Archive for May, 2010

अमेरिकामा सोइ ढोले सोइ

नातिबाबु भट्ट, अमेरिका/ एचकेनेपाल डट कम-
किरांत राई सोसाइटी अफ अमेरिकाको आयोजनामा कोलोराडोको डेनवर्कमा परंपरागत साकेला नाच ‘उभौली पर्व’ सम्पन्न भयो।

डाक्टर नबिनकुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राईहरुको परंपरागत साकेला नाच, कबिता बाचन, तथा शुभकामना आदान प्रदान लगायतका कार्यक्रमहरु आयोजना गरिएको थियो।


साकेला नाच्दै…तस्वीरः नातिबाबु भट्ट, अमेरीका/ एचकेनेपाल डट कम

चेरीकृक ताल नजिकको ठुलो पिकनिक स्पोर्टमा राईहरु आफ्नै भेष भूषामा सिंगारिएर नाचेको साकेला नाच नाचिरहंदा सांच्चै आफूलाई नेपालको भोजपुर तथा संखुवासभाको कुनै गाउंमा साकेला हेरिरहेको भान हुन्थ्यो।

चौबन्दी ढाकाको चोली, फरिया, सिरमा सिरफुलमा सजिएकी महिला र दौरा, सुरुवाल , कोट र ढाकाको ढोपीमा सजिएका पुरुषहरु आफ्नो परंपरागत बाजा ढोल, झयाम्टाको तालमा चमर हल्लाउंदै कम्बर मर्काई मर्काई नाच्दा सच्चै उक्त क्षेत्र नेपालमय भएको थियो।

थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्

कार्यक्रममा रकि माउण्टेन फेन्स् अफ नेपालकी अध्यक्ष निलम श्रेष्ठ, डा नबिनकुमार राईलगायतका वक्ताहरूले शुभकामना मन्तब्य दिएका थिए भने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्यप्टरका अध्यक्ष ज्ञानेन्द्र गदाल, अयचार्य प्रभालगायतका कबि कवयित्रीले आ-आफ्नो कविता वाचन गरेका थिए।

किरांत राई सोसाइटी अफ अमेरीकाका अध्यक्ष प्रकाश राईको सभापतित्वमा सम्पन्न कार्यक्रमामा अमेरीकाको न्यूयोर्क, वासिंगटन, भर्जिनिया, कोलोराडो, बाल्टिमोरलगायतका एकदर्जन भन्दा बढि राज्यमा बसोबास गर्दै आएका एक सय भन्दा बढी राईहरुको उपस्थिती रहेको थियो।

Recent Videos:

Popularity: 7%

Add comment May 31st, 2010

नेपाली स्कूलको सहयोगार्थ नेपाली फिल्म ‘जीवन मृत्यु’को प्रदर्शन

जनपुकार, बे एरिया / एचकेनेपाल डट कम-
बे एरिया नेपाली महिला समाजको आयोजनामा क्यालिफोनियाको बेलमोन्टमा नेपाली कथानक चलचित्र ‘जीवन मृत्यु’को आइतबार प्रदर्शन गरिएको छ।

बे एरियामा शुरु हुन लागेको नेपाली भाषाको स्कूलको सहयोगार्थ उक्त चलचित्र प्रदर्शन गरिएको थियो । नेपाली चलचित्रका चर्चित नायक निखिल उप्रेती र रमित ढुंगानाको उक्त फिल्म अत्यन्तै राम्रो र उत्कृष्ट रहेको दर्शकहरुले बताए।

आयोजक समाजकी संयोजक सुनिता थापा र सदस्यहरु प्रेकशिला दाहाल, सपना पोखरेल, रजनी सापकोटा र इला भट्टराई रहनु भएको छ । उक्त संगठनले बे एरियामा नेपाली स्कूलको शुरुवात गरेको छ । गत बर्षको फेब्रुअरीबाट मणी पनेरुको नेतृत्वमा स्वयंसेवाबाट शुरु भएको हो । स्कूल सञ्चालनका लागि बे एरियाका समाजसेवी भक्त थापाले मोटेल प्रदान गर्नुभएको थियो।

त्यसपछि ठाउँको अभावका कारण सो स्कूल बन्द भए पनि आगामी अगष्टदेखि शुरु हुने समितिकी संयोजक सुनिता थापाले बताउनुभयो । सो स्कूलबाट बे एरियामा रहेका बालबालिकाले निःशुल्क नेपाली शिक्षा र नेपाली संस्कृतिका बारेमा अध्ययन गर्न पाउनेछन्।

आगामी अगष्टदेखि नारायण प्रधानको नेतृत्वमा फेरि मोटल सिक्स बेलमोन्टमा कक्षा शुरु गरिने कुरा पनि संयोजक थापाले बताउनुभयो । यसका साथै बेलमोन्टको मोटेल सिक्समा बे एरिया नेपाली महिला अर्गनाईजेशन र कलाकार रमित ढुंगाना संयुक्त पहलमा नेपाली कथानक चलचित्र जीवन मृत्यु देखाइएको थियो । प्रदर्शनबाट उठेको रकमको नाफाको ६० प्रतिशत सम्बन्धित कलाकारले पाए भने ४० प्रतिशत उक्त स्कूललाई दिइएको थियो । सो रकम अर्गनाईजेशनले स्कूलको प्रयोजनका लागि खर्च गर्नेछ।

संस्थाकी संयोजक सुनिता थापाले कार्यक्रमलाई सफल पारिदिनु भएकोमा कृतज्ञता ज्ञापन गर्दै धन्यवाद दिनुभएको थियो । यसका साथै उहाँले आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा राख्नु भएको थियो। उक्त कार्यक्रममा समाजसेवी ईश्वर सापकोटालाई नायक रमित ढुंगानाले परिचय गराउनु भएको थियो।

Recent Videos:

Popularity: 7%

Add comment May 31st, 2010

द हृवाट जोनद्वारा नयाँ ग्रयाजुएटहरुलाई सम्मान

ह्वाइट जोन, बे-एरिया/ एचकेनेपाल डट कम-
नेपली मूलका विधार्थी तथा युवाहरुको अन्तर्राष्ट्रिय संजाल द हृवाट जोनले मे २९ का दिन बे-एरियामा नयाँ ग्रयाजुएटहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

डा. आमोद पोख्रेलको प्रमुख आतित्यमा भएको सो कार्यक्रममा ठूलो संख्यामा नेपाली बिद्यार्थी, अभिभावक तथा वे एरियाका विभिन्न नेपाली समुदायका प्रतिनिधि र पधादिकारीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको पहिलो चरणमा विशेष अथितिहरु गोपाल खड्की, अनिल पाण्डे, राजन थापा, बिबि थापा र राम श्रेष्ठद्वारा विधार्थीहरुलाई शुभकामना तथा सम्मान प्रदान गर्नु भएको थियो। त्यसै गरी, संस्थाले यसै महिना युनीभर्सिटी ओफ कैलिफोर्नियाबाट बिद्यावारिदी हासिल गर्नु भएका डा. अमोद पोख्रेललाइ विशेष सम्मान गरेको थियो।

संस्थाका महासचिब पुकार कडेल र सक्रिय सदश्य भवानी बानियाद्वारा संचालन गरिएको सो कार्यक्रममा शुभकामना मन्तब्य अविन रेग्मी, संस्थाको भावी रणनीतिको बारेमा सरद सिंह हमाल र धन्यवाद ज्ञापन पंकज खड्काले गर्नु भएको थियो भने विधार्थीहरुको तर्फबाट सुरेश उप्रेती र अभिभावकका तर्फबाट ओमभक्त उप्रेतीले मन्तब्य राख्नु भएको थियो।

बिराज पौडेलको संयोजनमा भएको सो कार्यक्रमको दोश्रो चरणमा केक काटेर खुसियाली मनाऊदै रात्री भोज आयोजना गरिएको थियो। कार्यक्रमको अन्तिम चरणमा संस्थाको तर्फबाट सभापति राजेश थापाले नेपाली सिनेमाका नायक रमित ढुंगानालाइ सम्मान अर्पण गर्नु भएको थियो भने मणि नेपालीले सबैलाई शुभकामान प्रधान गर्नु भएको थियो।

Popularity: 7%

Add comment May 31st, 2010

लिम्बुवान पान्थरको दोस्रो जिल्ला सम्मेलन सम्पन्न

नवराज लिम्बु, फेदेन पान्थर, लिम्बुवान-
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समिति पान्थरको दोस्रो जिल्ला सम्मेलन लिम्बुवानको ऐतिहासिक स्थल पान्थरको सदरमुकाम फेदेनमा विभिन्न निर्णय र नयाँ कार्यसमिति चयन गर्दे जेठ १० र ११ मा सम्पन्न भएको छ।

जेठ १० पान्थरको ४१ वटै गाविसबाट आएका प्रतिनिधि तथा पर्यवेक्षकलगायत अन्य जनसमुदायले जिविसको खुल्ला मञ्चबाट विशाल र् याली निकाली फेदेनको विभिन्न ठाउँहरुको परिक्रमा नाराजुलुशसहित गरी पुनः खुलामञ्चमै पुगेर सभामा परिणत भएको थियो ।
तत्कालीन पान्थर जिल्ला अध्यक्ष जसबहादुर यङ्याको अध्यक्षता र जिल्ला सचिव सागर केरुङको सञ्चालनमा भएको सम्मेलनको उद्घाटन सभालाई प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङदेन ‘मिराक’ ले पानसमा द्वीप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको थियो।

