एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति भए आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने व्यक्तिको विकल्पमा लचकता अपनाउन सक्ने बताउनुभएको छ।
राजधानीका विभिन्न सञ्चारमाध्यमका पत्रकारसँग आयोजित अनौपचारिक कुराकानीमा उहाँले भन्नुभयो– ‘हुन त हाम्रो पार्टीको केन्द्रीय समिति बैठकले हाम्रो नेतृत्वमा सरकार बन्ने स्थिति आएमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा सरकारमा जाने निर्णय गरिसकेको छ, तर हामी यति लचक पनि छौं कि राष्ट्रिय सहमति बनेमा यसबारेमासमेत हाम्रो पार्टी लचक हुनसक्छ।’
यद्यपि उपाध्यक्ष श्रेष्ठले विदेशी शक्तिहरूले यो वा त्यो नाम अगाडि सारेर आफ्नो पार्टीभित्र खेल्न खोजेको आरोप पनि लगाउनुभयो।
आफ्नो पार्टीलाई राष्ट्रिय स्वाधीनता, सेना समायोजन र नयाँ संविधान निर्माण गर्ने सवालमा आत्मसमर्पण गराउन खोजिए सहमति हुन नसक्ने टिप्पणी गर्दै उहाँले विगतमा भएका सबै समझदारीका आधारमा नै सहमति खोज्नुपर्छ भन्नुभयो।
गत चैत ५ गते एमाओवादी, नेपाली काँग्रेस र नेकपा एमालेले सभामुखलाई समेत जानकारी गराएर जेठ १४ गतेभित्रै संविधान जारी गर्ने सहमति गरे पनि काँग्रेस र एमालेले आलटाल गरेर अहिले तोकिएको समयमा संविधान बन्दैन भन्दै हिँडेको आरोप लगाउँदै उपाध्यक्ष श्रेष्ठले भन्नुभयो– ‘दलहरूबीच सहमति नभई संविधानसभाको अवधि बढाउनुको कुनै अर्थ छैन, आपसी सहमति भए मात्र यसो गर्न सकिन्छ।’
यही वैशाख १८ गते बेलुकासम्म सहमति नभए आमहड्तालमा जानुको विकल्प नरहने अडानमा जोड दिंदै उहाँले आन्दोलन भने शान्तिपूर्ण, संयमित र मर्यादित नै हुने दाबी गर्नुभयो।
तत्काल जनविद्रोहमा जाने आफ्नो पार्टीको अहिलेको एजेन्डा नै नभएको जीकिर गर्दै उहाँले तर्क गर्नुभयो– ‘तर शान्ति भाँडेर मुलुकलाई गृहयुद्धमा लगियो, संविधान बनाउन दिइएन भने त्यतिबेला जनता टुलुटुलु हेरेर बस्दैनन्, जनविद्रोहमा जान बाध्य हुनेछन्।’
एचकेनेपाल डट कम संवाददाता-
नेपाल बार एसोसिएसनले संविधान र संविधानसभाको अस्तित्वकालमा बाहिरबाट समस्याको समाधान नखोज्न सम्बद्ध सबैपक्षको ध्यानाकर्षण गराएको छ।
मुलुकमा विकसित पछिल्ला घटनाक्रमबाट बारको गम्भीर ध्यानाकर्षण भएको भन्दै महासचिव विजयप्रसाद मिश्रले जारी गरेको विज्ञप्तिमा इच्छा विपरीत चन्दा सङ्कलन, हतियार प्रदर्शनजस्ता मानवअधिकार हनन्का घटना हुन नदिन आग्रह गरिएको छ।
एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष डा.बाबुराम भट्टराईले सत्ताका लागि नभई राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, स्वाभिमानी देशभक्त नेपालीका पक्षमा आफूहरु आन्दोलित हुनुपरेको बताउनुभएको छ।
देशभक्त गणतान्त्रिक एकता अभियानद्वारा आज यहाँ आयोजित “आसन्न जनआन्दोलन–३ मा देशभक्तहरुको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले वैशाख १८ गतेसम्म सहमति नभए शान्तिपूर्ण आन्दोलन गर्नुको विकल्प नहुने बताउनुभयो।
माओवादी जनआन्दोलनप्रति केही आमसञ्चार माध्यम भ्रम फैलाउन लागि परेको उल्लेख गर्दै उहाँले भन्नुभयो– “हजारौँ जनताको सहभागितामा आयोजना हुने तेस्रो जनआन्दोलनले मुलुकमा राजनीतिक स्थायित्व, दिगो शान्ति र समृद्धिसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नेछ।”
यस अवसरमा पत्रकार पद्म ठकुराठी, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य केदारनाथ राई, नेकपा (एमाले)का गणेश आचार्य र नेपाली काँग्रेसका नीलम्बर तिमल्सिनाले आसन्न आन्दोलनलाई ऊर्जा प्रदान गर्ने उद्देश्यले आफूहरु आजदेखि एकीकृत नेकपा (माओवादी)मा प्रवेश गरेको घोषणा गर्नुभयो।
एचकेनेपाल डट कम संवाददाता-
संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायमा नियुक्ति गरेको सिफारीशलाई कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
न्यायाधीशहरू बलराम केसी, रामकुमारप्रसाद शाह र मोहनप्रसाद सिटौलाको विशेष इजलासले पूर्ण सुनुवाइ नहुन्जेलसम्मका लागि तत्काल कार्यान्वयन नगराउन आदेश दिएको हो।
वैशाख १२ गते संवैधानिक नियुक्ती वदर गर्नका लागि एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो।
यही वैशाख १० गते लामो समयसम्म नेतृत्वविहीन चारवटा महत्वपूर्ण संवैधानिक निकायमा १० जनालाई सरकारले नियुक्ती गर्न सिफारीश गरेको थियो।
आफू अनुपस्थित संवैधानिक परिषदले गरेको सो निर्णयलाई संसदीय सुनुवाइ समेत नगर्ने मागसहित माओवादी अध्यक्ष दाहालले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो।
एचकेनेपाल डट कम संवाददाता-
संयुक्त राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्तको कार्यालयले आगामी विरोधका कार्यक्रममा संयमता अपनाउन सम्बद्ध सबैपक्षसँग आह्वान गरेको छ।
एकीकृत नेकपा (माओवादी)द्वारा घोषित विरोध कार्यक्रमका सन्दर्भमा उक्त कार्यालयले माओवादी, सरकार र सुरक्षाफौजलाई हिंसा हुन नदिन उच्चस्तरको संयम अपनाउन आग्रह गरेको छ।
