Archive for July 10th, 2010
मणिकुमार श्रेष्ठ , धनकुटा/ एचकेनेपाल डट कम-
नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय अध्यक्ष कुशकुमार जोशीले अवका दिनमा उद्योग व्यवसायीहरु एकजुट भएर लाग्नु पर्ने वतएका छन्।
अहिलेको परिस्थितिमा विकास निर्माणका कार्यहरु अगाडि वढाउँनका लागि व्यवसायीहरुको मुख्य भूमिका भएकोले सवै व्यवसायीहरु एकजुट हुनु आवश्यक रहेको अध्यक्ष जोशीले दावी गर्नु भयो। नेपाल उद्योग वाणिज्य संघ धनकुटाको आयोजनामा आइतबार धनकुटाका भएको नेपाल उद्योग वाणिज्य संघ कोशी अञ्चल भेलालाई सम्वोधन गदै अध्यक्ष जोशीले यस्तो वताएका हुन्।
कुनै पनि क्षेत्रको विकास गर्नका लागि मुख्य एजेण्डामा आएर मात्र सो क्षेत्रको विकास हुने भएकोले सवैभन्दा पहिला व्यवसायीहरुले मुल एजेण्डालाई परिचान गरेर अगाडि वढ्नु पर्ने वताए । पर्यटकहरुलाई वढी मात्रमा नेपाल भित्राउँनका लागि पर्यटन वर्ष २०११ को आयोजना गरिएको वताउदै अध्यक्ष जोशीले पर्यटन वर्ष सफल पार्न सवैको भूमिका वरावरी भएको वताए । पर्यटन वर्ष सफल पार्नका लागि पर्यटकीय क्षेत्रको परिचान संगसंगै क्षमता अभिवृद्धि गर्ने कार्य गर्नु पर्ने र त्यसको लागि पूर्वाञ्चल प्याकेज ल्याउँन आवश्यक रहेको धारणा राख्नु भयो।
नेपालको पर्यटन विकासमा कुनै एक ठाउँको विकास मात्रै भएर नेपालको पर्यटन विकास नहुने वताए । अध्यक्ष जोशीले नेपालको पर्यटन विकासका लागि समग्र सवै ठाउँ वा क्षेत्रको विकास भएमा मात्रै देशको पर्यटन विकास सम्भव हुने वताए।
त्यसैगरी, उद्योग वाणिज्य संघ धनकुटाको भवन सिलान्यास कार्यक्रममा वोल्दै अध्यक्ष जोशीले देशको आर्थिक उन्नती तथा विकासको लागि स्थायी सरकार हुनु पर्ने वताएका छन्। देशमा स्थायी सरकार नवनेकोले यसको असर उद्योग तथा व्यापारमा परिरहेको वताए । जसका कारण वढी मात्रमा उद्योग व्यवसायीहरु मारमा परेको उनको धारणा छ । विभिन्न समुदायबाट व्यापारीहरुलाई चन्दा मागिएकोप्रति आपत्ति जनाउनु हुदै जोशीले चन्दा आतंक रोक्न राज्य उदासिन भएको समेत आरोप लगाए।
सो अवसरमा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय उपाध्यक्ष प्रदिपजंग पाण्डे, केन्द्रीय सदस्य इश्वर प्रधान लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाल उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष लालचन गोङ्गवाको सभापतित्वमा सम्पन्न भएको थियो।
Popularity: 8%
July 10th, 2010
तमु विद्यार्थीलाई उच्च शिक्षा सम्बन्धी प्रशिक्षण
हुम तमु, पोखरा/एचकेनेपाल डट कम, जुलाई १० -
तमु धिं नेपालले आज एक कार्यक्रम गरी २०६६ सालको एसएलसी परीक्षा उत्तीर्ण भएका तमु विद्यार्थीहरुलाई उच्च शिक्षा सम्बन्धी एकदिने प्रशिक्षण तथा बधाइ कार्यक्रम पोखरामा सम्पन्न भएको छ।
