Archive for February 26th, 2010

स्वीट्जरल्याण्डको आराउमा नयाँ बर्ष कार्यक्रम

शुक्र कुमार श्रेष्ठ-
नयाँ बर्षको नयाँ उमंगसहित अप्रिल ३ तारिख शनिबारका दिन यूनिक ग्रुप स्वीट्जरल्याण्डको जनामा बिबिध साँस्कृतिक कार्यक्रम, लाइभ कन्सर्ट, प्रत्यक्ष नेपाली दोहोरी र डिजे एबं स्वादिस्ट नेपाली खानाका साथ नयाँ बर्ष २०६७ शुभकामना कार्यक्रम आयोजना गरिने भएको छ।

उक्त कार्यक्रम निम्न स्थान,मिति र समयमा उपस्थिति भई शुभकामना आदनप्रदान एबं मनोरन्जन लिनु हुन सम्पूर्ण स्विसबासी नेपाली तथा बिदेशी महानुभाबहरुलाई आयोजक संस्था यूनिक ग्रुप स्वीट्जरल्याण्डले हार्दिक अनुरोध गरेको छ।

कार्यक्रमबारे जानकारी
मिति:- ०३/०४/२०१०
स्थान:- Aarau Roschtige hund , Zieglerain 2, 5000 Aarau
प्रबेश शुल्क स्विस फ्रेंक २५. - ( इन्क्लुडिंग स्वदिस्ट नेपाली खाना र शफ्ट ड्रिंक)
बिधार्थी शुल्क स्विस फ्रेंक २०. - (परिचय पत्र अनिबार्य)
कार्यक्रम :-
Ø १४:०० बजे अपेरो ( well come drinks )
Ø १६:०० बजे लाइभ कन्सर्ट
Ø १७:३० बजे बिबिध साँस्कृतिक कार्यक्रम
Ø १८:३० बजे स्वादिस्ट नेपाली खाना
Ø १९:३० बजे बिबिध साँस्कृतिक कार्यक्रम,
प्रत्यक्ष नेपाली दोहोरी
Ø २१:०० बजे Open Dance Floor
( जर्मनका प्रख्यात डिजे शरणका साथ)
बिस्तृत जानकारीका लागि
v गौरी बर्तौला ०७९ ४६२ ४२ २२
v प्रेमकृष्ण भारती ०७६ ४२४ ३० ५५
v रामकुमार महतो ०७६ ५८६ ५४ ५६
v निराजन श्रेष्ठ ०७८ ६२५ १७ ४४
v गुणराज शर्मा ०७६ ५१० ३३ ७९
v शुक्र श्रेष्ठ ०७९ ४०६ ५८ ६०

आयोजक:-
यूनिक ग्रुप

Recent Videos:

Popularity: 12%

Add comment February 26th, 2010

खगेन्द्रको उचाइ भनिएभन्दा २ इन्च बढी

खगेन्द्रको उचाइ भनिएभन्दा २ इन्च बढी
मनोज अधिकारी, पोखरा, फागुन १४-
विश्वकै सबैभन्दा होचो तथा कम तौल भएको दाबी गरिएका खगेन्द्र थापामगरको वास्तविक उचाई भनिएभन्दा २ इन्च बढी पाइएको छ। उनलाई २० इन्च अग्ला भनेर प्रचार गरिएको थियो तर उनको उचाइ २२ इन्च भएको पुष्टि भएको छ। ‘तौल फरक परेन’, रोमबाट खगेन्द्र थापामगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर रानाले भने- उचाई कमी देखियो।

इटलीको रोममा मङ्गलबार गरिएको परीक्षणमा खगेन्द्रको वास्तविक उचाई ५६ सेन्टिमिटर अर्थात् २२ दशमलव शून्य ४ इन्च र तौल ५ केजी मापन गरिएको हो।

उनले उचाई दुई इन्च कम देखिए पनि खगेन्द्र नै विश्वका सबैभन्दा होचा रहेकाले गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा पर्ने दावी गरे। बाग्लुङको धुल्लुबासकोट–६ का १८ वर्षीय खगेन्द्र गिनिज बुकमा नाम लेखाउने प्रक्रियाका लागि गत आइतबार बाबु रुपबहादुर र प्रतिष्ठानका अध्यक्ष रानासँगै रोम पुगेका छन्।


यस्तो थियो नेपालले उपलव्ध गराएको सर्टिफिकेट, सुदर्शन रञ्जित, पोखरा / एचकेनेपाल डट कम

