हुम तमु, पोखरा/ एचकेनेपाल डट कम-
चैत्र र साउन महिनाको अन्तिम मंगलवार पोखरामा तमु धिं नेपालको आयोजनामा मनाइदै आएको ट्होटे पर्वको अवसरमा रक्तदान र सरसफाइ गर्ने भएको छ।
तमु धिं नेपालको क्षेत्रिय समाजहरु बगर तमु समाज, भिमकालीपाटन, सिमपानी र दीप तमु समाजको संयोजनमा साउन २२ गते बिहान बगर ट्याक्सी चोकमा खुल्ला रक्तदान र पार्दी तमु समाज, नागवेली र फिर्के तमु समाजको अगुवाईमा पार्दी बिरौटामा रहेको तमु हृयुलाचोक क्षेत्र सरसफाई गर्ने निर्णय गरेको तमु धिं नेपालका महासचिव देवीराज तमुले जानकारी दिनुभयो।
ट्होटेका लागि साउनको अन्तिम मंगलवार २५ गते तमु हृयुलाचोकमा तमु समाजका सदस्यहरु भेला भई झाँकी जुलुससहित मुस्ताङचोक, एयरपोर्ट, पृथ्वीचोक, नयाँबजार हुदै तमु धिं नेपालको प्राङ्गणमा समापन समारोहमा परिणत हुने बताइएको छ।
भिम गुरुङ, रूपन्देही/ एचकेनेपाल डट कम-
नेपाल मगर संघ रुपन्देहीले शनिवार बुटवलमा २०६६ सालको एस.एल.सी. परीक्षामा नेपाल प्रथम हुन सफल विवेक अधिकारीसहित रुपन्देहीबाट विशिष्ट श्रेणी ल्याउने मगर विद्यार्थीलाई सम्मान गरेको छ।
सम्मान कार्यक्रममा संघले सामुदायिक विद्यालयबाट रुपन्देही प्रथम छात्रा कालिका उच्च माविकी गंगा श्रेष्ठ, छात्र केरवानी उच्च माविका सुरज क्षेत्री र संस्थागतबाट रुपन्देही प्रथम हुन सफल छात्राद्वय दिप बोडिङकी मनिषा मिदुन र तिनाउ बोडिङकी कविता ज्ञवालीलाई समेत सम्मान गरेको छ।
संघले रुपन्देही जिल्लाबाट एस.एल.सी.मा विशिष्ट श्रेणी ल्याउने एक सय बढी मगर विद्यार्थीलाई अभिनन्दन पत्र र खादाले सम्मान गरेको हो।
संघका अध्यक्ष दलबहादुर विरकट्टा मगरको सभापतित्व बुटवल बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख हेमबहादुर कनौजे मगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल राष्ट बैक भैरहवा शाखाका प्रबन्धक खेम पुन, शिक्षा कार्यालयका शाखा अधिकृत रामकृष्ण पर्छाई, बुटवल नगरपालिकाका अधिकृत कृष्ण ज्ञवाली, मगर संघ बुटवल नगरका पूर्व अध्यक्ष केशव श्रीस, मगर संघ रुपन्देहीका सस्थापक अध्यक्ष अमरबहादुर थापा, संघका कोषाध्यक्ष दुर्गा बुढाथोकी, सम्मानित विवेक अधिकारी, संघका सचिव खेमेन्द्र राना लगायतले आ-आफ्ना धारणा राखेका थिए।
हुम तमु, पोखरा/ एचकेनेपाल डट कम-
लिटिल च्याम्पसका प्रतियोगीहरु समिक्षा गुरुङ र इन्द्र गुरुङले अनुशीलन कला केन्द्रमा निःशुल्क तीन महिने नृत्य प्रशिक्षण प्राप्त गर्ने भएका छन्।
पोखराको मेरील्याण्डमा शनिवार भएको लिटिल च्याम्पस्को ट्यालेण्ट राउण्डमा उत्कृष्ट नृत्य प्रस्तुत गरेपछि निर्णायक गोरे गुरुङले अनुशीलन कला केन्द्रमा समिक्षा र इन्द्रलाई यस्तो अवसर प्रदान गरेका हुन्।
लिटिल च्याम्पस्का २३ सहभागीहरुले आफूमा रहेको प्रतिभा नृत्य, गीत, कविता, रंगरोगन कला प्रस्तुत गरेका थिए।
प्रतियोगिताको निर्णायकहरु अनुशीलन कला केन्द्रका संचालक गोरे गुरुङ, क्याफे दि गार्डेनका सञ्चालक बुद्ध गुभाजु, संगीतकार सुनिल थापा हुनुहुन्थ्यो।
यसअघि, प्रतियोगीहरुलाई पोखरा बृद्धाश्रममा फलफूल वितरण, अर्न्तराष्टिय हिमालय संग्राहलय, फोटो सेसन, क्याफे दि गार्डेनमा पिजा बनाउने एवं पिजा पार्टी सम्पन्न गरिसकेको छ भने दैनिक नृत्य, क्याट वाक र व्यक्तित्व विकासको कक्षाहरु संचालन भइरहेको आयोजक शारदा गुरुङले जानकारी दिनुभयो।
साउनको २२ गते पोखरा सभागृहमा हुने लिटिल च्याम्पस्को प्रतियोगिता हुनु अगावै सञ्चार गृहको भ्रमण, च्याउच्याउ उद्योग अवलोकन, पौडीलगायतका कार्यक्रमहरु रहेको आयोजक लक्ष्मी गुरुङ बताउनुभयो।
प्रतियोगिताबाट बचत भएको पचास प्रतिशत रकम पोखरा १२ ढिकालेथरमा रहेको सरस्वती प्राथमिक विद्यालयलाई सहयोग गर्ने आयोजकहरुको भनाइ छ।
एचकेनेपाल डट कम संवाददाता-
बुटवलमा संचालित १५ दिने तमु गुरुङ भाषा प्रशिक्षण शनिवार समापन भएको छ। तमु ह्यूल छोज धी गुरुङ राष्ट्रिय परिषद बुटवल-९ र तमु रिंम्हृयो (युवा) छोज धीं बुटवलको संयुक्त आयोजनामा प्रशिक्षण संचालन भएको हो।
