विगत वर्षहरुमा जस्तै यसपालि पनि ५ अप्रिलको दिन पुर्खादिवस मनाउन विश्वका विभिन्न ठाउँहरुमा तयारी भइरहेको छ। हङकङमा पनि गोर्खा सिमेट्री ट्र्र्ष्टकोको आयोजनमा बृहत नेपालीहरुको सहभागितामा पुर्खादिवस भव्यरुपमा सम्पन्न हुने भएको छ।
एचकेनेपाल डट कम संवाददाता-
कुवेतमा आयोजना हुने एसियाली क्रिकेट परिषद (एसिसी) ट्रफी एलिट कप–२०१० क्रिकेट प्रतियोगितामा सहभागित नेपालको राष्ट्रिय क्रिकेट टोलीलाई विदाई गरिएको छ।
यहि चैत १८ गतेबाट सञ्चालन हुने सो प्रतियोगितामा सहभागि टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव हरिवावु चौधरी र नेपाल क्रिकेट सङ्घका अध्यक्ष विनयराज पाण्डेले विदाई गर्नुभएको हो।
सङ्घका अध्यक्ष पाण्डेले भविश्यको क्रिकेटको अवस्था अहिलेको खेलाडीहरूको क्ष्मतामा भर पर्ने हुदा आफ्नो क्षमता प्रदर्शन गर्दै नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनु पर्ने बताउनुभयो।
त्यस्तै प्रशिक्षक रोय लुक डायसले अभ्यास राम्रो रहेको जनाउनुहुदै सो प्रतियोगितामा अभ्यास अनुसार विजय प्राप्त गर्न सफल भएमा एसियाली क्रिकेट बरियतामा नेपालले सफलता पाउने जनाउनुभयो।
नेपालको लागि टोली कप्तान पारस खडकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै हालै नेपालमा सम्पन्न विश्व लिग क्रिकेट डिभिजन पाँचमा पाएको सफलतालाई निरन्तरता दिने बताउनुभयो।
एचकेनेपाल डट कम संवाददाता-
नेपाली काङ्ग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईले संविधान बन्न नसक्ने, अराजकता बढ्ने र मुलुकको अस्तित्व समेत धरापमा पर्नसक्ने भएको भन्दै २०४७ सालको संविधानलाई पुनर्जीवन गर्नेतर्फ अगाडि बढ्न नागरिक तथा राजनीतिक दलसमक्ष आग्रह गर्नुभएको छ।
नेता भट्टराईले विज्ञप्ति जारी गर्दै मुलुकमा राष्ट्रिय अखण्डता र सद्भाव बढाउन बिपी कोइराला र गणेशमान सिंहले आह्वान गर्नुभएको राष्ट्रिय मेलमिलापको सिद्धान्त नै उपयुक्त हुने बताउनुभएको छ।
विज्ञप्तिमा उहाँले भन्नुभएको छ – मुलुक संविधानविहीन अवस्थामा प्रवेश गर्न लागेको र आगामी जेठ १४ गतेसम्म संविधान बन्ने कुनै सम्भावना देखिएको छैन, २०४७ सालको संविधान उत्कृष्ट हुँदाहुँदै पनि त्यसलाई लागु हुन पर्याप्त अवसर नै नदिई हतारमा समाप्त गरिएकाले नै अहिले मुलुकमा संवैधानिक र राजनीतिक रिक्तता उत्पन्न भएको हो, यस्तो अवस्था धेरै दिन रहन दिइएको खण्डमा मुलुकको स्वतन्त्रता,वैधानिकता, सामाजिक सद्भाव र समृद्धिमा प्रतिकूल असर पर्न जाने छ।
सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले एकीकृत नेकपा (माओवादी)को सरकार बनाउने सपना कदापि पुरा नहुने बताउनुभएको छ।
नेकपा (एमाले) दाङको पूर्ण बैठकलाई घोराहीमा सम्बोधन गर्दै मन्त्री पोखरेलले माओवादी सरकारमा जान आतुर छ, तर उसको यस्तो सपना कदापि पुरा हुन सक्दैन,सरकार बनाउनका लागि बहुमत चाहिन्छ, माओवादीले तत्कालै सरकार बनाउनकै लागि बहुमत सिद्ध गर्न सक्दैन भन्नुभयो।
माओवादीको विश्वासमा कुनै पनि दल नपर्ने ठोकुवा उहाँले गर्नुभयो।
