उमेश बस्नेत, द. कोरिया/ एचकनेपाल डट कम-
म्याग्दी समाज समिति दक्षिण कोरियाले बिगत बर्षहरुमा झै यस बर्ष पनि प्रतिस्प्रर्धात्मक भलिबल खेल -म्याग्दी रनिङ कप २०१० राजधानी सउलको नजिक उईजङबुस्थित सिन होङ युनिभर्सिटीको हलमा ११ टीम बिचको प्रतिस्प्रर्धाको साथ सम्पन्न गरेको छ।
पहिलो चरणको खेलमा स्याङजा परिवार बी ले लभ ईन नेपाललाई, गुल्मी सम्पर्क समितिले नेपाल चौतारी समाजलाई, नेपाल मगर संघले पर्वत प्रवासी समाज लाई, स्याङजा परिवार ए ले नेपाल गोरखा परिवारलाई र बाग्लुङ परिवारले रुपन्देही सम्पर्क समितिलाई पछि पार्दै दोश्रो चरणमा प्रबेश गरेका थिए। त्यस्तै, दोश्रो चरणको खेलमा म्याग्दी समाजले स्याङजा परिवार ए लाई र नेपाल मगर संघले स्याङजा बी लाई पराजित गर्दै सेमिफाईनल खेलमा प्रबेश गरे पश्चात भएको खेलमा म्याग्दी समाजले गुल्मीलाई र बाग्लुङले नेपाल मगर संघलाई पछि पार्दै फाईनलमा प्रबेश गरेका थिए । म्याग्दी र बाग्लुङ बिचको प्रतिस्प्रर्धात्मक फाईनल खेलमा म्याग्दी समाजलाई समेत पराजित गर्दै बाग्लुङले म्याग्दी रनिङ कपमा बिजय हासिल गरेको थियो। स्मरणिय रहोस, गत साल पर्वत प्रवासी समाजको हातमा परेको म्याग्दी कप त्यस अगाडी एन सि सीले जितेको थियो । म्याग्दी कपलाई पूर्ण बिजयी बनाउन लगातार दुई बर्ष बिजयी हुनु पर्ने प्रावधान रहेको छ।
तस्वीरः उमेश बस्नेत, द. कोरिया/ एचकनेपाल डट कम, थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्
त्यस्तै, म्याग्दी रनिङ कपमा बाग्लुङ टीमबाट सहभागी तिलक भण्डारी मगर (११ नम्बर जर्सी) लाई उत्कृष्ट खेलाडी घोषित गरिएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी छनोटको लागि नेपाली जनजाति महासंघका अध्यक्ष चङकुमार गुरुङको संयोजकत्वमा ३ जनाको छनोट समिति गठन गरिएको थियो । ३ जनाको छनोट समितिले बाग्लुङ टीमबाट सहभागी तिलक भण्डारी मगर (११ नम्बर जर्सी) लाई उत्कृष्ट खेलाडी घोषणा गरेको हो।
त्यस्तै, कार्यक्रममा खोलिएको भाग्यशाली चिट्ठाको प्रथम पुरस्कार म्याग्दी समाजका उपाध्यक्ष नारायण बरुवाल ( ००१६०४ ) लाई परेको छ भने दोश्रो पुरस्कार सनम पुन (०००३८० ) र तेश्रो पुरस्कार रोजिना तामाङ (००१८७५ ) लाई। सान्त्वना तर्फ अनिल केशी (००११८४) , जन कल्याण माबि (००१८६८) र हरी बानियां (०००७८१ ) लाई परेको छ । हाल सम्म पनि चिट्ठा पुरस्कार प्राप्त नगर्नु हुने पुरस्कृत महानुभावहरुले आफूसंग भएको अर्ध कट्टीका साथ समितिमा यथासिघ्र सम्पर्क गर्नु हुन अनुरोध गरिएको छ।
बिगत बर्षहरुमा भन्दा अझ बढि उपस्थित दर्शकहरुको बिच कार्यक्रमले दर्शकहरुलाई गत सालहरु भन्दा थप रौनकता दिन सफल भएको अनुमान गरिएको छ । कार्यक्रममा बाग्लुङका स्थानीय गायक दुर्गा पौदयालको गीत र म्याग्दी दानाकी प्रवासी चेली शान्ति गर्बुजा पुनको गैरी खेतको….. भन्ने बोलको गीतमा गरिएको नृत्यले दर्शकलाई नचाउनु नचायो । तन, मन लगाएर खटिएका म्याग्देली आयोजकहरुले खासै कुनै कुरामा कमी हुन नदिन जोडडार खटिरहेका देखिन्थे। यसपालिको कार्यक्रममा सेलरोटीको बदला म:म पकाएर बेचबिखनमा ब्यस्त थिए म्याग्देलीहरु।