उक्त कार्यालयले आज एक विज्ञप्ति जारी गरी हतियार प्रदर्शन गर्नेलगायत कुनै किसिमका आक्रामक एवम् उत्तेजक व्यवहार नगर्न माओवादीलाई आग्रह गर्दै कानूनको पालना गर्ने निकायहरूलाई मानवअधिकार तथा अन्तर्राष्ट्रिय मापदण्डको सम्मान गर्न अनुरोध गरेको छ।
एचकेनेपाल डट कम संवाददाता-
प्रहरीले सुन्धारास्थित मेची–महाकाली गेष्ट हाउसमा छापा मारेर पेट्रोल बम बनाउन प्रयोग हुने सामग्री बरामद गरेको छ।
बरामद गरिएका सामग्रीमा चारसय लिटर पेट्रोल, दुइ बोरा गुलेली, एकबोरा गुच्चा, दश बोरा खाली सिसी र काठको भुस तथा सुती कपडा रहेका छन्।
कुपण्डोल ठेगाना लेखिएका कृष्ण घिमिरेको नाममा बुधवार बेलुकी बुक गरिएको सो गेष्ट हाउसको कोठा नं. १०३ बाट ती सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
काठमाडौँ प्रहरी परिसर प्रमुख एसपी रमेश खनालले बरामद गरिएका सो सामान एकीकृत नेकपा (माओवादी)ले आयोजना गर्न लागेको जनप्रदर्शनका लागि जम्मा पारिएको हुनसक्ने जानकारी दिनुभयो।
प्रहरीले सो गेष्ट हाउसका सञ्चालक अजव पाण्डेलाई पक्राउ गरी आवश्यक सोधपुछ गरेको छ। सञ्चालक पाण्डेले आज विहान केही व्यक्तिसम्मिलित जमातले ‘यो हाम्रो खाजा हो’ भन्दै सुरक्षित राख्नका लागि होटलमा ल्याएको भनी बयान दिएका छन्।
माओवादीको जनप्रदर्शन हिंसात्मक हुनसक्ने आशङ्कामा प्रहरीले राजधानीका विभिन्न शङ्कास्पद स्थानहरुमा छापा मार्नुका साथै सुरक्षा स्थिति कडा बनाइरहेको छ।
एचकेनेपाल डट कम संवाददाता-
मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउनुभएका नेपाली काँग्रेस सुनसरीका कोषाध्यक्ष तथा नेपाल विद्यार्थी सङ्घका भूतपूर्व उपाध्यक्ष वासु कोइरालाको आज सुनसरीखोलामा दाहसंस्कार गरियो।
उहाँको पार्थिक शरीरमा काँग्रेसका नेताहरू डा.रामशरण महत, कृष्णप्रसाद सिटौला, शेखर कोइराला, शशाङ्क कोइराला, हरि सापकोटा,रामबहादुर बस्नेत, विश्वप्रकाश शर्मालगायतले श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो।
यसैबीच उक्त पार्टीका कार्यवाहक सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेलले आज बेग्लाबेग्लै शोकवक्तव्य जारी गरी नेपालको प्रजातान्त्रिक आन्दोलनमा श्री कोइरालाले योगदान पुर्याएको उल्लेख गर्नुभएको छ।
वक्तव्यमा उहाँहरूले कोषाध्यक्ष कोइरालाको असामयिक निधनबाट पार्टीलाई अपुरणीय क्षति पुगेको भन्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुका साथै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ।
त्यसैगरी नेपाल विद्यार्थी सङ्घ त्रिभुवन विश्वविद्यालय समितिले पनि श्री कोइरालाको निधनप्रति शोक व्यक्त गरेको छ।
एचकेनेपाल डट कम संवाददाता-
माओवादीले आह्वान गरेको जनआन्दोलन अराजक, हिंसात्मक तथा अशान्ति निम्त्याउने ठहर गर्दै माओवादीका लडाकु, वाईसीएल र जिल्ला तहका नेता तथा कार्यकर्ताले पार्टी त्याग गरेको घोषणा गरेका छन्।
पार्टी त्याग गर्नेहरूमा कैलाली, सुर्खेत र रोल्पास्थित माओवादी सैन्य शिविरका कमाण्डर तहका ४४ जना लडाकू र एक दर्जन बढी जनमुक्ति सेनासहित दुई सय आठ जना माओवादी कार्यकर्ताहरू रहेका छन्। उनीहरूले विहीबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर माओवादीले आह्वान गरेको जनआन्दोलनप्रति बेमति जनाउंदै पार्टी त्यागको घोषणा गरेका हुन्।
उनीहरूले प्रचण्डको भ्रममा नपर्न अरूलाई आग्रह गर्दै जुन लक्ष्य लिएर माओवादीमा प्रवेश गरेको थियो, त्यो लक्ष्य छोडेर माओवादी नेताहरू सत्ता लिप्सामा लागेकोले आफूहरूले विद्रोह गरेर पार्टी त्याग गर्नु परेको बताए।
माओवादीवाट विद्रोह गरेर पार्टी त्याग गर्नेहरू संघीय राष्ट्रिय लोकतान्त्रिक मञ्चमा आवद्ध भएका छन्।
एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी)को आन्दोलन परिचालन समितिको विहीबार विहान बसेको बैठकले जनआन्दोलनलाई व्यवस्थित गर्ने निर्णयसहित १८ गतेदेखि सुरू हुने जनआन्दोलनको नेतृत्व कहाँबाट, कसले गर्नेलगायत आमहड्तालका नाराहरू सार्वजनिक गरेको छ।
बैठकले सरकार दमनको तयारीमा रहेको भन्दै शान्तिपूर्ण आन्दोलन गर्ने अधिकारलाई कुण्ठित नगर्न सरकारसंग आग्रह गर्ने निर्णय गरेको छ। बैठकले जनप्रदर्शनको हालसम्म भएको तयारी व्यवस्थित र उत्साहजनक भएको समीक्षा गरेको छ। त्यसै गरी, प्रहरीले चलाएका छापामार्ने, खानतलासी लिने, धम्क्याउनेलगायतका देशव्यापी दमन र राज्यआतंकको भण्डाफोर गर्ने निर्णय गरेको छ। आमहडतालको बेला अस्पताल, औषधि पसल, एम्बुलेन्स, दुधका ट्याङकर, फोहर उठाउने गाडी, पानीट्याङ्कर, युएन तथा कुटनीतिक नियोगका गाडीहरू चल्न दिने निर्णय पनि एकीकृत माओवादीले गरेको छ।
कसले कहाँबाट नेतृत्व गर्नेः
काठमाडौं: अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सहित उपाध्यक्षत्रय
विराटनगरः सचिव सीपी गजुरेल
जनकपुरः गिरिजामणि पोखरेल
पोखराः टोपबहादुर रायमाझी
दाङः लिलामणि पोखरेल
दिपायलः अमिक शेरचन
नाराहरूः
कठपुतली सरकार विघटन गर!