माओवादीको हैसियत अनुसार यही सरकारमा सामेल गराउन सकिने तर्क राख्दै मन्त्री पोखरेलले माओवादीलाई यस कुरामा गम्भीर हुन आफूले पटकपटक आग्रह गरेको बताउनुभयो।
एमालेका केन्द्रीय सचिव समेत रहेका पोखरेलले एमालेले माओवादीलाई स्पष्ट कुरा गरिदिएको भएपनि माओवादी स्वार्थमा लागेको आरोप लगाउनुभयो।
एचकेनेपाल डट कम संवाददाता-
पुनर्गठित नेकपा (माओवादी)का संयोजक मातृकाप्रसाद यादवले एकीकृत नेकपा (माओवादी) सत्तामा जान नपाएर छट्पटाएको आरोप लगाउनुभएको छ।
संयोजक यादवले सञ्चारकर्मीसँग कुरा गर्दै उच्चस्तरीय राजनीतिक संयन्त्र एकीकृत माओवादी सत्तामा जानका लागि गठन गरिएको बताउँदै माओवादीले सत्तामा जानका लागि दाऊ हेरिरहेको विचार व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो– ‘माओवादी अध्यक्ष प्रचण्ड सत्ताबाहिर रहँदा छट्पटाएका छन्, त्यसैले संयन्त्र र नानाथरिका बहाना बनाएर सत्तामा जाने प्रयत्न गरेका हुन्।’
उहाँले थप्नुभयो– ‘माओवादीले आफ्नो सिद्धान्त र धार छाडिसकेको छ।’
यसैबीच यादवले नेतृत्व गरेको पुनर्गठित नेकपा माओवादीले शनिबार भीमप्रसाद चापागाईंको नेतृत्वमा नौ सदस्यीय स्याङ्जा जिल्ला कार्यसमिति गठन गरेको छ।
एचकेनेपाल डट कम संवाददाता-
नेकपा (एमाले)ले त्रिवि शिक्षण अस्पतालले लिएको स्नातकोत्तर तहको परीक्षामा धाँधली भएको भन्ने बहानामा विगत दुई हप्तादेखि अस्पतालको आकस्मिक सेवासमेत बन्द गर्ने कार्य आपत्तिजनक भएको जनाएको छ।
जीवनमरणको दोसाँधमा रहेका विरामीको उपचार र अत्यावश्यक सेवासमेत ठप्प पारिएको सो कार्य राजनैतिक उद्देश्यले भएको एमालेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्तिमा परीक्षामा धाँधली भए नभएको विषयमा त्रिविले गठन गरेको छानविन समितिले काम गरिसकेको र त्यसको प्रतिवेदनअनुसार दोषीमाथि कारबाही हुनुपर्छ भनिएको छ।
शिक्षण अस्पताल खुलाउन आन्दोलनकारीलाई अनुरोध गर्दै विज्ञप्तिमा यस्तै खेलवाड भइरहेमा त्यसबाट उत्पन्न हुने असहज परिस्थितिप्रति आन्दोलनकारी जवाफदेही हुने स्पष्ट गरिएको छ।
हङकङ, मार्च २७, २०१०-
विगत वर्षहरुमा जस्तै यसपालि पनि ५ अप्रिलको दिन पुर्खादिवस मनाउन विश्वका विभिन्न ठाउँहरुमा तयारी भइरहेको छ। हङकङमा पनि गोर्खा सिमेट्री ट्र्र्ष्टकोको आयोजनमा बृहत नेपालीहरुको सहभागितामा पुर्खादिवस भव्यरुपमा सम्पन्न हुने भएको छ।
विभिन्न विद्यालयका विधर्थीको उपस्थितिमा तिनका अभिभावक,प्रध्यानध्यापक,शिक्षक कर्मचारी, स्थानीय नेता,विदेशी मूलका शिक्षकहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु भूपू सैनिक र तिनका परिवारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विधार्थीवर्गबाट पुर्खाले श्रद्धाञ्जलि सिर्जनाहरु प्रस्तुत गरिने भएको छ ।
हङकङमा सम्पन्न भएको पु्र्खादिवसमा प्रथम तथा दोश्रो विश्वयुद्धमा मृत्युवरण गरेका गोर्खालीहरुको नामावली सहितको गोर्खा सिमेट्री ट्रष्टले प्रकाशन गरेका पुस्तकहरु प्रदर्शनी गरिने छ । पुर्खा दिवसका दिन ट्रष्टद्वारा प्रकाशन गरिएको, गोर्खा साहित्य तथा गोर्खा दर्शनमा आधारित बालबालिकाको पुर्खाकृतिहरु सहितको समाधि पुस्तके पाँचौ संस्करण सार्वाजानिक गरिएको थियो ।