आगामी बर्षको आयोजनामा पुन: भेट हुने गरि रातको ९:३० बजे म्याग्दी रनिङ कप २०१० लाई अन्त गरिएता पनि हलको सरसफाईले रातको साढे दश बजाईदियो म्याग्देलीहरुलाई।
मणिकुमार श्रेष्ठ धनकुटा/एचकेनेपाल डट कम -
न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष महेन्द्र विष्टले श्रमजिवी पत्रकारहरुले श्रमजीवी पत्रकार ऐनले तोके अनुसारको पारिश्रमिक अझै पनि पाउँन नसकेको वताएका छन।
न्युनतम पारिश्रमिक निर्धारण समितिले मंगलवार धनकुटाको भेडेटारमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वोल्दै अध्यक्ष विष्टले श्रमजीवी पत्रकार ऐन लागु भएको लामो समय विति सक्दा पनि कतिपय मिडिया हाउसहरुले ऐन लागु नगरेको वताउदै यस्तो वताएका हुन । उनले श्रमजिवी ऐनको कार्यन्वयन नगर्ने मिडिया हाउसहरुको अनुगमन समेत थालिएको वताए।
अध्यक्ष विष्टले उक्त श्रमजीवी पत्रकार ऐन तत्कालिन समयमा सान्दर्भिक भएपनि हाल आएर संशोधन गर्नु देखिएकोले मिडिया हाउस र श्रमजीवी पत्रकारहरुको सुझावको आधारमा समय सापेक्ष बनाईने समेत वताए।
त्यस्तै अन्तरक्रिया कार्यक्रममा न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य स्नेह सायमीले विद्यमान श्रमजीवी पत्रकार ऐन सम्पूर्ण मिडिया हाउसहरुलाई लागु गर्नु पर्नेमा जोड दिए । उनले श्रमजीवि पत्रकार ऐन लागु नगर्ने जुनसुकै मिडिया हाउसहरुलाई सरकारले कारवाही गर्नुपर्ने धारणा वताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवं पूर्वाञ्चल संयोजक किशोरकुमार कार्की र प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गगन विष्टले श्रमजीवि पत्रकार ऐनको पालना नगर्ने मिडिया हाउसहरुलाई सरकारले कडा कारवाही गर्नुपर्नेमा जोड दिएका छन।
कार्यक्रममा पूर्वाञ्चलका विभिन्न मिडियाहरुसँग सम्बद्ध पत्रकारहरुको सहभागिता रहेको थियो।
एचकेनेपाल डट कम संवाददाता-
उपप्रधानमन्त्री विजयकुमार गच्छेदार बुधवार भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्।
स्वास्थ्य उपचारको लागि गएपनि केही भारतीय नेताहरूसंग भेट हुन सक्ने गच्छेदारले सञ्चारकर्मीहरूलाई बताए।
त्रिभूवन विमानस्थलमा सञ्चारकर्मीहरूसंग बोल्दै माओवादी, कांग्रेस, एमाले सबै सत्ताको लागि लडिरहेको बताए। सबैलाई सरकार चाहिइएको छ। यसले गर्दा शान्ति प्रक्रिया र संविधान निर्माणमा काम हुन सकेन, उनले भने।
संविधान निर्माणमा ठूला दलहरू असफल भएको बताउंदै सरकारको नेतृत्व अब मधेशवादी दलले गर्न पाउनु पर्ने बताए। उनले भने शान्ति र संविधान बनाउन नसक्नेहरूले बाटो खुला गरिदिनु पर्छ।