रोममा खगेन्द्रसँगै होचो दावी गरिएका भारतकी १७ वर्षीया किशोरी ज्योति र चीनका पिङपिङको पनि तौल तथा उचाई एवम् स्वास्थ्य परीक्षण गरिएको थियो। रानाले अन्य ती दुई जनाको उचाई र तौलबारे केही नबताए पनि खगेन्द्र नै सबैभन्दा होचा भएको जिकिर गरे।

‘ज्योतिको उचाई २३ इन्च र पिङपिङको उचाई २९ दशमलव ५ इन्च छ’, प्रतिष्ठानका अध्यक्ष रानाले भने- सबैभन्दा कम उचाई खगेन्द्रकै भएकाले उनी गिनिज बुकमा पर्ने सम्भावना बढी छ। यसको नजिता केही दिनमै सार्वजनिक हुन्छ।

गत वर्ष जापानमा गरिएको अनुसन्धानबाट चिनका पिङपिङ सबैभन्दा होचा व्यक्तिका रुपमा गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा परेका थिए। पिङपिङ अघि २२ दशमलव ५ इन्च उचाईका भारतीय नागरिक गुल्म मोहतको नाम उक्त रेकर्डमा थियो। उनको छोटो उमेरमै मृत्यु भएपछि पिङपिङले विश्व रेकर्डमा आफ्नो नाम चम्काउँदै आएका छन्।

नेपाल सरकारबाट कुनै सहयोग नपाए पनि खगेन्द्र गिनिज बुकमा नाम लेखाउने प्रक्रियाका लागि युरो टेलिभिजनको विशेष सहयोगमा इटली पुगेका हुन्। उनीहरुलाई रोममा बस्न प्रवासी नेपाली एसोसिएसनका उपाध्यक्ष छेत्रकुमार श्रेष्ठले सहयोग गरिरहेको रोमबाट खगेन्द्रका बाबु रुपबहादुरले जानकारी दिए। फ्रान्सेली दूताबासले इटालीका लागि एक महिनाअघि खेगेन्द्रसहित उनका बाबु, र प्रतिष्ठानका अध्यक्षलाई भिसा दिएको थियो।

वि.सं.२०४९ असोज ८ गते जन्मिएका खगेन्द्रले गत वर्ष बाग्लुङबाट नागरिकताको प्रमाणपत्र लिएका थिए। उनले गिनिज बुकमा नाम लेखाउनका लागि १५४८९४ को दर्ता नम्बरसमेत पाइसकेका छन्।

खगेन्द्र पोखराको शिवालय चोकस्थित सरस्वती माविमा एलकेजीमा अध्ययनरत् छन्। उनका एक भाइ महेश भने सामान्य छन्।

गिनिजबुकमा नाम लेखाउन इटली हिँडे खगेन्द्र
एचकेनेपाल डट कम सम्वाददाता, फेब्रुअरी २१-
विश्वमा होचा तथा कम तौलका मानिसका रूपमा गिनिज बुकमा नाम उल्लेख गर्न बाग्लुङका खगेन्द्र थापामगर आइतवार इटली गएका छन्।

गिनिज बुकमा उनको नाम राख्नका लागि सहयोग गर्न तयार रहेको इटलीको एक रेडियोकर्मी समूहको आमन्त्रणमा आफ्ना बुबा रूपबहादुर खगेन्द्र प्रतिष्ठानका अध्यक्ष मीनबहादुर रानामगरका साथ उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।

बाग्लुङ जिल्लाबाट २०६६ साल असारमा नागरिकताको प्रमाणपत्र लिएका १८ वर्षीय थापामगरको तौल हाल साढे चार किलोग्राम र उचाइ २० इन्चमात्र रहेको छ।

न्युज अपडेटः विश्वका होचा भनिएका खगेन्द्र थापा आइतवार इटली जाने
दिननाथ बराल, पोखरा/एचकेनेपाल डट कम, फेब्रुअरी २०-
बाग्लुङ, धुल्लुबासकोट-६ का १८ बर्षीय खगेन्द्र थापा मगरलाई गिनिज बुक अफ दि वल्डमा नाम लेखाउन शुक्रवार पोखराबाट बाजागाजासहित बिदाई गरिएको छ।

विश्वका होचा तथा कम तौल भएका खगेन्द्र थापा मगरको नाम गिनिज बुकमा लेखाउने प्रक्रियाको लागि युरो टेलिभिजनको बिशेष सहयोगमा खगेन्द्र थापासहित तीन सदस्यीय टोली फागुन ९ गत आइतवार इटलीको रोम जाने खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मिनबहादुर रानाले जनाएका छन्।

माघ २१ गते फ्रान्सेली राजदूतले इटालीमा जानको लागि खेगेन्द्र थापा मगर, प्रतिष्ठानका अध्यक्ष मिनबहादुर राना र बाबु रुपबहादुर थापा मगरलाई भिसा दिएको थियो।

