Archive for July 2nd, 2010

व्यापारीमाथि दिउंसै गोली प्रहार

एचकेनेपाल डट कम संवाददाता-
अज्ञात समूहले सिराहाको विद्यानगरमा शुक्रवार दिउंसो एक व्यापारीमाथि गोली प्रहार गरेको छ।

गोली लागेर घाइते भएका स्थानीय व्यापारी विद्यानगर-५ का ५० वर्षीय रामअवतार साह रहेको प्रहरीले जनाएको छ।

पाखुरामा गोली लागेर घाइते भएका साहको लहान अस्पतालमा उपचार भैरहेको छ। अपहरण गर्न आएका सो समूहको प्रतिकार गर्दा उनीमाथि गोली प्रहार भएको घाइते साहको भनाई उदृत गर्दै प्रहरीले बताएको छ।

घटनापछि सो क्षेत्रमा सुरक्षाकर्मीको व्यापक परिचालन गरी घटनामा संलग्न समूहको खोजी भैरहेको सिराहा प्रहरीले जनाएको छ।

Popularity: 8%

Add comment July 2nd, 2010

प्रतिवबद्धता पूरा गर्ने वेलामा माओवादीले स्वर फेरे - नेता पौडेल

सूर्यचन्द्र बस्नेत, काठमाडौं /एचकेनेपाल डट कम -
नेपाली कांग्रेस संसदीय दलका नेता एवं पार्टी उपसभापति रामचन्द्र पौडेलले संविधान सभाको म्याद थप्ने र प्रधानमन्त्रीको राजीनामा गर्ने जेठ १४को तीन मध्ये दुइबुंदा कार्यान्वयन भएपछि शान्ति प्रक्रियाका बाँकी प्रक्रिया अविलम्व कार्यान्वयन गर्ने वेलामा नेकपा माओवादीले अहिले भनाई फेरेको बताउनुभएको छ।

सधै प्रधानमन्त्रीको राजीनामाको अडडी लिएको माओवादीले प्रधानमन्त्रीले राजीनामा दिएपछि भने शान्ति प्रक्रिया कार्यान्वयन गर्ने दायित्वबाट भाग्न खोजेर स्वर बदलेको बताउनुभयो।

अमेरीकाबाट उपचार गरी फर्किनु भएका पार्टीका कार्यवाहक सभापति सुशील कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने क्रममा पत्रकारहरुसँग कुरा गर्दै नेता पौडेलले सो कुरा बताउनुभएको हो।

“अहिले कार्यान्वयनका बुँदालाई त्यो त भूमिका, प्रस्तावना, प्राक्कथन हो भनेर माओवादीले भन्न थालेको छ, प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामा आएपछि माओवादीको भनाई बदलिएको छ,” संसदीय दलका नेता पौडेलले भन्नुभयो।

जेठ १४ मा भएको कार्यान्वयन हुन बाँकी मध्ये अव शान्ति सम्झौतामा बाँकी रहेका कुरा अविलम्व पूरा गर्ने भनिएकोमा त्यो कार्यान्वय गर्ने वेलामा माओवादी भनाई फेर्न थालेकोले उ जिम्मेवारीबाट भाग्न खोजेको धारणा व्यक्त गर्नुभयो । यसले माओवादी शान्ति चाहन्छ कि चाहदैन र लोकतन्त्र चाहन्छ कि चाहदैन भन्ने प्रश्न उठेको पनि नेता पौडेलले बताउनुभयो।

” माओवादीले शान्ति सम्झौताको पालना र कार्यान्वयन गर्नुपरयो नत्र विश्वासको संकट रहन्छ,” नेता पौडेलले थप्नुभयो। तीनवुँदे सँगसगै कार्यान्वयन गरौ भन्दा पहिले प्रधानमन्त्रीको राजीनामा गरौ भनेर माओवादीले अडडी लिएको भन्दै नेता पौडेलले राजीनामा आएपछि भनाई फेरिनु विडम्वना भएको आरोप लगाउनुभयो।

