एचकेनेपाल डट कम संवाददाता-
चाबहिल चक्रपथ सडकमा दुर्घटनामा परी ज्यान गुमाउनेहरूको आत्माको मोक्षको कामना गर्नुका साथै सरोकारवालाहरूको आँखा अलिकति खुलोस् भनेर सडक मै हवनको आयोजना गरियो।
चाबहिल क्षेत्रमा यातायात दुर्घटनाका कारण धेरैले ज्यान गुमाएपछि उनीहरूको दिवङ्गत आत्माको चिरशान्तिका लागि गरिएको हवन कार्यक्रम धुम्बाराहीका बासिन्दाले आयोजना गरेका थिए। यस कार्यक्रमको अगुवाई ७२ वर्षीया विष्णुदेवी तिमिल्सिनाले गर्नुभएको थियो।
उहाँलाई धुम्बाराहीका १४४ बासिन्दाले साथ दिँदै सामूहिक हवन गरे।
ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्कअनुसार गएको छ महिनामा स्वयम्भू यातायातका बस ९७ पटक दुर्घटनाग्रस्त भयो। जसमा छजनाले अनाहकमा ज्यान गुमाए भने १२ गम्भीर घाइते र ४३ जना सामान्य घाइते भए।
यस्ता दुर्घटनालाई न्यूनीकरण गर्न न सरकारको ध्यान गएको छ, न सरोकारवाला सङ्घसस्थाकै। यसैको साङ्केतिक विरोधस्वरूप धुम्बाराहीवासीले सडकमै बसेर हवन कार्यक्रम गरे।
अत्यधिक दुर्घटना हुने चाबहिलको यो क्षेत्रलाई ट्राफिक प्रहरी महाशाखाले अहिले कालोसूचीमा राखेको छ। तर दुर्घटना नियन्त्रणका लागि भने कुनै ठोस काम भएको छैन।
हवन कार्यक्रमका एक सहभागी शम्भु आचार्य भन्नुहुन्छ– ‘सडक किनारमा पेटी निर्माण गर्न सरकारसँग आग्रहस्वरूप पनि यो हवन कार्यक्रम गरिएको हो।’
एचकेनेपाल डट कम संवाददाता-
सोलुखुम्बुको छेस्काम गाउँ विकास समितिको बुरतालमा गत मङ्सिर २० गतेदेखि नौलो पन्छी देखिन थालेको छ।
पहिले कहिल्यै नदेखिएका पन्छी देखिएपछि तालमा हेर्न जानेको भीड बढेको छ।
पन्छीको बाहिरी भाग कालो, ठाउँ–ठाउँमा सेतो प्वाँख र चुच्चो ठूलो, अन्दाजी आठ केजिसम्म तौल भएको छेस्काम–६ सुमखीमका कुलबहादुर छाप्दुलुले बताए।
तालको वरिपरि छिन–छिनमा देखापर्दैआएका ती पन्छी बुरताल वरिपरि चर्ने गरेको र तिर्खाएको बेला पानी खान तालमा आउने गरेका बुरतालनजिक अस्थायी बसोवास गर्दैआएका नरमान ङोपोचोले बताए।
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौँको लाजिम्पाटमा गत माघ २४ गते स्पेसटाइम नेटवर्कका प्रबन्धक जमिम शाहको अज्ञात व्यक्तिद्वारा हत्या भएको सम्बन्धमा जाँचबुझ गरेर सत्यतथ्य पत्ता लगाई रायसुझाव सहितको प्रतिवेदन पेस गर्न सरकारद्वारा गठित आयोगले जाँचबुझ प्रारम्भ गरेको छ।
सो घटनाको सम्बन्धमा आफूले देखेजाने, थाहा पाएको सत्य तथ्य जानकारी यथाशीघ्र जुनसुकै साधनद्वारा आयोगको राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा रहेको कार्यालयमा उपलब्ध गराई जाँचबुझको कार्यमा सहयोग गर्न आयोगले सबैसँग अनुरोध गरेको छ।
एचकेनेपाल डट कम संवाददाता-
पूर्वराजा ज्ञानेन्द्रकी हजुरआमा सरला मानन्धरको हिजो निधन भएको छ। सरला राजा त्रिभुवनकी भित्रिनी थिइन्।