उद्घाटन सभामा परिषदका जिल्ला सचिव लाबाहाङ चेम्जोङले स्वागत मन्तव्य र आदिवासी जनजाति महासंघ पान्थरका अध्यक्ष लोकेन्द्र आले, संघीय विद्यार्थी युनियनका लिम्बुवान राज्य परिषदका अध्यक्ष जेण्टल लावती, एमाओवादीका दिनेश लावती, परिषदका राष्ट्रिय पार्षद भूपू डीएसपी कृष्णमान थेबे, लिम्बुवानअन्तर्गत संघीय धिमाल स्वायत्त परिषदका सचिव मातृका धिमाल, संघीय लेप्चा स्वायत्त परिषदका डुपछिरिङ काजी लेप्चा, संघीय लिम्बुवान महिला परिषदका अध्यक्ष शान्ता योङहाङ, परिषदका केन्द्रीय सदस्य डम्बर राई, सचिवालय सदस्य डीबी खुखाङ, महासचिव सूर्य माखिम, उपाध्यक्ष द्वय ज्ञानबहादुर गुरुङ र ज्ञानुहाङ इम्बुङ तथा अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कार्यवाहक महासचिव खगेन्द्र माखिम र प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङदेन ‘मिराक’द्वारा शुभकानमना मन्तव्य गरिएको थियो । अध्यक्ष लिङदेनले नेपाल र लिम्बुवानको समसायिमक सवालमा उद्घाटन सभालाई सम्बोधन गरिरहँदा साँझ अबेरसम्म पनि सहभागीहरुले धैर्यतापूर्वक सुनेर बसिरहेका थिए।

त्यसैगरी, जेठ ११ गते पान्थर जिविसको हलमा अध्यक्ष लिङदेनकै प्रमुख आतिथ्यमा बन्दसत्र शुभाराम्भ भएको थियो । बन्दसत्रले तत्कालीन पान्थर जिल्ला अध्यक्ष जसबहादुर यङयालाई परिषदको केन्द्रीय सदस्यमा सिफारिश गर्ने प्रस्ताव पारित गर्दै लाबाहाङ चेम्जोङको अध्यक्षतामा ३५ सदस्यीय नवनिर्वाचित मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समिति पान्थरको चयन गरेको छ।

सम्मेलनले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, शान्ति, संविधान र सङ्खुवा-अरुण-सप्तकोशीपूर्वको नौजिल्लालाई लिम्बुवान स्वायत्त राज्य घोषणा गराउने अभियान विरुद्धमा जस्तोसुकै षडयन्त्र भएपनि त्यसको सामना गर्न मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद पान्थर जिल्ला कार्य समिति तयार रहेको र कुनै पनि हालतमा पछि नहट्ने निर्णय गरेको छ।

त्यसैगरी, पान्थर जिल्लाको सम्पूर्ण सरकारी तथा गैरसरकारी संघ संस्था कार्यालयहरुमा आदिवासी जनजाति, महिला, दलितलाई अनिवार्य समानुपातिक प्रतिनिधित्व गरिनुपर्ने र यसवर्ष मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद पान्थरका कार्यकर्ताहरुको तर्फबाट पान्थर जिल्लामा एकलाख नयाँ रुखको विरुवा राप्ने निर्णयसमेत गरिएको छ। साथै, पान्थर जिल्लाका सबै स्कूल र कार्यालयहरुमा अनिवार्य फूलबारी र शौचालय बनाउनुपर्ने अभियान अघि बढाउने यसलाई बेवास्ता गर्ने स्कूल र कार्यालय विरुद्धमा शुरुमा समन्वयात्म पहल गर्दै अन्तमा, कडा कारवाहीसमेत चालिने पनि निर्णय भएको छ।

नेपालबाट यूएनओ का विभिन्न शाखाहरुलाई हटाउने षडयन्त्र र यूरोपियन युनियनका प्रतिनिधिहरुलाई लिम्बुवानसँग भेट्न नदिने एकात्मक सरकारको घृणित कार्यको घोर भत्स्रना र विरोध गर्दै यो एकात्मक सरकारको पराजित मानसिकता भएको ठहर गरिएको छ।

मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको दोस्रो जिल्ला सम्मेलनले चयन गरेको पान्थर जिल्ला कार्य समिति यस प्रकार चयन भएको छः
१ अध्यक्षः लाबाहाङ चेम्जोङ फाक्तेप १
२ उपाध्यक्षः रामकुमार केरुङ भारापा १
३ सचिवः सागर केरुङ याङनाम ५
४ सचिवालय सदस्यः डिल्लि लावती कुरुम्बा २
५ सचिवालय सदस्यः द्रोण सम्बाहाङफे आङना ७
६ सचिवालय सदस्यः खाम्बेकहाङ आङदेम्बे आरुबोटे ३
७ सचिवालय सदस्यः दलप्रसाद लावती मौवा ३
८ सचिवालय सदस्यः दुर्गा नेम्बाङ फाक्तेप २
९ सचिवालय सदस्यः वृजहाङ आङदेम्बे आङसाराङ ५
१० सचिवालय सदस्यः खगेन्द्र आङदेम्बे नवमीडाँडा ५
११ सचिवालय सदस्यः नरेन्द्र केरुङ याङनाम ८
१२ सचिवालय सदस्यः देउकुमार केरुङ सिदिन ७
१३ सचिवालय सदस्यः पृथ योङ्या ओयाम ४
१४ सचिवालय सदस्यः संगिता लक्सम नागी १
१५ सचिवालय सदस्यः हर्कजङ लिङदेन पाचमी १
१६ जिल्ला सदस्यः नारायण नेम्बाङ रानीटार ८
१७ जिल्ला सदस्यः प्रकाश केरुङ सिदिन ७
१८ जिल्ला सदस्यः किरण थाम्सुहाङ याङनाम ४
१९ जिल्ला सदस्यः शुभराज नेम्बाङ इम्बुङ २
२० जिल्ला सदस्यः विश्व लम्सम नागी १
२१ जिल्ला सदस्यः सन्दिप थाम्सुहाङ प्राङबुङ ५
२२ जिल्ला सदस्यः योगेन्द्रप्रसाद राई रवी ५
२३ जिल्ला सदस्यः अमर लक्सम नागी १
२४ जिल्ला सदस्यः चन्द्र तुम्सा लिम्बा ४
२६ जिल्ला सदस्यः सन्तोस शकर फेदेन १
२७ जिल्ला सदस्यः जितेन चेम्जोङ फाक्तेप १
२८ जिल्ला सदस्यः सनम तुम्बापो चोकमागू ५
२९ जिल्ला सदस्यः केन्द्र चेम्जोङ सारताप २
३० जिल्ला सदस्यः नरबहादुर सिगु नागी ३
३१ जिल्ला सदस्यः इन्द्रकला लावती मौवा ९
३२ जिल्ला सदस्यः रामबहादुर नेम्बाङ नवमीडाँडा १
३३ जिल्ला सदस्यः दिपक खनाल भारापा १
३४ जिल्ला सदस्यः तिलवीक्रम नेम्बाङ चिलिङदेन १
३५ जिल्ला सदस्यः धनकुमारी खजुम रानीटार १

Popularity: 7%

Add comment May 31st, 2010

झुण्डिएर आत्महत्या

मणिकुमार श्रेष्ठ, धनकुटा / एचकेनेपाल डट कम-
धनकुटा पाख्रिवास गाउँ विकास समितिमा एक वृद्धले आइतबार विहान ४ बजेतिर झुण्डिएर आत्महत्या गरेका छन्।

बेलुका खाना खाएर सुतेका पाख्रिवास गाउँ विकास समिति वडा नं. ७ का ८१ बर्षीय सनमान रानामगरले आफ्नै घरको दलिनमा झुण्डिएर आत्महत्या गरेको पाख्रिवास प्रहरी चौकीले जनाएको छ।

लामो समयदेखि पेट पोल्ने रोगले ग्रसित रानामगरले पेट दुखेको सहन नसकी आवेगमा आएर आत्महत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ।

रानामगरले केही समयअघि मात्र जिल्ला अस्पतालमा उपचार गराएर घर फर्किएका थिए।

एक श्रीमति, एक छोरासहित बुहारी नातिनातिनी रहेका रानामगरको सवलाई स्थानियवासी र प्रहरीको रोहवरमा पोष्टमार्टम नगरी अन्येष्टि गरिएको प्रहरीले बताएको छ।

Popularity: 8%

Add comment May 30th, 2010

संविधान जारी गराउन दबाबमूलक कार्यक्रम गरिने

सरिता केसी, कतार/ एचकेनेपाल डट कम-
तोकिएको समयमा सविधान नबनेपछि थपिएको एक बर्षभित्र संविधान जारी गराउन दबाब दिने उद्धेश्यले नेपाल पत्रकार महासंघ सम्पर्क समिति कतारले दबाबमूलक कार्यक्रम गर्ने भएको छ।

कतारमा रहेका सम्पूर्ण नेपाली संघ संस्थाहरुलाई एकजुट गराई साझा फोरम गठन गरी थपिएको एक वर्षमा संविधान र शान्ति स्थापना कार्यलाई तार्किक निष्कर्षमा पुर्याउन बिभिन्न दबाबमूलक कार्यक्रकाको आयोजना गरिने समितिका अध्यक्ष कुमार कार्कीले बताउनु भयो।

सो कार्यको थालनीका लागि कतारका सम्पूर्ण नेपाली संघ संस्थाहरुलाई साझा फोरममा आबद्ध हुन समितिले आह्वान गरेको छ। थपिएको १ वर्षमा पनि संविधान नवन्ने हो कि भन्ने शंका अझपनि विद्यमान रहेकाले अब यो एक बर्षलाई एकदम नै नजिकवाट नियाल्नु पर्ने र प्रत्यक्ष दवावका कार्यक्रमहरु श्रृजना गर्नुपर्ने भन्दै नेपाल पत्रकार महासंघ सम्पर्क समिति कतारले सम्पूर्ण नेपाली संघ संस्थाहरुलाई संविधान र शान्ति स्थापनाका लागि हातेमालो गरेर अगाडि बढ्न आह्वान गरेको हो।

‘शान्ति र संविधानका लागि प्रवासी नेपाली मञ्च कतार’ नामक सो फोरमले संविधान नवनुन्जेल सम्मका लागि हातेमालो गर्दै दवावका कार्यक्रमहरु आयोजना गर्ने समितिले जनाएको छ।

प्रवासी नेपालीहरु शान्ति र संविधान चाहन्छन् भन्ने सन्देश सम्पूर्ण सभासदहरु तथा संविधान सभामा सहभागी राजनीतिक दलहरुसम्म पुर्याउले उद्धेश्यले सो कार्यक्रम गर्न लागिएको समेत समितिले जनएको छ।

तीन लाख भन्दाबढी नेपाली रहेको कतारमा १ सय २० भन्दा बढी नेपाली संघ संस्था रहेकाछन्।