मात्र उचाई २० इन्च र पांच केजि तौल भएका खगेन्द्रले चाइनाका पिङपिङले पछिल्लो क्रममा राखेको रेकर्ड २९.५ फिट उचाईको रेकर्डलाई भङग गदैं विश्व रेकर्डमा आफ्नो नाम चम्काउने भएका छन्। गिनिज बुकमा नाम लेखाउनको लागि खगेन्द्रले १५४८९४ को दर्ता नम्बरसमेत पाईसकेका छन्।

भारतका गुल्म मोहतको २२.५ इन्च उचाईले गर्दा आफनो नाम चम्काउन सफल भएका गुल्मको केही बर्षको अन्तरालमा मृत्यु भएपछि चाईनाका पिङपिङले आफनो नाम विश्व रेकर्डमा चम्काउदै आएका छन्।

बाबु रुपबहादुर थापामगर र आमा धनमाया थापामगरका जेठा सन्तानको रुपमा २०४९ असोज ८ गते जन्मिएका खगेन्द्रले गत असोजमा नेपाली नागरीकको प्रमाणपत्र समेत लिईसकेका छन्।

खगेन्द्र पोखराको शिवालय चोकस्थित सरस्वती माबिमा एलकेजीमा अध्ययनरत छन्। मीनबहादुरको बिषेश पहलमा पोखरा भित्रिएका खगेन्द्र परिवारसमेत हाल पोखरामा बस्दै आएका छन। खगेन्द्रका भाई महेश भने अरूजस्तै सामान्य छन्।
फाइल फोटो स्लाइडः


Popularity: 18%

5 comments February 26th, 2010

एमाले महासचिव ईश्वर पोख्रेल युरोप आउने

शिवकुमार, बेल्जियम/एचकेनेपाल डट कम -
नेकपा एमालेका महासचिव क. ईश्वर पोख्रेल शु्क्रवार युरोपको बिभिन्न देशमा सम्बन्धित देशका एमालेको संगठन एनडीएफ बेल्जियमले आयोजना गरेको बिभिन्न कार्यक्रममा सहभागीका लागि युरोप आउँदै हुनुहुन्छ।

भर्खरै नेपालमा सम्पन्न भएको नेकपा एमालेको केन्द्रिय कमिटीको बैठक र यस बैठकले एकमतले देश संचालन, पार्टी संचालन र समयमानै संबिधान जारी गर्नको लागि अघि सारेका योजना तथा निर्णयहरुको बारेमा युरोपमा रहेका एमालेका समर्थक तथा कार्यकर्ताहरुलाई निर्देशित र प्रशिक्षित गर्न र यहाँ रहेका सम्पूर्ण नेपालीहरुलाई राष्ट्र निर्माणको लागि र नयाँ सबिधान निर्माणको लागि नेकपा एमालेले अघि सारेका कार्यक्रम योजना र भिजनहरुको बारेमा प्रष्ट्याउदै देशको ससामयिक राजनैतीक स्थितीको बारेमा जानकारी गराउने उद्धेश्यले उहाँ युरोप आउँदै हुनुहुन्छ।

यसै बीचमा उहाँले २८ फेब्रुअरीमा युकेको लन्डन शहरमा एनडीएफ युकेले आयोजना गरेको नयाँ संबिधानमा जातीय संघियता र दोहोरो नागरिकता बिषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुने छ भने यही ३ मार्चमा बेल्जियममा एनडीएफ बेल्जियमले उहाँको सम्मानमा गरेको दिवा भोज तथा सम्पूर्ण बेल्जियममा रहेका एमाले समर्थक र शुभ चिन्तकहरुबीच आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सम्बोधन गर्नुहुने छ।

Popularity: 13%

1 comment February 26th, 2010

बीएफबीएस गोर्खा रेडियोको वार्षिक बैठक सम्पन्न

योगराज राई, बेलायत / एचकेनेपाल डट कम -
बीएफबीएस गोर्खा रेडियो युकेले आफ्नो वार्षिक बैठक फेब्रुवरी महिनाको उन्नाईस तारिख वान आरजीआरको बैठककक्ष सोर्नक्लिप्मा सम्पन्न गरेको छ।

आफ्ना कार्यक्रमहरुलाई कसरी श्रोतामुखी र परिमार्जन गर्दै लैजाने भन्ने अभिप्रायका साथ प्रत्येक बर्ष सबै पल्टनका प्रतिनिधीहरुलाई आमन्त्रण गरेर बैठक गर्ने गरिन्छ।