लामो समयदेखि मधुमेह रोगबाट पीडित ९१ वर्षीया मानन्धरको उपचारका क्रममा मृत्यु भएको हो। उहाँ पूर्वराजा ज्ञानेन्द्रकी मुमा रत्नराज्य लक्ष्मीदेवीसँग रहँदै आउनुभएको थियो।
स्वर्गीय मानन्धरको हिजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।
एचकेनेपाल डट कम संवाददाता-
राप्ती नदीमा माछा मार्नका लागि गएका एकजनाको ज्यान गएको छ।
करेन्ट लगाएर राप्ती नदीमा माछा मार्ने क्रममा सिसहनियाँ–८ मझेरीयाका २२ वर्षीय विद्यासागर चौधरीको करेन्ट लागेर मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय लमहीले दिएको जानकारी अनुसार करेन्ट लागेर बेहोस भएका चौधरीको उपचारका लागि लमही ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो। देउखुरीमा करेन्ट लगाएर माछा मार्ने चलन छ।
एचकेनेपाल डट कम संवाददाता-
विश्वमा होचा तथा कम तौलका मानिसका रूपमा गिनिज बुकमा नाम उल्लेख गर्न बाग्लुङका खगेन्द्र थापामगर हिजो इटली गएका छन्।
गिनिज बुकमा उनको नाम राख्नका लागि सहयोग गर्न तयार रहेको इटलीको एक रेडियोकर्मी समूहको आमन्त्रणमा आफ्ना बुबा रूपबहादुर खगेन्द्र प्रतिष्ठानका अध्यक्ष मीनबहादुर रानामगरका साथ उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।
बाग्लुङ जिल्लाबाट २०६६ साल असारमा नागरिकताको प्रमाणपत्र लिएका १८ वर्षीय थापामगरको तौल हाल साढे चार किलोग्राम र उचाइ २० इन्चमात्र रहेको छ।
सुरेश शाह, बेलायत / एचकेनेपाल डट कम-
महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवाषिर्कीको अवसरमा नेपाली साहित्य विकास परिषद यु.के.को आयोजनामा सम्पन्न भएको प्रतियोगितात्मक कवि गोष्ठिको नतिजा सार्वजनिक गरिएको छ।
नेपाली साहित्य विकास परिषद यु.के.को सचिवालयका अनुसार विशेष गुरागाईं विस्थापित शिर्ष कवितामा प्रथम, अजिता सिंखडा नर्स शिर्ष कवितामा द्वितीय र प्रतिभा बोहरा अनुभवभित्र आमा कवितामा तृतीय घोषित भएका छन्। त्यसैगरी, सान्त्वनातर्फ सुशिला कार्की र मीरा आंगबोहांगको कविता क्रमशः नेता बन्ने रहर र वाध्यता शिर्ष कविताहरु छनौट भएका छन्।
पुरस्कारहरु साहित्य विकास परिषदको आगामी साधारण सभामा प्रदान गरिने भएको छ। कविताहरुको मूल्यांकनका लागि खगेन्द्र नेपाली र अ.ने.सा.स. बेलायत शाखाका उपाध्यक्ष्य एवं कवि गोपिकृष्ण प्रसाईंको एक समिति गठन गरिएको थियो। उक्त साहित्य प्रतियोगितामा १७ कवि कवयित्रीहरुले भाग लिएका थिए भने केही सहभागीहरुले प्रतियोगितामा संलग्न नगराई आफ्ना कविताहरु वाचन गरेका थिए।