Popularity: 8%

Add comment May 30th, 2010

हङकङमा एनआरएन परिचय पत्रको वितरण सुरू

एस, हङकङ/ एचकेनेपाल डट कम-
नेपाल सरकारले जारी गरेको गैरआवासीय नेपाली परिचय पत्र वितरण आइतवारदेखि हङकङमा पनि सुरू भएको छ। (more…)

Popularity: 8%

Add comment May 30th, 2010

युनिटीका अर्का एजेन्ट पक्राउ

एचकेनेपाल डट कम संवाददाता-
युनिटी लाइफ इन्टरनेशनलका अर्का एक एजेन्ट आइतवार पक्राउ परेका छन्। पक्राउ पर्नेमा केशव सत्याल रहेका छन्।

पक्राउ परेका सत्याल युनिटी प्रवन्ध निर्देशक विष्णु क्षेत्रीको कारोवार सहयोगी रहेको ललितपुर प्रहरीले जनाएको छ।

उनले आफू प्रबन्ध निर्देशक क्षेत्रीको ‘डेस्क’ सहयोगी भएको र युनिटीको अस्पताल विभाग हेर्ने गरेको प्रहरी समक्ष प्रारम्भिक बयान दिएका छन्।

युनिटीका मुख्य नाइकेहरू काशिराम गुरूङ र विष्णु क्षेत्रीको प्रहरीले खोजि गरिरहे पनि उनीहरू फरार रहेका छन्। सर्वसाधारणबाट अर्बौं रकम संकलन गरी ठगी गरेको अभियोगमा प्रहरीले उनीहरूको खोजि गरिरहेको छ।

गैरकानुनी रूपमा निक्षेप संकलन गरेको भन्दै सरकारले युनिटीलाई प्रतिबन्ध लगाइसकेको छ। युनिटीले ६ लाख ५० हजार सदस्यहरूबाट झण्डै १० अर्व रूपैयाँ संकलन गरेको दावी गर्दै आएको थियो।

Popularity: 8%

Add comment May 30th, 2010

पत्रकार घिमिरेद्वारा विभूषण वहिष्कार

एचकेनेपाल डट कम संवाददाता-
वरिष्ठ पत्रकार युवराज घिमिरेले दोस्रो गणतन्त्र दिवसको अवसरमा आफूलाई प्रदान गरिएको सुप्रवल जनसेवाश्री सम्मान वहिष्कार गरेका छन्।

घिमिरेले प्रेस विज्ञप्तिमार्फत कदर छनौट प्रक्रियामा पारदर्शी शैली तथा मापदण्ड नअपनाएको जनाउँदै उक्त सम्मान वहिष्कार गरिएको जनाएका छन्।

प्रेस विज्ञप्तिमा भनेको छ ‘अहिले पनि सिफारिस गरेको समितिले पारदर्शी शैली तथा मापदण्ड अपनाएको आधार मैले भेट्टाएको छैन, त्यसैले उक्त विभुषण स्वीकार गर्नु मेरो मान्यता र चाहना विपरित हुने हुनाले पुनः एक पटक राष्ट्रपति महोदयप्रति आभार व्यक्त गर्दै सो पदक स्वीकार गर्न आफ्नो असमर्थता व्यक्त गर्दछु।’

यसअघि पनि, घिमिरेले राजाको प्रत्यक्ष शासनकालमा समेत गोरखादक्षिण बाहु सम्मान लिन अस्वीकार गरेका थिए।

Popularity: 8%

1 comment May 30th, 2010

पाँच दिनभित्र राजिनामा दिने सहमति मलाई थाहा छैनः प्रधानमन्त्री

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री माधवकुमार नेपालले पाँच दिनभित्र राजिनामा दिनु पर्ने सहमतिबारे आफूलाई जानकारी नभएको बताएका छन्।

सरकारलाई समर्थन गर्ने १० दलहरूसंग आइतवार भएको छलफलमा पाँच दिनभित्र प्रधानमन्त्रीले राजिनामा दिनु पर्ने सहमतिबारे आफूलाई जानकारी नभएको बताएका हुन्।

छलफलपछि प्रधानमन्त्रीको भनाई उदृत गर्दै नेकपा मालेका महासचिव सिपी मैनालीले प्रधानमन्त्रीलाई त्यसबारे जानकारी नभएको बताए।

प्रधानमन्त्रीलाई तीन दलको निर्णय मान्य हुने बताए पनि प्रधानमन्त्रीले छलफलमा माओवादीले भने जस्तो पाँच दिनभित्र राजिनामा दिनु पर्ने सहमतिबारे जानकारी नभएको मैनालीले बताए।

छलफलमा सहभागी दश दलले प्याकेजमा सहमति बनेपछि मात्र राजिनामा दिन सुझाव दिएका छन्।

Popularity: 8%

5 comments May 30th, 2010

गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलनले जारी गरेको ह्युस्टन घोषणा पत्र

गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन २०१० ले जारी गरेको ह्युस्टन घोषणा पत्र
२९ मे २०१०
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आयोजना र राष्ट्रिय समन्वय परिषदहरु संयुक्त राज्य अमेरिका एवंम क्यानाडाको आथित्यमा “नेपालको द्रुदतर विकासका लागि ज्ञान र लगानी प्रवाह” को मूल नारा सहित टेक्सास राज्यको ह्युस्टन शहरमा सम्पन्न यो चौथो गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन २०१० ले निम्न बुदा सहित यो घोषणा पत्र जारी गरेको छ।

१. नेपालको ऐतिहासिक परिवर्तन पछि निर्वाचित संविधान सभाले निर्धारित समयमा संविधान बनाउँने प्रकृया पुरा गर्न नसकी, संविधान निर्माणको कार्य पुरा गर्नको लागि १ वर्षको समय अवधि थपिएको परिप्रेक्ष्यमा नयाँ निर्धारित समयमा लोकतान्त्रिक मूल्य मान्यता सहितको संविधान निर्माण होस भन्ने यो सम्मेलन कामना गर्दछ।

२. विश्वभरि छरिएर रहेका नेपालीहरु नेपालमा दीर्घकालिन शान्ति, मुलुकको राष्ट्रिय एकता, क्षेत्रीय अखण्डता, विश्वव्यापी रुपमा सर्वस्वीकार्य मानव अधिकार सुनिश्चित गर्ने लोकतान्त्रिक संविधानको निर्माणको पक्षमा रहेको कुरा यो सम्मेलन जाहेर गर्दछ। साथै आम नेपालीको चाहना अनुरुप नयाँ निर्धारित समयमा नै संविधान सभालाई आफ्नो सबै कार्य पुरा गर्नलाई यो सम्मेलन आव्हान गर्दछ।

३. भारतको मेघालयमा भएको जातिय हिंसा प्रति यो सम्मेलनको ध्यान आकृष्ट भएको छ र अल्प संख्यक नेपाली भाषीहरुको मानव अधिकार रक्षाका लागि संवन्धित सरकारहरु संग आग्रह गर्दछ।

४. गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष एवंम प्रमुख संरक्षक डा. उपेन्द्र महतो “सुप्रवल जनसेवाश्री” द्वारा सम्मान हुनु भएकोमा डा. महतोलाई बधाई ज्ञपना गर्दै नेपाल सरकार प्रति धन्यवाद व्यक्त गर्दछ।

५. गैरआवासीय नेपाली विश्व सम्मेलनहरुमा प्रमुख राजनीतिक दलका नेताहरुले गैरआवासीय नेपाली सम्वन्धि ऐनमा गैरआवासीय नेपाली संघको सुझाव अनुरुप सुधारका लागि गरेको प्रतिवद्धता प्रति ध्यान आकृष्ट गर्दै गैरआवासीय नेपालीको परिभाषा लगायत अन्य विषयमा ऐनमा यथासिघ्र सुधार गर्न नेपाल सरकार र व्यवस्थापिका संसदलाई आग्रह गर्दछ।

६. नयाँ बन्ने संविधानमा एक पटकको नेपाली सधैको नेपालीको अवधारणा अनुरुप दोहोरो नागरिकताको प्रष्ट व्यवस्था गर्न संविधान सभालाई आग्रह गर्दछ। साथै यस अभियानमा बल पुर्‍याउन सबै राष्ट्रिय समन्वय परिषदहरुलाई आव्हान गर्दछ।

७. नेपालको आर्थिक समाजिक रुपन्तरणका लागि सामुहिक लगानिको अपरिहार्यतालाई मनन गरी सामुहिक लगानिको अवधारणालाई अगाडि बढाइने छ। सामुहिक लगानिको प्रयास केही राष्ट्रिय समन्वय परिषदबाट शुरु भइसकेको परिप्रेक्ष्यमा अन्य राष्ट्रिय समन्वय परिषदलाई पनि यस्तो कार्यमा प्रोत्साहित गरिने छ।

८. मुलुकको सर्वाङ्गिण विकासको लागि मानव संसाधानको विकासको महत्वलाई ध्यानमा राखि यो सम्मेलनले ज्ञान, सीप, प्रविधिको हस्तान्तरणलाई उच्च महत्वका साथ अघि बढाउँने निर्णय गरेको छ। नेपालमा उच्च तहको जनशक्ति निर्माणलाई सघाउन एक खुल्ला विश्वविद्यालय अति जरुरी भइसकको छ। अन्तर्राष्ट्रिय खुल्ला तथा दुर शिक्षा परिषद र अन्य ख्याति प्राप्त विश्वविद्यालयहरुबाट नेपालमा खुल्ला विश्वविद्यालय स्थापनाको लागि चाहिने प्राविधिक सहयोग गर्ने प्रतिवद्धताको यो सम्मेलन स्वागत गर्दछ। नेपाल सरकार, नेपाल र विदेशमा रहेका नेपाल संग संवन्धित संघ संस्था र दातृ निकायसंग मिलेर खुल्ला विश्वविद्यालयको स्थापना गर्ने कार्य अघि बढाउने प्रतिवद्धता यो सम्मेलन जाहेर गर्दछ।