उहाँले आजै फर्किनुभएका पार्टीका कार्यवाहक सभापति सुशील कोइरालाको आगमनपछि अव भावी सरकार निर्माणका लागि माओवादी, एमालेलगायतका अरु राजनीतिक दलहरुसँग कुरा अघि बढाइने जानकारी दिनुभयो। सोही कार्यक्रममा नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले संसदीय शासन प्रणालीमा संसदीय दलको नेता नै स्वतः प्रधानमन्त्री हुने स्पष्ट गर्नुभएको छ।

उपचार गरेर अमेरीकाबाट पर्किनुभएका कोइरालाले आज त्रिभुवन विमानस्थलमा कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार को हो भन्ने पत्रकरहरुको जिज्ञासमा संसदीय दलको नेता नै प्रधानमन्त्री हुने बताउनुभएको हो।

“अन्यौल केही पनि छैन, संसदीय सिस्टममा संसदीय दलको नेता नै स्वतः प्रधानमन्त्री हुन्छ,” कोइरालाले भन्नुभयो।

Popularity: 8%

2 comments July 2nd, 2010

एसएलसीको नतिजा सार्वजनिक

न्युज अपडेटः एसएलसीको नतिजा सार्वजनिक
यस बर्षको प्रवेशिका (एसएलसी) परीक्षाको परीक्षाफल शुक्रवार साँझ सार्वजनिक भएको छ। परीक्षामा ६४ दशमलव ३१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। परीक्षा नियन्त्रण कार्यालय सनोठिमीले जनाएअनुसार दुई लाख ४७ हजार ६ सय ८९ परीक्षार्थी उत्तीर्ण भएका छन्।

श्रेणीको आधारमा (नियमित)
विशिष्ट श्रेणीः १६ हजार ८ सय ५९
प्रथम श्रेणीः ९३ हजार ३ सय ३९
द्वितीय श्रेणीः १ लाख २८ हजार ७५
तेस्रो श्रेणीः ९ हजार ४ सय १६

श्रेणीको आधारमा (आंशिक)
पहिलो श्रेणीः ४ सय १६
दोस्रो श्रेणीः ९ हजार १ सय १४
तेस्रो श्रेणीः २ हजार ६ सय ९७

गत चैतमा सम्पन्न एसएलसी परीक्षामा नियमित र एक्जाम्टेड गरी ४ लाख ५६ हजार ७ सय १९ ले परीक्षा दिएका थिए। तीमध्ये नियमिततर्फ ४ लाख १२ हजार ५ सय ९२ र आंशिकतर्फ ४४ हजार १ सय २७ परीक्षार्थी सामेल थिए।

टेलिफोनबाट नतिजा प्राप्त गर्न
१६०० र १२१५ (टेलिकम तथा यूटिएल टेलिफोनबाट)
एसएमएसबाट
१४००
७३७३
५२२५
२७२२
३६३६
७६७६
११०१
२९०६
५००१

नतिजामात्र थाहा पाउन
www.moe.gov.np
www.doe.gov.np
www.edusanjal.com

प्राप्ताङ्कसहित नतिजा थाहा पाउन
www.soce.gov.np
www.ntc.net.np
www.educationsansar.com

नतिजामात्र थाहा पाइने रेडियोहरु
सगरमाथा एफएम १०२.४
क्यापिटल एफएम ९२.४
स्टार एफएम ९५.२
उज्यालो एफएम ९०

SLC Result 2066


REGULAR 2066 (Download)


PASS WITH DISTINCTION


PASS WITH 1-ST DIVISION


PASS WITH 2-ND DIVISION


PASS WITH 3RD DIVISION



EXEMPTED 2066


EXEMPTED-RESULT
SLC-2066

Type Your Symbol No.



Popularity: 8%

Add comment July 2nd, 2010

मौसमी, सम्झना र सिलाले ब्रुनाईका नेपालीहरुलाई नचाए

भूमिराज राई/ एचकेनेपाल डट कम-
साँगीतिक कार्यक्रम लिएर नेपालबाट ब्रुनाई आएका कलाकारहरुको प्रस्तुतीले ब्रुनाईमा रहेका दोश्रो गोर्खा पल्टन २ आरजीआरका सदस्यहरुलाई भरपूर मनोरंजन दिलायो।

गायिका मौसमी गुरुङ, शीला आले गायक पुरुषोत्तम न्यौपाने, नायिका तथा मोडल सम्झना बुढाथोकी र नृत्यकार मदन थापाको टोली आरजीआरको सोह्रौं बर्षगांठको अवसर पारेर एक साँगीतिक कार्यक्रमको निम्ति ब्रुनाई आएको थियो।