बैठकमा पहिलो पल्ट बीएफबीएस रेडियोको कन्ट्रोलर सुश्री निकी नेसको सहभागिता रहेको थियो। त्यस्तै, बैठकमा बीएफबीएस गोर्खा रेडियो युकेको महाप्रबन्धक खेम गुरुङ, नेर्टवर्क डाइरेक्टर विनोदध्वज खड्का, योगराज राई, सिरीश सुनुवार, रुपा राना र आशा पुन उपस्थित थिए।

बैठकमा वान आरजीआरको तर्फबाट मेजर खुशीमान गुरुङ एम्भीओ, क्युन्स् गोर्खा इन्जिनीयरबाट मेजर एकबहादुर गुरुङ, क्युओजीएल्आर्बाट क्याप्टेन भुवानी राई, एच्क्युबीजीबाट क्याप्टेन ध्यानबहादुर राई, गोर्खा कम्पनी सिताङबाट क्याप्टेन प्रकाश गुरुङ, गोर्खा कम्पनी मण्डलेबाट क्याप्टेन जोगेन्द्रसिंह लिम्बू, गोर्खा कम्पनी क्याट्रीकबाट क्याप्टेन भूपजीत राई र ब्रिगेड् ब्याण्डबाट क्याप्टेन सेवन्त पुर्जा पुन उपस्थित थिए।

कार्यक्रमको आरम्भमा सहभागी सबैलाई स्वागत गर्दै, बीएफबीएस गोर्खा रेडियो युकेको महाप्रबन्धक खेम गुरुङले, बीएफबीएसबाट प्रसारण गरिने कार्यक्रम र भावी योजनाहरुको बारेमा संक्षिप्तमा प्रकाश पारेका थिए भने कन्ट्रोलर सुश्री निकी नेसले बैठकमा आफूपनि सामेल हुन पाएकोमा ज्यादै हर्षित भएको र आफ्नो क्षमताले भ्याएसम्म सबैको चाहनालाई हृदयङ्गम गरेर कार्यक्रमहरु संचालन गर्ने प्रतिवद्धता ब्यक्त गरिन्।

उक्तदिनको बैठकमा सबै पल्टनका प्रतिनिधीहरुको कार्यक्रम संबन्धी बुंदाहरुमा छलफल भएको थियो। कार्यक्रममा उपस्थित सबैले बीएफबीएसले कार्यक्रमहरु समय सापेक्ष र सबै उमेर समूहका श्रोताहरुलाई समेटेर गर्नुपर्ने कुरा औल्याए।

Popularity: 13%

Add comment February 26th, 2010

एनआरएनद्धारा सदस्यहरूलाई छुटको व्यवस्था

देवेन्द्र सुर्केली, क्वालालम्पूर / मलेसिया एचकेनेपाल डट कम-
एनआरएनको सदस्यता लिएकाहरूलाई मलेसियाका व्यापारीहरूले आफ्ना ग्राहकहरूलाई छुट दिने निर्णय गरेको छ।

छुट दिने निर्णय गर्नेहरूमा मनकामना सपिङ सेन्टर र गोर्खा रेष्टुरेन्ट रहेका छन्। २३ फेव्रुवरी २०१० मा बसेको एनआरएनको नियमित बैठकमा सो निर्णय गरिएको हो। १०% छुट दिने निर्णय गरेका व्यापारीद्धय मनकामना सपिङ सेन्टरका हाकिम श्रेष्ठ र गोर्खा रेष्टुरेन्टका भवानीशंकर तिवारीलाई एनआरएनका अध्यक्ष शंकरबहादुर पौडेलले लोगो प्रदान गर्नुभएको थियो। बैठकले मार्च २३ तारिखको दिन एनआरएन र मलेसियामा स्थापित संघसंस्था भेला कार्यक्रम गर्ने निर्णय गरेको छ। उक्त भेलालाई सम्पन्न गर्नको लागि राजेश श्रेष्ठको संयोजकत्वमा उपसमिति गठन गरिएको छ।

त्यसैगरी सुदूरपश्चिमाञ्चल सेवा समाजको पहलमा उपचार भइरहेका देशराज बोहरालाई पनि एनआरएन मलेसियाले हेर्ने काम भएको छ। तीन महिना अगाडि क्वालालम्पूरस्थित आम्पाङमा दुर्घट्नामा परेका देशराज बोहोरालाई जनरल हस्पिटल केएलमा राखिएको छ। बोहोराको शरीरको आधा भाग नचल्ने तथा बोलीसमेत नआउने भएको छ। उनको उपचारको बिल १० हजार आरएम नाघिसकेको र चाडै डिस्चार्ज गर्नुपर्ने अस्पतालले बताएको छ। अवैधानिकसमेत रहेका बोहोराको परिवार पनि विपन्न रहेको कारण उपचारको लागि सुदूरपश्चिमाञ्चल सेवा समाजले चन्दा संकलन गरिरहेको छ।