३५ जनाले भाग लिएको प्रशिक्षणमा तमु भाषा तथा खेमा लिपी विकास केन्द्रीय समितिका महासचिव भिम गुरुङ र देवदह मदर टङ्स एकेडेमीका तमु भाषा शिक्षक देवराज गुरुङले प्रशिक्षण दिनु भएको थियो। कार्यक्रममा बोल्दै तमु भाषाका महासचिब तथा प्रमुख प्रशिक्षक भिम गुरुङले मातृभाषा जातिय पहिचान भएकोले यसलाई बचाउने प्रमुख दायित्व तमु समाज कै रहेको विचार व्यक्त गर्नु भयो। उहाँले हामीले समाज गठन गरेर मात्र पुग्दैन हाम्रो पहिचान बोकेको भाषा र संस्कृतिलाई भावी पिढीसम्म पुर्याउनु पर्ने बताउदै सामाजिक उत्थानका लागि राजनैतिक स्वार्थ भन्दा माथि उठेर लाग्नु पर्ने जिकिर गर्नु भयो।
तमु हृयूल छोज धी गुरुङ राष्ट्रिय परिषद बुटवल-९, का अध्यक्ष रुद्रजंग तमुको सभापतित्व तमु हृयुल छोज धी गुरुङ राष्ट्रिय परिषद रुपन्देहीका अध्यक्ष टेकबहादुर तमुको प्रमुख आतिथ्यमा भएको तालिम समापन कार्यक्रममा तमु हृयुलका केन्द्रीय सल्लाहकार भोजवीर तमु, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् रुपन्देही उपाध्यक्ष लिलाबहादुर तमु, तमु हृयुल छोज धी केन्द्रीय अनुगमन समिति सदस्य सुन्दर तमु , जिल्ला सदस्य जसमाया तमु, भाषा, प्रशिक्षक देवराज तमु, प्रशिक्षार्थी विना तमु र सुजन तमुलगायतले मातृ भाषा संरक्षण गर्न राज्यले कुनै चासो नदिइ एक भाषा र एक धर्मलाई काखी च्यापेको कारण नेपालमा मातृभाषा लोप हुदै गएकोमा चिन्ता ब्यक्त गरेका थिए।
मणिकुमार श्रेष्ठ, धनकुटा/ एचकेनेपाल डट कम-
आदिवासी जनजातिहरुका लागि हुने कार्यक्रमहरु तल्लो स्तरसम्म पुर्याउन नसकिएको धनकुटामा आदिवासी जनजाति नेताहरुले वताएका छन्।
शनिबार धनकुटमा भएको एक कार्यक्रममा वोल्ने वक्ताहरुले आदिवासी जनजातिहरुका लागि हुने कार्यक्रमहरु तल्लो स्तरसम्म पुग्न सकेमा मात्र प्रभावकारी हुने तथा जनजातिहरुको उत्थानमा सहयोग पुग्ने वताएका हुन्।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान काठमाडौँद्वारा धनकुटामा आयोजित आई.एल.ओ. अभिसन्धी १६९ सम्वन्धि प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा जनजातिहरुको उत्थानका लागि अव तल्लो स्तरमा पनि जनजातिहरुका सवालका विषयमा कार्यक्रमहरु संचालन गर्नु पर्नेमा वक्ताहरुले जोड दिएका छन्।
कार्यक्रममा वाल्दै संविधान सभाका सदस्य लीला सुव्वाले आदिवासी जनजातिहरुको हक अधिकारीहरु संविधानमा सुनिश्चित गर्नका लागि जनजातिहरुले सक्रिय भएर लाग्नु पर्ने वताएका छन्। उनले अझै पनि जनजातिहरुमा आफ्ना हक अधिकारका विषयमा ज्ञान नभएको वताउदै आदिवासीहरु शिक्षित भए मात्रै आदिवासी जनजातिहरुको हक स्थापित हुने वताए। आदिवासी जनजातिहरुलाई आफ्ना हक अधिकारहरुका वारेमा जानकारी दिनका लागि गाउँगाउँमा चेतनामुलक कार्यक्रमहरु संचालन गर्नु पर्नेमा उनको जोड थियो।
त्यस्तै, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान काठमाडौँका उपाध्यक्ष जीतपाल किरातीले आइ.एल.ओ. अभिसन्धी १६९ सम्वन्धि प्रशिक्षकहरुलाई प्रशिक्षण दिनका लागि कार्यक्रमको आयोजना गरिएको वताउदै कार्यक्रमले आई.एल.ओ. अभिसन्धि १६९ का विषयमा सहयोग पुग्ने वताए। उनले आदिवासी जनजातिहरुको उत्थानका लागि अव तल्लो स्तरमा कार्यक्रमहरु संचालन गर्नु पर्ने आवश्यक रहेको वताउदै प्रशिक्षक प्रशिक्षण कार्यक्रमले सहयोग पुग्ने वताए।
एचकेनेपाल डट कम संवाददाता-
नवलपरासीको बुलिङ्टारबाट दलदले जाँदै गरेको जीप शनिवार विहान दुर्घटना हुंदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ। घटनामा ७ जना घाइते भएका छन्।
मृत्यु हुनेहरूमा बुलिङटार गाविसका लीलप्रसाद रानाभाट, उनका १० वर्षीय नाती सौरभ रानाभाट र बुलिङटार ७ का जानीटार मगर रहेका छन्। अरू ६ जनाको सनाखत हुन सकेको छैन।
लु.१.ज १८३८ नम्बरको जीप चिप्लो कच्ची सडकबाट एक सय फिट तल खसेको बताइन्छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत दलदलेबाट २० किमि टाढा ग्रामीण भेग अर्खलाको सुक्खा खोलामा दुर्घटना भएको हो। ग्रामीण भेग भएकाले स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र औषधिको अभावले उपचारमा कठिनाई परेको छ। घाइतेहरूको उपचारको लागि स्थानीयबासीले बजारतर्फ ल्याएका छन्।