जुलाई १ बिहीबार साँझ भएको भब्य साँगितिक कार्यक्रममा दोहोरी, नृत्य, र मौसमी गुरुङको साँगीतिक प्रस्तुतीले ब्रुनाईका नेपालीहरुलाई भरपूर मनोरंजन दिलाएको थियो।

साँझ ५ बजे देखि शुरु भएको साँगितिक कार्यक्रममा दर्शकहरुलाई नियन्त्रण गर्न स्वयंसेवकहरुलाई हम्मे हम्मे परेको थियो। मौसमी गुरुङ स्टेजमा देखा परेलगत्तै दर्शकहरुको हुटिंग शुरु भएको थियो। पहिलो प्रस्तुतीपछी “लाउन त, लाई दिएँ माया मैले नबुझ्नेलाई” र “आपाकी म एक्ली छोरी” गाउन थालेलगत्तै दर्शकहरुको भिड स्टेज अगाडी थुप्रिएको थियो। शीला आले र पुरुषोत्तम न्यौपानेको घोचपेच भरिएको दोहोरीमा पनि उत्तिकै दर्शकहरुको समर्थन र साथ रहेको थियो।

सम्झना बुढाथोकीको नृत्य “तिर्खा लाग्यो पानि खाएँ” बोलको अन्जु पन्तको चर्चित गीतमा शुरु हुँदा कार्यक्रम मनोरन्जनात्मक हुँदै गैरहेको थियो। दर्शकहरु झन् जोशिलो बन्दै गैरहेका थिए। फेरी मौसमी गुरुङको स्टेज आगमन हुने बित्तिकै “माछी मारन हो बैनी” गीत शुरु भएपछि दर्शकहरु अनियन्त्रित हुन थालेपछि सो गीतलाई बिचमै रोक्नु परेको थियो।

केही समयपछि दर्शकहरुलाई नियन्त्रणमा लिएपछि फेरी मौसमी गुरुङले चर्चित रिमिक्स गीत च्यांगबा गाएर दर्शकहरुलाई असिन, पसिन हुने गरी नचाइन। वान्स मोरको हुटिंग थेग्न नसकेपछि मौसमीले फेरी अन्तिम पटक पनि “माछी मारन” र “च्यांगबा होइ च्यांगबा” गाएर दर्शकहरुको मनोरंजन पूरा गराइन्।

झन्डै ५ घण्टा चलेको साँगीतिक कार्यक्रम सफल भएको बताउँदै कलाकारहरुले आफ्नो सन्तुष्टी जाहेर गरेका थिए।

Popularity: 7%

Add comment July 2nd, 2010

मुखमा पट्टी बाँधेर भोकै घुमाए

अपहरित रेडियो पत्रकार मुक्त
एचकेनेपाल डट कम संवाददाता, जुलाई २-
अज्ञात समूहद्वारा तीन दिनअघि अपहरणमा परेका रेडियो पत्रकार केशव बोहोरा विहीबार राति मुक्त भएका छन्।

अपहरणकारीले बोहोरालाई राति करीव साढे १० बजे कपिलवस्तुको गोरूसिंगेमा छाडेका थिए। अपहरणमुक्त भएपछि उनी पहिले गोरूसिंगे प्रहरी र त्यसपछि नेपाल पत्रकार महासंघद्वारा गठित मिशन टोलीको सम्पर्कमा आएका थिए।

उनले आफूलाई एक महिलासहित तीन पुरूषले बुधवार दिंउसो प्युठानको देबीस्थानबाट अपहरण गरेको बताए। तीन दिनसम्म खाना नदिइ मुखमा पट्टी बाँधेर गाडीमा घुमाएको उनले बताएका छन्। अपहरण गर्ने क्रममा प्रतिकार गर्दा अपहरणकारीले कुटपिट गरेकाले उनी सामान्य घाइते छन्।

एक महिनासम्म राख्ने योजना रहेपनि माधवकुमार नेपालले राजीनामा दिएकाले चाँडै अपहरण मुक्त गरेको अपहरणकारीले आफूलाई बताएको जानकारी दिए। प्युठान पुगेपछि अपहरणबारे थप अनुसन्धान गरिने मिशन टोलीका सदस्य पत्रकार सुदर्शन रिजालले बताए।