हालै सम्पन्न नेपाल पत्रकार महासंघ र प्रवासी तामाङ एकता समाजद्धारा आयोजित सांगीतिक कार्यक्रमबाट करीब ४ हजार चन्दा संकलन गरिएको समाजका अध्यक्ष लोकेश शाहले जानकारी गराएका छन्। एनआरएन आइसीसी सदस्य भीम शेरचन, मलेसियाका अध्यक्ष शंकरबहादुर पौडेल र सचिव देवेन्द्र खापुङले अस्पतालमा गई बिल मिनाहा गर्नको लागि पहल गरेका छन्।

स्मरण रहोस्, मलेसियाकै सेलाङ्गर राज्यभित्र पर्ने केलाङ हस्पिटलमा उपचाररत सुवास कामीको पनि एनआरएनको पहलमा बिल मिनाहा भएको छ। टिवीग्रस्त रहेका कामीले अझै तीनमहिना बस्नुपर्ने र उनको सम्पूर्ण बिल मिनाहा भएको अस्पताल श्रोतले एनआरएनलाई जनाएको छ। कामीलाई म्याग्दी सेवा समाजले दैनिक सेवा पुर्‍याइरहेको छ।

Popularity: 13%

Add comment February 26th, 2010

माओवादीको केन्द्रीय समिति विस्तार नहुने

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेपाल कम्युनिष्ट पार्टी(माओवादी)को बिहीबारको केन्द्रीय समितिको बैठकले तत्काल स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिमा कुनै पनि सदस्य थप नगर्ने निर्णय गरेको छ।

बैठकबारे जानकारी दिँदै पार्टी प्रवक्ता दीनानाथ शर्माले हाललाई केन्द्रीय समितिमा कुनै पनि सदस्य थपघट नगर्ने निर्णय भएको जानकारी दिनुभयो।

उहाँले यही फागुन २७ देखि चैत १२ गतेसम्म देशव्यापी कार्यकर्ता प्रशिक्षण चलाउने निर्णय भएको बताउनुभयो।

प्रवक्ता शर्माका अनुसार राष्ट्रिय स्वाधीनता र नागरिक सर्वोच्चताको आन्दोलनलाई अझ सशक्त बनाउँदै शान्ति र संविधान लेखनका लागि दबाबमूलक कार्यक्रम गरिनेछ।

Popularity: 13%

Add comment February 26th, 2010

दाउरा नभएपछि टायरले शव जलाउन थालियो

एचकेनेपाल डट कम संवाददाता-
कन्काइ नदीमा दाहसंस्कारका लागि दाउरा नभएपछि शव जलाउन टायरको प्रयोग बढ्नाले आसपासका स्थानमा दुर्गन्ध फैलिएको छ। गन्धका कारण उक्त क्षेत्रमा बसिनसक्नु भएको छ।

यसलाई नियन्त्रण गर्ने आशामा ल्याइएका शवको अभिलेख राख्ने काम सुरु भएको छ।

स्थानीय युवा क्लबको सक्रियतामा पहिलोपटक यसरी अभिलेख राख्न सुरु गरिएको हो।

वर्षभरिमा सो घाटक्षेत्रमा कति शव जलाइन्छ र त्यसबाट वातावरणमा पर्ने असरबारे सम्बन्धित निकायलाई जानकारी दिन शवको अभिलेख राख्न सुरु गरिएको क्लबका सदस्य तुलसी न्यौपानेले बताउनुभयो।

व्यवस्थित शवदाहस्थल निर्माणका निम्ति आफूहरूले जिल्ला विकास समिति तथा सरकारमा अनुरोध गरेको तर कतैबाट सुनुवाई नभएपछि एकवर्षको अभिलेख संविधानसभा सदस्यहरूलाई उपलब्ध गराउने योजना उहाँले सुनाउनुभयो।

Popularity: 13%

Add comment February 26th, 2010

ब्राह्मण-क्षेत्रीले विश्वविद्यालयमा ताला लगाए

एचकेनेपाल डट कम संवाददाता-
त्रिभुवन विश्वविद्यालयमा आरक्षण प्रथाको खारेजीको माग राख्दै सङ्घर्षरत ब्राह्मण क्षेत्री संयुक्त सङ्घर्ष समितिले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयमा हिजो पुनः तालाबन्दी गरेको छ।

विश्वविद्यालयलाई स्वच्छ प्राज्ञिकस्थलको रुपमा विकास गर्नका लागि आरक्षण प्रथा हटाइनुपर्ने भन्दै समितिले यसअघि नै सेवा आयोगमा गत माघ १० गतेदेखि अनिश्चितकालीन तालाबन्दी गरेको भए पनि प्रहरी प्रशासनको सहयोगमा १० दिनअघि सेवा आयोगको ताला खुला गरिएका कारण समितिले हिजो पुनः तालाबन्दी गरेको हो।