एचकेनेपाल डट कम संवाददाता-
माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सोमवार नयाँ प्रधानमन्त्रीको चयन हुने दावी गरेका छन्।
शनिवार विहान सभामुख सुवासचन्द्र नेम्वाङसंग भेटेपछि सञ्चारकर्मीहरूसंग बोल्दै प्रचण्डले मुलुकले नयाँ प्रधानमन्त्री पाउने दावी गरेका हुन्।
प्रचण्डले आफ्नो पक्षमा बहुमत पुग्ने आशा व्यक्त गर्दै त्यसको लागि छलफल जारी राखेको बताए। बहुमत प्राप्त नभए अन्य दलहरूसंग सहमति कायम गरेर आफ्नै पार्टीको नेतृत्वमा नयाँ सरकार गठन हुने उनले बताए।
सभामुखले प्रचण्डसंग नयाँ संविधान लेखन र शान्ति पक्रियाबारे छलफल भएको बताए।
भीम के सी कमल, पेरिस/एचकेनेपाल डट कम-
गैरआवासीय नेपाली संघ चौथो युरोपियन क्षेत्रीय बैठक (३१ जुलाइ-१ अगष्ट) मा सहभागी हुन संसारभरबाट फ्रान्सको राजधानी पेरिसमा जम्मा भएका अगुवा एनआरएनहरुको सम्मानमा नेपाली राजदूताबास पेरिसले राजदूत निवास रुइ अल्बेरिक म्यागनार्ड-७ मा एक रात्रिभोजको आयोजना गरेको छ।
फ्रान्सका लागि नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठले रात्रिभोजमा उपस्थित सम्पूर्ण पाहुनाहरुलाई स्वागत गर्दै संसार भर छरिएर रहेका गैरआवासीय नेपालीसंग भएको पुंजी तथा शिल्पलाई राष्ट्र निर्माणमा अधिकतम प्रयोग गर्न सके राष्ट्रोन्नतिमा सरकारलाई सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नु भयो। नेपाली राजदूतावास, पेरिसका प्रथम सचिब जीबन प्रकाश श्रेष्ठले संचालन गरेको अनौपचारिक कार्यक्रममा बोल्दै एनआरएनका प्रमुख संरक्षक डा. उपेन्द्र महतो, अन्तर्राष्ट्रिय समन्वय परिषद अध्यक्ष देबमान हिराचन, युरोपियन क्षेत्रीय संयोजक क्या. हितमान गुरुङ, महिला बिभाग प्रमुख उषा शर्माले आयोजक नेपाली राजदूताबास, पेरिसलाई हार्दिक धन्यबाद दिनु भयो।
रात्रिभोजमा एनआरएनका संरक्षक रामप्रताप थापा, अन्तर्राष्ट्रिय समन्वय परिषद पदाधिकारी तथा सदस्यहरु, बिभिन्न राष्ट्रिय समन्वय परिषदका अध्यक्ष तथा प्रतिनिधिहरुलगायत आयोजक फ्रान्सका एनआरएन पदाधिकारीहरुको सहभागिता रहेको थियो।
सन्तोष न्यौपाने, पेरिस/एचकेनेपाल डट कम -
विदेशमा रहेका नेपालिहरुको साझा सस्था गैरआवसिय नेपाली संगठन एनआरएन नेपालमा दर्ता हुन नसक्दा सय मिलियन डलरको प्रोजेक्ट अलपत्रमा परेको छ।
नेपालमा दर्ता गर्न नपाउने र केही प्रक्रियाहरुको कारण प्रोजेक्ट अलपत्रमा परेको हो । पेरिसमा हुन गइरहेको चौथो एनआरएन युरोपियन सम्मेलनबारे बताउदै एनआरएन फ्रान्सका अध्यक्ष अशोक न्यौपानेले यस्तो बताएका हुन्।
विदेशमा रहेका नेपालीहरुले पठाएको रेमिटान्सबाट नै देशको धेरै अर्थतन्त्रको भार थामेको छ। बेलाबेलामा हुने अकल्पनिय घटना नै किन नहोस, सामाजिक सेवालगायत विभिन्न ट्रस्टहरुको कार्यमा एनआरएनहरुको ठूलो योगदान रहेको छ। तथापि आफ्नै देशका नागरिकको हितको लागि नेपाल सरकार कार्य गर्न पछि सरिरहेको विश्लेशकहरु बताउछन। उनीहरुका अनुसार आफ्नो देशको नागरिक मानेर सम्पूर्ण सुविधा दिन नेपाल सरकार तयार रहेको छैन।
त्यसो त संस्था दर्ता मात्र होइन हरेक पटक दोहोरो नागरिकता मुद्दालाई प्राथमिकता साथ उठाउदै आएको एनआरएन युरोपियन सम्मेलनले अहिले पनि यही मुद्दालाई प्रमुखता साथ अगाडि सार्ने भएको छ। प्रवासमा रहेका धेरै नेपाली नागरिकले दोहोरो नागरिकता नभएकै कारण ब्यापार तथा अन्य अर्थतन्त्र मुलक कार्यका लागि नेपाली समानको विश्वब्यापारिकरण गर्न नसकेको, पछिल्लो पटक गोर्खा आर्मीहरु स्वदेशमा रहेको जग्गा जमिन छाडेर युके बस्नु परेको जस्ता समस्या रहेका छन्। यसबारेमा बताउदै एनआरएन युरोप संयोजक रविन्द्रमान श्रेष्ठले नेपाल सरकारले यसलाई हुन्न पनि नभन्ने दिनुपर्छ पनि भन्ने तर ब्यवहारमा लागु गर्न नसक्ने हुदा सधै नै उठाउनु परेको जानकारी दिए।
