Archive for July 6th, 2010
एचकेनेपाल डट संवाददाता-
परराष्ट्र मन्त्रालयले मेसिन रिडेबल पार्सपोट (एमआरपी) छाप्न फ्रान्सेली कम्पनी ओबरथरलाई अनुमति दिएको छ।
मन्त्रालयले फ्रान्सेली कम्पनी ओबरथरलाई एमआरपी छाप्न दिने भएपछि नेपाली पासपोर्ट विदेशी स्तरको हुने भएको छ।
यसअघि, एमआरपी भारतमा छाप्न दिने सरकारी निर्णयको कडा आलोचनापछि सरकारले नयाँ टेण्डर खोलेको थियो।
एमआरपी छाप्नका लागि १६ वटा विदेशी कम्पनीले प्रस्ताव बुझाएका थिए। त्यसमध्ये ४ कम्पनीले मात्र अन्तिममा आवेदन फारम बुझाएका थिए।
ठेक्का मूल्यांकन समितिले सबै भन्दा न्युन मूल्यमा एमआरपी बुक उपलब्ध गराउन तयार भएको ओबरथरलाई छाप्न अनुमति दिएको छ। ओबरथरले प्रति पासपोर्ट ३.५९ अमेरिकी डलरमा छाप्ने प्रस्ताव राखेको थियो। यसअघि, परराष्ट्रमन्त्री सुजाता कोइरालाले भारतसंग प्रति पासपोर्ट ४ अमेरिकी डलरमा छाप्ने सहमति गरेकी थिइन्।
Popularity: 6%
July 6th, 2010
एचकेनेपाल डट संवाददाता-
संविधानसभा भवन अगाडि मंगलवार बम बिस्फोट भएको छ। विस्फोटबाट कुनै मानवीय र भौतिक क्षति नभएको प्रहरीले जनाएको छ।
बम विस्फोटको जिम्मेवारी डायानामिक युथ फोरम नेपाल नामक संगठनले लिएको छ।
घटनास्थलबाट बरामद गरिएको पर्चामा दलहरूले समयमै संविधान निर्माण गर्न नसकेको भन्दै त्यसको विरोधस्वरूप बम विस्फोट गराइएको जनाएको छ। पर्चामा राष्ट्रिय सहमतिको सरकार गठन, राजनीतिक अनिश्चिताको अन्त्य र बेरोजगारी समस्याको समाधान गरिनुपर्ने मागसमेत उल्लेख गरिएको छ।
बम विस्फोटपछि प्रहरीले त्यस क्षेत्रमा कडा निगरानी राख्दै घटनासम्बन्धी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाएको छ।
Popularity: 7%
July 6th, 2010
एचकेनेपाल डट संवाददाता-
बाँकेको फत्तेपुरमा प्रहरी र अपहरणकारीबीच दोहोरो गोली हानाहान हुंदा मंगलवार बिहान तीन जना अपहरणकारीको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुने अपहरणकारीहरूको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।
अपहरणमा परेका तीन जनालाई प्रहरीले मंगलबार सकुशल मुक्त गरेको छ। अपहरणबाट मुक्त हुनेहरूमा पूर्णवहादुर खड्का, राजेश चमार र सिद्दी शाही रहेका छन्। उनीहरू फत्तेपुर-८ हब्रहवाबाट आइतबार राति अपहरणमा परेका थिए। उनीहरूको अपहरणपछि प्रहरीले अपहरणकारीको व्यापक खोजि गरिरहेको थियो।
अपहरण मुक्त गर्ने क्रममा प्रहरी र अपहरणकारीबीच दोहोरो गोली हानाहान हुंदा प्रहरीको गोली लागेर ती तीन जना अपहरणकारीको घटनास्थलमै मृत्यु भएको जनाएको छ। मारिएका अपरहणकारीको सनाखत हुन सकेको छैन। घटनासम्बन्धी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताएका छन्।
Popularity: 7%
July 6th, 2010
एचकेनेपाल डट कम संवाददाता-