९. यो सम्मेलन नेपालमा लोककल्यणकारी परियोजनाहरुमा अझै दत्त चित्त भएर लाग्न सबै गैरआवासीय नेपालीहरुलाई आव्हान गर्दछ। साथै प्रत्येक राष्ट्रिय समन्वय परिषदद्वारा कम्तिमा एउटा लोककल्याणकारी परियोजना संचालन गर्ने पुर्व प्रतिवद्धता दोहोर्याउदै अन्तर्राष्ट्रिय समन्वय परिषदद्वारा स्वीकृत परियोजनाहरुमा योगदानका लागि राष्ट्रिय समन्वय परिषदहरुलाई आव्हान गर्दछ।

१०. विश्वका आधा जनसंख्याको प्रतिनिधित्व गर्ने महिलाको सशक्तिकरण बिना मुलुकको रुपान्तरण संभव नहुने भएकोले गैरआवासीय नेपाली महिला लगायत महिला सशक्तिकरणको अभियानमा लाग्न यो सम्मेलन प्रण गर्दछ।

११. नेपाल पर्यटन वर्ष २०११ लाई सफल पार्न सबै गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषदहरुलाई नेपालका पर्यटकीय स्थानहरुको परिचय गराउने कार्यक्रमहरु गर्न प्रोत्साहित गर्दछ। बुद्धको जन्मस्थल लुम्बिनी नेपालको अभिन्न अंग भएको तथ्य विश्व भरी फैलाउने अभियान राष्ट्रिय समन्वय परिषद मार्फत संचालन गरिने छ।

१२. हाम्रो नेपालीपनलाई जिवन्त राख्नका लागि गैरआवासीय नेपालीहरुलाई नेपालको मौलिक भाषा, साहित्य, संस्कृति र कला संग जोडि राख्नु अपरिहार्य भएकोले नेपाली कला, साहित्य, भाषाको प्रवर्द्धनका लागि प्रण गर्दै यस क्षेत्रमा योगदान गर्ने सबैको यो सम्मेलन उच्च कदर गर्दछ।

१३. प्रत्येक वर्षको २८ मे लाई नेपाल दिवसका रुपमा मनाउने ह्युस्टन नगर प्रशासनको निर्णयको स्वागत गर्दै मेयर सुश्री अनिस पार्कर लगायत संबन्धित सबैलाई यो सम्मेलन आभार ब्यक्त गर्दछ। अन्य शहरहरुमा पनि यस्तै प्रकारको नेपाल दिवसको औपचारिक मान्यता प्राप्त गर्नका लागि काम गरिने छ।

१४. यस सम्मेलनका लागि विश्वभरका नेपालीहरुलाई यस सुन्दर नगरी ह्युस्टनमा स्वागत गर्ने ह्युस्टनबासी नेपालीहरुलाई गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद आभार ब्यक्त गर्दछ। साथै यस सम्मेलनलाई विभिन्न किसिमबाट सफल पार्न उपस्थित भई दिनुभएका अमेरिकी, क्यानाडी र अन्य नेपालका मित्रहरुलाई अन्तर्राष्ट्रिय समन्वय परिषद धन्यवाद ज्ञापन गर्दछ। सम्मेलन सफल पार्न सहयोग गर्ने सबै व्यक्ति तथा संस्थालाई एवंम सहभागिहरुलाई यो सम्मेलन कृतज्ञता ज्ञापन गर्दछ।

Popularity: 8%

Add comment May 30th, 2010

अनेसास हूस्टन च्याप्टरको पुनर्गठन

संजय लीगल, ह्यूस्टन / एचकेनेपाल डट कम -
एनआरएन र आईएनएलएसको संयुक्त आयोजनामा भएको कविता महोत्सवको अवसरमा अनेसास हूस्टन च्याप्टरको पुनर्गठन भएको छ।

नयाँ कार्यसमितिमा अध्यक्ष गंगा लीगल, उपाध्यक्ष बिटु के. सी., महासचिव बिलोल पोखरेल, सचिव कमल खतिवडा, कोषाध्यक्ष मुना पौडेल रहेका छन्। सदस्यहरूमा संजय लीगल, शेष खरेल रहेका छन्। त्यसै गरी, सल्लाहकारहरूमा डा. राजेंन्द्र श्रेष्ठ, मधुकर अमात्या, तारा निरौला, मोहन सिटौला, भीम कार्की, बासु भण्डारी रहेका छन्।

सभाको अध्यक्षता अनेसासका अध्यक्ष डा. कुमार बस्नेतले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन अनेसास डेलास च्याप्तरका उपाध्यक्ष बासु शर्माले गर्नुभएको थियो। त्यस महोत्सवमा भएको महानन्द सापकोटा कविता प्रतियोगितामा गोकुल भण्डारी क्यानाडा प्रथम, हस्त गौतम दोश्रा र गौतम दाहाल तेश्रो भएका छन्। एनआरएनका उपाध्यक्ष जिवा लामिछाने मुख्य अतिथि भएको समारोहमा अनेसासका बोर्डका अध्यक्ष होमनाथ सुबेदीले उत्तर अमेंरिकाली नेपाली नौलो दायास्पोरमा नेपाली साहित्य अस्ति हिजो आज र भोलि कार्यपत्र प्रस्तुत गर्दै भन्नुभयो एनआरएनले अब दायास्पोरिक साहित्यको बिकासमा ध्यान दिनुपर्दछ। नेपाल एकेडेमी, टियुले एनआरएनको सहयोगको अपेक्षा गरिरहेका छन् भन्दै डा. उपेन्द्र महतो, जिवा लामिछाने र सुमन तिमसिनाको ध्यानाकर्षण गर्नुभयो। सुमन तिमसिनाले टियुसित कुरा भएको जानकारी दिनुभयो भने जिवाले आईएनएलएससित एनआरएनए सदा मिलेर कम गरेको र भविष्यमा अवश्य गर्नेछ भन्नुभयो। यस्तै भारती गौतम, भीम कार्की तथा गंगा लिगालको संयोजनमा भएको सो कविता महोत्सवमा प्रशस्त कविता वाचन भएका थिए।गोबिन्द गिरी प्रेरणा, मोहन सिटौला, गोबिन्दसिंह रावत, बिप्लब प्रतिकको पनि सहभागिताले सभाको शोभा बढेको थियो। सो अबसरमा गंगा लिगलका ऐना कथा संग्रह, गंगाका गजल र हस्त गौतमको गौतमका गजलको बिमोचन डा. कुमार बस्नेत र जिबा लामिछानेको हातबाट भएको थियो।

Popularity: 7%

Add comment May 30th, 2010

गणतन्त्र दिवसमा लघुकथा वाचन

काठमाडौँ/ एचकेनेपाल डट कम -
लघुकथा समाजले गणतन्त्र दिवसका अवसर पारेर शनिवार ‘लघुकथा वाचन तथा अन्तरक्रिया कार्यक्रम’को आयोजना गरेको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ भाउपन्थीको प्रमुख आतिथ्यमा भएको सो गोष्ठिमा डेढ दर्जन लघुकथाकारहरूले समसामयिक जीवनबोधका लघुकथा वाचन गर्नु भएको थियो। उक्त कार्यक्रममा लघुकथाकारहरू किशोर पहाडी, ध्रुब मधिकर्मी, श्रीओम श्रेष्ठ रोदन, नारायण तिवारी, डा. रवीन्द्र समीर, सुमन सौरभ, तुलसीहरि कोइराला, कृष्ण शाह यात्री, हरिप्रसाद भण्डारी, साधना प्रतिक्षा, राममणि ढुङ्गेल, सनत सापकोटा, राजुराम मुनकर्मी, मुक्तिनाथ घिमिरे, रामेश्वरी पन्त, अगिव बनेपाली लगायतकाले लघुकथा वाचन गर्नुभएको थियो।

कार्यक्रममा प्राज्ञ भाउपन्थीले पछिल्लो समयमा लघुकथा विधाको धेरै विकास भएको र अब यसको सैद्धान्तिक पक्ष लेखिनुपर्ने बताउनु भयो। लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले लघुकथा समाजबाट नेपाली लघुकथा डट कम सञ्चालन भइरहेको र चाँडै ‘लघुकथा पत्रिका’ को प्रकाशन गर्ने जानकारी दिनु भयो।

Popularity: 7%

Add comment May 29th, 2010

गणतन्त्र दिवसमा गजल प्रतियोगिता

मणिकुमार श्रेष्ठ, धनकुटा/ एचकेनेपाल डट कम-
गणतन्त्र दिवसको अवसरमा शनिबार धनकुटामा खुल्ला गजल प्रतियोगिता सम्पन्न भएको छ।

नेपाल गजल प्रतिष्ठान धनकुटाको आयोजनामा भएको प्रतियोगितामा कृष्ण सदावहार प्रथम भएका छन्। त्यस्तै प्रतियोगितामा युगान्त जागरण दोस्रो, सिता तिवारी तेस्रो हुनु भएको छ भने नारायण घिमिरले सान्त्वना स्थान प्राप्त गर्नु भएको छ।

१८ जनाको सहभागिता रहेको प्रतियोगितामा विजेताहरुलाई सर्जक पिताम्वर भट्टशराई, प्रतिभा प्रक्षिप्तलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो। प्रतिष्ठानका अध्यक्ष यादव तिम्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतापहाङ्ग लिम्वूले स्वागत मन्तव्य राख्नु भएको थियो।

Popularity: 8%

Add comment May 29th, 2010

प्रधानमन्त्रीको मन्तब्यको पूर्णपाठ

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री तथा गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्रका दिवसका अवसरमा शनिवार टुंडिखेलस्थित सैनिक मञ्चमा व्यक्त गर्नुभएको मन्तव्यको पूर्ण पाठ यस प्रकारको छ।

प्रधानमन्त्रीको मन्तब्यको पूर्णपाठ
सम्माननीय राष्ट्रपतिज्यू,
सम्माननीय उपराष्ट्रपतिज्यू,
सम्माननीय प्रधानन्यायाधीशज्यू,
सम्माननीय संविधानसभाका अध्यक्षज्यू,
दाजुभाइ तथा दिदीबहिनीहरू !