त्यस्तै गरी, पछिल्लो समयमा नेपालमा देखा परेको आमाको नामबाट नागरिकता दिने र दिनानुदिन युवा विदेसिएको विषयलाई पनि प्राथमिकता दिएको छ । आमाको नामबाट नागरिकता दिने भनेपनि विदेशमा हुने सन्तानको पक्ष र नेपालमै पनि लागु हुन नसकेको भन्दै नेपाल सरकारलाई यसतर्फ ध्यानाकर्षण गराउने भएको छ । नेपालमा रहेका हरेक महिलाहरुको समस्यालाई सरकारले गम्भिरता पूर्वक नहेरेको भन्दै यो सम्मेलनले महिलाका मुद्धालाई पनि उठाउने आयोजक टिम एनआरएन पेरिसका अध्यक्ष अशोक न्यौपाने बताए।
नेपाल सरकारले युवा शत्तिलाई स्वदेशमै लागु गनुपर्ने र देशको विकासको लागि खर्चिनको लागि सम्बन्धित पक्षलाई पहल गर्न यो सम्मेलनले विशेष जोड दिने बताइएको छ।
पेरिसमा हुन गइरहेको चौथो एनआरएन युरोपियन सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। यहि शनिबार र आइतबार हुने उक्त सम्मेलनको लागि भाग लिन युरोपलगायत अन्य देशहरुबाट सहभागीहरु आउने क्रम जारी छ। यस भन्दा अगाडि युके बेल्जियममा सो सम्मेलन भइसकेको छ। कार्यक्रम युरोपलगायत अमेरिका एसिया, मिडिल इस्ट अफ्रिका क्षेत्रबाट गरेर सयौ एनआरएनको उपस्थिति रहने छ।
एचकेनेपाल डट कम संवाददाता-
नागरिक समाजले सरकार गठनको प्रक्रियामा तटस्थ भएका राजनीतिक दललाई तटस्थता त्यागी सरकार गठनको दायित्व पुरा गर्न आग्रह गरेको छ।
नागरिक समाजका प्रतिनिधिले राजनीतिक दलले मुलुकलाई सरकारविहीन हुनुको अवस्थावाट जोगाउनुपर्नेमा जोड दिनुभयो।
नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष सुदीप पाठकले संविधानसभाले सरकार दिन नसक्दा मुलुक अन्योल र अराजकतातर्फ जानसक्ने भई नेपाल असफल राष्ट्र बन्नसक्ने खतरा रहेकाले दलहरु संवेदनशील हुनुपर्छ भन्नुभयो।
नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा केदारनरसिंह केसीले दलहरुले देशलाई सरकारविहीन हुनवाट अबिलम्ब जोगाउनुपर्ने बताउँदै यदि उनीहरुले सरकार दिन नसकेमा नागरिक समाज सरकारको नेतृत्व दिन सक्षम छ भन्ने दाबी गर्नुभयो।
नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसनका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले राजनीतिक दल र सांसदले यही साउन १७ गते प्रधानमन्त्रीको चुनावमा भाग लिएर मुलुकलाई सरकार दिनुपर्नेमा जोड दिनुभयो।
नेपाल शिक्षक सङ्घका अध्यक्ष मोहन ज्ञवालीले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने नाममा राजनीतिक दल र संविधानसभाका सदस्यले पुरानो चरित्र प्रस्तुत गरेकामा दुःख व्यक्त गर्नुभयो।
अधिवक्ता शेरबहादुर केसीले संविधानसभाले साउन १७ गते मुलुकलाई सरकार दिन नसकेमा संविधानसभा पनि असफल हुन सक्ने भएकाले सभामुखले अन्तरिम संविधान अन्तर्गत रहेको विशेष अधिकार प्रयोग गरेर नियमावली संशोधन गर्नुपर्ने सुझाव दिनुभयो।
एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री पदको निर्वाचनमा उम्मेदवारी फिर्ता लिइनुभएका नेकपा(एमाले) अध्यक्ष झलनाथ खनालले तेस्रो चरणको निर्वाचनमा भाग लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर रिटको बहस हिजो सुरु भई आज पनि जारी हुने भएको छ।
न्यायाधीश बलराम केसीको एकल इजलासमा हिजोको बहस नसकिएकाले शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको हो।
व्यवस्थापिका–संसदमा यही साउन ५ गते भएको सो निर्वाचनमा प्रस्ताव पेस भइसकेपछि फिर्ता लिने कानुनी व्यवस्था नभएको भन्दै अध्यक्ष खनालको उम्मेदवारी कायम गर्न कुमार आचार्य, भविश्वर गुरुङ्, रमेशप्रसाद खनाललगायतका कानुनव्यवसायीले संयुक्तरूपमा रिट दायर गर्नुभएको थियो।
हिजोको बहसमा प्रस्ताव फिर्ता लिने काम संविधानसम्मत नदेखिएको, व्यवस्थापिका–संसदको कार्यव्यवस्था नियामावली २०६५ संविधानको धारा ६८ भन्दा बाहिर गएर काम गर्नसक्ने स्थिति नरहेको, प्रस्ताव फिर्ता लिने प्रक्रिया हुबहु पालना नगरी संविधानसभाका अध्यक्षले मौखिकरूपमा प्रस्ताव फिर्ता लिन निर्देशन दिएको दाबी गर्दै साउन १७ गते हुने निर्वाचनमा हस्तक्षेप गरी अध्यक्ष खनालको उम्मेदवारी पुनः कायम गराउनुपर्नेमा अधिवक्ताले जोड दिएका थिए।
एचकेनेपाल डट कम संवाददाता-