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदहरुको ३ दिने राष्ट्रिय भेला सौरहा, चितवनमा २०६७ असार २३ देखि २५ गते सम्म संञ्चालन हुने भएकोछ।
प्रत्येक जिल्ला समन्वय परिषदका अध्यक्ष, महासचिव र एक महिला प्रतिनिधि, आदिवासी सभासद सभा (ककस) का माननीय सभासदहरु, आदिवासी जनजातिका वुद्धिजीविहरु, विभिन्न कार्यपत्र प्रस्तोताहरु र महासंघका सघीय परिषद सचिवालयका पदधिकारीहरु समेत करिव २०० जना उक्त भेलमा सहभागी हुनेछन्।
महासचिव आङ काजी शेर्पा किसानद्वारा जारी प्रेस विज्ञप्तिमा भनेको छ- देशको वर्तमान परिस्थितिको विश्लेषण, दलहरु वीचको विवादले ओझेलमा परेको संविधानलाई आदिवासी जनजातिका अधिकाहरु सुनिश्चित गरेर थपिएको १ वर्षको अवधि अगावै जारी गराउनका लागि आवश्यक रणनीतिहरुका तयार गर्नका साथै
१) महासंघले हालसम्म संम्पन्न गरेका कार्यक्रमहरुको समिक्षा साथै प्रस्तावित भावि कार्ययोजनाबारे छलफल गर्ने,
२) सविधानसभाका विभिन्न समितिद्धार प्रस्तुत संविधानको मस्यौदाबारे आदिवासी सभासद सभा (ककस) को अवधारणबारे अर्न्तक्रिया गर्ने,
३) विश्व आदिवासी दिवस २०६७ आदिवासी जनजातिका अधिकारमूखी कार्यक्रमहरु सहित काठमाडौ उपत्याका लगायत प्रत्येक जिल्लामा मनाउन प्रस्तावित कार्यक्रमहरुबारे छलफल तथा अनुमोदन गर्ने
४) आदिवासी जनजाति जीवनसंग प्रत्यक्ष र महत्वपूर्ण सम्बन्ध भएका जलवायु पविर्तन र वन क्षेत्रको फडानी तथा वन विनासका कारण हुने कार्बन उर्त्सजनको कटौती (रेड), नेपाल सरकारले अनुमोदन गरि सकेका अन्तर्राष्ट्रिय श्रम अधिसन्धी १६९ र संयुक्त राष्ट्रसंघको आदिवासी जनजातिको मानव अधिकार सम्बन्धि घोषण पत्र सम्बन्धि प्रशिक्षण र छलफल गर्न अन्तर्राष्ट्रिय श्रम अधिसन्धी १६९ लाई तत्काल कार्यान्वयन गराउनेबारे समते छलफल गर्ने र
५) आम संञ्चार माध्यममा आदिवासी जनजातिको पहुच बढाउने उपायहरुबारे छलफल गर्ने भेलाका उदेश्यहरु हुन।
Popularity: 7%
July 6th, 2010
अनिल पाण्डे, अमेरिका/ एचकेनेपाल डट कम-
अमेरिकामा रहेका गैरआवासीय नेपालीको संगठन गठन गर्ने सम्बन्धमा दुई समूहबीच आधिकारितालाई लिएर खडा भएको विवाद लोकतान्त्रिक तथा शान्तिपूर्ण ढंगले टुंगिएको छ।
दुवै पक्षका नेपालीको उपस्थिति रहेको आजै सम्पन्न सो सम्मेलनमा एनआरएन अमेरिका नामकरण गरी एकताबद्ध भई अघि बढ्ने सहमति भएको हो।
यसअघि, गैरआवासीय नेपालीहरुको एक समूहले एनआरएन युएसए गठनका लागि तदर्थ समिति बनाएका थिए भने अर्को पक्ष आफूलाई आधिकारिक मानिरहेको थियो। पहिलो समूहको तदर्थ समितिले जुलाई ४ मा सम्मेलन गर्ने निर्णय गरेपछि अर्को समूहले आफू आधिकारिक संगठन भएको दावी गर्दै अमेरिकामा बसोवास गर्ने नेपालीलाई समेट्ने प्रयास गरेको थियो।
अन्ततः दुवै तर्फका प्रतिनिधिले एकीकृत ढंगले अघि बढेमात्र उद्देश्य पूरा गर्न सहज हुने मानसिकताका साथ समन्वयमा आउन पहल गरेका थिए।