राष्ट्रिय संयुक्त सरकार गठन गर!
शान्ति र संविधान सुनिश्चित गर!
प्रतिक्रान्तिकारी षडयन्त्र बन्द गर!
सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिहरू एकजुट होऔं!
राष्ट्रिय स्वाधीनताको रक्षा गरौं!
राष्ट्रपतिको असंवैधानिक कदम खारेज गर!
नागरिक सर्वोच्चता कायम गर!
संवैधानिक परिषद्को नियुक्ति खारेज गर!
बढ्दो महँगी नियन्त्रण गर!
भ्रष्टाचारीमाथि कार्वाही गर!
सन् १९५० को सन्धिलगायतका सम्पूर्ण असमान सन्धि-सम्झौता खारेज गर!
जनताको संघीय गणतन्त्र जिन्दावाद!
एचकेनेपाल डट कम संवाददाता-
सरकारले जनआन्दोलनमा हस्तक्षेप गरी दमन गर्ने तयारी गरिरहेको भन्दै शान्तिपूर्ण आन्दोलन गर्ने अधिकारलाई कुण्ठित नगर्न माओवादीले सरकारसंग आग्रह गरेको छ।
माओवादी केन्द्रीय कार्यालयमा विहीवार विहान बसेको जनआन्दोलन संयोजन समितिको बैठकले सरकारले हस्तक्षेपको तयारी गरिरहेको निश्कर्ष निकाल्दै दमन नगर्न सरकारसंग आग्रह गर्ने निर्णय गरेको छ। जनआन्दोलनको पूर्व सन्ध्यामा माओवादी कार्यकर्ताहरु बसिरहेको स्थानमा प्रहरी हस्तक्षेप बढ्न थालेपछि छिट्टै सुरक्षा अधिकारीहरूसंग अन्तर्क्रियासमेत गरिने जनाएको छ। माओवादीले आन्दोलन पूर्णतय शान्तिपूर्ण बनाउन आफ्ना कार्यकर्ताहरू परिचालन गरिने बताएको छ।
एचकेनेपाल डट कम संवाददाता-
रक्षामन्त्री विद्यादेवी भण्डारीले माओवादीको आह्वानमा हुन लागेको आन्दोलनविरुद्ध सरकारले सेना परिचालन गर्न सक्ने चेतावनी दिएकी छन्।
विहीवार विहान सिंहदरवारमा बसेको १० दलको बैठकपछि सञ्चारकर्मीहरू बोल्दै भण्डारीले सेना परिचालनबारे छिट्टै निर्णय हुने जानकारी दिएकी छन्।
माओवादीले हिंसाबाट सत्ता कब्जा गर्न खोजे सेना र सबै सुरक्षा निकायलाई परिचालन गरिने बताएकी छन्। मन्त्री भण्डारीले सबै सुरक्षा निकायलाई सतर्कतामा राखेको बताउंदै माओवादीले शनिवारदेखि सुरू गर्न थालिएको आन्दोलन हिंसात्मक भए सेना चुप लागेर नबस्ने बताएकी छन्।
एचकेनेपाल डट कम संवाददाता-
नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री तथा नेपाली कांग्रेसका युवा नेता बासु कोइरालाको बुधवार राति मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।
सुनसरी इनरुवा-७ का ३८ वर्षीय कोइराला पूर्वपश्चिम महेन्द्र राजमार्ग खण्डको भोक्राहा-५ मा मोटर साइकल करीव पौने दश वजे दुर्घटनामा परेका थिए। विग्रेर रोकिराखेको ना १ ख ७८७० नम्बरको मालवाहक ट्रकमा कोइरालाले हाँकेको ३ प २७८६ नं.को मोटर साइकल ठोक्किदा उनको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।
तत्कालीन राजा ज्ञानेन्द्रले शेरबहादुर देउवाको सरकार अपदस्थ गरेपछि चर्केको आन्दोलनमा कोइरालाले नेबि संघको महामन्त्रीको हैसियत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
संघीय मञ्चद्वारा वर्तमान राजनीतिप्रति धारणा सार्वजनिक,
सरकारविरुद्धको आन्दोलनमा समर्थन र सर्वदलीय राष्ट्रिय सरकारको माग
डीबी आङबुङ, नेवाः काठमाडौं -
नेपालका संविधान सभामा सहभागी २५ वटा राजनीतिक दलहरुमध्ये एक संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले यही वैशाख १४ र १५ मा पार्टीको संघीय कार्य समितिको विशेष बैठक सम्पन्न गरी वर्तमान राजनीतिक अवस्था र त्यसको निकासका लागि आफ्नो राजनीतिक अवधारणा र आन्दोलनको कार्यक्रमहरु वैशाख १६ गते रिपोर्टस क्लब नेपालमा एक पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
पत्रकार सम्मेलनमा पार्टीको पे्रस विज्ञप्ति मञ्चका महासचिव खगेन्द्र माखिले पढेर सुनाएका थिए भने आफ्नो पार्टीको निर्णयप्रति प्रकाश पार्दै अध्यक्ष कुमार लिङदेन ‘मिराक’ले सञ्चारकर्मीद्वारा सोधिएको प्रश्नको जवाफसमेत दिएका थिए।
मञ्चद्वारा उक्त पत्रकार सम्मेलनमा प्रेसित प्रेस विज्ञप्तिमा भनिएको छ-
‘’संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय कार्य समितिको बैठक मञ्चका अध्यक्ष कुमार लिङदेन ‘मिराक’को अध्यक्षतामा यही वैशाख १४ र १५ गते मञ्चको कार्यालय अनामनगरमा बसी निम्न निर्णयहरु गरेको छ।
१ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको निर्णयविना कथित विशेष महाधिवेशन गरेको भ्रम फैलाई मञ्चको नाम र झण्डा अनाधीकृत रुपमा दुरुपयोग गरी केही व्यक्तिहरु दौडिरहेका छन् । यो राजनीतिक बेइमानीप्रति यस मञ्च घोर आपत्ति जनाउँदछ । यसपछि मञ्चको आधिकारिकताका लागि हामी बहुमत सदस्यहरुले निर्वाचन आयोगमा निवेदन दिएकाछौं र त्यसको कानुनी प्रकि्रया द्रुत गतिमा अघि बढिरहेको छ । मञ्चको आधिकारिकताबारे चाडो निर्णय गरिदिन निर्वाचन आयोगलाई आह्वान गर्दछौं।
२ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको लक्ष्यहरु प्राप्त गर्न संविधान सभाभित्र र बाहिरको संघीय, लोकतान्त्रिक, गणतान्त्रिक, धर्मनिरपेक्ष र जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहितको स्वायत्त राज्यहरुको निर्माण पक्षधर राजनीतिक शक्तिहरुसँग मोर्चाबन्दी गरी सशक्त संघीय गणतान्त्रिक आन्दोलन अघि बढाउने निर्णय गरेको छ।
३ यस मञ्चले तोकिएको समय जेष्ठ १४ गते नै संविधान घोषणा हुनुपर्छ भन्दै आएको छ तर कांग्रेस एमाले र ए माओवादीबीचको कुर्सीको झगडा र यी पार्टीहरुलाई उचाल्न र पछार्न भूमिका खेल्ने फोरम र तमलोपाको कारण तोकिएको समयमा संविधान बन्न नसक्ने पक्का भएको छ । इतिहासले यी पार्टीहरुलाई कहिल्यै माफ गर्ने छैन । यी दलहरुको कुर्सी लुछाचुडीको यही मौकालाई छोपेर प्रतिकि्रयावादी पुनरुत्थानवादी र एकात्मकवादी तत्वहरुले संविधान सभा असफल भएको र अब नयाँ चुनाव गराउनु पर्ने घातक आवाज उठाउन थालेका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पुनः संविधान सभाको चुनाव गर्ने प्रतिकि्रयावादी खेलमा सहमत छैन । संविधान सभामा उपस्थित दलहरुबीचको सर्वपक्षीय सहमतिमा अन्तरिम संविधानले व्यवस्था गरे अनुसार यही संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालअन्तर्गत नेपाल सरकार र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबीच २०६४ फागुन १८ गते सम्पन्न पाँचबुँदे सहमति अनुसार जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहितको लिम्बुवान, खम्बुवान, तामाङसालीङ, मिथिला, नेवाः, तमुवान, मगरात, थरुहट, खसान स्वायत्त राज्यसहितको संघीय गणतान्त्रिक नेपालको नयाँ संविधान घोषणा गरिनुपर्दछ भन्ने पक्षमा यस माच रहेको छ।
४ अन्तरिम संविधानको भावना र नेपाली जनताको चाहना अनुसार यो सङ्क्रमणकालमा संविधान सभामा उपस्थित् दलहरुको साझा राष्ट्रिय सरकार बनोस् अहिले नै पक्ष-प्रतिपक्षमा नजाऊँ भनेर यस माचले शुरुदेखि नै आफ्नो धारणा प्रष्ट पार्दै आएको छ । तर लोकतान्त्रिक चुनावको उपहास गर्दै दुई ठाउँबाट पराजित व्यक्तिको नेतृत्वमा विभिन्न पार्टीहरुलाई तोडफोड गरेर कथित समर्थन बटुल्दै वर्तमान सरकार निर्माण भएको सर्वविदितै छ । यो सरकारका जिम्मेवार मन्त्रीहरु अन्तरिम संविधानमा उल्लेख भईसकेको संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र विस्तृत शान्ति सम्झौताको विपक्षमा खुलेआम भाषणवाजी गरिरहेका छन्।
जमिन शाहको हत्यामा प्रहरी अधिकृतहरुको संलग्नता, बर्दियामा तीन दलित महिलाहरुको सेनाद्वारा रहस्यमय हत्या, एमआरपी छपाईसम्बन्धी राष्ट्रघाती निर्णयलगायतका दर्जनौं जनविरोधी कि्रयाकलापहरु वर्तमान सरकारले गरिरहेको छ। संघीय मञ्च र त्यससँग सम्बद्ध राज्य परिषदहरु र अन्य परिवर्तनकारी शक्तिहरुलाई पाखा लगाएर अप्राकृतिक गठबन्धन गरी चलेको यस सरकार अझ कायम रहे देश भयवाह स्थितिमा पुग्नेछ । त्यसैले, यस सरकारको तुरुन्त विघटन गरी संविधान सभामा उपस्थित सबै दलहरु सम्मिलित राष्ट्रिय सरकार बन्नु नै अहिलेको आवश्यकता र सही विकल्प हो।
एनेकपा माओवादीले यही वैशाख १८ गतेदेखि यो सरकारको विरुद्धमा गर्ने भनेको आन्दोलनप्रति हाम्रो ध्यानाकर्षण भएको छ । आफूलाई संघीय गणतन्त्रको पक्षधर बताउने एनेकपा माओवादीले सरकारमा वा सडककमा रहँदा सोही मुद्दाको लागि सङ्घर्षरत अन्य शक्तिहरुसँग कुनै वार्ता सहकार्य नगर्ने उसको अहम र एकाङ्गी चरित्रको हामी आलोचना गर्दछौं । तर यो सरकार अत्यन्त जनविरोधी राष्ट्रघाती आदिवासी/जनजाति, महिला, दलित मुस्लिम आदिको हक अधिकार विरोधी भएकोले यसको विरुद्धमा आन्दोलन गर्नु जायज छ । एनेकपा माओवादीको वैशाख १८ गतेदेखिको सरकार विरोधी आन्दोलन कुनै खालको सहमतिमा नटुङ्गीकन साँच्चिकै नेपाली जनताको परिवर्तनकारी चाहना अनुसार नै आन्दोलन अघि बढ्छ भने उक्त आन्दोलनप्रति यस संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद, खम्बुवान स्वायत्त राज्य परिषद र तामाङसालीङ स्वायत्त राज्य परिषदको नैतिक समर्थन रहनेछ।
५ यस मञ्चले आफ्नो आन्दोलनलाई अघि बढाउन र संगठन सुदृढ गर्न जेठ महिनाभित्रमा विभिन्न स्वायत्त राज्यहरुको निम्न स्थाहरुमा CCO (C= Contact (सम्पर्क) C=Counselling (परामर्श) र O= Organization (सङ्गठन मिर्माण) अभियान तथा एकात्मकवादी, संघीयता (जातीय संघीयता) र धर्म निरपेक्षता विरोधीहरुका विरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्नेछ।