प्रत्यक्ष प्रशारणको क्रममा ‘स्वर्गद्वारी गुठीको जग्गा अझै पनि माओवादी कब्जामा रहेको’ समाचारपछि धम्की खेपिरहेका बोहोरा सोही कारणले अपहरणमा परेको हुनसक्ने आशंका गरिएको छ।

_____________________________________

रेडियो पत्रकार अपहरित
एचकेनेपाल डट कम संवाददाता, जुन ३०-
अज्ञात समूहले प्युठानका रेडियो माण्डवीमा कार्यरत रेडियो पत्रकार केशव बोहोरालाई बुधवार दिउंसो अपहरण गरी बेपत्ता बनाएको छ।

यसअघि विभिन्न फोन नं. प्रयोग गरी धम्की दिंदै आएकोमा बुधवार उनको अपरहण गरिएको हो।

अपहरण कसले गरिएको हो भन्ने बारेमा पुष्टि हुन नसकेको पनि माओवादीले अपहरण गरिएको हुन सक्ने अनुमान गरिएको छ।

गत बैशाख पूर्णिमाको अवसरमा धार्मिक स्थल स्वर्गद्वारीमा लाग्ने मेलामा प्रत्यक्ष प्रसारणको क्रममा माओवादीले कब्जा गरेको आश्रम गुठीको जग्गा अझसम्म फिर्ता नगरिएको बोहोराले बताएपछि धम्की खेपिरहेका थिए।

सोही विषयमा माओवादीले उनको अपहरण गरिएको हुन सक्ने अनुमान गरिएको छ।

Popularity: 11%

Add comment July 2nd, 2010

पत्रकार अपहरणको मानवअधिकार आयोगद्वारा अनुगमन

एचकेनेपाल डट कम संवाददाता-
प्युठान जिल्लास्थित माण्डवी एफएमसँग सम्बन्धित पत्रकार केशव बोहरालाई सो जिल्लाकै देवीस्थानबाट बुधबार अज्ञात समूहले अपहरण गरेको भनिएको घटनाका सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सो घटनाका बारेमा राष्ट्रिय मानवअधिकार आयोगले नेपाल सरकारका सम्बन्धित निकायसँग आवश्यक जानकारी लिइरहेको छ।

साथै घटनाको स्थलगत अनुगमनका लागि आयोगको क्षेत्रीय कार्यालय, नेपालगन्जबाट एक टोली प्युठान प्रस्थान गरिसकेको छ।

निजको खोजतलासका लागि आवश्यक प्रबन्ध मिलाउन आयोग नेपाल सरकार समक्ष आग्रह गर्दछ। साथै कुनै पनि व्यक्तिको बाँच्ने पाउने अधिकारको सम्मान गर्दै निज पत्रकार केशव बोहराको अवस्था यथाशीघ्र सार्वजनिक गर्न आयोगले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ।

Popularity: 7%

Add comment July 2nd, 2010

वार्तालाई सार्थक निष्कर्षमा पुर्‍याउन एमालेको माओवादीलाई आह्वान

एचकेनेपाल डट कम संवाददाता-
नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी समितिको बैठकले शान्ति र संविधानलेखनको कार्यलाई अघि बढाउने सन्दर्भमा वार्तालाई सार्थक निष्कर्षमा पुर्‍याउन एकीकृत नेकपा (माओवादी) लाई आह्वान गरेको छ।

बैठकले राष्ट्रिय सहमतिको सरकार गठन गर्न वार्ता प्रक्रियालाई ठोस किसिमले अघि बढाउन जोड दिएको छ।

मुलुकको परिस्थितिमा आएको परिवर्तनसँगै राष्ट्रिय सहमतिका लागि विशेषरुपमा केन्द्रित हुनुपर्ने भएकाले शुक्रबार बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक यही असार २२ र २३ गते बस्ने निर्णय भएको उक्त पार्टीले जनाएको छ।