नेपालको इतिहासमा आजको दिनको विशिष्ट महत्व रहेको छ । हामीले ऐतिहासिक जनआन्दोलनबाट प्राप्त गरेको सबभन्दा ठूलो उपलब्धिलाई संस्थागत गरेको दिन हो आज । दुई वर्षअघि आजकै दिन हामीले सामन्ती राजतन्त्रलाई सधैँका लागि समाप्त गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेका थियौँ । यो एउटा कुनै सामान्य घटना नभएर एउटा युगलाई अर्को युगमा लैजाने युगान्तकारी घटना थियो । त्यसैले आधुनिक नेपालको इतिहासमा आजको दिन सर्वाधिक गौरवशाली र ऐतिहासिक रूपमा अङ्कित रहेको छ । यस अवसरमा म स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक बधाई दिन चाहन्छु । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको शान्तिपूर्ण सङ्घर्षमा जीवन बलिदान गर्नुहुने वीर-वीरङ्गानाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूका परिवारजनहरूप्रति सम्मान व्यक्त गर्दछु । ती आदरणीय सहिदहरूको त्याग, बलिदान र साहस हाम्रा लागि सधैँ मार्गदर्शक भइरहनेछ । साथै, यसक्रममा अङ्गभङ्ग भई कष्टकर जीवन व्यतीत गर्न बाध्य योद्धाहरूप्रति पनि सम्मान प्रकट गर्दछु । आजको यस घडीमा तपाईंहरूका अधुरा सपनालाई पूरा गर्नका लागि राज्यका तर्फबाट पुनः एकपटक प्रण दोहोर्‍याउन चाहन्छु।

जनता सर्वाधिक शक्तिशाली छन्, जनता नै इतिहासका निर्माता हुन् । यो भनाइ कुनै इतिहासका पानाहरूमा पढिने वाक्य मात्र होइन, केही समय पहिले नेपाली जनताले व्यवहारमा उतारेर देखाइदिएको खुला यथार्थ हो । जनता स्वतन्त्र छन्, सार्वभौमसत्तासम्पन्न छन् । संसारमा कुनै पनि व्यवस्था जनताको सहमति र समर्थनबिना चल्न सम्भव छैन । नेपालमा पनि यही कुरा पुष्टि भएको छ । ऐतिहासिक जनआन्दोलनमार्फत जनताले गरेको फैसलालाई दुई वर्षअघि आजकै दिन हामीले कार्यान्वयन गरेका थियौँ । जनतासँग निहुँ खोज्दा दुनियाँका कुनै पनि निरङ्कुश शासकहरूले कस्तो नियति भोग्नुपर्दछ भन्ने उदाहरण नेपाली जनताले देखाएका थिए।

राजनीतिक दलहरूबीचको एकता, सहमति र सहकार्यका आधारमा हामीले ऐतिहासिक जनआन्दोलन सफल बनाएका थियौँ । आन्दोलनले निर्दिष्ट गरेको हाम्रो यात्राको पहिलो घुम्ती ११ वैशाख, २०६३ को दिन थियो, जुन दिन हामी लोकतन्त्र बहाली गर्न सफल भएका थियौँ । त्यसै गरी, दोस्रो घुम्ती २८ चैत, २०६४ को दिन थियो, जुन दिन हामीले संविधानसभाको निर्वाचन सम्पन्न गरेका थियौँ भने तेस्रो घुम्ती १५ जेठ, २०६५ को दिन थियो, जुन दिन हामीले नेपालबाट सामन्ती शाही राजतन्त्रलाई सधैँका लागि समाप्त पारेका थियौँ र अब जनताले चौथो घुम्तीको प्रतीक्षा गरिरहेका छन्, जुन दिन नेपालमा सङ्घीय गणतन्त्रात्मक संविधान निर्माण हुनेछ । कुनै पनि बहाना र तर्कका आधारमा राजनीतिक दलहरूबीच बेमेल र विभाजन भयो भने हामी हाम्रो यस कार्यभारलाई पूरा गर्न सक्दैनौँ । यसर्थ, मेरो विनम्र आग्रह छ- आउनुहोस्, सहमतिको यात्रामा हातेमालो गरौँ, सहकार्यका लागि पाइलामा पाइला मिलाऔँ र एकताका लागि काँधमा काँध थापौँ।

राजनीतिक परिवर्तनबाट मात्र जनताका अपेक्षा र आकाङ्क्षाहरूको पूर्ति गर्न सकिँदैन । अग्रगामी राजनीतिक परिवर्तन अनुकूलको अग्रगामी सामाजिक-आर्थिक परिवर्तन पनि त्यत्तिकै जरुरी छ । जब हामी नयाँ संविधान निर्माण गरी राजनीतिक स्थिरता सुनिश्चित गर्दछौँ, तब मुलुकमा आर्थिक समृद्धिको ढोका खुल्छ । राजनीतिक स्थिरताको अभावमा हाम्रा सबै क्षेत्रहरू प्रभावित भइरहेका छन् । राजनीतिक सङ्क्रमणकाल भएका कारण मुलुकका अन्य क्षेत्र पनि सङ्क्रमणकालीन अवस्थाबाट गुजि्ररहेका छन् । त्यसैले छिटोभन्दा छिटो हामीले संविधान निर्माण गरिसक्नुपर्दछ र सङ्क्रमणकालीन अवस्थालाई अन्त्य गर्नुपर्दछ।

आज गणतन्त्र दिवसका अवसरमा देशबासीहरूका सामु उभिएर बोल्दा मैले संविधान निर्माणमा भएको विलम्बका बारेमा बोल्नैपर्दछ । हामीले जनताका सामु दुई वर्षभित्र संविधान निर्माण गरिसक्ने प्रतिबद्धता व्यक्त गरेका थियौँ । यस हिसावले हेर्दा आज गणतन्त्र दिवसका यस अवसरमा तपाईर्हरूका सामु उभिँदा मैले गणतन्त्र नेपालको संविधानसहित उपस्थित हुन सक्नुपर्दथ्यो । तर, तपाईंहरूलाई थाहा छ- मुलुकमा त्यस्तो स्थिति रहेन । राजनीतिक दलहरूका बीचमा विमतिहरू देखा परे, मनमुटावहरू देखा परे । फलस्वरूप सहमतिको यात्रामा अवरोध उत्पन्न भयो । त्यसका लागि म अहिले कसैलाई दोष दिन चाहन्न । तर, आजको दिनमा एउटा कुरा छातीमा हात राखेर हामीले स्मरण गर्नैपर्दछ- संविधानसभाको निर्वाचनमा कसैलाई जिताएको र कसैलाई हराएको रूपमा जसरी चित्रण गरियो, सहमतिको यात्रामा अवरोध त्यही विन्दुबाट आरम्भ भएको हो । विजयको उन्मादले आफ्नै सहयात्रीहरूलाई अपमान गर्न बाँकी राखिएन, सहमतिको राजनीतिलाई किनारा लगाइयो । त्यसैको परिणाम हामीले दुई वर्षसम्म भोग्नुपरेको यथार्थलाई नस्वीकारी फेरि पनि हामी सहमतिको यात्रामा अघि बढ्न सक्दैनौँ।

जनताको शान्ति र नयाँ संविधानको चाहनालाई साकार पार्न हामी पुनः एक ठाउँमा उभिएका छौँ र हामीले हिजो मात्रै व्यवस्थापिका-संसद्बाट संविधानसभाको समयावधि एक वर्ष बढाएका छौँ । अनेकौँ विमति र बेमेलहरुलाई पन्छाउँदै हामीले हिजो ऐतिहासिक निर्णय गरेका छौँ । विगतका कमी-कमजोरीबाट पाठ सिक्दै थप अवधिलाई सही रुपमा सदुपयोग गर्नुपर्दछ र सहमतिका आधारमा अघि बढेर हामीले मुलुकलाई निर्धारित गन्तव्यमा पुर्‍याउनैपर्दछ । जननिर्वाचित संविधानसभाबाटै संविधान निर्माण गर्ने जनताको चाहनालाई मूर्त रुप दिन हिजोको दिनले हामीलाई निर्देशित गर्नेछ भन्ने मलाई विश्वास छ।

मैले बारम्बार सहमति र सहकार्यको राजनीतिमा जोड दिँदै आएको छु । विगतमा बाह्र बुँदे समझदारी गर्दा पनि हाम्राबीचमा थुप्रै असहमतिका बुँदाहरू थिए । विस्तृत शान्ति सम्झौता गर्दा पनि हामीबीच मतान्तरहरू थिए । अन्तरिम संविधान निर्माण गर्दा पनि हाम्राबीचमा विमतिहरू थिए । तर, हामी निर्दिष्ट लक्ष्यका लागि आफ्ना मतहरूलाई स्थगन गरेर भए पनि सहमतिको साझा यात्रामा अघि बढ्न सहमत भएका थियौँ । त्यसैको परिणामस्वरुप संविधानसभाको निर्वाचन सम्भव भएको थियो, लोकतान्त्रिक गणतन्त्रको स्थापना सम्भव भएको थियो । तर, विडम्बना ! अहिले हामीले हाम्रो निर्दिष्ट लक्ष्य- नयाँ संविधान निर्माणमा समुचित ध्यान दिन सकिरहेका छैनौँ, जसका कारण सहमतिभन्दा असहमतिका बुँदाहरू धेरै हुन थालेका छन् । त्यसैले म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु- असहमतिका कुराहरू धेरै नकोट्याऔँ, सहमतिका कुरा गरौँ, विगतका कुरा धेरै नकोट्याऔँ, आगतका कुरा गरौँ।

शान्तिको मूल्यमा हामीले अहिलेसम्मका सबै कामहरू गर्दै आएका हौँ । नयाँ संविधानको निर्माण पनि जनताको दिगो शान्ति र परिवर्तनको आकाङ्क्षालाई सधैँका लागि सुनिश्चित गर्नका लागि हो । त्यसैले नयाँ संविधान निर्माण गर्नका लागि सबभन्दा पहिला शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउनुपर्दछ । यसैगरी, लोकतन्त्रलाई सुदृढ गर्नका लागि लोकतन्त्रका आधारभूत मूल्य-मान्यताप्रति पूर्ण रूपमा इमान्दारीका साथ प्रतिबद्ध हुनैपर्दछ । सबैले आफ्ना आचरण र व्यवहारलाई लोकतान्त्रिक संस्कृति र संस्कार अनुरूप ढाल्नैपर्दछ । लोकतन्त्रमा सबै दलहरू बराबर हुन्छन्, सबै नागरिक बराबर हुन्छन् । लोकतन्त्रमा अरूको सम्मान र इज्जत गर्ने संस्कारलाई स्थापित गर्नैपर्दछ । सबैको स्वाभिमानको यथोचित कदर गर्नैपर्दछ । लोकतन्त्रमा डर, त्रास, भय र आतङ्कका भरमा होइन, नीति, सिद्धान्त, तर्क र तथ्यका आधारमा राजनीति गर्नुपर्दछ । अनि मात्र हामी लोकतन्त्रलाई बलियो बनाउन सक्छौँ र जनमुखी लोकतन्त्रले असमानता, भेदभाव, शोषण र उत्पीडनलाई समाप्त पारी सामाजिक न्याय र समृद्धि हासिल गर्न सक्छ।

अन्त्यमा, ऐतिहासिक जनआन्दोलनका क्रममा जनताले गरेको एउटा अठोटलाई म दोहोर्‍याउन चाहन्छु- पटक-पटक यस्तो लडाइँ लडिरहन नपरोस् । त्यसका लागि हामीले दुई वर्षको कलिलो लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्दछ । सबैसँग यही आग्रह गर्दै तपाईंहरू सबैलाई पुनः हार्दिक धन्यवाद तथा बधाई दिन चाहन्छु।

धन्यवाद !