यस किसिमका प्रतियोगिताहरु समय समयमा हुनसके डायस्फोरिक साहित्यको विकास एवं नयां प्रतिभाहरुको पहिचान प्रकाशमान गर्न सकिने विचार परिषदका संस्थापक एवं महासचिव सुरेशजंग शाहले बताउनुभयो। उक्त प्रतियोगिता महाकवि देवकोटाको शतवाषिर्कीको अवसरमा गत वर्ष नोभेम्भर १५ मा नेपाली साहित्य विकास परिषद र कोसेली सांस्कृतिक परिवारको संयुक्त आयोजनामा लण्डनमा सम्पन्न भएको थियो।
प्रदीप मेन्याङ्वो, हङकङ /एचकेनेपाल डट कम-
धरान हङकङ मञ्चको आइतबार सम्पन्न १० औं वार्षिक उत्सवको अवसरमा भाष शास्त्री डा. टंक न्यौपाने, धरानका संचारकर्मी तथा कथाकार प्रदीप मेन्याङ्वो सम्मानित भएका छन्। (more…)
कृष्ण थापा, इजरायल -
इजरायलको तेल अभिवमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायलले नेपालबाट इजरायल भ्रमणमा आउनु भएका कवि एवं साहित्यकार अनिल पौडेलको स्वागतार्थ शनिवार एक साहित्यिक कार्यक्रम तथा रात्रिभोजको आयोजना गर्यो।
अनेसास इजरायल, मेरो नेपाल द्वैमासिक पत्रिका प्रकाशन समितिलगायत इजरायलस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागी रहनु भएको सो कार्यक्रममा कवि एवं साहित्यकार अनिल पौडेल द्वारा आफैले निर्देशित नेपाली वृतचित्र “झमक’ को प्रदर्शनी गरिएको थियो। “झमक” एउटी यस्ती लेखिका जो शारीरिक रुपमा अशक्त शरीर भएर पनि निरन्तर नेपाली साहित्यमा कलम चलाउदै आइरहेकी प्रतिभावान नारी हस्ताक्षर झमककुमारी घिमिरेको जीवनीमा आधारित रहेको वृतचित्र हो। करीव आधा घण्टा लामो सो मार्मिक वृतचित्र हेरिसकेपछि एकछिन उपस्थित सबै भाव विह्वल हुनु भएको थियो।
गीतकार तथा अनेसास इजरायलका अध्यक्ष सुनिल संगमका केही लोकप्रिय गीत संगीतको प्रस्तुतिबाट आरम्भ गरिएको सो कार्यक्रममा अनेसास इजरायल च्याप्टरका महासचिव कृष्ण थापाले धेरै अगाडी अनेसास केन्द्रद्वारा आयोजित १९९७ को अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगितामा प्रथम हुनु भएका वरिष्ट साहित्यकारलाइ इजरायलमा यसरी स्वागत् गर्न पाउनु आफ्नो
गर्वको बिषय भएको बताउनु भएको थियो।
कार्यक्रममा सुनिल सङ्गम, वसन्त गुरुङ, श्याम रोक्का, श्रीमती टिका खरेल, विष्णु भट्टराई, शंकर पौडेल, सुन्दर नेपाल, नवराज घिमिरे, कृष्ण थापालगायतले आआफ्ना रचना वाचन गर्नु भएको थियो भने अन्य व्यक्तित्वहरुले वृतचित्र र कार्यक्रमका सम्बन्धमा धारणा राख्नुभएको थियो।
अतिथि अनिल पौडेलले इजरायलस्थित प्रवासी नेपालीहरुमा पनि नेपाली साहित्यप्रतिको लगाव देखेर आफू निकै खुसि भएको कुरा व्यक्त गर्दै आफ्ना केही कविता पनि सुनाउनु भयो। साझा प्रकाशन संचालक समिति र राष्ट्रिय जनसाँस्कृतिक जनसाहित्यिक मन्चका सदस्य साहित्यकार पौडेल लोकसंस्कृति, उत्साह तथा गरिमालगायात दर्जनौं नेपाली साहित्यिक पत्रिका र पुस्तकका सम्पादक हुनुहुन्छ।
नेपाली साहित्य, डायास्पोरिक गतिबिधि तथा साहित्यिक प्रकाशनका विषयमा चर्चा परिचर्चा हुदै रात्रिभोज पश्चात कार्यक्रम सम्पन्न भएको थियो।