अन्ततः अमेरिकामा रहेका नेपालीको हकहितमा समर्पित हुने उद्धेश्य कार्यक्रम र कार्यनीति पारित गर्दै नयाँ कार्यसमितिको चयन गरेर एनआरएन युएसए गठन भएको छ। सम्मेलनमा अमेरिकामा रहेका नेपाली संगठनका प्रतिनिधि तथा गैरआवासीय नेपालीले यस एकताप्रति प्रसन्नता तथा शुभकामना प्रकट गरेका छन्।
एकीकृत ढंगले अघि बढ्ने पहलका लागि दुवै पक्षले एक-आपसमा धन्यवाद आदान-प्रदान गर्दै सम्पन्न सम्मेलनले नेपालीहरुको यस एकतालाई उदाहरणका रुपमा लिदै नेपालभित्रका विभिन्न निकायले अघि बढ्नुपर्ने धारणा राखे।
Popularity: 6%
July 6th, 2010
भीम केसी कमल, लिस्बन/ एचकेनेपाल डट कम-
नेपाली जनसम्पर्क समिति पोर्चुगलले पोर्चुगलमा नेपाली जनसम्पर्क समितिमा आबद्ध भै सकृय रहेका नेपाली काँग्रेसका सदस्यहरुको कृयाशिल सदस्यता आवेदन फाराम केन्द्रले तोकेको समय सिमाभित्र नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा पठाएको जानकारी कृयाशिल सदस्यता बितरण कार्यदलका संयोजक जनसम्पर्क समिति पोर्चुगलका उपाध्यक्ष एबं कावा अध्यक्ष राजकुमार गौतमले दिनु भएको छ।
कृयाशिल सदस्यता आवेदन फाराम संकलन पश्चात बसेको जनसम्पर्क समिति पोर्चुगल कार्य समितिको बैठकले कृयाशिल सदस्यताको निम्ति केन्द्रमा सिफारिस गरी पठाउने निर्णय गरेको थियो। जनसम्पर्क समिति पोर्चुगलको उक्त बैठकले युरोपीयन काँग्रेसमा पोर्चुगलबाट प्रतिनिधित्व गरी जानको निमित्त पुर्ण हमाल, भीम के सी कमल र रमेश गुरुङलाइ सिफारिस गरेको छ। उक्त बैठकले निकट भबिष्यमा नव आगन्तुक नेपाली दाजुभाइ दिदिबहिनीहरुको स्वागतमा १ कार्यक्रमको समेत आयोजना गर्ने निर्णय गरेको कुरा समितिका सचिब सुरेन्द्र अंगाईले बताउनु भयो।
अपेक्षित मात्रामा कृयाशिल सदस्य नबनेको आवाज आइरहेको सन्दर्भमा जनसम्पर्क समिति पोर्चुगलका संस्थापक एबं बर्तमान अध्यक्ष पुर्ण हमाललाइ राखिएको जिज्ञाशामा उहाँले केन्द्रको भेदभावपूर्ण नितीका कारण पैदा भएको निरुत्साही वातावरण र सदस्यताको निम्ती निर्धारित शुल्क समेतका कारणले ७५० भन्दा बढि जनसम्पर्क समितिका समर्थकहरु रहेको पोर्चुगलबाट सयको हाराहारीमा मात्र फाराम भरिनु दुख लाग्दो बिषय रहेको बताउदै केन्द्रले स्वीकृत गरेका प्रत्येक जनसम्पर्क समितिहरुबाट महाधिबेशनमा न्युनतम २ जनाले प्रतिनिधित्व गर्न पाउनु पर्ने मागलाइ युरोपियन काँग्रेसको बैठक तथा नेकाँ महाधिबेशनमा जोडदार रुपमा उठाउने दृढता ब्यक्त गर्नु भएको छ।
Popularity: 6%
July 6th, 2010
एचकेनेपाल डट कम संवाददाता-
रोल्पाको खुङ्ग्रीमा एक पतिले आफ्नै पत्नीको हत्या गरी आफै पनि आत्महत्या गरेका छन्।
खुङ्ग्री गाविस–२ का ३० वर्षीय जेदु गिरिले आफ्नी पत्नी २८ वर्षीया चन्द्रा गिरिको दिउँसो साढे १ बजेतिर कोदाली प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।