एचकेनेपाल डट कम संवाददाता-
एमाले निकट युवा संघले डा. भक्तमान श्रेष्ठको अपहरणमा माओवादीको संलग्नता रहेको दावी गरेको छ।
संघले सचिव राजिव पहारीको संयोजकत्वमा गठन गरेको डा. भक्तमान श्रेष्ठ अपहरण छानविन तथा सहयोग युवा आयोगले बुधबार चितवनमा प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै डा. श्रेष्ठको अपहरणमा माओवादीको संलग्नता रहेको दावी गरेको छ।
युवा संघका अध्यक्ष महेश बस्नेतले अपहरणदेखि रिहाईसम्मको सबै घटनाक्रमको अध्ययन गर्दा श्रेष्ठको अपहरण माओवादीबाटै भएको देखिन्छ, उनले भने। अपहरणपछि श्रेष्ठलाई चितवनको बेथान स्मृति बिग्रेड, शक्तिखोर, नवलपरासीको भ्यालटुङ् डाँडा र कुलेखानीमा राखिएको हुन सक्ने अनुमान गरिएको छ, बस्नेतले भने।
माओवादीका विगतका क्रियाकलाप, माओवादी नेताहरूको भनाई, माओवादीद्वारा गठित छानविन समितिको प्रतिवेदन, श्रेष्ठको परिवारको कुरा र सुरक्षा निकायको गतिविधि हेर्दा अपहरणमा माओवादी संलग्न रहेको पुष्टि हुन्छ, बस्नेतले बताए।
माओवादीले विगतमा यमप्रसाद गौतम र रामहरी श्रेष्ठको हत्या गरे जस्तै आर्थिक विषयमा माओवादी निकट मानिने डा. श्रेष्ठको पनि अपहरण गरिएको हुन सक्छ, बस्नेतले भने। अध्ययनमा अपहरणकारी र प्रहरीबीच साँठगाँठ रहेको आशंका छ। बस्नेतले श्रेष्ठ अपहरणमा परेदेखि अपहरणकारी र प्रहरीबीच कुराकानी भएको दावी गरेका छन्।
माओवादीले पार्टीका निकट व्यक्तिहरूलाई कब्जा लिएर हत्या गर्ने गरेका घटना विगतमा भएकाले अहिले पनि त्यस्तै हुन सक्ने उनले बताए। माओवादी आफैं संलग्न रहको घटनामा मात्रै आन्तरिक आयोग गठन गर्ने माओवादी परम्परा रहेकोले श्रेष्ठ अपहरणपछि माओवादीले पनि आयोग बनाएकाले शंका गर्ने आधार प्रशस्त छन्। श्रेष्ठ रिहा हुनुभन्दा अघिल्लो दिन माओवादी नेता रामबहादुर थापा बादल बेथान स्मृति ब्रिगेडमा पुगेको सूचनासमेत आफूहरूले पाएको बस्नेतले बताए।
अपहरण अघिसम्म परिवार ढुक्क हुनु र पछि झन तनावमा देखिनु, श्रेष्ठको बयान नाटकीय हुनु र सरकारले सत्यतथ्य पत्ता लगाउंन सक्तैन भन्नुको पछाडि माओवादीको संलग्नता छ भन्ने कुराको पुष्टि हुन्छ, बस्नेत भने। उनले यसलाई प्रारम्भिक प्रतिवेदन बताउंदै विस्तृत प्रतिवेदन केही दिनमा काठमाडौंमा सार्बजनिक गर्ने बताए।
एचकेनेपाल डट कम संवाददाता-
नेपाल र भारतको सीमाक्षेत्रअन्तर्गतको झिलमिलामा भारतीय पक्षले खेती गरेको पाइएको छ। दशगजा क्षेत्रको नेपाली भूमिमा भारतीय किसानले अतिक्रमण गरी उखुखेती गरेको सीमा निरीक्षण टोलीले जनाएको छ।
‘नेपाली भूमिमा भारतीय पक्षबाट भएको खनजोत र खेतीबाट सिमाना मिचिएको स्पष्ट हुन्छ’ सीमा निरीक्षण टोलीका एक सदस्यले भने।
सोमबार सीमा क्षेत्रको निरीक्षणमा गएका प्रमुख जिल्ला अधिकारी बुद्धिबहादुर खड्काको टोलीले सीमास्तम्भ नं. २८, ३५ र ३६ बीचका कतिपय सहायक स्तम्भ हराएका र सारिएको अवस्थामा रहेको जनाएको छ।