कार्यक्रमः
लिम्बुवानको इटहरीमा वैशाख २६ गते विशाल आमसभा, खम्बुवानको उदयपुरमा, तामाङसालीङको सिन्धुली, दोलखा, रामेछाप, हेटौडा र उपत्यकामा संघीय गणतान्त्रिक नेपालमा तामाङसालीङ स्वायत्त राज्य विषयक विचार गोष्ठी, नेवाःको काठमाडौं उपत्यकामा संघीय गणतन्त्र नेपालमा संघीय संरचनाको पार्टीबारे वौद्धिक वर्गहरुसँग बृहत अन्तकि्रया, मिथिलाको जनकपुर वीरगाजमा, थरुहटको दाङ र कैलालीमा, तमुवानको पोखरामा, मगरातको पाल्पा, रुकुम र रोल्पामा, यसरी नै लाहान चितवन र बुटुवलमा पनि कार्यक्रम सञ्चालन गरिनेछ।
६ शान्ति प्रकि्रया निष्कर्षमा नपुगेकोले अनमिनको म्याद थप्नुपर्ने,
७ सेना समायोजन विस्तृत शान्ति सम्झौता अनुसार हुनुपर्ने र त्यसबारेको छलफलमा २५ वटै दललाई समावेश गरिनुपर्दछ।
८ आन्तरिक द्वन्द्वमा सेना परिचालन गर्न नहुने सेनालाई सिमाना रक्षाको लागि तैनाथ गर्नुपर्ने,
९ मञ्च संक्षिप्त संविधानको पक्षमा छैन। मञ्चले प्रस्ताव गरेको स्वायत्त राज्यहरुसहितको पूर्ण संविधान निर्माण हुनुपर्दछ।
१० अन्तरिम संविधानमा नै संघीयता गणतन्त्र र धर्म निरपेक्षताको घोषणा भइसकेकोले यसको विरुद्धमा बोल्ने र विभिन्न अवािञ्छत कि्रयाकलाप गर्नेलाई कानुनी कार्वाही गर्नुपर्ने,
११ कानुन निर्माण गरी आई। एल। ओ। महासन्धि १६९ लाई तुरुन्त लागू गर्नुपर्ने र संघीयतको घोषणा भइसकेकोले अहिलेको एकात्मक अन्तरिम सरकारले जल जङ्गल र जमिनसँग सम्बद्ध विभिन्न सम्झौताहरु गर्न तत्काल रोकिनु पर्न,
१२ राज्यको सम्पूर्ण अङ्गमा आदिवासी/जनजाति, दलित, महिला मेधेशी र मुस्लिमहरुलाई समानुपातिक प्रतिनिधित्व गरिनुपर्ने,
१३ सम्पूर्ण विद्यालयहरुमा इच्छुक विद्यार्थीहरुलाई मातृभाषामा शिक्षा लिनु पाउने व्यवस्था तुरुन्त गरिनुपर्ने,
१४ लिम्बुवान विश्वविद्यालय, खम्बुवान विश्वविद्यालय, तामाङसालीङ विश्वविद्यालय लगायतका स्वायत्त राज्ज स्तरिय विश्वविद्यालयहरु खोल्न तत्काल पहल गरिनुपर्ने,
१५ महङ्गी, लोडशेडिङ, भ्रष्टाचारको तत्काल नियन्त्रण गर्नुपर्ने र निजी विद्यालयहरुले मनोमानी गरेको शुल्कवृद्धि खारेज गर्नुपर्ने,
१६ बर्दियामा भएको तीन दलित महिलाको हत्याको सही छानवीन गर्न २५ दल सम्मिलित सर्वदलीय छानवीन समिति गठन गर्नुपर्ने।
उक्त पत्रकार सम्मेलन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तामाङसालीङ स्वायत्त राज्य परिषदका अध्यक्ष तथा मञ्चका अध्यक्ष मण्डल सदस्य डीके बुद्धिष्ट तामाङ, अध्यक्ष मण्डल सदस्य तथा संघीय महिला मञ्चका अध्यक्ष विष्णु तुम्बाहाङफे र मञ्चसम्वद्ध खम्बुवान स्वायत्त राज्य परिषदका किरण खम्बूसमेतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन लिम्बुवानका महासचिव सूर्य माखिमद्वारा गरिएको थियो।
एचकेनेपाल डट कम संवाददाता-
नेपाल आदिवासी जनजाति महासंघलगायत विभिन्न जातीय संघ-संस्थाहरुले शान्ति र संविधानका लागि भन्दै मंगलबार संबिधानसभा घेराउ गरेका छन्।
नेपाल आदिवासी जनजाति महासंघ, संघीय परिषद् र नेवाः स्वायत्त राज्य संयुक्त संघर्ष समितिको संयुक्त आह्वानमा राजधानीका विभिन्न भागबाट निस्केको र्रयालीमा वाईसीएल कार्यकर्ताहरुको ठूलो उपस्थिति रहेको थियो।
नेवाः स्वायत्त राज्य संयुक्त संघर्ष समितिमा प्रमुख तीन दल एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेका भातृ संगठनहरु आवद्ध छन्। नेवारी परम्परागत बाजागाजा, सांस्कृतिक झाँकीसहित नाँचगान गर्दै हजारौं प्रदर्शनकारीहरुले चारैतिरबाट संविधानसभा घेराऊ गरेका हुन्।
नेवाः स्वायत्त राज्य, शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पुर्र्याउन, संघीय लोकतानित्रक गणतन्त्रलाई संस्थागत गराउन र तोकिएकै समयभित्र संविधान जारी गराउन दबाव दिने उद्धेश्यले संविधानसभा घेराऊ गरिएको प्रदर्शनकारीले जनाए।
व्यापक जनसहभागिताका कारण नयाँ वानेश्वर क्षेत्रमा यातायात अवरुद्ध भएको छ।
एचकेनेपाल डट कम संवाददाता-
अखिल नेपाल ट्रेड युनियन महासंघका उपमहासचिव जगत सिंखडाले वर्तमान सरकार तत्काल विघटन नगरिए मजदुरहरूले सिंहदरबार कब्जा गर्ने चेतावनी दिएका छन्।
वर्तमान सरकारको तत्काल विघटनको माग गर्दै राजधानीमा मंगलबार विहान निकालिएको बृहद् रिक्सा र्यालीपछि संबोधनमा सिंखडाले सो भनाई राखेका हुन्। करीव एक हजार रिक्सासहित प्रदर्शनमा उत्रिएका मजदुरहरुको र्याली बिहान साढे आठ बजे लैनचौर, दरबारमार्ग, पुतलीसडक, भद्रकाली हुँदै रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो।
