Archive for July 16th, 2010
बुटवल/ एचकेनेपाल डट कम संवाददाता -
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् रुपन्देहीको शुक्रवार बुटवलमा सम्पन्न विस्तारित भेलाले महासंघ अध्यक्ष होमबहादुर गलामीको अध्यक्षतामा १ सय ५१ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरेको छ।
जनजाति महासंघको असार २३ देखि २५ गतेसम्म चितवनको सौराहामा सम्पन्न राष्ट्रिय भेलाले आन्दोलन गर्ने तय गरेको थियो । जनजातिका अधिकार संविधानमा लेखाउन दवाव दिनको लागि महासंघले साउन महिनाभर आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आन्दोलनका कार्यक्रम अनुसार साउन २ गते दिउसो १२ बजे महासंघ रुपन्देहीले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापनपत्र बुझाउने बैठकले निर्णय गरेको छ । ज्ञापन पत्र बुझाउन जनजाति महासंघको झण्डा र ब्यानर सहित रुपन्देहीका जनजातिहरुको उल्लेख्य सहभागिता हुने महासंघले जनाएको छ । आन्दोलनका कार्यक्रम अनुसार वाल पेन्टिङ, पर्चा वितरण, कोणसभा, पत्रकार सम्मेलन, विश्व आदिवासी दिवस आन्दोलनका रुपमा मनाउने लगायतका रहेका छन्।
महासंघका अध्यक्ष होमबहादुर गलामीको अध्यक्षतामा भएको विस्तारित बैठकमा नेपाल मगर संघका केन्द्रीय सल्लाहकार कुमार थापा, आदिवासी जनजाति पत्रकार संघ (अनिज) रुपन्देहीका अध्यक्ष भिम गुरुङ, यातायात मजदुर तथा भलाई कोष रुपन्देहीका अध्यक्ष चिनबहादुर गुरुङ, महासंघ सदस्य विष्णुप्रसाद श्रेष्ठलगायतले बोल्दै संविधान लेख्न ढिलो गरिए आदिवासी जनजातिका अधिकार खोसिदै जाने भएकोले निर्णायक आन्दोलनको खांचो आवश्यक भएको औल्याउनुभयो।
Popularity: 5%
July 16th, 2010
देविजंग तमु, पोखरा/ एचकेनेपाल डट कम-
राजनीतिक विषयबस्तुमा निर्माण भएको पहिलो गुरुङ चलचित्र ‘तमु हृयुला’को तमु विद्यार्थी समिति कास्कीले पोखरामा च्यारिटी शो गर्ने भएको छ।
तमुलगायत आदिवासी जनजातिको अधिकारसँग सम्बन्धित भएकाले चलचित्र प्रदर्शन तमु विद्यार्थी समितिले गर्ने निर्णय गरेको अध्यक्ष भरतमान तमुले बताउनु भयो।
तमु हृयुल चलचित्रको च्यारिटी शो पूर्णिमा चलचित्र मन्दिरमा आगामी साउन २९ गते तीन शो गर्ने बताइएको छ।
हिमाली गुरुङ परिवारको रजत वर्षको विविध कार्यक्रम
पोखराको माटेपानीमा समाज घर रहेको हिमाली गुरुङ परिवारले समाज स्थापनाको पच्चिस वर्ष पुगेकोमा विविध कार्यक्रम गरी रजत वर्ष मनाउने भएको छ।
लमजुङ जिल्लाबाट पोखरा आई वसोवास गर्ने तमुहरुको समाजको रुपमा चिनिने हिमाली गुरुङ परिवारले साउन १ गते लामा गुरुबाट दीप प्रज्वलन र अध्यक्षबाट रजत वर्षको उद्घाटन, विहान ८ बजे रक्तदान र दिउँसो घाँटुलगायत मौलिक साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने भएको छ।