सिमा स्तम्भ नं. ३४ खोलाले बगाएको स्थानीयले बताए। सारिएको भनिएको सीमास्तम्भ नं. २८ साविक स्थानमै सुरक्षित रहेको टोलीले ठहर गरेको छ।
दशगजा क्षेत्रमा सीमास्तम्भ नं. २८ देखि ३६ कोबीचको साझा भूभाग भारतीयहरूले ट्याक्टर लगाएर खनजोत गरी ऊखु खेती गरेको टोलीमा सहभागीहरूले बताउनुभयो।
कतिवटा सहायक पिलर हराएका वा सारिएका छन् प्राविधिक टोलीको निरीक्षणपछि स्पष्ट हुने बताइएको छ।
एचकेनेपाल डट कम संवाददाता-
सिन्धुली जिल्लाको लदाभिर गाविस–४ निवासी २१ वर्षीया सीता परियार मृत अवस्थामा गाँउकै मकैबारीमा फेला परेकी छिन्।
उदयपुरको कटारी बजारमा तालिममा जान भनी १५ दिनअघि घरबाट हिडेकी परियारलाई सोमबार बेलुका लदाभिर गाविस–२ सुगारेस्थित मकैबारीमा मृतअवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायवनिरीक्षक लक्ष्मी थापाले जानकारी दिनुभयो।
उहाँकाअनुसार मृतक सीता परियार कुन अवस्थामा कुन तालिममा सहभागी हुन गएकी हुन् भन्नेबारे खुलेको छैन।
घट्नाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ
एचकेनेपाल डट कम संवाददाता-
जिल्ला शिक्षा कार्यालय पर्साका सहायक शिक्षा अधिकारी कालिम गद्धीले नेपाल र भारत दुबै देशको नागरिकता लिएको खुलासा भएको छ।
मङ्गलबार वीरगञ्जमा पत्रकारसम्मेलनको आयोजना गरी भारतका एक नागरिकले गद्धीको दोहोरो नागरिकताको खुलासा गरेका हुन्।
जिल्ला शिक्षा कार्यालयमा सहायक शिक्षा अधिकारी पदमा कार्यरत गद्धीले भारतको पश्चिम चम्पारणको लाइफ पर्सा पोष्ट भवराबाट भारतीय नागरिकता लिएको भारतको पश्चिम चम्पारण छतवामा वकिल महमदले सो कुराको खुलासा गरेका छन्।
२०३३ सालमा गद्धीले नेपाली नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय पर्साको अभिलेखमा उल्लेख छ। नक्कली बाबु अलिराज गद्धीलाई खडा गरेर पर्साको पिडारीगुठीबाट नेपाली नागरिकता लिएका हुन्।
एचकेनेपाल डट कम संवाददाता-
शान्ति र संविधान निर्माण सहित वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का शीर्ष नेताहरुले साझा सहमतिको अवधारणा बनाएर अघि बढ्ने बताएका छन्।
त्यसको लागि एकीकृत नेकपा (माओवादी)सँग बसेर साझा सहमतिमा पुग्ने पनि दुबै दलका नेताहरुले बताए।
एमाले संसदीय दलको कार्यालयमा बसेको दुबै दलका शीर्ष नेताहरुको बैठकले शान्ति, संविधान, सेना समायोजन, सत्ता साझेदारी लगायतका विषयमा विगतमा भएको छ बुँदे सहमतिको आधारमा राजनीतिक गतिरोध अन्त्य गर्न वार्तालाई अघि बढाउने सहमति भएको हो।
“विगतको छ बुँदे सहमतिको आधारमा अहिलेको राजनीतिक गतिरोध अन्त्य गर्न माओवादीसँग बसेर साझा सहमति बनाउने कुरा भएको छ,”बैठकपछि नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले भन्नुभयो। एकीकृत माओवादीसँग छिटै नै वार्ता गरी सहमतिमा पुग्ने पनि नेता पौडेलले जानकारी दिनुभयो।