रिक्सा मजदुरहरुले एक मजदुर एक रिक्साको मागसहित रिक्सा मजदुर संगठनको नाममा चलेका सम्पूर्ण रिक्सालाई बिलबुक उपलव्ध गराउनु पर्ने, ट्राफिक दमन बन्द गर्नुपर्नेलगायतका माग राखेका छन्।
एचकेनेपाल डट कम संवाददाता-
हतियार र विस्फोटक पदार्थ बोकेर काठमाडौँ हिडेका माओवादी कमाण्डर मंगलबार चितवनमा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा माओवादी लडाकु दोस्रो डिभिजन सिन्धुलीको सहायक शिविर उदयपुरका प्लाटुन कमान्डर २४ वर्षीय सन्तोष राई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
उनी ३६ ह्यान्ड ग्रिनेट नामको विस्फोटक पदार्थ र एकथान खुकुरीसहित प्रकाउ परेका हुन्। उदयपुरको कटारीबाट ना ४ ख ३५१ नं.को रात्रीबसबाट काठमाडौ जाँदै गर्दा उनी भरतपुरको गोन्द्राङ्गमा पक्राउ परेका हुन्। पक्राउ परेका उनले आफू माओवादीका एक उच्च नेताको सुरक्षागार्ड भएको बताएका छन्। उनीबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री माधवकुमार नेपाल मंगलबार बिहान भुटान प्रस्थान गरेका छन्।
भुटानको राजधानी थिम्पुमा हुन लागेको १६ औं सार्क सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री नेपाल त्यसतर्फ प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री नेपाल, पत्नी गायत्री, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, योजना आयोगका सदस्य दिनेशचन्द्र देवकोटालगायत १३ सदस्यीय टोली त्यसतर्फ गएका हुन्। यसअघि परराष्ट्रमन्त्री सुजाता कोइरालासहितको टोली भुटान पुगिसेकाछन्।
भुटान प्रस्थान गर्नुअघि प्रधानमन्त्री नेपालले त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा संचारकर्मीहरुसंग बोल्दै नेपालले जलवायु परिवर्तनसम्बन्धी मुद्दालाई उठाउने बताए।
एचकेनेपाल डट कम संवाददाता-
प्रमुख विपक्षी दल एकीकृत नेकपा माओवादीले वैशाख १९ गतेदेखि अनिश्चितकालीन आमहड्तालको घोषणा गरेको छ।
राजधानीमा सोमवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलन काठमाडौं राजधानीसहित देशभरका सदरमुकाम र शहर केन्द्रीत हुने जानकारी दिए। हड्तालकै बीचमा पनि सहमति र सम्वाद जारी रहने बताउंदै सहमति र सम्वादका लागि ढोका खुला रहने प्रचण्डले बताए।
आमहड्ताल आफूहरुको रहर नभएर वाध्यता भएको बताउंदै अध्यक्ष प्रचण्डले शान्ति र संविधानका लागि आमहड्तालको घोषणा गरिएको बताए। मे १ (मजदुर दिवस) का दिन देशभर विशाल प्रदर्शन गरिने र भोलि पल्टदेखि अनिश्चितकालीन आमअड्ताल गरिने बताउंदै अध्यक्ष प्रचण्डले यसलाई तेश्रो जनआन्दोलनको रुपमा ग्रहण गर्न आग्रह गरे।
शान्तिपूर्ण आन्दोलनलाई सरकारले दमन गरे प्रतिकारसमेत गरिने चेतावनी दिए।
भीम गुरुङ, बुटवल / एचकेनेपाल डट कम-
धर्मनिरपेक्षतामा प्रहारको विरुद्व र संविधानमा जनजातिका अधिकार सुनिश्चित गर्न माग गदै यही बैशाख २१ गते जिल्ला प्रशासन कार्यालयमा रुपन्देहीमा व्यापक जनसहभागिता सहित ज्ञापन पत्र बुझाइने भएको छ।
आदिवासी जनजाति जिल्ला समन्वय परिषद् रुपन्देहीको बुटवलमा बसेको बैठकले मोटर साईकल र्याली सहित व्यापक जनसहभागिता सहित ज्ञापन पत्र बुझाई सभा गर्ने निर्णय गरेको छ । बैठकमा आदिवासी जनजाति जिल्ला समन्वय समिति, एकल जातिका अध्यक्ष र आदिवासी अगुवाको उपस्थिती रहेको थियो । सभामा महासंघका केन्द्रिय वक्ताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साथै बैठकले ज्ञापन पत्र तयार गर्न तामाङ घेदुङका सल्लाहकार नर्वु लामाको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको छ । जसमा आदिवासी जनजाति पत्रकार संघ अनिज रुपन्देहीका अध्यक्ष भिम गुरुङ भुल बहादुर सुनारी, होमाया गुरुङ, केहरसिंह सराङकोटी, रहनु भएको छ । त्यस्तै नेपाल मगर संघका रुपन्देही अध्यक्ष यमबहादुर थापाको संयोजकत्वमा, चिनबहादुर गुरुङ, एकल जातिका अध्यक्षहरुको सदस्य रहेको यातायात व्यवस्थापन समिति गठन गरिएको छ।
बैठक महासंघका अध्यक्ष होमबहादुर गलामीको अध्यक्षता आदिवासी जनजाति जिल्ला समन्वय समितिकी रुपन्देही अध्यक्ष तीर्थकुमारी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । बैठकमा सरकारका जिम्मेवार मन्त्रीबाट नै धर्मनिरपेक्षताको विरुद्वमा आवाज उठेकोमा निन्दा गरेको थियो।
एचकेनेपाल डट कम संवाददाता-
चौंथो लोकतन्त्र दिवसको उपलक्ष्यमा पाकिस्तानस्थित नेपाली राजदूतावासले कार्यवाहक राजदूत दुर्गाप्रसाद भण्डारीको निवासमा एक स्वागत समारोहको आयोजना गर्र्यो।