तालाबन्दीपछि आयोजित कोणसभामा समितिका संयोजक सुमन बास्कोटाले त्रिभुवन विश्वविद्यालयको प्राज्ञिकस्तर अधोगतितर्फ उन्मुख भइरहेको वर्तमान अवस्थामा गरिन लागिएको आरक्षण प्रथा विश्वविद्यालयको उन्नयनमा अझै घातक हुनेमा जोड दिदै आरक्षण प्रथाको खारेजी नहुँदासम्म आन्दोलन जारी रहने बताउनुभयो।

Popularity: 13%

2 comments February 26th, 2010

प्याराग्लाइडिङबाट उड्ने क्रममा रुसी नागरिकको मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
प्याराग्लाइडिङबाट उड्नेक्रममा ग्लाइडर नखुलेपछि पोखरामा एक रुसी नागरिकको मृत्यु भएको छ।

कास्कीको अर्मला गाविस–३ स्थित कुरेचौरको ढिकीडाँडाबाट प्याराग्लाइडिङबाट उड्नेक्रममा ग्लाइडर नखुलेपछि भीरबाट खसेर गम्भीर घाइते भएका ३१ वर्षीय रुसी नागरिक एलेक्सेन्डर किर्डयासडिनको उपचारका क्रममा मृत्यु भएको हो।

व्यक्तिगत तवरले मध्याह्न साढे १२ बजे महेन्द्रगुफा नजिकको ढिकीडाँडाबाट उड्नेक्रममा ग्लाइडर नखुलेपछि उनी भीरबाट तल खसेर गम्भीर घाइते भएका थिए।

टाउकामा गम्भीर चोट लागेर घाइते भएका एलेक्सेन्डरको दिउँसो ३.३० बजे पोखराको चरक अस्पतालमा उपचारमा क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

पोखरामा हिजोदेखि सुरु हुने भनिएको प्याराग्लाइडिङ एक्रो प्रतियोगितामा सहभागी पाइलटहरुको प्रहरीले इजाजत खोजेपछि जाँच गर्दा अवैध ठहरिएका उनीसहितको एक टोली प्याराग्लाइडिङबाट उड्न ढिकीडाँडा पुगेको थियो।

केही साताअघि २६ वर्षीय अर्का एक जर्मन नागरिकको पनि फेवातालमा हाम फालेर कीर्तिमान राख्न खोज्दा मृत्यु भएको थियो।

यसैबीच, पोखरामा हिजोदेखि सुरु हुने भनिएको प्याराग्लाइडिङ एक्रो प्रतियोगिता एकाएक स्थगित भएको छ।

बिना इजाजत र जानकारीबिना फेवातालमा डुङ्गामाथि अवतरण गर्ने गरी जोखिमपूर्ण प्रतियोगिता गरिएको भन्दै नागरिक उड्डयन प्राधिकरण, पोखराले सुरुआतीको दिन प्रतियोगिता सञ्चालनमा रोक लगाएको हो।

बिना इजाजत प्रतियोगिता आयोजना गरेको भन्दै प्राधिकरणको आदेशमा प्रहरीले सराङकोटबाट कसैलाई पनि उडान भर्न दिएको थिएन।

Popularity: 13%

1 comment February 26th, 2010

उच्चस्तरीय संयन्त्रले कुनै निकास निकालेन

एचकेनेपाल डट कम संवाददाता-
उच्चस्तरीय राजनीतिक संयन्त्रको पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निवास महाराजगञ्जमा बसेको बैठकले समग्र राजनीति विषयवस्तुलाई प्याकेजमै छलफल गर्ने सहमतिमा टुङ्गिएको छ।

शान्तिप्रक्रियालाई उचित निष्कर्षमा टुङ्ग्याउँदै निर्धारित समयमै नयाँ संविधान निर्माण गर्ने, राष्ट्रपतिको कदमका बारेमा उचित निष्कर्ष निकाल्ने, राज्य पुनःसंरचना आयोग गठन गर्ने विषयमा यही फागुन १८ गते शीर्ष नेतृत्व सम्मिलित संयन्त्रको बैठक बस्ने दलका नेताहरुले सञ्चारकर्मीलाई जानकारी दिनुभयो।

नेपाली काङ्ग्रेसका प्रवक्ता अर्जुननरसिंह केसीले नयाँ संविधान बनाउन अब ९१ दिनमात्र बाँकी रहेकाले निर्धारित समयमै संविधान जारी गर्ने र शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्‍याउन प्याकेजमै सहमति गर्ने बैठकमा सहमति भएको जानकारी दिनुभयो।