बदलिएको परिस्थितिमा विगत छ बुँदे सहमितको सारतत्व लिएर शान्ति र संविधान निर्माणका लागि राष्ट्रिय सहमतिमा पुग्नुपर्ने नेताहरुले निचोड निकालेका छन्। नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सहमतिमा पुग्न माओवादीसँग तत्काल छलफल गरी साझा दस्तावेजका विषयवस्तुको निचोड निकालीने बताउनुभयो।“ सबैले जित्ने र चित्त बुझ्ने खालको सहमति निकालिनेछ,” अध्यक्ष खनालले भन्नुभयो।
यो सरकार झण्डै झण्डै केयर टेकर बनेकोले सहमतिमा पुग्नुको विकल्प नरहेको भन्दै अध्यक्ष खनालले सरकार नेतृत्वका बारे भने जसको नेतृत्व सबैलाई मान्य हुन्छ, त्यसैले नेतृत्व लिने बताउनुभयो।
बैठकमा नेपाली काँग्रेसका तर्फबाट कार्यवाहक सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, संसदीय दलका नेता रामचन्द्र पौडेल, उपसभापति गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्यहरु कृष्ण सिटौला र डा. रामशरण महत हुनुहुन्थ्यो। एमालेका तर्फबाट अध्यक्ष झलनाथ खनाल, महासचिव इश्वर पोखरेल, प्रदीप ज्ञवाली, भरतमोहन अधिकारी लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो।
एचकेनेपाल डट कम संवाददाता-
गृहमन्त्री भीमबहादुर रावलले एकीकृत नेकपा (माओवादी) पार्टी नागरिक पार्टीका रुपमा परिणत भएमा प्रधानमन्त्री माधवकुमार नेपालले तुरुन्त राजीनामा दिने ठोकुवा गर्नुभएको छ।
मन्त्री रावलले माओवादीले लडाकुहरूको पुनर्स्थापना, हतियार व्यवस्थापन र कब्जा गरिएका सम्पूर्ण जग्गा फिर्ता गरेमा राष्ट्रिय सरकार गठन गर्नका लागि प्रधानमन्त्री बाधक नहुने बताउनुभयो।
मन्त्री रावलले सरकारमा माओवादीको नेतृत्व हुँदा पनि लडाकुहरूको पुनर्स्थापनालगायतका कार्यहरू नभएकोे र हालको सरकारले पनि सो समस्या समाधान गर्न नसकेकाले प्रधानमन्त्रीको राजीनामा नै समस्याको समाधान नभएको जिकीर गर्नुभयो।
उहाँले माओवादीसँग अझै हतियार रहेकाले उनीहरूलाई सरकार सुम्पदा फेरि देश द्वन्द्वतिर जानसक्ने भयका कारण मात्र प्रधानमन्त्रीले राजीनामा नदिएको बताउनुभयो।
कार्यक्रममा मन्त्री रावलले अहिले सम्पूर्ण दलहरूले अनौपचारिक रुपमा वार्ता गरिरहेकाले केही दिनमा नै राजनीतिक निकास निस्कनेमा आफू विश्वस्त भएको बताउनुभयो।
युनिटी इन्टरनेशनल प्राइभेट लिमिटेडका ‘मोस्ट वान्टेड’को सूचीमा राखिएका व्यक्तिहरूलाई सरकारले धमाधम गिरफ्तार गरिरहेको र सोमबार पनि युनिटीका एक दोषी व्यक्तिलाई पक्राउ गरिएको गृहमन्त्रीले जानकारी दिनुभयो।
सो कार्यक्रममा उहाँले केही समय अगाडि अपहरणमा परेका भरतपुर क्यान्सर अस्पतालका निर्देशक डा.भक्तमान श्रेष्ठलाई आर्थिक प्रलोभनका लागि अपहरण गरेको हुनसक्ने बताउनुभयो।
काठमाडौँको वसुन्धरामा भएको बम विस्फोटमा संलग्नको आशंकामा एकजना पक्राउ परिसकेको र बाँकीको खोजीकार्य व्यापक रुपमा भइरहेको पनि गृहमन्त्री रावलले जानकारी दिनुभयो।