रजत वर्षको कार्यक्रम अर्न्तगत असोजमा सडक दौड र तमु भाषा कविता प्रतियोगिता, मंसिरमा निशुल्क स्वास्थ्य शिविर, पौषमा श्रष्टा सम्मान, एसएलसी तथा उच्चशिक्षा उतीर्णलाई सम्मान, विविध साँस्कृतिक कार्यक्रम र स्योंकैँ र माघ महिनामा स्मारिका प्रकाशन गरिने कार्यक्रम रहेको समाजका अध्यक्ष सुमे नारायणसिंह तमुले जानकारी दिनुभयो।
२०४३ सालको साउन १ गते स्थापना भएको समाजमा हाल ३ सय भन्दा वढी घरपरिवार सदस्य रहेको सचिव क्याप्टेन मदनप्रसाद गुरुङले जानकारी दिनुभयो।
Popularity: 5%
July 16th, 2010
एचकेनेपाल डट कम संवाददाता-
एमआरपी (मेशिन रिडेबल पासपोर्ट) को राजनीतिकरण र समाधानका उपायहरु विषयक कार्यक्रम आज मधेश मिडिया हाउसमा सम्पन्न भयो।
एमआरपीको छपाई सम्बन्धमा भएको समस्या, टेण्डर प्रकृया र एआरपीको अभावले जनजीवनमा परेको समस्यामाथि केन्द्रित रहेर कार्यक्रम सञ्चालित भएको थियो।
कार्यक्रममा नेपाल सद्भावना पार्टीका कार्यवाहक अध्यक्ष विकासकुमार तिवारीले एमआरपीको टेण्डर प्रकृया गलत रहेको र फ्रान्सेली कम्पनीले कमसल राहदानी छाप्ने योजनामा रहेको खुलासा गर्नु भयो। उहाँले फ्रान्सेली कम्पनी ओर्बथरले कमिशनको खेल गरेको र परराष्ट्रमन्त्री सुजाता कोइरालाको ज्वाई रुबल चौधरी ओबर्थर कम्पनीको ऐजेन्ट रहेको कुरा खुलासा गर्नु भयो। तिवारीले एमआरपीको विषयलाई लिएर भारतलाई आक्षेप लगाउनु अन्धराष्ट्रवाद भएको कुरा बताउनु भयो।
कार्यक्रममा शिक्षामन्त्री मा. सर्वेन्द्रनाथ शुक्लाले एमआरपीभित्र गहिरो षडयन्त्र रहेको कुरा बताउनु भयो। राहदानीको गुणस्तर कागजको स्तर र कभरमाथि ख्याल गरिनु पर्ने, प्राविधिक र सुरक्षाको सवालमा अति संवेदनशिल भएर मात्र राहदानी सम्बन्धी कार्य अगाडि बढाउनु पर्ने कुरा बताउनु भयो । राहदानी जस्तो संवेदनशिल विषयमा झै-झगडा वा वादविवाद गरेर कुनै राष्ट्रप्रति पूर्वाग्रही हुनु उचित होईन । मन्त्री शूक्लाका अनुसार एमआरपीलाई सस्तो छपाई हुँदैमा राम्रो हुन्छ भन्ने तर्क गलत हो।
एमआरपीको राजनीतिकरण र समाधानका उपायहरुमाथि आफनो मन्तब्य दिदै पूर्व ग.ह राज्यमन्त्री मो. रिजवान अन्सारीले राहदानी राजनीति गर्ने विषय नै भएको कुरा बताउनु भयो । राहदानीको गुणस्तर र सुरक्षाप्रति बढि संवेदनशिल हुनु पर्ने कुरा बताउनु भयो । भारतमा छापिदा राष्ट्रियताको विरुद्ध हुने र अन्यत्र छापिदा राष्ट्रियताको पक्षमा हुने तर्क गलत हो। फ्रान्सको ओर्बथर कम्पनी नेपालको अन्य निकायसँग गलत ब्यबहार गरिसकेकोले तत्काल विश्वास गर्न नमिल्ने कुरा बताउनु भयो । प्रमाणित कागजातको कमि र पूर्व अविश्वासी कम्पनीको रुपमा रहेको ओबर्थर कम्पनीको रुपमा रहेको ओबर्थर कम्पनीको सम्पूर्ण फायल सार्वजनिक लेखा समितिबाट खोजि भै सकेकोले कारवाही हुने पक्का रहेको कुरा पूर्वमन्त्री अंसारीले बताउनु भयो।
मन्त्री अंसारीले राहदानी जस्तो सूरक्षाको दृष्टिकोणले अति संवेदनशिल हुने भएकाले उच्च प्राथमिकताका साथ गुणस्तरीय सामग्री मात्र प्रयोगको व्यवस्था हुनु पर्ने कुरामाथि जोड दिनु भयो । कार्यक्रममा एमआरपीको ठेक्का पाएका फ्रान्सको ओबर्थर कम्पनीको पूर्व पृष्ठभूमि र नियतमाथि प्रष्ट भै सकेपछि मात्र अगाडिको कारवाही थालिनु पर्ने कुरामा जोड दिनु भयो।