सम्सी बजार हिजो बिहानैदेखि बन्द भई स्थिति तनावपूर्ण रहेको छ। अस्ति राति एसएसबीका भारतीय सुरक्षाकर्मीले महोत्तरी जिल्लाको सम्सीमा प्रवेश गरी नेपाल प्रहरीका तीनजना जवानलाई कुटपिट गरेकोविरुध्द स्थानीयवासीले स्वस्फुर्तरुपमा सम्सी बजार बन्द गरेका हुन् ।
त्यहाँको स्थिति तनावपूर्ण रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोस्ट सम्सीले जनाएको छ।
एचकेनेपाल डट कम संवाददाता-
सात सय रूपैयाँ ऋण नतिरेका कारण डडेल्धुराको देवल गाविसमा एक छिमेकीको अर्का छिमेकीले हत्या गरेका छन्।
देवल गाविस वडा नं २ का लक्ष्मणसिंह बिष्टको उनकै छिमेकी धनबहादुर भण्डारीले गतवर्ष लिएको उक्त रकम नतिरेको विषयमा विवाद भएपछि हालै हत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक प्रेमबहादुर खड्काका अनुसार मदिरासेवन गरी छिमेकी भण्डारीले कुटपिट गरेपछि बिष्टको मृत्यु भएको स्थानीय बासिन्दाले जानकारी दिएको हो।
हत्यामा संलग्न भण्डारीलाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ।
एचकेनेपाल डट कम संवाददाता-
सिँचाइमन्त्री बालकृष्ण खाँणले साउन १७ गते प्रधानमन्त्रीको लागि हुने निर्वाचनमा पनि कसैले आवश्यक बहुमत प्राप्त गर्न नसकेमा सहमतिका लागि नयाँ ढङ्गले अगाडि बढनुपर्ने बताउनुभएको छ।
नेपाल प्रेस युनियन रूपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खाँणले अबको निर्वाचनमा पनि प्रधानमन्त्री निर्वाचित हुन नसके दलहरूको सहमतिमा विद्यमान कानुन संशोधन गरेर भए पनि प्रधानमन्त्री चयनका लागि नयाँ ढङ्गले जानुपर्ने बताउँदै भन्नुभयो– “पटकपटक मतदान प्रक्रियामा जाँदा र प्रधानमन्त्री चयन गर्न नसक्दा लोकतन्त्रलाई नै कमजोर बनाउँछ।”
साउन १७ गतेको निर्वाचनमा आफ्नो पार्टीले आवश्यक बहुमत ल्याउने सम्भावना बढेको उल्लेख गर्दै मन्त्री खाँणले सेना समायोजन, वाइसिएल विघटन र कब्जा गरिएका घरजग्गा फिर्ता नगरेसम्म माओवादीको नेतृत्वमा सरकार बन्न नसक्ने बताउनुभयो।
हुम तमु, पोखरा/एचकेनेपाल डट कम -
अगष्ट ९ अर्थात विश्व आदिवासी दिवस कास्कीका विविध कार्यक्रम गरी मनाउन नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषद कास्कीका अध्यक्ष पानबहादुर घर्तीको संयोजकत्वमा दुइ सय एक सदस्यीय मुल आयोजक समिति गठन भएको छ।
विश्व आदिवासी दिवस अर्न्तगत साउन २२ गते पोखरामा मोटरसाईकल र्याली, २३ गते अनिज स्थापना दिवस तथा विश्व आदिवासी दिवसको सन्दर्भमा रक्तदान कार्यक्रम गर्ने र २४ गते चिप्लेढुंगाबाट झाँकी जुलुससहित पोखरा सभागृहमा पुगी समारोहमा परिणत हुने आदिवासी जनजाति महासंघ कास्कीका सचिव पुर्ण हृयोल्मोले जानकारी दिनुभयो।
दिवसका कार्यक्रमहरुलाई भव्यताका साथ सम्पन्न गर्न विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । गठित प्रचार प्रसार उपसमितिमा नेपाल आदिवासी जनजाति पत्रकार संघ अनिज कास्की, स्वयंसेवक उपसमितिमा नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ, कुमाल समाज र छन्त्याल समाज, साँस्कृतिक उपसमितिमा नेपाल तामाङ घेदुङ, दुरा सेवा समाज, नेवा खल, र्याली झाँकी व्यवस्थापन उपसमितिमा नेपाल मगर संघ, तमु धिं नेपाल, मार्फा थकाली सेवा सदन, थकाली सेवा समिति, तिन गाँउले थकाली समाज, मञ्च व्यवस्थापन उपसमितिमा किराँत सेवा समाज, हृयोल्मो समाज, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ र अतिथि सत्कार उपसमितिमा भुजेल सेवा समाज रहेका छन्।
मणिकुमार श्रेष्ठ, धनकुटा/ एचकेनेपाल डट कम-
लेखक तथा पत्रकार नारायण वाग्लेको नयाँ कृति मयुर टाइम्सको वारेमा धनकुटामा बुधबार अन्तरक्रिया कार्यक्रम भएको छ।
पल्पसा क्याफेपछि मयुर टाइम्स् उपन्यास लिएर आएका पत्रकार एवं लेखक नारायण वाग्ले वुधबार आफ्ना नयाँ कृति मयुर टाइम्सको बर्णन गर्नका लागि धनकुटेली पाठकहरु माझ झुल्किएका थिए। आफना कृति मयुर टाइम्सको वर्णन गर्नुहुदै लेखक वाग्लेले मयुर टाइम्समा देखेका तथ्यहरुमा भेटिएका मानवीय पक्षहरुलाई सुन्दर ढंगले प्रस्तुत गरेको वताए।