उक्त समारोहलाई सम्बोदन गर्दै कार्यवाहक राजदूत श्री भण्डारीले नेपालका प्रमुख राजनैतिक दलहरुको अगुवाईमा १९ दिनसम्म नेपाली जनताले गरेको जनआन्दोलनका परिणाम स्वरुप तत्काल संसदको पूर्नस्थापना भई अग्रगामी राजनैतिक परिवर्तनको मार्ग प्रशस्त भएको बेहोरा उल्लेख गर्नुभयो। नेपाली जनताको चाहना अनुरुप संबिधान सभाको निर्वाचन भई नयाँ संबिधान निर्माण, राज्यको पुनसंरचना तथा जारी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्र्याउन नेपालको राजनैतिक दल, संबिधान सभा तथा सरकारले सक्रिय गृहकार्य गरिरहेको र यसमा नेपालका नागरिक समाज,बुद्धिजीवी, पत्रकार, नीजी क्षेत्रलगायत विदेशमा बसोवास गरिरहेका नेपालीहरुकोसमेत उल्लेख्य भूमिका रहने विचार व्यक्त गर्नुभयो।
आमन्त्रितहरूका तर्फबाट बोल्दै इस्लामावादस्थित यूनिस्कोमा कार्यरत श्री विक्रम क्षेत्रीले संबिधान लेखनको काम तोकिएको मितिभित्रै सम्पन्न गर्न तथा जारी शान्ति प्रक्रियालाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्र्याई नेपाललाई आर्थिक विकासका मार्गमा अघि बढाउन नेपालका राजनैतिक दलहरू बढी जिम्मेवारीका साथ लाग्नु पर्ने आवश्यकता रहेको विचार व्यक्त गर्नुभयो। उहाँले उल्लेखित कामका लागि विदेशमा बस्ने नेपालीहरू जस्तोसुकै सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो।
लोकतन्त्र प्राप्तिको आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सबै शहीदहरुको संझनामा एक मिनेट मौनधारण गरी सुरु भएको उक्त कार्यक्रममा इस्लामवादस्थित विभिन्न अन्तर्राष्ट्रिय संघ/संस्थामा कार्यरत नेपाली तथा परिवारका सदस्यहरु, पाकिस्तानका विभिन्न विश्वविद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु, इस्लामवादमा बसोबास गर्ने अन्य नेपाली तथा परिवारका सदस्यहरु, नेपाली दूतावासमा कार्यरत कर्मचारी तथा तिनका परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो।
सोही उपलक्ष्यमा साँझ दूतावास तथा निवासहरुमा दिपावली गरिएको थियो। चौथौ लोकतन्त्र दिवस समारोहको कार्यक्रमको संचालन दूतावासका सहचारी प्रवीण भट्टराईले गर्नुभएको थियो।
प्रेम प्रतिक्षा सङ्गम, कोरिया / एचकेनेपाल डट कम-
तमु धीं गणतन्त्र कोरियाको आयोजनामा प्रस्तुत गरिने सांगीतिक कार्यक्रममा नेपालका चर्चित सांगीतिक समूह नेपथ्य व्याण्ड दक्षिण कोरिया आउने भएको छ।
आगामी सेप्टेम्बर २१ तारिख मंगलबार २०१० को दिन हुन गइ रहेको रोधी सांगीतिक सौगात-२ सांस्कृतिक कार्यक्रमका लागि नेपालका चर्चित ख्यातिप्राप्त नेपथ्य ब्याण्ड र लोकप्रिय कलाकारहरु गणतन्त्र कोरिया आउने जानकारी तमु धींका अध्यक्ष रामकाजी गुरुङले गराउनु भएको छ।
एचकेनेपाल डट कम संवाददाता-
नेपाली काँग्रेसले आफ्ना सबै कार्यक्रम फिर्ता लिएर वार्ता र सहमतिमा आउन एकीकृत नेकपा (माओवादी) लाई आग्रह गरेको छ।
उक्त पार्टीको केन्द्रीय कार्य समितिको बैठकले आन्दोलनको नाममा माओवादीले हतियार आतङ्क मच्चाउनका साथै रकम असुलीलगायत क्रियाकलाप गरी शान्तिप्रक्रियाको गम्भीररूपमा उङ्ंघन भएको ठहर गरेको छ।
उक्त पार्टीले शान्तिप्रक्रिया र संविधानलेखनको अनिश्चितताको भूमरीमा देश परेका बेला माओवादीले केवल सत्ता प्राप्तिका लागि गैरसंवैधानिक बाटो अगाँल्दै हिंसा र हतियारको प्रयोग गर्नुले विस्तृत शान्तिसम्झौता विपरीत भएको भन्दै त्यस्ता गतिविधि अविलम्ब बन्द गरी सहमतिमा आउन आग्रह गरेको छ।
संविधान जारी गर्ने दिशामा भइराखेको ढिलाईप्रति गम्भीर चिन्ता प्रकट गर्दै बैठकले बाँकी अवधिभित्र शान्ति प्रक्रियालाई पूर्णता दिन संविधानका विषयहरूमा सघन छलफल गरी पार्टीहरूकोबीच साझा दृष्टिकोण बनाउन तथा पार्टीहरूबीच द्विपक्षीय एवम् बहुपक्षीय वार्तालाई अघि बढाउने निर्णय गरेको छ।
बैठकले शान्तिप्रक्रियालाई चाँडो निष्कर्षमा पुर्याउन हालै सरकारले विशेष समितिमा प्रस्तुत गरेको समायोजन पुनःस्थापनाको कार्य योजनालाई सकारात्मक पहल मानेर संवादमा आउन पनि माओवादीलाई आग्रह गरेको छ।
त्यसैगरी बैठकले हिंसात्मक द्वन्द्वका लागि बनाइएका सबै सोच र संरचनाको अन्त्य नभएसम्म वास्तविक शान्ति र लोकतान्त्रिक संविधान निर्माणको जग नहुने भन्दै बाह्रबुँदे समझदारीदेखिका सबै प्रतिबद्धतालाई इमानदारीपूर्वक कार्यान्वयन गर्दै शान्तिप्रक्रियालाई पूर्णता दिने कार्यसूचिप्रति इमान्दार हुन पनि माओवादीलाई आग्रह गरेको छ।
शान्तिप्रक्रियामा उत्पन्ने गतिरोध र संविधानलेखनमा भएको ढिलाइलाई तत्काल सम्बोधन गर्न र पार्टीहरूबीच पारस्परिक विश्वास र समझदारीको नयाँ चरणमा आएर राष्ट्रिय निकासको बाटो खोज्न प्रतिपक्षी दल, सत्तारुढ दललगायत संविधानसभामा क्रियाशील सबै राजनैतिक पार्टीहरूलाई यथाशीघ्र गम्भीर छलफलमा आउन बैठकले आव्हान गरेको छ।