विगत ६ वर्षदेखि हरेकवर्ष५ अप्रेलकादिनलाई पुर्खादिवसको रुपमा मनाउन थालिएको हो गएको केहीसालदेखि हङकङ लगायतका देशहरुमा समेत पुर्खादिवस सम्पन्न हुँदै आइरहेको छ । यसपालि पनि विश्वको विभिन्न देशहरुमा पुर्खादिवस मनाइएको छ । हङकङका सरकारी विद्यालय तथा केही नीजि विद्यालयहरुमा समेत पुर्खादिवस कार्यक्रमलाई विद्यालयको क्यालेण्डर तथा पाठ्यक्रममा समेत संलग्न गराइ पुर्खादिवस मनाउन थालिएको हो । हाल विद्यालयहरुमा पुर्खादिवस सम्बन्धि बिभिन्न कार्यक्रमहरु सम्पन्न भइरहेको गोर्खा सिमेट्रज ट्रष्टले जानकारी दिएको छ ।
ट्रष्टले पुर्खादिवसलाई विश्वपुर्खादिवसको रुपमा विकास गर्दै लैजाने बताएको छ । ट्रष्टकाअनुसार बेलायत सरकार, कमनवेल्थ वल्ड ग्रेभ्स कमिशन् र गोर्खा सिमेट्री ट्रष्टको संयुक्त कार्यसम्पादनमा विश्वभर छरिएर रहेका गोर्खा समाधिहरुको पत्ता लगाउँदै तथ्याङ्क निकाल्दै तिनीहरुको संरक्षण र संबर्द्धनको काममा पहल गर्दै लैजाने, सनाखत नभएका गोर्खाहरुको नामावली तयार पार्दै लैजान, नेपाली इतिहासमा यतिञ्जेल छाँयामा पारिएको यति ठूलो गोर्खा हिस्सालाई समुदायबीच ल्याउँदै नेपाली इतिहासलाई परिपूर्णता दिने काममा मद्दत गर्दै लैजाने जनाएको छ ।
हङकङमा सम्पन्न हुने पुर्खादिवसमा पीएच केन्द्रीय प्राथमिक विद्यालय, बेथल हाइस्कुल, पीके कलेज, टिके प्राथमिक विद्यालय, सगरमाथा किन्डर गार्टेन, सर एलिस कादुरी माध्यमिक विद्यालय, डेलिया हिप ओ, डेलिया ब्रोड वे, सगरमाथा किन्डरगार्टेका नेपाली विधार्थीहरुले सहभागिता जनाउने भएका छन् । पुर्खादिवस २०१० कार्यक्रमको आयोजना गोर्खा सिमेट्रज ट्रष्टले, कार्यक्रमको संयोजन हङकङ नेपलिज फाउण्डेशन तथा मेडिया पार्टनरको भूमिका एचकेनेपाल डटकमले गरेको छ।
एचकेनेपाल डट कम संवाददाता-
व्यवस्थापिका–संसदको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश रामप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशका लागि अनुमोदन गरेको छ।
समितिका सभापति कुलबहादुर गुरुङको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले संवैधानिक परिषद्ले सिफारिस गरेका न्यायाधीश श्रेष्ठलाई सर्वसम्मतरुपमा प्रधानन्यायाधीशका लागि अनुमोदन गरेको हो।
बहालवाला प्रधानन्यायाधीश अनुपराज शर्माको पदावधि आज सकिएकाले सो पदका लागि श्रेष्ठलाई यही चैत ३ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो।
वि.सं. २००३ वैशाखमा पाल्पामा जन्मनुभएका श्रेष्ठ विसं २०२८ असारदेखि न्यायसेवामा प्रवेश गर्नुभएको थियो। राजनीतिशास्त्रमा स्नातकोत्तर तथा कानुन र सार्वजनिक प्रशासनमा स्नातक श्रेष्ठ २०५९ मा सर्वोच्च अदालतमा अस्थायी न्यायाधीशमा नियुक्त हुनुभएको थियो।