Popularity: 5%
July 16th, 2010
बुद्धको जन्म स्थानबारेको बिश्वब्यापी भ्रम निबारणको लागि हस्ताक्षर संकलन अभियान
संपूर्ण राष्ट्र प्रेमी नेपाली मित्रहरु,
मान्छे भएर जन्मेपछि पितृ ऋण, गुरु ऋण, देब ऋण र माटोको ऋण चुक्ता नगरी मर्नु भनेको जीबन सार्थक नभएको भन्ने चलन छ हाम्रो संस्कार अनुसार। नेपाली भएर जन्मिसकेपछि आवश्यक पर्दा नेपालको माटोको रक्षा हर हालतमा गर्नु माटोको ऋण चुक्ता गर्नुकै अंश हो र एउटा असल नागरिकको कर्तब्य पनि।
भारतबाट कपिलबस्तुको बिषयलाई लिएर जे जस्ता काम भएका छन, त्यो सीधै नेपालको राष्ट्रियमाथिको खेलबाड हो, तर गुगलमा बुद्धको जन्मभूमि खोज्दा भारत देखा पर्नु; PBS जस्तो ठूलो कम्पनीद्धारा उत्पादित भिडिओ “The Buddha” मा राजकुमार सिद्धार्थलाई भारती भनी उल्लेख गरिनु, बिभिन्न देशमा भएका पाठ्य पुस्तकमा बुद्धको जन्मभूमिका सम्बन्धमा गलत जानकारी उल्लेख गर्नु जस्ता संपूर्ण समस्याको जड भनेकै भारतले लामो समयसम्म नेपालको तर्फबाट सरकारी, बुद्धिजीबि तथा पत्रकारहरु कुनै पनि तहबाट केही पनि बिरोध नगरिएको कारण एकलौटी तबरबाट भ्रम सिर्जना गर्न पाएको अबसरको परिणाम हो र यस्लाई यो नेपालको रास्ट्रियतामाथिको नयाँ समस्याको रुपमा लिइनु पर्ने देखिन्छ । किनकि यी समस्याहरुको पछाडि नियतभन्दा पनि भारतद्धारा लामो समयसम्म गरिएको दुस्प्रयास र सो दुस्प्रयासका बिरुद्ध हुन नसकेको गतिबिधिका कारण सिर्जित भ्रमले काम गरेको देखिन्छ।
कपिलबस्तु दिवस अभियानले आफ्नो ब्लग, अन्तर्राष्ट्रिय सामाजिक सन्जालहरु फेसबुक तथा ट्वीटर मार्फत आँफै तथा अन्य समूहहरुसंग मिलेर जाकारीयाको दुस्प्रयासका बिरुद्ध जन चेतना जगाउने र जन परिचालन गर्ने, गुगलमा बुद्धको जन्म स्थान खोज्दा भारत देखाउने कार्यको बिरुद्ध अन्य समूहसंग मिलेर बिरोध गर्ने, ठूलो अन्तरराष्ट्रिय कम्पनी PBS को बुद्धसम्बन्धी गलत जानकारीको बिरोधमा कार्यक्रम गर्ने जस्ता थुप्रै कामहरु आफ्नो क्षमताले भ्याएसम्म गर्दै आएको छ । गुगलले त गलत जानकारीलाई सच्याउने काम गरी सकेको छ । यस किसिमका समस्याहरु इण्टरनेटमा अझै धेरै देखिन्छन । तिनीहरुको निराकरणको लागि पनि प्रयास गरिनु हाम्रो कर्तब्य हो । त्यसरी नै भारतले तयार गरेको नक्कली लुम्बिनीको क्लिप जन समुदाय बीच लैजाने, कपिलबस्तु दिवस ब्लगमा भएका अंग्रेजी सामग्रीहरुलाई बिभिन्न भाषामा समेत पढन मिल्ने बनाउने, रामदेबको बुद्धबारे भारतको गलत प्रचार भनाइलाई उपयोग गर्ने, www.nepstime.com ले Buddha Born in Nepal – Let’s Join Kapilvastu Day आफ्नो हेडरमा नै लेखेको सामग्रीलाई आधार बनाएर अन्य पत्रिका र ब्लगलाई पनि त्यसो गर्न उत्प्रेरित गर्ने जस्ता राष्ट्रियताको भावनालाई उत्प्रेरित गर्ने थुप्रै कामहरु आफ्नो क्षमताले भ्याएसम्म गर्दै आएको छ।