पार्टी अध्यक्ष झलनाथ खनालको अध्यक्षतामा भएको बैठकले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री पदबाट दिनुभएको राजीनामाले मुलुकको राजनीतिक गतिरोध अन्त्य गर्न मार्ग प्रसस्त भएको ठहर गर्दै त्यसलाई सकारात्मकरुपमा लिएको जनाइएको छ।

Popularity: 7%

Add comment July 2nd, 2010

२२ दलद्वारा राष्ट्रिय सहमतिको सरकारमा जोड

एचकेनेपाल डट कम संवाददाता-
संविधान सभामा प्रतिनिधित्व गर्ने गरेका २२ दलले शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउन आह्वान गरेका छन्।

ती दलले संविधानलेखनको कार्य अविलम्ब सम्पन्न गर्न तथा राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रयास गर्न मुख्य तीन दललाई आह्वान गरेका छन्।

२२ दलको बैठकले राष्ट्रिय सहमतिको सरकार गठनमा तीन दल मात्र नभई २५ दलको सहमति जुटाउन आग्रह गरेको छ।

“राष्ट्रिय सहमति भनेको तीन दलमात्र होइन, २५ वटै दलको सहमति हुनपर्छ अन्यथा हामी अरु बाटो लिन बाध्य हुनेछौँ,” चुरे भावर राष्ट्रिय एकता पार्टीका अध्यक्ष केशवप्रसाद मैनालीले चेतावनी दिनुभयो।

राष्ट्रिय सहमतिको सरकार भनेको संविधानसभामा भएका सबै दलको सहमतिमा बन्ने सरकार हो भन्ने कुरामा स्पष्ट हुन पनि बैठकले आग्रह गरेको छ।

बैठकले गत जेठ १४ मा भएको तीन बुँदे सहमतिमध्ये दुई बुँदा कार्यान्वयन भएकाले शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्‍याउने काम अविलम्ब थाल्न जोड दिएको छ।

Popularity: 7%

Add comment July 2nd, 2010

हिलोमा भासिएको विमानलाई तीन घण्टापछि निकालियो

एचकेनेपाल डट कम संवाददाता-
सङ्खुवासभा जिल्लाको तुम्लिङ्टार विमानस्थलमा हिजो एउटा विमान हिलोमा भासिएर दुर्घटना टरेको छ। अग्नि एयरको डोनियर विमान अवतरणको क्रममा धावनमार्गमा भासिएको नागरिक उड्डयन कार्यालयले जनाएको छ।

उक्त कार्यालयका अनुसार विमानमा चालकदलका सदस्यहरुसहित १६ जना थिए। धावनमार्गमा विमान भासिएका कारण तारा एयरको विमान अवतरण हुन सकेन।

भासिएको विमानलाई तीन घण्टापछि नेपाली सेना, नेपाल प्रहरी र नागरिक उड्डयन कार्यालयका कर्मचारीले हिलोबाट निकालेका थिए।

विमान हिजै काठमाडौँका लागि उडेको जनाइएको छ।

Popularity: 7%

1 comment July 2nd, 2010

सागमा स्वर्ण ल्याउने खेलाडी पुरस्कृत

एचकेनेपाल डट कम संवाददाता-
एघारौं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता खेलाडी दशरथ चन्द मेधावी खेलाडी प्रतिभा पुरस्कार–२०६६ बाट पुरस्कृत भएका छन्।

सहिद दशरथ चन्द्र स्मृति कोषको आयोजनामा विजेता खेलाडीहरुलाई पुरस्कृत गरिएको थियो।

सहिद दशरथ चन्दको १०८ औं जन्मजयन्तीको अवसरमा आयोजित उक्त कार्यक्रममा साग स्वर्ण विजेता कराँतेका सुनील लामा, विनोद शाक्य र गङ्गा अधिकारी, तेक्वान्दोका दीपक विष्ट र आयशा शाक्य, उसुका विनिता महर्जन र आङबाबु लामा तथा एथलेटिक्सका राजेन्द्र भण्डारी पुरस्कृत भएका छन्।

कोषले लगातार सागमा चार स्वर्ण विजेता कीर्तिमानी दीपक विष्टलाई सर्वोत्कृष्ट खेलाडी घोषणा गर्दै रु. १५ हजार तथा अन्य स्वर्ण विजेता खेलाडीलाई उत्कृष्ठ खेलाडी घोषणा गरी समान रु. पाँच/पाँच हजार प्रदान गर्‍यो।