आगामी बैठकले राजनीतिक गतिरोध अन्त्य गर्ने विश्वास लिइएको प्रवक्ता केसीले जानकारी दिनुभयो।

नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले राजनीतिक सङ्कट समाधान गर्नका लागि दलहरुबीच समग्र समस्यालाई प्याकेजमै समाधान खोज्ने सहमतिका लागि छलफल भएको बताउनुभयो।

उहाँले भन्नुभयो–“राष्ट्रपतिका कदमबारे सङ्कल्प प्रस्तावमा उल्लेख गर्ने शब्दका बारेमा आगामी बैठकले उचित निकास निकाल्नेछ।”

एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको र समग्र प्याकेजमै समाधान निकाल्ने सहमति भएको बैठकपश्चात् सञ्चारकर्मीलाई जानकारी दिनुभयो।

बैठकमा नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, एकीकृत नेकपा (माओवादी) का अध्यक्ष प्रचण्ड, नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनाललगायत नेताहरु सहभागी हुनुहुन्थ्यो।

Popularity: 13%

Add comment February 26th, 2010

पासपोर्ट विवाद कायमै

एचकेनेपाल डट कम संवाददाता-
मन्त्रिपरिषद्को बैठकले विशेष परिस्थिति भएकाले परराष्ट्र मन्त्रालयलाई विधिसम्मत ढङ्गले आवश्यकता अनुसार द्विपक्षीय वार्तालगायतका प्रक्रिया पूरा गरी मितव्ययी तवरमा समयभित्रै मेसिन रिडेबल पासपोर्ट (एमआरपी)को व्यवस्था मिलाउन निर्देशन दिएको छ।

बैठक पछि गृहमन्त्री भीमबहादुर रावलले पत्रकारहरूलाई आगामी अप्रिल १ देखि एमआरपी जारी गर्ने सम्बन्धमा परराष्ट्र मन्त्रालयले गरेको प्रस्तावलाई बैठकले फिर्ता गर्ने निर्णय गरेको जानकारी दिनुभयो।

स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले एमआरपी छाप्नका निम्ति भारतीय कम्पनीलाई दिनेगरी मन्त्रिपरिषद्मा प्रस्ताव गरेको थियो।

बैठकले निजामती सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीको पाँच रिक्त सचिव पदमा शीतलबाबु रेग्मी, विमलप्रसाद वाग्ले, महेन्द्रप्रसाद श्रेष्ठ, माधवप्रसाद घिमिरे र आनन्दराज पोखरेललाई बढुवा गर्नेसमेत निर्णय गरेको छ।

Popularity: 13%

1 comment February 26th, 2010

महिला बन्दीका लागि छुट्टै भवन

एचकेनेपाल डट कम संवाददाता-
कञ्चनपुर कारागारका महिला कैदीका लागि कारागार व्यवस्थापन विभागले करिब रु. ७ लाखको लागतमा छुट्टै भवन निर्माण गरेको छ।

यसअघि महिला कैदीलाई पुरुषसँग जोडिएको भवनमा राखिँदा उनीहरुले सास्ती बेहोर्दै आएका थिए।

बिहीबारदेखि कारागारमा रहेका १० जना महिला कैदीलाई नयाँ भवनलाई सारिएको कारागारका जेलर पदमराज भट्टले बताउनुभयो।

नवनिर्मित भवनमा शौचालय, भान्छाघरलगायतका सुविधा रहेका छन्।

Popularity: 12%

Add comment February 26th, 2010

क्षेत्री समाज मलेसियाले स्मारिका प्रकाशन गर्ने

युवराज बराल, क्वालालम्पुर, मलेसिया -
सामाजिक कार्यहरूमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्नता जनाउँदै स्थापित हुनका लागि प्रयासरत रहेको क्षेत्री समाज मलेसिया शाखाले स्मारिका प्रकाशन गर्ने भएको छ।

क्वालालम्पुरको कोतारायास्थित सोल्टी रेष्टुरेन्टको दोश्रो तल्लामा बसेको नियमित पाँचौ बैठकले सो निर्णय गरेको हो।

स्मारिकालाई समाजका संरक्षक दिपक बोगटीले प्रकाशन गर्न सहयोग पुर्‍याउने बताइएको छ भने उक्त पुस्तकलाई पत्रकारद्वय राजु क्षेत्री ‘अपुरो’ र सुमन के.सी.लाई सम्पादन गर्ने जिम्मा दिइएको छ। यसैगरी, सम्पादन सहयोगीहरूमा दिनेश थापा, चित्र थापा, श्याम जि.सी., कृष्ण कार्की, रेशम खत्री, अर्जुन खत्री, भिम जि.सी. र सम्पादन सल्लाहकारमा प्रभाकर बानियाँ रहने छन्।