Popularity: 8%

Add comment May 29th, 2010

यसरी मनाइयो मलेसियामा बुद्ध जयन्ती (+Photo)

रुसाहाङ चेम्जोङ, क्वालालम्पुर/एचकेनेपाल डट कम-
बौद्ध धर्मावलम्बीहरुको संस्था बुद्ध महा विहाराको आयोजनामा मलेसियामा २५५४ औं बुद्ध जयन्ती भव्य रूपले सम्पन्न भएको छ।

शुक्रबार बिहान क्वालालम्पुर ब्रेकफिल्डस्थित बुद्ध मन्दिरमा एक बृहत समारोहबीच मलेसियाका प्रधानमन्त्री दातो महमद नाजीव विन तुन अबदुल राजक र श्रमिती दातीन रोशमा मनसोरको उपस्थितिमा समुद्घाटित सो समारोहमा नेपाललगायत दर्जनौं देशका नागरिकहरूले सहभागिता जनाएका थिए।

मलेसियाका तेस्रो प्रधानमन्त्री नाजिव तुन राजाकले एक मलेसियाको नारामा सबै बाँधिन्न र विभिन्न धर्म र जातिहरु एक्यवद्ध भएर अगाडि बढ्न आग्रह गर्नुभयो। समारोहलाई सम्बोधन गर्दै उहाँले सम्पूर्ण धर्मवालम्वी, जातजाति र संघ(संस्थाको सहयोग पाएरनै यस्तो समारोहमा उपस्थिति हुन पाएको कुरामा खुशी व्यक्त गर्नुभयो। उहाँको उपस्थितीलाई प्रवेशद्वारबाट विभिन्न देशका झाँकी र पुष्प गुच्छाले स्वागत गरिएको थियो।

सोही कार्यक्रम अर्न्तगत साँझ ७ बजेबाट शान्ति र्‍याली तथा रथ यात्रा गरियो। पहिलो दिन ब्रेकफिल्डबाट बुकिट बिन्ताङ परिक्रमा गर्दै पुनः सोही ठाउँ पुर्‍याइएको छ भने शनिबार, आइतबार र सोमबार क्रमशः पुचोङ, सेरडाङ, सेन्तुल, पिजे, देशा पेतालीङलगायतका ठाउँहरुमा शान्ति र्‍याली तथा रथ परिक्रममा गरिने कार्यक्रम रहेको छ।

एनआरएन मलेसियाको संयोजकत्वमा मलेसियामास्थित नेपाल राजदूतावास, यहाँ स्थापित विभिन्न नेपाली संघ(संस्थाहरुले सहभागीता जनाएका छन्। नेपालीहरुको लागि पन्ध्र हजार रिङगेट भन्दा ज्यादा लगानीमा बनाइएको रथ, बुद्धको मूर्तिलगायत विभिन्न सजावट सामाग्रीहरुको रकम भने सो इच्छाले दिन उक्त संस्थाले जनाएको छ।

‘लुम्बीनी नेपाल, बुद्ध नेपाल र बुद्ध नेपालमा जन्मेको हो’ भन्ने मुल नारा लिएर कार्यक्रममा सहभागिता जनाएको एनआरएनलगायतका संस्थाहरुले पर्यटन बर्ष २०११ र नेपालको विभिन्न पर्यटन क्षेत्रहरुको पनि प्रचारप्रसार गरेको छ।

तस्वीरः रुसाहाङ चेम्जोङ, क्वालालम्पुर/एचकेनेपाल डट कम, थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्
साँझ ७ बजेबाट शुरु गरिएको रथ यात्रा तथा शान्ति र्‍यालीमा यहाँस्थित महामहिम राजदूत डा. ऋषिराज अधिकारी, सहराजदूत लेखनाथ भट्टराई, श्रमसहचारी सूर्य भण्डारी, शिव जी गुप्ता, कृष्ण विष्टलगायत सम्पूर्ण परिवार, एनआरएन मलेसियाका अध्यक्ष शंकरबहादुर पौडेल, एनआरएन केन्द्रीय सदस्य भिम शेरचन, नेपाल पत्रकार महासंघ मलेसिया शाखाका उपाध्यक्ष विनो लामा, नेपाल व्यवसायी संघका अध्यक्ष कर्मा गुरुङ, उपाध्यक्ष भवानी शंकर तिवारी, कोषाध्यक्ष दिपक बोगटीलगायत व्यवसायीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ।

Popularity: 8%

Add comment May 29th, 2010

संविधानसभाको म्याद थप्ने निर्णय ऐतिहासिकः प्रधानमन्त्री

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री माधवकुमार नेपालले संविधानसभाको म्याद थप्ने निर्णय ऐतिहासिक भएको बताएका छन्।

राजधानीको टुंडिखेल सैनिक मञ्चमा शनिवार आयोजित गणतन्त्र दिवसको अवसरमा बोल्दै दलहरू पुनः एकै ठाउंमा उभिन सकेको बताउंदै संविधानसभाको म्याद थप्ने निर्णय ऐतिहाँसिक भएको बताएका हुन्। संविधानसभाको म्याद दुई वर्षको लागि थप्ने प्रयाश भएपनि दलहरूको बेमेल कारण थप्न नसकेको बताए।

प्रधानमन्त्री नेपालले अहिलेसम्म दलहरूबीच थुप्रै विमतिहरू भएपनि निदृष्ट लक्ष्यका लागि सहमति, सहकार्य र एकताको विकल्प नभएको बताए।

उनले समारोहमा बोल्दै विगतका उपलव्धी र तगारोलाई विवादको विषय नबानई संविधान निर्माण र देशले भोगिरहेको संक्रमणकाल अन्त्य गर्न सबैसंग आग्रह गरे।

Popularity: 8%

Add comment May 29th, 2010

गणतन्त्र दिवस मनाइदै

एचकेनेपाल डट कम संवाददाता-
राजधानीको टुँडिखेलमास्थित सैनिक मञ्चमा शनिवार गणतन्त्र दिवस मनाइएको छ।

गणतन्त्र दिवसको विशेष समारोहमा राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री माधवकुमार नेपाललगायत मन्त्रिपरिषद्का सदस्य तथा उच्च पदस्थ अधिकारीहरु सहभागी भए।

समारोहमा नेपाली सेना, विद्यार्थीलगायत जनजातिहरूले खेल तथा साँस्कृतिक झाँकी प्रदर्शन गरेका छन्। समारोहमा माओवादी नेताहरू भने उपस्थित भएनन्।

गणतन्त्र दिवसको अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले साढे दुई सय भन्दा बढीलाई विभिन्न मानपदवी तथा विभुषण प्रदान गरेका छन्।

Popularity: 8%

Add comment May 29th, 2010

नागरिक दैनिकको गाडीमा आगजनी

एचकेनेपाल डट कम संवाददाता-
चितवनको रामनगरस्थित जंगलमा नागरिक दैनिकको बा ६ च ८७०० नम्बरको गाडीमा आगजनी भएको छ। आगजनीबाट गाडी र त्यसमा रहेका पत्रिका नष्ट भएका छन्।

चारवटा मोटरसाइकलमा आएका व्यक्तिहरुले गाडी रोकेर चालक किसान श्रेष्ठ र उनीसंग रहेका छोरालाई निकालेर गाडीमा पेट्रोल छर्केर आगो लगाइ दिएका छन्। चालक श्रेष्ठका अनुसार गाडीमा भुस हालेपछि पेट्रोल छर्केर आगो लगाए। आगजनीपछि सो समूह भागेको श्रेष्ठले बताए। उनले चार मोटरसाइकलमध्ये एकको मात्र नम्बर याद गर्न सकेको बताए। उनका अनुसार घटनामा प्रयोग भएको एउटा मोटरसाइकलको नं. बा ७ प ३५६८ हो।

त्यसैगरी, माओवादीका कार्यकर्ताले हिजो शुक्रवार देशका विभिन्न जिल्लामा ‘नागरिक’ तथा ‘रिपब्लिका’ दैनिक जलाएका थिए। पत्रिकामा प्रकाशित समाचारको विषयमा उनीहरूले पत्रिका जलाएका हुन्। शुक्रवार प्रकाशित पत्रिकामा डा. भक्तमान श्रेष्ठ माओवादीको कब्जामा रहेको समाचार प्रकाशित भएको थियो।

Popularity: 8%

Add comment May 29th, 2010

दलहरूबीच भएको सहमति पत्रमा के छ?