बैठकमा श्रेष्ठले न्यायपरिषद्लाई प्रभावकारी बनाउने, मातहतका अदालतको अनुगमन गर्ने र थन्किएका मुद्दालाई जतिसक्दो चाँडो फर्स्छौट गर्नका लागि प्रतिबद्धता व्यक्त गर्दै हरेक मुद्दामा संवेदनशील र इमान्दारीका साथ कार्य गर्नका लागि आफूले विशेष योजना बनाएर अगाडि बढ्ने जानकारी दिनुभयो।
एचकेनेपाल डट कम संवाददाता-
खस क्षत्री जातिको मागप्रति कुनै किसिमको सुनुवाइ नभएको भन्दै खस क्षत्री संयुक्त राष्ट्रिय मोर्चाले यही चैत २० गते र्याली गर्ने भएको छ।
मोर्चाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सभासद् डिबी कार्कीले राज्यले संविधान लेखन गर्दा सर्वसम्मतमा गर्नुपर्ने नत्र भने बाहुन–क्षत्री अन्य जाति, जनजातिको विशाल समारोहका साथ आफूहरु संविधान लेखन गरी देश चलाउन तयार रहेको बताउनुभयो।
मोर्चाका अध्यक्ष भूपति खड्काले अब बन्ने संविधान सबै जातजातिको सर्वमान्य बनेन भने त्यो मान्य नहुने हुँदैन भन्नुभयो।
खस क्षत्रीलाई आदिवासी जातिमा सूचीकृत गर्नुपर्ने, राज्यको पुनःसंरचना गर्दा जाति, भाषा र धर्मका आधारमा नगरी प्राकृतिक साधनस्रोत तथा भौगोलिक नामबाट निर्माण गर्नुपर्नेजस्ता माग मोर्चाको रहेको छ।
एचकेनेपाल डट कम संवाददाता-
महानगरीय प्रहरी वृत्त थिमीले अरनिको राजमार्गआसपासका चारवटा रेस्टुरेन्टमा छापा मारी १३ जनालाई आपत्तिजनक अवस्थामा पक्राउ परेको छ।
प्रहरीले कौशलटारस्थित फ्रेन्डसिप रेस्टुरेन्टबाट तीन केटी र दुई केटा तथा गाघरस्थित मिडवे क्याफेबाट चार केटा र चार केटीलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक राधिका खड्काले बताउनुभयो।
त्यसैगरी प्रहरीले थिमीको पुजन रेस्टुरेन्ट एवम् गेस्टहाउस र मध्यपुर गेस्टहाउसमा छापा मार्दा सबै भागेकाले पक्राउ गर्न सकेन।
प्रहरीले मिडवे क्याफेभित्रका छुट्टाछुट्टै कटेजमा यौनसम्बन्ध राखिरहेको अवस्थामा चारजोडीलाई पक्राउ गरेको हो।
पक्राउ परेका चारजोडीलाई निजको आमाबाबुलाई बोलाएर घटनाबारे जानकारी दिँदै अभिभावकको जिम्मा लगाउने र अन्य पाँचजनाको अनुसन्धान गरिने खड्काले बताउनुभयो।
एचकेनेपाल डट कम संवाददाता-
बागलुङका आमाछोरीले सँगै एसएलसी परीक्षा दिएका छन्। जिल्लाको दक्षिण भेगमा रहेको त्रिभुवन उच्चमावि केन्द्रबाट आमा देवीकुमारी पाठक र छोरी भगवती पाठकले सँगै परीक्षा दिएका हुन्।
आमा देवी एक्जाम्टेडतर्फबाट र भगवती नियमिततर्फबाट परीक्षामा सहभागी भएका हुन्। उनीहरु दुवैजना सोही विद्यालयका विद्यार्थी हुन्।
त्यसैगरी गुल्मीको वडागाउँ गाविसस्थित पृथ्वी माध्यमिक विद्यालय केन्द्रबाट बाबु र छोरीले सँगै परीक्षा दिएका छन्।
हिमालय उच्चमाध्यमिक विद्यालय हस्तिचौरमा अध्ययनरत ५१ वर्षीय बाबु देवीराम घिमिरे र उनकी १६ वर्षीया छोरी गङ्गाले उक्त केन्द्रबाट सँगै परीक्षा दिएका हुन्।
वि.सं. २०३९ मा गुल्मीको रिडी संस्कृत विद्यालयबाट पहिलोपटक एसएलसीे परीक्षामा सहभागी भएर परीक्षा दिई असफल भएका घिमिरेले बुढेसकालमा भए पनि एसएलसी परीक्षा पास गर्ने धोको भएका कारण आफू परीक्षामा सम्मिलित भएको बताउनुभयो।
एचकेनेपाल डट कम संवाददाता-
तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले जरैदेखि समाप्त भइसकेको राजसंस्था जीवित रहेको पूर्वराजा ज्ञानेन्द्र शाहले दाबी गर्नु दिवास्वपन भएको बताउनुभएको छ।
मुलुकको आर्थिक विकास जातीय एवम् सांस्कृतिक पहिचानका लागि राजसंस्था बाधक रहिआएकाले नेपाली जनताले जरैदेखि सो संस्था उठाई फ्याँकेको ज्ञानेन्द्रले स्मरण गर्नुपर्ने बताउनुभयो।
मुलुकमा कसैले चाहे पनि नेपाली जनताले राजसंस्था नस्वीकार्ने उहाँले दाबी गर्नुभयो।
एचकेनेपाल डट कम संवाददाता-
नेपाल तेक्वान्दो सङ्घले तेक्वान्दो खेलाडी दीपक विष्टलाई सङ्घले केन्द्रीय सदस्य तथा खेलाडी संरक्षण समितिको सचिव पदबाट निलम्बन गरेको छ।
तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाश शम्शेर राणाको अध्यक्षतामा आज यहाँ बसेको बैठकबाट विष्ट सङ्गापुरमा आयोजना हुने युथ ओलम्पिक गेम्सका लागि सेभ द मिसनको बैठकमा सहभागी हुन सङ्घलाई जानकारी नगराई त्यसतर्फ प्रस्थान गरेकामा आपत्ति जनाउँदै सो निर्णय गरेको बताइएको छ।
दक्षिण एसियाली खेलकुदमा लगातार चार स्वर्णपदक विजेता खेलाडी विष्टको उक्त सहभागिता नियमबद्ध भएको हो वा होइन भन्ने सम्बन्धमा तेक्वान्दो सङ्घका कोषाध्यक्ष रविराज सिंहको संयोजकत्वमा छानविन समिति समेत गठन गरिएको छ।
विष्टलाई आजको मितिदेखि लागु हुने गरी अर्को निर्णय नभएसम्मका लागि पदबाट निलम्बन गरिएको सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
एचकेनेपाल डट कम संवाददाता-
निजी विद्यालयहरूले आगामी शैक्षिक सत्रदेखि लागु गर्ने गरी २५ प्रतिशतसम्म शुल्क वृद्धि गर्ने भनिएको विषयप्रति एकीकृत नेकपा (माओवादी)को भातृ सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)ले विरोध जनाएको छ।
शिक्षाको महत्वपूर्ण सरोकारवाला भनेको विद्यार्थी हुन्, यो पक्षलाई कुनै मतलब नराखी शैक्षिक व्यापारीको उक्साहटमा गरिएको यो निर्णय कदापी स्वीकार्दैनौं, विज्ञप्तिमा भनिएको छ।
क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेले निजी विद्यालयले मनपरी ढङ्गले चर्को शुल्क असुल्दै आएकोमा कार्वाही गर्नुको सट्टा शुल्क बढाइदिएर बैधता दिई अझ प्रोत्साहित गर्नु दुर्भाग्य भएको बताउनुभएको छ।
एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी)का नेताहरूले एकहजार ६१४ जना माओवादी सेनाका योग्य नठहरिएका सदस्यहरूलाई माओवादी सेनाबाट औपचारिक रुपमै बिदाइ गरिएको घोषणामा हस्ताक्षर गरेका छन्।
सन् २०१० को जनवरी ६ देखि फेब्रुअरी ८ सम्म मुलुकभरिका माओवादी सेनाका शिविरमा सञ्चालित औपचारिक बिदाईमा ती सदस्यहरू अनुपस्थित थिए।
हस्ताक्षर कार्यक्रममा नेपालस्थित राष्ट्रसङ्घका आवासीय प्रतिनिधि रोवर्ट पाइपर, संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रतिनिधि करिन लनग्रेन, नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय मानवअधिकारसम्बन्धी उच्चायुक्तको कार्यालयका प्रतिनिधि रिचर्ड बेनेट, संयुक्त राष्ट्रसङ्घीय बालकोषका बाल संरक्षणविद् जनाबु मोहन्दा र शान्ति तथा पुनःनिर्माण मन्त्रालयका उपसचिव निरञ्जन उप्रेती उपस्थित हुनुहुन्थ्यो।