आपसी विवाद बढेपछि पतिले पत्नीको हत्या गरेको र पछि आफै आत्महत्या गरेको बताइएको छ।
पत्नीको हत्यापछि उनले आफैं धारिलो हतियार प्रयोग गरी आत्महत्या गरेका थिए। जेदु गिरिले गत वर्ष आफ्नै पत्नी चन्द्रा गिरिको हात काटिदिएका थिए।
मृतक दुबैको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल प्यूठान लगिएको प्रहरीले बताएको छ।
Popularity: 6%
July 6th, 2010
एचकेनेपाल डट कम संवाददाता-
असुरक्षा कारण देखाउँदै रौतहटका ८४ गाविसका सचिवले सोमबार सामूहिक राजिनामा दिएका छन्।
रौतहटको ९६ गाविसमध्ये ८४ गाविसका सचिवले जिल्ला बिकास समितिका स्थानीय विकास अधिकारी विष्णुप्रसाद लामिछाने समक्ष सामूहिक राजीनामा दिएका हुन्।
राज्यले राष्ट्रसेवक कर्मचारीको सुरक्षा दिन नसकेको, २०६० सालदेखि स्थानीय निकायमा जनप्रतिनिधिको समेत काम गर्दै आएको, गाविस सचिवको जीउधनको सुरक्षा गर्न नसकेकाले सामूहिकरुपमा राजीनामा दिन बाध्य भएको गाविस सचिव हकहीत संरक्षण केन्द्र रौतहटको संयोजक रामपुकार सहनीले बताएका छन्।
Popularity: 5%
July 6th, 2010
एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी)का कार्यकर्ताले सोमबार अपरान्ह ४ बजेतिर सुदूर सन्देश दैनिकको कार्यालयमा तोडफोड गर्नुका साथै कम्प्युटर अपरेटर प्रयास जोशीमाथि आक्रमण गरेको छ।
एकीकृत माओवादी क्षेत्र नम्बर १५ का एरिया इन्चार्ज टीकाराम सापकोटाको नेतृत्वमा आएको १० जनाको समूहले दैनिकको कार्यालयमा तोडफोड गरेको आक्रमणबाट घाइते कम्पुटर अपरेटर जोशीले जानकारी दिए।
पत्रिकाको कार्यालयमा प्रवेश गरेका माओवादी कार्यकर्ताहरूले कार्यालयमा रहेका टेबुल, कुर्सी तोडफोड गरेको बताइएको छ।
म कम्प्युटरमा काम गर्दै थिएँ, १० जनाको समूहमा कार्यालयभित्र प्रवेश गरेका उनीहरूले तेरो सम्पादक कहाँ छ भन्दै? त्यसलाई गोली ठोकेर मारिदिन्छौं। त्यसले हाम्रो बारेमा समाचार छाप्ने? भन्दै आफुमाथि जाइलागेको उनले बताए।
उता पत्रिकाका सम्पादक हेमन्त पौडेल भने आक्रमणको समयमा कार्यालय बाहिर रहेका कारण आक्रमणबाट बच्न सफल भएका छन्।
सम्पादक पौडेलका अनुसार हिजोको सुदूर सन्देश दैनिकमा कैलाली क्षेत्र नम्बर १५ का एरिया इन्चार्ज सापकोटासहितका व्यक्तिले श्रीपुर गाविस–१ बेहेडाका मुन्ना दमाईब्ााट असार १६ गते रु. एक लाख २० हजार असुल गरेको समाचार प्रकाशित भएको थियो भने आजको पत्रिकामा माओवादी ज्यादती कायमै शिर्षकमा सम्पादकीय छापिएको थियो।
Popularity: 5%
July 6th, 2010
एचकेनेपाल डट कम संवाददाता-
नेपाल टेलिभिजन समावेशी कार्यक्रम संजालले नेपाल सरकारले नेपाल टेलिभिजनमा प्रसारण गर्दै आएको सम्पूर्ण समावेशी कार्यक्रम हटाउने निर्णय विरुद्ध आवाज उठाउन सरोकारवालाहरूलाई अनुरोध गरेको छ।