कार्यक्रममा होटल मेनेजमेण्ट एण्ड टुरिजम विषयमा नेपाल टुरिजम एण्ड होटल मेजेमेण्ट कलेजका राम कैलास दीक्षा, मेडिकल साइन्सका बारेमा चरक हस्पिटलका डाक्टर नारायण तमु, नर्सिङ विषयमा पोखरा टेक्निकल हेल्थ मल्टी पर्पोज इन्स्टीच्युटका उमा भुषाल, इञ्जिनियरीङ विषयमा पोखरा इञ्जिनियरीङ कलेजका प्रिन्सीपल इञ्जिनियर लेखबहादुर तमु, बनविज्ञान विषयमा बनविज्ञान क्याम्पसका हरी त्रिपाठीले विषयगत प्रशिक्षण दिनुभएको थियो । यसैगरी, ए लेभल शिक्षाका बारेमा कसमस कलेजका निर्देशक तेजबहादुर तमु, शिक्षा विषयमा शिक्षा महाविद्यालयका दीपक वाँस्तोला, व्यवस्थापनका बारेमा नेपाल टुरिजम एण्ड होटल मेनेजमेण्ट कलेजका जसबहादुर तमु, व्यवसायिक शिक्षाका बारेमा प्राविधीक शिक्षा तथा व्यवसायिक तालिम परिषदका जिवनप्रसाद भण्डारीले प्रशिक्षण दिनुभएको थियो।
तमु धिं नेपालका अध्यक्ष कर्म तमुको अध्यक्षतामा भएको कार्यक्रममा एसएलसी उत्तीर्ण तमु विद्यार्थीहरुलाई खादाद्धारा सम्मान गरिएको कार्यक्रममा तमु धिं नेपालका महासचिव देविराज तमु, जुनाकुमारी तमु, तमु विद्यार्थी समितिका अध्यक्ष भरतमान तमु, तमु धिंका सल्लाहकार सन्तबहादुर तमुलगायतले एसएलसी तमु विद्यार्थीहरुलाई बधाई दिदै सफल उच्च शिक्षाको शुभकामना व्यक्त गर्नुभएकौ कार्यक्रममा एसएलसी उत्तीर्ण घान्द्रुक तमु समाजकी एलिना तमुले आभार व्यक्त गर्नुभएको थियो।
छिनेडाडामा रहेको नेपाल टुरिजम एण्ड होटल मेजेनमेण्ट कलेजद्धारा सहयोग रहेको कार्यक्रममा करिब चार सय तमु विद्यार्थीको सहभागिता रहेको थियो। कार्यक्रममा तमु धिं नेपालबाट गत फागुनमा सम्पन्न विश्वशान्ति पुजाको लागि तमु धिं बेल्जियमद्धारा संकलित ४७ हजार ७ सय रुपैया कमल तमुले तमु धिं नेपालका अध्यक्ष कर्म तमुलाई हस्तान्तरण गर्नुभएको थियो।
एसएलसी उत्तीर्ण तमु विद्यार्थीलाई तमु धिंले सम्मान गर्ने
हुम तमु, पोखरा/ एचकेनेपाल डट कम, जुलाई ७-
२०६६ सालमा एसएलसी उत्तीर्ण गारेका तमु विद्यार्थीहरुलाई तमु धिं नेपालले असार २६ गते शनिवार तमु धिं नयाँबजारमा सम्मान गर्ने भएको छ।
तमु धिं नेपालको आज बसेको बैठकले एसएलसी उत्तीर्ण गार्ने तमु विद्यार्थीलाई सम्मान र उच्च शिक्षा अध्ययनका लागि विषयगत प्रशिक्षण दिने निर्णय गरेको तमु धिं नेपालका महासचिव देवीराज तमुले जानकरी दिनुभयो।
उच्च शिक्षा अध्ययनको लागि तमु विद्यार्थीलाई प्रोत्साहन गर्न तमु धिं नेपालले एकदशक अगाडि एसएलसी उत्तीर्णलाई सम्मान र विषयगत प्रशिक्षण दिदै आएको छ।
कार्यक्रममा तमु धिं नेपालले वाषिर्क रुपमा वितरण गर्दै आएको दुइ जना तमु विद्यार्थीलाई तमु छात्रवृत्ति र तमु विद्यार्थी समितिद्धारा सञ्चालित दुइ जना विद्यार्थीलाई वितरण गरिने सुनिल छात्रवृत्तिको लागि गरिब तथा जेहेन्दार विद्यार्थी छनौट प्रकृयाको थालनीसमेत गरिने महासचिव देवीराज तमुले बताउनु भयो।
Popularity: 13%
July 10th, 2010
एचकेनेपाल डट कम संवाददाता-
नेकपा एमालेले आफ्नो कार्यकर्ताको हत्याको विरोधमा देशब्यापी विरोध प्रर्दशन गर्ने भएको छ।
एमाले स्थायी समितिको शनिवार बसेको बैठकले ओखलढुंगाका नेता छविलाल कार्कीको हत्या विरोधमा देशब्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो।
त्यसै गरी, कार्कीको पार्थिव शरिर राजधानी ल्याइ शव यात्रा गरिने एमालले जनाएको छ।