त्यसैगरी राष्ट्रिय सहमतिका लागि पार्टीहरूबीच पारस्परीक विश्वास बढाउन कब्जा गरिएका सम्पत्ति तत्काल फिर्ता वाईसीएलको अर्धसैन्य संरचना भङ्ग गर्ने, संविधान जारी गर्नुअघि माओवादी लडाकूको समायोजन तथा पुनः स्थापना, राज्यको पुनःसंरचनाका लागि शासकीय स्वरूपसहित विशेषज्ञ सहितको राज्य पुनःसंरचना आयोगकको सिफारिसको आधारमा प्रदेश निर्माण गर्नुपर्नेमा बैठकले जोड दिएको छ।
काँग्रेसले जनताको जीउधनको सुरक्षाप्रति गम्भीर हुँदै जनताको शान्तिपूर्ण र स्वतन्त्र जीवनयापन गर्ने मौलिक हकको रक्षा गर्न सरकारलाई आग्रह गरेको छ।
एचकेनेपाल डट कम संवाददाता-
नेकपा (एमाले)ले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगन गरी वार्ताको माध्यमबाट सबै समस्याको समाधान खोज्न एकीकृत नेकपा (माओवादी)सँग आग्रह गरेको छ।
नेकपा एमालेको स्थायी कमिटी बैठकले मुलुकमा राष्ट्रिय सहमति आवश्यक परेको समयमा एकीकृत नेकपा (माअेावादी) आन्दोलन र विद्रोहको बाटोमा अघि बढिरहेकाले त्यसबाट राष्ट्रिय सहमति बिथोलिने ठहर गर्दै शान्ति र संविधान लेखनको प्रक्रियामा अवरोध सिर्जना नगर्न तथा आन्दोलन स्थगन गर्न आग्रह गरेको हो।
बैठकले मुलुक सङकटतर्फ उन्मुख भएकाले देशका प्रमुख राजनीतिक पार्टीहरूबीच सहमति कायम गर्न अनिवार्य भएकाले राष्ट्रिय सहमतिका लागि सक्दो प्रयास गर्ने निर्णय गरेको छ।
बैठकले यही वैशाख १० गते माओवादी कार्यकर्ताहरूले नेकपा एमालेको नवलपरासी जिल्ला कार्यालयमा गरेको आगजनी तथा पार्र्टीका जिल्ला कमिटी उपसचिव तुलसी पासी,जिल्ला कमिटी सदस्य कन्हैयालाल यादव, अमरापुरी गाउँ पार्टी कमिटी अध्यक्ष ज्ञानबहादुर पोखरेेलमाथि आक्रमण गरिएको घटनाकोे भर्त्सना गरेको छ।
यसैगरी माओवादी कार्यकर्ताले नेकपा एमाले नेत्री देवकला बरालको घर तोडफोड गरी लुटपाट गरेको घटनाका साथै केही दिनयता डोल्पा , सुर्खेत , रसुवा र रुकुमलगायत विभिन्न जिल्लामा पार्टीका कार्यकर्ताहरूमाथि भएको आक्रमण एवम् लुटपाटको समेत निन्दा गर्दै दोषीमाथि कारबाही तथा घाइतेहरूको उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
केही समयदेखि माओवादीले देशका विभिन्न भागमा विद्रोहबाट सत्ता कब्जा गर्ने भन्दै खुकुरी, भाला, तरबार एवम् लठ्ठीसहित तालिम गरेका घटनाले नेपाली जनतामा आतङ्क सिर्जना गरेकाले त्यस्ता क्रियाकलाप तुरुन्त रोक्न बैठकले पनि अपिल गरेको छ।
बैठकले माओवादीका पछिल्ल्ाा गतिविधिले देशलाई द्वन्द्वमा फसाउने स्थिति उत्पन्न भएको उल्लेख गर्दै बैठकले त्यस्ता क्रियाकलापबाट आउने सङकटको जिम्मेवार पनि माओवादी नै हुने स्पष्ट गरेको छ।
एचकेनेपाल डट कम संवाददाता-
मानव अधिकार सञ्चार प्रतिष्ठान (इरिकन), नेपालले एक वर्षको अवधिमा ६३ वटा बलात्कारका घटना भएको प्रतिवेदन सार्वजनिक गरेको छ।
सन् २००९ जनवरीदेखि डिसेम्बर ३१ सम्म नेपालका प्रमुख पाँच दैनिक, एक साप्ताहिक र एक पाक्षिक पत्रिकामा यी घटना सार्वजनिक भएको जानकारी दिईयो।
सो प्रतिवेदनमा ती घटनामा ४० जना महिला, बालबालिका, किशोरी र वृद्धासमेत बलात्कारको शिकार भएको जनाइएको छ।
दैनिक कान्तिपुर, नागरिक, गोरखापत्र, अन्नपूर्ण पोष्ट, नेपाल समाचारपत्र, नेपाल साप्ताहिक र हिमाल पाक्षिकमा प्रकाशित ती घटना २२ जिल्ल्ााका थिए।
सोही अवधिमा घरेलू हिंसासम्बन्धि १९१ वटा घटना भएको उल्लेख गरेको सो प्रतिवेदनले १५२ जना महिला, २३ पुरुष र २५ जना बालबालिका हिंसाको शिकार भएको बताएको छ।
यसरी आएका घटनाहरूमा सबैभन्दा बढी अर्थात ३५ वटा समाचार बोक्सीको आरोपसँग सम्बन्धित थिए।
सो प्रतिवेदनमाथि टिप्पणी गर्दै वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले महिला तथा बालबालिकाहरू बलात्कार, घरेलू हिंसा र साना हतियारको शिकार भईरहेको र यी घटनामा सञ्चारमाध्यम मौन बस्ने गरेको बताउँदै महिलाका मुद्धालाई सामाजिक र मानवीय मुद्धाका रूपमा हेरी समाचार बनाइनुपर्ने बताउनुभयो।
नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष पी. खरेलले प्रतिवेदनले महिलाका अवस्थाबारे सञ्चारमाध्यमले दिएको स्थानलाई स्पष्टसँग देखाएको बताउँदै यस्ता समाचार कस्ता र कुन क्षेत्रका समाचारदाताबाट आयो भन्ने बारे पनि विश्लेषण गरिनुपर्ने बताउनुभयो।
पत्रकार धु्रवहरि अधिकारीले महिलाका पीडालाई हरेक सञ्चारमाध्यमले गम्भीरताका साथ लिनुपर्ने बताउँदै महिलाका विषयमा कुनै सनसनीपूर्ण समाचार आयो भन्दैमा संवेदनशीलतालाई ख्याल नगरी शीर्षक बनाउन नहुने तर्क राख्नुभयो।