त्रिवेणी माध्यमिक विद्यालयको आयोजनामा आयोजित मयुर टाइम्स सम्बन्धी साक्षात्कार कार्यक्रममा लेखक वाग्लेले इतिहास ठूलो समय चक्रबाट गुज्रिरहेको वताउदै यिनै गुज्रिएको इतिहासबाट बाहिर आउन नसकेका मानवीय पक्षहरुलाई आफूले कृतिमार्फत बाहिर ल्याउन प्रयत्न गरेको वताए । उनले पत्रकारिताबाट बचेको समयलाई लेखनतिर लगाएर भोगे र देखेका कुरालई बिम्बको रुपमा प्रयोग गरेर कृतिको रुपमा प्रस्तुत गरेको वताए । उनले पत्रकारिताको दवावमा लेख लेख्नु अत्यन्तै कष्टकर भएको पनि वताए।
वाग्लेको लेखकीबाट प्रभावित पाठकहरुमाझ वाग्लेले लेखनमा सरल वाक्यहरु आफूले प्रयोग गरेको पनि दावी गरे । कुनै जमानामा आफूले अप्ठयारा र कठिन शब्दहरु प्रयोग गरेका लेखलाई लेख मान्ने गरेको बताउँनु हुदै वाग्लेले त्यो गलत रहेकोमा आफू पुगेको पनि वताए।
पाठकहरुले सोधेका प्रश्नहरुको उत्तर दिनु हुदै वाग्लेले बिम्बहरुलाई कलात्मक र सुन्दर ढंगले प्रस्तुत गर्न सक्नु नै असल लेखकको क्षमता भएको वताए । उनले मोफसलका पाठकहरुको भावना बुझनका लागि आफू धनकुटा आएको बताउनु हुँदै आगमी आफनो कृति पनि आम पाठकहरुकै भावना अनुसार आउने पनि वताए।
त्यसक्रममा प्रकाशक संस्था नेपालयका किरणकृष्ण श्रेष्ठले पुस्तकको ब्यवस्थित वितरण नहुने समस्या नेपाली पाठकहरुले भोगिरहेको वताए। प्रकाशक श्रेष्ठले पाठक र लेखकबीच आत्मीय चिनजानका लागि मोफसलमा साक्षात्कार कार्यक्रम राखिएको वताए। कार्यक्रममा विभिन्न राजनीतिक दल, सरकारी कार्यालय, संघसंस्था र शिक्षण संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, लेखकहरुको सहभागिता रहेको थियो । त्यसक्रममा लेखक एवं पत्रकार नारायण वाग्लेले आफना कृतिहरु पल्पसा क्याफे र मयुर टाइम्स खरिद गर्ने पाठकहरुलाई हस्ताक्षर गर्दै दिनु भएको थियो। कार्यक्रमको संचालन विद्यालयका प्रधानाध्यापक इश्वरी अधिकारीले गरेका थिए।
एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी)ले नेकपा (एमाले) र मधेसी लोकतान्त्रिक मोर्चालाई प्रधानमन्त्री चयनका सन्दर्भमा गरेको निर्णयमा पुनःविचार गर्न आग्रह गरेको छ।
मुलुकलाई सरकारविहीनताको अवस्थाबाट निकास दिन यही साउन १७ गते हुने प्रधानमन्त्री चयनको निर्वाचनमा मतदान गर्न समेत एकिकृत माओवादीले आह्वान गरेको छ। यसअघि भएको निर्वाचनमा ती दुवै पक्ष तटस्थ बसेका थिए।
स्पष्ट दुई तिहाइ बहुमतको राष्ट्रिय सहमतिको सरकार गठन हुने सुनिश्चितता नभएसम्म आफूले निर्वाचनमा भाग नलिने नेकपा (एमाले)ले निर्णय गरेको छ भने मोर्चाले संविधान निर्माण, शान्तिप्रक्रिया र मधेसका मुद्दामा स्पष्ट दृष्टिकोणका साथ कार्यान्वयनको सुनिश्चितता गर्ने दललाई सहयोग गर्ने बताउँदै आएको छ।
मुलुकलाई अग्रगामी दिसातर्फ उन्मुख गराउने सिलसिला र परिवर्तनलाई आत्मसात गर्ने सन्दर्भमा नेकपा (एमाले) र मोर्चासँग अन्य दलको तुलनामा आफ्नो पार्टीको विचार र दृष्टिकोण मिल्ने भएकाले आगामी निर्वाचनमा सकारात्मक निर्णय आउनेछ भने अपेक्षा गरिएको एनेकपा (माओवादी)का प्रवक्ता दीनानाथ शर्माले बताउनुभयो।
उहाँले मुलुकलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन नहुने भन्दै मतदानमा भाग लिई संविधान लेखन र शान्तिप्रक्रियालाई छिटो टुङ्गोमा पुर्याउने काममा लाग्न समेत दलहरूसँग आग्रह गर्नुभएको छ।
एचकेनेपाल डट कम संवाददाता-
मनाङ मर्स्याङ्दी फुटबल क्लबले विभिन्न फुटबल क्लबमा आबद्ध १७ खेलाडीलाई आफ्नो क्लबमा एक वर्षका लागि अनुबन्ध गरेको छ।
क्लबद्वारा यहाँ आयोजित कार्यक्रममा राजधानीमा रहेका ए डिभिजन लिग फुटबल क्लबका खेलाडीलाई अनुबन्ध गरिएको हो। क्लबमा अनुबन्धित खेलाडीले खेल दक्षताका आधारमा पारिश्रमिक मासिक न्यूनतम रु. दश हजारदेखि अधिकतम रु. ५० हजारसम्म पाउनेछन्।
अनुबन्धित खेलाडीमा कप्तान टासी छिरिङ, विशाल श्रेष्ठ, सुजल श्रेष्ठ, पासाङ लामा, नरेश केसी, गणेश खड्का (मनाङ मर्स्याङदी), सन्तोष साहुखल, सन्दीप राई, विजय गुरुङ, अन्जान केसी, (थि्रस्टार), रोहित चन्द, सवीन्द्र श्रेष्ठ, नवीन महर्जन, (मच्छिन्द्र), निराजन खड्का, दीपक भुसाल,शिव श्रेष्ठ (फ्रेन्डस), सुवास राई (न्युरोड) रहेका छन्।