कार्कीको ओखलढुंगाको एक होटलमा राति खाना खाइरहेको बेला अज्ञात समूहद्वारा हत्या भएको थियो। एमालेले सो घटनामा माओवादीको संलग्नता रहेको दाबी गर्दै आएको छ। एमालेले यस घटनालाई गम्भीर बताउंदै देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो।
Popularity: 8%
July 10th, 2010
एचकेनेपाल डट कम संवाददाता-
नेकपा (एमाले) का स्थायी समिति सदस्य भरतमोहन अधिकारी बिरामी भएर काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन्।
एमाले नेता अधिकारी छातीमा समस्या भएपछि नर्भिकमा भर्ना भएका हुन्। अधिकारीलाई पुरानो दमको रोग रहेको अस्पतालले उल्लेख गरेको छ।
नेता अधिकारीलाई सिसियूमा राखी उपचार भइरहेकोमा हाल अधिकारीको अवस्था स्थीर रहेको र अझै केही दिन अस्पताल राख्नुपर्ने कुरा उपचारमा संलग्न डा. रमेश चोखानीले बताए।
Popularity: 8%
July 10th, 2010
एचकेनेपाल डट कम संवाददाता-
नेकपा (एमाले) का राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य एवम् ओखलढुङ्गा जिल्लाका नेता छवि कार्कीको हत्यापछि एमाले र माओवादीका नेताबीच आरोप प्रत्यारोप बढेको छ। एमालेले एकीकृत नेकपा (माओवादी)का कार्यकर्ताले हत्या गरेको आरोप लगाएको छ।
पार्टी अध्यक्ष झलनाथ खनालद्वारा आज जारी विज्ञप्तिमा एनेकपा (माओवादी) का कार्यकर्ताको प्रत्यक्ष संलग्नतामा भएको यो हत्याको घोर विरोध र भर्त्सना गर्दछ भन्दै हत्यामा संलग्न अपराधीलाई अविलम्ब न्यायको कठघरामा ल्याइ हदैसम्मको कारबाही गर्न सरकारसंग आग्रह गरेको उल्लेख छ।
नेता कार्कीको बिहीबार साँझ कुटपिटबाट मृत्यु भएको थियो।
यसैबीच, एकीकृत नेकपा (माओवादी) का प्रवक्ता दीनानाथ शर्माद्वारा जारी विज्ञप्तिमा एमालेसम्बद्ध ओखलढुङ्गाका नेता कार्कीको हत्या सुनियोजित रूपमा भएको र धमिलो पानीमा माछा मार्न चाहने तत्वले घटना गराएको भन्दै उक्त हत्यामा एमाओवादी संलग्नता नभएको जनाउनुभएको छ।
Popularity: 7%
July 10th, 2010
एचकेनेपाल डट कम संवाददाता-
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले शान्ति र संविधानका लागि प्रधानमन्त्री जो भए पनि फरक नपर्ने बताउनुभएको छ। उहाँले राष्ट्रिय सहमतिको सरकार गठनका लागि थप पाँच दिनमा पनि सहमति हुन नसक्ने दाबी गर्नुभयो।
काठमाडौँ फर्किनु अघि कोइराला निवासमा सञ्चारकर्मीसाग कुरा गर्दै वर्तमान जटिल अवस्थामा राजनीतिक दलहरूबीच विभाजित मनस्थिति देखिएको र सो नेपाली काँग्रेसमा पनि त्यो अवस्था कायम रहेको बताउनुभयो।
Popularity: 6%
July 10th, 2010
डा. भक्तमानका अपहरणकारी चितवनमा
एचकेनेपाल डट कम संवाददाता, जुलाई १०-
चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका तीनजना अभियुक्तलाई शुक्रवार चितवन ल्याइएको छ।
प्रहरी प्रधान कार्यालय काठमाडौँले अपहरणसम्बन्धी प्रतिवेदनसँगै उनीहरुलाई सार्वजनिक गरेको थियो। अपहरणसम्बन्धी आवश्यक कानुनी प्रक्रिया चितवनबाटै अगाडि बढाउनुपर्ने भएकाले उनीहरुलाई त्यहाँ ल्याइएको चितवनका प्रहरी उपरीक्षक पुष्पचन्द्र रञ्जितले जानकारी दिनुभयो।
अपहरणमा संलग्न बद्री ढुङ्गाना, नवीन क्षेत्री र अनिल श्रेष्ठलाई चितवन ल्याइएको थियो।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।
डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न तीन पक्राउ
फिरौतिको लागि तीन किलो सुन
एचकेनेपाल डट कम संवाददाता, जुलाई ८ -
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
प्रहरीले तीन जनालाई पक्राउ गरेपनि डा. भक्तमान अपहरणको मुख्य योजनाकार मानिने भीमसेन पण्डित र भारतीय नागरिक रोहित पलिवल भने पक्राउ परेका छैनन्। पक्राउ पर्नेहरूमा नुवाकोट चारघरेका लुक्पा तामाङ, काठमाडौं महाराजगञ्जका अनिल श्रेष्ठ र क्यान्सर अस्पतालका पूर्व सवारी चालक बद्रि ढुंगाना रहेका छन्।

डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न अभियुक्तहरु। तस्वीर सौजन्य: नेपाल प्रहरी
भक्तमानको अपहरणमा नुवाकोट चारघरे घर भएका भीमसेन पण्डित समूहको हात रहेको प्रहरीले बताएको छ। अपहरणमा नुवाकोट चारघरे घर भएका ३७ वर्षीय भीमसेन पण्डित, भारत घर भएका ३० वर्षीय रोहित पलिवल, जिलिङ नुवाकोटका बद्रि ढुंगाना, नुवाकोट चारघरेका लुक्पा तामाङ, काठमाडौं महाराजगञ्जका अनिल श्रेष्ठ र भारत दार्जिलिङका नविन क्षेत्री संलग्न रहेको प्रहरीले बताए। श्रेष्ठ अपहरणको अनुसन्धान गरिरहेको प्रहरी टोलीले विहीवार प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गरी सो जानकारी सार्वजनिक गरेको हो।

अपहरण मुक्तपछि डा. भक्तमान श्रेष्ठ,
फाइल तस्वीरः सीएम पौडेल, चितवन/एचकेनेपाल डट कम
पत्रकार सम्मेलनमा बोल्दै प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक देवेन्द्र सुवेदीले भक्तमानको रिहाईका लागि अपहरणकारीका अर्का नाइके भारतीय रोहित पलिवलले भक्तमानका आफन्तबाट भारतको लखनाउ नजिक एक करोड दश लाख रूपैयाँ बराबरको तीन किलो सुन फिरौति लिएको बताए। फिरौति बुझेपछि १९ दिन बन्धक पारिएका भक्तमानलाई काठमाडौंबाट मोटरसाइकलमा राखेर पण्डितसहित दुई अपहरणकारीले धादिङको मझिमटारमा पुर्याएर जेठ २२ गते राति छाडेका थिए।
अपहरणमा चारवटा सवारी साधन प्रयोग भएको प्रहरीले बताए। रोहित पलिवलले प्रयोग गरेको भारतीय गाडी, भक्तमानको गाडी र दुईवटा मोटरसाइकल। भक्तमानको गाडी दुई अपहरणकारीले पोखरामा लगेर छाडेका थिए भने दुई मोटरसाइकल प्रहरीले बरामद गरेको जनाएको छ।
प्रहरीले घटनाको विवरण बताउंदै भीमसेन पण्डित र रोहित पलिवलले जेठ ४ गते राति डा. भक्तमानको अपहरण गरेर मुग्लिङबाट पण्डितको नुवाकोटको चारघरेस्थित घरमा राखेको बताए। त्यसपछि नुवाकोटबाट काठमाडौंको सामाखुसी ल्याएर पण्डितले भाडामा लिएको घरमा राखिएको बताए। भक्तमानलाई सामाखुसी राखेपछि फिरौतिको लागि रोहित पलिवल भारत गएर त्यहाँबाट इन्टरनेट टथा कलबाइपालबाट फिरौति माग गरेका थिए।
डा. भक्तमान श्रेष्ठ कार्यरत अस्पतालका पूर्वसवारी चालक बद्रि ढुंगानाको सुराकीको आधारमा उनको अपहरण भएको प्रहरीले जनाएको छ। प्रहरीले अपहरणमा संलग्न पण्डित समूहका तीन सहयोगीलाई पक्राउ गरेपनि मुख्य योजनाकार भीमसेन पण्डित र रोहित पलिवल अझै फरार छन्।
Popularity: 10%
July 10th, 2010
एचकेनेपाल डट कम संवाददाता-