उक्त अवसरमा करिन लनग्रेनले आज भएको हस्ताक्षरले विस्तृत शान्ति सम्झौतामा उल्लेखित एउटा अर्को जिम्मेवारी पूरा गरेको हुँदा यसलाई शान्तिप्रक्रियाको एक महत्वपूर्ण कदमका रुपमा लिनुपर्ने बताउनुभयो।
राष्ट्रसङ्घको नेतृत्वमा भएको प्रमाणीकरण प्रक्रियामा युद्धविराम सम्झौता भएको सन् २००६ मे २५ मा १८ वर्ष उमेर नपुगेका र उक्त मितिपछि भर्ति गरिएका भनी दर्ता भएका जम्मा ४००८ व्यक्तिलाई माओवादी सेनाबाट औपचारिक रुपमा बिदाई गरिएको छ।
एचकेनेपाल डट कम संवाददाता-
नेपाली काङ्ग्रेसका सभापति एवं लोकतान्त्रिक नेपालका शिखरपुरुष गिरिजाप्रसाद कोइरालाप्रति सम्मान र श्रद्धाञ्जलि अर्पण गर्न पार्टीको केन्द्रीय कार्यालय र पचहत्तरै जिल्ला कार्यालयमा शोकपुस्तिका राखिएको छ।
पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलि व्यक्त गर्न राखिएको शोकपुस्तिकामा स्वदेशी तथा विदेशी महानुभावले समवेदना व्यक्त गर्नेक्रम जारी रहेको छ। यो क्रम १३ औं दिन अर्थात् चैत १९ गतेसम्म जारी रहने नेपाली काङ्ग्रेसले जनाएको छ।
नेपालका लागि चीनका राजदूत चीङ गुओहोङ, पाकिस्तानका राजदूत सैयद अव्रर हुसेन, इजिप्टका राजदूत अब्देल हमिद महमउद सालेमान, अमेरिकाका कार्यवाहक राजदूत टेरी ह्वाइट र उत्तर कोरियाका कार्यवाहक राजदूत जाङ योङ चोललगायत अन्य प्रतिनिधिले पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई शोकपुस्तिकामा हस्ताक्षर गर्नुभएको छ।
एचकेनेपाल डट कम संवाददाता-
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको राजकीय सम्मानका साथ अन्त्येष्टी आज गरिँदैछ। अन्त्येष्टीअघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि २ बजेसम्म दशरथ रंगशाला राखिएको थियो।
कोइरालाको मृत्यु शनिबार बिहान भए पनि दिउँसो बल्ल सार्वजनिक गरिएको थियो।
कोइरालाको मृत्युमा तीन दिन शोक मनाउने र पूर्व राष्ट्राध्यक्षका रुपमा राजकीय सम्मान दिने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ। तीन दिन नेपालभित्रका सरकारी कार्यालय र विदेशका कूटनीतिक नियोगका झण्डा आधा झुकाइनेछ।
एचकेनेपाल डट कम संवाददाता-
यस एचकेनेपाल डट कमका प्रधान सम्पादक पशन तमुलाई मातृशोक परेको छ। शोकको यस घडीमा धेर्यधारण गर्ने शक्ति भगवानले दिओस् भनी हामी कामना गर्छौ- एचकेनेपाल डट कम परिवार।
एचकेनेपाल डट कम संवाददाता-
कैलालीको टीकापुर नगरपालिका क्षेत्रमा, कुखुरामा बर्डफ्लु रोग फेलापरेको पुष्टि भएपछि बर्डफ्लु नियन्त्रणका लागि गठन भएको ‘र्यापिड रेस्पोन्स टीम’ सक्रिय भएको छ।
टीकापुर नगरपालिका– ९ की कल्पनाले पालेको कुखुरामा बर्डफ्लु रोग देखिएको आशङ्कामा परीक्षण गरेपछि पुष्टि भएको क्षेत्रीय पशुरोग निदान प्रयोगशाला धनगढीका वरिष्ठ पशुचिकित्सक डा. डिकरदेव भट्टले बताउनुभयो।
कल्पनाले पालेको कुखुरामध्ये दुईवटा कुखुरा मरेपछि सङ्कलन गरिएको नमुनाको परीक्षण गर्दा बर्डफ्लु देखिएको प्रमाणित भएको डा. भट्टले बताउनुभयो।