एचकेनेपाल डट कम संवाददाता-
दलहरूबीच भएको सहमति पत्र यस प्रकारको रहेको छ-
ऐतिहासिक जनआन्दोलनको जनादेश, नेपालको अन्तरिक संविधान २०६३, लोकतन्त्र दिगो शान्ति तथा बिस्तृत शान्ति सम्झौता अनुरुप हामीहरु निम्नलिखित प्रतिवद्धता गदैर्छा।

१. शान्ति प्रक्रियालाई सार्थक निस्कर्षमा पुर्याउन यस सम्बन्धमा बाँकी कामहरु अविलम्ब सम्पादन गर्न तथा नयाँ संविधान निर्माणको ऐतिहासिक जिम्मेजवारी पुरा गर्न सहमति र सहकार्यका साथ अघि बढ्न हामी दृढ प्रतिज्ञ छौ।

२ नयाँ संविधान निर्माणको प्रक्रियामा उल्लेखनिय काम भएपनि सबै कार्य पुरा नभएकाले संविधानसभाको कार्यावधि एक वर्ष थप्न हामी सहमत छौ।

३. उपयुक्त जिम्मेवारी एवं कार्यहरु यथाशिघ्र सम्पन्न गर्ने सहमतिका आधारमा राष्ट्रिय सहमतिको सरकार गठन गरी अघि बढ्न हामी तत्पर छौ । यसका लागि वर्तमान संयुक्त सरकारका प्रधानमन्त्री अविलम्ब राजिनामा गर्न तत्पर रहनेकुरा स्पष्ट गर्दछौ।

पुष्पकमल दाहाल, अध्यक्ष, एकीकृत नेकपा माओवादी
रामचन्द्र पौडेल, नेता, काँग्रेस संसदीय दलका नेता
झलनाथ खनाल, अध्यक्ष, नेकपा एमाले

Popularity: 8%

3 comments May 28th, 2010

LIVE update: सविधानसभाको अन्तिम दिन/ के के भए..?

LIVE UPDATE:
आठौं संशोधन विद्येयक दुई तिहाई बहुमतले पारित
अर्को बैठक जेठ १७ गते सोमबार दिउँसो तीन बजे वस्ने
संविधानसभाको म्याद एक वर्ष थपियो

एचकेनेपाल डट कम संवाददाता, मे २८-
संविधानसभाको म्याद सकिनै लागेको बेला जेठ १४ गते राति संविधानसभाको म्याद एक वर्षको लागि थप भएको छ। तीन दलका शीर्ष नेताहरूबीच शुक्रवार दिनभर भएको अथक प्रयाशपछि अन्तिम समयमा सहमति जुटेको हो।

तीन दलबीच शान्ति र संविधान कार्यतालिकासहित प्याकेजमा सहमति भएको हो। प्रधानमन्त्रीले उपयुक्त समयमा राजिनामा दिन तयार भएपछि माओवादीले संविधानसभाको म्याद थप्न स्वीकार गरेको थियो।

सहमति जुटेपछि व्यवस्थापिका संसदको बैठक तत्काल बसेको थियो। संविधानसभाको म्याद थप गर्न अन्तरिम संविधान संशोधन गर्न आवश्यक रहेकोले कानुनमन्त्री प्रेमबहादुर सिंहले आठौं संशोधन विद्येयक पारित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए। प्रस्तावमाथि मतदान हुंदा उपस्थित ५ सय ८५ मध्ये ५ सय ८० ले प्रस्तावको पक्षमा, पाँच विपक्षमा र तटस्थमा शून्य मत परेको थियो।

सभामुख सुवास नेम्वाङले प्राप्त परिणामको आधारमा अन्तरिम संविधानको आठौं संशोधन विद्येयक दुई तिहाई बहुमतले पारित भएको घोषणा गरेपछि संविधानसभाको म्याद एक वर्षको लागि थप भएको हो। संसदको अर्को बैठक जेठ १७ गते सोमवार दिउंसो तीन बजे बस्ने भएको छ।

यसअधि समाचारहरूः

LIVE update: सविधानसभाको अन्तिम दिन के के भए..?
एचकेनेपाल डट कम संवाददाता-
संविधानसभाको आज अन्तिम दिन (जेठ १४ गतेभित्र) दलहरूबीच सहमति हुन नसकेपछि आज राति १२ बजेपछि संविधानसभाको म्याद सकिदै छ। संविधानसभालाई भंग हुन नदिन म्याद थप गर्ने प्रयाश भइरहेपनि दलहरूबीच सहमति जुट्न सकेको छैन। संविधानसभाको म्याद सकिनै लाग्दा पनि सहमति जुट्न नसकेपछि देश संकटको भूंमरीमा फस्दै छ।

माओवादीले प्रधानमन्त्रीको राजिनामा नआएसम्म सहमति हुन नसक्ने र संविधानसभाको म्याद नथप्ने अडान लिइरहंदा तीन दलका नेताहरूबीच परामर्श जारी रहेको छ। यसअघि, विहान प्रधानमन्त्री र माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ।

विहान ८ बजे बस्ने भनिएको संविधानसभाको बैठक अहिलेसम्म बस्न सकेको छैन।

न्युज अपडेट तल…

नेताहरू संविधनसभाभित्र अनौपचारिक छलफलमा व्यस्त
सहमतिका लागि तीन दलका शीर्ष नेताहरू अहिले संविधनसभा भवनभित्र अनौपचारिक छलफलमा व्यस्त रहेका छन्। बाहिर राजनीतिक दलका नेता, सभासद तथा कार्यकर्ता, नागरिक समाज, सञ्चारकर्मी तथा सर्वसाधारण जनता शीर्ष नेताहरूले के निर्णय लिने हुन् भन्दै अन्यौलताका साथ पर्खिरहेका छन्।

प्रधानमन्त्रीले राजिनामा दिनै पर्छः माओवादी प्रवक्ता दीनानाथ शर्माले प्रधानमन्त्रीले राजिनामा नदिएसम्म सहमति हुन नसक्ने बताएका छन्। शान्ति र संविधान निर्माणका लागि प्रधानमन्त्रीले राजिनामा दिनै पर्ने कुरा उनले दोहोर्र्याए।

दलका शीर्ष नेताहरूबीच परामर्श जारीः सरकारका प्रवक्ता शंकर पोखरेलले शीर्ष नेताहरूबीच परामर्श जारी रहेको बताएका छन्। उनले अहिलेको समय कठिन रहेको बताउंदै दलका नेताहरूबीच सहमति कायम गरी राति १२ बजेसम्म समयावधि थप गर्ने प्रयाश जारी रहेको बताएका छन्।

संविधानसभा भवनवाहिर धर्नाः नागरिक समाज, माओवादीलगायत सर्वसाधारण जनताले धर्ना दिएर संविधानसभा पक्षमा नाराबाजी गरेका छन्।

प्रधानमन्त्रीको राजिनामा आउंदै आउंदैनः उपप्रधानमन्त्री तथा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदारले प्रधानमन्त्रीको राजिनामा कुनै हालतमा नआउने बताएका छन्। माओवादीले चाहेको के कुरा हुन् उनले बुझ्न नसकेको बताए। समझदारी र सहमतिको विकल्प नरहेको बताउंदै माओवादी सहमतिको बाटोमा आउनै पर्ने बताए।

संविधानसभाको भवन बाहिर भर्खरै ठूलो विस्फोटको आवाज सुनिएको छ… बम विस्फोट भएका हुन् वा केका हुन् त्यसवारे प्रहरीबाट पुष्टि हुन बाँकी….। न्युज अपडेटः संविधानसभाको भवन बाहिर सामान्य विस्फोट भएको छ। विस्फोटबाट कुनै क्षति नभएको प्रहरीबाट जानकारी। विस्फोट १ नम्बर गेटअगाडि भएको हो। नेपाल कम्यूनिष्ट पार्टी राष्ट्रबादीद्वारा विस्फोट गराएको दाबी।

प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न शितल निवास गएका छन्। स्रोतका अनुसार म्याद थप नभए के गर्ने भन्ने विषयमा छलफल गर्न राष्ट्रपतिकहाँ गएको बताइन्छ।

यसैबीच, देशका विभिन्न स्थानहरूमा संविधानसभालाई बचाउनु पर्ने बताउंदै राजनीतिक नेताहरूलाई दवाब दिन सर्वसाधारण जनताले नाराबाजी तथा जुलुस निकालेका छन्।

प्रधानमन्त्री र राष्ट्रपतिबीच गोप्य वार्ताः प्रधानमन्त्री र राष्ट्रपतिबीच शितल निवासमा गोप्य वार्ता भएको छ। प्रधानमन्त्रीका सल्लाहकार रघुजी पन्तले दुबैबीच गोप्य वार्ता भएको बताए। पन्तका अनुसार प्रधानमन्त्रीले राजिनामा नदिने भएका छन्।

संसदभित्र नाराबाजीः सबै दलका महिला सभासदहरूले संविधानसभा मास्न पाइदैन.. पाइदैन…, संसदलाई बन्धक बनाउन पाइदैन.. पाइदैन, जनताको अधिकार खोस्न पाइदैन.. पाइदैन भन्दै नाराबाजी गरेका छन्। उनीहरूले संविधानसभा विघटन गर्न नहुने मागसहित नाराबाजी गरेका हुन्। महिला सभासदहरूले नाराबाजी गरेपछि केही पुरूष सभासदहरू पनि त्यसमा मिसिएर नाराबाजी गरेका छन्। सभामुखको कुर्सी यतिबेला खालि देखिएको छ।

सिंहदरवारमा सञ्चारकर्मीलाई प्रवेश निषेधः प्रधानमन्त्री र मन्त्रीहरूबीच सिहंदरवारभित्र बसेको विशेष छलफलमा रेडियो नेपाल र नेपाल टेलिभिजनका वाहेक अन्य सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाएको छ।

संसद सचिवालयद्वारा कार्यसूचि सार्वजनिकः संसद सचिवालयले बैठक बस्ने कार्यसूचि सार्वजनिक गरेको भएपनि बैठक कहिले सुरू हुने हो निश्चित छैन। माओवादी नेता देव गुरुङ र सद्भावना (आनन्ददेवी) की सरिता गिरीले विरोधको सूचना दर्ता गर्ने जनाइएको छ। कानुन मन्त्री प्रेमबहादुर सिंहले सरकारको तर्फबाट बैठकमा संविधानसभाको एक बर्ष म्याद थप्ने बिद्येयक पेश गर्दै छन्।

संविधानसभाको म्याद थप्न तीन दल सहमतः सविधान संशोधनसहित संविधानसभाको म्याद थप गर्न तीन दल सहमत भएका छन्। उनीहरूबीच एक वर्षको लागि म्याद थप गर्न तीन दलका नेताहरू सहमत भएका हुन्। शान्ति र संविधान कार्यतालिकासहित प्याकेजमा सहमति गरेर प्रधानमन्त्रीले सात दिनभित्र राजिनामा दिने कांग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले बताएका छन्।