त्यस्तै सहायक प्रशिक्षकमा विजय शाहीलाई नियुक्त गरिएको छ।
कार्यक्रममा खेलाडीलाई क्लबको मुख्य सहयोगी रहेको लक्ष्मी हुन्डाई प्रालिअङ्कित विभिन्न नम्बरका खेल पोसाक प्रदान गरिएको थियो।
सो कार्यक्रममा क्लबका अध्यक्ष टासी घलेले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आन्तरिक विवादका कारण फुटबल क्लब सक्रिय हुन नसकेको बताउँदै फुटबल खेल व्यावसायिक हुनसके फुटबल विकास सम्भव भएको विश्वास व्यक्त गर्नुभयो।
एन्फा प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले राजधानीमा ए डिभिजन लिग सञ्चालन गरिँदा जिल्ला, क्षेत्रका खेलाडी ओझेलमा पर्ने उल्लेख गर्दै व्यावसायिक लिग वा राष्ट्रिय लिगका सम्बन्धमा कुन उपयुक्त हुन्छ छलफलबाट टुङ्गो लगाइने छ भन्नुभयो।
क्लबले दक्षिण कोरियाका तीन खेलाडी तथा प्रशिक्षकलाई समेत पछि अनुबन्ध गरिने जनाएको छ।
एचकेनेपाल डट कम संवाददाता-
काम गर्ने ठाउँबाट विभिन्न कारणवश भागेर कुवेतस्थित नेपाली राजदूतावासमा शरण लिन आएका महिला कामदारमध्ये १४ जनालाई हिजो बिहान गल्फ एयरको उडानबाट फिर्ता पठाइएको राजदूतावासले जनाएको छ।
गत चैत्रमा दूतावास खुलेपछि भागि शरण लिन आएकामध्ये ११९ जना नेपाल फर्केका र सो बाहेक भीसा १८ अन्तर्गत हेभी चालकको रुपमा काम गर्न आएका ४० जना पनि काम गर्ने वातावरण सन्तोषपूर्ण नभएको भन्दै दूतावासको सहयोगमा यसै महिना फर्काइएको जनाइएको छ।
यी चालकमध्ये १५ जना चालकलाई १ महिनासम्म खाने व्यवस्था पनि राजदूतावासले गरेको थियो।
एचकेनेपाल डट कम संवाददाता-
विस्तृत शान्ति सम्झौता विपरित नेपाली सेनामा नयाँ भर्नाको विषयमा दायर रिटलाई सर्वोच्च अदालतले खारेज गरेको छ।
उक्त अदालतका न्यायाधीश बलराम के.सी. र गौरी ढकालको संयुक्त इजलासले सो रिट खारेज गरेपछि नेपाली सेनामा भर्ना प्रक्रियामा अवरुद्ध बाटो खुल्ला भएको छ।
इन्हुरेड इन्टरनेश्नलका तर्फबाट अधिवक्ता श्रीकृष्ण सुबेदीले २०६५ चैत महिनामा दायर गर्नुभएको रिटमा सो इजलासले संझौताबाट उत्पन्न विवादलाई अदालतले हेर्न नहुने हुँदा रिट खारेज हुने जनाएको छ।
संबैधानिक वा कानुनी प्रश्न समावेश भएको विवादमात्र अदालतले समाधान गर्ने भएकाले संझौता, समझदारी वा करारका दुईपक्षबीच मात्र लागु हुने शर्तयुक्त दस्तावेजबाट उत्पन्न हुने विवाद असाधारण अधिकार छेत्रबाट नहेरिने पनि अदेशमा उल्लेख छ।
नेपाली सेनाले विभिन्न पदमा दरबन्दी खाली भएको भन्दै मिति २०६५।७।१७ र मिति २०६७।१।६मा विज्ञापन गरेको थियो।
पेम्बा गेलु शेर्पा/ एचकेनेपाल डट कम-
“शेर्पाहरुको महत्वपूर्ण संस्कार विवाह हो। यस जातिमा मागी, प्रेम, जारी, चोरी जस्ता सबै प्रकारका विवाह परम्परा पाइन्छ। मागी विवाह मामा चेला र फुपू चेलीबीच गर्ने चलन छ” यो वाक्यांश कुनै साधारण पत्रिकामा प्रकाशित कसैको नितान्त व्यक्तिगत विचारको सन्दर्भ सामाग्री होइन, यो त लाखौ लाख विद्यार्थीहरुले बर्षेनी अध्ययन गर्ने उच्च माध्यमिक शिक्षा (१०+२) को कक्षा १२ समाजशास्त्र/मानवशास्त्र बिषयको नयाँ पाठ्यक्रममा छापिएको सन्दर्भ सामाग्री हो। जसलाई बिद्यार्थीहरुले अध्ययन गरेर आफ्नो भविष्यको गन्तव्य बनाउछन।
शेर्पा जाति नेपालको उच्च हिमाली भेगमा बसोबास गर्ने नेपाली हो, जसको आफ्नै छुट्टै भाषा, संस्कृति तथा परम्परागत मूल्य र मान्यताहरु रहेका छन तर शेर्पा जातिको बिषयमा लेखिएको यो सामाग्रीले भने वास्ताविक शेर्पाहरुको ती सबै संस्कार संस्कृति मूल्य र मान्यताहरुको खिल्ली उडाएको छ।
सात पुस्तासम्म पनि मामा र आमा समान मान्ने शेर्पा जातिको यो संस्कारको गलत व्याख्या गर्ने रत्ननगर ९ चितवनका हरिहर घिमिरे हुन् जो समाजशास्त्र/मानवशास्त्र विभागमा आवद्ध जनाउछन्। हुन त आखिर बाहुन न परे “बाहुन ले च्याउ खाओस न च्याउको नाम थाहा होस ” भने जस्तै कसरी शेर्पा बारेमा जानुन लेखुन पनि। तर के यसरी नजानेको बिषयमा हचुवा तालले सिङ्गो शेर्पा जातिको संस्कार संस्कृतिको धज्जी उडाउदै शेर्पाहरुको स्वाभिमानमा ठेस पुर्याउने अधिकार नेपालका यी बाहुनहरुलाई छ ?