गत असार ६ गते नेपाल टेलिभिजन महाशाखाका प्रमुखले आ व २०६७–६८ का लागि समावेशी कार्यक्रमहरू सम्वन्धी अर्को निर्णय नभएसम्म हटाइएको निर्णयविरुद्ध आवाज उठाउन आग्रह गरिएको हो। संजालले सो निर्णय तत्काल फिर्ता नगरेमा आफुहरू आन्दोलनमा जान बाध्य हुने समेत चेतावनी दिएको छ।
सो सम्मेलनमा एकीकृत नेकपा (माओवादी) का प्रवक्ता दिनानाथ शर्माले आफ्नो पार्टी पिछडिएको समुदायको अधिकारको लागि लडिरहेको बताउनुभयो।
उहाँले आफ्नो पार्टी सम्पूर्ण आदिवासी जनजाति, मधेशी, मुस्लिम, दलित लगायत पिछडिएका समुदायका लागि लडिरहेको बताउँदैं प्रबक्ता शर्माले नेपाल टेलिभिजनबाट सम्पूर्ण समावेशी कार्यक्रम हटाईनु गलत हो र सरकारको यस्तो निर्णय विरुद्धको अभियानमा आफ्नो पार्टीको पूर्णरूपमा सहयोग हुने पनि बताउनुभयो।
संजालका अध्यक्ष श्रीकृष्ण ज्यापुले विभिन्न बाहनामा समावेशी कार्यक्रम हटाईएको भन्दै समावेशी कार्यक्रम पुनः प्रसारण गर्न माग गर्नुभयो।
Popularity: 5%
July 6th, 2010
एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले केही राजनीतिक दलले अहिलेकै सत्ता गठबन्धनलाई कायम राखी प्रधानमन्त्री मात्र परिवर्तन गर्न खोजेको आरोप लगाउनुभएको छ।
उहाँले सबै दललाई जेठ १४ को सम्झौताको मर्म र भावना अनुरूप राष्ट्रिय सहमतिकै आधारमा अगाडि बढ्न आव्हान गर्नुभयो।
सो अवसरमा उहाँले प्रधानमन्त्रीको राजीनामाले राष्ट्रिय सहमतीका लागि आधार निर्माण गरेको बताउँदै शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन लडाकू समायोजन र संविधान निर्माण प्रक्रियालाई सँगसँगै लैजानुपर्नेमा जोड दिनुभयो।
उहाँले भन्नुभयो–“ समायोजन सम्बन्धमा सेनाको संख्या निर्धारण हुनुपर्ने नेकपा एमाले र नेपाली काँग्रेसको अडान अवैज्ञानिक, शान्ति प्रक्रियाको विपरीत तथा राष्ट्रिय सहमति हुन नदिने खिचलो मात्र हो।”
Popularity: 5%
July 6th, 2010
एचकेनेपाल डट कम संवाददाता-
उपप्रधानमन्त्री सुजाता कोइरालाले वाइसिएलको अर्धसैनिक संरचना खारेज लगायतका सर्त पूरा गरे एकीकृत नेकपा माओबादी नेतृत्वको सरकार आफूहरूलाई स्वीकार्य हुने बताउनुभएको छ।
पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उपप्रधानमन्त्री कोइरालाले दलहरूबीचको छलफलमा सर्त पुरा गर्ने प्रतिबद्धता गरे पनि माओवादीले ब्यवहारमा लागू नगरेको आरोप लगाउँदै सरकार जसको नेतृत्वमा बने पनि काँग्रेसलाई आपत्ति नहुने बताउनुभयो।
“यदि माओवादीको नेतृत्वमा सरकार बन्ने हो भने उसले वाईसिएलको अर्धसैनिक संरचना खारेज लगायतका काँग्रेसका मागहरू पूरा गर्नुपर्छ”, उहाँले भन्नुभयो।
दलहरू सहकार्य गरी अगाडि बढनुको विकल्प नभएको बताउँदै मन्त्री कोइरालाले एकता नहुँदा प्रजातन्त्र कमजोर हुने बताउनुभयो।
Popularity: 5%
July 6th, 2010