बिश्वब्यापी रुप धारणा गरिसकेको यो समस्यालाई हाम्रो मात्रै प्रयासले समस्या समाधान गर्न बर्षौं लाग्न सक्छ भने सरकारी स्तरबाट पहलकदमी गरिने हो भने यो समस्या लामो समय समस्याको रुपमा रहन नसक्ने देखिन्छ सबै कुराहरुको बिस्लेषण गर्दा । अत: यस प्रायोजनको लागि नेपाल सरकारलाई दबाब दिनको लागि शुरु गरिएको हस्ताक्षर संकलन यस कार्यमा आफूले पनि हस्ताक्षर गरी अरुलाई पनि यस्को लागि उत्प्रेरित गरी माटोको ॠण केही हदसम्म चुक्ता गर्ने अबसरको उपयोग गर्नु हुन सबैमा हार्दिक अनुरोध गरिन्छ । हस्ताक्षर गर्ने लिंकमा जानको लागि यहाँ क्लिक गर्न अनुरोध गरिन्छ।
रामकुमार श्रेष्ठ
विश्व संयोजक
कपिलबस्तु दिवस अभियान
http://worldamity.wordpress.com/
Popularity: 5%
July 16th, 2010
एचकेनेपाल डट कम संवाददाता-
घुस लिएर अपहरणकारी छाडेको भन्दै न्याय परिषदले पुनरावेदन अदालत हेटौंडाका न्यायाधीश तेजबहादुर कार्कीलाई बिहीबार निलम्बन गरेको छ।
कार्कीले अपहरण तथा शरीर बन्धकका दुई छुट्टा छुट्टै मुद्दामा २०६५ असार १० गते सञ्जय श्रेष्ठ, रोहित पलिवान अग्रवाल र भीमसेन पण्डितलगायतबाट घुस लिएर छाडेको भन्दै परिषदले उनलाई निलम्बन गरेको हो। कार्कीले दुई मुद्दामा क्रमशः जनही १ लाख २५ हजार र ३५ हजार रूपैयाँ घूस लिएको देखिएको परिषद्ले जनाएको छ।
कार्कीले प्रयोग हुनै नसक्ने कानुनको प्रयोग गरी गम्भीर अपराधका अभियुक्तहरूलाई घुस खाएर छाडेको परिषदले ठहर गर्दै निलम्बन गरेको जनाएको छ।
घुस दिएर रिहा भएका रोहित पलिवान अग्रवाल र भीमसेन पण्डितलगायतले हालै डा. भक्तमान श्रेष्ठलाई अपहरण गरेका थिए। उनीहरूले तीन किलो सुन फिरौति लिएर १९ दिनको बन्धकपछि भक्तमानलाई मुक्त गरेका थिए। भक्तमानको अपहरणमा संलग्न सहयोगीहरू पक्राउ परेपनि पलिवान अग्रवाल र भीमसेन पण्डित अझै फरार छन्।
Popularity: 5%
July 16th, 2010
एचकेनेपाल डट कम संवाददाता-
बाग्लुङको देविस्थान गाविस-७ व्यङ्ग्रीमा गएराति पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ। घटनामा चार जना घाइते भएका छन्।
पहिरोमा परेर मृत्यु हुनेहरूमा भिमबहादुर विकका दुई छोरा १२ वर्षीय शिव विक, ६ वर्षीय कृष्ण विक र १३ वर्षीया छोरी शान्ति विक रहेका छन्। घटनामा घाइते हुनेहरूमा घरमुली भिमबहादुर विक, उनका २५ वर्षीया छोरी भूमि, ३ वर्षीया नातिनी सुशिला र २२ वर्षीया बुहारी मनिषा विक रहेका छन्।
घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा उपचार भैरहेको प्रहरीले जनाएको छ।
पहिरोमा परेकाहरूलाई स्थानीय बासिन्दा र प्रहरीले उद्धार गरेका थिए। पहिरोबाट भिमबहादुर विकको घर पूर्णरूपले नष्ट भएको प्रहरीले जनाएको छ।
Popularity: 5%
July 16th, 2010
हुम तमु, पोखरा/ एचकेनेपाल डट कम-
अर्न्तराष्ट्रिय श्रम संगठन अभिसन्धी नं. १६९ अनुमोदनको दुइ वर्षपुग्दा पनि व्यवहारमा लागु नगरेको भन्दै कास्कीका आदिवासी जनजातिहरुले आन्दोलन गर्नुपर्नेमा जोड दिएका छन्।