सप्तरीको सीतापुर-३ मा शनिबार बिहान यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेहरूमा मोटरसाईकलमा सवार सिरहा-४ का ३१ बर्षीय संजीब नायक र भारतको कोलकता घर भई सिरहा डेरा गरि बस्दै आएका २१ बर्षीय मजमुल मिया रहेका छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी निरीक्षक शिव मुखियाले बताएका छन्।
ना ३ ख २०८३ नम्बरको हिमाली यातायात बसले विपरीत दिशाबाट आउदै गरेको स १ प ८५८८ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।
प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
Popularity: 7%
July 10th, 2010
संसारभरिका नेपाली जातिका मानसपिता
आदिकवि भानुभक्त आचार्य
नरेन्द्रराज प्रसाई-
मोतीराम भट्टले १९४८ सालमा भानुभक्त आचार्यलाई आदिकवि लेखे, तर उनले लेखेको त्यो ‘आदिकवि’ चलेन। १९९७ सालमा जुद्धशमशेर राणाले ‘भानुभक्तलाई आदिकवि भने पनि हुन्छ’ भन्ने हुकुम दिएपछि मात्र तमामको जीव्रोमा भानुभक्त आदिकवि हुन थाले । अनि सूर्ययविक्रम ज्ञवालीले भानुभक्तबारे मोतीराम भट्टले पूरा गर्न नसकेका प्रायः धेरै काम गरे । साथै बाबुराम आचार्यले पनि भानुभक्तबारे लेखे । अनि भानुभक्तको व्यक्तित्वको परिमार्जन गर्ने काममा ब्रह्ममशमशेर, बालकृष्ण सम, शम्भुप्रसाद ढुङ्ग्याल, विष्णुमायादेवी, धरणीधर कोइराला, पारसमणि प्रधान, भाइचन्द्र प्रधान, हृदयचन्द्रसिंह प्रधान, इन्द्रबहादुर राई, नरनाथ आचार्य, मुक्तिनाथ आचार्य, व्रतराज आचार्य, गिरिराज आचार्य, नारायणदत्त शास्त्री, बालचन्द्र शर्मा, श्रीभद्र शर्मा, जुननाथ शर्मा, सुमन ढकाल, चन्द्रेश्वर दुवेआदि लागे । उनीहरूले भानुभक्त आचार्यका गाथामा सिङ्गासिङ्गै किताब लेखे । भवानी घिमिरेले पनि उनका बारे बृहत् विशेषाङ्क निकाले । यादव खरेलले पनि भानुभक्तको जीवनीमा आधारित कथानक चलचित्र बनाए । म्युजिक नेपालले रामायणका सातकाण्डकै गीतिसीडी प्रकाशमा ल्यायो । जगदीशशमशेर राणाजस्ता नेपाली साहित्यका महारथीहरू पनि भानुभक्तको सम्पूर्ण कीर्ति फैलाउन मन, वचन र कर्मले समर्पित भए । त्यसपछि भानुभक्त झनै चहकिलो रूपमा प्रस्तुत भए।
ईन्द्र खत्रीद्वारा तयार पारिएको भानुभक्तको चित्रः डा. मोदनाथ प्रश्रितका अनुसार पहिलाको चित्रमा भानुभक्तको कुमबाट ल्याइने खास्टो उल्टो थियो।
त्यसैले नइ प्रकाशनले यो फोटो प्रकाशनमा ल्याइको छ। 
मोतीराम भट्टले भानुभक्त आचार्यको जन्म १८६९ साल लेखे। अनि त्यसलाई सुधारेर भानुभक्तकी नातिनी विष्णुमायादेवीले १८७१ साल असार २९ गते भानुभक्त जन्मेको प्रमाण पेस गरिन्। त्यसैगरी नरनाथ आचार्यले पनि भानुभक्तको जन्म कुण्डलीसहित त्यही दफामा आफ्नो बुढी औठा थिचे। बालकृष्ण समले पनि भानुभक्तकी पत्नीको नाउँ रेवती भएको ठहर गरे । साथै भानुभक्तबारे अनुसन्धानको लर्को अझै तानिँदै छ।
भानुभक्तको बाल्यकालीन समयमा नेपालमा संस्कृत भाषाकै बोलबाला थियो । त्यति बेला नेपाली भाषालाई तुच्छ सम्झिन्थ्यो । तर भानुभक्तले नेपाली भाषालाई आफ्नो शिरको ताज बनाए । उनी सानैमा नेपाली भाषाको कवितामा बोल्थे, कवितामा गाउँथे र कवितामा नाच्थे । एक पटक एक जना बटुवाले उनको परिचय माग्दा उनले कवितामा नै जवाफ दिएका थिए :