सहिद दशरथ चन्द स्मृति कोषद्वारा स्थापित उक्त पुरस्कार अन्तर्राष्ट्रिय खेलकुदमा वर्षभरि प्राप्त गरेको सफलताका आधारमा विसं. २०६० सालदेखि प्रदान गरिएको थियो।

सोही अवसरमा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलगायतका महानुभावहरुले दशरथ रङ्गशालास्थित सहिद दशरथ चन्दको सालिकमा पुष्पगुच्छा चढाईं श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो।

Popularity: 7%

Add comment July 2nd, 2010

वरिष्ठ साहित्यकार कृष्णचन्द्रसिंह प्रधान रहेनन्

एचकेनेपाल डट कम संवाददाता-
वरिष्ठ साहित्यकार एवम् समालोचक कृष्णचन्द्रसिंह प्रधानको ८६ वर्षको उमेरमा हिजो साँझ निधन भएको छ। पिसाबसम्बन्धी समस्याले ग्रसित पारेपछि उपचारका लागि त्रिपुरेश्वरस्थित काठमाडौँ अस्पतालमा ल्याउने क्रममा उहाँको बाटोमा नै निधन भएको परिवारजनले जनाएको छ।

अग्रज साहित्यकार एवम् नाटककार हृदयचन्द्रसिंह प्रधानका सहोदर भाइ विक्रम सम्वत् १९८२ सालमा काठमाडौँमा जन्मनुभएका प्रधानले मुलुकको साहित्यिक फाँटमा कविता, निबन्ध, समालोचनालगायतका साहित्यिक विधामा विशिष्ठ योगदान पुर्‍याउनुभएको छ। उहाँ २००७ सालका क्रान्ति योद्धा पनि हुनुहुन्थ्यो।

वरिष्ठ साहित्यकार प्रधान शिक्षक, प्रधानाध्यापक, प्राध्यापक, साझा प्रकाशनको महाप्रबन्धक र नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसमेत रहनुभएको थियो।

उहाँका भञ्ज्याङ निरै (कविता सङ्ग्रह), कवि व्यथित र काव्य साधना (समीक्षा), नेपाली उपन्यास र उपन्यासकार (समीक्षा), सालिक (निबन्ध सङ्ग्रह), अनाम सत्य (निबन्ध सङ्ग्रह), सिर्जनाको सेरोफेरो (समालोचना सङ्ग्रह), पाइला आगतमा टेकेर (निबन्ध सङ्ग्रह), समय सुनामी (निबन्ध) र आरम्भअघिका शब्दहरू (भूमिकाहरूको सँगालो) नामक कृति प्रकाशित भएका छन्।

नेपाली साहित्य संस्थान, प्रगतिशील लेखक सङ्घजस्ता संस्थामा कार्य गर्र्दै जनसाहित्य, हिमानी, गरिमा, समकालीन साहित्यलगायतका पत्रिकाको प्रधानसम्पादक रहनुभएका स्वर्गीय प्रधानले त्रिभुवन प्रज्ञा पुरस्कार, उत्तम– शान्ति पुरस्कार र साझा पुरस्कार प्राप्त गर्नुभएको थियो। केही दिनअघि उहाँलाई लुनकरण दास गङ्गादेवी साहित्यकला मन्दिरले सरस्वती सम्मान पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो।

स्वर्गीय प्रधानका एक छोरा र दुई छोरी छन्। उहाँको हिजै पशुपति आर्यघाटमा दाहसंस्कार गरियो।

आर्यघाटमा ठूलो सङ्ख्यामा साहित्यकार, प्राध्यापक, पत्रकार, समाजसेवीलगायतका व्यक्तिहरूले उहाँप्रति हार्दिक श्रद्धान्जलि अर्पण गर्नुभयो।

स्वर्गीय प्रधानलाई उहाँका सुपुत्र पुस्तुनचन्द्रसिंह प्रधानले दागबत्ति दिनुभएको थियो।

Popularity: 7%

Add comment July 2nd, 2010


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Become a fan-

Subscribe to our videos!


Calendar

July 2010
M T W T F S S
« Jun   Aug »
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Posts by Month

Posts by Category

More news....