क्षेत्रीहरूको इतिहास, बर्तमान अवस्था ओझेलमा परेका ब्यक्तित्वको परिचय, क्षेत्री समुदायभित्रका कुरिती, अन्धबिश्वास, कुप्रथा, जातीय बिभेद सम्बन्धी लेखिएका लेख, रचनाहरूलाई बिशेष महत्व दिइने उक्त स्मारिकाका लागि मलेसियामा स्थापित लेखक, साहित्यकारहरू सर्जकहरूलाई आ-आफ्नो तवरले सहयोग पुर्‍याउन समाजले हार्दिक अपिल गरेको छ। पुस्तक जेष्ठ मसान्तसम्म बजारमा आउने समाजका अध्यक्ष रामजी खत्रीले जानकारी गराएका छन्।

Popularity: 12%

Add comment February 26th, 2010

नेपाली जनसम्पर्क समिति नेदरल्याण्डको अपिल

हार्दिक अपिल-
प्रजातान्त्रिक संस्कार बोकेका हामी नेपाली जनसम्पर्क समिति सम्वद्ध सम्पूर्ण प्रजातन्त्रप्रेमी साथीभाईहरु व्यक्तिगत स्वतन्त्रता सामाजिक न्याय र मौलिक अधिकार प्रयोग गर्दा समाज विखण्डन नहुनेगरि अगाडि बढ्नु विवेकशील ठानी संस्थालाई पनि निर्विवाहित रुपमा अगाडि बढाउनु पर्नेमा निहीत व्यत्तिहरुका स्वार्थ पूर्ति गर्नको लागि संस्थालाई जबरजस्ती बिभाजनको धारमा पुर्याउने वातावरण सिर्जना भएको अवस्थामा सम्पूर्ण नेपालीहरुको पवित्र संगठन गैर नेपाली आवासीय संघको नेतृत्व छनौट प्रकृयामा यस संस्थामा सम्बद्ध सम्पूर्ण साथीहरुले आफ्नो मौलिक अधिकारको प्रयोग गरि निर्विवाहित रुपमा गैर नेपाली आवासीय संघको प्रतिनिधि चुन्ने चुनिने प्रकृयामा निर्धक्क भएर लाग्न हामी बिनम्र आग्रह गर्दछौँ।

यसबाट संस्थाको गरिमा भविष्य अझै अगाडि बढ्ने तथा जनसम्पर्क समिति सम्पूर्ण नेपाली समुदायको प्यारो संस्थाको रुपमा अगाडि बढाईनेछ भन्ने प्रतिवद्धता व्यक्त गर्दछौँ।

१. श्री थानेश्वर गौतम महासचिव नेपाली जनसम्पर्क समिति
२. जीवन बराल उपाध्यक्ष नेपाली जनसम्पर्क समिति
३. श्रीराम कँडेल प्रवक्ता कार्यकारी सदस्य नेपाली जनसम्पर्क समिति
४. प्रयागराज खनाल कार्यकारी सदस्य नेपाली जनसम्पर्क समिति
५. दिनेश Rijal कार्यकारी सदस्य नेपाली जनसम्पर्क समिति
६. शशी पन्थी कार्यकारी सदस्य नेपाली जनसम्पर्क समिति
७. आगन्धर उपाध्याय भूपू कार्यकारी सदस्य नेपाली जनसम्पर्क समिति
र आम सदस्य साथीहरु

संस्थाको स्थापना कालदेखि नै आम साथीहरुको भावनालाई छलेर निहीत व्यक्तिहरुको इशारामा संस्था अगाडि बढाएको र वर्तमान परिस्थितीमा पनि यस्तै प्रबृतिको शिकार बन्न पुगेकोमा म आफ्नो उमेदवारी कोषाध्यक्ष पदका लागि फिर्ता लिई संस्थालाई स्वच्छ रुपमा अगाडि बढाउन प्रतिवद्ध भएर लाग्ने दृढता व्यक्त गर्दछु। मेरो यो अभियानलाई संस्थाका जिम्मेवार साथीहरुले समर्थन गर्नुभएको र गर्नुहुनेछ भन्ने कुरामा विश्वस्त छु।

थानेश्वर गौतम
महासचिव
नेपाली जनसम्पर्क समिति नेदरल्याण्ड

Popularity: 12%

Add comment February 26th, 2010


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2010
M T W T F S S
« Jan   Mar »
1234567
891011121314
15161718192021
22232425262728

Posts by Month

Posts by Category

More news....