पहाड्को अति बेस देश् तनहुंमा श्रीकृष्ण ब्राहृमण् थिया ।
खुप् उच्चा कुल आर्यवंशि हुन गै सत्कर्ममा मन्दिया
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया ।
इन्को नाति म भानुभक्त भनि हूँ यो जानि चिन्ही लिया ।
भानुभक्तले जति जाने आफ्ना बाजे श्रीकृष्ण आचार्यबाट जाने । किनभने उनका बाजे नेपालका छेउभित्तादेखि भारतको कासीसम्म जताजता गए पनि भानुभक्त पनि उनको हातको चोर औंला समाउँदै हिंड्थे। अनि उनका बाजे धार्मिक भइकन विद्वान् पनि थिए । त्यस बखत तनहुँभरि श्रीकृष्णको सुनाउँ थियो । त्यसैले बाल्यकालदेखि भानुभक्तको जीवनचर्या एउटा कविको जस्तो, एउटा जमिनदारको जस्तो र एउटा राजर्षि ठाँटको जस्तै थियो।
श्रीकृष्ण आचार्यका छोरा धनञ्जयले पनि बाल्यकालदेखि नै विद्याआर्जन गरे । पछि उनी सरकारी खरदार भए र जागिर खाएको केही वर्षमा उनले छोरो पाए । भनौं तनहुँ रम्घाको चुँदीबेसीको आचार्य निवासमा धनञ्जय र धर्मावतीदेवी मिलेर भानुभक्त जन्माए । तर आदिकवि भानुभक्तको सृजनात्मक न्वारन मोतीरामले नै गरिदिए।
भानुलाई शिरमा बोकेर नै मोती पनि चम्किए । वास्तवमा मोतीरामले भानुभक्तलाई उकास्न पहरा फोरे । कतिसम्म भने भानुभक्तलाई अमर पार्न उनले भानुभक्तको जीवनी लेखेर त्यसलाई जनमन छुने कला झिके। भानुभक्तले घाँसीलाई भेटेर प्रेरणा पाए भनेर भानुभक्तका नाउँमा मोतीराम आफैले कविता लेखेर पनि छपाइदिए :
भर् जन्म घाँसतिर मन दिइ धन् कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनि भै कन आज यस्तो !
यस सिलोकको चौथो हरफमा प्रयुक्त ‘मो’ शब्दबाट यसको रचना मोतीराम आफैले गरेका थिए । किनभने भानुभक्तले उनका कुनै पनि रचनामा ‘म’ लाई ‘मो’ लेखेका छैनन् तर मोतीरामले भने आफ्ना रचनामा ‘म’को साटो जताततै ‘मो’ लेखेका छन् । नेपाली जनजीवनमा साहित्यिक र भाषिक जागरण ल्याउनका लागि मोतीरामले घुँडा टेकेर भानुभक्तलाई उठाए । मोतीरामले नेपाली भाषासाहित्यलाई रातोरात उन्नतिको शिखरमा पुर्याउने हेतु भानुभक्त आचार्यको यथेष्ट कदर गरे । त्यसैले उनले भानुभक्तलाई आफ्नो. चरित्र नायकका रूपमा काँधमा बोके । वास्तवमा भानुभक्तलाई नेपाली भाषासाहित्यको शिरताज बनाउन मोतीराम एक्लैले कठोर प्रयत्न गरे।
भानुभक्तको जीवनकथालाई कारुणिक पार्न मोतीरामले गजाधर सोतीको कथा पनि आफै बुने होलान् । किनभने त्यस जमानामा पाहुना बाहुनलाई घरपिँडीमा मात्र होइन बारीको ढिकी भए ठाउँमा समेत बास बस्न दिइएको छैन । त्यस घडी नेपाली समाजमा साँझका पाहुनालाई देउता तुल्य मानिने परम्परा थियो । त्यसैले घाँसी कविताझै अतिथिको सत्कार गर्नुपर्ने नैतिक शिक्षा पनि भानुभक्तका नाउँबाट नै मोतीराम आफैले यसरी प्रस्तुत गरे होलान् :
गजाधर्सोतीका घर बुढि अलच्छिन्कि रहिछन्
नरक् जानालाई सबसित बिदाबारि भइछन् ।
पुग्यौं साँझ्मा तिन्का घर पिढिमहाँ बास गरियो
निकालिन् साँझैमा अलिक पर गुल्जार गरियो ।