अन्ततः प्रधानमन्त्रीले राजिनामा दिनेः शान्ति र संविधान कार्यतालिकासहित प्याकेजमा सहमति भएपछि प्रधानमन्त्रीले गरिने भनिएको सम्बोधनमा सात दिनभित्र राजिनामा दिने प्रतिवद्धता जाहेर गर्नेछन्। सहमति छिट्टै भए त्यसभन्दा अगाडि पनि राजिनामा दिन सकिने जनाइएको छ। प्रधानमन्त्री अहिले संविधानसभा भवनमा प्रवेश गरेका छन्।

व्यवस्थापिका संसदको बैठक सुरुः
सभामुख सुवासचन्द्र नेम्वाङद्वारा बैठक सुरू भएको जानकारी। बैठकमा प्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू उपस्थित।

माओवादी नेता देव गुरुङले सूचना दर्ताबारे रोष्टममा बोल्दै विरोधको सूचना फिर्ता लिए। सहमतिको कुरा मिल्नुअघि सूचना दर्ता गरिएकोले विरोधको सूचना फिर्ता लिएको उनले बताए।

सद्भावना (आनन्ददेवी) की सरिता गिरीले सहमतिको स्वागत गर्दै विरोधको सूचना फिर्ता लिएको बताइन्। तर, सहमतिमा के उल्लेख छन् त्यसबारे आफूलाई थाहा नभएको गिरीले बताइन्। विरोध सूचनामा उठेका विषयहरुमाथि कानुनमन्त्री प्रेमबहादुर सिंहले जवाफ दिए।

१० मिनेटको लागि संसद स्थगित।

व्यवस्थापिका संसदको दोस्रो बैठक सुरुः कानुनमन्त्री प्रेमबहादुर सिंहले अन्तरिम संविधानको आठौं संशोधन विद्येयक माथिको दफावार छलफलको लागि प्रस्तुत गरेका छन्। छलफलमा राप्रपा नेपालका चन्द्रबहादुर गुरुङले मात्र सहभागिता जनाए।

अन्तरिम संविधानको आठौं संशोधन विद्येयक पारित गरियोस् भनी कानुनमन्त्री सिंहद्वारा प्रस्ताव पेश। मत विभाजनका लागि प्रक्रिया सुरू।

जम्मा मत ५८५, हुन्छ भन्नेमा ५ सय ८० मत, हुन्न भन्ने ५ मत तथा तटस्थ शून्य मत। दुईतिहाई बहुमतले अन्तरिम संविधानको आठौं संशोधन विद्येयक प्रस्ताव पारित भएको सभामुख नेम्वाङद्वारा घोषणा। अर्को बैठक जेठ १७ गते सोमबार दिउँसो तीन बजे वस्ने।

Popularity: 8%

4 comments May 28th, 2010

नेविसंघद्वारा ६ सय १ सभासदको पुत्ला दहन

एचकेनेपाल डट कम संवाददाता-
पाटन क्याम्पसका नेपाल विधार्थी संघले शुक्रवार अपरान्ह ६ सय १ जना सभासदहरूको पुत्ला दहन गरेको छ।

संविधान निर्माण गर्ने निर्धारित समय सकिसक्दा पनि निर्माण गर्न नसकेको भन्दै विरोधस्वरूप ती विधार्थीहरूले सभासदहरूको पुत्ला दहन गरेका हुन्। नेविसंघका केन्द्रीय उपाध्यक्ष भूपेन्द्रजंग शाहीको नेतृत्वमा रहेको समूहले सभासदहरूको पुत्ला दहन गरेको हो।

जनताले गर्न पठाएको काम पूरा गर्न नसकेको भन्दै सभासदहरूको भत्ता फिर्ता हुनु पर्ने मागसमेत उनीहरूले गरेका छन्।

शान्ति र संविधानको लागि संविधानसभाको म्याद थप्न नेविसंघले आग्रह गरेको छ।

Popularity: 8%

1 comment May 28th, 2010

बुद्धम् शरणम् गच्छामी (+Video)

एचकेनेपाल डट कम संवाददाता-
बुद्धम् शरणम् गच्छामी…
बुद्ध जयन्तीको अवसरमा…

Popularity: 8%

1 comment May 27th, 2010

किरातीहरु साकेला उभौली नाँच्दै

मणिकुमार श्रेष्ठ, धनकुटा / एचकेनेपाल डट कम-
नेपालका आदिवासी किरातीहरुको प्रमुख चाडको रुपमा रहेको उभौली चाड अर्थात भूमि पूजा चण्डी नाँच नाच्दै सांस्कृतिक उत्सवको रुपमा विहीवारदेखि धनकुटालगायत पूर्वाञ्चलका किरात वस्तीहरुमा भव्य रुपमा मनाउन शुरु गरेका छन्।

प्रत्येक वर्ष चण्डिपूर्णिमा अर्थात बुद्धजयन्तीका दिनदेखि आदिवासी राई, लिम्बु, याक्खा र सुनुवार जातिहरुले भव्य रुपमा किराती रिती अनुसार भूमिको पूजा गरी उभौली चाड अर्थात भूमि पूजा गरी चण्डी नाँच नार्च्र्दै १५ दिनदेखि १ महिनासम्म भव्य रुपमा मनाउने गरेको किरात राई यायोक्खाका सल्लाहकार एवं आदिवासी जनजाति उत्थान विकास प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक आनन्द सन्तोषी राईले जानकारी दिनु भयो।

उहाँका अनुसार उभौली पर्वको रुपमा रहेको किरातीहरुको यो महत्वपूर्ण चाड वसन्त ऋतुमा वालीनाली राम्रो होस् सबैमा सुख शान्ति, सुस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपत्तिहरु नआउन भनि चण्डि पूर्णिमा अर्थात (सुम्निमाको सृष्टि भएको ) दिनदेखि यसलाई सास्कृतिक महोत्सवको रुपमा मनाउने पनि गरिएको छ। यसैक्रममा विहीवार धनकुटाको टुंडीखेलमा भव्यरुपमा आदिवासी किरातीहरुले चण्डीनाच नाच्दै यो पर्व मनाएका छन्।

किरातीहरु प्रकृति पुजक भएकोले प्रकृतिलाई खुशी पार्नका लागि हरेक वर्ष बाली लगाउने समय बुद्धजयन्ती अर्थात चण्डिपूर्णिमामा उभौली र अन्न वाली पाकिसकेपछि खुशियाली मनाउदै उधौली सेवा मंसिरे पूर्णिमा विशेष रुपले खुशियाली साथ आफ्नो प्रमुख चाडका रुपमा मनाउने गरेको आदिवासी जनजाती महासंघ धनकुटाका अध्यक्ष पार्वती राई वताउछिन्।

आदिवासी किरातीहरुको यो पर्व पृथ्वीमा कृषि युग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ उनीहरु मानवलाई खेती गर्ने ठाउं दिने प्रकृति तथा खेती गर्ने सिकाउने पूर्वजहरुका सम्झना र सम्मान स्वरुप भूमि पूजा गर्ने गरेको किरात राई यायोक्खाका सल्लाहकार आनन्द सन्तोषी राईले जानकारी दिए।

Popularity: 8%

2 comments May 27th, 2010

पोखराका महिला खेलाडीहरुलाई बिदाई

सुदर्शन रञ्जित, पोखरा/ एचकेनेपाल डट कम -
महिला भलिवलको दाबेदार रुपमा प्रस्तुत हुदै आएको पोखराको ज्ञानुबाबा आवासिय उच्च माबिका खेलाडीहरुलाई आज एक समारोहका बिच बिदाई गरीएको छ।

आजदेखि काठमाण्डौमा संचालन हुने पाचौं ढोरपाटन ब्लु स्काई कप महिला डबल लिग भलिवल खेलमा सहभागिता जनाउन जान लागेको टोलीलाई आज पोखरामा बिदाई गरिएको हो।

बिदाई समारोहमा कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, नेपाल भलिवल संघका केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले ज्ञानुबाबाको कप्तानि सम्हालेकी मञ्जु गुरुङसहितको टोलीलाई खादा तथा अविर लगाएर सफलताको कामना गर्दै बिदाई गर्नु भएको हो।


तस्वीरः सुदर्शन रञ्जित, पोखरा/ एचकेनेपाल डट कम

ढोरपाटन कपको सबै उपाधि रक्षा गरेको ज्ञानुबाबाले यस पटक पनि आफ्नो सफलतालाई निरन्तरता दिन सकोस् भन्दै हिमचुली विकास बैंकले १४ थान जर्सीसमेत उक्त समारोहमा बितरण गरेको छ। हिमचुली विकास बैंक संचालक समितिका अध्यक्ष सुशीलराज पराजुलीले खेलाडीहरुलाई जर्सी प्रदान गर्दै आफूहरुले खेलकुदमा सक्दो सहयोग गर्ने बताउनु भयो। बर्ष पल्सर खेलाडी मञ्जु
गुरुङलाई बैंकले केही समय अगाडिदेखि रोजगार दिलाएको छ। बैंकका अध्यक्ष पराजुलीले मञ्जु गुरुङको खेलसंगै उनको कार्य कुशलप्रति आफू निकै सन्तुष्टी रहेको बाउनुभयो।

बिद्यालयका संस्थापक कृष्णबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल भलिवल संघका केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङ, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष मोहन घलेलगायतले ज्ञानुबाबाको महिला भलिवलमा पोखरामा राखेको साख पुनः निरन्तरता दिन सकोस् भन्दै सफलताको शुभकामना दिनुभएको थियो। ज्ञानुबाबाको टोलीमा प्रशिक्षक कौशिला खत्री, ब्यबस्थापकमा बाबुराम महतो रहनु भएको छ भने खेलाडीहरुमा परीक्षा गुरुङ, खुसि खड्का, होमकुमारी पुन, अरुणा शाही, मान्ती आले, सुक्रिया गुरुङ, एलिना गुरुङ, बर्ष पुन, पूजा गुरुङ, एलिसा गुरुङ र सविना गुरुङ रहेका छन्।

Popularity: 8%

1 comment May 27th, 2010

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2010
M T W T F S S
« Apr   Jun »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category

More news....