बर्डफ्लु रोग रोकथामका लागि र्यापिड रेस्पोन्स टीमसँगै थप तीन टोली प्रभावित क्षेत्र परिचालन गर्ने कार्य सुरु गरिएको छ। यी टोलीले प्रभावित क्षेत्रमा पन्छी र पन्छीजन्य पदार्थ नष्ट गर्नेलगायतका कार्य गर्ने बताइएको छ।
सुदूरपश्चिममा बर्डफ्लु रोग फेलापरेको यो पहिलोपटक हो। बर्डफ्लु प्रभावित क्षेत्रबाट पन्छी र पन्छीजन्य पदार्थ भित्रिने गर्दा यो रोगसमेत भित्रिने गर्दछ। कैलाली, कञ्चनपुरमा सीमावर्ती क्षेत्रबाट पन्छी र पन्छीजन्य पदार्थको आवतजावत अवैध ढङ्गले हुँदैआएको छ।
एचकेनेपाल डट कम संवाददाता-
सङ्घीय लिम्बुवान् विद्यार्थी युनियनले आह्वान गरेको बन्दका कारण लिम्बुवान् क्षेत्रका ९ जिल्लामा यातायात, बजार तथा शैक्षिक संस्था शुक्रबार ठप्प भएका छन्।
बन्दका कारण यहाँका कुनै पनि विद्यालय, कलेज, यातायात र बजार खुल्नसकेका छैनन्। गतवर्ष चैत ५ गते स्ववियु निर्वाचनताका प्रहरी र लिम्बुवान् विद्यार्थीबीच झापाको धुलाबारी क्याम्पस परिसरमा झडप हुँदा मेची बहुमुखी क्याम्पस भद्रपुरका मनिल तामाङको मृत्यु भएको थियो।
लिम्बुवान् सम्बद्ध विद्यार्थीले उनलाई सहिद घोषणा गर्नुका साथै रु. १० लाख क्षतिपूर्तिको माग गरेका छन्।
मृत्यु भएको एक वर्ष बित्दासमेत सरकारले देखाएको उदासिनताका कारण दबाबस्वरूप बन्द गर्नुपरेको उनीहरूले राससलाई जानकारी दिए।
उनीहरूले सरकारले अझै बेवास्ता गरेमा आइतबारदेखि अनिश्चितकालीन आमहडताल गर्ने चेतावनी दिएका छन्।
एचकेनेपाल डट कम संवाददाता-
पुराणवाचन गर्दै धार्मिक कार्यमार्फत सामाजिक कार्यका लागि आर्थिक सहयोग जुटाउँदै हिँड्ने पण्डित दिनबन्धु पोखरेलले आफ्नो नाम गिनिजबुकमा लेखाउने दाबी गर्नुभएको छ।
विराटनगर–१ पोखरियामा भइरहेको महायज्ञ वाचन गनेक्रममा उहाँले सार्वजनिकरूपमा उक्त दाबी गर्नुभयो।
आफूले चलाएको अध्यात्मिक अभियानअर्न्तगतको पुराणवाचन गरेर आठौँँै अर्ब उठाइसकेको बताउँदै उहाँले भन्नुभयो– ‘आध्यात्मिकरूपले सामाजिक कार्यका लागि त्यति धेरै रकम जुटाउनेमा पहिलो व्यक्ति भएकाले गिनिजबुकमा नाम लेखाउने दाबी गरेका हुँ।’
उहाँले यसका लागि आफू चाँडै लन्डन जाने जानकारी दिनुभयो।
आफ्नो समूहले देशका ५० जिल्लामा अध्यात्मिक अभियान चलाइसकेको बताउनुका साथै पण्डित पोखरेलले आफ्नो समूहमा वकिल, प्राध्यापक, समाजसेवीलगायतका व्यक्ति रहेकाले आफूहरू राष्ट्रहितप्रति सधैँ समर्पित रहेको छौँ भन्नुभयो।
एचकेनेपाल डट कम संवाददाता-
दैलेखमा बिहीबार भएको दुर्घटनामा परी घाइते भएकामध्ये थप दुईजनाको मृत्यु भएको छ। कालिकोटको मान्मबाट सुर्खेतको वीरेन्द्रनगरतर्फ आउँदैगरेको यात्रुबाहक बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या अब ३३ पुगेको छ।
काक्रेबिहार यातायात समितिको ना.३ख ५८६८ नम्बरको बस बिहीबार बिहान दैलेखको पिपलकोट ७ किटु चुईकेको भिरबाट खसेर कर्णाली नदीमा डुबेको थियो।
बिहीबार साँझदेखि रोकिएको उद्धार कार्य शुक्रबार बिहानदेखि फेरि सुरु गरिएको छ।