अझै अर्को वाक्यांश पढौ न “खुम्बु क्षेत्रका कुनै शेर्पा समुदायमा थुप्रै दाजुभाईको एउटै पत्नी राख्ने बहु प्रथा चलन पाइन्छ। यस्तो बिबाहमा जेठा दाजुले नै बिबाहको बिधि पूरा गर्छन। त्यसैले त्यस महिलाबाट जन्मिएका सन्तानहरु जेठो दाजुका हुन्छन तर वर्तमान समयमा केही परिवारमा दुई दाजुभाई दुई साझा पत्नी पनि भएको पाइन्छ। यस्तो दुबै पत्नीको विवाह पनि जेठो दाजुसँग नै हुन्छ। किनभने दाजुले भाइको पत्नीसँग सहवास गर्न नहुने र भाइले भाउजुसँग सहवास गर्न हुने भएका कारणबाट यस्तो परम्परा भएको विश्वास गरिन्छ। दाजुभाइमा सम्पत्ति बाँड्नुपर्ने र स्त्रीको संख्या थोरै जस्ता कारणबाट बहुपति बिबाहको प्रचलन भएको देखिन्छ।
जारी बिबाह गर्दा समाजले तोकेको जरिमाना तिर्नुपर्दछ भने चोरी बिबाह र प्रेम बिबाहमा पनि सामाजिक मान्यता दिलाउनका लागि बिबाहमा गरिने सबै विधि गर्ने चलन पाइन्छ। मागी बिबाह गर्दा मामाचेला र फुपूचेलीसँग गर्ने चलन शेर्पा जातिमा विशेष रुपले प्रचलित छ।” यो पुस्तक अहिलेको उच्च माध्यमिक शिक्षा (१०+२)को कक्षा १२ समाजशास्त्र/मानवशास्त्र बिषयको नयाँ पाठ्यक्रममा समावेश छ। अब सबै शेर्पा दाजुभाई तथा दिदिबहिनीहरुले भन्नुहोस यो वास्तविक रुपले शेर्पा जातिको विवाह संस्कारको सही शास्त्र बनेको छ? गम्भीर छलफलको बिषयबस्तु हो यो, तसर्थ सबै शेर्पा समुदायका लागि भन्ने शेर्पा संघसंस्था तथा सरोकारवालाहरुले यसप्रति ध्यान दिनु पर्ला कि ? नेपालमा समाजशास्त्र र मानवअशास्त्रको परिचय नामक पुस्तकको पृष्ठ ११७ मा तपाईं यो सामाग्री पढ्न सक्नुहुन्छ।
नेपाल सरकारद्वारा प्रतिबन्ध फुकुवा,
इराकमा नेपाली कामदारलाई बैधानिक हैसियत
एचकेनेपाल डट कम संवाददाता-
नेपाल सरकारले इराकमा नेपालीका लागि काम गर्न लगाएको प्रतिवन्ध बुधवारदेखि फुकुवा गरेको छ।
इराकमा सन् २००६ को अगस्टमा १२ नेपाली कामदारको सशस्त्र समूहले बन्धक गरी हत्या गरेपछि त्यहाँ नेपालीलाई बैधानिक रूपले काम गर्नका लागि पठाउन नेपाल सरकारले प्रतिबन्ध लगाएको थियो। यद्दपि, खाडी मूलुकहरूमध्ये इराकमा राम्रो तलब सुविधा भएकोले नेपालीहरू त्यहाँ काम गर्दै आइरहेका थिए।
अमेरिकीको कन्ट्राक्ट कमान्ड (सेन्टाम) कम्पनीले सम्बन्धित देशले औपचारिक प्रतिबन्ध लगाएका नेपाललगायत अन्य मुलुकका कामदारलाई २० दिनभित्र फिर्ता पठाउने निर्णय गरेपछि ४० हजार नेपाली कामदार मारमा परेका थिए।
त्यहाँ कार्यरत नेपालीले यथावत काम गरिरहन पाउने गरी नेपाल सरकारले बुधवारदेखि प्रतिबन्ध फुकुवा गरेको हो। प्रतिवन्ध फुकुवापछि त्यहाँ कार्यरत नेपाली कामदार फर्कनु नपर्ने जानकारी श्रम मन्त्रालयले दिएको छ। प्रतिबन्ध फुकुवापछि अरू खाडी मुलुकका कामदारले जस्तै त्यहाँका कामदारले वैधानिक हैसियत पाउनेछन्।
प्रधानमन्त्री माधवकुमार नेपाल, मुख्यसचिव माधव घिमिरे, परराष्ट्र सचिव मदन भट्टराई, श्रम सचिव दिनेशहरि अधिकारीलगायत उच्च अधिकारीबीच भएको छलफलपछि श्रम मन्त्रालयले फुकुवा गर्ने निर्णय गरेको बुधवार पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।
प्रतिबन्ध फुकुवा गरेको लिखित पत्र श्रम मन्त्रालयले बुधवार नै पराराष्ट्र मन्त्रालय र त्यसको जानकारी काठमाडौंस्थित अमेरिकी दूताबास पठाइएको छ।
श्रम मन्त्रालयका अनुसार अमेरिका कम्पनीमा ४० हजार र अन्य कम्पनीहरूमा १ लाखभन्दा बढी नेपाली कामदार इराकमा रहेका छन्।
एचकेनेपाल डट कम संवाददाता-
कराचीबाट चालक दलसहित १ सय ५२ यात्रु लिएर इस्लामावादतर्फ उडेको विमान बुधवार दुर्घटनामा परेको छ।
खराब मौसमका कारण विमान मारगाला पहाडमा ठोक्किएर दुर्घटनाग्रस्त भएको एजेन्सीहरूले बताएका छन्।
पाकिस्तानको आन्तरिक, खाडी देश तथा बेलायत उडान भर्दै आएको एयरव्लु विमान दुर्घटना हुनुअघि इस्लामावादस्थित विमानस्थल टावरसंग सम्पर्क भएको समाचार स्रोतले जनाएका छन्।
दुर्घटना स्थलमा सडक नभएकाले उद्धार कार्यमा कठिनाइ परेको सरकारी अधिकारीहरूले बताएका छन्। विमान दुर्घटनापछि मारगाला पहाडमा सेतो बाक्लो धुंवा उडेको स्थानीय प्रत्यक्षदर्शीले बताए।
पछिल्लो समाचार अनुसार दुर्घटनास्थलमा ९० जनाको शव फेला परेको छ। दुर्घटनामा जीवित रहने सम्भावना कम रहेको बताइएको छ। मंगलवारदेखि परेको अवरिल बर्षाका कारण उद्धारकार्यमा कठनाइ परेको एजेन्सीहरूले बताएका छन्।
एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री माधवकुमार नेपालले चिनीयाँ सार्वजनिक सुरक्षा उपमन्त्री चेन जिमिनको नेतृत्वमा नेपाल आएको प्रतिनिधिमण्डलसितको भेटमा हङकङ प्रवेश गर्न चाहने नेपालीले भिसा लिनेक्रममा धेरै कठिनाई भोग्नु परेकोतर्फ ध्यानाकर्षण गराएका छन्।
सो भेटका अवसरमा दुई देशबीचको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन सूचना आदानप्रदान गर्ने र अवाञ्छित गतिविधि नियन्त्रण गर्नेबारे कुराकानी भएको थियो।
सुरक्षाका क्षेत्रमा उत्पन्न हुनसक्ने पछिल्ला चुनौतीका विषयमा हरेक दुई वर्षमा एकअर्को मुलुकको उच्चस्तरीय भ्रमण गरी छलफल गर्न सहमति भएको प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभयो।
दुई देशबीचको सम्बन्धलाई बहुआयामिक ढङ्गले हेर्नुपर्नेमा पनि सो अवसरमा छलफल भएको बताइएको छ।