मोतीरामले भानुभक्त आचार्यको जीवनीलाई शाश्वत पार्न अझै मसला हाले । भानुभक्तका मित्र तारापतिको कथा बुनेर पनि भट्टले आचार्यलाई अविष्मरणीय बनाए । मोतीरामका अनुसार एक पटक भानुभक्तलाई आफ्ना साथी तारापति उपाध्यायले घर लिएर गए । त्यो रात भानुभक्त त्यहीँ बसे । तारापतिका घरमा सासुबुहारीले भनाभन र कुटाकुट गरेर रात र्छलङ्गै पारे । रातभरिको जाग्रामपछि बिहानैको मिर्मिरेमा सलेदो बालेर भानुभक्तले ‘बधुशिक्षा’ लेखे । अनि त्यस घरमा पानी पनि नखाई बिहानै त्याहाँबाट भानुभक्त हिँडे । साथीका घरबाट हिँड्ने बेला उनले आफ्ना साथी तारापतिलाई एउटा कविताको कागज दिए भनेर मोतीरामले नै लेखे । तर यो कविताको खेस्रा पनि भानुभक्तलाई उकास्न मोतीराम आफैले लेखेका थिए भन्न सकिन्छ :
एक् थोक् भन्छु न मान्नु दुक्ख मनमा हे मित्र तारापति
तिम्रा इ जति छन् जहानहरू ता लड्न्या रह्या छन् अती ।
०
सारै झोक उठयो मलाई र बधु शिक्षा बनाञाँ पनी
यसले पत्नी, बुहारी, छोरिहरूको तालिम् गरौंला भनी ।
भानुभक्तले ३७ वर्षको उमेरमा सरकारी जागिर पाए । तर हाकिमले दुई वर्षमा नै उनको जागिर खोसे । त्यसपछि उनलाई सरकारी रकम हिनामिना गरेको अभियोग लगाइयो । अनि उनलाई कुमारीचोकको खोरमा थुनियो । लेखकका लागि जेलयात्रा वरदान बन्यो । उनले त्यहाँ पाँच महिना कैदी हुँदा रामायणको अयोध्या, अरण्य, श्रीकिष्किन्धा र सुन्दर काण्डको पद्य अनुवाद गरेर सके।
नेपाली भाषामा रामायण नभएको बेला नेपालभरि पुराणहरू नै पढिन्थ्यो । त्यस बेला संस्कृतका पुस्तक पढ्न सबैलाई अनुमति पनि थिएन । भानुभक्तको रामायण आएपछि सबैका घरघरमा रामायण राखिन थालियो । वास्तवमा त्यसपछि नै नारीपुरुष र जातजाति सबैले समान रूपमा पढ्ने अवसर पाए । अनि बिहेबारीदेखि पुराणसम्ममा पनि भानुभक्तकै रामायण गाउन थालियो । त्यसैले रात दुई गुना र दिन चार गुनाले भानुभक्तको रामायणले देशदेशान्तरमा प्रसिद्धि कमाउन थाल्यो।
भानुभक्त आचार्यलाई संसारभरिका नेपाली जातिले मानसपिताका रूपमा ग्रहण गरेका छन् । अनि नेपालमा भन्दा भारतमा भानुगाथा गाइन्छ । भारतको पनि दार्जिलिङ र सिक्किम राज्यले भानुजयन्तीलाई पर्वकै रूपमा मनाउने गर्छ । त्यस भेकमा भानुजयन्तीका दिन प्रायः सबैले दौरासुरुवाल र गुन्यूचोलो लगाएका हुन्छन् । त्यस दिन नर्सिङ्गा, टयाम्को र दमाहाले त्यस ठाउँ गुन्जिएको हुन्छ । वास्तवमा त्यहाँ अति नै भव्य रूपमा यिनको जयजयकार गरिन्छ । कतिसम्म भने त्यता लागेको भानुजयन्तीको बेठीको आवाज नेपालमा पनि सुनिन्छ । त्यताका नेपालीगोरखालीका लागि भानुजयन्ती दसैभन्दा ठूलो चाड मानिन्छ।
भानुभक्तका रचनाहरू नेपाली भाषामा अग्रणी रूपमा रहेका छन् । उनले आफ्नो वैयक्तिक प्रतिभाका कारणले नै रामायण लेखे । ‘अध्यात्म रामायण’ अनुवाद भएर पनि यस कृतिलाई भानुभक्तले मौलिक रूपमा प्रस्तुत गरे । भानुभक्तअघिका नेपाली कविले नेपाली भाषासाहित्यलाई यति सहज, सरल र मौलिक रूपबाट प्रस्तुत गर्न सकेका थिएनन् । त्यसैले भानुभक्तकृत रामायणलाई नै नेपाली भाषासाहित्यको पहिलो महाकाव्य भनियो।
पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको एकीकरण गरे । भानुभक्तले सांस्कृतिक रूपमा नेपाली भाषालाई एउटै मालामा गाँसेर भाषीय एकीकरण गरे । भानुभक्तप्रदत्त नेपाली भाषाका कारण संसारभरिका नेपाली भाषीहरूबीच भाषिक एकता कायम हुन सकेको छ।
भानुभक्तले रामायणका बालकाण्ड र अरू काण्ड, प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षानामक कृतिहरू नेपाली भाषासाहित्यको मन्दिरमा चढाए । साथै उनका फुटकर कविताहरूको बिटोले पनि नेपाली भाषासाहित्य धन्य भएको छ । उनका अरू धेरै कृतिहरू हुँदाहुँदै पनि भानुभक्तलाई रामायणले नै अमर पार्यो, अनि त्यही रामायणले नेपाली भाषालाई नै लोकप्रिय बनायो । वास्तवमा रामायणको आत्मामा बसेको नेपाली भाषासाहित्य नै पनि अमर बन्यो । सृष्टिको अमरताले पनि स्रष्टालाई अमर पार्यो । नेपाली भाषासाहित्यको अमरत्वका साथमा भानुभक्त आचार्यको अमरत्व सदार्सवदाका लागि गाँसियो।
भानुभक्त आचार्यले जीवनमृत्युसँग जुधेर पनि आफ्ना हितकारी धर्मदत्त सुब्बाको आग्रहमा रामायण उत्तर काण्डको ‘रामगीता’को नेपाली भाषामा अनुवाद गरे । वास्तवमा त्यस बेला उनी कालज्वरले मरणासन्न भएका थिए । तर पनि उनले आफ्ना छोरा रमानाथलाई ‘रामगीता’ टिपाए । अन्ततः त्यस कृतिको निर्माणपछि अर्थात् १९२५ सालमा भानुभक्तले आफ्ना भौतिक आँखा चिम्ले।
naiprasai@gmail.com
Popularity: 7%
July 10th, 2010
एचकेनेपाल डट कम संवाददाता-
बाराको पथलैया निजगढ टाँगियाबस्तीमा शुक्रवार दिउंसो भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ। दुर्घटनामा ४४ जनाभन्दा बढी घाइते भएका छन्।
मृत्यु हुनेहरूमा नवलपरासी मनहरी ६ घर भई दंगा नियन्त्रण प्रहरी गण गुल्म नं. २ हेटौडा दरबन्दी भई जिप्रका सर्लाहीमा कार्यरत प्रहरी जवान कन्हैया प्रसाद हरिजन, रौतहट चन्द्रनिगापुर १ बस्ने चन्द्रकुमारी कार्की, रौतहट मावपुर बस्ने फेकन राउत कुर्मी, मकवानपुर हेटौंडा नगरपालिका बस्ने सावित्री थापा, रौतहट माधवपुर ८ बस्ने आशनारायण पटेल, सोही ठाउ बस्ने महेन्द्र मुखिया, बारा डुमरवाना ७ बस्ने ४२ वर्षीय टेकबहादुर लामा, सर्लाही हरैया ७ बस्ने हरिनारायण साह रहेका छन्। घटनामा मृत्यु भएका एक जना पुरूषको सनाखत हुन नसकेको बाराका प्रहरी उपरिक्षक मनोज न्यौपानेले बताए।
दुर्घटनास्थलमा २, उपचारको क्रममा निजगढको स्थानीय क्लिनिकमा २ र उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा एक जनाको मृत्युर वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा ४ जनाको मृत्यु भएको छ।
काठमाडौंबाट सर्लाहीको बैलवास जाँदै गरेको ना ४ ख ३०४३ नम्बरको बस पल्टेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
मोटरसाइकलमा सवार दुईको मृत्यु
सप्तरीको सीतापुर-३ मा शनिबार बिहान यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा मोटरसाईकलमा सवार सिरहा-४ का ३१ बर्षीय संजीब नायक र भारतको कोलकता घर भई सिरहा डेरा गरि बस्दै आएका २१ बर्षीय मजमुल मिया रहेका छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी निरीक्षक शिव मुखियाले बताएका छन्।
Popularity: 8%
July 10th, 2010