार्मिक क्षेत्रको भूमिका विषयक विचारगोष्ठीमा धार्मिक वक्ताहरूले धार्मिक क्षेत्रलाई सबैको सद्भावको रूपमा विकास गर्नुपर्नेमा समेत जोड दिनुभयो।

कार्यक्रममा विश्वहिन्दु महासंघका अध्यक्ष दामोदर गौतमले सबै धर्मबीच आपसी सद्भाव कायम गर्न अन्तरधार्मिक मन्त्रालय गठनहुनुपर्छ भन्दै सबै धर्मग्रन्थको विचार एउटै भएकोले दिगो शान्ति, समाज र राष्ट्रको विकासमा सक्रिय हुनुपर्नेमा जोड दिनुभयो।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य डा. केबी रोकायाले धार्मिक समुदायले पनि समाज परिवर्तनका लागि आफूलाई क्रियाशील गराइनुपर्र्नेमा जोड दिनुभयो।

परिषद्का उपाध्यक्ष भीक्षु चन्द्रकीर्तिले नयाँ संविधान निर्माणका क्रममा सम्पूर्ण धार्मिक समुदायको भावना समेट्न धार्मिक आयोग बन्नुपर्ने बताउनुभयो।

कार्यक्रममा सहभागी विभिन्न धार्मिक समुदायका प्रतिनिधिले नयाँ बन्ने संविधानमा सबै धर्मको भावना समेट्ने गरी धार्मिक स्वतन्त्रताको प्रत्याभूति गरिनुपर्नेमा जोड दिनुभयो।

Popularity: 7%

Add comment January 22nd, 2010

चीनबाट गाई भित्र्याइने

एचकेनेपाल डट कम संवाददाता-
अब नेपालमा दूधका लागि चीनका गाई भित्र्याइने भएको छ। चितवन मिल्क प्रा.लिका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले भर्खरै चितवनमा स्थापित नेपालकै सबैभन्दा ठूलो डेरी उद्योग सञ्चालनको लागि चीनबाट ५० वटा उन्नत जातका गाई भित्र्याउन लागेको बताउनुभयो।

उक्त उद्योग सञ्चालनका लागि रु. ५८ करोडको स्वदेशी लगानी गरिएको जानकारी दिनुभयो।

यस व्यवसायबाट अब उपभोक्तले गुणस्तरका दूध खान पाउने उल्लेख गर्दै पाँचै विकास क्षेत्रमा दूध सङ्कलन गर्ने योजना रहेको बताउनुभयो।

नेपाल चेम्बर अफ कमर्शका सचिव राजेन्द्र अर्यालले कृषिजन्य उत्पादनलाई प्रथमिकता दिन सके युवाहरूले रोजगार पाउनुका साथै विदेश पलायन हुन नपर्ने बताउनुभयो।

Popularity: 7%

Add comment January 22nd, 2010

आफ्नै स्वास्नीलाई जलाएर मारियो

एचकेनेपाल डट कम संवाददाता-
एक महिनाअघि डिजेल छर्केर श्रीमान्द्वारा जलाइएकी भीमदत्त नगरपालिका१८ गोवरियाका १८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

उपचारका लागि बाँकेको भेरी अञ्चल अस्पताल पुर्‍याइएकी भागिरथी लुहारको मृत्यु भएको हो।

श्रीमान् करनले मदिरासेवन गरी भागिरथीको शरीरमा आगो लगाएका थिए, उनको हात र खुट्टाका औँलाबाहेक पुरै शरीर जलेको थियो।

महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि यहाँका महिला अधिकारकर्मीको सहयोगमा चन्दा सङ्कलन गरी भेरी अञ्चल अस्पताल भर्ना गरिएको थियो।

डिजेल छर्कने श्रीमान् करनलाई प्रहरीले यसअघि नै हिरासतमा लिइसकेको छ।

Popularity: 7%

1 comment January 22nd, 2010

चौथो डिभिजनबाट ३६१ अयोग्य लडाकुको बिदाई

एचकेनेपाल डट कम संवाददाता-
माओवादी जनमुक्ति सेना चौथो डिभिजनका अयोग्य लडाकुको आज एक समारोहबीच बिदाई गरिएको छ।

माओवादी लडाकुको बिदाई समारोहमा संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि रोबर्ट पाइपरले सैन्य पोसाक छाडेका लडाकुलाई सबै प्रकारको सहयोग गरिने बताउनुभयो।
माओवादी जनमुक्ति सेनाका डेपुटी कमान्डर चन्द्रप्रकाश खनालले उच्चस्तरीय राजनीतिक संयन्त्रको सहमतिमा सेना समायोजन भए आफूहरूलाई मान्य हुने बताउनुभयो।

शान्ति तथा पुनःनिर्माण मन्त्रालयका उपसचिव निरन्जन उप्रेतीले सरकारले बाहिरिएका लडाकुको शिक्षा र व्यवसायका निम्ति प्याकेज कार्यक्रम ल्याएको जानकारी दिनुभयो।
बिदाइ समारोहमा आफूहरूलाई राष्ट्रिय सेनामा समाहित नगराएर बहिर्गमन गराएको भन्दै सरकारी प्रतिनिधि उप्रेती बोल्ने क्रममा बिदाईका लागि रहेका लडाकुले नाराबाजीसमेत गरेका थिए।

चौथो डिभिजनका छसय २२ अयोग्य लडाकुमध्ये तीनसय ६१ लडाकुलाई सो अवसरमा बिदाई गरिएको थियो।

दुईसय ६१ पुरुष र एकसय महिला बिदाई कार्यक्रममा सहभागी थिए। बिदाई कार्यक्रममा दुईसय ८४ जना अयोग्य लडाकु भने उपस्थित भएनन्।

बिदाई कार्यक्रममा आफ्ना आफन्त उनीहरूलाई लिन आएका थिए। बिदाई भएर घर फर्किएकाहरूले पार्टीको सम्पर्कमा रहेर काम गर्ने प्रतिक्रिया दिएका छन्।
श्रीमान् डिभिजनभित्रै छोडेर आफू बाहिरिनुपरेको माओवादी लडाकु आशाले बताइन्।

चौथो डिभिजनमा तीनहजार सातसय लडाकु रहेकामा छसय २२ जना संयुक्त राष्ट्रसङ्घको प्रमाणीकरणमा अयोग्य ठहरिएका थिए।

Popularity: 7%

Add comment January 22nd, 2010


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

January 2010
M T W T F S S
« Dec   Feb »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....