आइएलओ अभिसन्धी नं. १६९ मा उल्लेखित अधिकार कार्यान्वयन सम्बन्धी विहीवार पोखरामा भएको परामर्श गोष्ठीका सहभागीहरुले अधिकारका लागि आन्दोलन गर्न जोड दिएका हुन्।
गोष्ठीमा अन्तराष्ट्रिय श्रम संगठनको अभिसन्धी नं. १६९ व्यवस्थापिका संसदमा प्रस्तावक विजय सुब्बाले आइएलओ १६९ मा भूमि तथा प्राकृतिक श्रोत साधनमाथि आदिवासी जनजातिको अधिकार, अधिबक्ता कुन्साङ योञ्जनले आदिवासी जनजातिका परम्परागत संगठन, प्रथाजनित कानुन र न्यायमा पहुँच, अन्तरिम संविधान मस्यौदा समतिका सदस्य कुमार योञ्जनले स्थानिय शासन र स्व-व्यवस्थापन, भाषाविद अमृत योञ्जनले शिक्षा, भाषा, सँस्कृति सम्बन्धी र फटिकबहादुर थापाले परम्परागत आर्थिक क्रियाकलाप र रोजगार सम्बन्धी विषयगत पत्र प्रस्तुत गर्नुभएको थियो।
नेपाल आदिवासी जनजाति समन्वय परिषद कास्कीका अध्यक्ष पानबहादुर घर्तीको अध्यक्षतामा भएको गोष्ठीमा पुर्ण हृयोल्मो, अम्बर तुलाचन, बुद्धिमान दुरा, हुमबहादुर तमु, राजेन्द्र तमु, सुनिता उलक, लक्षुकुमार तमु, धर्म तमुलगायतले बोल्नु भएको थियो।
गोष्ठीमा कास्कीका आदिवासी जनजाति संघ संस्थाका अगुवाहरु, राजनितिक दलका प्रतिनिधीहरु र सरकारी कार्यलयका प्रतिनिधीहरु गरी ४५ जनाको सहभागीता रहेको थियो।
Popularity: 5%
July 16th, 2010
अफगानिस्तानमा मारिएका नेपाली अर्जुन पुर्जा पुन
एचकेनेपाल डट कम संवाददाता, जुलाई १६-
अफ्गान सैनिकको गोली प्रहारबाट मंगलवार बिहान मृत्यु भएका नेपाली पोखरासँगै जोडिएको लामाचौर-२ का अर्जुन पुर्जा पुन रहेको खुलासा भएको छ।
बेलायती सेनामा कार्यरत ३४ वर्षीय अर्जुन पुर्जा पुनको मृत्युको खबरले उनको घर शोकमा डुबेको छ।
म्याग्दीको शिख गाउँमा जन्मिएका अर्जुन १६ वर्षअघि बेलायती सेनामा भर्ती भएका थिए। उनका श्रीमति, ९ वर्षीय छोरी र ४ वर्षीय छोरा बेलायतमा बस्दै आएका छन्।
जसको लागि १५ वर्ष लड्यो उसैबाट सम्मानका साथ छोराको अन्तिम संस्कार होस् भन्ने चाहना रहेको मृतक अर्जुनका बाबु यामबहादुर पुनले दुख मनाउ गर्दै भने। उनी अफगानिस्तानमा गएको घरमा थाहा थिएन। उनी २ वर्षअघि अन्तिम पटक नेपाल आएका थिए।
——————————————————
अफगानिस्तानमा नेपालीको मृत्यु
एचकेनेपाल डट कम संवाददाता, जुलाई १३-
अफगानिस्तानको हेलमण्ड प्रान्तमा मंगलवार बिहान भएको रकेट आक्रमणमा परी एकजना नेपालीको मृत्यु हुनका साथै अर्को एकजना घाइते भएका छन्। उनीहरू गोर्खा रेजिमेन्टमा कार्यरत थिए।
आक्रमणमा परेका नेपालीका सम्बन्धमा विस्तृत जानकारी प्राप्त भइनसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
उक्त रेजिमेन्टमा कार्यरत तीनजना बेलायती सैनिकको मृत्यु भएको तथा चारजना घाइते भएका यहाँस्थित बेलायती राजदूतावासलाई उद्धृत गर्दै उक्त मन्त्रालयले बताएको छ।
Popularity: 10%
July 16th, 2010