उद्वार कार्यका लगि सशस्त्र प्रहरीको १३ जनाको गोताखोर टोलीले घटनास्थलमा खोजी कार्य जारी राखेको र मर्नेको सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ।
मृत्यु भएकामध्ये हालसम्म २८ जनाको सनाखत भएको र बाँकीको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।
नदीमा खसेको सो बस निकाल्ने काम पनि भइरहेको जनाइएको छ।
उद्वारका लागि क्षेत्रीय प्रहरी प्रमुख डिआजी दिनकरशम्शेर जबरा, क्षेत्रीय प्रशासक धनराज रताला, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी ६२ जनाको टोली दुर्घटनास्थल पुगेको थियो।
कालिकोटबाट बस हिँड्दा ४२ जनाको चलानी बुझेर हिँडे पनि बीच बाटोमा यात्रुहरू बसमा चढेकाले कति यात्रु थिए भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ।
घटनास्थल दैलेख सदरमुकामबाट दुई दिनको पैदल दूरीमा पर्दछ भने सुर्खेतबाट करिब एकसय किलोमिटर टाढा पर्दछ।
एचकेनेपाल डट कम संवाददाता-
आज बिहान कर्णाली राजमार्गको किट्टुनजिक एउटा यात्रुवाहक बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ।
ना३ख ५८६८ नम्बरको बस बिहान करिब ७ बजे दुर्घटना भएर कर्णाली नदीमा खसेको थियो।
उद्धारको लागि दैलेख, अछाम र कालिकोटबाट सुरक्षाकर्मीहरु दुर्घटनास्थल पुगेको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ। घाइतेको उद्धारको लागि सुर्खेतबाट हेलिकोप्टर पठाइएको छ।
एचकेनेपाल डट कम संवाददाता-
नेपालमा बसोबास गर्ने मुस्लिमहरूको राष्ट्रिय भेलाले नयाँ संविधान निर्धारित समयमा नै जारी गर्नुपर्ने दबाब दिन राष्ट्रव्यापी आन्दोलन गर्ने भएको छ।
पूर्वाञ्चल मुस्लिम सङ्घर्ष समितिद्वारा आयोजित भेलाले आन्दोलनको भावनाअनुरुप मुस्लिमलगायत सम्पूर्ण जातजाति, भाषाभाषीको पहिचानसहितको समानुपातिक अधिकारको संंविधान जारी गर्न सात बुँदे प्रस्ताव पारित गरेको छ।
भेलामा पूर्व गृहराज्यमन्त्री रिजवान अन्सारी, ताज महमद मियाँ र मुस्लिम नागरिक समाज नेपालका केन्द्रीय सदस्य अब्दुल रज्जाकलगायतका वक्ताहरूले आफूले प्रस्ताव गरेका सात सुत्रीय माग पूरा हुनुपर्नेमा जोड दिनुभयो।
एचकेनेपाल डट कम संवाददाता-
संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश रामप्रसाद श्रेष्ठलाई नियुक्त गर्न सिफारिस गरेको छ।
परिषद्को सिंहदरबारमा बसेको बैठकले उहाँलाई सो पदमा सिफारिस गरेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कानुन तथा न्यायमन्त्री प्रेमबहादुर सिंहले सर्वोच्च अदालतको वरिष्ठताका आधारमा श्री श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको जानकारी दिनुभयो।
बहालवाला प्रधानन्यायाधीश अनुपराज शर्माको पदावधि यही चैत १२ गते सकिने भएकाले परिषद्ले सो पदका लागि श्रेष्ठलाई सिफारिस गरेको जनाइएको छ।
विसं २००३ वैशाख २३ गते पाल्पामा जन्मनुभएका श्रेष्ठ विसं २०२८असारदेखि न्यायसेवामा प्रवेश गर्नुभएको हो। राजनीतिशास्त्रमा स्नातकोत्तर, कानुनमा स्नातक र सार्वजनिक प्रशासनमा स्नातक श्रेष्ठ विसं २०५९ मा सर्वाेच्च अदालतमा अस्थायी न्यायाधीशमा नियुक्त हुनुभएको थियो।